पश्चिम एशियामा अमेरिकी उपस्थिति: विश्व शान्तिको पहरेदारी कि साम्राज्यवादको स्वार्थरक्षा ?
विश्वशक्ति र प्रतिरोधका केन्द्रहरू

पश्चिमा मुलुकहरुले 'मध्य पूर्व' भन्ने गरेको पश्चिम एशिया केवल एउटा भौगोलिक क्षेत्र होइन, यो संसारकै शक्तिशाली राजनीतिक, आर्थिक र वैचारिक द्वन्द्वहरूको खुला रणभूमि हो। धार्मिक ध्रुवीकरण, जातीय द्वन्द्व, सत्ताको अस्थिरता र निरन्तर चलिरहेका युद्धहरूले यो क्षेत्रलाई सतहमा हेर्दा एक जटिल भूलभुलैयाजस्तो देखिन्छ। तर तटस्थता र न्यायको आँखाले यसलाई हेर्दा यो केवल अस्थायी वा सांस्कृतिक समस्याको रूपमा होइन, पूँजीवादको अन्तर्निहित संरचनात्मक चरित्रको परिणामको रूपमा देख्छ।
साम्राज्यवाद: पूँजीवादको अनिवार्य अवयव
भ्लादिमिर लेनिनले आफ्नो चर्चित कृति Imperialism: The Highest Stage of Capitalism (1917) मा लेखे अनुसार, साम्राज्यवाद पूँजीवादको एउटा यस्तो चरण हो, जब घरेलु बजारबाट नाफा निकाल्न नसकिने भएपछि पूँजीले नयाँ बजार र स्रोतहरूको खोजीमा विदेशतर्फ पलायन गर्छ। लेनिनका अनुसार, यस चरणमा पाँचवटा विशेषता देखिन्छ: (१) उद्योग र बैंकहरू बीचको एकीकरण (finance capital), (२) पूँजीको निर्यात, (३) विश्वको एकाधिकारद्वारा बाँडफाँट, (४) उपनिवेशहरूको लागि प्रतिस्पर्धा, र (५) रणनीतिक नियन्त्रण।
पश्चिम एशियामा अमेरिकी हस्तक्षेप केवल सुरक्षा रणनीतिका कारण होइन-बरु त्यो पूँजीको संचय, संशाधन माथिको नियन्त्रण, र रणनीतिक प्रभुत्वको निरन्तर प्रयास हो।
यी सबै लक्षणहरू पश्चिम एशियामा अमेरिकी गतिविधिमा प्रस्ट देख्न सकिन्छ। यहाँ अमेरिकी हस्तक्षेप केवल सुरक्षा रणनीतिका कारण होइन-बरु त्यो पूँजीको संचय, संशाधन माथिको नियन्त्रण, र रणनीतिक प्रभुत्वको निरन्तर प्रयास हो।
पश्चिम एशियाको अर्थराजनीतिक मूल्य
पश्चिम एशिया सस्तो श्रमको उपलब्ध हुने क्षेत्र होइन । यो त सस्तो तेलको अकूत भण्डार हो । विश्वकै सबैभन्दा ठूलो तेल भण्डारहरू साउदी अरब, इरान, इराक, कुवेत, कतारजस्ता मुलुकहरूमा छन्। साथै, यस क्षेत्रमा रहेका प्रमुख सागरसँघारहरू होरमुज, बाब अल मन्देब र स्वेज नहर जस्ता विश्वव्यापी व्यापार मार्गका रणनीतिक घाँटीहरु (chokepoints) हुन्।
यी सबै कारणले गर्दा यो क्षेत्र साम्राज्यवादी शक्तिहरूको आँखा गाडिएको रणनीतिक क्षेत्र बन्यो। दोस्रो विश्वयुद्धपछि वेलायतलाई पछार्दै विश्वमहाशक्तिको रुपमा उदाएको अमेरिकाले यहाँ आफ्नो वर्चस्व स्थापन गर्न विभिन्न माध्यम र उपायहरु अपनायो । त्यसमा सन् १९५३ मा इरानमा सीआईए समर्थित तख्तापलट, १९९१ र २००३ का इराक युद्धहरू, सिरियामा प्रत्यक्ष र अप्रत्यक्ष सैन्य हस्तक्षेप, र साउदी अरब-इजरायलजस्ता सत्ता संरचनाहरूको संरक्षण जस्ता घटनाक्रमहरु प्रमुख हुन् ।
