पृथ्वीको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्र: प्रशान्त महासागरको ‘रिङ अफ फायर’

हामी पृथ्वीको सुन्दरतालाई स्थिर देख्छौँ  । हाम्रा वरिपरिका हिमाल, पहाड, नदीनाला लगायतका प्राकृतिक चीजबीजहरु हामीले सानैदेखि जे देख्दै आएका थियौं करिब करिब त्यही नै हुन्छ । तर वास्तवमा त्यो हाम्रो बाहिरी बुझाइ हो । यो अपूरो बुझाइ पनि हो । वास्तवमा, पृथ्वी लगातार परिवर्तनको प्रक्रियामा छ । यो परिवर्तनको नाडी कति थरि गहिराइमा धड्किरहेछ भन्ने कुरालाई बुझ्न हामीले रिङ अफ फायर (Ring of Fire) लाई मात्र हेरे पनि प्रष्ट हुन्छ ।

के हो रिङ अफ फायर?

रिङ अफ फायर भनेको प्रशान्त महासागर (Pacific Ocen) लाई घेरेको एउटा अर्धचन्द्राकार भू-भाग हो । त्यो पृथ्वीको सबैभन्दा बढी ज्वालामुखीय क्रियाकलाप र भूकम्पीय गतिविधिहरू हुने ठाउँ हो ।  यो क्षेत्र करिब ४०,००० किलोमिटर लामो घेरा हो, जसले अमेरिका, जापान, फिलिपिन्स, इन्डोनेसिया, न्यूजील्यान्ड, पेरु, चिली जस्ता देशहरूलाई समेटेको छ। वैज्ञानिकहरुको अनुमान अनुसार, विश्वका करिब ७५ प्रतिशत सक्रिय ज्वालामुखीहरू यही क्षेत्रमा अवस्थित छन् । यसअनुसार यहाँ हुने भूकम्पहरूले पृथ्वीको कुल भूकम्प उर्जाको ९० प्रतिशत भन्दा बढी हिस्सा ओगटेको हुन्छ।

तर रिङ अफ फायर एउटा नाम मात्रै होइन। यो पृथ्वीको टेक्टोनिक प्लेटहरू निरन्तर चलायमानता हुने स्थान पनि हो। पृथ्वीको सतह एक ठोस खण्ड होइन, यो सातवटा प्रमुख र धेरै साना प्लेटहरूमा विभाजित छ । ती प्लेटहरु निरन्तर गतिशील हुन्छन् र समय समयमा  तिनीहरुबीच आपसी घर्षण, टकराव वा अलगाव हुने गर्छन्। प्यासिफिक प्लेट सबैभन्दा ठूलो टेक्टोनिक प्लेट हो । यसको छेउछाउमा भएका यी क्रियाकलापहरूले रिङ अफ फायरको उत्पत्ति र गतिविधि जन्माएको हो।

टेक्टोनिक प्लेटहरूको घर्षण र यसको परिणाम

रिङ अफ फायरमा देखिने प्रमुख क्रियाकलापहरू — ज्वालामुखी विस्फोट, भूकम्प, सुनामी — सबैको जरा टेक्टोनिक प्लेटहरूको घर्षणमा गडेको छ। तीन किसिमका प्लेट सीमाहरू छन्:

– संमिलन सीमाहरू (Convergent boundaries), जहाँ दुई प्लेटहरू एक-अर्कातर्फ धकेलिन्छन्,

– विछेदन सीमाहरू (Divergent boundaries), जहाँ प्लेटहरू अलग हुँदै जान्छन्,

– सर्पण सीमाहरू (Transform boundaries), जहाँ प्लेटहरू एक-अर्काको छेउबाट चिप्लिदैँ जान्छन्।

रिङ अफ फायरको अधिकांश भाग संमिलन सीमाहरू अन्तर्गत पर्छ। प्यासिफिक प्लेट जब अमेरिकी वा एसियाली प्लेटहरूमुनि जान खोज्छ, त्यहाँ धसिने क्षेत्र (subduction zones) सिर्जना हुन्छन्। यो धसिने क्षेत्र भनेको भूगर्भीय प्लेटहरूको टकरावस्थल हो, जहाँ एक प्लेट अर्को मुनि धसिन्छ। यही प्रक्रिया पृथ्वीको गतिशील प्रणालीको मूल हो, जसले हाम्रो ग्रहको भौगोलिक स्वरूप, जलवायु चक्र, र जीवन चक्र नै प्रभावित गर्छ। यही प्रक्रियाबाट गहिराइमा म्याग्मा जम्मा हुन्छ, जसले समयपछि तीव्र दबाबका साथ सतहमा निस्किँदै ज्वालामुखी विस्फोट उत्पन्न गर्छ।

