जमानाको नायक

इतिहासको यो फैसलापछि पनि शक्तिको पटाङ्गिनीमा यस्तो झाँकी पनि मन्चन भई रहेको छ– जहाँ उसको विचार,निष्ठा र समर्पणलाई होइन उसको तस्विरमा माल्यार्पण गर्दै कपटीहरु भन्दै छन्, "तिमी हाम्रा आराध्य देव !' विष कुम्भं पयो मुखम ।
जसले नेपाली कम्युनिष्ट आन्दोलनलाई सुसंवद्ध विचार प्रणालीमा संगठित गर्यो, ‘मरते दम तक’ लड्यो । नेताको करिश्मामा होइन सामाजिक विकासको वास्तविकता सुहाउँदो सपनाको जीवन भर वकालत गर्यो - यसैको निम्ति जसले भनिरहन्थ्यो 'नेता होइन नीति प्रधान ।' कुरो प्रष्ट थियो, संगठन बाबुसाहेवको अघिपछि हिड्ने लावालस्कर होइन । त्यो तुष्टीकरणले बन्ने पनि होइन त्यो त सामाजिक मिशन प्रतिको निष्ठाले बन्ने हो । त्यसो भए मात्रै त्यो दिगो र प्रभावकारी हुन्छ । उसको काल्पनिकी बेजोड थियो । ऊ दुर क्षितिज निहाल्थ्यो । ऊ आफ्नो क्यानभासमा भए भरका सामाजिक रंग पोतेर सुन्दर चित्र प्रस्तुत गर्न चाहन्थ्यो जहाँ दुर्बलहरू शिर ठाडो पारुन, सबै रंगहरु हासुन र संगतिमा हातेमालो गरुन । ऊ समाजलाई कसैको रैती मान्दैनथ्यो न त समाजलाई कागती निचोरे झैं निचोरेर खडा गरेको वैभवलाई न्यायिक करार गर्थ्यो ।
ऊ भन्थ्यो, 'हाम्रो घरको भद्रगोल हामीले मिलाउने हो, त्यो क्षमता हामी राख्छौं पनि । तिमी आफ्नै घर हेर । हामीलाई तिमि साथी भए पुग्छ, बाबु साहेब पल्टिनु पर्दैन ।' स्वाभिमानको मूल्य उसलाई थाहा थियो । मित्रताको हैशियत पनि राख्दथ्यो ।
भोग र विलासमा उसको रुची छदै थिएन । ऊ अभावको पाशविकतालाई बुझ्दथ्यो र सामाजिक तहमा त्यसको उन्मुलनको निम्ति मरिहत्ते गरेर लागेको थियो । आफैलाई भने त्यसले कुनै दाल गलाउन सकेन । जसले चना खाएर भोक टार्यो तर आफ्नो विश्वास डगमगाउन दिएन । सायद ऊ आफ्नो दाइको शहादतलाई स्मरण गर्दै भन्थ्यो, 'दाइ, यति जावो दुःखले मेरो रौं पनि झर्दैन । धन्दा न मान्नो'स तपाईंको शहादत खेर जान दिने छैनौं ।'
उसलाई प्रतिपक्ष समेत पनि बडो आदर भावले हेर्दथे, उसको निष्ठा र समर्पण देखेर पानी पानी हुन्थे । हकिकत ! आफ्नै शिष्यले भने उसलाई अभरमा घचेटे । उ बेला शक्तिको रंगशालामा अर्कै खेल 'थ्यो । टप्पर-टुईया र उपबुज्रुक भन्थे उ प्राज्ञै छैन, कायर र कपटीहरु लान्छित गर्थे उसको गन्तव्य बत्तीमा होमिने पुतली हो । उसले लामो राजनीतिक यात्राको पथरेखा कोर्यो र भन्यो, जहाँसम्म जान सकिन्छ सहयात्रा गरौं ।तिनले उनको प्रस्ताव पछिसम्म लत्याए, तिनको तर्क थियो अजातसंग सहयात्रा गर्नु अलच्छिन लाग्छ । आफै भित्रकाले यस्तो पनि भन्न भ्याए, तँ पातकी होस, विधर्मीको पुच्छर होस् । आफ्ना विश्वासमा डगमगाएन । ऊ आफै जलेर गयो तर उसले प्रदीप्त गरेको मार्गमा नै अन्ततः उनका आलोचक र विपक्षी सहित सिंगो मुलुक होमियो पनि । न भन्दै तिनले दुइटा डाडा संगै काटे पनि । यो पनि त हकिकत हो !
इतिहासको यो फैसलापछि पनि शक्तिको पटाङ्गिनीमा यस्तो झाँकी पनि मन्चन भई रहेको छ– जहाँ उसको विचार,निष्ठा र समर्पणलाई होइन उसको तस्विरमा माल्यार्पण गर्दै कपटीहरु भन्दै छन्, "तिमी हाम्रा आराध्य देव !' विष कुम्भं पयो मुखम ।
ऊ थियो अटल नक्षत्र । यसै गर्व लाग्ने ! यस्तो थियो उ जमानाको नायक ।

नवधनाढ्यहरु र सांस्कृतिक विचलन

प्रचण्डका "संविधान संशोधन प्रस्ताव" को शल्यक्रिया

‘एलार्मिष्ट’ बनेको हैन, तर कुरो ‘एलार्मिङ’ नै छ

नागरिकको निष्ठामा भएको धोका: सरकारहरुलाई एक तीतो सन्देश

आदर्श होइन कृत्रिम

आर्थिक संकटको संघारमा नेपाल

पछिल्ला १२ दिनको युद्धले सिकायो कि इरानले आणविक हतियार नबनाउनु मूर्खता थियो

प्रतिक्रिया