डुबान समाधानको नाममा देखिएको उल्टो बुद्धि !
चोभारको गल्छी चलाउने कि पानीलाई अधिकतम जमीनभित्र पठाउने उपाय सोच्ने ?
काठमाडौं उपत्यका अहिले वर्षायाम सुरु नहुँदै डुबानको त्रासमा छ। पानी पर्न थालेपछि शहरका थुप्रै भागहरु डुबान हुने, सडक जाम हुने, खोला–नदी किनारका मात्र हैन, शहर बजारकै घर टहरा डुब्ने, सहरका ढल–नालीमा ओभरफ्लो हुने, अनि बल्ल तल्ल सहरका योजनाकारहरूले 'चोभारको ऐतिहासिक गल्छीलाई खल्बलाउने योजना' अघि सार्नु- यो कुनै नयाँ दृश्य होइन।
अहिले सरकारले काठमाडौं उपत्यका डुबानको समाधानका लागि चोभारको गल्छीलाई खन्ने, चौडा पार्ने योजना अघि सारेको चर्चाले बजार तातेको छ। स्थानीय जनता आन्दोलित भएका छन् । जनताको तात्तिएको पारो देखेर सरकारले भाका फेर्दै ‘गल्छी चलाउने हैन, अवरोध हटाउने कुरा मात्रै गरेको’ भन्न थालेको छ ।
‘चोभारको गल्छी साँधुरो भएकोले काठमाडौं उपत्यकामा डुबानको समस्या भएकोले त्यहाँको अवरोध हटाउने’ भनेको काइते शब्दजालमा जे जस्तोसुकै तर्क दिइए पनि त्यसको अन्तर्य भनेको त्यसको प्राकृतिक स्वरुपलाई खल्बलाउने नै हो । अर्थात् त्यहाँको प्राकृतिक संरचनालाई फेरबदल गरेर पानी बग्ने स्थानलाई फराकिलो बनाउने नै हो । यो प्रस्ताव सतहमा हेर्दा आकर्षक लाग्न सक्छ-"पानी झन् छिटो बग्न पाओस्, सहर बाँचोस्"। तर, यसको गहिराइमा जाने हो भने यो योजना डुबानको दीर्घकालीन समाधान होइन, समस्यालाई थप निम्त्याउने र साँस्कृतिक अतिक्रमण गर्ने उल्टो बुद्धि हो ।
पहिलो प्रश्न नै उठ्छ- के काठमाडौं डुबानको समस्या चोभारको गल्छी साँघुरो भएकाले हो त? यो विश्लेषण स्वयं अधुरो छ। डुबानको मुख्य कारण चोभारको गल्छीबाट पर्याप्त मात्रामा पानी बग्न नपाउनु होइन, बरु वर्षातमा शहर बजारमा ओइरिने पानी जमिनमा सोसिन नपाउनु हो। चोभारको गल्छीले त काठमाडौं खाल्डोमा थुप्रिएको पानीलाई हज्जारौं वर्षदेखि निर्वाध निकास दिँदै आएको कुरा ऐतिहासक सत्य हो । वास्तवमा वर्षातको पानी खोलानदीमा पुगेपछि चोभारको गल्छीबाट निर्वाध बग्न नपाएर मात्रै होइन, जमिनभित्र आवश्यक र पर्याप्त मात्रामा शोसिन नपाएकै कारण समस्या पैदा भएको हो ।
अन्धधुन्ध ‘आधुनिक शहरीकरण’को दौडमा हाम्रा सडकहरू अहिले सबै कालोपत्रे र ढलान गरिएका छन्। त्यस्ता कालोपत्रे–ढलान गरिएका सडकहरुले वर्षाको पानीलाई जमीनभित्र जान दिँदैन । फलत: त्यो पानी ढलनाली हुँदै सोझै खोलानदीतिर धकेलिन्छ। त्यो ढलनाली पहिले नै प्लास्टिक र फोहोरले पुरिएको हुन्छ, अनि खोलाहरूको गहिराइ पुरिएर धेरै ठाउँहरुमा डाँडामा परिणत भइसकेका हुन्छन्। यस्तो बेलामा वर्षा ह्वात्तै हुँदा पानी एकैचोटि बग्न खोज्छ। खोलाले झेल्न नसकेपछि सहर नै डुब्छ।
अर्को महत्त्वपूर्ण पक्ष के हो भने-काठमाडौं सहरमा भइरहेका अत्यधिक निर्माण कार्यले वर्षाको पानी सोस्ने भू-चक्र नै मासिदिएको छ। जमिनभित्र जानुपर्ने पानी ढलनालीमार्फत् बगेर सोझै खोलामा मिसिन थालेपछि जमीन रिचार्ज हुने चक्र नै खल्बलिन्छ । वर्षातमा जमिनभित्र जानुपर्ने पानी जमीनभित्र जान पाउँदैन, इनारहरू सुक्छन्, र पानीको संकट झन चर्कन्छ। त्यसमाथि थप, जलवायु परिवर्तनको असरका कारण बर्सेनी पानी पर्ने शैली पनि बदलिएको छ- पहिले झिनो झिनो गरी घण्टौं वर्षा हुने गर्थ्यो, अहिले ह्वात्तै आरीघोप्टे पानी पर्न थाल्छ । त्यो पानी एकातिर जमीनभित्र सोसिन पाउँदैन भने अर्कोतिर अहिले भएको संरचनाहरुले त्यसलाई धान्न र नियन्त्रण गर्न सक्दैन । फलत: त्यसले पनि डुबानलाई निम्त्याउन पुग्छ ।