वैज्ञानिक दृष्टिबाट रिङ अफ फायरको महत्व

रिङ अफ फायर पृथ्वी विज्ञानको दृष्टिकोणमा एउटा अद्भुत प्राकृतिक प्रयोगशाला हो। यहाँको अध्ययनबाट हामीले पृथ्वीको आन्तरिक संरचना, प्लेट टेक्टोनिक्स सिद्धान्त, भूकम्पीय पूर्वसूचना प्रणाली, र भू-रासायनिक घुलनशीलता जस्ता जटिल प्रक्रियाहरू बुझ्न सकेका छौँ।

उदाहरणका लागि, सन् २०११ मा जापानको तोहोकु क्षेत्रमा ९.१ म्याग्निच्युडको महाभूकम्प आयो । ग्रेट इस्ट अर्थक्वेक भनेर भनिने उक्त महाभूकम्पले फुकुशिमा आणविक दुर्घटना निम्त्यायो । उक्त भूकम्प आउनुको मूलमा त्यही रिङ अफ फायर क्षेत्रको प्लेट घर्षणकै उपज थियो। यस घटनाले मानव समाज, प्रविधि र आपत व्यवस्थापन प्रणालीलाई पुनः सोच्न बाध्य बनाएको थियो।

रिङ अफ फायरले जीवनमा ल्याउने नकारात्मक असरहरू

रिङ अफ फायरको सक्रियता  निक्कै गम्भीर विषय हो ।  यसको भूकम्पीय शक्तिले सहरहरू ध्वस्त पार्न सक्छ, हजारौँको ज्यान लिन सक्छ। त्यसबाट पैदा हुने सुनामीहरू समुद्री किनारका बस्तीहरूका लागि विनाशक हुन्छन्।

सन् २००४ को  हिन्द महासागर सुनामीले इन्डोनेसिया, श्रीलङ्का र भारतसम्म क्षति गर्यो । यद्यपि त्यो सुनामी प्यासिफिक क्षेत्रसँग सम्बन्धित थिएन, तर त्यसले प्लेट घर्षणबाट उत्पन्न भएको भयावहता बुझ्न सघाउँछ। रिङ अफ फायर क्षेत्र यस्ता सुनामीको सबैभन्दा संवेदनशील क्षेत्रमध्ये पर्छ।

यति मात्र होइन, ज्वालामुखी विस्फोटबाट उत्पन्न हुने ग्यास र धुलोले वैश्विक जलवायुमा असर गर्नसक्छ। उदाहरणका लागि, सन् १९९१ मा फिलिपिन्सको माउन्ट पिनातुबो विस्फोटपछि पृथ्वीको औसत तापक्रम ०.५ डिग्री सेल्सियसले घटेको थियो।

तर के रिङ अफ फायर अभिशाप हो ?

एउटै वाक्यमा भन्दा निश्चित रूपले होइन।

रिङ अफ फायरले विश्वका केही क्षेत्रहरूलाई अद्भुत प्राकृतिक सम्पदा पनि दिएको छ। ज्वालामुखीबाट निर्माण हुने माटो असाध्यै उर्बर हुन्छ। इन्डोनेसिया, जापान, फिलिपिन्स जस्ता मुलुकका खेती प्रणालीहरू ज्वालामुखी माटोको उपज हुन्। त्यसैगरी, ज्वालामुखी क्षेत्रहरूमै पाइने भूतापीय ऊर्जा (geothermal energy) हरित ऊर्जा उत्पादनका लागि अबको भविष्य बन्न सक्छ। आइसल्याण्ड वा जापानमा यसप्रकारको ऊर्जाको प्रयोगले पारम्परिक जीवाश्म इन्धनमा निर्भरता घटाएको छ।

ज्वालामुखी क्षेत्रहरू जैविक विविधताको केन्द्र पनि बन्न सक्छन्। तापक्रम, रासायनिक संरचना र भौगोलिक बनोटले गर्दा त्यहाँ खास खालका जीव एवं वनस्पति प्रजातिहरू विकास हुन्छन्, जुन वातावरण विज्ञान र जीवविज्ञान दुवैका लागि रोमाञ्चक अध्ययनको विषय हो।

जीवन र मृत्युको नाशालोक

रिङ अफ फायर पृथ्वीको टेक्टोनिक ‘हृदयघात’ हो । त्यसले कतिबेला कसरी स्पन्दन गर्छ र आघात गर्छ भनेर हामी अनुमान गर्न सक्छौं, तर पूर्ण नियन्त्रण गर्न सक्दैनौं। यसले सृजना पनि गर्छ, विनाश पनि। यति गतिशील क्षेत्रसँग बस्न सिक्नु भनेको विज्ञान, आपत-व्यवस्थापन, तथा दीर्घकालीन योजना बीचको सन्तुलन सिक्नु हो।

हामीले रिङ अफ फायरलाई शुद्ध प्राकृतिक खतरा मात्र मानेर हेर्छौं भने हामीमा डर पैदा हुनु स्वभाविक नै हो । तर यसलाई परिवर्तन र पुनर्जागरणको प्राकृतिक स्रोत मानेर बुझ्न खोज्छौं भने, यहीँबाट हामी उर्जाशील, उर्बर र वैज्ञानिक रूपमा संवेदनशील समाज बनाउने आधार पनि निकाल्न सक्छौं।

