उत्तर कोरिया - पर्दा पछाडिको दृश्य

विश्व राजनीतिक रंगमञ्चमा उत्तर कोरिया एउटा अनौठो, रहस्यले घेरिएको र विवादास्पद पात्रजस्तै देखिन्छ। सत्ताको केन्द्रमा उभिएको यो राष्ट्र विश्वभरिका समाचार माध्यम, विश्लेषक र राजनीतिक शक्ति केन्द्रहरूको निगरानीमा सधैं रहने गरेको छ। तर बाहिर पूजँजीवादी र संशोधनवादीहरुको नजरबाट देखिने दृश्य भन्दा पर, एउटा यस्तो यथार्थ लुकेको छ जसलाई धेरैले बुझ्न खोज्दैनन्-न त बुझ्न चाहन्छन्। यही यथार्थ हो उत्तर कोरियाको आत्मनिर्भर राष्ट्र निर्माणको प्रयास, जुन "जुच्छे" दर्शनमा आधारित छ।
जुच्छे-अर्थात् आत्मनिर्भरता, आत्मसम्मान र राष्ट्रिय स्वाभिमान-उत्तर कोरियाको राजनीतिक, आर्थिक र सामाजिक संरचनाको मूल आधार हो। यो दर्शनले राष्ट्रलाई आफ्नो बाटो आफैँ तय गर्ने, विदेशी हस्तक्षेप अस्वीकार गर्ने र आफ्नै स्रोतमा भर पर्न प्रेरित गरेको छ। तर यस्तै आत्मनिर्भरताको यात्रा बहुपक्षीय छ-कसैको लागि यो साहसिक उपलब्धि हो भने, अरूको लागि यो बन्दुकको नालमा कैद गरिएको स्वतन्त्रता।
पश्चिमी विश्वले उत्तर कोरियालाई एक निरंकुश, बन्द र जनतालाई नियन्त्रण गर्ने प्रणालीका रूपमा चित्रण गर्छ। तर, के त्यो दृष्टिकोण सम्पूर्ण यथार्थ हो? उत्तर कोरियाको शिक्षा, स्वास्थ्य, विज्ञान, रोजगारी र सैन्य प्रविधिको पक्षमा सकारात्मक पक्षहरू छैनन्?, जुन प्रायः नजरअन्दाज गरिन्छन्। यही उपेक्षित पक्षलाई उजागर गर्ने उद्देश्यले यो लेख लेखिएको हो-जहाँ हामी प्रयास गर्नेछौं त्यो ‘पर्दा पछाडिको दृश्य’ नियाल्न, जसले उत्तर कोरियाको आत्मनिर्भरताको कथा बोल्न सकोस्।
यो लेख त्यस यात्रा प्रारम्भ हो-जहाँ पूर्वनिर्धारित धारणा भन्दा पर गएर हामी एउटा राष्ट्रलाई त्यसकै दृष्टिकोणबाट बुझ्ने प्रयास गर्छौं। न त यसको उद्देश्य पूर्ण समर्थन हो, न पूर्ण विरोध। बरु, यो विवेचन हो-उत्तर कोरियाको आत्मनिर्भरताको यात्राको, जुन शक्ति, भय, सङ्घर्ष र स्वाभिमानले भरिएको छ।
आत्मनिर्भरता जुच्छे (Juche)को दर्शन
राष्ट्रवादी चिन्तनको नयाँ विमर्श: उत्तर कोरियाको राजनीतिक, आर्थिक, र सामाजिक संरचनाको केन्द्रमा रहेको दर्शन हो- जुच्छे विचारधारा यो केवल राजनीतिक नारामात्र नभई उत्तर कोरियाको सम्पूर्ण राष्ट्रव्यवस्थाको दर्शनशास्त्रीय, वैचारिक र व्यावहारिक आधार हो। सन् १९५० को दशकमा किम इल-सुङले यसलाई औपचारिक रूपमा प्रतिपादन गरे र त्यसपछि यो उत्तर कोरियाको संविधान, शिक्षानीति, औद्योगिक रणनीति, विदेश नीति तथा सामरिक सोचसम्म फैलिएको छ।
जुच्छे दर्शनलाई तीनवटा मूल आधारमा बुझ्न सकिन्छ:
क. राजनीतिक स्वतन्त्रता (Political Independence)
कुनै पनि विदेशी शक्तिको प्रभाव बिना आफ्ना राजनीतिक निर्णयहरू लिन सक्ने आत्मनिर्भर शासन व्यवस्थाको अभ्यास हो। उत्तर कोरियाले संयुक्त राष्ट्रसंघ, विश्व बैंक, अन्तर्राष्ट्रिय मुन्द्राकोष, विश्व व्यापार संगठन जस्ता संस्थाहरूको हस्तक्षेप स्वीकार गरेको छैन। "हामी आफैं आफ्नो बाटो हिँड्छौं" भन्ने विचार यसमा केन्द्रित छ।
ख. आर्थिक आत्मनिर्भरता (Economic Self-Sufficiency):
देशभित्रै संसाधनको उपयोग, घरेलु उद्योगको विकास, खाद्य सुरक्षामा आत्मनिर्भरता, विदेशी ऋणबाट मुक्त रहनु।
उदाहरणका लागि, सन् १९९० को दशकको "महामन्दी" (Arduous March) मा पनि देशले आत्मनिर्भर कृषि र सामुदायिक श्रमबाट बाँच्ने प्रयास गर्यो। हाल उत्तर कोरिया कृषि-उद्योगको संयोजन (agro-industrial integration) मा केन्द्रित छ।
ग. रक्षा स्वावलम्बन (Self-Reliant Defense):
विदेशी सैन्य सन्धिहरू र गठबन्धनहरूको साटो, आफ्नो देशको सेना र प्रविधिमा भर पर्ने नीति हो। यिनै विचारले उत्तर कोरियाले परमाणु हतियार विकास गर्यो, जसले रक्षा नीतिमा परनिर्भरता हटायो।
जुच्छे र माक्र्सवाद-लेनिनवादबीचको सम्बन्ध: जुच्छे दर्शनको सम्बन्ध मार्क्सवाद-लेनिनवाद आधारित भए पनि यसको चरित्र विशिष्ट मौलिक छ: जहाँ मार्क्सवादले "आर्थिक वर्ग संघर्ष" मा जोड दिन्छ, जुच्छेले "राष्ट्रको सार्वभौमिक स्वाभिमान" मा जोड दिन्छ।
जुच्छे विचारधारा अनुसार मानिस आफ्नो भाग्यको मालिक आफैं हो। यो विश्लेषणले देखाउँछ कि उत्तर कोरियाले सोभियत मोडेलभन्दा फरक र विशिष्ट वैचारिक मार्ग रोजेको हो।
आधुनिक विश्व सन्दर्भमा जुच्छे दर्शनको सान्दर्भिकता: वर्तमान युगमा जब अधिकांश विकासशील मुलुकहरू वैदेशिक ऋण, दाता एजेन्सी, बहुराष्ट्रिय कम्पनी र आयात-आधारित अर्थतन्त्रमा आश्रित छन्, जुच्छे एक वैकल्पिक विचारधारा हो।
ल्याटिन अमेरिका, एशिया र अफ्रिकाका धेरै मुलुकहरू आर्थिक नव-उपनिवेशवादको चपेटामा छन्, जहाँ तिनीहरूको सम्पत्ति विदेशी कम्पनीहरूले नियन्त्रण गर्छन्। दक्षिण एशियाका मुलुकहरू विदेशी ऋणको बोझमा, विदेशी नीति निर्देशित हुँदै ठूलो आर्थिक संकटको सामना गरिरहेका छन्।
जुच्छेको सफलताका मुख्य पक्षहरू: जुच्छे सिद्धान्त अन्तर्गत उपलब्धि राजनीति विदेशी प्रभावविना राष्ट्रिय नीति सञ्चालन अर्थतन्त्र घरेलु उद्योगमा जोड, सामूहिक श्रम सामाजिक जीवन श्रमको सम्मान, सामूहिक अनुशासन संस्कृति राष्ट्रिय गौरवमा आधारित कला, साहित्यशिक्षा/प्रविधिराष्ट्र केन्द्रित पाठ्यक्रम र अनुसन्धान मुख्य हुन्। जुच्छे भन्दैन कि संसारसँग टाढा बस। तर भन्छ- "पहिला आफैं उभ, अनि मात्र अरूसँग जोड।"
