श्रमशास्त्रको ऐतिहासिक पृष्ठभूमि र विकासक्रम

पृष्ठभूमि
श्रम मानव जीवनको आधारभूत आवश्यकता र सभ्यताको मेरुदण्ड हो। प्रारम्भिक मानव समाजमा जीविकोपार्जनका लागि आवश्यक गतिविधिहरू-जस्तै सिकार, फलफूल संकलन, र झुपडी निर्माण नै श्रमको प्रारम्भिक स्वरूपलाई प्रतिनिधित्व गर्दथे। यिनै श्रमक्रियाकलापहरू क्रमशः विभाजन, व्यवस्थापन र मूल्याङ्कन हुँदै श्रमशास्त्रको बीजारोपणमा परिणत भए।

प्राचीन सभ्यताहरू-जस्तै मिस्र, मेसोपोटामिया, चीन, भारत र ग्रीस-मा श्रमसँग सम्बन्धित लेखाजोखा, निर्माणकार्य, प्रशासन र सेवा-शुल्कबारे उल्लेख पाइन्छ। विशेष गरी भारतमा ऋग्वेददेखि नै श्रमको सामाजिक स्थान र कर्म अनुसार वर्गीकरण गरिएको पाइन्छ, जसले पछि वर्णव्यवस्थाको आधार तयार गर्यो। यद्यपि त्यहाँ श्रमको गरिमा नभएर जातीय श्रेणीकरण प्रमुख थियो, जसले श्रमजीवी वर्गलाई हेय दृष्टिले हेर्ने परम्परा जन्मायो।

युनानी दार्शनिक प्लेटो र एरिस्टोटलले श्रमलाई तल्लो दर्जाको काम माने पनि रोमन साम्राज्यमा केही किसिमको श्रम-व्यवस्थापन प्रणाली अवश्य विकसित भएको थियो। मध्ययुगमा श्रमप्रति धार्मिक दृष्टिकोण प्रबल भयो, जसमा श्रमलाई पापमोचन र धार्मिक कर्तव्यका रूपमा हेर्ने प्रवृत्ति बढ्यो।

औद्योगिक क्रान्तिपछि श्रमको स्वरूप, मूल्य र व्यवस्थापनको अर्थव्यवस्थासँग प्रत्यक्ष सम्बन्ध स्थापित भयो। यसले श्रमिकको अधिकार, सँगठित आन्दोलन, श्रम कानुन र सामाजिक सुरक्षा जस्ता विषयहरूलाई सैद्धान्तिक र व्यवहारिक ढाँचामा विकास गर्यो, जसले आधुनिक श्रमशास्त्रको जग बसायो। श्रमशास्त्रलाई व्यवस्थित रुपमा अध्ययन गर्न निम्नानुसार बुँदामा विश्लेषण गरिएको छ।

१.श्रमशास्त्रको विकासक्रम

श्रमशास्त्रको विकास कुनै एकपटकमा भएको परिवर्तन होइन, यो मानव सभ्यताको प्रगतिसँगै क्रमिक रूपमा विस्तार भएको बहुआयामिक सामाजिक-आर्थिक अध्ययन हो। श्रमको व्यवस्थापन, मूल्याङ्कन, श्रमिकको अधिकार र सामाजिक सम्बन्धको अध्ययनक्रमले यसलाई व्यवस्थित "शास्त्र" को रूपमा रूपान्तरण गर्यो।

क. पूर्वऔद्योगिक युग:

पूर्वऔद्योगिक समाजहरूमा श्रम व्यक्तिगत वा सामुदायिक आधारमा सञ्चालन हुन्थ्यो। कृषिजन्य उत्पादन, हस्तकला, घरेलु उत्पादन र साना व्यापारमा आधारित श्रमले बजारभन्दा बढी आत्मनिर्भर प्रणालीमा काम गथ्र्यो। तर, श्रमशास्त्र भन्ने पृथक् ज्ञानशाखा अस्तित्वमा थिएन। श्रम नै जीवन थियो।
 

ख. औद्योगिक क्रान्ति (१८औँ-१९औँ शताब्दी):

ब्रिटेनबाट सुरु भएको औद्योगिक क्रान्तिले श्रमको स्वरूपमा ठुलो रुपान्तरण ल्यायो। मेशिनहरूको आगमनसँगै श्रमिकहरू कारखानामा केन्द्रित हुन थाले। लामो समय, न्यून पारिश्रमिक, असुरक्षित वातावरण र बालश्रमले गम्भीर सामाजिक समस्या सिर्जना गर्यो। यसले नै श्रमको अवस्थामाथि चिन्तन गर्ने सोच जन्मायो। यस अवधिमा कार्ल मार्क्स, एडम स्मिथ, फ्रेडरिक एंगेल्स, र रिकार्डो जस्ता चिन्तकहरूले श्रमको वर्गीय संरचना, मूल्य र शोषणबारे गहिरो अध्ययन गरे।

ग. श्रमिक आन्दोलन र ट्रेड युनियनको उदय:

१९औँ शताब्दीको अन्त्यतिर श्रमिकहरूले संगठित आन्दोलनहरू सुरु गरे। ट्रेड युनियन, सहकारी संस्था, हडताल, मागपत्र र श्रमिक सम्मेलनजस्ता माध्यमबाट श्रमिकले आफ्नो हकको आवाज उठाए। यसले श्रम-सम्बन्धी नीति निर्माणको आधार बनायो।

