मार्क्सको आर्थिक अस्त्र 'पूँजी' - एक विश्लेषणात्मक अध्ययन
(पूँजीवादी शोषणको गहन र वैज्ञानिक विश्लेषण )
'पूँजी' (दास क्यापिटल) - राजनीतिक अर्थशास्त्रको आलोचना - कार्ल मार्क्सद्वारा लिखित एउटा यस्तो महान कृति हो, जसले मानवको संसारलाई हेर्ने दृष्टिकोण नै परिवर्तन गरिदियो । यो पुस्तकले क्रान्तिकारी आन्दोलनलाई अगाडि बढायो । आजसम्म पनि यो रचना त्यति नै सान्दर्भिक छ, जति यसको प्रकाशनको समयमा थियो । यसको चर्चामा कहिल्यै कमी आएन । यो पुस्तकलाई सामान्य ढङ्गले बुझ्न सकिंदैन । यसको लागि आधारभूत रूपमा दर्शन, इतिहास, समाजशास्त्र र अर्थशास्त्रको ज्ञान अवश्य हुनुपर्छ । मार्क्स कुनै सामान्य दार्शनिक अथवा चिन्तक मात्र थिएनन्, उनले आफ्नो सम्पूर्ण जीवन पूँजीवादी समाजले कसरी शोषणलाई अगाडि बढाउँछ भन्ने कुराको साङ्गोपाङ्गो अध्ययनमा लगाइदिए ।
पूँजीवादी व्यवस्थाको नसा-नसामा पुगेर मार्क्सले यसको हरेक पक्षको गहिराईपूर्वक अध्ययन गरे र यसका खराबीहरूलाई संसारको सामु छर्लङ्ग पारिदिए । त्यसपछि संसारका चिन्तक, नेता, शासक र अन्य सबै भित्रैदेखि डगमगाए । मार्क्सको कालजयी रचना 'पूँजी' मुद्रा वा अर्थ-व्यवस्थाको बारेमा मात्र लेखिएको पुस्तक होइन । यसमा मानवता, समाज, सामाजिक र व्यक्तिगत सम्बन्ध बारेमा पनि बिहङ्गम व्याख्या गरिएको छ ।

‘पूँजी’ मार्क्सको सबैभन्दा ठूलो र महत्त्वपूर्ण रचना हो । मार्क्सको यो पुस्तक उनको बीस वर्षको गम्भीर अध्ययनको परिणाम थियो । यसमा उनले आफ्नो समयको प्रचलित दर्शन, राजनीति, अर्थशास्त्र, इतिहास र समाजशास्त्रको गम्भीर विश्लेषण प्रस्तुत गरेका छन् ।
यसमा मानवजातिका निर्णय, जीवनप्रक्रिया र उद्देश्यहरूलाई नियन्त्रित गर्ने अदृश्य शक्ति (पूँजी) को बारेमा तथ्यसङ्गत र वैज्ञानिक विश्लेषण गरिएको छ । यो पुस्तकमा श्रमिकहरूको वास्तविक मूल्य के हो र पूँजीपतिहरूले उनीहरूलाई कसरी शोषण गर्छन् भन्ने कुरा छर्लङ्ग बनाइएको छ । यो पुस्तकलाई बुझ्न सकियो भने आफूसँगसँगै संसारलाई पनि राम्रोसँग बुझ्न सकिन्छ र त्यसलाई बदल्ने दिशामा आफूलाई सँगै लिएर जान सकिन्छ ।
‘पूँजी’ मार्क्सको सबैभन्दा ठूलो र महत्त्वपूर्ण रचना हो । मार्क्सको यो पुस्तक उनको बीस वर्षको गम्भीर अध्ययनको परिणाम थियो । यसमा उनले आफ्नो समयको प्रचलित दर्शन, राजनीति, अर्थशास्त्र, इतिहास र समाजशास्त्रको गम्भीर विश्लेषण प्रस्तुत गरेका छन् । उनले यो पुस्तक सन् १८४६ बाट लेख्न शुरु गरेका थिए । बीचमा उनले अरु धेरै पुस्तकहरूको रचना गरे । पत्रपत्रिकाका लागि हजारौं लेख र टिप्पणी लेखे । यससँगै उनी ‘पूँजी’ लेखनमा पनि लागिरहे ।
'पूँजी' को पहिलो खण्डको पहिलो प्रकाशन सन् १८६७ मा मात्र सम्भव भएको थियो । पहिलो खण्ड प्रेसलाई पठाउँदा उनले दोस्रो र तेस्रो खण्डको मस्यौदा पनि तयार गरिसकेका थिए । तर पुस्तकलाई अझ परिष्कृत र उपयोगी बनाउन उनले त्यसमा काम गरिरहे । त्यसैले मार्क्सको मृत्युपछि एङ्गेल्सको सम्पादनमा क्रमशः सन् १८८५ र सन् १८९४ मा मात्रै दोस्रो र तेस्रो खण्डको प्रकाशन भएको थियो । मूल पुस्तक जर्मन भाषामा लेखिएको र प्रकाशित भएको थियो । पहिलो खण्डमा पूँजीको उत्पादन प्रक्रियाको विहङ्गम विश्लेषण छ; दोस्रो खण्डमा पूँजी परिचलनको प्रक्रियाको उल्लेख गरिएको छ र तेस्रो खण्डमा पूँजीवादी उत्पादनको समग्र प्रक्रियाको उल्लेख गरिएको छ ।
'पूँजी' जर्मनी बाहिर पहिलो पटक सन् १८७२ मा रूसमा प्रकाशित भएको थियो । पुस्तकको प्रकाशन हुने वित्तिकै धेरै संख्यामा विक्री भयो, जसका कारण मार्क्सको प्रसिद्धि एक विज्ञ अर्थशास्त्री र दार्शनिकको रूपमा चारैतिर फैलिंदै गयो । पहिले उनको छवि संघर्षशील र भावुक पूँजीवाद विरोधी लेखकको थियो । 'पूँजी' को कारणले मार्क्सलाई इतिहास, दर्शन, समाजशास्त्र र अर्थशास्त्रको गम्भीर विद्वानको रूपमा स्थापित गर्न मद्दत गर्यो।
'पूँजी' मार्फत् मार्क्सको उद्देश्य पूँजीवादी व्यवस्थाको उत्पादन विधि र श्रम शोषणलाई अगाडि ल्याउनु थियो । उनका अनुसार पूँजीवादलाई बढावा दिने शक्तिहरू मजदूरको शोषण र उनीहरूको उपेक्षामा लुकेर बसेका छन् । निस्सन्देह यसका पछाडि धर्म, रीतिरिवाज र क्षेत्रीय मान्यताहरू पनि छन्, जसले मजदूरहरूलाई उनीहरूको अवस्थाप्रति उदासीन बनाउँछ । मुक्तिको खोजीमा अज्ञानताको अँध्यारोमा उनीहरू भड्किरहन्छन् । पूँजीपतिको नाफा वा अतिरिक्त मूल्य मूलतः मजदूरको ज्याला हो, जुन कारखाना मालिकले अनैतिक रूपमा आफ्नो लागि राख्छ । यसले स्रोत-साधनको मालिक भएको दाबी गर्छ । उसको यो दावीलाई प्रायः सरकारको समर्थन प्राप्त हुन्छ । मजदूरले आफ्नो श्रम-सीपले आफ्नो रोजगारदाताको पूँजी निरन्तर बढाउँदै जान्छ, यसबाट उसले अनजानवस पूँजीवादलाई बढावा दिने अनुचित र अनावश्यक काम पनि गर्छ ।
आफ्नो पुस्तक मार्फत् मार्क्सले वाणिज्यका सामाजिक पक्षहरूबारे छलफल गर्न चाहन्थे । तर पूँजीलाई त्यसमा यति विस्तृत अर्थमा खोजिएको थियो कि यसकै कारण ‘पूँजी’ लाई आर्थिक महाकाव्यको प्रतिष्ठा दिन सकिन्छ । पुस्तकमा उनले पूँजीवादी समाजको संरचनाको ऐतिहासिक सन्दर्भ देखाएर वर्गसंघर्षको अपरिहार्यतालाई रेखाङ्कित गर्ने काम पनि गरेका छन् । यसको विषयवस्तु र गम्भीर निष्कर्षका कारण पूँजीको प्रकाशनदेखि नै यो विद्वानहरूको बीचमा लोकप्रिय भएको थियो । यो पुस्तकले सम्पूर्ण विश्वका बुद्धिजीवीहरूलाई दुई वर्गमा विभाजित गरेको थियो । एकातिर यसका समर्थक र अर्कोतिर आलोचक थिए । तर मार्क्सको बौद्धिकता र उनको विश्लेषण-शक्तिको क्षमतालाई उनका आलोचकहरूले पनि स्वीकार गरे । आज पनि उनका विचारका आधारमा बुद्धिजीवीहरू बीचको विभाजन प्रष्ट देख्न सकिन्छ ।
मार्क्सको विशाल पुस्तक 'पूँजी' को प्रत्येक अध्याय पूँजीवादी उत्पादन प्रणालीको एक विशेष पक्षको अध्ययनमा केन्द्रित छ । लेखकको हैसियतमा तथ्यको गहिराइमा पुगेर अनुसन्धान गर्ने तरीकाले उनको विषय-सम्बन्धित प्रवेश र अध्ययनको विविधता झल्काउँछ ।
दर्शन, इतिहास, समाजशास्त्र, अर्थशास्त्र, राजनीति र समग्र समाजलाई बुझ्न चाहने सबैको लागि यो ग्रन्थ धेरै महत्त्वपूर्ण छ ।
मार्क्सको कृति 'पूँजी' ले पूँजीवादको गहिरो बोध प्रदान गर्छ । यसले श्रमको सिद्धान्त, अतिरिक्त मूल्यको सिद्धान्त र पूँजीवादी सञ्चयको व्याख्या गर्छ । यसले पूँजीवादका आन्तरिक अन्तर्विरोध र सामाजिक असमानतामा यसको प्रभावलाई बुझ्नमा पनि सहयोग गर्नेछ । यसबाट पूँजीवादका आधारभूत अवधारणालाई बुझ्न सकिन्छ; श्रमको मूल्य सिद्धान्तलाई जान्न सकिन्छ, अतिरिक्त मूल्य र यसको निष्कर्षलाई बुझ्न सकिन्छ; पूँजीवादी सञ्चयको प्रक्रियाको विश्लेषण गर्न सकिन्छ र सामाजिक असमानतामाथि पूँजीवादको प्रभावको मूल्याङ्कन गर्न सकिन्छ । दर्शन, इतिहास, समाजशास्त्र, अर्थशास्त्र, राजनीति र समग्र समाजलाई बुझ्न चाहने सबैको लागि यो ग्रन्थ धेरै महत्त्वपूर्ण छ ।
'पूँजी' मा वस्तुभित्रको रहस्यलाई बुझाइएको छ । यसमा साधारण देखिने वस्तुभित्र धेरै गहन सामाजिक सम्बन्ध र अन्तर्विरोध लुकेको हुन्छ भन्ने कुरा प्रष्ट पारिएको छ । यसमा वस्तुको मूल्य त्यसमा लागेको सामाजिक रूपले आवश्यक श्रम-समयबाट निर्धारित हुन्छ भन्ने कुरा प्रष्ट बनाइएको छ । यो पुस्तकमा मालको अन्धविश्वासले चीजहरूको वास्तविक स्वरूपलाई देख्न सकिंदैन भन्ने कुरा पनि स्पष्ट बनाइएको छ । यो पुस्तकमा मुद्राको यात्रालाई बडो रोचक ढङ्गले प्रस्तुत गरिएको छ । यहाँ वस्तु विनिमयको संसारबाट निक्लिएर एक सार्वभौमिक समतुल्य बन्दै विस्तारै मानव जीवनमा अमूल्य हिस्सा बन्ने प्रक्रियाको बारेमा व्याख्या गरिएको छ । यसमा पैसा केवल लेनदेनको माध्यम मात्र नभएर मूल्यको मापक, भुक्तानको साधन र मूल्यको भण्डार पनि हो भन्ने कुरा स्पष्ट बनाइएको छ ।
यो पुस्तकमा पैसा पूँजीमा कसरी बदलिन्छ र अतिरिक्त मूल्य कहाँबाट आउँछ भन्ने कुराको रहस्य खोलिएको छ । यसमा अतिरिक्त मूल्य मजदूरहरूको श्रमबाट आउँछ, जसको लागि उनीहरूलाई कुनै पैसा प्राप्त हुँदैन भन्ने कुरालाई प्रष्ट बनाइएको छ । यसमा पूँजीपतिले कसरी अतिरिक्त मूल्य पैदा गर्छन् भन्ने कुरालाई पनि अत्यन्तै रोचक ढङ्गले प्रस्तुत गरिएको छ । पूँजीपतिले यस कार्यमा कामको घण्टालाई बढाएर वा कामको गतिलाई तीव्र बनाएर मजदूरबाट बढीभन्दा बढी निःशुल्क श्रम शोषण गर्दछन् । यसको शारिरीरक र सामाजिक सीमा हुने भएकोले मजदूरले यसको विरोध गर्छन् र कानूनले पनि एक हदसम्म यसलाई नियन्त्रित गर्ने प्रयास गर्छ ।
पूँजीवादी सञ्चयको सामान्य नियमले कसरी समाजमा धनी र गरीबको बीचको दूरीलाई लगातार बढाउँदै जान्छ भन्ने कुरा प्रष्ट बनाइएको छ । यो पुस्तकमा मार्क्सले पूँजीवादको भविष्य बारेमा पनि गहन विश्लेषण गरेका छन् ।
'पूँजी' मा कसरी पूँजीपतिले निरपेक्ष र सापेक्ष अतिरिक्त मूल्य हडप्छन् भन्ने कुराको रहस्य खोलिएको छ । यी सबैको केन्द्रमा मजदूर र उनीहरूको श्रम-शक्ति रहेको छ । यसमा ज्यालाले पूँजीवादी खेलमा कसरी काम गर्छ भन्ने कुरा स्पष्ट बनाइएको छ । यसमा पूँजी कसरी सञ्चित हुन्छ र त्यसले समाजमा धनी र गरीबको बीचमा दूरीलाई बढाउँछ भन्ने कुरा बुझाइएको छ । यहाँ पूँजीवादको जग राख्ने आदिम सञ्चयको इतिहासलाई पनि स्पष्ट बनाइएको छ । यहाँ पूँजीको सञ्चय र त्यसबाट पैदा हुने सामाजिक अन्तर्विरोधको बारेमा पनि विश्लेषण गरिएको छ । पूँजीवादी सञ्चयको सामान्य नियमले कसरी समाजमा धनी र गरीबको बीचको दूरीलाई लगातार बढाउँदै जान्छ भन्ने कुरा प्रष्ट बनाइएको छ । यो पुस्तकमा मार्क्सले पूँजीवादको भविष्य बारेमा पनि गहन विश्लेषण गरेका छन् ।
मार्क्सले 'पूँजी' ग्रन्थ मार्फत् पूँजीवादलाई बुझ्ने एक शक्तिशाली औजार प्रदान गरेका छन् । मार्क्सले पूँजीवादी व्यवस्थाले कसरी काम गर्छ, यसका नियम के-के हुन् र यसका कमजोरीहरू के-के हुन् भन्ने कुरा देखाए । उनले यसबाट एक उत्कृष्ट र न्यायपूर्ण संसार निर्माण गर्ने ज्ञान प्रदान गरेका छन् । यो ग्रन्थ कुनै सजिलो पुस्तक होइन । यसका सम्पूर्ण विचार जोकोहीलाई मान्य पनि हुँदैन तर यसले संसारलाई हेर्ने एक नयाँ दृष्टिकोण प्रदान गरेको छ । यो दृष्टिकोणले सतहमुनि लुकेको सच्चाईलाई हेर्नमा मद्दत गर्छ । यसले यथास्थितिलाई चुनौती दिन प्रेरित गर्छ र परिवर्तनको आशा जागृत गर्छ ।
वस्तु - उपयोग मूल्य र विनिमय मूल्य
वस्तु (कमोडिटिज) भन्नाले ती चीज वा सामग्रीहरूलाई बुझिन्छ, जसलाई दैनिक जीवनमा ठूलो मात्रामा उत्पादन, किनबेच वा विनिमय गरिन्छ र जुन वस्तुगत रूपमा समान गुणस्तरका हुन्छन् । यी वस्तुहरू प्रायः कच्चा पदार्थ वा प्राकृतिक स्रोत (अन्न, धातु, तेल, ग्यास, कफी, चिनी, कपास, आदि) हुन सक्छन् । वस्तुलाई कतै माल पनि भन्ने गरिन्छ । पूँजीवादी समाजलाई बुझ्नको लागि यसको सबभन्दा सानो इकाई वस्तुबाट नै शुरु गर्नुपर्छ । पूँजीवादको सम्पूर्ण शरीरको निर्माण यही वस्तुरूपी कोशिकाबाट भएको हुन्छ । तर यो हामीले सोचेजस्तो सामान्य अवश्य छैन । यसमा धेरै रहस्यहरू अन्तर्निहित छन् ।
मार्क्सका अनुसार हरेक वस्तुको दोहोरो प्रकृति वा दुई रूप हुन्छ । त्यसको पहिलो प्रकृति उपयोग मूल्य हो । यसको अर्थ वस्तुको काम के हुन्छ र त्यसले कुन आवश्यकता पूरा गर्छ भन्ने हुन्छ । खानाको उपयोग मूल्य भोक मेटाउनु हुन्छ । कपडाको उपयोग मूल्य शरीर ढाक्नु हुन्छ । घरको उपयोग मूल्य बस्ने ठाउँ प्रदान गर्नु हो । हाम्रो आवश्यकता परिपूर्तिको लागि वा उपयोगिताको लागि कुनै पनि चीज किन्ने गरिन्छ । अनावश्यक वा काम नलाग्ने चीज वस्तु बन्न सक्दैनन्, त्यसकारण ती बजारमा विक्री पनि हुँदैनन् ।
वस्तुको दोस्रो रूप त्यसको विनिमय मूल्य हो । यसको अर्थ कुन वस्तु बजारमा लैजादा त्यसको सट्टामा अरु कति वस्तु प्राप्त हुन्छन् वा कति पैसा प्राप्त हुन्छ भन्ने हो । जस्तो कि, दुई किलो गहुँको सट्टामा एक किलो दाल प्राप्त हुनसक्छ अर्थात् पचास रुपैयाँ प्राप्त हुनसक्छ । यहाँ एक किलो दाल वा पचास रूपैयाँ दुई किलो गहुँको विनिमय मूल्य भयो । यहाँ हामीले यो विनिमय मूल्यको निर्धारण कसरी हुन्छ भन्ने कुरा बुझ्नुपर्छ । दुई किलो गहुँ बराबर किन एक किलो मात्र दाल प्राप्त हुन्छ ? अथवा त्यसको मूल्य किन पचास रूपैया हुन्छ ?
