पृथ्वीको गहिराइमा लुकेको महासागर: वैज्ञानिकहरूको अनौठो खोज

जब हामी "पानी"को कुरा गर्छौं, हाम्रो ध्यान सिधा समुद्र, नदी, हिउँ वा भूगर्भीय पानीतिर जान्छ। हामीलाई लाग्छ, पृथ्वीको सबै पानी सतहमै छ वा त्यसभन्दा माथिल्लो भूगर्भमा सीमित छ। तर पछिल्ला वैज्ञानिक खोजहरूले यो मान्यता हल्लाउने खालको रहस्य उद्घाटन गरेका छन्। वैज्ञानिकहरूले पृथ्वीको सतहबाट हजारौं किलोमिटर तल, पृथ्वीको म्यान्टल क्षेत्रमा, एक यस्तो जलस्रोत पत्ता लगाएका छन्, जुन पृथ्वीका सबै समुद्रहरूमध्ये जम्मा पानीभन्दा तीन गुणासम्म ठूलो हुन सक्छ।
यो पानी न त समुद्रजस्तो खुला छ, न नै कुँवासरह सङ्कलन गरिएको तरल रूपमै पाइन्छ। यसको स्वरूप नै फरक छ। यो पानी "ग्रास खनिज" - रिङ्गवुडाइट (Ringwoodite) नामक खनिजको भित्र फसेर बसेको हुन्छ, जुन उच्च चाप र तापक्रममा मात्र बन्ने एक प्रकारको खनिज हो। यो खनिज पृथ्वीको सतहभन्दा ४०० देखि ७०० किलोमिटर गहिराइमा रहेको "ट्रान्जिशन जोन" भित्र पाइन्छ, जहाँ पृथ्वीको माथिल्लो र तल्लो म्यान्टलको बीचको भाग रहन्छ।
सन् २०१४ मा भूगर्भविद् स्टीभन ज्याकब्सन र उनका सहकर्मीहरूको नेतृत्वमा गरिएको अनुसन्धानले यो सम्भावनालाई बलियो प्रमाणमा रूपान्तरण गर्यो। उनीहरूले भूकम्पबाट उत्पन्न हुने तरंगहरूको गति र दिशा विश्लेषण गर्दा यस्तो संकेत देखे जुन त्यहाँ पानीको उपस्थिति बिना सम्भव थिएन। त्यसपछि, अर्का वैज्ञानिक डग्लस पियर्सनको टोलीले ब्राजिलमा भेटिएको गहिरो खानीबाट निस्किएको हीराको भित्र रिङवुडाइट भेट्टाए, जुन पानी अंश समेट्ने खनिज थियो। यो त त्यो क्षण थियो जब अनुमानलाई प्रत्यक्ष प्रमाणले समर्थन गर्न थाल्यो।
रिङवुडाइट आफैंमा पानी बोक्ने खनिज हो, जसको क्रिस्टल संरचनामा हाइड्रोजन र अक्सिजन अणु अड्किएका हुन्छन्। सामान्यतया, यसले १.५ प्रतिशतसम्म पानी समेट्न सक्छ। अनि जब यो खनिज ट्रान्जिशन जोनजस्तो विशाल भूभागमा प्रशस्त मात्रामा पाइन्छ, त्यो क्षेत्रको जम्मा पानीको अन्दाज लगाउँदा आश्चर्यजनक नतिजा देखिन्छ - अर्थात् सतहमा भएका सबै समुद्रहरूको जम्मा पानीभन्दा तीनपटक धेरै।
अब प्रश्न उठ्छ: के हामी यो पानी उपयोग गर्न सक्छौं? प्राविधिक रूपमा भन्ने हो भने, सकिन्न। यो पानी हामीले पिउन सकिने तरल पानी होइन। यो त्यहाँ उच्च चाप र तापमा खनिजको संरचनाभित्र बाँधिएको छ। कुनै पाइपले निकाल्न सकिने वा खनेर ल्याउन मिल्ने कुरा होइन। तर यसले पृथ्वीका गहिरा तहहरूमा पानीको भूमिकालाई नयाँ दृष्टिकोणले बुझ्न मद्दत गर्छ।