घ. २०औँ शताब्दी-श्रमशास्त्रको शास्त्रीय विकास:

यो शताब्दीमा श्रम व्यवस्थापन, मानव संसाधन विकास, सामाजिक सुरक्षा, श्रमिक मनोविज्ञान, श्रम कानुन, कामदार-नियोक्ता सम्बन्ध आदि विषयमा विश्वविद्यालयीय तहमा औपचारिक अध्ययन शुरू भयो। म्याक्स वेबर, टेलर, मेयो जस्ता विद्वानहरूले श्रमिक उत्पादकत्व, संगठन व्यवहार र मानव सम्बन्ध सिद्धान्त प्रस्तुत गरे।

ङ. अन्तर्राष्ट्रिय मञ्च र श्रम अधिकारको सुनिश्चितता:

सन् १९१९ मा स्थापना भएको International Labour Organization (ILO) ले श्रम अधिकारलाई अन्तर्राष्ट्रिय स्तरमा संस्थागत गर्यो। न्यूनतम ज्याला, कार्य घण्टा, सामाजिक सुरक्षाजस्ता विषयहरू अन्तर्राष्ट्रिय नीतिमा समावेश भए। यसले श्रमशास्त्रलाई नीतिगत रूपले अझै सुदृढ बनायो।

च. समकालीन चरण-ग्लोबलाइजेसन र डिजिटल श्रम:

२१औँ शताब्दीमा प्रविधिको विकासले श्रमको स्वरूप फेरिएको छ। गिग इकोनोमी, रिमोट वर्क, अटोमेसन, आर्टिफिसियल इन्टेलिजेन्सले पारम्परिक श्रमको अवधारणा चुनौतीमा पारिरहेका छन्। नयाँ किसिमका श्रम अधिकार, डेटा सुरक्षा, अनिश्चित रोजगार आदि विषयमा पुनर्विचार आवश्यक भएको छ।

२. श्रमशास्त्रका प्रमुख सिद्धान्तहरू र विचारकहरू

श्रमशास्त्र कुनै एकल चिन्तन प्रणाली होइन, यसले समाजशास्त्र, अर्थशास्त्र, मनोविज्ञान, राजनीतिक विज्ञान र व्यवस्थापनशास्त्रसँग अन्तर्क्रियात्मक सम्बन्ध राख्छ। यसमा योगदान गर्ने विचारकहरूका विविध दृष्टिकोणले श्रमिक, श्रमशक्ति र श्रम सम्बन्धलाई बुझ्ने गहिरा सिद्धान्तहरू विकास गरेका छन्।

क. कार्ल मार्क्स (Karl Marx) - वर्ग संघर्ष र श्रम शोषणको विश्लेषक:

मार्क्सको दृष्टिकोणमा श्रम उत्पादनको मूल आधार हो। उनले 'श्रमिक वर्ग' र 'पूँजीपति वर्ग' बीचको संघर्षलाई समाजको गतिशील शक्तिका रूपमा प्रस्तुत गरे। उनका अनुसार श्रमको मूल्य बराबर पारिश्रमिक प्राप्त नभएकाले श्रमिक शोषित हुन्छ। "Surplus Value" (अतिरिक्त मूल्य) को सिद्धान्तमार्फत पूँजीवादी प्रणालीमा श्रमिकको उत्पीडनको गहिरो व्याख्या गरियो।

ख. एडम स्मिथ - श्रम विभाजन र उत्पादकत्व:

आधुनिक अर्थशास्त्रका पिता मानिने स्मिथले श्रम विभाजन (Division of Labour) को अवधारणा प्रस्तुत गरे। उनको प्रसिद्ध उदाहरण 'पिन कारखाना' मा देखाइएको छ कि कसरी कार्य विभाजनले उत्पादकत्व बढाउँछ। तर, उनले श्रम शोषणको पक्षको आलोचना भने गरेनन्।

ग. फ्रेडरिक टेलर - वैज्ञानिक व्यवस्थापन

टेलरले उत्पादन क्षमतामा सुधार ल्याउन वैज्ञानिक पद्धति अपनाउने प्रस्ताव गरे। उनले 'एक सर्वोत्तम तरिका' (One Best Way) मार्फत कार्यकुशलता बढाउने उपाय दिए। यद्यपि, श्रमिकलाई 'मेसिन' सरह व्यवहार गरिनु, आत्मसम्मानको उपेक्षा आदि कारणले उनको सिद्धान्तको आलोचना पनि भयो।

घ. एल्टन मेयो - मानव सम्बन्ध सिद्धान्त

हथ्रोन अध्ययनमार्फत मेयोले देखाए कि श्रमिकको उत्पादकत्व केवल तलब वा कामको अवस्थाले होइन, सामाजिक सम्बन्ध र आत्मसम्मानले पनि निर्धारण हुन्छ। यसले श्रमशास्त्रमा मनोवैज्ञानिक पाटोलाई गहिरो महत्त्व दिन थालियो।

ङ. म्याक्स वेबर - औपचारिक संगठन र शक्ति सम्बन्ध

वेबरले अधिकार (Authority), नौकरशाही (Bureaucracy) र शक्ति सम्बन्धको अध्ययनमार्फत श्रम संस्था र त्यसको सञ्चालन प्रक्रियामा गहिरो प्रभाव पारे। उनले श्रमसँग जोडिएको "कानूनी-औपचारिक अधिकार संरचना" को महत्त्व देखाए।