फरक-फरक चीजहरूको उपयोग मूल्य पनि फरक-फरक हुन्छ । गहुँको काम भोक मार्नु हो; धातुको काम औजार बनाउनु हो तर दुवैको उपयोग नितान्त फरक हुन्छ । यद्यपि बजारमा एक-अर्कोसँग विनिमय गर्दा तिनीहरूमा नाप्न सकिने केही समानता हुनुपर्छ । मार्क्सका अनुसार त्यो समानता भनेको वस्तुमा लागेको मानवीय श्रम हो । एउटा वस्तुको मूल्य निर्धारण वास्तविक रूपमा त्यसको निर्माणमा खर्च भएको मानवीय श्रमको मूल्य अनुसार हुन्छ ।
यहाँ फेरि सबैको श्रमको मूल्य समान हुन्छ त भन्ने प्रश्न उत्पन्न हुन्छ । मानौं, एउटा समान्य लोहारले बाह्र घण्टामा एउटा भाँडो बनाउँछ भने अर्को धेरै सिपालु लोहारले तीन घण्टामा नै उक्त भाँडो बनाउन सक्छ । यस्तो अवस्थामा समान्य लोहारको भाँडाको मूल्य सिपालु लोहारको भाँडाको मूल्यभन्दा चारगुना बढी हुन्छ त ? यस्तो कदापि हुँदैन । यहाँ सामाजिक रूपले आश्यक श्रम-समयको कुरा अगाडि आउँछ । यसको अर्थ के हो भने कुनै पनि वस्तुको मूल्य त्यो समयको औसत प्रविधि र औसत कुशलताको हिसाबले त्यसको निर्माणमा कति समय लाग्नुपर्छ भन्ने कुरामा निर्धारित हुन्छ । यसकारण समाजमा बढी सिपालु लोहारले एउटा भाँडो तीन घण्टामा बनाउँछ भने त्यसको मूल्य तीन घण्टाको श्रम बराबर नै मानिनेछ; कुनै नयाँ सिकारूले यसलाई बनाउनमा आठ घण्टा खर्च नै किन खर्च नगरोस् ।
यहाँ यो धेरै महत्त्वपूर्ण विषय हो । किनकि यसले वस्तुको मूल्य कुनै व्यक्ति विशेषको मेहनतबाट नभएर समाजको औसत उत्पादकताबाट निर्धारित हुन्छ भन्ने कुरा स्पष्ट पार्दछ । यो प्रणालीले उत्पादकहरूमाथि आफ्नो कुशलता वृद्धि गर्न, नयाँ प्रविधि अपनाउन निरन्तर दबाव दिन्छ, ताकि उनीहरूले आफ्ना मालहरूलाई सामाजिक रूपले आवश्यक श्रम-समयभित्र वा त्योभन्दा पनि कममा बनाउन सकून् । त्यसपछि मात्र उनीहरूलाई फाइदा हुनेछ । यो प्रक्रियामा पछाडि हुनेहरू बजारबाट बाहिरिन्छन् । यसरी साधारण देखिने वस्तुले आफूभित्र यति धेरै जटिल सामाजिक सम्बन्ध र प्रक्रिया समेटेको हुन्छ । यो एउटा वस्तु मात्र नभएर मानवीय श्रमको मूर्त रूप हो । यो सामाजिक सम्बन्धको प्रतीक हो ।
बजारमा चीजहरू किनबेच गर्दा हामीले अनजानमा नै एक-अर्कोको श्रमलाई पनि आदान-प्रदान गरिरहेका हुन्छौं । सम्भवतः हामीले यो कुराको महसुस गर्न सक्दैनौं । यहिंनेर एउटा धेरै रोचक कुरा अगाडि आउँछ । त्यसलाई मार्क्सले वस्तुको अन्धविश्वास (फिटिशिज्म अफ कमोडिटिज) भनेका छन् । यसमा धेरै गहन अर्थ लुकेको हुन्छ । पूँजीवादी समाजमा चीजहरूले एक रहस्यात्मक चरित्र धारण गर्छन् । हामीलाई वस्तुको मूल्य त्यसभित्र नै अन्तर्निहित छ जस्तो लाग्छ; जस्तो कि सुनको मूल्य आफ्नो प्रकृतिबाट नै महङ्गो छ वा हीराको चमक त्यसको आफ्नो विशेषता हो । तिनीहरूको मूल्य वास्तवमा तिनीहरूमा लागेको मानवीय श्रम र सामाजिक सम्बन्धबाट निर्धारित हुन्छ भन्ने कुरा भुलिन्छ । चीजहरू हाम्रो सामु तिनीहरूको बीचमा कुनै सम्बन्ध भए जसरी नै अगाडि आउँछन्; यति सुन बराबर यति चाँदी वा यो टिभी त्यो रेडियोभन्दा यति धेरै महङ्गो छ । हामीलाई यी चीजहरूको आफ्नो गुण छ भन्ने लाग्छ, तर वास्तवमा यो त ती चीजहरूलाई बनाउने मानिसहरूको बीचमा भएको समाजिक सम्बन्ध हो ।
पूँजीवादमा मानिसले वस्तु वा पैसाको पूजा गर्न लाग्छन् । मानिसलाई पैसा नै सबै कुरा हो र यसैमा सम्पूर्ण शक्ति छ भन्ने लाग्छ; पैसाको लागि नै बाँच्ने र पैसाको लागि नै मर्ने ठान्न लागिन्छ ।
मानिसहरूको बीचको सामाजिक सम्बन्ध चीजहरूको बीचको सम्बन्धको रूपमा देखिन्छ । जस्तो कि, पुरानो समयमा मानिस मूर्ति वा प्राकृतिक शक्तिको पूजा गर्थे, तिनीहरूलाई सर्वशक्तिमान मान्थे । ती मूर्तिहरू मानिसले नै बनाएका हुन् वा प्राकृतिक शक्तिलाई बुझ्ने प्रयास पनि मानिसले नै गरिरहेका छन्; तर यो कुरा उनीहरू भुल्छन् । ठीक यसरी नै पूँजीवादमा मानिसले वस्तु वा पैसाको पूजा गर्न लाग्छन् । मानिसलाई पैसा नै सबै कुरा हो र यसैमा सम्पूर्ण शक्ति छ भन्ने लाग्छ; पैसाको लागि नै बाँच्ने र पैसाको लागि नै मर्ने ठान्न लागिन्छ ।
पैसा पनि मानवीय श्रम र सामाजिक व्यवस्थाकै एक उपज हो भन्ने कुरा भुलिन्छ । मालको अन्विश्वासले मानिसलाई उसैले बनाएको संसारबाट अपरिचित बनाइदिन्छ । मानिस आफ्नै रचनाको दास बन्छन् । वस्तुहरू किन्दा हामी तिनीहरूलाई कसले बनायो, कुन परिस्थितिमा ती चीज बने, चीज बनाउनेलाई वास्तविक श्रम मिल्यो कि मिलेन, आदि जस्ता कुरामा ध्यान दिंदैनौं । हामी केवल त्यसको मूल्य हेर्छौं र किन्छौं ।
वस्तु हाम्रो सामु एक तयार उत्पादनको रूपमा आउँछ । त्यसको पछाडिको सम्पूर्ण मानवीय कथा, सम्पूर्ण सामाजिक श्रम हाम्रो दृष्टिभन्दा बाहिर हुन्छ । यो अन्धविश्वासले हामीलाई एक-अर्कोबाट पनि अलग बनाइदिन्छ । किसानको उनीहरूले उत्पादन गरेको अन्न अनुसार पहिचान हुँदैन, बरु उनीहरूको पहिचान बजारमा अन्नको मूल्य अनुसार हुन्छ । मजदूर उनीहरूले बनाएका चीजहरू अनुसार चिनिंदैनन्, उनीहरूलाई ज्याला अनुसार चिनिन्छ । मानिस अलप हुन्छन् र केवल चीज र तिनीहरूको मूल्य रहन्छ ।
वस्तुको यो अन्धविश्वासले पूँजीवादी व्यवस्थालाई कायम राख्नमा गहिरो भूमिका निभाउँछ । किनकि चीजहरूको मूल्य स्वाभाविक छ, बजारको मूल्य प्राकृतिक छ र धनी-गरीबको भेद भाग्यको खेल हो भन्ने ठानुन्जेलसम्म यो व्यवस्थामाथि प्रश्न उठाइंदैन । त्यसकारण हामीले चीजहरूको पछाडि गुप्त रहेको सम्बन्ध स्पष्ट रूपमा बुझ्नुपर्छ । यो सम्पूर्ण व्यवस्था मानवले बनाएको हो र यसलाई परिवर्तन गर्न पनि सकिन्छ भन्ने कुरा बुझ्नुपर्छ ।
हाम्रो हातमा आएको जुनसुकै वस्तुमा समय, श्रम र कसैको जिन्दगीको एक हिस्सा हुन्छ । यति धेरै सामान्य लाग्ने वस्तुको यो संसार वास्तविक रूपमा धेरै विचित्र र अन्तर्विरोधपूर्ण छ । एकातिर यसले हाम्रो आवश्यकता पूरा गर्नको लागि असङ्ख्य चीजहरू उत्पादन गर्छ । अर्कोतिर यसले हामीलाई एक-अर्कोसँग र स्वयंसँग पनि अपरिचित बनाइदिन्छ । एकातिर यो मानवीय रचनात्मकताको प्रतीक हो भने अर्कोतिर यो मानवीय श्रमको शोषणको माध्यम पनि बन्न सक्छ । वस्तुको संसार सतही रूपमा जति शान्त देखिन्छ, भित्र त्यति नै उथलपुथलपूर्ण छ । यो एक यस्तो समुद्र हो, जसको सतहमा छाल त देखिन्छ तर गहिराईमा धेरै तुफान र रहस्य हुन्छन् ।
पैसा - वस्तु विनिमयदेखि मुद्रासम्म
पैसा शब्दसँगै नोट, सिक्का, बैङ्क, सम्पन्नता, गरीबी, आवश्यकता, इच्छा, शक्ति, परिपूर्ति, विवशता जस्ता धेरै चीजहरू जोडिएका हुन्छन् । यससँग धेरै भावना र विचार जोडिएका हुन्छन् । तर पैसा भन्ने चीज के हो त ? यो कहाँबाट आयो ? र, कसरी यसले संसारलाई सञ्चालन गर्ने यति धेरै शक्ति हासिल गर्यो ? यसको वास्तविकता धेरै रहस्यात्मक छ । पैसाको अस्तित्व सदैव थिएन । कुनै समय मानवले आफ्ना आवश्यकता सीधैं चीजहरूको आदान-प्रदानबाट परिपूर्ति गर्थे । त्यसलाई वस्तु विनियम (बार्टर सिस्टम) भनिन्छ । जस्तो कि कुनै व्यक्तिसँग चामल धेरै छ र उसलाई दाल आवश्यक छ, यसरी नै अर्को व्यक्तिसँग दाल बढी छ र उसलाई गहुँको आवश्यकता छ । यस्तो अवस्थामा दुवैले चामल र दालको लेनदेन गर्नेछन् ।
समाजको विकास हुँदै जाँदा उत्पादनमा वृद्धि भयो र मानिसका आवश्यकताहरूमा पनि वृद्धि भयो । अब वस्तु विनिमयको पुरानो प्रणाली पर्याप्त हुन छोड्यो । अब मानिसहरूलाई सबैले स्वीकार गर्ने र त्यसको सट्टा कुनै पनि वस्तु किन्न सकिने चीजको आवश्यकता महसुस हुनलाग्यो । यसपछि नै मुद्रा वा पैसाको जन्म भएको हो ।
यो कार्य सामान्य जस्तो लाग्छ तर यसमा धेरै समस्याहरू थिए । यसमा सबभन्दा ठूलो समस्या आवश्यकताको दोहोरो संयोग थियो । यसको अर्थ के हो भने हामीले अर्को यस्तो व्यक्तिको खोज गर्नुपर्छ, जसलाई हामीसँग भएको चीजको आवश्यकता होस्, यससँगै त्यो व्यक्तिसँग हामीलाई आवश्यक पर्ने चीज पनि हुनुपर्छ । हामीलाई कपडाको आवश्यकता छ तर हामीसँग गहुँ छ भने गहुँको आवश्यकता हुने व्यक्तिको खोजी गर्नुपर्छ । यदि अर्को व्यक्तिलाई गहुँ नभएर अरु नै कुनै चीज आवश्यकता छ भने हाम्रो बीचमा विनिमय हुन सक्दैन । यो धेरै जटिल र धेरै समय लाग्ने काम थियो । यसकारण व्यापारको दायरा पनि सीमित थियो । समाजको विकास हुँदै जाँदा उत्पादनमा वृद्धि भयो र मानिसका आवश्यकताहरूमा पनि वृद्धि भयो । अब वस्तु विनिमयको पुरानो प्रणाली पर्याप्त हुन छोड्यो । अब मानिसहरूलाई सबैले स्वीकार गर्ने र त्यसको सट्टा कुनै पनि वस्तु किन्न सकिने चीजको आवश्यकता महसुस हुनलाग्यो । यसपछि नै मुद्रा वा पैसाको जन्म भएको हो ।
शुरुमा फरक-फरक समाजमा फरक-फरक वस्तु मुद्राको रूपमा प्रयोग भए । यसको लागि ठाउँ अनुसार पशु, नून, अन्न, शङ्ख वा कौडी, धातुका टुक्रा, गहना, औंठी, औजार र छाला जस्ता चीजहरूको प्रयोग गरिन्थ्यो । ती चीजहरू सामान्यतः मानिसका लागि उपयोगी हुन्थे र तिनीहरूलाई सजिलैसँग विभाजित र सङ्ग्रहित गर्न सकिन्थ्यो । तर यी चीजहरूमा पनि केही कमी थियो । तिनीहरूको गुणस्तरीयता एकसमान हुँदैनथ्यो । तिनीहरूलाई एक स्थानबाट अर्को स्थानमा लैजान जटिल हुन्थ्यो र तिनीहरू छिट्टै खराब पनि हुनसक्थे । त्यसकारण विस्तारै मानिसले खासगरी सुन र चाँदी जस्ता मूल्यवान धातुलाई मुद्राको रूपमा प्रयोग गर्न शुरु गरे । सुन र चाँदीको प्रयोग गर्नुको कारण यिनीहरू टिकाउ हुने र गुणस्तरीयता लगभग एकसमान हुने भएकोले हो । यिनीहरूलाई सजिलैसँग साना-साना टुक्रामा विभाजन गर्न पनि सकिन्छ । यिनीहरूको सानो मात्रामा पनि धेरै मूल्य समाहित भएको हुन्छ । यिनीहरूलाई एक ठाउँबाट अर्को ठाउँमा लैजानसमेत सहज हुन्छ ।
