हृदयमा मायाको प्रतिबिम्ब, मुहारमा सूर्यको प्रकाश

समाज परिवर्तनको चर्चा गर्दा हामी प्रायः ठूला क्रान्ति, आन्दोलन वा सरकारको निर्णय सम्झिन्छौं। तर परिवर्तनको वास्तविक यात्रा भने हाम्रा व्यक्तिगत हृदय र सोचबाट सुरु हुन्छ। जब हरेक व्यक्तिको हृदयमा मायाको प्रतिबिम्ब हुन्छ र उसका मुहारमा सूर्यको उज्यालो झल्किन्छ, त्यहीबेलादेखि समाज परिवर्तनको आशा पलाउँछ। प्रेम र उज्यालो न केवल मानसिक दृष्टिकोण हुन्, ती त समाज रूपान्तरणका आधारभूत तत्वहरू हुन्।

प्रकृतिबाट प्राप्त प्रेरणा

प्रकृति हाम्रो शिक्षक हो। एक बिहान म मर्निङ वाक्कमा निस्किएँ। बाटोमा पारीजातका सेता र पहेंला फूलहरू झरेका थिए। ती फूलहरूले आँखालाई मात्रै होइन, हृदयलाई पनि छोयो। ती फूल मौन थिए, तर उनीहरूले बोले—शान्ति, सरलता र निःस्वार्थताको भाषामा।

ती सुकोमल फूलहरूले सिकाए कि साँचो सौन्दर्य सादगीमा लुकेको हुन्छ। यिनले हामीलाई सम्झाउँछन् कि हाम्रो बोलीभन्दा पनि व्यवहारको प्रभाव गहिरो हुन्छ। जब हामी प्रकृतिका यस्ता शिक्षालाई आत्मसात् गर्छौं, तब हामीमा माया पलाउँछ र जीवनमा उज्यालो भरिन्छ।

समाजमा माया र उज्यालोको आवश्यकता

आज हाम्रो समाज हिंसा, घृणा, स्वार्थ र असहिष्णुताले ग्रस्त छ। यस्तो अवस्थामा प्रेम र सकारात्मक सोच आवश्यक औषधि हुन्। जब हृदयमा करुणा हुन्छ, तब व्यवहारमा नम्रता आउँछ। जब मुहारमा उत्साह हुन्छ, तब शब्दहरू प्रेरणादायी हुन्छन्।

सकारात्मक सोच र प्रेम बोकेको व्यक्ति जहाँ जान्छ, त्यहाँ आशा फैलिन्छ। यस्ता व्यक्तिहरूको व्यवहारले समाजका अन्य सदस्यलाई पनि प्रेरणा दिन्छ। यस्तो प्रेरणा एक घरबाट सुरु भएर सिङ्गो समुदायमा फैलिन सक्छ।

व्यक्तिगत जिम्मेवारी र सानो प्रयासको महत्व

हामी परिवर्तन चाहन्छौं, तर अरूबाट आशा गर्छौं। यथार्थमा परिवर्तनको सुरुवात हामी आफैँबाट हुनुपर्छ। हाम्रो सानो सहयोग, सत्य भाषण, इमानदार व्यवहार, र परोपकार गर्ने प्रवृत्तिले समाजमा ठूलो सकारात्मक प्रभाव पार्न सक्छ।

जब हामी वृद्धहरूलाई सम्मान गर्छौं, बच्चाहरूलाई माया दिन्छौं, अनि दुःखीलाई सहानुभूति देखाउँछौं, तब हामी एक उज्यालो समाजको निर्माण गर्दैछौं। यस्ता कार्यहरू ठूला भाषण वा कार्यक्रमभन्दा प्रभावकारी हुन्छन्।

समाज परिवर्तन केवल शासनसत्ताले ल्याउने होइन, त्यो त हाम्रो हृदयमा बसेको प्रेम र व्यवहारमा झल्किने उज्यालोबाट सुरु हुन्छ। जब हरेक व्यक्तिको मुहारमा सूर्यको उज्यालो हुन्छ , सकारात्मक सोच, सत्यता र प्रेरणाको प्रतीक अनि हृदयमा माया हुन्छ । दया, करुणा र सहिष्णुताको प्रतिबिम्ब  तब मात्र नयाँ र सुन्दर समाजको निर्माण सम्भव हुन्छ।

यसैले, परिवर्तनको कुरा अरूबाट होइन, आफैँबाट सुरु गरौँ। हाम्रा साना तर सच्चा कार्यहरू समाजमा गहिरो प्रभाव पार्न सक्छन्। हामी सबै मिलेर हृदयमा माया र मुहारमा उज्यालो लिएर अघि बढ्यौं भने, त्यो दिन टाढा छैन जब हाम्रो समाज साँच्चिकै समुन्नत, समावेशी र उज्यालो हुनेछ।