शिक्षाको पहुँच र गुणस्तर:
उत्तर कोरियाको शिक्षा प्रणालीले "शिक्षा सबैको लागि" भन्ने समाजवादी आदर्शलाई व्यवहारमा रूपान्तरण गरेको छ। पश्चिमी मुलुकहरू वा पूँजीवादी शक्तिहरूले जतिसुकै आलोचना गरे तापनि, उत्तर कोरियाको शिक्षा नीतिमा केही यस्ता विशेषताहरू छन्, जसले शिक्षा नाफाको साधन होइन, राष्ट्रनिर्माणको साधन हो भन्ने सन्देश नकाट्य सन्देश दिएको छ।
नि:शुल्क र सार्वभौम शिक्षा प्रणाली: उत्तर कोरियामा सरकारी विद्यालय र विश्वविद्यालयहरूमा शिक्षा पूर्ण रूपमा निःशुल्क छ - केवल शुल्कमुक्त मात्र होइन, विद्यार्थीलाई पुस्तक, स्टेशनरी, पोशक, खाना र यातायात पनि सरकारले उपलब्ध गराउँछ।
सन् १९७५ मा "११ वर्षे अनिवार्य शिक्षा" लागू भयो। सन् २०१२ मा "१२ वर्षे नि:शुल्क, अनिवार्य शिक्षा" प्रणाली ल्याइयो। यसमा १ वर्षको किण्डरगार्डेन, ५ वर्षको प्राथमिक, ३ वर्षको मिडल स्कूल र ३ वर्षको सिनियर सेकन्डरी समावेश छ। यस्तो पूर्ण शिक्षा पहुँच दक्षिण एशियाली मुलुकहरूमा अझै सपना जस्तै देखिन्छ।
शिक्षा र राष्ट्रवाद: शिक्षाको मूल उद्देश्य "सार्वभौम राष्ट्र निर्माण" हो। प्रत्येक विद्यार्थीमा देशप्रेम, अनुशासन, आत्मनिर्भरता र श्रमप्रतिको सम्मान भर्नु मुख्य लक्ष्य हो। इतिहास र सामाजिक विषयहरूमा उत्तर कोरियाली स्वतन्त्रता आन्दोलन, साम्राज्यवाद विरोध, जुच्छे दर्शन र देशभक्त नायकहरूको महिमा पढाइन्छ। विद्यार्थीहरूलाई बच्चैदेखि सामूहिक अभ्यास (mass gymnastics), सांस्कृतिक कार्यक्रम, श्रमशिविर र सामुदायिक सेवा मार्फत व्यावहारिक शिक्षामा संलग्न गरिन्छ। शिक्षा केवल ज्ञान होइन, विचार र संस्कारको पनि हस्तान्तरण हो भन्ने दृष्टिकोण त्यहाँको शिक्षामा पाइन्छ।
प्रविधिमैत्री शिक्षा: उत्तर कोरियामा २०१० पछिको दशकमा विज्ञान प्रविधि शिक्षामा विशेष जोड दिइएको छ।
किम-इल-सुङ विश्वविद्यालय, किम-चेक विज्ञान तथा प्रविधि विश्वविद्यालय, प्योङयाङ कम्प्युटर विज्ञान संस्था आदि उत्कृष्ट शिक्षालय मानिन्छन्। जहाबाट थुप्रै वैज्ञानिकहरु उत्पादन भैरहेको छ। देशमै बनाइएको शैक्षिक सफ्टवेयर, डिजिटल प्रयोगशालाहरू र Intranet-based learning platform लाई बढावा दिइएको छ। गणित, भौतिक, र कम्प्युटर विषयमा सानैदेखि छात्रहरूलाई तालीम दिइन्छ।
"ट्यालेन्टेड स्टुडेन्ट्स" का लागि विशेष विद्यालयहरूको व्यवस्था छ - उदाहरण, Pyongyang Middle School No. 1 जुन विज्ञान प्रतिभाहरूका लागि छानिएको विद्यालयहरु हुन्।
सीपमूलक र व्यावसायिक शिक्षा: शिक्षा र उद्योगबीचको सम्बन्ध बलियो छ। विद्यालयको पाठ्यक्रममा उद्योग भ्रमण, कृषि अभ्यास, उत्पादनमूलक कामलाई अनिवार्य बनाइएको छ। विद्यालयहरूमा टेक्निकल वर्क ट्रेनिङ (हाते उपकरण, मेशिन अपरेशन, काठ-फलाम सम्बन्धी सीप) दिइन्छ।
"काम-अध्ययन सन्तुलन"को नाममा विद्यार्थीले कक्षामा पनि पढ्छ र विद्यालयकै कार्यशालामा प्रयोगात्मक अभ्यास अनिवार्य दिईन्छ। यस्तो अभ्यासले श्रमको सम्मान र स्वावलम्बी संस्कार निर्माण गर्छ।
महिला र ग्रामीण पहुँचमा समानता: उत्तर कोरियाको शिक्षा प्रणाली लैङ्गिक समानता र ग्रामीण-शहरी समावेशितामा सन्तुलित देखिन्छ। ग्रामीण बालबालिका पनि समान गुणस्तरको पाठ्यपुस्तक, शिक्षक र शैक्षिक सामग्री पाउँछन्।
महिलाको साक्षरतादर ९९% माथि छ। किशोरीहरू पनि विज्ञान, इन्जिनियरिङ, प्रशासनजस्ता क्षेत्रमा सहजै प्रवेश पाउँछन्।
उत्तर कोरियाको शिक्षा प्रणाली एउटा उदाहरण हो कि शिक्षा केवल डिग्री लिने होइन, राष्ट्र निर्माण गर्ने माध्यम हो।
विद्यार्थीलाई केवल "जानेको मान्छे" होइन, "जिम्मेवार नागरिक" बनाउन शिक्षा हुनु पर्छ - उत्तर कोरियाको शिक्षाले यही सन्देश दिहेको छ।
जब अरू देशहरू शिक्षा निजीकरण, व्यवसायीकरण, र प्रतिष्पर्धाको खेल बनाइरहेका छन्, उत्तर कोरियाले शिक्षा राष्ट्र निर्माणको अस्त्र बनाएको छ।
स्वास्थ्य सेवामा आत्मनिर्भरता र पहुँच:
उत्तर कोरियाले समाजवादी चिन्तनमा आधारित सार्वभौम स्वास्थ्य प्रणाली विकास गरेको छ, जसको मूल मन्त्र हो- "स्वास्थ्य नाफाको विषय होइन, नागरिकको मौलिक हक हो।"
पश्चिमी आलोचना वा पूँजीवादी प्रचारका विपरीत, उत्तर कोरियाको स्वास्थ्य प्रणालीले निम्न वर्ग, ग्रामीण जनसंख्या, महिला र बालबालिकाको हितमा गम्भीर ढंगले काम गरिरहेको देखिन्छ।
शतप्रतिशत नि:शुल्क स्वास्थ्य सेवा: उत्तर कोरियामा सन् १९५३ पछि नै “पूर्णतया नि:शुल्क स्वास्थ्य सेवा” लागू गरिएको हो। बिरामीको उपचार, औषधि, अस्पताल बसाइ, परीक्षण, अपरेशन सबै निःशुल्क छ। मानिसले पैसा नभएको कारण उपचार नपाउने अवस्था छैन। देशभर प्राथमिक स्वास्थ्य चौकीदेखि लिएर राष्ट्रिय विशेष अस्पतालसम्मको संरचना राज्यले निर्माण गरेको छ।
नेपाल, भारतजस्ता देशहरूमा अझै पनि धेरै नागरिक आर्थिक अभावले उपचारबाट वञ्चित भइ अकालमा मरेका कयौं उदाहरण भेटिन्छ।