यसरी सुन र चाँदी एक ढङ्गले सार्वभौमिक समतुल्य बने । यिनीहरूको सट्टामा कुनै पनि अरु चीज किनबेच गर्न सकिन्थ्यो । अब कुनै व्यक्तिसँग मकै छ र उसलाई कोट आवश्यक छ भने मकै आवश्यक हुने व्यक्तिलाई खोज्नु जरुरी थिएन । उसले मकै बजारमा बेचेर पैसाको रूपमा सुन वा चाँदी लिन सक्छ र त्यो पैसा ( सुन वा चाँदी) ले कोट किन्न सक्छ । यसरी पैसाले व्यापारलाई धेरै सहज र व्यापक बनाइदियो । यो केवल एक मध्यस्थ मात्र नभएर यसले वस्तुको संसारमा एक क्रान्ति ल्याइदिएको थियो ।
अब हरेक वस्तुको मूल्य पैसाको रूपमा व्यक्त गर्न लागियो । पैसा मूल्यको मापक बन्यो । मानिसले आवश्यकताका चीजहरूको मूल्य यति पर्छ भन्ने कुरा निर्धारण गरे । पैसा नै सबै चीजहरूको तुलना गर्नसकिने परिमाण बन्यो । यसको अतिरिक्त पैसा परिचलन (सर्कुलेसन) को माध्यम पनि बन्यो । चीजहरू पैसाको सट्टा किनबेच गर्न लागियो । वस्तु पैसामा बदलियो र पैसा पुनः मालमा बदलियो । यो एक निरन्तर चल्ने प्रक्रिया बन्यो ।
यद्यपि पैसाको रहस्य यहाँमात्र सीमित छैन । मार्क्सका अनुसार पैसा (मुद्रा) केवल मूल्यको मापक वा परिचलनको माध्यम मात्र होइन, यसका अरु पनि धेरै महत्त्वपूर्ण कार्य छन् । पैसा भुक्तानको साधन पनि हो । कुनै ऋण तिर्दा, कर तिर्दा, सेवा गर्दा पैसाको उपयोग भुक्तानको रूपमा गरिन्छ । यसको अतिरिक्त पैसा मूल्यको भण्डार पनि हो । भविष्यमा आवश्यकता पूरा गर्नको लागि पैसा जोगाएर पनि राख्न सकिन्छ । यद्यपि महङ्गी बढ्दा पैसाको किन्ने शक्ति कम हुन्छ तर पनि यो मूल्यलाई केही समयसम्म सञ्चित राख्ने एउटा तरीका हो । व्यापार अन्तर्राष्ट्रिय स्तरमा हुँदा पैसाले विश्व मुद्राको पनि काम गर्छ । यसरी पैसाले धेरै काम गर्छ । यो केवल एउटा अनजान धातुको हिस्सा वा कागजको नोट मात्र होइन, यो एक सामाजिक शक्ति हो । यो एउटा यस्तो औजार हो, जसले मानव समाजको विकासमा अत्यन्तै महत्त्वपूर्ण भूमिका निभाएको छ ।
मार्क्सका अनुसार वस्तुको अन्धविश्वास भए जस्तै पैसाको पनि अन्धविश्वास हुन्छ । मानिसले पैसालाई नै सबै कुरा ठान्न लाग्छन् । पैसामा जेसुकै (प्रेम, खुशियाली, प्रतिष्ठा…….) किन्न सकिने कुनै रहस्यात्मक शक्ति छ भन्ने लाग्छ । पैसा पनि वस्तु जस्तै मानवीय श्रम र सामाजिक सम्बन्धको उपज हो भन्ने कुरालाई भुलिन्छ । सुन वा चाँदी आफैमा मुद्रा बन्ने कुनै विशेषता हुँदैन, बरु समाजले तिनीहरूलाई यस्तो भूमिका प्रदान गरेको हो । यदि समाजले कुनै अरु चीजलाई मुद्रा मान्यो भने त्यो चीज नै मुद्रा बन्नेछ । पैसाको वास्तविक शक्ति त्यसको भौतिक स्वरूपमा नभएर त्यसले प्रतिनिधित्व गर्ने सामाजिक सम्बन्धमा हुन्छ । तर पूँजीवादी समाजमा यो कुरालाई ध्यान दिइंदैन ।
पैसा एक स्वतन्त्र शक्तिको रूपमा अगाडि आउँछ र यसले मानिसलाई नियन्त्रित गर्छ । मानिस पैसाको पछाडि दौडिन्छन् र यो भागदौडमा मानवीयता, सम्बन्ध, खुशी जस्ता सबै कुरा दाउमा लगाइदिन्छन् । जोसँग जति बढी पैसा हुन्छ, उसैलाई सफल मानिन्छ । मानवीय सम्बन्ध पनि कतै न कतै पैसाबाट प्रभावित हुन्छ । पैसा नै मानवीय सोच, सपना र महत्त्वाकांक्षामाथि हावी हुन्छ ।
मार्क्सका अनुसार पैसालाई सही स्थानमा राख्नुपर्छ । यो एक उपयोगी औजार हो तर यो हाम्रो मालिक बन्न सक्दैन । वास्तविक मूल्य मानवीय श्रममा, मानवीय रचनात्मकतामा र मानवीय सम्बन्धमा हुन्छ, कुनै कागजी नोट वा धातुका सिक्कामा हुँदैन । पैसा कमाउँदा हामीले समाजमा आफ्नो श्रमको हिस्साको दावी गरिरहेका हुन्छौं । पैसाले समाजद्वारा उत्पादित वस्तु र सेवामध्ये आफ्नो हिस्साको उपयोग गर्नसक्ने अधिकार प्रदान गर्छ ।
यद्यपि पूँजीवादी व्यवस्थामा यो प्रक्रिया यति सरल हुँदैन । यसमा धेरै उतारचढाव र कयौं जटिलताहरू उत्पन्न हुन्छन् । यस्तो स्थितिमा पैसा केवल आवश्यकताहरूलाई पूरा गर्ने साधन मात्र रहँदैन, बरु यो स्वयं एक उद्देश्य बन्छ । पैसा स्वयं उद्देश्य बनेपछि एउटा नयाँ खेल शुरु हुन्छ । यो कहिल्यै अन्त नहुने दौड जस्तै हुन्छ । यो पैसाबाट पैसा कमाउने दौड हो । यो स्थितिमा आएर पैसा एउटा नयाँ र अझ बढी शक्तिशाली रूपमा परिवर्तित हुन्छ । त्यो रूपलाई नै 'पूँजी' भनिन्छ ।
पैसा केवल पैसा रहँदैन । त्यसले पूँजी बन्ने क्षमता राख्छ । तर यो कसरी हुन्छ त ? कसरी पैसाले अझ बढी पैसा उत्पन्न गर्छ ? यसमा कुनै रहस्य हुन्छ वा यसको पछाडि पनि कुनै ठोस बुझ्नसकिने कारण हुन्छ ? यो प्रश्नले पूँजीको वास्तविक रहस्यतर्फ डोर्याउँदछ ।
यसरी पैसाले वस्तुको लेनदेनलाई सहज बनाउँछ । एउटा उत्पादकले आफ्ना उत्पादित वस्तु बेचेर पैसा हासिल गर्छ र पुनः त्यो पैसाबाट आफ्नो आवश्यकताको अर्को वस्तु किन्छ । यो प्रक्रियालाई 'वस्तु-पैसा-वस्तु' अर्थात् 'सी-एम-सी' भनिन्छ । यसको उद्देश्य उपयोग मूल्य हासिल गर्नु र आवश्यकता पूरा गर्नु हो । तर यो प्रक्रिया उल्टो भएको खण्डमा स्थिति के हुन्छ त ? जस्तो कि, कसैले पैसाद्वारा वस्तु किन्छ र त्यसलाई बेचेर अझ बढी पैसा कमाउँछ भने यो प्रक्रियालाई 'एम-सी-एम प्राइम' अर्थात् पैसा-वस्तु-बढी पैसा भनिन्छ । यसको उद्देश्य उपयोग मूल्य नभएर विनिमय मूल्य र पैसा बढाउनु हुन्छ । र, यही 'एम-सी-एम प्राइम' को चक्र नै पूँजीको आधार हो ।
कसैले छलपूर्वक नाफा कमाए पनि सम्पूर्ण पूँजीपति वर्गले कसरी नाफा कमाउँछन् ? त्यसो हुँदा अतिरिक्त पैसा कहाँबाट आउँछ त ? यो एउटा धेरै ठूलो प्रश्न हो । यो रहस्यलाई नबुझुन्जेलसम्म पूँजीवादलाई बुझ्न सकिंदैन ।
अब पैसा केवल पैसा रहँदैन । त्यसले पूँजी बन्ने क्षमता राख्छ । तर यो कसरी हुन्छ त ? कसरी पैसाले अझ बढी पैसा उत्पन्न गर्छ ? यसमा कुनै रहस्य हुन्छ वा यसको पछाडि पनि कुनै ठोस बुझ्नसकिने कारण हुन्छ ? यो प्रश्नले पूँजीको वास्तविक रहस्यतर्फ डोर्याउँदछ । पैसा केवल चीजहरूको किनबेच गर्ने माध्यम मात्र हो भने चीजलाई बेच्दा बढी पैसा कसरी प्राप्त हुन्छ त ? कसैले पचास रूपैयाँको सामान किनेर पचासमै बेचिदियो भने उसलाई कुनै नाफा हुँदैन । नाफा कमाउनको लागि या त पचास रूपैयाँको सामान त्योभन्दा कममा किन्नुपर्छ या पचासको सामानलाई त्योभन्दा बढीमा बेच्नुपर्छ । पूँजीपतिहरू सधैं सस्तो किनेर महङ्गोगमा बेच्छन् र यही नाफाको रहस्य हो त ? यो कुरा यति सामान्य छैन । किनकि सबैले महङ्गोमा वस्तु बेच्न लागे भने कसैले पनि किन्दैन । कसैले छलपूर्वक नाफा कमाए पनि सम्पूर्ण पूँजीपति वर्गले कसरी नाफा कमाउँछन् ? त्यसो हुँदा अतिरिक्त पैसा कहाँबाट आउँछ त ? यो एउटा धेरै ठूलो प्रश्न हो । यो रहस्यलाई नबुझुन्जेलसम्म पूँजीवादलाई बुझ्न सकिंदैन ।
पूँजीको जन्म - पैसाको पूँजीमा रूपान्तरण
पैसा अब केवल पैसा मात्र नरहेर पूँजी बन्ने मार्गमा अगाडि बढ्छ । पैसाको उद्देश्य अब चीजहरूलाई किन्ने मात्र नभएर स्वयंलाई वृद्धि गर्नु हुन्छ । यो कसरी हुन्छ ? कसरी पैसाले अझ बढी पैसा कमाउन लाग्छ ? यही नै पूँजी निर्माणको केन्द्रीय प्रश्न हो । मार्क्स यो प्रक्रियालाई पैसा (मुद्रा) को पूँजीमा रूपान्तरण भन्दछन् । यसलाई बुझ्नको लागि दुई प्रकारको चक्रलाई बुझ्नुपर्छ । पहिलो चक्र वस्तु-मुद्रा-वस्तु (सी-एम-सी) हो । एउटा किसानले मकै उत्पादन गर्छ र त्यसलाई बजारमा बेचेर पैसा प्राप्त गर्छ । त्यो पैसाबाट उसले फेरि आफ्नो आवश्यकताका चीज किन्छ । यो चक्रको शुरुवाती र अन्तिम बिन्दु वस्तु हुन्छ । यहाँ पैसाको काम केवल एक मध्यस्थको हुन्छ, जसले एउटा वस्तुलाई अर्को वस्तुमा परिवर्तन गर्नमा सहायता गर्छ । यो चक्रको उद्देश्य उपयोग मूल्य हासिल गर्नु हो । किसानलाई धेरै मकैको उपयोगिता थिएन, उसलाई कपडा अथवा अन्य चीजको उपयोग आवश्यक थियो । यहाँ पैसा खर्च हुन्छ र प्रक्रिया समाप्त हुन्छ ।
यद्यपि पूँजीको चक्र योभन्दा बिल्कुल फरक छ । पूँजीको चक्र 'मुद्रा-वस्तु-बढी मुद्रा' (एम-सी-एम प्राइम) हुन्छ । एउटा पूँजीपतिले पैसा लिएर बजार जान्छ, त्यसबाट केही वस्तु किन्छ र त्यो वस्तुलाई बेचेर बढी पैसा प्राप्त गर्छ । यहाँ शुरुवाती बिन्दु पनि पैसा हुन्छ र अन्तिम बिन्दु पनि पैसा हुन्छ । तर अन्तिम बिन्दुमा पैसा शुरुको बिन्दुभन्दा बढी हुन्छ (एम>एम) । यहाँ पूँजीपतिले प्राप्त गरेको अतिरिक्त पैसालाई नै मार्क्स अतिरिक्त मूल्य (सरप्लस भ्यालू) भन्दछन् । यही अतिरिक्त मूल्य नै पूँजीको केन्द्र हो । अतिरिक्त मूल्य नहुँदा पूँजीपतिलाई यो सबै कार्य गर्नुको केही अर्थ हुँदैन । पूँजीपतिको उद्देश्य निरन्तर आफ्नो पैसालाई वृद्धि गर्नु हुन्छ । त्यसकारण 'मुद्रा-वस्तु-मुद्रा' को चक्र निरन्तर चल्ने चक्र हुन्छ । किनकि जुन मुद्रा प्राप्त हुन्छ त्यो पुनः मुद्रा बन्छ र नयाँ सिराबाट वस्तु किनेर अझ बढी मुद्रा कमाउने प्रक्रिया शुरु हुन्छ । यो पैसालाई निरन्तर वृद्धि गरिरहने अन्तहीन दौड हो ।
अब यहाँ एउटा धेरै ठूलो प्रश्न अगाडि आउँछ; यो अतिरिक्त मूल्य कहाँबाट आउँछ त ? के यो चलाखीपूर्ण किनबेचबाट आउँछ त ? मानौं, एउटा व्यापारीले कुनै चीज सस्तोमा किन्यो र महङ्गोमा बेचिदियो । यसबाट उसलाई नाफा भयो । तर यसले समाजको समग्र मूल्यमा बढोत्तरी गर्दैन । यदि एउटा व्यक्तिले अर्कोलाई ठगेर दुईसय रूपैयाँको चीज दुईसय बीसमा बेचिदियो भने बेच्नेलाई बीस रूपैयाँ फाइदा भयो तर किन्नेलाई बीस रूपैयाँ घाटा भयो । समाजमा समग्र मूल्य त उति नै रह्यो । यो त केवल मूल्य एक हातबाट अर्को हातमा मात्र गयो । यसबाट नयाँ मूल्य पैदा भएन । यदि अतिरिक्त मूल्य यसरी नै ठगी वा चतुर्याईबाट आउँथ्यो भने केही मानिस धनी हुन्थे र केही गरीब । तर सम्पूर्ण पूँजीपति वर्ग सामूहिक रूपमा कसरी धनी हुन्छन् त ? यदि सबै व्यापारीले केवल एक-अर्कोलाई मात्र महङ्गोमा वस्तु बेचिरहन्छन् भने यो एक शून्य राशिको खेल हुन्छ । त्यसमा कुनै वास्तविक वृद्धि हुँदैन । यस्तो अवस्थामा अतिरिक्त मूल्य कहाँबाट उत्पन्न हुन्छ त ?
