जसले इजरायललाई हल्लायो: बम बनाउने सपना र इरानको मिसाइल क्रान्ति !

इरानी मिसाइलका पिता हसन तेहरानी मोघद्दामको कथा

इरान र इजरायल बीच चलेको १२ दिने युद्ध भर्खरै समाप्त भयो। युद्धको सुरुवातमा इरान भित्रैबाट गरिएको कोभर्ट अपरेसन र सयौं युद्धक विमानबाट गरिएको हवाई हमलाले इरानको एयर डिफेन्स पुरै ध्वस्त भएको थियो। इरानका थुप्रै वरिष्ठ सैनिक अधिकारी र आणविक वैज्ञानिकहरूको हत्या भयो। आरम्भिक चरणको धक्का पछि सम्हालिँदै इरानले इजरायलमाथि सयौं मिसाइलहरू प्रहार गर्‍यो। इरानको आणविक संयन्त्र ध्वस्त पार्न र त्यहाँ शासन परिवर्तन गर्ने आफ्नो लक्ष्यमा इजरायल विफल भएपछि र नसोचेको इरानी प्रत्याक्रमणले इजरायलका शहरहरु ध्वस्त हुन थालेपछि उसले अमेरिकालाई गुहार्नु परेको थियो। अमेरिकाले इरानका तीन आणविक संयन्त्रमा बमबारी गर्‍यो र इरानको आणविक क्षमता नष्ट भएको दाबी गर्‍यो। जसको बदलामा इरानले कतारको मध्यस्थतामा सो देशमा रहेको अमेरिकी सैनिक अखडामा प्रतीकात्मक मिसाइल आक्रमण गर्‍यो। त्यसलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले इरान र इजरायल बीच युद्धविराम भएको घोषणा गरे।

जब इजरायली ‘अभेद्य हवाइ प्रतिरक्षा प्रणाली’ले हावा खायो !

यो युद्धको सबैभन्दा रोचक पक्ष भनेको इजरायलको वायु सेनाको इरान आकाशमाथि र इरानको मिसाइलको इजरायलमाथिको दबदबा थियो। इरानले युद्धको अन्तिम क्षणसम्म इजरायलको विश्वप्रख्यात मिसाइल डिफेन्स प्रणालीलाई चिर्दै सो देशमाथि ठूलो क्षति पुग्ने गरी मिसाइल आक्रमण जारी राखेको थियो।

आफ्ना ‘अभेद्य’ भनिएका हवाइ सुरक्षा प्रणालीहरु, ‘सुपर पावर’ अमेरिकाको आर्थिक–सैनिक सहायताको भरमा केही दिनमै इरानलाई गलाउने सोच–विश्लेषण इजरायली–अमेरिकीहरुको थियो तर त्यसलाई इरानको ‘मिसाइल प्रणाली’ले धूलोपीठो पारिदिएको थियो ।

आफ्ना ‘अभेद्य’ भनिएका हवाइ सुरक्षा प्रणालीहरु, ‘सुपर पावर’ अमेरिकाको आर्थिक–सैनिक सहायताको भरमा केही दिनमै इरानलाई गलाउने सोच–विश्लेषण इजरायली–अमेरिकीहरुको थियो तर त्यसलाई इरानको ‘मिसाइल प्रणाली’ले धूलोपीठो पारिदिएको थियो । इजरायलको कथित ‘अभेद्य’ हवाइ प्रतिरक्षा प्रणालीलाई छिन्नभिन्न पार्दै इरानी मिसायलहरुले इजरायली इतिहासमै कहिल्यै नदेखेको–नभोगेको विध्वंश गरिदिएको थियो । इरानले ‘यो त शुरुवात मात्रै भएको र आफूहरुसँग अहिले प्रयोग गरेको भन्दा उन्नत र विध्वंशक मिसाइलहरु प्रयोग गर्न बाँकी नै रहेको’ भनी दिएको चेतावनी यहाँ उल्लेख्य छ ।