प्राथमिक स्वास्थ्य प्रणाली: गाउँ स्तर (Ri Clinic), जिल्ला स्तर (County Hospital), प्रदेश स्तर (Provincial General) र केन्द्रीय स्तर (National Central Hospital) सहित चार तहको स्वास्थ संरचना छ।
प्रत्येक गाउँमा एउटा स्वास्थ्य चौकी अनिवार्य छ, जहाँ प्राथमिक उपचार, गर्भवती महिला जाँच, बाल स्वास्थ्य परीक्षण नियमित हुन्छ। जनशक्ति अभाव हुन नदिन nurse-doctor paramedic model अपनाइएको छ - गाउँमा सेवा दिन विशेष तालिम पाएका स्वास्थ्यकर्मी राखिन्छन्।
सुरुवातदेखि जीवनको अन्त्यसम्म निःशुल्क सेवा: उत्तर कोरियाली स्वास्थ्य प्रणालीले मानव जीवनका सबै चरणमा सेवाको प्रत्याभूति गर्छ। आफ्नै औषधि उत्पादन र पारम्परिक चिकित्सा: उत्तर कोरियाले आफूलाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउने रणनीति अपनाएको छ।
कोरियो औषधि (Koryo medicine) भनिने परम्परागत औषधिलाई आधुनिक प्रविधिसँग मिलाएर प्रयोग गरिन्छ - जस्तै: जडीबुटी, एक्युपन्चर, जल–वाष्प उपचार। मेडिकल प्लान्ट कारखाना, प्योङयाङ औषधि कारखाना लगायत दर्जनौं औषधि कारखाना सञ्चालनमा छन्। साम्राज्यवादी कम्पनिहरूको औषधिमा निर्भर नरहने नीति स्पष्ट छ। यसले आत्मनिर्भरता र सस्तो उपचारलाई सुनिश्चित गर्छ।
सामूहिक स्वास्थ्य-साक्षरता अभियान: स्वास्थ्य सेवा मात्र होइन, नागरिकको स्वास्थ्य चेतना निर्माण पनि उत्तर कोरियाको प्राथमिकता हो। प्रत्येक परिवारलाई स्वास्थ्य सम्बन्धी जानकारी दिने छुट्टै जनस्वास्थ्यकर्मी हुन्छन्। विद्यालय, कार्यक्षेत्र र सेना सबैमा “health education” कक्षा नियमित छन्। सरसफाइ, पोषण, व्यायाम र रोग प्रतिरोध सम्बन्धी जागरुकता अभियान सशक्त छन्।
संक्रामक रोग नियन्त्रण र आपतकालीन तयारी:उत्तर कोरियाले COVID-19 महामारीका बेला "Zero COVID Policy" लागू गर्दै सिमाना पूरै बन्द गर्यो र आन्तरिक निगरानीलाई उच्चस्तरमा पुर्यायो। सरुवा रोगको लक्षण देखिनासाथ तुरुन्त स्थानीय क्वारेन्टाइन लागू हुने नीति छ। स्वच्छता-आधारित रोकथाम रणनीति प्रभावकारी रूपमा लागू गरिन्छ। यसमा केही आलोचना भए तापनि, तिनको आधार पनि स्पष्ट वैज्ञानिक सतर्कता हो।
स्वास्थ्य र श्रमको संयोजन: स्वस्थ नागरिक उत्पादनशील हुन्छ भन्ने दृष्टिले कार्यस्थलमा नियमित स्वास्थ्य परीक्षण अनिवार्य छ।प्रत्येक उद्योग, स्कूल, कार्यालयमा स्वास्थ्य निरीक्षकको नियुक्ति हुन्छ। ‘Work-Life Balance’ का लागि खेलकुद, सामूहिक व्यायाम र पौष्टिक आहारलाई प्राथमिकता दिइन्छ।
स्वास्थ्य सेवामा लिंग समानता: महिला स्वास्थ्यको विशेष ख्याल राखिन्छ - गर्भवती, स्तनपान गराइरहेकी आमा, वृद्ध महिलालाई लक्षित पोषणयुक्त आहार वितरण हुने गर्छ। महिलाको महिनावारी, प्रजनन स्वास्थ्य जस्ता विषयलाई स्वास्थ्य पाठ्यक्रममा समावेश गरिएको छ।
विकासशील राष्ट्रहरूका लागि उत्तर कोरियाको सन्देश: उत्तर कोरियाको अभ्यास अन्य राष्ट्रहरूको उपचार शुल्कपूर्ण हुन्छ। महँगो र निजी अस्पतालमा निर्भर छ। औषधि उत्पादन आत्मनिर्भरता छैन, आयातमा निर्भरता हुन्छ। जनस्वास्थ्य शिक्षामा अन्धविश्वास हावी भई महिला-बाल स्वास्थ्यलाई गम्भीर असर गरेको हुन्छ।
उत्तर कोरियाको स्वास्थ्य प्रणालीले मानव स्वास्थ्यलाई वस्तु होइन, मानवअधिकार ठान्छ। शासकको अनुशासनप्रति आलोचना गर्नु अलग विषय हो, तर सर्वसाधारण नागरिकको स्वास्थ्यको खातिर गरिएको समर्पण उदाहरणीय छ।
रोजगारी र श्रम संस्कार:
उत्तर कोरियाले "श्रम सम्मान हो, शोषण होइन" भन्ने समाजवादी मूल्यलाई व्यवहारमा उतारेको दाबी गर्छ। संसारभर बेरोजगारी, न्यूनतम ज्याला, श्रमिक शोषण, असुरक्षित श्रम अवस्थाको चर्चा भइरहँदा उत्तर कोरिया पूर्ण रोजगारी र श्रमको सामाजिक गरिमालाई संस्थागत रूपमा अघि सारेको देखिन्छ।
शतप्रतिशत रोजगारको सुनिश्चितता: उत्तर कोरियामा "बेरोजगारी" भन्ने शब्दको अर्थ नै छैन। प्रत्येक नागरिक राज्यद्वारा तोकिएको पेशा वा सामाजिक उत्पादन प्रणालीमा सहभागी हुन्छ। विद्यालय शिक्षा पूरा गरे लगत्तै रोजगारीको व्यवस्था हुन्छ - सिप, दक्षता, रुचि र राज्य आवश्यकताका आधारमा रोजगारी सुनिश्चित गरिन्छ।
रोजगारी र राज्यको उत्तरदायित्व: राज्यले नागरिकको काम, बसोबास, यातायात, स्वास्थ्य, बालबच्चाको हेरचाह आदि सबै सेवा-सुविधा उपलब्ध गराउने व्यवस्था बनाएको छ। काम गर्नेलाई सरकारले खाजा, लुगा, आवास, छोराछोरीको स्कुलजस्ता सुविधासहित व्यवस्थापन गर्छ। रोजगारीको आधारमा वर्गीय विभेद हुँदैन - सफा गर्ने श्रमिक र इन्जिनियर दुवैलाई सम्मान गरिन्छ।
श्रमको गौरव र समाजवादी संस्कार: उत्तर कोरियाको विचारमा, श्रम केवल जीविकोपार्जनको माध्यम होइन, राष्ट्र निर्माणको पवित्र कर्म हो। प्रत्येक श्रमिकलाई "देशका स्तम्भ" भन्ने व्यवहार गरिन्छ। श्रमिकहरूको योगदानलाई प्रचार माध्यमबाट सम्मान गरिन्छ - उदाहरणीय श्रमिकको तस्बिर पोस्टर र समाचारमा आउने गर्छ।
शारीरिक श्रमलाई तुच्छ ठान्ने संस्कार छैन - नेतादेखि सामान्य कर्मचारीसम्म श्रममा सहभागी हुने संस्कृति छ। “श्रम माया हो, श्रम सम्मान हो, श्रम शक्तिशाली साधना हो।” - उत्तर कोरियाली मुख्य नारा हो।