मार्क्सका अनुसार अतिरिक्त मूल्य न त पैसामा स्वतः पैदा हुन्छ र न यो केवल वस्तु किनबेच प्रक्रियामा नै पैदा हुन्छ । यो उत्पादनको प्रक्रियामा पैदा हुन्छ । यसको लागि पूँजीपतिले बजारमा एउटा यस्तो विशेष वस्तु वा जादूमय चीज किन्नुपर्छ, जसको प्रयोग र खपतबाट त्यो वस्तुको स्वयं मूल्यभन्दा बढी मूल्य उत्पन्न हुनसकोस् । बजारमा यस्तो चीज हुन्छ र त्यो विशेष जादूमय चीज श्रम-शक्ति हो । श्रम-शक्ति भनेको श्रमिकको काम गर्ने क्षमता हो, यो श्रमिकको शारीरिक र मानसिक योग्यता हो, जसको उपयोग उत्पादन हुन्छ । पूँजीपतिले बजारमा गएर मजदूरबाट उसको श्रम-शक्ति किन्छ । त्यसको बदलामा उसले मजदूरलाई ज्याला वा बेतन दिन्छ । श्रम-शक्तिलाई बजारमा किनबेच गरिने भएकोले यो वस्तु बन्छ । यसको पनि एक उपयोग मूल्य हुन्छ । यसले उत्पादन गर्न सक्छ । यसको विनियम मूल्य पनि हुन्छ, जुन ज्यालाको रूपमा प्रकट हुन्छ ।
यद्यपि श्रम-शक्ति कुनै सामान्य वस्तु होइन । यो एउटा धेरै अनौठो वस्तु हो । यसको विशेषता अनुसार पूँजीपतिले यसको प्रयोग गरेपछि अर्थात् मजदूरले काम गरेपछि त्यसले श्रम-शक्तिको मूल्य अर्थात् आफ्नो ज्याला बराबर मूल्य मात्र उत्पन्न गर्दैन, बरु त्योभन्दा धेरै बढी मूल्य उत्पन्न गर्छ । यही त्यो अतिरिक्त मूल्य हो, जसको खोजी पूँजीपतिले गर्छन् । मानौं, एउटा मजदूरको एक दिनको श्रम-शक्ति मूल्य अर्थात् उसको ज्याला (जुन मजदूरलाई खानपिन र काम गर्न लायक बनाउन आवश्यक हुन्छ) ५०० छ । पूँजीपतिले मजदूरलाई ५०० दिन्छ र उसलाई आफ्नो कारखानामा काममा लगाउँछ । अब मजदूर काम गर्न शुरु गर्छ । उसले केवल ४ घण्टा मात्र काम गरेर ५०० बराबरको मूल्य पैदा गर्छ । अर्थात् उसले आफ्नो ज्याला बराबरको मूल्य उत्पन्न गर्यो । तर पूँजीपतिले उसलाई ४ घण्टा मात्र काम गराउँदैन । उसले मजदूरको सम्पूर्ण दिनको अर्थात् ८ घण्टाको श्रम-शक्ति किनेको छ । त्यसो हुँदा मजदूरले बाँकी ४ घण्टा पनि काम गर्छ । यी अतिरिक्त ४ घण्टामा मजदूरले जुन मूल्य पैदा गर्छ, त्यो पनि ५०० रूपैयाँ बराबर नै हुन्छ । यसरी पैदा भएको अतिरिक्त ५०० रूपैयाँको मूल्यको लागि पूँजीपतिले मजदूरलाई कुनै अतिरिक्त ज्याला दिंदैन । यही नै त्यो अतिरिक्त मूल्य हो, जसलाई पूँजीपतिले हडप्दछ ।
मजदूरले समग्रमा १,००० रूपैयाँको मूल्य पैदा गर्यो तर उसलाई केवल ५०० मात्र प्राप्त भयो । बाँकी ५०० रूपैयाँ पूँजीपतिको मुनाफा बन्यो । यही नै पूँजीको विस्तारको रहस्य वा पैसाबाट पैसा बनाउने विधि हो । यो कुनै जादू नभएर श्रम-शक्तिको शोषणमा आधारित एउटा धेरै वास्तविक प्रक्रिया हो । मजदूरले आफ्नो श्रम-शक्ति बेच्छ, किनकि ऊसँग यन्त्र, कच्चा पदार्थ, जमिन, आदि जस्ता उत्पादनका साधन हुँदैनन् । ऊसँग आफ्नो श्रम-शक्तिको अतिरिक्त बेच्नको लागि अरु केही हुँदैन । ऊ स्वतन्त्र हुन्छ अर्थात् ऊ कसैको दास हुँदैन । उसले आफ्नो श्रम-शक्ति जसलाई चाह्यो बेच्न सक्छ । तर ऊ उत्पादनका साधनहरूबाट पनि स्वतन्त्र रूपमा नै वञ्चित हुन्छ । त्यसकारण उसले आफू बाँच्नको लागि आफ्नो श्रम-शक्ति बेच्नैपर्छ ।
अर्कोतिर पूँजीपतिसँग उत्पादनका साधन हुन्छन्, पैसा हुन्छ तर यी साधनहरूलाई काममा ल्याउनको लागि उसलाई श्रम-शक्तिको आवश्यकता हुन्छ । यसरी पूँजीपति र मजदूर बजारमा मिल्छन्, एउटा क्रेताको रूपमा र अर्को विक्रेताको रूपमा । यसो हुँदा पूँजीको जन्म पैसालाई श्रम-शक्तिमा बदलेर पुनः श्रम-शक्तिको प्रयोगबाट अतिरिक्त मूल्य उत्पन्न गरेपछि हुन्छ । यो 'पैसा-वस्तु-बढी पैसा' चक्र त्यतिखेर मात्र पूरा हुन्छ, जतिखेर वस्तुभित्र श्रम-शक्ति पनि सामेल हुन्छ । पूँजीपतिले पैसा लगानी गर्छ, त्यसबाट कच्चा पदार्थ, यन्त्र, आदि (स्थिर पूँजी) र श्रम-शक्ति (परिवर्तनशील पूँजी) किन्छ । उत्पादन प्रक्रियामा श्रम-शक्तिले आफ्नो मूल्यलाई मात्र पुनरुत्पादन गर्दैन, बरु यसले अतिरिक्त मूल्य पनि पैदा गर्छ । तयारी माल बजारमा विक्री हुँदा पूँजीपतिले आफूले लगानी गरेको पैसा त प्राप्त गर्छ नै, सँगै उसले त्यो अतिरिक्त मूल्य पनि प्राप्त गर्छ, जुन उसको नाफा बन्छ ।
पूँजीवादी व्यवस्थामा पूँजीपति अतिरिक्त मूल्य लिन बाध्य हुन्छ । यदि कुनै पूँजीपतिले यसो गरेन भने ऊ बजारको प्रतिस्पर्धामा टिक्न सक्दैन र त्यो खत्तम हुनेछ ।
यसरी प्राप्त भएको अतिरिक्त मूल्यलाई पुनः पूँजीमा लगानी गरिन्छ र यो चक्र ठूलो परिमाणमा दोहोर्याइन्छ । यसरी पूँजी लगातार वृद्धि भइरहन्छ र सञ्चित भइरहन्छ । अतिरिक्त मूल्य हावाबाट आउँदैन । यो मजदूरहरूको त्यो श्रमबाट आउँछ, जसको लागि उनीहरूलाई कुनै भुक्तान गरिंदैन । मजदूरले आफ्नो कामको एउटा हिस्साको त ज्याला पाउँछन्, जसलाई आवश्यक श्रम भनिन्छ तर बाँकी हिस्साको लागि उनीहरू निःशुल्क काम गर्छन्, जसलाई अतिरिक्त श्रम भनिन्छ । यही अतिरिक्त श्रम नै अतिरिक्त मूल्यको स्रोत हो । पूँजीवादको सम्पूर्ण भवन यही जगमा टिकेको हुन्छ । यो पूँजीवादी उत्पादन प्रणालीको एक आधारभूत सच्चाई हो । पूँजीवादी व्यवस्थामा पूँजीपति अतिरिक्त मूल्य लिन बाध्य हुन्छ । यदि कुनै पूँजीपतिले यसो गरेन भने ऊ बजारको प्रतिस्पर्धामा टिक्न सक्दैन र त्यो खत्तम हुनेछ । त्यसकारण यो एक संरचनात्मक बाध्यता हो । यसरी पैसा पूँजीमा परिवर्तित हुन्छ ।
निरपेक्ष अतिरिक्त मूल्यको उत्पादन - कार्य घण्टा तथा नाफा
अब यहाँ एउटा गम्भीर प्रश्न पूँजीपतिले अतिरिक्त मूल्यको वृद्धि कसरी गर्छन् भन्ने आउँछ । किनकि पूँजीको त स्वयंलाई बढाउनु र बढीभन्दा बढी अतिरिक्त मूल्य शोषण गर्नु स्वभाव नै हो । मार्क्सका अनुसार अतिरिक्त मूल्यलाई बढाउने मुख्य रूपमा दुई तरीका छन्, पहिलो तरीका निरपेक्ष अतिरिक्त मूल्य हो । निरपेक्ष अतिरिक्त मूल्य बढाउने सबभन्दा सीधा तरीका कामको घण्टा बढाइदिनु अर्थात् कार्य-दिवसको लम्बाई बदाइदिनु हो । यसलाई बुझ्नको लागि कार्य-दिवसलाई दुई भागमा बाँड्नुपर्छ ।
पहिलो हिस्सा आवश्यक श्रम-समय हो । यो समयमा मजदूरले आफ्नो ज्याला बराबर मूल्य पैदा गर्दछन् । जस्तो कि, एउटा मजदूरको दिनभरीको ज्याला आफू र आफ्ना परिवारलाई खान दिनसक्ने र अर्को दिन पुनः काममा आउन लायक रहनसक्ने हुन्छ । मजदूरले चार घण्टा काम गरेर उसको ज्याला बराबरको मूल्य पैदा गर्छ भने यो चार घण्टा उसको आवश्यक श्रम-समय भयो । यस क्रममा उसले गर्ने श्रमलाई आवश्यक श्रम भनिन्छ र यो भुक्तान गरिएको श्रम हुन्छ । यद्यपि यो भुक्तान ऊद्वारा पैदा गरिएको कुल मूल्यको एउटा हिस्सा मात्र हुन्छ ।
कार्य-दिवसको दोस्रो हिस्सा अतिरक्त श्रम-समय हो । यो समयमा मजदूरले आवश्यक श्रम-समयपछि पनि काम गर्छ । यस क्रममा उसले पैदा गर्ने मूल्य सीधै पूँजीपतिको गोजीमा अतिरिक्त मूल्यको रूपमा जान्छ । मजदूरले जम्मा आठ घण्टा काम गरेको खण्डमा पहिलो चार घण्टा आवश्यक श्रम-समय हुन्छ भने बाँकी चार घण्टा अतिरिक्त श्रम-समय भयो । यस अवधिमा गरिएको श्रमलाई अतिरिक्त श्रम भनिन्छ र यो भुक्तानबिनाको श्रम हुन्छ । यही अतिरिक्त श्रम नै अतिरिक्त मूल्यको स्रोत हो ।
यदि पूँजीपतिले अतिरिक्त मूल्य वृद्धि गर्नु छ भने उसले सबभन्दा पहिले अतिरिक्त श्रम-समयलाई बढाउने प्रयास गर्नेछ । यसको एउटा सीधा तरीका कुल कार्य-दिवसको लम्बाईलाई नै बढाइदिनु हुन्छ । जस्तो कि, आवश्यक श्रम-समय चार घण्टा त त्यति नै रहन्छ तर पूँजीपतिले मजदूरलाई आठ घण्टाको सट्टा दस घण्टासम्म काम गराउन लाग्छ । यसो हुँदा अतिरिक्त श्रम-सयम चार घण्टाबाट बढेर छ घण्टा हुन्छ । यसको अर्थ के हो भने अतिरिक्त मूल्य पनि त्यहि अनुपातमा बढ्यो । यही नै निरपेक्ष अतिरिक्त मूल्यको उत्पादन हो; कार्य-दिवसलाई लम्ब्याएर अतिरिक्त श्रम-समयलई बढाउनु र यसरी बढी अतिरिक्त मूल्य हासिल गर्नु ।
मार्क्सका अनुसार पूँजीको शुरुवाती दिनमा पूँजीवादीले आफ्नो जरा जमाइरहेको बेलामा पूँजीपतिहरूले यही तरीकाको सबभन्दा बढी प्रयोग गरे । कार्य-दिवसलाई निर्दयतापूर्वक लम्ब्याइयो । दसदेखि सोह्र घण्टासम्म मजदूरबाट काम लिइन्थ्यो । बच्चा र स्त्रीहरूलाई पनि यसरी नै लामो समयसम्म काम गराइन्थ्यो । किनकि तिनीहरूको श्रम-शक्ति सस्तोमा प्राप्त हुन्थ्यो । यसको पछाडि पूँजीपतिको तर्क के थियो भने उसले मजदूरको सम्पूर्ण दिनको श्रम-शक्ति किनेको छ; त्यसकारण उसलाई त्यसको बढीभन्दा बढी उपयोग गर्ने अधिकार छ । मजदूरले काम गर्नैपर्थ्यो, नत्र ऊ भोकै मर्दथ्यो ।
यो अमानवीय शोषणको धेरै भयानाक परिणाम भयो । मजदूरहरूको स्वस्थ्य अवस्था खराब हुनलाग्यो । कम उमेरमै उनीहरूको मृत्यु हुनलाग्यो । समाजमा रोग र गरीबी फैलिन लागे । काम गर्ने परिस्थिति पनि धेरै खराब हुन्थ्यो । कारखानमा उज्यालो, हावा र सुरक्षाको समेत व्यवस्थापन हुँदैनथ्यो । यो एकप्रकारको खुल्ला लुट थियो । यो मानवीय शरीर र जीवनको मूल्यमा मुनाफाको लोलुपता थियो ।
मार्क्सले आफ्नो ग्रन्थमा इङ्ल्याण्डका कारखाना परीक्षणको रिपोर्टबाट यस्ता अनगिन्ती हृदयविदारक उदाहरण दिएका छन् । त्यहाँ साना-साना बच्चाहरूलाई रातभरी काम गराइन्थ्यो । मजदूर काम गर्दागर्दै बेहोस हुन्थे । उनीहरूको जिन्दगी यन्त्रका चक्कामा पिसिइरहेका थिए । यो सबै काम पूँजीपतिहरूको मुनाफा बढाउन र उनीहरूले बढीभन्दा बढी निरपेक्ष अतिरिक्त मूल्य शोषण गर्न सकून् भनेर हुन्थ्यो ।
अब प्रश्न के उठ्छ भने यो प्रक्रिया कुनै रोकटोकबिना नै चलिरहन सक्थ्यो त ? मानिस थकानबिना आराम नगरीकन लगातार काम गर्ने यन्त्र हुन्छन् त ? यस्तो कदापि हुँदैन । मानिसको शारीरिक र मानसिक सीमा हुन्छ । यदि कार्य-दिवस एक हदसम्म बढाइयो भने मजदूर बिरामी हुन्छ; उसको कार्य-क्षमता घट्नेछ र सम्भवतः ऊ छिट्टै मर्न पनि सक्छ । यसबाट पूँजीपतिलाई नै नोक्सान हुन्छ । किनकि उसले नयाँ मजदूर खोज्नुपर्ने हुन्छ । उसलाई तालिम दिनुपर्ने हुन्छ । यसको अतिरिक्त शोषण चरम सीमामा पुग्दा मजदूरले पनि यसको विरोध गर्न शुरु गर्छन् । उनीहरू सङ्गठित हुन शुरु गर्छन् । हड्ताल गर्न शुरु गर्छन् । कामका घण्टा कम गरियोस् र काम गर्ने परिस्थिति सुधारियोस् भनेर आवाज उठाउन शुरु गर्छन् ।
एकातिर पूँजीपतिको लालसा कार्य-दिवसलाई धेरैभन्दा धेरै लम्ब्याउने थियो र अर्कोतिर मजदूरको संघर्ष त्यसलाई छोट्याउनको लागि वा कम्तीमा मानवीय स्तरमा ल्याउने थियो ।
यो एउटा लामो र कठिन संघर्ष थियो, जुन धेरै दशकसम्म चल्यो । मजदूरहरूले आफ्नो ज्यान गुमाए, दमन बेहोरे, जेल गए । तर उनीहरूले हार मानेनन् । विस्तारै-विस्तारै सरकारले पनि मजदूरहरूको स्वास्थ्य तथा कार्यावस्थामा ध्यान नदिने हो भने देशको उत्पादकतामा असर पर्नेछ भन्ने कुरा बुझ्न लागे । त्यसकारण कानूनी रूपमा पनि कार्य-दिवसको एउटा माथिल्लो सीमा तय गर्ने आवश्यकता महसुस भयो ।
एकातिर पूँजीपतिको लालसा कार्य-दिवसलाई धेरैभन्दा धेरै लम्ब्याउने थियो र अर्कोतिर मजदूरको संघर्ष त्यसलाई छोट्याउनको लागि वा कम्तीमा मानवीय स्तरमा ल्याउने थियो । यो एकप्रकारको रस्साकस्सी थियो । यो कार्य-दिवसको लम्बाईलाई लिएर लडिरहिएको एक वर्गसंघर्ष थियो ।
मार्क्सका अनुसार कार्य-दिवसको लम्बाई कुनै प्राकृतिक वा नैतिक नियमबाट निर्धारित हुँदैन, बरु यो दुई विरोधी वर्गको शक्तिको सन्तुलनबाट निर्धारित हुन्छ । पूँजीपति बढी शक्तिशाली हुँदै जाँदा उनीहरू कार्य-दिवसलाई लम्ब्याउनमा सफल हुन्छन् । मजदूर सङ्गठित र शक्तिशाली हुँदै गएपछि उनीहरू यसलाई कम गराउनमा सफल हुन्छन् । आजको कार्य-दिवस पनि मजदूरहरूको लामो र बलिदानीपूर्ण संघर्षको उपज हो । यसलाई कहिल्यै भुल्नुहुँदैन ।