च. जॉन मेनार्ड कीन्स - राज्यको भूमिका र रोजगारी सिद्धान्त:

कीन्सले सरकारको हस्तक्षेपबिना रोजगारी सुनिश्चित हुन नसक्ने तर्क दिए। 'Effective Demand' को सिद्धान्तद्वारा उनले श्रम बजारमा राज्यको सकारात्मक भूमिकाको वकालत गरे।

छ. अमर्त्य सेन - श्रम र क्षमताको दृष्टिकोण:

नोबेल विजेता सेनले मानवको क्षमताको विकास (Capability Approach) लाई श्रमशास्त्रको मूल विषय बनाउनु पर्ने तर्क गर्छन्। श्रमिकको सामाजिक-आर्थिक क्षमता, शिक्षा, स्वास्थ्य आदिको समग्र विकास विना श्रमशक्ति सशक्त हुँदैन भन्ने उनको मान्यता छ।

यी सिद्धान्तकारहरूको योगदानले श्रमशास्त्रलाई केवल पारिश्रमिक र उत्पादनको गणितभन्दा पर लैजाँदै श्रमिकको अधिकार, आत्मसम्मान, सामाजिक सुरक्षा र समानताको बहसमा पुर्याएको छ।

३. श्रम र समाजको सम्बन्ध

श्रम र समाजबीचको सम्बन्ध पारस्परिक, ऐतिहासिक र संरचनात्मक हुन्छ। कुनै पनि समाजको आर्थिक, सांस्कृतिक र राजनीतिक विकास श्रमशक्तिको योगदानबिना सम्भव छैन। समाजले श्रमिकलाई कामको अवसर दिन्छ भने श्रमिकले समाजको आधारभूत संरचना निर्माण गर्छ। तर यो सम्बन्ध सधैं समान, न्यायपूर्ण वा सहमतिको आधारमा नहुँदो रहेछ।

श्रम: समाजको आर्थिक मेरुदण्ड

श्रम बिना समाजको उत्पादन प्रक्रिया स्थगित हुन्छ। कृषि, उद्योग, सेवा, निर्माण, यातायात, सञ्चारदेखि हरेक क्षेत्रमा श्रमिकको भूमिका निर्णायक हुन्छ। समाजको आर्थिक वृद्धिदर श्रमिकको उत्पादन क्षमतामा निर्भर रहन्छ। तथापि, श्रमिकहरूलाई आफ्नो योगदानको न्यायोचित मूल्य प्राप्त नहुनु समाजको असमान संरचनाको द्योतक हो।

ख. सामाजिक वर्ग र श्रमको विभाजन

सामाजिक वर्ग विभाजन, जातीयता, लिंग, भाषा, धर्म जस्ता पक्षहरूले श्रमिक समुदायमा विभाजन सिर्जना गरेका छन्। इतिहासमा दलित, महिला, आदिवासी तथा कमजोर वर्गहरू श्रमको कठोरतम रूपमा सहभागी भए पनि उनीहरूको श्रमप्रति सम्मान र पारिश्रमिक न्यूनतम थियो। आज पनि सामाजिक भेदभाव श्रमिक अधिकारको मूल बाधक बनेको छ।

ग. श्रमको मूल्य र सामाजिक सम्मान

अक्सर शारीरिक श्रम (manual labour) गर्नेहरूलाई 'कम हैसियत' को दृष्टिले हेर्ने प्रवृत्ति विद्यमान छ। पसीना बगाएर जीवन निर्वाह गर्ने श्रमिकको श्रमलाई तुच्छ ठानिने संस्कार समाजमा गहिरो छ। यो मानसिकता नै श्रमप्रति अनादरको प्रमुख जड हो। आधुनिक समाजले श्रमलाई प्रतिष्ठासँग जोड्न नसकेसम्म श्रमिकको सम्मान स्थापित हुँदैन।

घ. श्रम र लैङ्गिक भेद

महिला श्रमिकहरू प्राय: दोहोरो-तेहोरो श्रम गर्छन्-घरेलु श्रम (जुन अक्सर अदृश्य हुन्छ), आर्थिक श्रम (कमजोर पारिश्रमिकमा) र प्रजनन श्रम। समाजले यी सबैलाई 'कर्तव्य' मानेर श्रमको रूपमा नमान्नु गम्भीर अन्याय हो। महिलाले गर्ने श्रमको अदृश्यता श्रमशास्त्रको समावेशी पुनर्परिभाषाको आवश्यकता औंल्याउँछ।

ङ. श्रम आन्दोलन र सामाजिक परिवर्तन

इतिहासभरि श्रमिकहरूले अधिकार प्राप्तिका लागि संघर्ष गरे-८ घण्टे कार्य समय, न्यूनतम पारिश्रमिक, यूनियन अधिकार, सामाजिक सुरक्षा, र श्रमको सम्मानको लागि। यी आन्दोलनहरूले केवल श्रमिकको जीवन मात्र होइन, समाजकै मूल्य-मान्यतालाई रुपान्तरण गरे। श्रम आन्दोलन सामाजिक न्यायको प्रमुख ऐतिहासिक साधन हो।