श्रम-सैनिक संस्कृति (Working-Class Patriotism): उत्तर कोरियामा श्रमिकहरूलाई “श्रमिक–सैनिक” (worker-soldier) भनिन्छ। देश निर्माणमा श्रमलाई सैनिक योगदान सरह मानिन्छ। प्रत्येक कारखाना, निर्माण साइट, खानीमा राष्ट्रको गौरव निर्माण गरिरहेको भावनात्मक जोड हुन्छ। यसले काममा समर्पण र आत्मगौरव बढाउँछ।
नारी श्रमिक र समान सहभागिता: महिलालाई घरेलु भूमिकामै सीमित नराखी राज्यले सबै क्षेत्रमा श्रमको समान अधिकार दिएको छ - कृषि, कारखाना, शिक्षण, विज्ञान, सेना आदिमा उनीहरूको सहभागिता महत्त्वपूर्ण छ। सुत्केरी बिदा, बालबच्चाको हेरचाहका लागि सुविधाजनक नीति लागू गरिएको छ। यो लैङ्गिक श्रम विभाजनको खारेज र नारी सशक्तिकरण दुवैको संकेत हो।
कृषि र सहकारी श्रमिक मोडेल: कृषिमा सहकारी खेती प्रणाली लागू छ, जहाँ किसानहरू श्रमिकका रूपमा संगठित हुन्छन्। उत्पादन सामूहिक हुन्छ, तर परिणाम अनुसार व्यक्तिगत लाभ पनि सुनिश्चित हुन्छ। राज्यले बीउ, मल, औजार, तालिम र बजार व्यवस्थापनमा पूर्ण व्यवस्थापन गर्छ। सामूहिक खेतीले प्रतिस्पर्धा होइन सहकार्य र सामाजिक एकता जन्माउँछ।
प्रविधिमा आधारित श्रम व्यवस्थापन: उत्तर कोरियाले “साइन्स एन्ड टेक्नोलोजी इज द ड्राइभिङ फोर्स अफ प्रडक्टिभ लेबर” भन्ने नीति अपनाएको छ। श्रमलाई सजिलो, सुरक्षित र प्रभावकारी बनाउन प्रविधि प्रयोग बढाइएको छ - जस्तै: स्मार्ट मेशिनहरू, अटोमेसन, नवीकरणीय ऊर्जा प्रयोग आदि। श्रमिकहरूको दक्षता अभिवृद्धिका लागि निरन्तर “सिप अभिवृद्धि तालिम” दिइन्छ।
श्रम र मनोरञ्जनको सन्तुलन: श्रममा सकृय योगदानसँगै मानिसको मानसिक सन्तुलन र उत्साहका लागि संस्कृति र मनोरञ्जन पनि अनिवार्य बनाइएको छ। प्रत्येक कार्यस्थलमा नाच-गान, खेलकुद, अध्ययन चक्र आदि सञ्चालन हुन्छ। छुट्टिहरू, सांस्कृतिक कार्यक्रम, सामूहिक भ्रमणले Work-Life Balance लाई सामाजिकता र अनुशासनसहित कायम गर्छ।
नयाँ पुस्ताको रोजगारीमा मार्गदर्शन: विद्यालयदेखि नै श्रमको गरिमा सिकाइन्छ। किशोर अवस्था देखि पेशा छनोटमा राज्यले सहजीकरण गर्छ - इन्जिनियर, वैज्ञानिक, शिक्षक, कृषक आदि कसरी बन्ने भन्नेबारे मार्गदर्शन गरिन्छ। सर्टिफिकेट वा डिग्री मात्र होइन, सीप र कर्तव्य भावना रोजगारीको मुख्य आधार हो।
विज्ञान र प्रविधिमा प्रयोगवादी उन्नति:
उत्तर कोरियाको विकास रणनीतिमा "Songun" (सेना पहिलो नीति) सँगसँगै "Byungjin" नीति (समानान्तर रूपमा आर्थिक र वैज्ञानिक विकास) को केन्द्रीय भूमिका छ। पश्चिमी प्रचारमा विज्ञान र प्रविधिको क्षेत्रमा उत्तर कोरियालाई पछाडि परेका देशहरूमध्ये एक मानिन्छ, तर वास्तविकता हेर्दा उत्तर कोरियाले आत्मनिर्भर प्रविधि विकास, सैन्य नवप्रवर्तन र वैज्ञानिक प्रयोगमा उल्लेखनीय प्रगति गरेको पाइन्छ।
प्रविधिमा आत्मनिर्भरता - "जुच्छे टेक्नोलोजी": उत्तर कोरियाको मूल सैद्धान्तिक धारणा "जुच्छे" विचाराधाराले प्रविधिमा पूर्ण आत्मनिर्भरता निर्माण गर्न जोड दिएको छ। आयातित प्रविधिमा निर्भर नहुञ्जेल आफ्नै वैज्ञानिकहरूद्वारा निर्माण, अन्वेषण, सुधार गरिन्छ। स्वदेशी प्रविधिमा आधारित निर्माण, सञ्चार, यातायात, शिक्षा, कृषिमा उपयोग भइरहेको छ।
“आफ्नो माटोमा आफैंले बनाएको प्रविधि नै सबैभन्दा बलियो हथियार हो।” - उत्तर कोरियाली दर्शन।
उपग्रह प्रक्षेपण र अन्तरिक्ष अनुसन्धान: उत्तर कोरियाले स्वदेशी रकेट टेक्नोलोजी प्रयोग गरी उपग्रह प्रक्षेपण गर्ने क्षमता प्रदर्शन गरिसकेको छ। सन् २०१२ मा ‘Kwangmyongsong-3’ नामक पहिलो उपग्रह सफलतापूर्वक कक्षमा पुर्याएको थियो। सन् २०१६ मा ‘Kwangmyongsong-4’ पुनः सफलतापूर्वक प्रक्षेपण गरियो, जसलाई उत्तर कोरियाको अन्तरिक्ष युगमा प्रवेशको संकेत भनिएको छ। यस्तो उपलब्धि केही दशकमा विज्ञानमा प्रगति गर्दै आएका थुप्रै विकासशील राष्ट्रले पनि हासिल गर्न सकेका छैनन्।
सूचना प्रविधिमा आत्मनिर्भर प्रयास - इन्टरनेट: उत्तर कोरियाले "क्वाङम्योङ" नामक आफ्नै अन्तर-देशीय इन्टरनेट नेटवर्क विकास गरेको छ। यसले सरकारी वेबसाइट, डिजिटल पुस्तकालय, शैक्षिक सामग्री, समाचार र इन्टरनेट सेवा राष्ट्रभित्रै प्रदान गर्छ।
"मेरो देश" (Naenara) जस्ता डिजिटल प्लेटफर्महरूमा सूचना प्रवाह र जनजागरणलाई जोड दिइएको छ। यो व्यवस्थाले साइबर सुरक्षा, सांस्कृतिक अखण्डता र सूचना नियन्त्रणमा आत्मनिर्भरता सुनिश्चित गरेको छ।
कम्प्युटर र सफ्टवेयर विकास: उत्तर कोरियामा स्वदेशी अपरेटिङ सिस्टम "Red Star OS" विकास गरिएको छ। यो लिनक्समा आधारित भए तापनि उत्तर कोरियाली भाषामा बनाइएको, सुरक्षित, राज्य नियन्त्रणयुक्त प्रणाली हो। विद्यालयदेखि नै कम्प्युटर शिक्षा अनिवार्य गरिएको छ। केही सूचना प्रविधि संस्थाहरूमा साइबर सुरक्षा, डेटा एनालिटिक्स, कृत्रिम बुद्धिमत्तामा समेत अनुसन्धान भइरहेका छन्।
सैन्य प्रविधिमा अत्याधुनिक प्रयोग: उत्तर कोरियाले उच्चस्तरीय प्रक्षेपास्त्र प्रविधि, ड्रोन्स, इलेक्ट्रोनिक वारफेयर, साइबर ह्याकर यूनिट र जिपिएस जामिङ उपकरण जस्ता आधुनिक सैन्य प्रविधिमा आत्मनिर्भरता देखाएको छ।