यसो हुँदा निरपेक्ष अतिरिक्त मूल्यको उत्पादन कार्य-दिवसलाई लम्ब्याएर नै गरिन्छ । तर यहाँ एउटा अर्को कुरा बुझ्नुपर्ने हुन्छ । पूँजीपतिले केवल कार्य-दिवसलाई मात्र लम्ब्याउँदैन, बरु ऊ मजदूरले त्यो लामो कार्य-दिवसमा एक क्षण पनि बर्बाद नगरोस् भन्ने प्रयास गर्छ । कामको गतिलाई तीव्र बनाइन्छ । मजदूरहरूमाथि कडा निगरानी राखिन्छ । बीचमा आराम गर्ने समय कम बनाइन्छ । यसको उद्देश्य मजदूरले आफ्नो कामको हरेक क्षणमा बढीभन्दा बढी श्रम गरून् भन्ने हुन्छ । यसलाई श्रमको गहनता बढाउने कार्य भनिन्छ ।
यदि कामका घण्टा उति नै रहन्छन् तर मजदूरबाट त्यही समयमा दुईगुना काम गराइन्छ भने यो पनि एकप्रकारको निरपेक्ष अतिरिक्त मूल्य बढाउने जस्तै कार्य हुन्छ । किनकि मजदूरले अब त्यही समयमा बढी मूल्य पैदा गरिरहेको हुन्छ । जबकि उसको ज्याला सम्भवतः उति नै हुन्छ । त्यसो हुँदा पूँजीको लालच केवल समयलाई मात्र होइन, बरु समयको हरेक इकाईमा श्रमको मात्रालाई बढाउने पनि हुन्छ । यो कहिल्यै शान्त नहुने भोक हो । पूँजीपतिले सधैं मजदूरबाट कसरी बढीभन्दा बढी काम लिने र कसरी उनीहरूबाट बढीभन्दा बढी अतिरिक्त मूल्य निचोर्ने भनेर नयाँ-नयाँ तरीका खोजिरहन्छ । पूँजीवादी व्यवस्था रहुन्जेलसम्म मजदूरहरूबाट बढीभन्दा बढी काम लिने प्रयास निरन्तर जारी रहन्छ । यो कार्य कामको घण्टा बढाएर, कामको गति बढाएर वा बिदा कम गरेर पनि हुनसक्छ । यो पूँजीको स्वभाव नै हो ।
सापेक्ष अतिरिक्त मूल्यको उत्पादन - प्रविधिको प्रयोगसँगै मुनाफा वृद्धि
मार्क्सका अनुसार अतिरिक्त मूल्य बढाउने दोस्रो र शायद बढी खराब एवम् स्थायी तरीका हुन्छ, जसलाई सापेक्ष अतिरिक्त मूल्य भनिन्छ । यसलाई राम्रोसँग बुझ्नु आवश्यक हुन्छ, किनकि यो पूँजीपतिको मुनाफाको खेलको सबभन्दा ठूलो खेलाडी हो । अब यहाँ हामीले सापेक्ष अतिरिक्त मूल्य के हो र यो कसरी पैदा हुन्छ भन्ने कुरा बुझ्नुपर्छ । कार्य-दिवसलाई दुई भागमा बाँडिएको कुरा हामीले पहिले नै थाहा पाइसकेका छौं । आवश्यक श्रम-समयमा मजदूरले आफ्नो ज्याला बराबर मूल्य पैदा गर्छ र अतिरिक्त श्रम-समयमा उसले पूँजीपतिको लागि अतिरिक्त मूल्य पैदा गर्छ । निरपेक्ष अतिरिक्त मूल्यमा कुल कार्य-दिवसलाई लम्ब्याएर अतिरिक्त श्रम-समयलाई बढाइन्थ्यो । तर सापेक्ष अतिरिक्त मूल्यमा सम्भवतः कार्य-दिवसलाई उति नै राखिन्छ वा सम्भवतः केही गरिन्छ । तर यहाँ आवश्यक श्रम-समयलाई कम गर्ने प्रयास गरिन्छ ।
यदि कुनै कुल कार्य दिवस आठ घण्टाको छ र त्यसमध्ये आवश्यक श्रम-समयलाई कुनै तरीकाले चार घण्टाबाट घटाएर तीन घण्टा बनाइयो भने कुल कार्य-दिवस नबढाइकन अतिरिक्त श्रम-समय स्वतः बढेर पाँच घण्टा हुनेछ । र, यदि अतिरिक्त श्रम-समय बढ्यो भने अतिरिक्त मूल्य पनि बढ्नेछ । यही नै सापेक्ष अतिरिक्त मूल्यको रहस्य हो । यो एकप्रकारले अतिरिक्त मूल्य श्रम-समय बढाउने अप्रत्यक्ष तरीका हो । सम्भवतः मजदूरलाई यसको बारेमा थाहा नै हुँदैन र पूँजीपतिको मुनाफा बढ्नेछ । तर यो आवश्यक श्रम-समय कसरी कम गर्न सकिन्छ भन्ने प्रश्न महत्त्वपूर्ण हुन्छ ।
सापेक्ष अतिरिक्त मूल्य उत्पन्न गर्ने रहस्य मजदूर वर्गले उपभोग गर्ने वस्तुहरूलाई सस्तो बनाउनु हो । यी वस्तुहरू उत्पादकता बढाएपछि सस्ता हुन्छन् ।
आवश्यक श्रम-समय भनेको मजदूरले आफ्नो ज्याला बराबर मूल्य पैदा गर्ने कुरा हो । ज्याला ती चीजहरूको मूल्यमा निर्भर हुन्छ, जुन मजदूरलाई जीवित रहन र काम गर्नलायक बनाइराख्न आवश्यक हुन्छ; जस्तो कि, खाना, बास, कपडा, शिक्षा, स्वास्थ्य र केही मनोरन्जन पनि । यदि यी आवश्यक चीजहरूको मूल्य कम भयो भने मजदूरको ज्याला पनि कम गर्न सकिन्छ वा उति नै राखिन्छ, जबकि बाँकी मूल्य बढीरहेको हुन्छ । र, यदि ज्याला कम भयो भने मजदूरको आफ्नो ज्याला बराबर मूल्य पैदा गर्नमा कम समय लाग्नेछ । अर्थात् आवश्यक श्रम-समय कम हुनेछ । आवश्यक श्रम-समय कम भएपछि अतिरिक्त श्रम-समय स्वतः बढ्नेछ यदि कुल कार्य-दिवस उति नै रह्य भने ।
सापेक्ष अतिरिक्त मूल्य उत्पन्न गर्ने रहस्य मजदूर वर्गले उपभोग गर्ने वस्तुहरूलाई सस्तो बनाउनु हो । यी वस्तुहरू उत्पादकता बढाएपछि सस्ता हुन्छन् । कुनै चीज बनाउनमा कम समय र कम लागत लागेपछि त्यो चीज सस्तो हुन्छ । त्यसकारण पूँजीपति सधैं उत्पादकता बढाउने तरीकाहरूको खोजमा रहन्छन् । उनीहरू नयाँ-नयाँ यन्त्र ल्याउँछन् । उत्पादनका नयाँ-नयाँ तरीका आविष्कार गर्छन् । कामलाई अझ उत्कृष्ट ढङ्गले सङ्गठित गर्दछन् । यी सबै काम चीजहरू धेरै तीव्र रूपमा र बढी सस्तोमा बन्न सकून् भनेर गरिन्छ । चीजहरू सस्ता भएपछि मजदूरहरूको जीवन-निर्वाह लागत कम हुन्छ । यसपछि उनीहरूको ज्याला घटाइन्छ वा बढ्नबाट रोकिन्छ । यसरी आवश्यक श्रम-समयलाई घटाएर सापेक्ष अतिरिक्त मूल्य बढाउन सकिन्छ । यो एक धेरै नै चलाखीपूर्ण चाल हो ।
यहाँ पूँजीपतिले प्रत्यक्ष रूपमा मजदूरको कामको घण्टा बढाइरहेको हुँदैन, बरु उसले पर्दा पछाडिबाट प्रविधि र सङ्गठनको सहायताबाट आफ्नो मुनाफा बढाइरहेको हुन्छ । यसमा समाजलाई पनि प्रगति भइरहेको छ, नयाँ-नयाँ चीजहरू आइरहेका छन्, सबै कुरा सस्तो भइरहेको छ जस्तो लाग्छ । तर यो प्रगतिको मूल्य कसले भुक्तान गरिरहेको छ भन्ने प्रश्न अनुत्तरित रहन्छ ।
मार्क्सका अनुसार उत्पादकता बढाउने धेरै तरीका छन्, जसको प्रयोग पूँजीपतिले सापेक्ष अतिरिक्त मूल्य उत्पन्न गर्नको लागि गर्छन् । यिनीहरूमध्ये केही प्रमुख सहकारी, श्रम-विभाजन र यन्त्रहरूको प्रयोग हो । सहकारीको अर्थ धेरै मजदूरले एकसाथ मिलेर एकै ठाउँमा एकै योजना अन्तर्गत काम गर्नु हो । यसबाट बढी सङ्गठित तरीकाले काम हुन्छ । समय बचत हुन्छ र औजार तथा कच्चा पदार्थको राम्रोसँग उपयोग हुन्छ । एक्लैले गर्ननसक्ने काम अब धेरै मजदूर मिलेर सजिलैसँग गर्दछन् । यसबाट उत्पादकतामा वृद्धि हुन्छ ।
यसपछि श्रम-विभाजन आउँछ । यसमा एउटा ठूलो कामलाई साना-साना हिस्सामा बाँडिन्छ र हरेक मजदूरले केवल एउटै सानो काम पटक-पटक गर्छ । जस्तो कि एउटा कपडा बनाउने कारखानामा फरक-फरक मान्छेले कपडाका फरक-फरक हिस्सा बनाउँछन् । एकै मजदूरले एउटै कामलाई पटक-पटक गर्दा ऊ त्यसमा अब्बल हुन्छ । उसको गति बढ्छ र यसमा समय पनि कम लाग्छ । यसबाट पनि उत्पादकतामा भारी बढोत्तरी हुन्छ । श्रम-विभाजनको एक नकारात्मक पक्ष पनि छ । यसले मजदूरलाई एकै प्रकारको काम पटक-पटक गराएर यन्त्र जस्तै बनाइदिन्छ । मजदूरको रचनात्मकता खत्तम हुन्छ र ऊ आफ्नो कामबाट उदास हुन्छ । तर पूँजीपतिलाई यसको कुनै मतलब हुँदैन । उसलाई आफ्नो उत्पादकता र मुनाफासँग मतलब हुन्छ ।
मेशिनले एक मिनेटमा गर्ने काम सम्भवतः धेरै मजदूरले घण्टौंमा मात्र पूरा गर्न सक्छन् । यन्त्रले थकानबिना र रोकावटबिना एकै गुणस्तरीयताको काम लगातार गर्न सक्छ । त्यसकारण पूँजीपति सधैं नयाँ र उत्कृष्ट यन्त्रमा लगानी गर्न तयार हुन्छन् ।
यसपछि यन्त्रको प्रयोग आउँछ । यो उत्पादकता बढाउने सबभन्दा शक्तिशाली हतियार हो । यन्त्रले मानवीय श्रमको स्थान लिन सक्छ वा उसको क्षमतालई धेरैगुना बढाउन सक्छ । मेशिनले एक मिनेटमा गर्ने काम सम्भवतः धेरै मजदूरले घण्टौंमा मात्र पूरा गर्न सक्छन् । यन्त्रले थकानबिना र रोकावटबिना एकै गुणस्तरीयताको काम लगातार गर्न सक्छ । त्यसकारण पूँजीपति सधैं नयाँ र उत्कृष्ट यन्त्रमा लगानी गर्न तयार हुन्छन् । यन्त्रले उत्पादनलाई तीव्र र सस्तो बनाउने मात्र नभएर यसले मजदूरमाथि पूँजीपतिको नियन्त्रण पनि बढाउँछ । यन्त्रको गतिमा मजदूरले काम गर्नुपर्ने हुन्छ र यदि उनीहरूले आनाकानी गरे भने तिनीहरूलाई हटाएर अरुलाई राखिन्छ वा यन्त्रबाट नै काम लिइन्छ ।
यसरी यन्त्रले सापेक्ष मूल्य उत्पन्न गर्नमा एक महत्त्वपूर्ण भूमिका निभाउँछन् । तिनीहरूले आवश्यक श्रम-समयलाई धेरै तीव्र रूपमा कम गर्न सक्छन् । यसरी अतिरिक्त श्रम-समयलाई अति धेरै बढाउन सक्छन् । तर यन्त्र मजदूरहरूको लागि सधैं फाइदाजनक हुँदैन । सतही रूपमा त यन्त्रले कामलाई सहज बनाउँछ, मेहनत कम लाग्छ भन्ने देखिन्छ । तर यसको दोस्रो पक्ष पनि छ । यन्त्रले प्रायः मजदूरहरूको ठाउँ लिन्छ, जसबाट बेरोजगारी बढ्छ । जो मजदूर काममा लागिरहन्छन्, उनीहरूले पनि यन्त्रको तीव्र गतिसँगै तालमेल गर्नुपर्ने हुन्छ । यसबाट कामको बोझ र तनाव बढ्छ । यन्त्रले प्रायः मजदूरको सीपलाई पनि कम गरिदिन्छ । पहिले एउटा कुशल शिल्पकारले गर्ने काम अब एक असल मजदूरले पनि यन्त्रको सहयोगबाट गर्नसक्छ । यसबाट मजदूरको सौदाबाजी गर्ने शक्ति कम हुन्छ र उनीहरूको ज्याला पनि कम हुनसक्छ । यन्त्र मानवीय बुद्धि र रचनात्मकताको प्रतीक हुनुपर्नेमा तिनीहरू पूँजीवादी व्यवस्थामा प्रायः शोषण र मजदूरहरूको उदासीनताका औजार बन्छन् । यो एउटा धेरै ठूलो अन्तर्विरोध हो ।
यसरी सापेक्ष अतिरिक्त मूल्यको उत्पादन एक निरन्तर चल्ने प्रक्रिया हो । पूँजीपति सधैं कसरी उत्पादकतालाई अझ बढाउने, कसरी चीजहरूलाई अझ सस्तो बनाउने भन्ने प्रयासमा लागिरहन्छन्, ताकि आवश्यक श्रम-समयलाई कम गरी अझ बढी मुनाफा बढाउन सकियोस् । यो एउटा यस्तो दौड हो, जसमा हरेक पूँजीपति अर्कोभन्दा अगाडि जाने प्रयास गर्छ । नयाँ प्रविधि अपनाउने पूँजीपतिले अरूलाई सस्तो माल बेचेर बढी मुनाफा कमाउँछ । बाँकी पूँजीपतिहरूले पनि बाध्यतावश उही प्रविधि अपनाउनुपर्छ । नत्र उनीहरू बजारबाट बहिरिन्छन् । यसप्रकार सम्पूर्ण पूँजीवादी व्यवस्थामा उत्पादकता लगातार बढिरहन्छ । तर यसको फाइदा कहिल्यै साधारण मानिससम्म पुग्दैन । यसबाट मजदूरहरूको जिन्दगी राम्रो हुँदैन ।
मार्क्सका अनुसार उत्पादकता वृद्धिको वास्तविक फाइदा पूँजीपति वर्गलाई नै प्राप्त हुन्छ । यो उनीहरूलाई अतिरिक्त मूल्यको रूपमा प्राप्त हुन्छ । मजदूरलाई केही सस्ता चीजहरू प्राप्त भए पनि उनीहरूको शोषणको तरीका बदलिनेछ तर शोषणको अन्त्य हुँदैन । पहिले उनीहरूले लामो समयसम्म काम गर्नुपर्दथ्यो, जसबाट पूँजीपतिले निरपेक्ष अतिरिक्त मूल्य लिन्थे । अब उनीहरूले कम समयमा बढी गहनतापूर्वक काम गर्नुपर्छ र प्रविधिको दबावमा रहनुपर्छ । यसबाट पूँझीपतिले सापेक्ष अतिरिक्त मूल्य लिन्छन् ।
ज्याला - श्रम-शक्तिको मूल्य
वस्तु, पैसाको पूँजीमा रूपान्तरण, निरपेक्ष र सापेक्ष अतिरिक्त मूल्य जस्ता सबै चर्चाको केन्द्रमा मजदूर र उनीहरूको श्रम-शक्ति रहेको हुन्छ । मजदूर र उनीहरूको श्रम-शक्तिको कुरा गर्दा ज्याला वा तलब तुरुन्तै अगाडि आउँछ । यसको बारेमा सबै जानकार छन् । धेरै मानिस या त ज्यालामा काम गर्छन् या कुनै न कुनै रूपमा यससँग जोडिएका हुन्छन् । ज्यालालाई कामको बदलामा प्राप्त हुने मूल्य मानिन्छ । यदि कसैले आठ घण्टा काम गर्यो भने उसलाई आठ घण्टाको ज्याला प्राप्त हन्छ । यो धेरै सीधासादा हिसाब प्रतीत हुन्छ । तर यो त्यति सीधा छ त ? ज्याला वास्तवमै मजदूरको श्रमको मूल्य हो त ? अथवा यो पनि पूँजीवादी व्यवस्थाको शोषणको सच्चाईलाई लुकाउने पर्दा हो ?
मार्क्सका अनुसार सबभन्दा महत्त्वपूर्ण कुरा ज्याला श्रमको मूल्य होइन, बरु श्रम-शक्तिको मूल्य हो । मजदूरले आफ्नो कामको पैसा प्राप्त भयो भनिरहँदा काम गरेजति पैसा प्राप्त भएको ठान्छन् । तर मजदूरले आफ्नो श्रम बेच्दैन, बरु उसले आफ्नो श्रम-शक्ति अर्थात् आफ्नो काम गर्ने क्षमतालाई एक निश्चित समयको लागि पूँजीपतिलाई बेच्छ । किनकि मजदूरले यदि आफ्नो श्रम बेच्यो भने उसलाई आफ्नो श्रमद्वारा उत्पन्न गरिएको सम्पूर्ण मूल्यको अधिकार हुन्छ । तर यस्तो कदापि हुँदैन । मजदूरले आवश्यक श्रम-समयमा त आफ्नो ज्याला बराबरको मूल्य पैदा गर्छ तर अतिरिक्म श्रम-समयमा उसले जुन अतिरिक्त मूल्य पैदा गर्छ, त्यो पूँजीपतिले लान्छ ।
यसरी ज्याला वास्तवमा त्यो श्रम-शक्ति किन्ने मूल्य हो, जसलाई पूँजीपतिले प्रयोग गरेर अतिरिक्त मूल्य पैदा गर्नेछ । यो कुनै यन्त्र भाडामा लिने कार्य जस्तै हो । भाडा यन्त्रको मूल्य होइन, बरु एक निश्चित समयसम्म त्यसको प्रयोगको मूल्य हुन्छ । यसो हुँदा यो श्रम-शक्तिको मूल्य अर्थात् ज्याला कसरी निर्धारण हुन्छ त ?