इरानी मिसाइलका पिता

इरानले प्रयोग गरेका मिसाइलहरू आफैले विकास र निर्माण गरेका हुन्। इरानमा मिसाइल कार्यक्रमको सफलताको श्रेय एक जना व्यक्तिलाई दिइन्छ। उनी हुन्– ब्रिगेडियर जनरल हसन तेहरानी मोघद्दाम। जनरल मोघद्दामलाई ‘इरानी मिसाइलका पिता’ भनेर सम्बोधन पनि गरिन्छ।

उनको जन्म राजधानी तेहरानको नजिक सन् १९५३ मा भएको थियो। मोघद्दामले मेकानिकल इञ्जिनियरिङमा १९७९ मा स्नातक गरेका थिए। उनको परिवारले उनलाई उच्च अध्ययनका लागि क्यानडा पठाउने विचार गरे। तर उनले देश छोडेर जान अस्वीकार गरे। मोघद्दामले पछि इरानमै एयरोस्पेस इञ्जिनियरिङमा एमएससी उत्तीर्ण गरे।

सन् १९८१ मा बोस्तान शहरलाई मुक्त गर्न इरानले सुरु गरेको "तारिक अल-कुद्स अपरेसन" को सफलतामा मोघद्दामको योजनाले विशेष भूमिका खेलेको थियो। मोघद्दामको क्षमताका बारेमा सेनाको कमाण्डले पनि रुचि लिन थालेको थियो।

उनी त्यसै समयमा इरानका शाह (राजा) मोहम्मद  रेजा पहलवीविरुद्ध भएको क्रान्तिमा समेत संलग्न भएका थिए। मोघद्दाम सरकारविरुद्ध लडिरहेको एउटा मिलिसियामा संलग्न भए, जहाँ उनले शाहका सुरक्षाकर्मीविरुद्ध लड्न बमहरू निर्माण गर्न थाले। क्रान्तिपछि इराकले इरानमाथि आक्रमण सुरु गर्‍यो। मोघद्दाम इरानको रिभोलुसनरी गार्ड कोर्प्समा सामेल भए, जहाँ उनी तोपखाना अनुसन्धान केन्द्रमा संलग्न भए।

मोघद्दामले सुरुदेखि नै युद्ध मैदानमा तोपखानाको व्यूह रचना र रणनैतिक तैनाथीमा विशेष ध्यान दिन थाले। सन् १९८१ मा बोस्तान शहरलाई मुक्त गर्न इरानले सुरु गरेको "तारिक अल-कुद्स अपरेसन" को सफलतामा मोघद्दामको योजनाले विशेष भूमिका खेलेको थियो। मोघद्दामको क्षमताका बारेमा सेनाको कमाण्डले पनि रुचि लिन थालेको थियो। उनलाई इरानको तोपखाना अनुसन्धान केन्द्रको प्रमुख बनाइयो।
सन् १९८४ मा इराकले इरानमाथि हवाई हमला गर्दै मिसाइलहरूको वर्षा गर्न थाल्यो। इरानका राजनीतिक, सांस्कृतिक र आर्थिक रूपमा महत्वपूर्ण सहरहरू–तेहरान, कोम, तबरिज र इस्फहान आदिमा इराकी मिसाइलहरूले तबाही मच्चाउन थाले। ‘शहरहरूको युद्ध’ (Wars of Cities) भनिने यो द्वन्द्वमा इरानमा मात्रै १० हजारभन्दा बढी मानिसहरूको मृत्यु भएको थियो। इरानले पनि आफ्ना लडाकु विमानहरू मार्फत छिटपुट जवाफ दिन थाल्यो। तर इराकको बहुआयामिक एयर डिफेन्सको अगाडि इरानले आफ्ना युद्धक विमानहरू बचाउनुपर्ने बाध्यताका कारण जवाफी कारवाही खासै प्रभावकारी हुन सकेको थिएन। त्यस्तै, इरानी तोपहरूले दिने जवाफ पनि सीमा क्षेत्रमै सीमित थियो। इरानी तोपहरूले अधिकतम ३० किलोमिटर टाढा रहेको इराकी सहर बासरासम्म मात्र प्रहार गर्न सक्थे।