२०२३-२४ मा उत्तर कोरियाले हाइपरसोनिक मिसाइल परीक्षण गरिरहेको समाचार सार्वजनिक भयो। "Hwasong" श्रृंखलाका ICBM मिसाइलहरूले हजारौं किलोमिटर दूरीमा हमला गर्न सक्ने क्षमता दर्शाएको छ। “बिना–पाइलट विमान” (Unmanned Aerial Vehicles) को विकासमा पनि उन्नति भएको स्थानीय मिडियाले बताएको छ।
ऊर्जा प्रविधिमा स्थानियकरण र नवप्रवर्तन: उत्तर कोरियाले ऊर्जामा पनि स्थानीय प्रविधि अपनाउने नीति लिएको छ। जलविद्युत आयोजना, सौर्य ऊर्जा, बायो ग्यास, र सस्तो तर सुलभ कोइला ग्याँसिफिकेसन प्रविधि प्रयोगमा ल्याइएको छ। देशका टाढा-टाढाका गाउँहरूमा पनि सौर्य र जलविद्युत प्रणालीमार्फत ऊर्जा पुर्याइएको छ।
कृषि प्रविधिमा वैज्ञानिक प्रयोग: उत्तर कोरियामा बायोटेक्नोलोजी, उन्नत बीउ उत्पादन, मौसमअनुसार खेती प्रणाली, हरितगृह प्रविधि, र प्राकृतिक मल उत्पादन जस्ता प्रविधिहरू प्रयोग भइरहेको छ। वैज्ञानिक खेतीका लागि कृषकहरूमाझ तालिम, प्रविधि हस्तान्तरण, र अनुसन्धानको व्यापक अभियान चलाइएको छ।
औद्योगिक प्रविधिमा स्वदेशी मोडेल: भारी उद्योग, स्टील कारखाना, रसायन उद्योग, सिमेन्ट, इन्धन, ट्र्याक्टर, बस, रेल उत्पादनजस्ता क्षेत्रमा आफ्नै प्रविधिमा आधारित उत्पादनले गति लिएको छ। सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने - निर्माण सामग्रीदेखि मेसिनको पार्टसम्म स्वदेशीकरण गरिएको छ।
शैक्षिक प्रयोगशालामा प्रविधिको विकास: विश्वविद्यालय, विज्ञान-प्रविधि प्रतिष्ठानहरू, र राष्ट्रिय अनुसन्धान केन्द्रहरूमा वैज्ञानिक अनुसन्धानलाई प्रोत्साहन दिइन्छ। विद्यार्थीहरूलाई सैद्धान्तिकभन्दा पनि प्रयोगात्मक, प्रोजेक्ट आधारित सिकाइमा लगिन्छ। विज्ञान शिक्षा प्राविधिक केन्द्रसँग जोडिएको हुन्छ - जस्तैः कम्प्युटर, इलेक्ट्रोनिक्स, रोबोटिक्स आदिको प्रयोगशाला। उत्तर कोरियाको यस्तो धारणा विश्वव्यापी प्रविधि उपनिवेशवादविरुद्ध एउटा गम्भीर विकल्पको रूपमा बुझ्न सकिन्छ।
आधुनिक सैन्य प्रविधि र रक्षानैतिक आत्मबल:
उत्तर कोरिया विश्वकै सबैभन्दा सशक्त सैन्य अनुशासनयुक्त देशहरूमध्ये एक हो। पश्चिमी प्रचारले यो सधैं "आक्रामक", "विघटनकारी" वा "संकट उत्पन्न गर्ने" राष्ट्रका रूपमा चित्रण गरे पनि, वस्तुतः यसको सम्पूर्ण सैन्य दर्शन "रक्षात्मक आत्मनिर्भरता" (Defensive Sovereignty) मा आधारित छ।
सोङ्गुन (Songun) नीति र सैन्यलाई प्राथमिकता: उत्तर कोरियाली दर्शनमा "Songun" (सेना पहिलो नीति) को गहिरो प्रभाव छ। यो नीति किम इल सुङको विचारमा आधारित छ, जसअनुसार राष्ट्रको स्वतन्त्रता, स्वाभिमान र आत्मबल सुनिश्चित गर्ने एकमात्र भरपर्दो शक्ति सेना हो। राज्यको विकासको मूल आधार नै सुरक्षामा हुन्छ भन्ने मान्यताले सैन्य-नीति र प्रविधिमा निरन्तर नवप्रवर्तन ल्याएको छ।
प्रविधियुक्त आधुनिक मिसाइल प्रणाली: उत्तर कोरियाले अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल (ICBM) जस्ता अत्याधुनिक हतियारहरू सफलतापूर्वक परीक्षण गरिसकेको छ। "Hwasong-15", "Hwasong-17" जस्ता ICBM हरूले अमेरिकासम्म पुग्ने क्षमता राख्ने दाबी गरिन्छ।
सन् २०२४ मा गरिएको परीक्षणहरूमा "हाइपरसोनिक मिसाइल" प्रयोग भएको बताइएको छ, जुन ध्वनिको गतिभन्दा पाँच गुणा बढी छिटो हुञ्छ। यी प्रविधिहरू आक्रामक उद्देश्य होइन, बाह्य हमला भएमा प्रतिरोध गर्न निर्माण गरिएका हुन् भन्ने उत्तर कोरियाली तर्क छ।
परमाणु क्षमता र आत्मरक्षा सिद्धान्त: उत्तर कोरियाले विश्वमा "न्यूनतम परमाणु प्रतिरोधात्मक क्षमतायुक्त राष्ट्र" का रूपमा आफूलाई पुष्टि गरिसकेको छ। सन् २००६ पछि गरिएको श्रृंखलाबद्ध पृथ्वीमुनि परमाणु परीक्षणहरूले यसको आत्मनिर्भर अनुसन्धान क्षमताको झलक दिन्छ। उत्तर कोरियाले बारम्बार भनेको छ - "हामी परमाणु युद्ध चाहँदैनौं, तर यदि हाम्रो अस्तित्वलाई चुनौती दिइयो भने चुप लागेर मर्नेमध्ये होइनौं।" यस्तो दृढता रक्षात्मक कूटनीतिक आत्मबल हो - जुन अन्य राष्ट्रको दबाबमा झुक्दैन।
साइबर युद्ध क्षमता: उत्तर कोरिया साइबर-युद्ध क्षमतामा पनि एक शक्तिशाली खेलाडी बनेको छ। "Lazarus Group" नामक सरकारी ह्याकर समूहद्वारा आर्थिक चोरी, डाटा ब्रिच, बिटक्वाइन ह्याक, वित्तीय संस्थाहरूमा आक्रमण जस्ता साइबर अभियानहरू सञ्चालन गरिएकामा अन्तर्राष्ट्रिय रूपमा चिनिएको छ।
इजरायल, अमेरिका, दक्षिण कोरिया जस्ता देशहरूले उत्तर कोरियाको साइबर शक्ति प्रति गम्भीर चासो व्यक्त गरेका छन्। तर उत्तर कोरियाको तर्क अनुसार - "यो साइबर शक्ति राष्ट्रको आर्थिक रक्षा र सूचना संप्रभुताको लागि हो, आक्रामक उद्देश्य होइन।"
स्वदेशी रक्षा-उद्योग उत्पादन क्षमताः उत्तर कोरियाले आफ्नो सेना-प्रणालीका लागि आवश्यक प्रायः सम्पूर्ण हतियार, गोली-बारूद, तोप, ट्याङ्क, जहाज, रकेट लञ्चर, ड्रोन्स आदि आफ्नै देशमै उत्पादन गर्छ। रसियन प्रविधिको अध्ययन र त्यसमा आधारित स्वदेशी प्रतिकृति उत्पादन प्रणाली विकसित गरिएको छ। पुराना प्रविधिहरूलाई मर्मत–संशोधन गरी नयाँ प्रविधिमा रूपान्तरण गर्ने प्रयोगशालाहरू सञ्चालनमा छन्। यस्तो संयन्त्रले राष्ट्रलाई आयातमा निर्भर हुनबाट जोगाउँछ।
