प्रचण्डले देखाएको ‘नयाँ क्रान्ति’को हसीन सपना

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि एकपटक "नयाँ खालको विद्रोह र क्रान्ति" को उद्घोष गर्दै सार्वजनिक मञ्चमा देखिएका छन्। दोलखाको बोट्ले हत्याकाण्डको स्मृति कार्यक्रममा उनले देशको प्रतिक्रियावादी संरचनालाई परास्त गर्न "नयाँ विद्रोह र क्रान्ति"को बाटो रोज्नुपर्ने संकल्पसहित आफूहरु अघि बढिरहेको बताए। तर, उनले बोलेको ‘नयाँ’ क्रान्ति कस्तो खालको हुने हो—त्यो भने खुलाएनन्।

यो अमीट सत्य हो कि २०६२/६३ को जनआन्दोलनलाई रापताप प्रदान गर्दै शाही निरंकुशताका विरुद्ध माओवादी आन्दोलनले ऐतिहासिक भूमिका निर्वाह गर्‍यो। सशस्त्र संघर्षबाट आएका नेताहरूले पनि माओवादी जनयुद्धलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउँदै  सत्ताको मूल धारमा सफलतापूर्वक अवतरण गरे। जनताको अभूतपूर्व समर्थन, अन्तर्राष्ट्रिय कूटनीतिक मान्यता, र शासकीय शक्तिको उच्चतम स्तरमा पुगेपछि प्रचण्डहरूका हातमा परिवर्तनको लगाम रहनु स्वाभाविक थियो। तर त्यो लगाममाथि माओवादीको पकड लामो समयसम्म कायम रहन सकेन, सत्ताको खिचातानी र संसदीय राजनीतिको दलदलमा भासिँदा त्यो पकड फुत्कियो । यसो हुनुका विविध कारणहरुमध्ये सबैभन्दा मुख्य कारण कुनैबेला जनताले अपार विश्वास गरेको माओवादी जनताबाट निक्कै टाढिन पुग्नु नै रहे। जनमुखी राजनीतिलाई अगाडि बढाउने र मुलुकमा परिवर्तनको लहर चलाउने आशा, भरोसा र विश्वास गरिएको माओवादी सत्तामुखी–संसदवादी राजनीतिको घनचक्करमा फस्न पुग्दा उसले आफूलाई अरु पुराना संसदवादी राजनीतिक दलहरुभन्दा भिन्न र उन्नत साबित गर्नै सकेन । नीति र सिद्धान्तमा समाजवादको कुरा गर्ने तर एमाले–कांग्रेस र अन्य संसदवादी दलहरुको फेरो समातेर जसरी भए पनि संसदवादी राजनीतिको केन्द्रमा स्थापित भइरहने– यो कुरालाई माओवादीलाई जनताबाट नराम्ररी पर हुत्याइदियो । राजनीतिको यो आवरणलाई उतारेर नफ्याँकेसम्म अझै माओवादीले क्रान्तिको कुरा गर्नु भनेको ढोंग मात्रै हो भन्ने छाप जनतामा गहिरोसँग परिसकेको छ । यसको सह–उत्पादन (byproduct) के भइरहेको छ भने, माओवादीप्रतिको जनताको आशा, विश्वास र भरोसा मात्रै हैन, समाजवाद र क्रान्तिप्रतिको विश्वास पनि उड्ने स्थिति पैदा गरिरहेको छ ।

सत्ताबाट बाहिरिँदा क्रान्तिको शब्दावलीमा बोल्ने र सत्तामा पुगेपछि त्यसैलाई विस्मृत गर्ने विचित्रको विरोधाभाष प्रचण्डको गतिविधिमा देखिन्छ । संसदीय राजनीतिमा सक्रिय रुपमा लागिसकेपछिका उनका गतिविधिले देखाउँछ—उनी 'क्रान्ति' शब्दलाई विचार होइन, रणनीतिक औजारको रूपमा प्रयोग गर्छन्। माओवादी पार्टीले क्रान्ति–जनयुद्धको विगतको गौरवशाली इतिहासलाई भुलेर संसदीय राजनीतिमा चुर्लुम्मै डुब्न पुगेको उसको गतिविधिहरुले देखाउँछ, यो नेपालका वामपन्थी आन्दोलन एवं स्वयं माओवादीकै लागि पनि एउटा भयानक दु:खान्त हो । यतिखेर माओवादी जसरी संसदवादी दलहरुलाई पनि माथ खुवाउने गरी संसदीय राजनीतिको दलदलमा हाम्फालेका छन् त्यो देख्दा यस्तो प्रतित हुन्छ: माओवादी आन्दोलनका हजारौं कार्यकर्ताको रगत र बलिदानलाई संसदीय व्यवस्थामा रुपान्तरण गर्ने निर्णय गर्ने बेला उनलाई "जनताको राज्य" भन्दा पनि "राज्यसत्ता" को चस्मा चाहिएको थियो।