शाहको हतियार शोख

इराकलाई गतिलो जवाफ दिन सक्ने एक मात्र उपाय मिसाइल थियो। तर इरानसँग मिसाइलको ठूलो अभाव थियो। शाहको शासनकालमा इरानले आवश्यकताभन्दा बढी हातहतियार किनेको थियो। भनिन्छ, आफ्नै हतियारको बोझले थिचिएर शाहको सत्ता ढलेको थियो। तर त्यसबेलाको इरान हातहतियारको खरिद र मर्मत सम्भारका लागि अमेरिकामाथि निर्भर थियो। उसको आफ्नै कुनै उद्योग थिएन। त्यो समयमा इरान र इजरायलको सहयोगमा सुरु भएको मिसाइल निर्माण गर्ने संयुक्त परियोजना पनि क्रान्तिपछि तुहिएको थियो। फलस्वरूप, इरानसँग न कुनै मिसाइल थियो, न त त्यसलाई निर्माण गर्न सक्ने क्षमता नै। अझ उसलाई मिसाइल बेच्न पनि कुनै ठूला देश इच्छुक थिएन।

चुनौतीबीच मिसाइल कार्यक्रमको शुरुवात

यही परिस्थितिमा इरानमा मिसाइल कार्यक्रमको सुरुवात गरियो। यसको जिम्मा २३ वर्षीय युवा हसन तेहरानी मोघद्दामको काँधमा आइपर्‍यो। त्यसबेला उनले भनेका थिए– "तोप बनाउन सजिलो छ, तर मिसाइलहरू जटिल हुन्छन्। मलाई आशा छ, अल्लाहले मलाई यसमा मदद गर्नु हुनेछ।"

सिरिया सरकारले आफूसँग भएका स्कड मिसाइलहरू सोभियत संघकै निगरानीमा रहेकोले इरानलाई दिन नसकिने जानकारी गरायो।

इरानले आफ्नो छिमेकी तथा एक मात्र समर्थक अरब देश सिरियाका राष्ट्रपति हाफेज अल असदसँग सोभियत संघमा निर्मित स्कड मिसाइल आफूलाई उपलब्ध गराउन अनुरोध गर्‍यो। तर सिरिया सरकारले आफू सँग भएका स्कड मिसाइलहरू सोभियत संघकै निगरानीमा रहेकोले इरानलाई दिन नसकिने जानकारी गरायो। बरु, इरानीहरूलाई स्कड मिसाइल सञ्चालन कसरी गर्ने भनेर तालिम दिन सक्ने प्रस्ताव राख्यो।

सुन्दरीहरुको पिछा र सोभियत निगरानीबीच स्कड मिसाइलको तालीम

इरानले हसन मोघद्दामको नेतृत्वमा १३ जना आफ्ना सैनिक अधिकृतहरूलाई सिरिया पठायो। सिरिया पुग्नेबित्तिकै युवा इरानी अफिसरहरू बसेको होटेलमा सुन्दर सिरियाली महिलाहरूले उनीहरूलाई जताततै पछ्याउन थाले। हसनले आफ्ना सबै साथीहरूलाई आफ्नो कोठामा बोलाएर भने– "युद्ध भर्खरै अर्को चरणमा प्रवेश गरेको छ। हामी सिरियनहरूको न्यानो आतिथ्य र दयालुपनबाट विचलित हुनुहुँदैन। हामीले आफ्नो उद्देश्यलाई गम्भीरतापूर्वक लिनुपर्छ र यो तालिमको सदुपयोग गर्नुपर्छ। कसैले पनि यस्ता झिनामसिना घटना र नाटकमा भूल्नुहुँदैन।"

सिरियामा मोघद्दामको टिमले स्कड-बी मिसाइलहरूलाई कसरी ढुवानी गर्ने, त्यसमा इन्धन कसरी भर्ने र कसरी चलाउने तालिम लियो। तर सिरियाले उनीहरूलाई ती मिसाइलहरू इरान लान दिएन, किनकि ती मिसाइलहरू सोभियत संघका सेनाहरूको निगरानीमा थिए। सोभियत सैनिकहरूले इरानी टोलीमाथि कडा नजर राखिरहेका थिए। मोघद्दामको टिमले सिरियामा ३ महिना बसेर स्कड मिसाइल सञ्चालनको तालिम लिएर फर्कियो।