ड्रोन्स र रोबोटिक्स प्रविधिमा प्रवेश: उत्तर कोरियाले पछिल्ला वर्षहरूमा ड्रोन प्रविधिको विकास र परीक्षण सफलतापूर्वक गरिरहेको छ। सन् २०२३ मा दक्षिण कोरियाको हवाई क्षेत्रमा उत्तर कोरियाली ड्रोन्स प्रवेश गरेको दाबी गरिएको थियो - जुन यसको निगरानी क्षमता दर्शाउँछ। सेना प्रशिक्षणमा प्रयोग गरिने रिमोट-कन्ट्रोल रोबोटिक प्रविधिहरू पनि देख्न थालिएको छ।
राष्ट्रिय एकताको प्रतीक - जनसेनाको भूमिका: उत्तर कोरियाको सेना केवल लडाइँका लागि नभई राष्ट्रिय पुनर्निर्माण, विकास, आपतकालीन उद्धार, बाढी-भूकम्पको बेलामा सेवा गर्ने जन-सेना हो। नागरिकहरूलाई सेना र सेनालाई नागरिक जस्तो नै व्यवहार गरिन्छ। यो सन्देश दिन खोजिएको छ - "सेना राष्ट्रका लागि बलिदानी गर्ने वर्ग हो, न त सत्ताको संचालक।"
आत्मबल र अनुशासनमा: उत्तर कोरियाली सेनामा प्रशिक्षण केवल हतियार चलाउने मात्र होइन, राजनीतिक शिक्षादेखि राष्ट्रप्रेम, आत्मबल, सहनशीलता र वफादारी सम्मको गहिरो सन्देशमा आधारित हुन्छ। सैनिकहरूलाई "राजनीतिक सैनिक" मानिन्छ - जसले कक्षा पनि जान्छ, खेतमा पनि काम गर्छ, युद्ध पनि गर्छ। सैन्य संरचना एक क्लासलेस (classless) अनुशासित समाज को प्रतिनिधित्व मानिन्छ।
समाजवादी नीतिमा बेरोजगारी शून्य लक्ष्य:
पूँजीवादी मुलुकहरूमा रोजगार व्यक्तिको क्षमता र बजारको मागबीचको सम्झौतामा आधारित हुन्छ, जहाँ ठूलो जनसंख्या बेरोजगार, अर्ध-बेरोजगार वा न्यून-पारिश्रमिकमा श्रम बेच्न विवश हुन्छन्। तर उत्तर कोरियाले अपनाएको समाजवादी केन्द्रीय नियोजन प्रणालीमा यस्तो अवस्था देखिँदैन। यहाँ बेरोजगारी शून्य राख्ने नीति केवल नारामात्र नभई संवैधानिक अधिकार र व्यावहारिक अभ्यास दुवै हो।
रोजगारी संविधानमै सुनिश्चित: उत्तर कोरियाको संविधानले नागरिकलाई स्पष्ट रूपमा रोजगारीको ग्यारेन्टी दिन्छ: “हरेक श्रम–योग्य नागरिकलाई राज्यले उपयुक्त रोजगारी उपलब्ध गराउनेछ।” यो केवल कागजी ग्यारेन्टी होइन, राज्य-नियन्त्रित श्रम व्यवस्थापन प्रणालीमार्फत व्यवहारिक रूपमा लागू गरिएको छ। नागरिकले आफू रोजगारीविहीन भएको भन्न पाउने अधिकार नै छैन - किनभने राज्य स्वयं रोजगारीको प्रदायक हो।
कुनै ‘जब सेन्टर’ होइन, राज्यमै रोजगारीको व्यवस्था : यहा व्यक्तिले काम खोज्नु पर्दैन, राज्यले नै आवश्यकताअनुसार जनशक्ति नियोजन गर्छ। शिक्षा पूरा गरेपछि सबैलाई रोजगारी प्रदान गरिन्छ - चाहे त्यो कृषि होस्, उद्योग होस्, विज्ञान होस् वा प्रशासन। कुनै पनि व्यक्ति फुर्सदमा ‘टहलिने’ स्वतन्त्रता छैन - किनभने राज्यले त्यसलाई आलस्य र समाजविरोधी मान्दछ।
‘काम’ जीवनको आवश्यक, सम्मानित र बाध्यकारी कार्य : उत्तर कोरियाली दर्शन अनुसार श्रम केवल जीविकोपार्जनको उपाय होइन, नागरिक धर्म हो। 'जो काम गर्दैन, उसले खाने अधिकार पनि राख्दैन' भन्ने सिद्धान्तलाई वर्गहीन समाज निर्माणको पूर्वशर्त मानिएको छ। त्यसैले प्रत्येक व्यक्तिको दिनचर्या नियमित, संगठनबद्ध र सामाजिक उद्देश्यमा समर्पित हुन्छ। व्यवसायिक विविधता: राज्यले आवश्यकता अनुसार रोजगारी निर्धारण गर्छ। उत्तर कोरियामा विभिन्न प्रकारका उद्योग र क्षेत्रमा मानिसहरू बाँडिएका हुन्छन्।
त्यहा रोजगारी मात्र होइन, निश्चित पारिश्रमिक र खाद्य-वितरण पनि गरिन्छ। सबै रोजगारीले स्थिर तलबको व्यवस्था पाउँछ। प्रत्येक कामदारलाई राज्यबाट खाद्यान्न, लत्ताकपडा, आवास र आधारभूत सेवा नि:शुल्क वा अत्यधिक सस्तोमा प्राप्त हुन्छ। पूँजीवादी देशमा जस्तो न्यूनतम पारिश्रमिक, ठगी वा शोषणको खतरा हुँदैन। त्यसैले राज्य-संरक्षित रोजगारी प्रणालीले आर्थिक असमानता घटाउने कार्य गर्छ।
महिला र अपाङ्गता भएका व्यक्तिका लागि समेत रोजगारीको ग्यारेन्टी: उत्तर कोरियामा महिलाहरू घरभित्र मात्र सीमित छैनन् - उनीहरूलाई पनि समान रूपमा कारखाना, अस्पताल, शिक्षा, सेना आदि क्षेत्रमा काममा लगाइन्छ। शारीरिक रूपमा अक्षम व्यक्तिहरूलाई पनि उपयुक्त रोजगारी (कागजी, व्यवस्थापन, सल्लाहकार, प्रयोगशाला) मा नियुक्त गरिन्छ। यो दृष्टिकोण समावेशी समाजवादी रोजगार प्रणालीको उत्कृष्ट उदाहरण हो।
अनुशासन र उत्पादनमा जोड: काम गर्न नआउने, आलस्य गर्ने, काममा लापरवाही गर्नेहरूलाई सामाजिक आलोचना गरिन्छ, आवश्यक परे पुनशिक्षा दिइन्छ। यो प्रणालीले मानिसलाई उत्पादक, जिम्मेवार र योगदानमुखी बनाउँछ। यसले ‘रोजगारी भएको मात्र होइन, राष्ट्र-उपयोगी श्रमिक भएको’ मान्यता स्थापित गर्छ।
निरन्तर श्रम प्रशिक्षण र दक्षता वृद्धिको व्यवस्था: एकै प्रकारको काममा सीमित नराखी, उत्तर कोरियाली श्रमिकलाई विभिन्न सीपहरूमा पुन:प्रशिक्षण गराइन्छ। यसले जनशक्तिलाई बहुप्रविधियुक्त, लचिलो र व्यवस्थापन-योग्य बनाउँछ।
विपरीत परिस्थितिमा पनि दीर्घकालीन स्थायित्व:
