प्याट्रिस लुमुम्बाको अन्तिम पत्र

म मर्छु होला कुटिएर थुनामा म मरेँ भने
मेरो लास बहुला कुकुरलाई दिनू ।
छोरा र छोरीले सोधेछन् भने
परदेश गएको छ भनिदिनू ।
मेरा प्रियसी, मेरी प्रियतमा !
तिमी कहिल्यै नरुनू ।
मेरो रगतले कंगो देश ब्युँझन्छ भने
कसरी कासा बुबुसँग क्षमा मागौं ?!
मेरो विश्वास र इमान्दारितामा साथीहरु मर्छन् भने
कसरी विश्वासघात गरौँ ?!
तिमीले कहिल्यै विरोध नगर्नू ।
देशको एउटा सपुत छोरो म हुँ भने
मेरो मृत्युमा कहिल्यै नरुनू ।
माया ममता दुनियाँको जित हो भने
मायाले कोही मर्ने थिएन ।
माया एउटा सांसारिक रीत हो भने
मलाई मायाले बचाउँदैन ।
मलाई तिमीले सपनामा देख्यौ भने
ब्युँझिएर कहिल्यै नखोज्नु ।
अन्धकारमा कालो छायाँ देख्यौ भने
भूत आयो कहिल्यै नभन्नू ।
दरिद्रता काँडा भनेर आयो भने
कुल्चिएर पन्छाई दिनू ।
छोरा-छोरीको भलो चाहन्छौ भने
आत्महत्या कहिल्यै नगर्नू ।
यो सानो घर स्वर्ग बनाउँछौ भने
जिन्दगीमा हरेश कहिल्यै नखानू ।
एकदिन यहाँ मारेर बाँच्नु छ भने
दुई फूल हेरेर मलाई बिर्सिदिनू ।
अनि तिम्रो आँखामा दुई चिचिला फुले भने
म मरेको छ भनिदिनू ।
मेरो यादमा नानीहरु ‘बाबा !’ भन्दै रोए भने
मेरो चिहान देखाइदिनू । 

 

एक थिए मानबहादुर शाक्य, जानेमाने प्रगतिवादी कवि। कविता लेख्नेहरूको कमी थिएन उसवेला धरानमा। कविता लेख्न लालायित देखिन्थे अलिकति पढालेखा भनाउँदा सबै जना। कविगोष्ठीहरूमा पनि कविता पढ्ने आफ्नो पालो पर्खिरहेका हुन्थे उनीहरू। निकै ठूलै जमात थियो नवोदित र स्थापित कविहरूको। तर मानबहादुर शाक्यको कवि हैसियत छुट्टै खालको थियो अरूभन्दा। अरू कतिपयको हकमा “ए त्यसले पनि कविता लेख्दो रहेछ वा त्यसले पनि गोष्ठीमा कविता सुनाएको थियो” भन्ने टिप्पणी आउन सक्थ्यो। तर मानबहादुर शाक्यको हकमा त्यो कुरा लागू हुन्नथ्यो। उनी कवि थिए र उनले कविकै पहिचान बनाएका थिए।

कवि भनेर मानेको थियो उनलाई धरानले। कथा, कविता, निबन्धहरू सँगालेर वेलाबखत निकालिने सामयिक संकलनहरूमा उनका कविता हुनु अनिवार्य थियो भने कुनै अवसर पारेर आयोजना गरिने कविगोष्ठीहरूमा उनको कविता वाचन अपेक्षित हुन्थ्यो। त्यस वेला उनको हिट खाएको कविता थियो ‘प्याट्रिस लुमुम्बालाई चिठी’। हरेक कविगोष्ठी र साहित्यिक भेलामा उनलाई त्यो कविता पढ्ने फर्माइस आउँथ्यो र उनी पनि बडो जोशखरोसका साथ वाचन गर्थे त्यो कविता श्रोताहरूको तालीका गडगडाहट निम्त्याउँदै।

प्याट्रिस लुमुम्बा अफ्रिकी महादेशको प्रजातान्त्रिक गणतन्त्र कंगोका लोकप्रिय निर्वाचित प्रधानमन्त्री थिए जसको नृशंस हत्या गरिएको थियो जनवरी १९६१ मा, राजा महेन्द्रले नेपालमा निर्वाचित संसद् र सरकार विघटन गरी शासनको बागडोर आफ्नो हातमा लिएको ठ्याक्कै तेह्र महीनापछि। कंगो बेल्जियमको औपनिवेशिक शासनको चंगुलबाट मुक्त भएपश्चात् गरिएको आमनिर्वाचनबाट लुमुम्बा प्रधानमन्त्री चुनिएका थिए। तर अमेरिकी गुप्तचर संस्था सीआईए, बेल्जियमको औपनिवेशिक पुरानो सरकार र मुलुकभित्रकै पुरातन शक्तिको मिलेमतोमा प्रजातान्त्रिक रूपमा निर्वाचित लुमुम्बाको सरकारलाई तीन महीना पनि टिक्न नदिई आन्तरिक तथा सैनिक विग्रह खडा गरेर आखिर उनको हत्या गरिएको थियो।

छोटो समयमै लुमुम्बा नवस्वाधीन र राष्ट्रिय स्वाधीनताका लागि औपनिवेशिक दासता विरुद्ध लडिरहेका अफ्रिकी मुलुकको प्रखर साझा आवाज बनेका थिए। अंग्रेजी अखबारमा त हाम्रो पहुँच थिएन। तर बनारसबाट प्रकाशित हुने हिन्दी भाषाको दैनिक अखबार आज भने हाम्रो टोलमै खुलेको लक्ष्मी वाचनालयमा नियमित तवरमा आउने गर्थ्यो र त्यसको माध्यमबाट म जस्ता स्कूले विद्यार्थीले पनि जानकारी पाएका थियौं कंगोको राजनीतिक उथलपुथल र लुमुम्बाको हत्याबारे। खुनी षड्यन्त्रकारीको मतियार भनेर हाम्रो मनमा घृणाभाव जागृत भएको थियो कंगोका राष्ट्रपति कासाभुबु र पृथक्‌तावादी नेता जोसेफ मोबुटुप्रति। लुमुम्बाको हत्याले संसारभरि नै तरंग उत्पन्न गरेको थियो विरोध, आक्रोश र निन्दाको।

त्यस तरंगले धरानको संचेतनालाई पनि झकझक्याएको थियो र त्यही तरंगित संचेतनालाई वाणी दिएको थियो मानबहादुर शाक्यको कविता ‘प्याट्रिस लुमुम्बालाई चिठी’ कविताले। उनको कवितामा अभिव्यक्त गरिएको थियो लुमुम्बाको हत्याप्रति आक्रोश, उनको मृत्युमा शोक, कंगोली जनताप्रति सहानुभूति, जनताका शत्रुलाई खबरदारी, अन्तर्राष्ट्रिय भाइचाराको उद्गार। उनको वाचन पनि त्यत्तिकै जोशिलो। व्यक्तिगत रूपमा मानिस पनि हँसिलो-रसिलो स्वभावका। उनको कवि प्रतिष्ठाबाट प्रभावित मानिसहरूलाई लाग्थ्यो कवि हुनु त मानबहादुर शाक्य जस्तो। प्रेरणा-पुञ्ज थिए उनी उदीयमान कविहरूका लागि। मानबहादुर शाक्यको ओज र पोजबाट प्रभावित भएर मलाई पनि कवि बन्ने काउकुती नलागेको होइन मेरा समवयका ठिटाहरूलाई जस्तै।

हिमाल खबरमा प्रकाशित लेखको अंश