च. समाजमा श्रमिक चेतनाको भूमिका

श्रमिकहरूमा सामाजिक चेतना बढ्दा मात्र उनीहरू आफ्नो अधिकारको लागि लड्न सक्षम हुन्छन्। जबसम्म समाज श्रमप्रति सम्मानजनक दृष्टिकोण राख्दैन, तबसम्म श्रमिक चेतनाको अभाव हुने गर्छ। चेतनाले संगठन निर्माण गर्छ, संगठनले शक्ति दिन्छ र शक्तिले समाजलाई परिवर्तन गर्न सक्छ।

श्रम र समाजको सम्बन्ध केवल काम र उत्पादनको सम्बन्ध होइन-यो सम्मान, न्याय, समानता र अवसरको सम्बन्ध हो। समाज तब मात्र समुन्नत हुन्छ जब श्रमिकको श्रमलाई केवल 'उपयोग' होइन, 'सम्मान' का साथ हेरिन्छ।

४. श्रम र वर्गसंघर्षको दर्शन

श्रमशास्त्रको गहिरो अन्तर्यमा वर्गसंघर्षको दर्शन लुकेको छ। श्रम उत्पादनको मूल साधन हो भने वर्गसंघर्ष त्यो श्रममाथिको स्वामित्व, नियन्त्रण र शोषणसँग जोडिएको निरन्तर द्वन्द्व हो। विशेषतः औद्योगिक क्रान्तिपछि यो द्वन्द्व झन् स्पष्ट, तीव्र र निर्णायक रूपमा देखा पर्न थालेको हो।

क. मार्क्सवादी दृष्टिकोण

कार्ल मार्क्सको वर्गसंघर्ष सम्बन्धी विचार श्रमशास्त्रको राजनीतिक र आर्थिक अध्ययनमा अत्यन्त प्रभावशाली छ।

मार्क्सका अनुसार, समाज मुख्यतः दुई वर्गमा विभाजित छ-पुँजीपति वर्ग (जसले उत्पादनका साधनहरूलाई नियन्त्रण गर्छ) र श्रमजीवी वर्ग (जसले श्रम बेचेर जीविका चलाउँछ)।

श्रमको मूल्यभन्दा कम पारिश्रमिक दिइ श्रमिकहरूको श्रम शोषण गरेर पुँजीपति वर्ग नाफा आर्जन गर्छ।

मार्क्सले यो अवस्थालाई 'अतिशोषण' र यसका विरुद्ध श्रमिक क्रान्तिको आवश्यकता औंल्याएका थिए।

ख. श्रम-शोषणको ऐतिहासिक निरन्तरता

सामन्तवादी समाजमा किसान र खेताला श्रमिकलाई जमिनदारहरूले शोषण गर्थे।

औद्योगिक युगमा कारखाना मालिकहरूले श्रमिकलाई न्यून पारिश्रमिक र लामो कामघण्टा दिई शोषण गरे।

आजको पूँजीवादी बजारमा यो शोषण अझ सूक्ष्म, लुकेको र वैधानिक रूपमा जारी छ-ठेक्का श्रमिक, अस्थायी कामदार, न्यून पारिश्रमिक, सामाजिक सुरक्षा अभाव आदि रूपमा।

ग. वर्गसंघर्षको वर्तमान रूप

समाजमा आज पनि सुकिला लुगा लगाउने, महँगो गाडी चढ्ने वर्ग र बिहानदेखि बेलुका पसिना बगाउने श्रमिक वर्गबीच मौन युद्ध चलिरहेको छ।

श्रम-पूँजी द्वन्द्व अब बहुराष्ट्रिय कम्पनी, प्राविधिक नियन्त्रण, वित्तीय नीतिमा देखा पर्दछ।

मानव अधिकार र श्रमिक अधिकार संस्थागत भए जस्तो देखिए पनि व्यवहारमा श्रमिकलाई दोहोरो शोषण भइरहेको छ-कानूनी र संरचनात्मक रूपमा निरुपण गरिए पनि शोषण फरक रुपमा भैरहेको छ।

घ. वर्गसंघर्ष र श्रमिक आन्दोलनहरू

सन् १८८६ को अमेरिकी हे मार्केट विद्रोहदेखि लिएर २० औं शताब्दीका मजदुर संघ आन्दोलन, सोभियत क्रान्ति, चीनको श्रमकेन्द्रित क्रान्ति, दक्षिण एसियामा देखिएका श्रमिक आन्दोलनहरू-यी सबै वर्गसंघर्षकै प्रतिबिम्ब हुन्।

नेपालमा पनि २००७ सालपछिको राजनीतिक परिवर्तन र २०४६ पछि श्रमिक युनियनको उदयले वर्गसंघर्षलाई संगठनात्मक रूप दिएको छ। यद्यपि धेरैजसो आन्दोलन राजनीतिक स्वार्थमा प्रयोग भए।

श्रम बिना सभ्यता बाँच्न सक्दैन, तर श्रमिकले सधैं विभेद र शोषण झेल्नुपरेको छ। वर्गसंघर्ष मानव इतिहासको मूलधार हो, जसले श्रमको मूल्य, सम्मान र न्यायका लागि निरन्तर संघर्ष गरेको छ। श्रमिकको मुक्ति कुनै करुणा वा दया होइन-त्यो ऐक्यबद्धता, चेतना र प्रतिरोधद्वारा मात्र सम्भव छ।