उत्तर कोरिया संसारको सबैभन्दा लामो समयसम्म एकल पार्टी नेतृत्वमा टिकेको राष्ट्रमध्ये एक हो। निरन्तर प्रतिबन्ध, अन्तर्राष्ट्रिय दबाब, खाद्य संकट, प्राकृतिक विपत्ति, र कूटनीतिक बहिष्कारबीच पनि राज्यको संविधान, शासन प्रणाली, सामाजिक संरचना र जनउत्तरदायी संयन्त्र यथावत छन्।
यस स्थायित्वको जरा निम्न बुँदाहरूमा खोज्न सकिन्छ।
क. आत्मनिर्भरता र 'जुच्छे' विचारधारा-सैद्धान्तिक बल: उत्तर कोरियाको मूल राजनीतिक विचारधारा "जुचे" हो, जसको अर्थ "आफ्नै बलमा उभिने"। जुच्छे दर्शनले "हामीले अरुको भर नपरी आफैं निर्णय गर्ने, योजना बनाउने र कार्यान्वयन गर्ने" सोचलाई संस्थागत बनाएको छ। यही विचारले राज्यलाई अन्य देशहरूबाट निर्भरता घटाउँदै आत्मबलमा टिक्न प्रेरित गरेको छ।
ख. अत्यधिक प्रतिबन्धबीच पनि व्यवस्थापन क्षमता: उत्तर कोरियामाथि सन् १९५० देखिनै संयुक्त राष्ट्रसंघ, अमेरिका र युरोपेली संघका धेरै चरणका आर्थिक प्रतिबन्धहरू लागेका छन्। यस्ता कठिन परिस्थितिमा पनि ऊर्जामा आत्मनिर्भरता जलविद्युत र कोइला स्रोतको उच्चतम प्रयोगद्वारा आत्मनिर्भर बन्न कोशिश गरिरहेको छ। स्वदेशी उत्पादनमा जोड दिदै औषधि, मल, कृषि उपकरण, उद्योगजन्य सामान स्वदेशमै उत्पादन गरिने प्रणाली विकास गरेको छ। राष्ट्रिय वितरण प्रणालीका कारण अन्तर्राष्ट्रिय व्यापार अवरुद्ध हुँदा पनि राज्य-नियन्त्रित वितरण प्रणालीमार्फत जनतालाई आधारभूत सेवा सुनिश्चित गरिरहेको छ।
ग. प्राकृतिक संकटमा सामूहिकता र सहनशीलता: बाढी, सूखा, जाडो, महामारी आदि प्राकृतिक आपतकालमा पनि उत्तर कोरियामा अत्यन्त व्यवस्थित र अनुशासित राहत अभियानहरू सञ्चालन गरिन्छ। सेना र सर्वसाधारणलाई उपयुक्त ढंगले परिचालन गरिन्छ, जसले "राज्य-परिवार" भन्ने मनोविज्ञान बलियो बनाउँछ। जनता लामबद्ध भएर 'स्वयंस्फूर्त श्रम योगदान' मार्फत आपत व्यवस्थापन गर्छन्। सन् १९९० को खाद्य संकट, २००० को बाढी, र पछिल्लो महामारीमा देखिएको नागरिक सहनशीलता यसैको गहकिलो उदाहरण हो।
घ. वैकल्पिक रणनीति र लचिलो योजना: उत्तर कोरियाले आफ्नो अन्तर्राष्ट्रिय अलगाव अवस्थालाई "सजाय" नभई "स्वशासनको अवसर" बनाउने रणनीति अपनाएको देखिन्छ। बितरण प्रणालीको विविधीकरण, उद्योग र कृषि संयोजन, वैकल्पिक ऊर्जा स्रोतको खोजी, स्थानीय साना उद्योगहरूको प्रोत्साहन आदिले राज्यलाई लचिलो बनाएको छ।
ङ. राष्ट्रियता, समर्पण र प्रचारशैली: संकटलाई पार लगाउने मूल मन्त्र भनेको जनताको मानसिक एकता र नेताप्रतिको समर्पण हो। उत्तर कोरियाले निम्न तरिकाबाट जनताको मनोबल उच्च राखेको देखिन्छ: नेता-नागरिक सम्बन्धलाई पवित्र कर्तव्यमा रूपान्तरण देखिन्छ। "हाम्रो विरुद्ध संसार" भन्ने राष्ट्रिय भावनाको विकास पाइन्छ। सङ्गीत, कविता, चलचित्र र प्रचारमार्फत आत्मबलको निरन्तर सन्देश प्रवाह गरिन्छ। यस शैलीले संकटकाललाई 'आन्दोलन' मा परिणत गरेको छ।
च. सैन्य-नागरिक समन्वय: 'सन्घर्ष र निर्माण' सँगै भन्ने कुरा उत्तर कोरियाको नीति हो - सैनिकहरू केवल युद्धका लागि होइन, राष्ट्रनिर्माणका लागि पनि हो। संकटका बेला-सेना अस्पताल निर्माण, बाँध निर्माण, सडक मर्मत, कृषि सहायतामा पनि संलग्न हुन्छ। यसले राज्य-शक्ति को केवल बलमा होइन, काममा देखिने अनुशासन र दक्षतामा आधारित हो भन्ने प्रमाण दिन्छ।
पूँजीवादी विकृतिबाट मुक्त समाज:
पूँजीवादको अर्थतन्त्र उत्पादनको माध्यममा निजी स्वामित्व, नाफामुखी उत्पादन र उपभोगमा आधारित छ। यसका कारण समाजमा वर्गीय विभाजन, उपभोक्तावाद, नैतिक पतन, र मानसिक तनावजस्ता समस्याहरू व्यापक देखिन्छन्। उत्तर कोरियाले यस्तो विकृत प्रणालीको विकल्प स्वरूप एक यस्तो समाजको निर्माण गरेको छ जहाँ सामूहिकता, समानता, सामाजिक मर्यादा र मूल्य-आधारित जीवनको प्रोत्साहन गरिन्छ।
वर्गविहीन समाज र उत्पादनको समान पहुँच: उत्तर कोरियामा उत्पादनका सबै साधनहरू राज्य स्वामित्वमा छन्। त्यहाँ उद्योग, कृषि, ऊर्जा, शिक्षा, स्वास्थ्य आदि कुनै पनि क्षेत्रमा निजी स्वामित्व छैन। यसले वर्गीय विभाजन हुन दिँदैन - कोही धनी, कोही गरीब भन्ने फरक रहँदैन। सामाजिक पदानुक्रम न्यूनतम छ, जसले समता र सम्मानको भावना बढाउँछ।
पूँजीवादी समाजमा १०% मानिससँग ९०% सम्पत्ति रहन्छ भने, उत्तर कोरियामा सम्पत्ति वितरण राज्यको योजनाअनुसार समान हुन्छ।
उत्तर कोरियाको समाजमा ब्रान्ड संस्कृति, फेसनको होड, भड्किलो जीवनशैली, र निरन्तर उपभोगको दबाब छैन। यसले मानिसलाई मूल्य-आधारित सरल जीवन बाँच्न प्रेरित गर्छ। मानिसहरूले पैसाको पछि लाग्नेभन्दा बढी राष्ट्रका लागि योगदान दिने भावना राख्छन्।
"म कति आम्दानी गर्छु?" भन्नेभन्दा "म कति उपयोगी छु?" भन्ने प्रश्न प्रमुख हुन्छ।
अर्कोतर्फ पूँजीवादी समाजमा उपभोगजन्य तनाव, ऋणको बोझ, देखावटी जीवनशैली र डिप्रेशन सामान्य छन्।
उत्तर कोरियामा चोरी, बलात्कार, ठगी, नशा, भ्रष्टाचारजस्ता अपराधहरू न्यून छन्। सामाजिक व्यवहारमा अनुशासन, मर्यादा र आदर्श जीवनशैली प्रोत्साहित गरिन्छ। अश्लीलता, यौन हिंसा, ड्रग्स संस्कृति, बाल श्रम, मानव बेचबिखनजस्ता विकृतिहरू देखिन्नन्।
यहा कडा नैतिक अनुशासन, सामूहिकता, र जनपक्षीय कानुनी संरचना छ। सञ्चार माध्यम र कलासाहित्य पनि नैतिक शिक्षा र राष्ट्रवादी चेतनामा केन्द्रित छन्।