यति गहिरो तहमा पानी हुनुको अर्थ केवल पृथ्वीभित्र जलको भण्डार लुकेको छ भन्ने मात्र होइन, यसको धेरै गहिरो वैज्ञानिक महत्त्व छ। पानी पृथ्वीको आन्तरिक गतिशीलता - अर्थात् टेक्टोनिक प्लेटको चाल, म्याग्मा बग्ने प्रक्रिया, ज्वालामुखी विस्फोट - जस्ता घटनाहरूलाई प्रभाव पार्छ। जलको उपस्थिति भएमा चट्टानहरू चाँडो पग्लन्छन्, जुन म्याग्मा उत्पादनमा योगदान दिन्छ। अनि जब प्लेटहरू सरेर म्यान्टलभित्र चट्टानहरू धसिन्छन्, तिनैसंगै पानी पनि म्यान्टलभित्र पुग्छ र फेरि म्याग्मा मार्फत सतहमै फर्कन सक्छ। यो एक प्रकारको गहिरो जलचक्र हो - जुन हाम्रा पाठ्यपुस्तकमा पढाइएको सतहको जलचक्रभन्दा बिल्कुल पृथक र अझै अद्भुत छ।
यस खोजले पृथ्वीमा पानी कहाँबाट आयो भन्ने पुरानो बहसलाई पनि नयाँ दिशा दिएको छ। अहिलेसम्म वैज्ञानिकहरू सोच्थे कि पृथ्वीको पानी ज्वालामुखीबाट निस्किएको वा धूमकेतुबाट आएको हो। तर यदि पृथ्वीको गहिराइमै यस्तो विशाल जलस्रोत पहिलेबाट नै थियो भने, पानी पृथ्वीको निर्माणकै समयमा भित्र भएको हुन सक्छ भन्ने सम्भावनालाई इन्कार गर्न मिल्दैन । यसले 'पृथ्वी सधैंदेखि जलयुक्त ग्रह थियो' भन्ने दृष्टिकोणलाई बल दिन्छ।
संक्षेपमा भन्ने हो भने, पृथ्वीका गहिरा तहमा रहेको यो जलको भण्डार देखिने पनि होइन, छुन सकिने पनि होइन, तर यसको अस्तित्वले हामीलाई हाम्रो ग्रहको संरचना, विकास र गतिशीलतालाई गहिरो रूपमा बुझ्न बाध्य बनाउँछ। विज्ञान सधैं नयाँ प्रश्नहरू ल्याउँछ, तर कहिलेकाहीँ यस्ता खोजहरू गर्छ, जसले हामीलाई आफैंबारे सोच्न बाध्य बनाउँछ - हाम्रा ग्रहबारे, हाम्रो उत्पत्तिबारे, र जीवनको सम्भावनाबारे पनि।

पृथ्वीको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्र: प्रशान्त महासागरको ‘रिङ अफ फायर’

रूसको महाभूकम्पः समुद्रको गर्भबाट उठेको चेतावनी

पृथ्वीमा ताजा पानीको भण्डार अभूतपूर्व रूपमा घट्दैछ

अव दाल भात पकाउन पनि आर्टिफिसियल इन्टेलिजेन्स (AI) !

सुप्राग्लेसियल लेक विस्फोट र विनाशको ताण्डव

बेटेल्ज्युसको रहस्य: एक विस्फोटोन्मुख ताराको कथा

गुरुत्वाकर्षणको पुनराविष्कार : आइन्स्टाइनको सापेक्षतावाद र ब्रह्माण्डको नयाँ व्याख्…

प्रतिक्रिया