मिसाइल सहयोगका लागि लिवियाको अनौठो शर्त

सिरियामा आफ्ना सैनिकहरूलाई तालिम बाहेक पनि इरानले स्कड मिसाइलको खोजी कार्य तीव्र गतिमा जारी राखेको थियो। त्यही क्रममा लिबियाका नेता कर्नेल मुअम्मर गद्दाफीले इरानलाई ३० वटा स्कड मिसाइल उपलब्ध गराउने भए। तर यसको सट्टा इरानसँग दुईवटा सर्तहरू राखेका थिए। ती सर्तहरू यसप्रकार थिए–
१. इरानले आफू सँग भएको अमेरिकन हक एयर डिफेन्स सिस्टम युनिट (American HAWK Air Defence Unit) दिनुपर्ने। २. साउदी अरेबिया र कुवेतमा ४ वटा मिसाइल प्रहार गर्नुपर्ने।

मोघद्दामले इरान सरकारसमक्ष एउटा लिबियाली स्कड मिसाइल लुकाउने र त्यसलाई रिभर्स इन्जिनियरिङ गर्ने प्रस्ताव राखे। उनको सुझाव अनुसार त्यो स्कड मिसाइललाई पछि खोलेर त्यसका पाटपुर्जा अध्ययन गरेर नक्कल गरेर हुबहु उत्पादन गर्ने कोशिश गर्नु थियो।

इरानले लिबियाको यो अनौठो सर्त स्वीकार गर्‍यो। लिबियाले इरानलाई ३० वटा स्कड मिसाइल दियो। तर ती मिसाइलहरूसँगै त्यसलाई नियन्त्रण र सञ्चालन गर्ने लिबियाली प्राविधिक टोली पनि साथै आएको थियो। इरानका लागि यो अपमानजनक कुरा थियो। मोघद्दामले त्यसबेला भनेका थिए– "म लज्जित छु। यत्रो दुःख खपेपछि पनि हामी अझै विदेशी सहयोगमा निर्भर छौं।"

लिबियाली सैनिकहरूले आफूले इरानमा ल्याएका मिसाइलहरू प्रक्षेपण गर्न मोघद्दामको टिमलाई दिँदैनथे। लिबियालीहरूले इरानीहरूलाई केवल स्कड मिसाइलमा इन्धन भर्ने र मिसाइल प्रक्षेपण गर्ने स्थान खोज्ने जस्ता काममा मात्र लगाउँथे। मिसाइलमा इन्धन भर्नु जोखिमयुक्त काम मानिन्थ्यो, किनकि यस क्रममा मिसाइलमा मटितेल र नाइट्रिक एसिड मिलाएर हाल्नुपर्थ्यो। मोघद्दामले इरान सरकारसमक्ष एउटा लिबियाली स्कड मिसाइल लुकाउने र त्यसलाई रिभर्स इन्जिनियरिङ गर्ने प्रस्ताव राखे। उनको सुझाव अनुसार त्यो स्कड मिसाइललाई पछि खोलेर त्यसका पाटपुर्जा अध्ययन गरेर नक्कल गरेर हुबहु उत्पादन गर्ने कोशिश गर्नु थियो। लिबियालीहरूले यस्तै तनावका बीच पनि इराकको राजधानी बग्दाद र किर्कुक शहरमा रहेको पेट्रोलियम रिफाइनरीमा स्कड मिसाइलहरू प्रहार गर्न थाले।

आशा उत्तर कोरियासँग

इरानले लिबियाका साथसाथै उत्तर कोरियासँग पनि मिसाइलका लागि सहयोग मागेको थियो। उत्तर कोरियाले सोभियत संघको स्कड-बी मिसाइललाई रिभर्स इञ्जिनियरिङ गरेर त्यसको प्रतिलिपी मिसाइल बनाउन सफल भएको थियो, जसलाई ह्वासोङ-५ भन्ने नाम दिइएको थियो। मोघद्दाम आफैँ उत्तर कोरिया गएर किम इल-सुङलाई भेटेका थिए। उत्तर कोरियाली नेता किमले इरानलाई १०० वटा स्कड मिसाइल दिन स्वीकृति दिए। त्यसका साथै इरानमा संयुक्त रूपमा फ्याक्ट्री खोलेर अरू पनि मिसाइल उत्पादन गर्ने अनुमति दिए।

जब लिवियालीहरुले मिसाइल बिगारेर हिँडे !