उत्तर कोरियामा कुनै पनि पेशा उपल्लो वा तल्लो मानिँदैन। शिक्षक, डाक्टर, सैनिक, मजदुर, किसान - सबैलाई राष्ट्रनिर्माताको रूपमा हेर्ने गरिन्छ। पूँजीवादी समाजमा आम्दानी अनुसार प्रतिष्ठा तोकिन्छ, तर यहाँ समर्पण अनुसार सम्मान हुन्छ। श्रम र उत्पादनलाई नाफा होइन, सामाजिक योगदानको दृष्टिकोणबाट हेरिन्छ।
उत्तर कोरियाको समाजव्यवस्थामा व्यक्तिवादी चिन्तनको सट्टा सामूहिक सोच र सहकार्यको भावना गहिरो छ। विवाह, बसोबास, श्रम, उत्सव, संस्कार - सबै सामूहिक हितमा आधारित हुन्छन्। कोही बिरामी परे समाज मिलेर सहयोग गर्छ।
युवा र विद्यार्थीहरू सामाजिक श्रम अभियानमा उत्साहपूर्वक भाग लिन्छन्। सामाजिक सम्बन्ध गहिरा हुन्छन्, एक्लोपन कम हुन्छ, र सामूहिक जिम्मेवारीको संस्कार विकास हुन्छ।
यौन-संस्कृति र सामाजिक मर्यादा: उत्तर कोरियामा यौनजन्य विकृति, हिंसा, अश्लील सामग्री, यौन व्यापार, बाल यौन शोषणजस्ता पूँजीवादी समस्याहरू विरलै देखिन्छन्। विवाह-पूर्व सम्बन्ध, विज्ञापनमा महिला–वस्तुकरण, अश्लीलता आदि नियन्त्रणमा छन्। नैतिक अनुशासन र परिवार संरचना बलियो छ। महिलालाई केवल सौन्दर्य होइन, राष्ट्रसेवाको दृष्टिले हेरिन्छ।
विकृत उपभोक्तावादबाट टाढा हुँदा मानिसको मानसिक स्वास्थ्यमा सकारात्मक असर देखिन्छ:
* सामाजिक प्रतिस्पर्धा न्यून - तनाव कम
* असमानता न्यून - आत्मगौरव उच्च
* भौतिक सन्तुलन - जीवनमा सन्तोष
* निरन्तर कार्य र सामूहिक सहयोग - उद्देश्यको भावना बलियो
उत्तर कोरियामा सिर्जनात्मकता देशभक्तिपूर्ण हुन्छ। त्यसले व्यक्तिगत नाफा होइन, सामूहिक मूल्य र आदर्शलाई प्राथमिकता दिन्छ। चलचित्र, संगीत, कविता, चित्रकलामा राष्ट्र, श्रम, आत्मनिर्भरता र सामूहिकताका सन्देशहरू हुन्छन्। पूँजीवादी समाजमा हिंसा, यौन, पैसा केन्द्रित कलाले समाजलाई बिगार्छ भने, यहाँ कला शिक्षाको साधन हो।
भोलिको परिकल्पना:
उत्तर कोरियाको राष्ट्रनिर्माणको आधार हो "जुच्छे" सिद्धान्त, जसले आत्मनिर्भरता, राष्ट्रिय स्वाभिमान र स्वशक्ति विकासमा जोड दिन्छ।
यो विचारधाराले देशलाई विदेशी निर्भरता र प्रभावबाट टाढा राखेर आफ्नै क्षमता र स्रोत प्रयोग गरेर विकास गर्न प्रोत्साहित गरेको छ। यसको प्रभाव भविष्यमा पनि उत्तर कोरियाको अस्तित्व र विकासको मुख्य आधार बन्नेछ।
आर्थिक आत्मनिर्भरता र स्थायित्व: उत्तर कोरियाले आफ्नो प्राकृतिक स्रोत, कृषि, उद्योग, र मानव संसाधनलाई सदुपयोग गरेर विदेशी व्यापार र आर्थिक निर्भरता कम गर्न कडा प्रयास गरिरहेको छ। विदेशी प्रतिबन्धका बाबजुद पनि स्थानीय उत्पादन र कृषिमा आत्मनिर्भरता हासिल गर्ने रणनीति अवलम्बन गरेको छ।भविष्यमा वैज्ञानिक र प्रविधिक विकासमार्फत नयाँ उत्पादन विधिहरू विकास गरेर आर्थिक स्थिरता ल्याउने लक्ष्य छ।
सैन्य आत्मनिर्भरता र रक्षा क्षमताको वृद्धि: सैन्य प्रविधि र आत्मरक्षामा ठूलो जोड छ। आफ्नै प्रविधि र अनुसन्धानमा आधारित आधुनिक हतियार प्रणाली, मिसाइल, र परमाणु कार्यक्रमले राष्ट्रिय सुरक्षा सुनिश्चित गर्ने प्रयास जारी छ। यो सेना मात्र होइन, राष्ट्रको आत्मनिर्भरता र सम्मानको प्रतीक पनि बनेको छ।
विज्ञान र प्रविधिमा नवप्रवर्तन: शिक्षा र अनुसन्धान संस्थाहरूमा विज्ञान प्रविधिको विकासलाई प्राथमिकता दिइएको छ। नयाँ आविष्कार र प्रविधिको उपयोगबाट कृषि, उद्योग, स्वास्थ्य र सञ्चार क्षेत्रमा सुधार गरिँदैछ। डिजिटल प्रविधि र स्वदेशी विकासमार्फत बाह्य प्रभाव कम गर्ने योजना बनाइएको छ।
सामाजिक एकता र राष्ट्रिय एकताको भविष्य: राष्ट्रवादी चेतना, सामूहिकता, र राष्ट्रिय स्वाभिमानले सामाजिक एकता बलियो बनाएको छ। यस्ता मूल्यहरूको संरक्षण र प्रबर्धनले बाह्य सांस्कृतिक प्रभाव र आन्तरिक द्वन्द्वलाई न्यूनिकरण गर्नेछ। भविष्यमा एकीकृत समाजको दृष्टान्त प्रस्तुत गर्ने आशा छ।
अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ भूमिका: विश्वमा बहुपक्षीय शक्ति सन्तुलनमा उत्तर कोरियाले आफ्नो ठाउँ बलियो बनाउन कोशिस गर्दैछ। आत्मनिर्भरता संगै सहयोग र कूटनीतिक सम्बन्ध विस्तार गर्ने रणनीति पनि विकास गर्दैछ। यसले विश्वशान्ति र क्षेत्रीय स्थिरतामा योगदान पुर्याउने सम्भावना राख्छ।
अन्ततः, उत्तर कोरियाको आत्मनिर्भर राष्ट्रको परिकल्पना केवल वर्तमान चुनौतीहरूलाई सामना गर्ने उपाय मात्र होइन, भविष्यमा स्थायी विकास, राष्ट्रिय गौरव र सामाजिक सद्भावको आधार बन्ने कुरा कुनै शंका छैन।
"जहाँ राष्ट्रिय स्वाभिमान र आत्मनिर्भरता सँगै अघि बढ्छ, त्यहाँ एक सशक्त र सम्मानित राष्ट्रको उदय अनिवार्य हुन्छ।"

म मरें भने म आफ्नो सिद्धान्तमा अडिग भएर मर्छु

नेपालका 'कम्युनिष्ट' मठाधीशहरू राजनीतिक र सांगठनिक सफाया गर्ने बाटो समाउनु …

दलाल पूँजीवादको बदलिँदो अनुहार

हालसालै उभयगत मोहनविक्रम सिंहसँगका केही रोचक प्रसङ्गहरु

मारिने निश्चयको भूमिगत जीवन

‘अविवाहित प्रमाणिकरणको सिफारिस’: राष्ट्रिय लज्जाको दस्तावेज

पोशाक, औपनिवेशिक सोच र पहिचानको द्वन्द्व

प्रतिक्रिया