इरान: प्रतिरोधको प्रतीक, साम्राज्यवादको निशान
इरानमा मोहम्मद मोसद्देकले जब १९५१ मा तेल उद्योग राष्ट्रियकरण गरे, पश्चिमी तेल कम्पनीहरूले यसलाई सीधै चुनौतीको रूपमा लिए। १९५३ मा ब्रिटिश गुप्तचर निकाय एम१६ र अमेरिकी सिआइएको सहयोगमा भएको अपरेशन एज्याक्स (Operation Ajax) मार्फत मोसद्देकलाई सत्ताच्यूत गरियो । उनलाई हटाएर शाह मोहम्मद रजा पहलवीलाई सत्तामा ल्याइयो।
त्यसबेला इरानमा घटित यो घटना केवल सत्ताको पुनर्संरचना होइन, साम्राज्यवादी पूँजीको रक्षाको लागि गरिएको चलखेल थियो। मार्क्सवादी विश्लेषकहरूले यसलाई एउटा प्रारम्भिक चलखेलको नमूनाको रूप मान्छन् । यसमा जहाँ पूँजीवादी राष्ट्रहरूले सत्तामा केवल अनुकूल शासकहरू राख्न खोज्छन्, जनइच्छाको रक्षा होइन।
इराक: 'विध्वंशक हतियार' को बहानामा संशाधन कब्जा
सन् २००३ मा अमेरिकाले इराकमाथि आक्रमण गर्यो । आक्रमणको मुख्य बहानाको बनाइयो- आम नरसंहारका विध्वंशक हतियार (Weapons of Mass Destruction) इराकसँग छ। राष्ट्रसंघलाई अघि सारेर अमेरिका र नाटोको अग्रसरतामा इराकमा ठूलो विध्वंश गरियो । कुनै बेला अमेरिकाका अत्यन्त प्रियपात्र रहेका तथा उसैको समर्थनमा इरानसँग ८ वर्ष लामो विध्वंशक युद्ध लडेका सद्दामलाई सत्ताच्यूत गरियो । लाखौं मानिसहरुको विस्थापन र हत्या भयो । तर यस्ता हतियारहरू नभएको कुरा पछि स्वयं संयुक्त राष्ट्रसंघका निरीक्षकहरूले पुष्टि गरे।
इराक युद्धपछिको आर्थिक पुनर्निर्माण (reconstruction) को काम अमेरिकी ठेकेदार कम्पनीहरूको हातमा गयो। तेलका ठेक्काहरू अमेरिकी र बेलायती कम्पनीहरूले पाए।
डेविड हार्वेले आफ्नो चर्चित कृति The New Imperialism मा यसलाई अधिकार खोसाइमार्फत सम्पत्ति संचय (accumulation by dispossession) को संज्ञा दिए । उनले त्यसलाई एक सम्प्रभु राष्ट्रको स्रोत कब्जा गरी त्यसलाई निजी पूँजीको हातमा ल्याउने कृत्य माने । उनले भनेका छन्- जब पूँजी विस्तार गर्न सकिँदैन भने त्यसले अरूको सम्पत्ति, जमिन, सेवा, अधिकार खोसेर आफैंले संचय गर्छ।
इराक युद्धपछिको आर्थिक पुनर्निर्माण (reconstruction) को काम अमेरिकी ठेकेदार कम्पनीहरूको हातमा गयो। तेलका ठेक्काहरू अमेरिकी र बेलायती कम्पनीहरूले पाए। यसले देखाउँछ-युद्ध पूँजी संचयको माध्यम हो, सुरक्षा मात्र होइन।