५. श्रम र आधुनिक प्रविधिको प्रभाव

२१औं शताब्दीमा मानव श्रमको स्वरूपमा आमूल परिवर्तन ल्याउने प्रमुख कारक भनेकै प्रविधिको तीव्र विकास हो। उद्योग, सेवा, कृषि, यातायात, सञ्चार, शिक्षादेखि स्वास्थ्य क्षेत्रसम्म प्रविधिले श्रमको आवश्यकतालाई नयाँ मोड दिएको छ।

क. यन्त्रिकरण र श्रमको पुनःपरिभाषा

औद्योगिक युगमा मानिसको श्रमलाई यन्त्रले प्रतिस्थापन गर्न थालेको परिवर्तन अहिले कृत्रिम बुद्धिमत्ता (AI), रोबोटिक्स, डिजिटल प्रणाली, स्मार्ट मेसिन, सफ्टवेयर अटोमेसन जस्ता प्रविधिहरूको माध्यमबाट चरम सीमामा पुगेको छ।
 

परम्परागत हातले गर्ने श्रमको ठाउँमा अब प्रविधि आधारित व्यवस्थापन, डेटा विश्लेषण, र बौद्धिक श्रमको आवश्यकता बढेको छ। यसले शारीरिक श्रमको अवसर घटाएको छ भने, प्रविधि-साक्षरता नभएका श्रमिकहरूलाई बेरोजगारीमा धकेलेको छ।

ख. प्रविधिले सिर्जना गरेको दुईधारो अवस्था

एकातिर प्रविधिले सजिलो, छिटो, र सस्तो उत्पादन सम्भव बनाएको छ,

अर्कातिर यो नै प्रविधिले मानव श्रमको अवमूल्यन, कौशल विस्थापन, र श्रम बजारको असमानता उत्पन्न गराएको छ। अब 'काम' गर्न सक्ने होइन, 'प्रविधि बुझ्न सक्ने' श्रमिक चाहिन्छ-यसले श्रमिक वर्गको नयाँ विभाजन जन्माएको छ।

ग. गिग इकोनोमी र श्रमको अस्थायीकरण

प्रविधिको कारण जन्मिएको गिग इकोनोमी (Gig Economy) जस्तै: Uber, Food Delivery, Freelancing Platform आदि । यी सेवामा श्रमिकले 'स्थायी जागिर' होइन, 'आंशिक वा करारमा आधारित काम' पाउँछन्।
यसले पारिश्रमिकमा अनिश्चितता, सामाजिक सुरक्षाको अभाव, र श्रमिक अधिकारको क्षरण निम्त्याएको छ। यस्तो लचिलो तर असुरक्षित श्रम व्यवस्था आजको समयको प्रमुख चिन्ताको विषय बनेको छ।

ङ. प्रविधि र श्रमको लैङ्गिक विभाजन

प्रविधिमा आधारित श्रम क्षेत्रहरूमा अझै पनि महिलाको सहभागिता न्यून छ। डिजिटल पहुँच, सीप अभाव, सामाजिक पूर्वधारका कारण महिलाहरू श्रम बजारमा पछाडि पारिएका छन्। प्रविधिले उत्पन्न गरेको यो नयाँ डिजिटल विभाजन पनि श्रम क्षेत्रको असमानताको अर्को रूप हो।

च. भविष्यको श्रम र मानव चेतना

प्रविधिले पुराना काम हराउँदै नयाँ किसिमका काम जन्माइरहेको छ: डेटा एनालिस्ट, साइबर सुरक्षा विशेषज्ञ, क्लाउड इन्जिनियर, डिजिटल मार्केटर, AI प्रशिक्षक आदि। अबको श्रमिकले नयाँ प्रविधि सिक्न, अनुकूल हुन, र पुनःतालीम लिनुपर्ने अनिवार्यता रहेको छ।

प्रविधिको दास बन्ने होइन, प्रविधिको प्रयोगकर्ताको हैसियत बनाउन सक्ने चेतनशील श्रमशक्ति निर्माण गर्नु अहिलेको युगको आवश्यकता हो। प्रविधिले श्रमलाई गति, दक्षता र सृजनशीलता दिएको छ तर साथसाथै असुरक्षा, विभाजन र विस्थापन पनि ल्याएको छ। यस्तो अवस्थामा श्रमशास्त्र अब प्रविधि-श्रम सम्बन्धको अध्ययन बिना अपूरो हुनेछ। प्रविधिसँग सहकार्य गर्ने, तर श्रमिक अधिकार गुम्न नदिने चेतनशील प्रणाली निर्माण गर्नु आजको चुनौती हो।

६. श्रम र महिलाको भूमिकाः लिंगीय विश्लेषण

श्रमशास्त्रमा लिङ्गको सवाल एक अत्यन्तै महत्वपूर्ण र बहस योग्य पक्ष हो। इतिहासदेखि वर्तमानसम्म महिलाले श्रम क्षेत्रमा खेलेको भूमिकालाई संस्थागत संरचनाहरूले प्रायः अदृश्य बनाउँदै आएको छ। महिलाको श्रमशक्ति सदैव 'सहाय' या 'गृहकाज' मा सीमित ठानिएको छ, जसले लिंगीय विभेदको गहिरो संरचना निर्माण गरेको छ।

क. ऐतिहासिक पृष्ठभूमि र महिलाको अदृश्य श्रम

परम्परागत समाजमा महिलाको श्रम गृहकार्य, बालबाहेक, कृषि श्रम, पानी बोक्ने, इन्धन संकलन, आदिमा सीमित थियो। तर यसलाई "काम" होइन "कर्तव्य" को रूपमा बुझियो। श्रमको परिभाषा नै पुँजीवादी दृष्टिकोण मा आधारित हुँदा महिलाको योगदान अदृश्य बनाइयो।