वास्तविकता यस्ता हुँदाहुँदै त्यसका समाधान नखोज्ने अनि डुबानको अचुक समाधानका नाममा चोभारको गल्छी खन्ने र चौडा पार्ने खालको अमूर्त कुरा गर्नु भनेको उल्टो बुद्धिको कुरा हो । त्यो ऐतिहासक सम्पदामाथिको हमला हो। चोभारको गल्छी उपत्यकाको प्राक-इतिहाससँग गाँसिएको छ। काठमाडौं उपत्यका पानीले भरिएको बेला, पहिला यही चोभारले बाटो खोलेर पानी बाहिर पठाएको मिथक मात्र होइन, भौगोलिक यथार्थ पनि हो। त्यसैले, यहाँको भौगोलिक सन्तुलनमा हेलचक्राइ गरिँदा के कस्ता संकट निम्तिन्छन् भन्ने उदाहरण सुदूर भोटेकोशीदेखि हेलम्बुसम्मका बाढीहरूले दिइसकेका छन्।
आज खोलानदीका प्राकृतिक वहाव क्षेत्रहरू ध्वस्त छन्। अन्धधुन्ध शहरीकरणले खोलानादीहरुको प्राकृतिक बहाव क्षेत्रहरुलाई भयानक अतिक्रमण गरिएको छ । काठमाडौं उपत्यकाका मुख्य खोलानदीहरु बागमती, विष्णुमती, धोबीखोला, मनोहरा, टुकुचा लगायतको पानी बग्ने क्षेत्रलाई मिच्दै र साँघुरो पार्दै ती खोलानदीलाई खाल्डोमा परिणत गरिएको छ । त्यसमाथि थप, खोलानदी मै फोहोर मिसाइन्छ, ढल हालिन्छ, अनि त्यसले बग्न नसक्दा सहर डुब्छ। यो यथार्थलाई भुलेर तथा त्यसको वैकल्पिक समाधानका उपायहरुतिर ध्यान केन्द्रीत नगरेर ‘जादुइ विकल्प’को रुपमा चोभार चौडा बनाउने कुरा गर्नु मुर्खता हो, उल्टोबुद्धिको कुरा हो । त्यसैले अबको बहस उपत्यकामा वर्षायाममा जम्मा हुने पानीलाई कसरी जमीनभित्र यथासक्य पठाउने तथा अतिक्रमित खोलानालाका प्राकृतिक बहावक्षेत्रहरुलाई पुन:स्थापित गर्ने भन्नेतिर केन्द्रीत हुनु जरुरी छ ।
सहरलाई जलमग्न बनाउने कुराको दोष हज्जारौं वर्षदेखि उपत्यकाको पानीको निकास गराइरहेको चोभार गल्छीलाई दिएर उम्कने हैन, वर्षा पानी व्यवस्थापनका दीर्घकालीन उपायहरुको खोजीमा केन्द्रित हुनुपर्छ। त्यसका लागि प्रत्येक घरमा वर्षा पानी संकलन प्रणाली अनिवार्य गरौं। सकपिटको प्रवर्द्धन गरौं। सडक र नाली योजनालाई 'पानी भुइँमा सोसियोस्' भन्ने सोचसहित डिजाइन गरौं।
हेक्का राखौं, समस्याका समाधानका लागि सधैं ठूलो खर्च र ठूलो उपकरण नै चाहिन्छ भन्ने कुरा शाश्वत सत्य होइन । त्यसका लागि मुख्य कुरा गहिरो वैज्ञानिक सोच, खुल्ला आँखा र गहिरो विवेक चाहिन्छ।
भेनेजुएला र ग्रीनल्यान्ड: अभावको युगमा ‘स्म्यास–एन्ड–ग्र्याब’ कूटनीति
‘डिरेल्ड’ राजनीतिलाई राजाले मात्रै ठीक गर्न सक्ने हो ?
‘ग्रीनल्याण्ड चाहिन्छ’ भन्ने ट्रम्पको अडानमा झल्किएको शक्ति–राजनीतिक अहंकार
टर्यो खड्ग ओलीको एउटा खड्गो !
एमालेका सामु तेर्सिएको जब्बर प्रश्न: सच्चिने कि सक्किने ?
निषेध, आवेग र प्रतिशोधले मुलुकलाई ‘कोल्याप्स्ड स्टेट’ बनाउने खतरा बढ्दो !
वाम एकताको बहस: कति सैद्धान्तिक ?
प्रतिक्रिया