इजरायल: साम्राज्यको चौकी
पश्चिम एशियामा अमेरिकी हितको संरक्षक हो-इजरायल। सन् १९४८ मा इजरायलको स्थापनादेखि नै अमेरिकाले उसलाई रणनीतिक सहयोग गर्न थालेको हो। CRS Report, 2023 का अनुसार इजरायलले हरेक वर्ष औसत ३.८ अर्ब अमेरिकी डलर सुरक्षा सहायता प्राप्त गर्छ।
पश्चिम एशियामा अमेरिकाको नीति मानव अधिकारअनुकूल होइन, शक्ति-सन्तुलनको खेल हो। त्यहाँका जनताका चाहना र भावना साम्राज्यवादी शक्तिहरुका लागि केवल त्यतिबेला स्वागतयोग्य हुन्छ, जब त्यो पूँजीवादअनुकूल हुन्छ।
इजरायली समाज, राजनीति र प्यालेष्टिनी समस्याबारे आलोचनात्मक दृष्टिकोण राख्ने इजरायली मनोवैज्ञानिक बेन्जामिन बीट-हल्लाहमीले आफ्नो पुस्तक "The Israeli Connection: Whose Land? Whose Power?" मा इजरायलको साम्राज्यवादी र औपनिवेशिक सम्बन्धका विषयमा आलोचनात्मक धारणा राख्दै इजरायललाई "पश्चिमी हितका स्वार्थहरूको सशस्त्र किल्ला" (Armed garrison of Western interests)को रूपमा उल्लेख गरेका छन्। उनका अनुसार इजरायललाई वैश्विक साम्राज्यवादको एउटा हिस्सा हो, जसले अमेरिका र अन्य पश्चिमी शक्तिहरूका लागि काम गर्छ।
मार्क्सवादी चिन्तक समीर अमिनले आफ्नो लेख U.S. Imperialism, Europe, and the Middle East मा लेखेका छन्– पश्चिम एशियामा अमेरिकी हस्तक्षेप केवल सुरक्षा वा आतंकवादको सामना मात्र होइन, यसको रणनीति पूँजीवादी वर्चस्व कायम राख्न, क्षेत्रीय प्रभुत्व विस्तार गर्न, र सैन्य–राजनीतिक संरचना मार्फत स्रोत नियन्त्रण सुनिश्चित गर्ने हो ।
इजरायलको सिरिया, लेबनान, गाजा र हाल इरानविरुद्धको कारबाहीहरूमा अमेरिका प्रत्यक्ष समर्थनमा उभिएको छ। अमेरिकी हतियार, सुरक्षा सुरक्षा परिषद्मा कूटनीतिक ढाल र प्रचारमाध्यममार्फत नैतिक समर्थन-यी सबैले इजरायललाई प्रतिरोध गर्न असम्भव जस्तो बनाउँछ।
अरब स्प्रिङ र अमेरिकी दोहोरो मापदण्ड
२०११ को अरब स्प्रिङले पश्चिम एशियामा जनताको स्वतन्त्रताको आवाज बुलन्द बनायो। तर अमेरिकाले यस आन्दोलनलाई रोजेर मात्रै समर्थन गर्यो। ट्युनिसिया र इजिप्टमा आन्दोलनलाई अमेरिकाले खुलेरै मौखिक समर्थन गर्यो । तर पश्चिम एशियामा उसको रणनीतिक साझेदारको रुपमा उभिएको साउदीद्वारा बहराइनमा गरिएको दमनमा भने मौनता साँध्यो। लिबियामा कदाफीलाई हटाउन नाटो हस्तक्षेपको अगुवाइ नै गर्यो भने सिरियामा सामूहिक अस्थिरता सिर्जना गर्न कुनै कसर बाँकी राखेन ।