नयाँ खालको क्रान्तिको कुरा गर्दा प्रचण्डले यस्तो कुनै संगठनात्मक योजना, राजनीतिक विचार, वा जनआधारित आन्दोलनको स्पष्टता दिन सकेका छैनन्। यस्तो प्रतित हुन्छ: उनीसँग बाँकी अब न क्रान्तिकारी संरचना छ, न त त्यो संरचना बनाउने इच्छाशक्ति। संसदीय राजनीतिमा मग्न, अवसरवादी गठबन्धनमा रुमल्लिएको अहिलेको अवस्थामा हिजोका वर्गदृष्टिमा हेपिएकाहरुसँग हातेमालो गर्दै हिँड्ने माओवादी नेतृत्व आज त्यो वर्गबाट निक्कै टाढिएको छ । यो कुनै आक्षेप होइन, यो त स्वयं माओवादी नेतृत्व समेतले पटक पटक सार्वजनिक रुपमा स्वीकार्दै आएकै कुरा हो । हिजो उनलाई वैचारिक तथा फौजी रुपमा भरपर्दो आडभरोसासिहत साथ समर्थन दिने उनका सहयोद्धा र सहकर्मीहरु छिन्नभिन्न भएका छन् । अहिले उनले नेतृत्व गरेको पार्टी जसरी मौजूदा व्यवस्थासँग पूर्ण रूपमा समायोजन भएका छन्, त्यस्तो व्यक्तिबाट "नयाँ खाले क्रान्ति" को कुरा सुन्नु आफैंमा विद्रूप कुरा हो।

'क्रान्ति' शब्द एउटा दर्शन हो—त्यसमा वैचारिक प्रतिबद्धता, संगठनात्मक अनुशासन, जनआधार, वैकल्पिक योजनाहरू, र समय सापेक्ष दृष्टिकोण चाहिन्छ। यो कुरा हिजो उथलपुथलकारी जनयुद्धको नेतृत्व गरेका प्रचण्डलाई राम्ररी थाहा छ ।  तर प्रचण्डका पछिल्ला अभिव्यक्तिहरू हेर्दा यस्तो लाग्छ—क्रान्ति अब विचार होइन, भाषणको मसला मात्र हो। त्यो भाषण, जसको उद्देश्य आफ्ना विगतका कार्यकर्तालाई फेरि एकपटक मुग्ध बनाउने प्रयास हो। तर जनताले अब त्यो भाषण पत्याउने अवस्था कमजोर छ ।  किनभने उनीहरूलाई थाहा छ—"नयाँ खालको क्रान्ति" भन्ने अभिव्यक्तिमा कुनै नयाँ कुरा छैन। त्यो न त विचारमा नयाँ हो, न संगठनमा, न व्यवहारमा।

प्रचण्डको राजनीतिक जीवन एउटा ऐतिहासिक द्वन्द्वको विम्ब हो—जहाँ विचारले शक्ति पायो तर त्यस शक्तिले विचार गुमायो। आज प्रचण्डको हरेक बोली आफ्नै विगतप्रतिको असहजता हो। "क्रान्तिको हुटहुटी" सत्ताबाट बाहिरिँदा मात्र जाग्ने तर सत्तामा पुगेपछि संसदीय राजनीतिको माखेसाङ्लोलाई तोड्न खासै प्रयत्न नहुने प्रवृत्तिले देखाउँछ—यो हुटहुटी त राजनीतिमा बाँकी रहेको 'र्याडिकल प्रतीक' को अभिनय मात्र हो, कुनै विकल्पको घोषणा होइन।

यसकारण, अब समय क्रान्तिको हसिन सपना देखाउने मात्रै होइन, त्यसका लागि आफू साँच्चै नै इमान्दार र प्रतिबद्ध छु भनेर प्रमाणित गर्ने कुरा हो, वास्तविक जनमुखी सुधारका कार्यक्रम ल्याउने हो। साँच्चै नै प्रचण्ड पहिले झैं जनमुखी राजनीति र क्रान्तिप्रति प्रतिबद्ध छन् भने सबैभन्दा पहिले उनले प्रतिक्रियावादी खेमालाई धूपवत्ती गर्न छोड्नुपर्छ । दलाल पुँजीवादको साङ्लोलाई निर्मम ढङ्गले चुडालेर जनताको आडभरोसामा राजनीति गर्ने आँट हिम्मत गर्नु जरुरी छ, जुन हिजो एउटा कालखण्डमा उसले गरेका थिए र त्यसवापत जनताले पनि अपार साथ समर्थन दिएका थिए ।  त्यसका लागि एमाले–काङ्ग्रेस लगायतका अन्य संसदवादी दलहरुको फेरो समातेर जसरी भए पनि सिंहदरवारमा पुग्ने मूल्य–मान्यताहीन राजनीतिलाई च्वाट्टै छाड्न सक्नुपर्छ ।

के कुनैबेला जनयुद्धको नेतृत्व गरेका प्रचण्ड यसो गर्न तयार छन् ?