कुनै पनि अन्य वस्तु जस्तै श्रम-शक्तिको मूल्य पनि ती वस्तु र सेवाको कूल मूल्यबाट निर्धारित हुन्छ । त्यो एउटा मजदूरलाई जीवित रहन, काम गर्नलायक बनिरहन र आफ्नो परिवारको भरणपोपषण गर्नको लागि आवश्यक हुन्छ, ताकि उसले भोलि पुनः आफ्नो श्रम-शक्ति बेच्न सकोस् र मजदूर वर्गको अर्को पुस्ता पनि तयार हुनसकोस् । यसमा खाना, घर, कपडा, शिक्षा, स्वास्थ्य र केही मनोन्जनसमेत पर्छ, जुन समाजको विकासको स्तर र मजदूरहरूको सङ्घर्षमा निर्भर हुन्छ । यसलाई जीवन-निर्वाह लागत पनि भनिन्छ ।
यसरी ज्यालाको स्तर सामान्यतः यही जीवन-निर्वाह लागतको वरिपरि घुमिरहन्छ । यदि ज्याला योभन्दा धेरै कम भयो भने मजदूर जीवित रहन सक्दैनन् वा काम गर्न सक्दैनन् । यसबाट पूँजीपतिलाई नै श्रम-शक्ति प्राप्त हुँदैन । यदि ज्याला योभन्दा धेरै भयो भने पूँजीपतिको मुनाफा कम हुनेछ, जुन उसले कहिल्यै चाहँदैन ।
यसप्रकार ज्यालाको यो स्तरले एकप्रकारले पूँजी र श्रमको बीचमा शक्ति सन्तुलनलाई पनि देखाउँछ । जब मजदूर सङ्गठित हुन्छन् र उनीहरूको माग बढी हुन्छ, तब ज्याला केही बढ्न सक्छ । जब बेरोजगारी बढ्छ र मजदूरको सौदाबाजी गर्ने शक्ति कम हुन्छ, तब ज्याला घट्न पनि सक्छ वा स्थिर रहनसक्छ । तर ज्यालाबाट हुने सबभन्दा ठूलो धोका के हो भने यसले मजदूरको एउटा हिस्सा बिना भुक्तानको श्रम हुन्छ भन्ने कुरा लुकाउँछ । मजदूरले महिनाको अन्तमा ज्याला प्राप्त गर्दा उसले पूरै महिनाको कामको पैसा प्राप्त गरेको ठान्छ । मजदूरले पैदा गरेको कूल मूल्यमध्ये एउटा ठूलो हिस्सा पूँजीपतिले अतिरिक्त मूल्यको रूपमा राखेको हुन्छ र मजदूरलाई केवल श्रम-शक्तिलाई कायम राख्न आवश्यक मात्र प्राप्त भएको हुन्छ । तर यो कुरा मजदूरलाई कहिल्यै थाहा हुँदैन ।
ज्यालाको रूप पूँजीवादी शोषणलाई ढाक्ने सबभन्दा प्रभावकारी तरीका हो । यसले मजदूरलाई सबै कुरा ठीकठाक छ, लेनदेन बराबर छ, कसैले कसैको हक खोसीरहेको छैन भन्ने विश्वास दिलाउँछ ।
ज्याला काम गर्ने क्षमता नभएर कामको भुक्तान हो भन्ने ज्यालाको रूप पूँजीवादी शोषणलाई ढाक्ने सबभन्दा प्रभावकारी तरीका हो । यसले मजदूरलाई सबै कुरा ठीकठाक छ, लेनदेन बराबर छ, कसैले कसैको हक खोसीरहेको छैन भन्ने विश्वास दिलाउँछ । यदि मजदूरले आफ्नो कामको एक हिस्साको लागि निःशुल्क खटिरहेको कुरा पत्ता लगाए भने सम्भवतः उनीहरूले यो व्यवस्थामाथि प्रश्न उठाउन लाग्नेछन् । त्यसकारण ज्यालाको यो भ्रम पूँजीवादी व्यवस्थाको लागि धेरै आवश्यक हुन्छ ।
मार्क्सले ज्यालाका दुई मुख्य रूपहरूको पनि व्याख्या गरेका छन्, जसमा समय-ज्याला र टुक्रा-ज्याला पर्दछ । समय-ज्यालामा मजदूरलाई घण्टा, दिन, हप्ता वा महिनाको जस्तो एक निश्चित समयको हिसाबले भुक्तान गरिन्छ, जस्तो कि १२० रूपैयाँ प्रतिघण्टा वा २० हजार प्रतिमहिना । यो ज्याला दिने सबभन्दा सामान्य तरीका हो । यसमा पूँजीपतिलाई के फाइदा हुन्छ भने ऊ मजदूरसँग त्यो निश्चित समयमा बढीभन्दा बढी काम लिने प्रयास गर्छ । यदि मजदूरले ढिलो काम गर्यो वा बीचमा सुस्तायो भने पनि उसलाई समयको हिसाबले त पैसा दिनै पर्छ । यद्यपि पूँजीपतिले उसलाई निकाल्न पनि सक्छ । त्यसकारण पूँजीपति कामको गतिलाई तीव्र बनाउने र निगरानी राख्ने कुरामा जोड दिन्छ ।
अर्कोतिर टुक्रा-ज्यालमा मजदूरलाई उनीहरूद्वारा बनाइएको हरेक इकाईको हिसाबले भुक्तान गरिन्छ; जस्तो कि एउटा जुत्ता बनाउँदा ४० रुपैयाँ वा १२० वटा खेलौना बनाउँदा १२०० रूपैयाँ । यो तरीका पूँजीपतिको लागि अझ बढी फाइदाजनक हुन्छ । यसमा मजदूर स्वयंले बढीभन्दा इकाई बनाउने प्रयास गर्छ, ताकि उसको कमाई वृद्धि हुनसकोस् । यसबाट पूँजीपतिलाई बढी निगरानी राख्ने आवश्यकता पर्दैन । मजदूर स्वयं आफ्नो 'सुपरभाइजर' बन्छ । यसबाट पूँजीपतिलाई के कुरा पनि सुनिश्चित हुन्छ भने उसले वास्तवमा भइरहेको कामलाई मात्र पैसा दिनुपरिरहेको छ । टुक्रा-ज्यालाले प्रायः मजदूरहरूको बीचमा कठोर या निर्दयी प्रतिस्पर्धालाई पनि जन्म दिन्छ । उनीहरू आफ्नो स्वास्थ्यलाई पनि ध्यान नदिइकन बढीभन्दा बढी काम गर्नको लागि बाध्य हुन्छन् । यो श्रमको गहनतालाई बढाउने एउटा धेरै प्रभावकारी तरीका हो ।
सतही रूपमा हेर्दा टुक्रा-ज्याला बढी न्यायपूर्ण देखिन्छ, किनकि जसले जति काम गर्छ, उसलाई त्यति नै पैसा प्राप्त हुनेछ । तर मार्क्सका अनुसार यो पनि केही लुकेको शोषणकै एउटा रूप हो । किनकि हरेक इकाईको दर पनि मजदूरले एक दिनमा कम्तीमा आफ्नो जीवन-निर्वाह ज्याला त अवश्यक कमाउनेछ भन्ने कुराकै आधारमा निर्धारित गरिएको हुन्छ । मजदूरले बढी टुक्रा बनाएर आफ्नो कमाई बढाउन लाग्दा पूँजीपतिले प्रायः टुक्राको दरलाई नै कम बनाइदिन्छ, ताकि मजदूरलाई उति नै कमाईको लागि अझ बढी मेहनत गर्नुपरोस् ।
यसकारण समय-ज्याला होस् वा टुक्रा-ज्याला दुवै रूपमा ज्यालाको वास्तविक काम अतिरिक्त मूल्यको शोषणलाई लुकाउनु र त्यसलाई जारी राख्नु नै हुन्छ । यसो हुँदा ज्याला मजदूरको मेहनतको सही मूल्य होइन । यो मजदूरको श्रम-शक्तिको मूल्य हो र त्यो पनि मजदूर जीवित रहेर पूँजीपतिको लागि अतिरिक्त मूल्य पैदा गरिरहनको लागि मात्र । यो एउटा यस्तो सौदा हो, जुन सतही रूपमा त स्वतन्त्र र बराबर जस्तै देखिन्छ, किनकि मजदूरले आफ्नो मर्जीले आफ्नो श्रम-शक्ति बेच्छन् र पूँजपतिले त्यसलाई किन्छन् । तर वास्तवमा यो एक असमान सौदा हो, किनकि मजदूरसँग आफ्नो श्रम-शक्ति बेच्नुको अतिरिक्त अरु कुनै उपाय हुँदैन ।
पूँजीपतिले यही बाध्यताको फाइदा उठाएर मजदूरबाट अतिरिक्त श्रम गराउँछ । यो कुरा राम्रोसँग बुझ्नु आवश्यक हुन्छ । यो कुरा बुझेपछि मात्र ज्यालाको वास्तविक खेल के हो भन्ने कुरा बुझ्न सकिन्छ र आफ्नो अधिकारप्रति बढी सचेत हुन सकिन्छ । यसबाट धनी किन अझ धेरै धनी हुँदै गएका छन् र गरीब अझ गरीब भन्ने कुरा बुझ्न सकिन्छ । अतिरिक्त मूल्यको सम्पूर्ण प्रवाह पूँजीपतितिर हुन्छ र मजदूरलाई केवल त्यति मात्र प्राप्त हुन्छ, जसबाट ऊ यन्त्र जसरी नै चलिरहोस् । यो एउटा कठोर वास्तविकता हो । तर एक उत्कृष्ट र न्यायपूर्ण संसार बनाउनेतिर सोच्नको लागि यो कुरा जान्नैपर्ने हुन्छ ।
पूँजीको सञ्चय - पूँजीको अन्तहीन वृद्धि
अब पूँजीपतिको हातमा जाने अतिरिक्त मूल्यको स्थिति के हुन्छ भन्ने एउटा ठूलो प्रश्न अगाडि आउँछ । पूँजीपतिले यसलाई ऐश-आराममा खर्च गरिदिन्छ वा यसको अरु बढी गहिरो उद्देश्य हुन्छ ? मार्क्सका अनुसार पूँजीपतिले आफ्नो अतिरिक्त मूल्यको एउटा हिस्सा त आफ्नो व्यक्तिगत उपभोगमा खर्च गर्न सक्छ तर त्यसको एउटा ठूलो हिस्सा उसले पुनः पूँजीमा बदलिदिन्छ । अर्थात् अझ बढी अतिरिक्त मूल्य कमाउन सकियोस् भनेर त्यसलाई पुनः लगानी गरिदिन्छ । यही प्रक्रियालाई पूँजीको सञ्चय भनिन्छ ।
यहाँ 'मुद्रा-वस्तु-मुद्रा' को चक्र नयाँ स्तरमा पुग्छ । पैसासँगै प्राप्त भएको अतिरिक्त मूल्य अब अझ ठूलो पूँजी बन्छ । त्यसमा अझ बढी वस्तु, कच्चा वस्तु, यन्त्र र श्रम-शक्ति खरिद गरिन्छ, ताकि अझ बढी अतिरिक्त मूल्यसँगै अझ बढी पैसा हासिल गर्न सकियोस् । यो अन्तहीन सिलसिला हो । यो लगातार माथितिर बढ्दै जाने बक्र हो । यसले पूँजीलाई अझ बढी विशाल बनाउँदै जान्छ ।
चाहेर वा नचाहेर हरेक पूँजीपतिले आफ्नो पूँजी लगातार बढाइरहनुपर्ने हुन्छ । यो एउटा यस्तो दौड हो, जसमा रोकिनुको अर्थ खत्तम हुनु हुन्छ ।
मार्क्सका अनुसार पूँजीपतिको पहिलो र सबभन्दा ठूलो आज्ञा पूँजीलाई जम्मा गर्दै जानु र त्यसलाई बढाउँदै जानु हो । यो उसको व्यक्तिगत इच्छा वा लालचको मामिला होइन, बरु यो पूँजीवादी व्यवस्थाको एक आन्तरिक विवशता हो । यदि कुनै पूँजीपतिले आफ्नो पूँजीको सञ्चय गरेन र त्यसलाई पुनः लगानी गरेर पूँजी वृद्धि गरेन भने ऊ बजारको प्रतिस्पर्धामा पिछडिनेछ । अन्य पूँजीपतिले आधुनिक यन्त्र जडान गर्नेछन्, बढी बउत्पादन गर्नेछन्, बढी सस्तोमा चीजहरूलाई बेच्नेछन् । त्यसकारण चाहेर वा नचाहेर हरेक पूँजीपतिले आफ्नो पूँजी लगातार बढाइरहनुपर्ने हुन्छ । यो एउटा यस्तो दौड हो, जसमा रोकिनुको अर्थ खत्तम हुनु हुन्छ ।
अब यो सञ्चय कसरी हुन्छ त ? मजदूरहरूलाई भुक्तान नगरिएको श्रमबाट आउने अतिरिक्त मूल्य नै सञ्चयको स्रोत हो । यही अतिरिक्त मूल्यलाई दुई भागमा बाँडिन्छ । एउटा हिस्सा पूँजीपतिको व्यक्तिगत उपयोगको लागि हुन्छ, जसलाई ऊ आफ्नो शान, ऐशआराम, आदिमा खर्च गर्छ । अर्को धेरै ठूलो हिस्सा पुनः पूँजीमा लगानी गर्नको लागि हुन्छ । यो लगानी पनि दुई प्रकारको पूँजीमा हुन्छ; स्थिर पूँजी र परिवर्तनशील पूँजी ।
स्थिर पूँजीमा यन्त्र, औजार, कच्चा वस्तु, भवन, आदि आउँछन् । अर्थात् उत्पादनका ती साधनले आफ्नो मूल्य विस्तारै उत्पादनमा रूपान्तरण गर्दछन् । तर नयाँ मूल्यको सिर्जना गर्दैनन् । परिवर्तनशील पूँजी भनेको श्रम-शक्ति किन्नमा खर्च हुने पूँजी हो । यही पूँजीले नै उत्पादन प्रक्रियामा नयाँ मूल्य र अतिरिक्त मूल्यको सिर्जना गर्छ ।
पूँजीपतिले अतिरिक्त मूल्यलाई पुनः लगानी गर्दा उसले अझ बढी यन्त्रहरू किन्छ, बढी कच्चा पदार्थ किन्छ र यसको साथै अझ बढी मजदूरहरूलाई काममा राख्छ वा तिनै मजदूरहरूबाट बढी काम लिन्छ । यसरी उत्पादनको परिमाण बढ्दै जान्छ । र, अर्को पटक अझ बढी अतिरिक्त मूल्य पैदा हुन्छ, जसलाई पुनः सञ्चित गरिन्छ । यो प्रक्रिया लगातार संचालित भइरहन्छ । र, पूँजी एउटा सानो बीजबाट बढेर एक विशाल रूख बन्छ । त्यसका हाँगाहरू सम्पूर्ण अर्थ-व्यवस्थामा फैलिन्छन् ।
पूँजीको यो सञ्चयको समाजमा र विशेषगरी मजदूर वर्गमा कस्तो परिणाम हुन्छ भन्ने कुरा जान्नु धेरै आवश्यक हुन्छ । पूँजीको सञ्चय भएपछि उत्पादनका साधनहरूको माग वृद्धि हुन्छ; धेरै यन्त्र र धेरै कच्चा पदार्थको माग बढ्छ । यसको साथै श्रम-शक्तिको माग पनि बढ्छ । किनकि यी यन्त्रहरूलाई सञ्चालन गर्नको लागि र कच्चा पदार्थलाई प्रक्रियामा ढाल्नको लागि मजदूरहरूको आवश्यकता हुन्छ । श्रम-शक्तिको माग बढेपछि पनि मजदूरहरूको अवस्था केही सुध्रिएजस्तो हुन्छ र उनीहरूको केही ज्याला बढेजस्तो हुन्छ । यदि बजारमा मजदूरहरूको कमी भयो र पूँजीपतिहरूले मजदूर पाइरहेका छैनन् भने उनीहरू मजदूरहरूलाई आकर्षित गर्नको लागि ज्याला बढाउन विवश हुनसक्छन् ।
यद्यपि मार्क्सका अनुसार यो स्थिति धेरै समयसम्म रहँदैन । पूँजीको सञ्चयले आफूसँगै एउटा अर्को चीज प्रविधिमा सुधार र यन्त्रहरूको बढ्दो प्रयोग ल्याउँछ । पूँजी सञ्चित हुँदै जाँदा पूँजीपतिले उत्पादकता बढाउन सकियोस् र लागत कम गर्न सकियोस् भनेर बढीभन्दा बढी उन्नत यन्त्र लगाउने प्रयास गर्छ । यो कुरा सापेक्ष अतिरिक्त मूल्यको सन्दर्भमा स्पष्ट भएको थियो । यी नयाँ यन्त्रले प्रायः मजदूरहरूको ठाउँ लिन्छन् वा थोरै मजदूरहरूबाट नै धेरै काम गराइन्छ । यसलाई पूँजीको जैविक संरचनामा वृद्धि भनिन्छ । अर्थात् कुल पूँजीमा स्थिर पूँजी यन्त्र जस्ता चीजहरूको हिस्सा परिवर्तनशील पूँजी श्रम-शक्तिमा खर्चको विरुद्ध बढ्दै जान्छ । यसको परिणाम के हुन्छ भने पूँजी त बढ्छ, उत्पादन पनि बढ्छ तर मजदूरहरूको माग त्यही अनुपातमा बढ्दैन, बरु धेरै पटक घट्न पनि सक्छ । यसबाट समाजमा एक औद्योगिक आरक्षित सेना वा बेरोजगारहरूको समूह उत्पन्न हुन्छ । यी आरक्षित सेना या त पूर्ण रूपले बेरोजगार या कहिलेकाहिँ मात्र काम प्राप्त हुने या धेरै कम ज्यालामा काम र्गन विवश मजदूरहरूको समूह हुन्छन् ।
यी आरक्षित सेना पूँजीवादी व्यवस्थाको लागि धेरै फाइदाजक हुन्छन् । किनकि बजारमा बेरोजगार मजदूरहरूको एउटा ठूलो समूह विद्यमान भएपछि काममा लागेका मजदूरले बढी ज्यालाको माग गर्न सक्दैनन् । उनीहरूले आफ्ना काम गर्ने शर्तहरूलाई उत्कृष्ट बनाउनको लागि बढी सौदाबाजी पनि गर्न सक्दैनन् । उनीहरूलाई सधैं आफू निष्कासनमा परेर अरू कुनै बेरोजगारलाई काममा राखिन्छ भन्ने डर हुन्छ । त्यसकारण उनीहरू कम ज्यालामा पनि काम गर्न तयार हुन्छन् । यसरी यो आरक्षित सेनाले ज्यालालाई न्यून राख्नमा मद्दत गर्छ र मजदूरहरूलाई बन्धनमा राख्छ । यो पूँजीको सञ्चयकै पुनरुत्पादन हो ।
पूँजीको सञ्चयसँगै एउटा अर्को प्रक्रिया हुन्छ, जसलाई पूँजीको केन्द्रीकरण भनिन्छ । यसको अर्थ के हो भने ठूला पूँजीपतिले साना पूँजीपतिलाई निल्दै जान्छन् । बढी पूँजी र उत्कृष्ट प्रविधि भएका ठूला पूँजीपतिले साना पूँजीपतिहरूलाई प्रतिस्पर्धामा हराइदिन्छन् र उनीहरूको व्यवसायलाई पनि आफ्नो कब्जामा लिन्छन् ।
