वर्षेनी ७० लाख मानिसको ज्यान लिने हावाको ज्यानमारा प्रदूषण

हामीले सास फेर्ने हावा देखिँदैन, त्यसैले हामी यसलाई सुरक्षित ठान्छौं। तर साँचो अर्थमा भन्नुपर्दा, आजको युगमा हावा नै हाम्रो स्वास्थ्यको लागि सबैभन्दा ठूलो शत्रुमध्येका एक बनेको छ। विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार हरेक वर्ष झण्डै ७० लाख मानिसको अकाल मृत्यु हावामा लुकेका प्रदूषक तत्वका कारण हुन्छ।

ख्याल गर्नुपर्ने कुरा के हो भने, वर्षेनी अकाल मृत्यु वरण गर्नेहरुको यो भयानक संख्या कुनै युद्ध वा  महामारीको कारण होइन-यो त  हामीले सास फेर्ने हावाको कारण भएको हो । सम्भवत: हावा प्रदूषणका कारण मानिसले अकाल मृत्यु वरुण गर्न बाध्य हुनुपर्ने यो घटना आधुनिक मानव सभ्यताको नै सबैभन्दा मौन त्रासदी हो।

७० लाख मृत्यु !

७० लाखको मृत्यु ! त्यो पनि वर्षेनी ! यो चानचुने संख्या होइन । त्यसैले हामीलाई शंका लाग्न सक्छ: के यो सत्य हो ?

कुरा डरलाग्दो भए पनि यो कुरा सत्य नै हो । यो विश्व स्वास्थ्य संगठन, IHME (Institute for Health Metrics and Evaluation), र अन्य अनुसन्धान संस्थाहरूको Global Burden of Disease Study बाट पुष्टि भएको तथ्य हो।

हावामा लुकेका सूक्ष्म हत्यारा: PM2.5 कणहरू

हावामा रहेका PM2.5 (particulate matter with diameter ≤ 2.5 microns) नामक सूक्ष्म कणहरू आँखाले देखिँदैनन्। तर हामीले सास लिँदा जब यी कणहरु यी फोक्सो भित्र पस्छन्, रगतसम्म पुग्छन्, अनि त्यहाँबाट हृदयाघात, मस्तिष्कघात, फोक्सोको क्यान्सर, COPD, दमा जस्ता दीर्घरोग निम्त्याउँछन्।

यी कणहरू कहाँबाट आउँछन्?

  • गाडी र बसबाट निस्कने धुँवा
  • कलकारखानाको उत्सर्जन
  • जलेका काठ, प्लास्टिक वा कोइला
  • धूलो र निर्माण सामग्री
  • चुल्होको धुवाँ (ग्रामीण क्षेत्रमा मुख्य स्रोत)

घरभित्रको प्रदूषण: घातक मौनता

ग्रामीण नेपालमा, अझै पनि गोबर, दाउरा, पराल जलेर खाना पकाउने चलन छ। यस्तो धुवाँले घरभित्रको हावालाई अत्यन्त प्रदूषित बनाउँछ। विश्व स्वास्थ्य संगठनको अनुसार, विकासोन्मुख देशहरूमा घरभित्रको हावाप्रदूषण नै बालबालिकाको मृत्युको प्रमुख कारण बन्ने गरेको छ। नेपालमा ग्रामीण महिलाहरू, बालबालिका, र वृद्धहरू यो प्रदूषणबाट सबैभन्दा बढी प्रभावित छन्। संगठनको २०२१ को प्रतिवेदनअनुसार त्यस वर्ष ३२ लाख मानिसहरुको अकाल मृत्युको मुख्य कारण नै यही घरभित्रको प्रदूषण बनेको थियो ।

बढी जोखिममा बालबालिका र वृद्धहरू

हावा प्रदूषणको सबैभन्दा बढी जोखिममा बालबालिका र बृद्धहरु हुने गर्छन् । बालबालिकाको फोक्सो अझै पनि विकासको चरणमा हुन्छ। त्यसैले उनीहरूले वयस्कको तुलनामा धेरै सास फेर्छन् र तिनको शरीरले प्रदूषणजन्य कणहरू सजिलै सोस्ने गर्छ। अर्कोतर्फ, वृद्धहरूको रोग प्रतिरोधात्मक क्षमता सामान्यतया कमजोर हुने भएकाले उनीहरू दीर्घकालीन हावाप्रदूषणको प्रत्यक्ष असरमा पर्न सक्छन्। यसकै कारण उनीहरूमा दम र निमोनियाका लक्षणहरू चाँडै देखिन सक्छन् । अनि धेरैजसो अवस्थामा यिनै रोगहरूले अकाल मृत्यु निम्त्याउँछन्। यस बाहेक, फोक्सोको क्यान्सर र मुटुसम्बन्धी जटिलता पनि उनीहरूमा देखा पर्न सक्छ। बाल्यकालमा सुरु भएको स्वासप्रश्वासको समस्या भविष्यमा दीर्घकालीन रोगमा परिणत हुने खतरा हुन्छ भने वृद्धावस्थामा प्रदूषणले मृत्युसम्मको जोखिम ल्याउन सक्छ।