उन्नाइसौं शताब्दीतिर औद्योगिक क्रान्तिपछि महिला मजदूरहरू कारखानाहरूमा पुगे पनि, उनीहरूलाई न्यून पारिश्रमिक, बढी काम घण्टा, र असुरक्षित वातावरणमा राखियो।

ख. पुँजीवाद र महिलाको दोहोरो श्रम

पुँजीवादले महिलालाई सस्तो श्रमका रूपमा प्रयोग गर्यो-बाहिर काम गरेर पनि भित्रको गृहकार्य उनकै जिम्मेवारी रह्यो। "Double burden" (दुई गुणा श्रम)-घरको काम + तलब लिएर गर्ने काम-महिलाको जीवनशैली बन्यो। महिलाको श्रम सुलभ, निरीह, र कहिल्यै प्रश्न नगर्ने ठानियो।

ग. आधुनिक श्रम बजार र लिङ्गीय असमानता

औपचारिक श्रम क्षेत्रमा महिलाको सहभागिता बढेको भए पनि पारिश्रमिक, पदोन्नति, नेतृत्व र अवसरमा गम्भीर असमानता व्याप्त छ। नेपालमा औसत महिलाले पुरुषको तुलनामा झन्डै ३०% कम पारिश्रमिक पाउँछिन्। STEM (विज्ञान, प्रविधि, इञ्जिनियरिङ, गणित) क्षेत्रमा महिलाको सहभागिता अझै नगण्य छ।

प्रजनन, मातृत्व, र पारिवारिक जिम्मेवारीलाई कारण देखाएर महिलालाई 'कम योग्य' ठहरिने प्रवृत्ति आज पनि कायमै छ।

घ. अनौपचारिक श्रम र महिलाको दोहोरो उत्पीडन

घरेलु कामदार, ईँटाभट्टा, होटल-क्याफे, गार्मेन्ट, खेतिपातीमा लाग्ने महिला श्रमिकहरू न त सामाजिक सुरक्षा पाउँछन्, न त कानुनी संरक्षण।
दैहिक, मानसिक शोषण र यौन हिंसाको जोखिम तीव्र हुन्छ। अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) ले यस्तो श्रमलाई "भुलिएको श्रम शक्ति" भनेको छ।

ङ. लिङ्गीय समावेशीताको दिशामा पहलहरू

पछिल्लो समय, विभिन्न देशहरूले श्रम ऐन, कार्यस्थलमा लैङ्गिक समानता, मातृत्व अवकाश, यौनहिंसा विरुद्धका नीति ल्याएका छन्। तर कार्यान्वयनमा खुकुलोपन, सामाजिक पूर्वाग्रह, र संरचनात्मक बाधाहरू अझै छँदै छन्। महिलाको श्रमको मूल्यांकन आर्थिक मात्र नभई सामाजिक, मनोवैज्ञानिक, र सांस्कृतिक रूपमा गर्नुपर्ने आवश्यकता छ।

श्रम र लिङ्गको सम्बन्ध कुनै निजी प्रश्न होइन, यो सामाजिक र संरचनात्मक विषय हो। महिलाको श्रमलाई "सहाय" होइन "अवधारणात्मक परिवर्तन" को दृष्टिले हेर्ने हो भनेमात्र लिङ्गीय न्याय सम्भव हुन्छ। श्रमशास्त्रले अब 'लिङ्ग-न्याययुक्त श्रम संरचना' का मोडेलहरू तयार गर्न सक्नुपर्छ।

७. श्रम र अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको विकास

अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको इतिहास एउटा लामो र संघर्षपूर्ण यात्रा हो जसले श्रमिक वर्गको अधिकार र सम्मानको लागि लडाइँ लडेको छ। श्रमिक आन्दोलन र संघर्ष केवल एक राष्ट्रसम्म सिमित नभएर अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा फैलिएको छ, जहाँ विभिन्न देशहरूको श्रमिकहरूले साझा समस्याहरू र उद्देश्यहरूका लागि संघर्ष गरेका छन्। यस खण्डमा हामी श्रमिक आन्दोलनको इतिहास र यसका विभिन्न अवस्थाहरूलाई विश्लेषण गर्नेछौं, जसले श्रमिक वर्गको स्थितिमा परिवर्तन ल्याएको छ।

क. प्रारम्भिक श्रमिक आन्दोलन र औद्योगिक क्रान्ति

औद्योगिक क्रान्तिको आरम्भसँगै श्रमिकहरूको स्थिति बिग्रियो। १८औं शताब्दीको अन्त्य र १९औं शताब्दीको शुरुवातमा, यूरोपका औद्योगिक शहरहरूमा श्रमिकहरूले घण्टामा लामो समय काम गर्ने, कम पारिश्रमिक, र अस्वास्थ्यकर वातावरणका कारण असह्य परिस्थितिहरूमा काम गर्न थाले। यस समयमा श्रमिकहरूका लागि कुनै पनि श्रम कानून छैन, र उनीहरूको अधिकारको संरक्षणका लागि आन्दोलनहरूको शुरुवात भयो।