केही समयपछि लिबियाका नेता कर्नेल मुअम्मर गद्दाफीले साउदी अरेबियामाथि मिसाइल प्रहार गर्न इरानलाई दबाब दिन थाले। साउदी अरेबियाले इरान–इराक युद्धमा इराकलाई ठूलो सहयोग गरिरहेको थियो। तर इरानले साउदी अरेबियामाथि आक्रमण गरेर आफूमाथि अर्को युद्ध मोर्चा खोल्न चाहँदैन थियो। त्यही समयमा इरानले आफ्नो देशको दक्षिणी क्षेत्रमा मिसाइल प्रक्षेपण गर्ने स्थल तयार पारेको भनेर लिबियाली प्राविधिकहरूलाई त्यता पठायो र उत्तरी क्षेत्रबाट उत्तर कोरियाबाट प्राप्त मिसाइललाई इराकमा प्रहार गर्‍यो।

आफ्नो सुरुआती सर्त इरानले नमानेपछि, लिबियाले आफ्ना मिसाइल प्राविधिकहरूलाई पनि इरानबाट फिर्ता बोलायो। लिबियाली प्राविधिकहरूले फर्किँदा इरानमा रहेका स्कड मिसाइलहरूलाई जानीजानी बिगारेर हिँडेका थिए।

यो घटना बारे थाहा पाएपछि, र आफ्नो सुरुआती सर्त इरानले नमानेपछि, लिबियाले स्कड मिसाइलको दोस्रो खेप पठाउन इन्कार गर्‍यो। साथै आफ्ना मिसाइल प्राविधिकहरूलाई पनि इरानबाट फिर्ता बोलायो। लिबियाली प्राविधिकहरूले फर्किँदा इरानमा रहेका स्कड मिसाइलहरूलाई जानीजानी बिगारेर हिँडेका थिए। मोघद्दामले इरानी नेताहरू समक्ष ती लिबियाली स्कड मिसाइलहरू मर्मत गर्न स्वीकृति मागे। उनले लिबियालीहरूबाट पहिल्यै लुकाइएको एउटा स्कड मिसाइललाई गहिरो रूपमा अध्ययन गरिरहेका थिए।

मोघद्दामको परीक्षा शुरु

यो एक किसिमले मोघद्दामको परीक्षा पनि थियो । अब उनी जसरी भए पनि बिग्रेको मिसाइलहरु बनाउन कम्मर कसेर लागिपरे ।

उनले बिग्रेका मिसाइलहरूको गियरबक्स लगायतका पाटपुर्जाहरू तयार पारे। ती मिसाइलहरूको महत्वपूर्ण अंग 'फ्युजिङ की' लिबियाली प्राविधिकहरूले खोलेर आफूसँग लिएर गएका थिए। 'फ्युजिङ की' बिना मिसाइल प्रक्षेपण गर्न सकिँदैन थियो। उत्तर कोरियाले सोभियत स्कड मिसाइलका लागि लाग्ने हुबहु त्यही पाटपुर्जा बनाइरहेको थियो। मोघद्दामले उत्तर कोरियाबाट त्यो सामान मगाएर लिबियाले दिएका मिसाइलहरूलाई प्रक्षेपणयोग्य बनाए।

आफ्नै रकेट निर्माण

मोघद्दाम इरानको आफ्नै स्वदेशी रकेट निर्माणमा पनि संलग्न भए। उनको टिमले इरानको पहिलो घरेलु रकेट 'नाजेत' बनाउन सफल भयो, जसको मारक क्षमता १०० देखि १३० किलोमिटरसम्म थियो। यसलाई प्रक्षेपण गरिसकेपछि निर्देशित गर्न सकिँदैन थियो। यो इरानको मिसाइल कार्यक्रमको सुरुवात मात्रै थियो।