युनिसेफको २०१९ को प्रतिवेदनअनुसार  विश्वभरि, हावामा भएको प्रदूषणका कारण प्रत्येक वर्ष पाँच वर्ष मुनिका करिब ६ लाख बालबालिकाको मृत्यु हुने गर्दछ।

नेपालको स्थिति झनै खराब  

IQAir ले हरेक वर्ष प्रकाशित गर्दै आएको वायु गुणस्तर सूचकांकमा काठमाडौं उपत्यका हिउँदको समयमा संसारकै सबैभन्दा प्रदूषित शहरहरूमध्येमा पर्ने गरेको छ। यसको पछाडि धेरै कारणहरू छन्। जस्तै, असङ्गठित तरिकाले चल्ने सवारीसाधनहरूले दैनिकरूपमा अत्यधिक धुवाँ उत्सर्जन गर्छन्। त्यस्तै, निर्माणाधीन सडकहरूमा निरन्तर उड्ने धूलोले हावामा PM2.5 को मात्रा अस्वाभाविकरूपमा वृद्धि गरिदिन्छ।

त्यसबाहेक, घना बस्तीहरुमा उत्पादन हुने नसड्ने खालका प्लास्टिक, रबर लगायतका अजैविक फोहेरखुलाहरुलाई खुला स्थानहरुमा  असुरक्षित ढङ्गले जलाउने परिपाटी अझै कायमै छ । त्यसले वातावरणमा अत्यन्त हानिकारक ग्यासहरूले भरिदिन्छ र हावाको प्रदूषणलाई थप जटील बनाइदिन्छ। यी सबै कुरालाई समेटेर हेर्दा, हरियालीको अभावले समस्या झन् थप जटिल बनाएको देखिन्छ। अझ खतरनाक कुरा त के छ भने, यति गम्भीर समस्याका बाबजुद पनि प्रदूषणजन्य रोगहरूलाई समेट्ने खालको पूर्वतयारी जनस्वास्थ्य प्रणालीमा न्यून छ।

गर्ने के त ?

यदि हामी व्यक्तिको स्तरबाट सुरु गर्ने हो भने, खाना पकाउने क्रममा परम्परागत इन्धनको सट्टा सफा ऊर्जा स्रोतहरूको प्रयोग गर्न आवश्यक छ, जस्तै-LPG वा बायोग्यास। यात्रा गर्नुपर्दा निजी सवारीको सट्टा सार्वजनिक यातायात, साइकल वा पैदलयात्रा अपनाउनु प्रदूषण न्यूनीकरणमा योगदान दिन सक्छ। घरभित्रको हावालाई ताजा राख्नका लागि स्नेकप्लान्ट, घीउकुमारी, स्पाइडर प्लान्ट जस्ता इनडोर प्लान्टहरू राख्न सकिन्छ । यी विरुवाहरुले प्राकृतिकरूपमै हावाको गुणस्तर सुधार गर्छ। साथै, फोहोर जलाउने परिपाटी छाडेर त्यसको व्यवस्थित व्यवस्थापन गर्नुपर्छ।

सामुदायिक वा सरकारी तहबाट हेर्दा, प्रदूषण उत्सर्जन गर्ने उद्योग र सवारीसाधनहरूमा नियन्त्रण उपकरण जडान गर्न अनिवार्य बनाउनु जरुरी छ। ग्रामीण क्षेत्र र सहर दुवैमा स्वच्छ इन्धन प्रवर्द्धन गर्न विशेष सब्सिडी वा प्रोत्साहन कार्यक्रम ल्याउनु उपयोगी हुनेछ। नेपालका विभिन्न स्थानहरूमा वायु गुणस्तर मापन केन्द्रहरूको विस्तार गरिनु आवश्यक छ, ताकि वास्तविक अवस्थाबारे विश्वसनीय तथ्याङ्क प्राप्त गर्न सकियोस्। साथै, प्रदूषण नियन्त्रणसँग सम्बन्धित बजेट वृद्धिसँगै यस क्षेत्रमा लागू हुने कानूनहरूको कडाइका साथ कार्यान्वयन गर्नुपर्छ।

सारमा भन्दा, हामीले शुद्धताको लागि खानेपानीको बोतल किन्छौं, तर सास फेर्ने हावा कस्तो छ भनेर चासो राख्दैनौं। यो बेवास्ता अब जोखिमपूर्ण बन्दै गएको छ।

हामीले भविष्यका पुस्तालाई सफा हावा सुम्पन सक्ने कि नसक्ने भन्ने प्रश्न आजको सबैभन्दा ठूलो र ज्वलन्त प्रश्न हो । यो प्रश्नको उत्तर केवल सरकारका नीति तथा कार्यक्रमहरु अनि सक्रियतामा मात्र होइन -हाम्रो व्यक्तिगत जीवनशैली र चेतनामा पनि निर्भर गर्छ ।