ख. श्रमिक आन्दोलन र मजदूर संघहरूको स्थापना

१८३० को दशकमा फ्रान्स र बेलायतमा श्रमिक संगठनहरूको स्थापना सुरु भयो। यी संगठनहरूले पारिश्रमिक सुधार, कार्य घण्टाको सीमितीकरण, र कार्यस्थलमा सुरक्षाका लागि माग राख्न थाले। अन्तर्राष्ट्रिय श्रमिक संगठन (International Workingmen's Association) को स्थापना १८६४ मा भयो, जसले विभिन्न मुलुकका श्रमिकहरूको साझा आवाजलाई एकत्रित गर्यो।

यद्यपि, राजनीतिक र लिङ्गीय विभेदका कारण संगठनहरूबीच विभाजन पनि भयो। खासगरी, मार्क्सवादी विचारधारा र अन्य वामपन्थी धाराहरूको प्रभावमा आएका थिए ।

ग. मार्क्सवाद र श्रमिक आन्दोलन

कार्ल मार्क्स र फ्रेडरिक एंगेल्स का विचारले श्रमिक आन्दोलनमा ठूलो प्रभाव पारेको छ। मार्क्सवादका अनुसार, श्रमिक वर्ग र पूंजीपति वर्गको संघर्ष नै समाजको प्रमुख संघर्ष हो, जसले इतिहासको धारा तय गर्छ। मार्क्स र एंगेल्सले श्रमिक वर्गको उत्थानका लागि अन्तर्राष्ट्रिय एकता र प्रलेतारियट क्रान्तिको विचार प्रस्तुत गरे।

यस विचारधाराले विशेष गरी रूस, जर्मनी, र फ्रान्समा व्यापक प्रभाव पारे र यसलाई अगाडि बढाउने श्रमिक संगठनहरू र दलहरू स्थापित भए।

घ. अन्तर्राष्ट्रिय श्रमिक दिवस (May Day) को स्थापना

१ मे, १८८६ मा अमेरिका, शिकागोमा श्रमिकहरूले ८ घण्टा कामको अधिकारको लागि प्रदर्शन गरे। यस आन्दोलनको परिणाम स्वरूप शिकागोमा हेमार्केट बम विस्फोट भयो जसले श्रमिक संघर्षलाई अन्तर्राष्ट्रिय रुपमा परिचित गरायो।

१८८९ मा पेरिसको अन्तर्राष्ट्रिय श्रमिक महासभामा १ मेलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको रूपमा मनाउने निर्णय गरियो। यस दिनलाई विश्वभरका श्रमिक संगठनहरूले श्रमिक अधिकार र मानवाधिकारका लागि संघर्षको प्रतीकको रूपमा मनाउँछन्।

ङ. श्रमिक अधिकार र कानूनी सुधार

१९औं शताब्दीको अन्त्य र २०औं शताब्दीको शुरुवातमा, श्रमिक आन्दोलनले कार्य घण्टा घटाउने, पारिश्रमिक सुधार, बालश्रम निषेध, र सामाजिक सुरक्षाका लागि कानूनी सुधार ल्याउन महत्त्वपूर्ण भूमिका खेल्यो।

अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को स्थापना १९१९ मा संयुक्त राष्ट्र संघको अंगको रूपमा श्रमिक अधिकारको संरक्षण र प्रवर्द्धनका लागि भयो।
ILO ले श्रमिकहरूको जीवनस्तर सुधार्नका लागि विभिन्न कन्वेन्सन र सम्झौताहरू ल्यायो।

च. आधुनिक श्रमिक आन्दोलन र चुनौतीहरू

आजको समयमा, वैश्वीकरण, औद्योगिकीकरण, र नव-उदारीकरणका कारण श्रमिकहरूको स्थिति अझ पेचिलो भएको छ। सस्तो श्रम बजार र असमान वितरणले श्रमिक वर्गको शोषणलाई अझ बढाएको छ।

अनौपचारिक श्रम क्षेत्र, जसमा महिलाहरू, बालबालिका र आप्रवासी श्रमिकहरूको शोषण हुन्छ, प्रमुख चुनौतीको रूपमा उभिएको छ। साथै, प्रविधिक परिवर्तन र स्वचालनले पारम्परिक श्रमिकहरूको भूमिकामा फेरबदल ल्याएको छ।

छ. श्रमिक आन्दोलनका प्रमुख नेतृत्व र ऐतिहासिक घटनाहरू

विश्वभरका प्रमुख श्रमिक नेता जस्तै सामुअल गोम्पर (अमेरिका), रोजा लक्जेम्बर्ग (जर्मनी), जोसेफ स्टालिन (रूस) आदि, श्रमिक अधिकारका लागि नेतृत्व दिएका थिए। साथै, २० औं शताब्दीका विभाजन र संघर्षले श्रमिक आन्दोलनमा सामाजिक न्याय र समानताका मूल मुद्दा प्रस्तुत गराएका छन्।

अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनले श्रमिक वर्गको उत्थानका लागि संघर्ष गर्दै आएका छन्। यसको इतिहास संघर्ष र सफलता, असफलता र निरन्तर प्रयासहरूको कडी हो। आज पनि श्रमिक आन्दोलन विश्वभरका असमानताका विरुद्ध संघर्ष गर्दैछ र श्रमिक अधिकारको प्रबर्धनको लागि परिवर्तन आउने हो, त्यति नै महत्वपूर्ण हुनेछ। शोषणको विरुद्धको यो संघर्ष निरन्तर जारी रहन्छ।