यसरी एकातिर पूँजीको सञ्चयले धन-सम्पत्तिलाई केही सीमित हातमा जम्मा गर्छ र अर्कोतिर यसले बेरोजगारी र असुरक्षालाई पनि जन्म दिन्छ । यो एउटा यस्तो अन्तर्विरोध हो, जुन पूँजीवादी व्यवस्थामा अन्तर्निहित हुन्छ । यो पूँजीवादी सञ्चयको सामान्य नियम हो । पूँजी सञ्चित हुँदै जाँदा एकातिर धन-सम्पत्ति, विलासिता र शक्तिको सञ्चय हुँदै जान्छ (पूँजीपति वर्ग) र अर्कोतिर गरीबी , असुरक्षा, जटिल परिश्रम र अज्ञानता संचित हुँदै जान्छ (मजदूर वर्ग) । मजदूर वर्गमा आरक्षित सेना पनि सामेल हुन्छन् । पूँजीपति वर्गको तुलनामा मजदूरको स्थिति धेरै खराब हुँदै जान्छ । समाजमा दूरी बढ्दै जान्छ ।
यसको अतिरिक्त पूँजीको सञ्चयसँगै एउटा अर्को प्रक्रिया हुन्छ, जसलाई पूँजीको केन्द्रीकरण भनिन्छ । यसको अर्थ के हो भने ठूला पूँजीपतिले साना पूँजीपतिलाई निल्दै जान्छन् । बढी पूँजी र उत्कृष्ट प्रविधि भएका ठूला पूँजीपतिले साना पूँजीपतिहरूलाई प्रतिस्पर्धामा हराइदिन्छन् र उनीहरूको व्यवसायलाई पनि आफ्नो कब्जामा लिन्छन् । अथवा मर्जरको माध्यमबाट धेरै साना-साना पूँजी मिलेर एउटा ठूलो पूँजी बन्छ । यसबाट पूँजी केही ठूला पूँजीपति वा निगमहरूको हातमा केन्द्रित हुँदै जान्छ । यसबाट उत्पादनको परिमाण अझ विशाल हुँदै जान्छ र बजारमा केही ठूला कम्पनीहरूको मात्र दबदबा कायम हुन्छ । यसबाट शक्तिको केन्द्रीकरण पनि हुन्छ । र, यी ठूला कम्पनीले अर्थ-व्यवस्थालाई मात्र होइन, राजनीति र समाजलाई पनि प्रभावित गर्न लाग्छन् ।
यसरी पूँजीको सञ्चय केवल आर्थिक मामिला मात्र होइन, यसका गहन सामाजिक र राजनीतिक परिणाम पनि हुन्छन् । यसले समाजमा वर्ग-विभाजन अझ गहिरो बनाउँछ । बेरोजगारीलाई जन्म दिन्छ र शक्तिलाई केही हातमा केन्द्रित गर्दछ । यो एउटा यस्तो यन्त्र हो, जुन एकपटक सञ्चालित भएपछि रोकिंदैन । यसले आफ्नो मार्गमा आउने हरेक चीजलाई आफ्नो हिसाबले ढालिदिन्छ ।
आदिम सञ्चय - पूँजीवादको हिंसक उत्पत्ति
पूँजीपतिवर्गसँग उत्पादनका सम्पूर्ण साधन हुन्छन् र मजदूरसँग भने बेच्ने श्रम-शक्ति सिवाय केही पनि हुँदैन । यस्तो विभाजन कसरी उत्पन्न भयो त ? पूँजीवादका समर्थक पूँजीको जन्म मेहनत, फाइदा र बुद्धिमानीबाट भएको हो भन्छन् । तर मार्क्स यस्तो केटाकेटी कुरालाई पूर्ण रूपमा खारेज गरिदिन्छन् । उनका अनुसार पूँजीवादको जन्मको कहानी निर्दोष र शान्तिपूर्ण छैन, बरु त्यो रगत र आगोले लेखिएको छ । पूँजीवादी उत्पादनको लागि आवश्यक शर्त तयार भएको यही शुरुवाती प्रक्रियालाई मार्क्सले आदिम सञ्चय भनेका छन् । यसलाई आदिम किन भनिएको हो भने यो पूँजीवादी सञ्चयभन्दा पहिलेको सञ्चय हो । यसको आधारमा पूँजीवादको भवन खडा भएको छ । यसलाई तथाकथित सञ्चय पनि भनिन्छ । किनकि यो पछि पूँजीवादभित्र भएको जस्तो सञ्चय होइन । यो अतिरिक्त मूल्यबाट सञ्चय भएको होइन, बरु यो एक ऐतिहासिक प्रक्रिया हो, जसमा उत्पादकहरूलाई उनीहरूको उत्पादनका साधनबाट जबर्जस्ती अलग गरियो ।
यसरी आदिम सञ्चयको सार किसानहरूलाई उनीहरूको जमिनबाट निकाल्नु, शिल्पकारलाई उनीहरूका औजारबाट वञ्चित गर्नु र उनीहरूलाई एक यस्तो सर्वहारा वर्गमा बदलिदिनु हो, जससँग आफ्नो श्रम-शक्ति बेच्नु सिवाय अरु कुनै उपाय हुँदैन । अर्कोतिर, ती उत्पादनका साधन, जमिन, औजार र पैसालाई केही मानिसको हातमा केन्द्रित गर्नु हो, जो पुनः पूँजीपति बन्न सकून् ।
यो प्रक्रिया इङ्ल्याण्डमा सबभन्दा स्पष्ट रूपमा देखियो । र, मार्क्सले त्यहींको इतिहासको गहन अध्ययन गरेर यसलाई बुझाए । इङ्ल्याण्डमा मध्य युगको अन्तमा र आधुनिक युगको शुरुवातमा लगभग पन्ध्रौंदेखि अठारौं शताब्दीसम्म एउटा धेरै ठूलो सामाजिक उथल-पुथल भयो । त्यहाँका किसान शताब्दियौंदेखि आफ्नो जमिनमा खेतीपाती गर्दै आइरहेका थिए । जमिनको मालिक नभए पनि उनीहरूलाई खेती गर्ने परम्परागत अधिकार थियो । अब उनीहरूलाई ठूलो परिमाणमा जमिनबाट निकाल्न लागियो । किनकि त्यसबेला ऊनको माग धेरै बढिरहेको थियो । जमिन्दारलाई खेती गर्नुभन्दा बढी नाफा भेडा पाल्नुमा हुन्छ भन्ने लाग्यो । त्यसकारण उनीहरूले किसानलाई जमिनबाट हटाउन शुरु गरे र ती खेतलाई भेडागोठमा बदलिदिए । किसानका घर उजाडियो, उनीहरूका खेत खोसियो र उनीहरूलाई भयङ्कर दुःखमा धकेलियो । जमिन्दारहरूको विरोध गर्नेहरूलाई क्रूरतापूर्वक दमन गरिन्थ्यो ।
यसरी खेतबाट हटाएका किसान बेसहारा भए । उनीहरूसँग न जमिन थियो र न अरु कुनै साधन नै थिए । अब उनीहरू कामको खोजीमा शहरतिर दौडिनलागे । तर शहरमा पनि उनीहरूको लागि कुनै रोजागरी सजिलैसँग उपलब्ध थिएन । उनीहरू भिखारी बने, आवारा बने वा सानाठूला अपराधमा सङ्लग्न हुनलागे । त्यसपछि राज्यले पनि उनीहरूको विरुद्धमा कडा कानून बनायो । उनीहरूलाई कोर्रा हानिन्थ्यो; जेल हालिन्थ्यो र यहाँसम्म कि फासी पनि दिइन्थ्यो । यसको उद्देश्य उनीहरूलाई कुनै पनि प्रकारले मजदूरी गर्नको लागि विवश बनाउनु थियो । उनीहरूलाई त्यतिबेला विस्तारै विकास हुँदै गएका कारखानामा कम ज्यालामा काम गर्नको लागि तयार गर्नु थियो । यसरी एक झट्कामा किसानहरूको एउटा ठूलो वर्ग आफ्नो जीविकाका साधनहरूबाट वञ्चित भएर एउटा यस्तो सर्वहारा वर्गमा बदलियो, जो आफ्नो श्रम-शक्तिलाई बजारमा बेच्नको लागि विवश थियो ।
मार्क्सका अनुसार पैसा वा सम्पत्ति पनि कुनै शान्तिपूर्ण तरीकाले जम्मा भएको होइन । यसको एउटा ठूलो स्रोत उपनिवेशहरूको लुट थियो ।
पूँजीवादको लागि आवश्यक पहिलो शर्त स्वतन्त्र मजदूरहरूको एउटा समूह तयार गर्नु थियो । स्वतन्त्र कुन अर्थमा भने उनीहरू कुनै सामन्ती मालिकका दास थिएनन् । तर उनीहरू उत्पादनका साधनबाट पनि स्वतन्त्र थिए । अर्कोतिर, पैसा र उत्पादनका साधन केही मानिसको हातमा जम्मा हुनु पनि आवश्यक थियो, ताकि उनीहरू पूँजीपति बन्न सकून् र यी स्वतन्त्र मजदूरहरूको श्रम-शक्ति किन्न सकून् ।
मार्क्सका अनुसार पैसा वा सम्पत्ति पनि कुनै शान्तिपूर्ण तरीकाले जम्मा भएको होइन । यसको एउटा ठूलो स्रोत उपनिवेशहरूको लुट थियो । अमेरिका, अफ्रिका र एशियाका देशहरूलाई दास बनाइयो । त्यहाँका स्रोतसाधनहरूलाई निर्दयीतापूर्वक लुटियो । त्यहाँका जनताको शोषण गरियो । सुनचाँदीका खानीमा उनीहरूलाई जबर्जस्ती काम गराइयो । उनीहरूको जमिन खोसियो । उनीहरूको व्यापारलाई ध्वस्त बनाइयो । यी सम्पूर्ण सम्पत्ति युरोपका देशहरूमा र विशेषगरी इङ्ल्याण्डमा जम्मा हुँदै गए र त्यसले पूँजी निर्माणमा धेरै ठूलो भूमिका निभायो ।
यसको अतिरिक्त दास व्यापार पनि आदिम सञ्चयको घृणित माध्यम थियो । लाखौं अफ्रिकीहरूलाई पक्रिएर दास बनाइयो र उनीहरूलाई अमेरिका तथा क्यारिबियन द्वीपका बगैंचाहरूमा काम गर्नको लागि बेचियो । यो दास व्यापारबाट पनि भारी मुनाफा कमाइयो, जुन पूँजीको रूपमा जम्मा भयो । त्यसपछि सरकारी ऋण, कर-प्रणाली र व्यापारिक युद्धहरूले पनि यो प्रक्रियामा मद्दत गरे । राज्यले प्रायः व्यापारी र उद्योगपतिहरूलाई नै साथ दियो । उनीहरूलाई संरक्षण दियो र उनीहरूको मुनाफा बढाउनमा मद्दत गर्यो ।
यसरी आदिम सञ्चय कुनै एउटा घटना नभएर यो एक लामो र हिंस्रक प्रक्रिया थियो, जसमा लाखौं मानिसहरूलाई उनीहरूको जीविकाबाट वञ्चित गरियो । उनीहरूको संस्कृतिलाई नष्ट गरियो र उनीहरूको जिन्दगीलाई ध्वस्त बनाइयो । यो सबै काम केवल पूँजीवादको लागि जमिन तयार हुनसकोस् भनेर गरिएको थियो; एकातिर पूँजीपति वर्ग र अर्कोतिर मजदूर वर्ग पैदा हुन सकून् भनेर यस्तो कृत्य गरिएको थियो । मार्क्सका अनुसार पूँजी रगत र फोहरमा चम्किएको आफ्नो हरेक रौंमा बग्दै संसारमा आउँछ । यो पूँजीवादको जन्मको धेरै कठोर तर सम्भवतः वास्तविक तस्विर हो । यो पूँजी केवल मेहनत र बचतबाट बन्छ भन्ने सुनिएको मीठो कहानीभन्दा बिल्कुल अलग हुन्छ ।
यसरी आदिम सञ्चयले ती दुई आधारभूत शर्त पूरा गर्यो, जुन पूँजीवादी उत्पादनको लागि आवश्यक थियो । पहिलो, उत्पादनका साधनहरूलाई केही मानिसहरूको हातमा सङ्केन्द्रण गर्नु थियो, जो पूँजीपति बने । दोस्रो, उत्पादकहरूलाई उत्पादनका साधनबाट पृथक्कीकरण गर्नु थियो, जसबाट उनीहरू आफ्नो श्रम-शक्ति बेच्ने मजदूर बने । यी दुवै शर्त पूरा भएपछि पूँजीवादी उत्पादनको चक्र पुरा हुनसक्यो । त्यो 'मुद्रा-वस्तु-बढी मुद्रा' को चक्र थियो, जसमा पूँजीपतिले श्रम-शक्तिलाई किनेर अतिरिक्त मूल्य पैदा गर्दछ र त्यसलाई सञ्चित गर्दै जान्छ ।
खानी बनाउन वा ठूला-ठूला कारखाना स्थापित गर्नको लागि आदिवासीहरूलाई बिस्थापित गरिनु, औद्योगिक परियोजनाको लागि किसानहरूको जमिनलाई सस्तो दाममा अधिग्रहण गरिनु, साना-साना दोकानदारहरूलाई ठूलो पूँजीको लागि उजाड बनाइनु– यी सबै एकप्रकारको आदिम सञ्चय नै हुन् ।
यद्यपि आदिम सञ्चयको यो कहानी केवल इतिहासको एक अध्याय मात्र होइन । मार्क्सका अनुसार यो प्रक्रिया आज पनि कुनै न कुनै रूपमा संसारका कयौं हिस्सामा जारी छ । खानी बनाउन वा ठूला-ठूला कारखाना स्थापित गर्नको लागि आदिवासीहरूलाई उनीहरूको जमिनबाट बिस्थापित गरिन्छ । औद्योगिक परियोजनाको लागि किसानहरूको जमिनलाई सस्तो दाममा अधिग्रहण गरिन्छ । साना-साना दोकानदारहरूलाई ठूलो पूँजीको लागि उजाड बनाइन्छ । यी सबै एकप्रकारको आदिम सञ्चय नै हुन् । यिनीहरूले मानिसहरूलाई उनीहरूको परम्परागत जीविकाका साधनहरूबाट वञ्चित गरेर उनीहरूलाई मजदूरी गर्नेहरूको पङ्तिमा उभ्याइन्छ । यो पूँजीको विस्तारको एक निरन्तर प्रक्रिया हो । यो नयाँ-नयाँ क्षेत्रमा नयाँ-नयाँ तरीकाले अगाडि बढिहरन्छ ।
त्यसकारण आदिम सञ्चयलाई बुझ्नु केवल इतिहासलाई बुझ्नु मात्र नभएर यो वर्तमानमा भइरहेका धेरै सामाजिक र आर्थिक परिवर्तनलाई पनि बुझ्ने कुञ्जी हो । यसबाट पूँजीवाद कुनै प्राकृतिक वा शाश्वत व्यवस्था नभएर यो एक खास ऐतिहासिक परिस्थितिमा खास तरीकाले पैदा भएको र विकसित भएको व्यवस्था हो भन्ने कुरा बुझ्न सकिन्छ । यो पैदा भएको हुनाले यसको अन्त पनि हुनसक्छ वा यो कुनै अरु व्यवस्थामा बदलिन पनि सक्छ ।
पूँजीवादी सञ्चयको सामान्य नियम - धनी र गरीबको बीचमा बढ्दो दूरी
अब हामी पूँजीवादी व्यवस्थाको एउटा धेरै आधारभूत र दूरगामी नियमलाई बुझ्न लागिरहेका छौं । यसलाई मार्क्स पूँजीवादी सञ्चयको सामान्य निमय भन्दछन् । यो नियमबाट पूँजी जम्मा हुँदै जाँदा समाजमा यसको कस्तो असर पर्छ भन्ने कुरा बुझ्न सकिन्छ । यो नियमले एक ढङ्गले पूँजीवादको हृदयको धड्कनलाई पक्रिन्छ र किनकि यो व्यवस्थामा धनी अझ धनी हुँदै जान्छन् तथा गरीब निरपेक्ष रूपले नभए पनि सापेक्ष रूपले पिछडिंदै जान्छन् भन्ने कुरा देखाउँछ । त्यसो हुँदा यो सामान्य नियम के हो त ? सीधा शब्दमा भन्ने हो भने यो नियम अनुसार पूँजीको सञ्चय सँगसँगै समाजको एउटा ध्रुबमा धन-सम्पत्ति, ऐश-आराम र शक्ति जम्मा हुँदै जान्छ । जबकि अर्को ध्रुबमा गरीबी, असुरक्षा, अति श्रम, अज्ञानत र नैतिक पतन जम्मा हुँदै जान्छ । यो कुनै संयोग नभएर यो पूँजीवादी सञ्चय प्रक्रियाको एक अनिवार्य परिणाम हो ।
यस्तो किन हुन्छ भन्ने कुरा बुझ्नको लागि पुनः औद्योगिक आरक्षित सेना वा बेरोजगारहरूको समूहको अवधारणातिर फर्किनुपर्छ । यो कुरा पूँजीको सञ्चयको विषयमा छलफल गर्दा गरिएको थियो । जति-जति पूँजी जम्मा हुँदै जान्छ, पूँजीपतिले बढीभन्दा बढी प्रविधि र यन्त्रहरूको प्रयोग गर्छन्, ताकि उत्पाकदता बढाउन सकियोस् र लागत कम गर्न सकियोस् । यसबाट उत्पादन त बढ्छ तर मजदूरहरूको माग त्यही अनुपातमा बढ्दैन, बरु धेरै पटक घट्छ, किनकि यन्त्रले मजदूरहरूको ठाउँ लिन्छ । यसको परिणामस्वरूप समाजमा सधैं मजदूरहरूको एउटा हिस्सा यस्तो रहन्छ, जुन या त पूर्ण रूपमा बेरोजगार हुन्छ या उनीहरूलाई अस्थायी वा कम ज्यालायुक्त काम प्राप्त हुन्छ । यिनीहरूलाई नै औद्योगिक आरक्षित सेना भनिन्छ ।
आरक्षित सेना कुनै आकस्मिक घटना नभएर यो पूँजीको सञ्चयकै एक आवश्यक उत्पादन हो । र, यसले पूँजीको सञ्चयलाई कायम राख्नमा पनि मद्दत गर्छ । यो एक दुश्चक्र जस्तै हो ।