मोघद्दामले उत्तर कोरियाको प्राविधिक सहयोगमा स्कड-बी मिसाइललाई रिभर्स इञ्जिनियरिङ गरेर 'साहब-१' बनाउन सफल भए। यो मिसाइल इरानको क्षेप्यास्त्र कार्यक्रमको आधारशिला बन्यो। इरान–इराक बीच चलेको ८ वर्षे युद्धको अन्त्यतिर यो मिसाइल ठूलो मात्रामा उत्पादन हुन थाल्यो। तर यस मिसाइलमा केही सीमितताहरू थिए। एकातिर यसको मारक क्षमता जम्मा ३०० किलोमिटर मात्र थियो भने, अर्कोतर्फ यसको निशानाको सटीकता (Circular Error Probable) ४५० मिटरको वरपर थियो, जसलाई खासै प्रभावकारी मानिँदैन।

https://vesti.az/

आज इरानले जे-जस्ता प्रकारका मिसाइलहरू बनाएको छ, चाहे त्यो ब्यालेस्टिक होस् या हाइपरसोनिक–ती सबैको श्रेय हसन तेहरानी मोघद्दामलाई जान्छ।

उनले अर्को चरणमा मिसाइलको मारक क्षमता १००० किलोमिटरसम्म पुर्‍याउने र सटीकता १०० मिटरमा झार्ने लक्ष्य राखे। यसै लक्ष्यअनुसार सन् १९९८ मा इरानले 'साहब-३' परीक्षण गर्‍यो। यो मिसाइलले इजरायलसम्म मार हान्न सक्थ्यो। त्यसपछि उनले यसमा अझ सुधार गर्दै 'घदर' (Ghadr) मिसाइल बनाए, जसको मारक क्षमता १८०० देखि २००० किलोमिटरसम्म थियो। पछि उनले ठोस इन्धनबाट सञ्चालन हुने 'सेजिल' (Sejjil)  मिसाइल समेत निर्माण गरे। आज इरानले जे-जस्ता प्रकारका मिसाइलहरू बनाएको छ, चाहे त्यो ब्यालेस्टिक होस् या हाइपरसोनिक–ती सबैको श्रेय हसन तेहरानी मोघद्दामलाई जान्छ।

खतराको पूर्वाभास र मोघद्दामको रहस्यमय मृत्यु

उनलाई आफ्नो जीवन खतरामा रहेको पूर्वाभास हुन थालेको थियो। आफ्नो मृत्युभन्दा केही दिनअघि उनले मिसाइल परीक्षणहरुका  नतिजाहरूको प्रतिलिपि बनाउन र त्यसलाई गोप्य स्थानहरूमा संग्रहित गर्न आदेश दिएका थिए। उनको आशंका अकारण थिएन, किनकि अघिल्लो वर्ष इरानका प्रमुख सुरक्षा स्थलहरूमा विस्फोटका घटनामा पाँच गुणा वृद्धि भएको थियो। उनी आफ्नो जीवनभन्दा पनि इरानको मिसाइल कार्यक्रमप्रति बढी चिन्तित थिए। उनले भनेका थिए– "ज्ञानलाई बमले उडाउन सकिँदैन।"

सन् २०११ मा राजधानी तेहरान नजिकैको इरानी रिभोलुसनरी गार्ड कोर्प्सको मिसाइल ग्यारीसनमा भएको शक्तिशाली विस्फोटमा हसन तेहरानी मोघद्दाम र उनका १७ जना साथीहरूको मृत्यु भयो। मिसाइल परीक्षणको क्रममा भएको विस्फोटका कारण उनको मृत्यु भएको बताइन्छ। इरान सरकारले यसलाई दुर्घटना भने पनि धेरैले यस घटनाको पछाडि इजरायली गुप्तचर निकाय ‘मोसाद’ को हात रहेको आशंका गर्छन्। मृत्युपछि उनलाई ठूलो सम्मानका साथ अन्तिम संस्कार गरियो। हसन तेहरानी मोघद्दामको चिहानमा लेखिएको छ– "यहाँ त्यो मानिस विश्राम गरिरहेको छ, जो इजरायललाई नष्ट गर्न चाहन्थ्यो!"