कतिसम्म आरोप लाग्ने गर्छ भने सिरियामा अस्थिरता सिर्जना गरेर अमेरिकी साम्राज्यवादले त्यहाँको पेट्रोलियम पदार्थको डकैती एवं तस्करी गरेको थियो । निरन्तरको अमेरिकी सैन्य उपस्थिति र आर्थिक रुपमा कमजोर सिरियाको बसर अल असदको सत्ता यसैको कारण पतन भयो। जसका कारण अहिले सिरियामा अमेरिका आफैंले आतंकवादी घोषित गरेको समूह अल कायदाका पूर्व नेता जोलानी सत्तामा पुगेका छन्।
यसले स्पष्ट गर्छ- पश्चिम एशियामा अमेरिकाको नीति मानव अधिकारअनुकूल होइन, शक्ति-सन्तुलनको खेल हो। त्यहाँका जनताका चाहना र भावना साम्राज्यवादी शक्तिहरुका लागि केवल त्यतिबेला स्वागतयोग्य हुन्छ, जब त्यो पूँजीवादअनुकूल हुन्छ।
साम्राज्यवादको शान्ति: युद्धको अर्को नाम
साम्राज्यवाद कहिल्यै स्थायी शान्ति चाहँदैन। त्यसले शान्तिका नाममा युद्ध गर्छ, स्वतन्त्रताका नाममा शासन बदल्छ, सुरक्षा देखाएर स्रोत कब्जा गर्छ। लेनिन भन्छन्, "Imperialism is not a policy, it is a stage of capitalism." यो न त अनैतिकताको प्रश्न हो, न केवल राजनीतिक रणनीति-यो पूँजीवादी व्यवस्थाको अनिवार्य स्वभाव हो।
पश्चिम एशियाको अस्थिरता कुनै सांस्कृतिक वा धार्मिक विखण्डनको परिणाम मात्र होइन, त्यो वैश्विक पूँजीको संरचनात्मक गतिशीलताको असर हो। जसरी बजारको लागि उपभोक्ता सिर्जना गरिन्छ, त्यसरी नै स्रोतको लागि युद्ध सिर्जना गरिन्छ।
निष्कर्ष
पश्चिम एशियामा अमेरिकी भूमिका बुझ्न-हामीले प्रकटका बाहिर आएका खबरहरुको सतहभन्दा तल पुग्नुपर्छ। यो केवल सुरक्षा, आतंकवाद, वा धार्मिक द्वन्द्वको प्रसङ्ग होइन। यो पूँजीको विश्वव्यापी यात्राको एउटा खुड्किलो हो, जहाँ सेना, कूटनीति, र प्रचारमाध्यमहरू मिलेर साम्राज्य निर्माण भइरहेको र टिकिरहेका हुन्छन्।
शान्ति, लोकतन्त्र वा मानव अधिकार-यी सबै शब्दहरू यति बेला अर्थपूर्ण हुन्छन्, जब तिनको पछाडि नियत र संरचना स्वतन्त्र होस्। तर जब ती शब्दहरू साम्राज्यवादको अनुहारमा 'लिपिस्टिक' मेकअप बनेर देखिन्छन् झुल्किनछन्, तब तिनको उज्यालोले होइन, छायाले विश्वमा अन्याय र अनैतिकताको साम्राज्यलाई स्थापित गरिरहेको हुन्छ ।

इरानको सम्भावित जवाफ: स्ट्रेट अफ हर्मुज नाकाबन्दी र परमाणु बमको परीक्षण?

मध्यपूर्वको सङ्कटमा युद्ध र शान्ति : एक विश्वपरक दृष्टिकोण

पार्टीमा गुटबन्दी, बहुविचार केन्द्रको अस्तित्व र पार्टी फूटको चूरो कारण के हो ?

अन्तर्राष्ट्रिय व्यवस्थालाई कमजोर पार्ने अमेरिकी प्रयासको विरोध गर्नैपर्छ

पर्यावरण : उपभोग गर्ने र देखाउने फरक

सत्ताको शिखरबाटै गणतन्त्रमाथि खतरा !

गाजा: मानवताको मौन मृत्यु र विश्व व्यवस्थाको डरलाग्दो संकट

प्रतिक्रिया