यी आरक्षित सेना पूँजीवादी व्यवस्थाको लागि धेरै तरीकाले फाइदाजनक हुन्छन् । पहिलो कुरा, यिनीहरूले काममा लागेका मजदूरहरूमाथि बढी ज्याला माग नगर्न र पूँजीपतिका शर्तमा काम गरिरहनमा दबाव पार्छन् । यदि मजदूरहरूले यसो गरेनन् भने उनीहरूलाई निकालेर आरक्षित सेनामध्ये कसैलाई काममा राखिनेछ । दोस्रो कुरा, आरक्षित सेनाले पूँजीपतिलाई कुन सुविधा प्रदान गर्छ भने बजारमा माग बढ्दा उत्पादन बढाउने आवश्यकता भएको बेलामा उसलाई सजिलैसँग मजदूर प्राप्त हुन्छन् । पूँजीपतिले नयाँ मजदूर खोज्न वा उनीहरूलाई तालिम दिनमा बढी मेहनत गर्नुपर्दैन । तेस्रो कुरा, आरक्षित सेनाले पूँजीलाई श्रममा हावी राख्छ । मजदूरहरूको बीचमा काम पाउनको लागि प्रतिस्पर्धा रहुन्जेलसम्म पूँजीपतिले आफ्नो मनमर्जी शर्तहरू थोपर्न सक्छ ।
यसरी आरक्षित सेना कुनै आकस्मिक घटना नभएर यो पूँजीको सञ्चयकै एक आवश्यक उत्पादन हो । र, यसले पूँजीको सञ्चयलाई कायम राख्नमा पनि मद्दत गर्छ । यो एक दुश्चक्र जस्तै हो । पूँजीको सञ्चयले आरक्षित सेनालाई पैदा गर्छ र आरक्षित सेनाले पूँजीको सञ्चयलाई अझ सुगम बनाउँछ । यसको मजदूर वर्गमाथि भने धेरै खराब असर पर्छ । आरक्षित सेनाका हिस्सा भएका मानिस गरीबी, भोकमरी र अनिश्चितताको जिन्दगी बाँचिरहेका हुन्छन् । तर काममा लागिरहेका मानिसको अवस्था पनि त्यति धेरै राम्रो हुँदैन । उनीहरूलाई सधैं जागिर जाने डरले सताइरहन्छ । उनीहरूले लामो समयसम्म कठिन परिस्थितिमा र प्रायः कम ज्यालामा काम गर्नुपर्छ । उनीहरूले आफ्नो स्वास्थ्य, परिवार र व्यक्तिगत विकासको लागि समय तथा साधन प्राप्त गर्न सक्दैनन् ।
मार्क्सका अनुसार पूँजीवादी सञ्चयसँगै मजदूर वर्गको सापेक्ष गरीबी बढ्छ । यसको अर्थ के हो भने उनीहरूको निरपेक्ष आय केही बढे पनि र उनीहरूले पहिलेभन्दा बढी चीजहरू किन्न सके पनि पूँजीपति वर्गको तुलनामा उनीहरूको आय र सम्पत्तिको हिस्सा धेरै कम हुन्छ । समाजमा धनी र गरीबको बीचको दूरी चौडा हुँदै जान्छ । एकातिर आलिसान महल खडा हुन्छन् भने अर्कोतिर झुपडीहरू हुन्छन् । एकातिर मानिस मोटो भएर मर्छन् भने अर्कोतिर भोकमरीले मर्छन् । पूँजीवादी सञ्चयसँगै यो अन्तर्विरोध अझ गहिरिंदै जान्छ ।
मार्क्स यो नियमका केही अरु परिणाम पनि बताउँछन् । जति-जति पूँजी सञ्चित हुन्छ र प्रविधिको प्रयोग बढ्छ, कामको स्वरूप पनि बदलिन्छ । मजदूरहरूबाट बढी गहनतापूर्वक काम लिइन्छ । उनीहरूमाथि यन्त्रको गतिको दबाव रहन्छ र उनीहरूको काम प्रायः नीरस र दोहोरिने खालको हुन्छ । यसबाट मजदूर आफ्नो कामबाट उदास हुन्छन् । उनीहरूलाई आफ्नो काममा कुनै खुशी वा सन्तोष प्राप्त हुँदैन । उनीहरू केवल आफ्नो गाँस-बास-कपासको लागि यन्त्र जसरी काम गर्छन् । यसको अतिरिक्त पूँजीको सञ्चय वा केन्द्रीकरणले बजारमा प्रतिस्पर्धालाई पनि खत्तम बनाइदिन्छ र केही ठूला-ठूला कम्पनीहरूको एकाधिकार कायम हुन्छ । यी कम्पनीहरूले फेरि आफ्नो मनमर्जी मूल्य असूल गर्दछन् र उपभोक्ताहरूको शोषण गर्दछन् । उनीहरूले राजनीतिक प्रक्रियालाई पनि प्रभावित बनाउँछन् र आफ्नो पक्षमा नीति बनाउन सक्छन् ।
यसरी पूँजीवादी सञ्चयको यो सामान्य नियम आर्थिक असमानताको विषय मात्र नभएर यसले समाजका हरेक पक्षमा प्रभाव पार्न सक्छ । यसले कामको प्रकृतिलाई, मजदूरहरूको जिन्दगीलाई, बजारको संरचनालाई र राजनीतिक शक्तिलाई पनि प्रभावित बनाउन सक्छ । यसले के देखाउँछ भने पूँजीवादले आफूभित्र सामाजिक तनाव र संघर्षलाई जन्म दिने बीज उमार्दछ । जब एकातिर धनको पहाड खडा भइरहेको हुन्छ र अर्कोतिर गरीबी र लाचारीको समुद्र तैरिरहेको हुन्छ, तब समाजमा शान्ति र सद्भावको कल्पनासम्म गर्न सकिंदैन ।
पूँजीवादी सञ्चयको यो नियमबाट के बुझिन्छ भने पूँजीवाद कुनै सामञ्जस्यपूर्ण व्यवस्था नभएर यो अन्तर्विरोधहरूले भरिएको हुन्छ । यसले उत्पादन त धेरै ठूलो परिमाणमा गर्छ तर त्यो उत्पादनको न्यायपूर्ण वितरण गर्दैन । यसले प्रविधिमा त क्रान्ति ल्याउँछ तर त्यो प्रविधिको प्रयोग प्रायः मजदूरहरूको शोषणको लागि गर्छ । यसले स्वतन्त्रता र समनताको नारा त दिन्छ तर वास्तविक रूपमा यो वर्गविभाजन र असमानतामा टिकेको व्यवस्था हो ।
पूँजीवादी व्यवस्था आफैमा टिकाउ हुन सक्दैन । किनकि यसले लगातार यस्तो अन्तर्विरोध पैदा गर्छ, जसले यसलाई सङ्कटलिर लिएर जान्छ । यो सङ्कटले पूँजीवादको अन्त्य पनि गराउन सक्छ । यो व्यवस्थाभित्र नै यसको विनाश लुकेको हुन्छ ।
यसो हुँदा यो नियमको कुनै अपवाद हुँदैन त ? के मजदूर वर्गको अवस्था सधैं खराब नै रहन्छ ? मार्क्स मजदूर वर्गको अवस्था कहिल्यै सुध्रिनै सक्दैन भन्ने कुरा गर्दैनन् । मजदूर वर्गले आफ्नो सङ्घर्ष, एकता र ट्रेड-यूनियनहरूको माध्यमबाट स्थितिमा केही सुधार ल्याउन सक्दछन्, जस्तो कि कामको घण्टालाई कम गराउनु, ज्याला बढाउनु वा काम गर्ने राम्रो स्थिति हासिल गर्नु । तर यी सुधार पूँजीवादी व्यवस्थाको सीमाभित्रै हुन्छन् । र, यिनीहरूले पूँजीवादी सञ्चयको सामान्य नियमलाई अन्त्य गर्न सक्दैनन् । पूँजीवादी व्यवस्था रहुन्जेलसम्म यो नियमले पनि काम गरिरहन्छ र धनी-गरीबको दूरीलाई बढाइरहनेछ । पूँजीवादी सञ्चयको यो सामान्य नियम एक ढङ्गले पूँजीवादको सबभन्दा ठूलो आलोचना हो, जुन उसको आफ्नै आन्तरिक तर्कबाट निक्लिन्छ । यसबाट के बुझिन्छ भने पूँजीवादी व्यवस्था आफैमा टिकाउ हुन सक्दैन । किनकि यसले लगातार यस्तो अन्तर्विरोध पैदा गर्छ, जसले यसलाई सङ्कटलिर लिएर जान्छ । यो सङ्कटले पूँजीवादको अन्त्य पनि गराउन सक्छ । यो व्यवस्थाभित्र नै यसको विनाश लुकेको हुन्छ ।
ऐतिहासिक प्रवृत्ति र पूँजीवादको भविष्य
अब यहाँ सबभन्दा ठूलो र सम्भवतः सबभन्दा रोचक प्रश्न अगाडि आउँछ । के यो व्यवस्था सधैं यसरी नै अगाडि बढिरहन्छ त ? पूँजीवादको कुनै भविष्य छ वा यसको पनि कुनै अन्त निश्चित छ ? मार्क्स यी प्रश्नको उत्तर पूँजीवादी सञ्चयको ऐतिहासिक प्रवृत्तिको रूपमा दिन्छन् । यो उनको कुनै भविष्यवाणी नभएर पूँजीपतिहरूको शक्ति र प्रवृतिको विश्लेषण हो, जसले पूँजीवादभित्र नै काम गरिरहेको छ र त्यसले पूँजीवादलाई खास दिशामा धकेलिरहेको छ ।
मार्क्सका अनुसार पूँजीवाद कुनै शाश्वत वा प्राकृतिक व्यवस्था होइन, बरु यो इतिहासको विकासक्रममा आएको एउटा विशेष सामाजिक-आर्थिक प्रणाली हो । जस्तो कि यो भन्दा पहिले सामन्तवाद थियो र त्योभन्दा पनि पहिले अरु व्यवस्थाहरू थिए, त्यसरी नै पूँजीवाद पनि सधैं रहनेछैन । पूँजीवादभित्रै केही यस्ता अन्तर्विरोध छन्, केही यस्ता शक्ति छन्, जसले यसलाई आफ्नो अन्ततिर लिएर जान्छन् ।
ती शक्तिहरूमा सबभन्दा पहिलो र महत्त्वपूर्ण शक्ति पूँजीको केन्द्रीकरण हो । यसको बारेमा हामीले पहिले नै धेरै छलफल गरिसकेका छौं । जस्तो कि ठूला पूँजीपतिहरूले साना पूँजीपतिहरूलाई प्रतिस्पर्धामा हराएर उनीहरूका व्यवसायमाथि कब्जा गर्छन् । यसबाट पूँजी केही ठूला-ठूला निगम वा एकाधिकारी पूँजीपतिहरूको हातमा समेटिन्छ । उत्पादनको परिमाण धेरै विशाल हुन्छ तर त्यसलाई नियन्त्रित गर्ने मानिसहरूको सङ्ख्या कम हुँदै जान्छ । एकातिर त मुठ्ठिभर पूँजीका मालिक हुन्छन् र अर्कोतिर उनीहरूको लागि काम गर्ने करोडौं मजदूर हुन्छन् । यो प्रक्रिया पूँजीवादको विकास सँगसँगै अझ तीव्र हुँदै जान्छ ।
दोस्रो महत्त्वपूर्ण प्रवृत्ति उत्पादन सामाजीकरण हो । यसको अर्थ के हो भने पूँजीवादभित्र उत्पादन तीव्र रूपमा सामाजिक गतिविधि बन्दै जान्छ । पहिले शिल्पकारले आफ्ना साना-साना औजारद्वारा घरमा कुनै चीज बनाउँदा त्यो एक व्यक्तिगत काम हुन्थ्यो । तर पूँजीवादमा खासगरी ठूला-ठूला कारखानाहरूमा हजारौं-लाखौं मजदूर एकसाथ मिलेर एक-अर्कोमाथि निर्भर भएर एक जटिल श्रम-विभाजन अन्तर्गत उत्पादन गर्दछन् । कुनै एउटा व्यक्तिले सम्पूर्ण चीज बनाउँदैन, बरु हरेकले त्यो चीजको सानो हिस्सा बनाउँछ । र, यी सबै हिस्साहरूलाई मिलाएर नै अन्तिम उत्पादन तयार हुन्छ । यो उत्पादन प्रक्रिया अत्याधिक सङ्गठित, योजनाबद्ध र आपसमा जोडिएको हुन्छ । प्रविधिले पनि यसमा मद्दत गर्छ, जस्तो कि संचारका साधन, परिवहनका साधन जस्ता सबै कुराले उत्पादनलाई अझ बढी सामाजिक र वैश्विक बनाउँछन् ।
यसरी उत्पादनको चरित्र त सामाजिक हुँदै जान्छ । अर्थात् त्यसलाई समाजले मिलेर गरिरहेको छ तर त्यो उत्पादनका साधनहरूमाथि र त्यसबाट हुने मुनाफामा कब्जा मुठ्ठिभर पूँजीपतिहरूको हुन्छ, जसको उनीहरूले निजी रूपमा विनियोजन गर्छन् । यहींनेर पूँजीवादको सबभन्दा ठूलो अन्तर्विरोध अगाडि आउँछ । यो उत्पादनको बढ्दो सामाजिक चरित्र र विनियोजनको घट्दो निजी चरित्र हो । अर्थात् काम त सबै मिलेर गरिरहेका छन् तर उत्पादनमा केही मानिसको मात्र हक रहेको हुन्छ ।
यो अन्तर्विरोध पूँजीवादको विकाससँगै अझ तीव्र हुँदै जान्छ । एकातिर, मजदूर वर्ग सङ्ख्यामा बढ्दै जान्छन्, सङ्गठित हुँदै जान्छन् र उनीहरूलाई हामी नै वास्तविक उत्पादक हौं र हामीले नै समाजका सम्पत्ति पैदा गरिरहेका छौं भन्ने महसुस हुँदै जान्छ । अर्कोतिर, पूँजीपति वर्ग सङ्ख्यामा घट्दै जान्छन् तर उनीहरूको शक्ति र सम्पत्ति बढ्दै जान्छ र तिनीहरू समाजमा परजीवी जस्तै बोझ बन्दै जान्छन् ।
मार्क्सका अनुसार यो स्थिति धेरै दिनसम्म चल्न सक्दैन । उत्पादनको सामाजिक चरित्र त्यसले निजी बन्धनहरूलाई सहन गर्न नसक्ने स्थितिमा विकसित भएपछि एक क्रान्तिकारी परिवर्तनको समय आउनेछ । अहिलेसम्म शोषित हुँदै आएको मजदूर वर्गले सङ्गठित भएर यो निजी सम्पत्तिको व्यवस्थालाई उखेलेर फ्याँक्नेछ । र, उत्पादनका साधनहरूमाथि सामाजिक स्वामित्व स्थापित गर्नेछ । अर्थात् जुन साधन समाजले मिलेर प्रयोग गर्छ, तिनीहरूमाथि समाजकै अधिकार हुनेछ, कुनै एउटा व्यक्ति वा केही व्यक्तिहरूको हुँदैन । यसलाई पूँजीवादी खोलको विस्फोट भनिन्छ ।
मार्क्सले पूँजीवादमा अन्तर्निहित प्रवृत्ति र अन्तर्विरोधतिर सङ्केत गरेर पूँजीवादको अस्थिरता र अन्त्यको व्याख्या गरेका थिए । यो परिवर्तन स्वतः आउँदैन । यसको लागि मजदूर वर्गले सचेत भएर सङ्घर्ष गर्नुपर्छ ।
पूँजीवादी निजी सम्पत्तिको मृत्युको घण्टी बज्छ । शोषितहरूले नै शोषक वा पूँजीपतिलाई सम्पत्तिबाट वञ्चित गरिदिनेछन् । यो कुनै बदला लिने भावना होइन, बरु यो इतिहासको एक वस्तुगत आवश्यकता हो । यो पूँजीवादको आफ्नो विकासबाट पैदा हुन्छ । उत्पादन सामाजिक भएपछि स्वामित्व पनि सामाजिक हुनुपर्छ । यही नै त्यो ऐतिहासिक प्रवृत्ति हो, जतातिर पूँजीवादी सञ्चयले लगिरहेको हुन्छ । यसपछि आउने समाजिक व्यवस्थालाई समाजवाद वा साम्यवाद भनिन्छ । त्यहाँ वर्ग हुँदैनन्, शोषण हुनेछैन र उत्पादनको उद्देश्य मुनाफा कमाउनु नभएर मानवीय आवश्यकताहरूलाई पूरा गर्नु हुन्छ । त्यहाँ जोकोहीले आफ्नो क्षमता अनुसार काम गर्नेछ र जोकोहीलाई उसको आवश्यकता अनुसार प्राप्त हुनेछ ।
यो एक आदर्श समाजको तस्विर हो । यसलाई हासिल गर्न सम्भवतः धेरै मुश्किल हुनसक्छ । तर मार्क्सका अनुसार यो इतिहासको दिशा हो । मार्क्सले पूँजीवादमा अन्तर्निहित प्रवृत्ति र अन्तर्विरोधतिर सङ्केत गरेर पूँजीवादको अस्थिरता र अन्त्यको व्याख्या गरेका थिए । यो परिवर्तन स्वतः आउँदैन । यसको लागि मजदूर वर्गले सचेत भएर सङ्घर्ष गर्नुपर्छ । मजदूर वर्गले आफ्नो ऐतिहासिक भूमिकालाई बुझ्नुपर्छ र क्रान्तिको दिशामा अगाडि बढ्नुपर्छ ।
सन्दर्भ स्रोतहरू
A Guide to Marx's Capital Vols I-III, Kenneth Smith, Anthem Press, 2012
https://ia802803.us.archive.org/0/items/cu31924096224906/cu31924096224906.pdf
Marx, Karl. Capital: Volume 1. 1867.
Harvey, David. A Companion to Marx’s Capital. 2010.
Mandel, Ernest. Marxist Economic Theory. 1962.
https://www.marxists.org/archive/marx/works/1867
https://narayangiri.wordpress.com/2023/08/07/capital-summary-in-nepali/
The students' Marx : an introduction to the study of Karl Marx' Capital, by Aveling, Edward Bibbins, 1892
Study and Research of various websites, blogs, online portals, youtube channels, etc.
नवल अल सादवी एक इजिप्सियन महिलावादी लेखक
एक व्यक्तिको संयमता जसले आणविक युद्ध रोकेको थियो !
कस्तो छ ‘वैज्ञानिक समाजवादी व्यवस्थाको कार्यक्रम’ ?
रसियाली क्रान्तिको आधारभूत महत्त्व
कम्युनिष्ट शक्तिको एकीकरण आजको अनिवार्य आवश्यकता
विद्रोह जायज छ !
कसिँदै गइरहेको ‘थुसिडाइड्सको धराप’ : उम्कने कसरी ?
प्रतिक्रिया