रुसी भूकम्प–ज्वालामुखीको रिङ अफ फायरसँगको सम्बन्ध

सन् २०२५ को जुलाई ३० मा, रूसको क्याम्च्याट्का प्रायद्वीपको समुद्री क्षेत्र (Kuril–Kamchatka Trench) मा ८.८ म्याग्निच्युडको महाभूकम्प गयो  । यो  आधिकारिक रूपमा रेकर्ड गरिएको सबैभन्दा शक्तिशाली महाभूकम्पहरु मध्ये एक हो । हालकै इतिहासमा २०११ जापानपछि सबैभन्दा ठूलो महाभूकम्प हो ।

अगस्ट ३ मा, क्याम्च्याट्का क्षेत्रमै स्थित क्राशेनिनिकोभ (Krasheninnikov) ज्वालामुखी करिब ५००–६०० वर्षपछि पहिलेमात्र सक्रिय भयो। त्यो विस्फोटबाट लगभग ६,००० मिटर (३–४ माइल) माथि खरानीको बादल फैलियो । सुखद कुरा, त्यो जनबस्तीभन्दा सुदुरको घटना भएकोले  कुनै सीधा जोखिम भएन ।

त्यसै क्रममा, क्याम्च्याट्काको सबैभन्दा सक्रिय ज्वालामुखीहरूमध्ये क्लुचेव्स्कोय एवं अन्य पाँचवटा ज्वालामुखीहरू पनि सक्रिय भए, जसले एक वास्तविक ‘रिङ अफ फायर पुनरुत्थान’ दृश्य प्रस्तुत गर्यो ।

रिङ अफ फायरसँगको सम्बन्ध र वैज्ञानिक व्याख्या

क्राशेनिनिकोभ र सम्बन्धित भूकम्पहरू प्यासिफिक प्लेट र ओखोट्स्क (Okhotsk) माइक्रो‑प्लेट बीच उपस्थित घर्षण स्थानहरुमा हुर्केका हुन्। यहाँ प्यासिफिक प्लेट पश्चिमतर्फ खस्दै ओखोट्स्क प्लेटमुनि जान्छ, र त्यही प्रक्रियाले नै रिङ अफ फायरमा हलचल एवं गतिविधिहरुलाई जन्माउँछ ।

यो क्षेत्र विश्वका सबैभन्दा सक्रिय प्लेट सीमाहरू मध्येको एक हो। यही कारणले, यहाँ १९५२ मा ९ म्याग्निच्युड र हाल २०२५ मा ८.८ म्याग्निच्युड को महाभूकम्प पैदा भएको हो ।  

भूकम्पका कारणले ज्वालामुखी सक्रिय हुन सक्ने प्रक्रिया

विशेषज्ञहरूले ठोकुवाका साथ भनेका छन् कि ठूलो भूकम्पले पृथ्वीको खण्डहरू (crust) मा तनावलाई पुनर्संरचना गर्दछ। जब त्यो तनाव म्याग्मा च्याम्बर (magma chamber) वा ज्वालामुखीभित्रको म्याग्मा बग्ने नली प्रणाली  (volcanic plumbing system) मा पुग्छ, त्यहाँको दबाब अचानक मुक्त हुन सक्छ, जसले विस्फोट सिर्जना गर्छ। क्राशेनिनिकोभको विस्फोटले  पनि   ठूलो भूकम्पपछि हुने  क्रस्टहरुको चिरा  र म्याग्मा वृद्धिको  प्रक्रियालाई संकेत गर्छ  ।

यस हिसाबले अहिले रुसी भूकम्प र करिब ६०० वर्ष पछि भएको ज्वालामुखी विस्फोटनको सम्बन्ध  वैज्ञानिक रूपमा रिङ अफ फायरसँग रहेको देखिन्छ। तर ज्वालामुखी विस्फोटलाई  भूकम्पले प्रत्यक्ष उत्प्रेरित गरेको हो, वा त्यो पहिलदेखि  नै विस्फोट हुने चरणमा थियो भन्ने बारेमा चाहिँ अझै अध्ययन भइरहेको छ।

वैज्ञानिकहरूले उक्त ठूलो भूकम्पले ज्वालामुखीभित्रको सतही भाग चिरायो, जसले म्याग्मा बहने मार्ग बनायो खोलिएको हुन सक्ने विश्वास गरेका छन् ।

त्यसो त  तर भूकम्पबिना पनि ज्वालामुखीको लामो कालदेखिको सुसुप्तता  स्वयं सक्रिय हुनसक्छ। त्यस आधारमा अहिले भूकम्प लगत्तै ज्वालामुखी विस्फोटन हुनु संयोग मात्रै पनि हुन सक्छ । यो कुरा चाहिँ वैज्ञानिकहरुको अध्ययनको निष्कर्षले मात्रै टुङ्गो लाग्न सक्छ ।

Image: https://media.suara.com