८. श्रम र नवउदारीकरण: चुनौतिहरू र अवसरहरू

नवउदारीकरण एक आर्थिक नीति हो जसले बजारलाई स्वतन्त्र, प्रतिस्पर्धात्मक, र खुला बनाउने प्रयास गर्दछ। यसको मुख्य उद्देश्य व्यापार र उद्योगका लागि सरकारी हस्तक्षेपलाई घटाउँदै निजी क्षेत्रको प्रतिस्पर्धात्मकता र आर्थिक विकासलाई प्रोत्साहन गर्नु हो। तर, यसले श्रमिक वर्गका लागि विभिन्न चुनौतीहरू पनि ल्याएको छ। नवउदारीकरणको प्रभावले श्रमिक वर्गमा ल्याएका परिवर्तनहरू, र यसका अवसरहरू र समस्याहरू निम्नानुसार छन्:

क. नवउदारीकरण र श्रमिक वर्गको चुनौतीहरू

नवउदारीकरणको मुख्य तत्व भनेको बजारलाई खुला बनाउनु हो। यसले विश्वभरका श्रमिकहरूको स्थिति र जीवनस्तरमा गम्भीर प्रभाव पार्न थालेको छ। त्यसका केही मुख्य चुनौतीहरू निम्नलिखित छन्:

नोकरीहरूको अनौपचारिककरण: नवउदारीकरणको कारण धेरै औद्योगिक र सरकारी क्षेत्रका स्थायी रोजगार घटेका छन्। स्थानमा अस्थायी, ठेकेमा आधारित, र अनौपचारिक रोजगारका अवसरहरू बढेका छन् जसले श्रमिकको सामाजिक सुरक्षा र स्थायीत्वलाई संकटमा पारेको छ।

श्रमको सस्तोकरण: विश्वव्यापी प्रतिस्पर्धा र सस्तो श्रमको खोजीले श्रमिकहरूको पारिश्रमिक र कामकाजी अवस्था कमजोर बनाएको छ। उद्योगहरू सस्तो श्रम प्राप्त गर्न विकासशील देशहरूमा पूंजी लगानी गर्दै छन्, जसले श्रमिकको शोषणलाई बढाएको छ।

व्यवसायिक असुरक्षा: नवउदारीकरणले औद्योगिक क्षेत्रमा स्थायित्व र सुरक्षा कम गरेको छ। श्रमिकहरूले कामको असुरक्षा र भोलिका लागि कुनै ग्यारेन्टी नगरी काम गर्नु परेको अवस्था सृजना भएको छ।

सामाजिक अधिकारहरूको कटौती: निजीकरण र सार्वजनिक सेवाहरूको विकेन्द्रीयकरणसँगै श्रमिकहरूको सामाजिक अधिकारहरूमा कटौती भएको छ, जस्तै शिक्षा, स्वास्थ्य सेवा, र पेंशन योजनाहरू। यसले श्रमिक वर्गको जीवनस्तरमा गिरावट ल्याएको छ।

ख. नवउदारीकरण र श्रमिक अधिकारहरूको संरक्षण

नवउदारीकरणको चुनौतिहरूसँगै, श्रमिक अधिकारहरूको संरक्षणका लागि विभिन्न कदमहरू पनि उठाइएको छ:

अन्तर्राष्ट्रिय श्रमिक कानूनी संरचनाहरू: यद्यपि नवउदारीकरणले देशका भित्री श्रमिक कानूनी संरचनाहरूलाई चुनौती दिएको छ, अन्तर्राष्ट्रिय श्रमिक संगठन (ILO) जस्ता संस्थाले श्रमिक अधिकारहरूको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको छ।

समाजसेवी र श्रमिक आन्दोलनहरूको प्रबर्धन: श्रमिक आन्दोलन र श्रमिक संगठनहरूले नवउदारीकरणका नकारात्मक प्रभावहरूको विरुद्ध संघर्ष जारी राखेका छन्। यस संघर्षको परिणामस्वरूप श्रमिकका लागि सुधारात्मक कदमहरू लिइएका छन्, जस्तै मिनिमम वेज कानून, कार्य घण्टा घटाउने नियमहरू, र कामकाजी सुरक्षा।

साझा बजार र श्रमिक एकता: विशेष गरी युरोप र एसियाका विभिन्न देशहरूमा श्रमिक संघहरूले साझा बाजारको अवधारणामा आधारित श्रमिक एकता निर्माण गरेका छन् जसले श्रमिक अधिकारहरूको संरक्षणमा थप बल पुर्याएको छ।

ग. नवउदारीकरण र अवसरहरू

यद्यपि नवउदारीकरणले श्रमिक वर्गका लागि चुनौतीहरू ल्याएको छ, यसका केही अवसरहरू पनि छन्:

नयाँ रोजगारका अवसरहरू: नवउदारीकरणले केही नयाँ उद्योगहरूको सृजन गरेको छ जसले श्रमिक वर्गलाई रोजगारका नयाँ अवसरहरू प्रदान गरेको छ। प्रविधि र सूचना क्षेत्रको विकासले युवाहरूका लागि नयाँ रोजगार सिर्जना गरेको छ।

श्रमको क्षमता वृद्धि: नवउदारीकरणका क्रममा प्रविधिको प्रयोग र दक्षता वृद्धिका कारण श्रमिकहरूको क्षमता र दक्षतामा वृद्धि भएको छ। यसले श्रमिक वर्गलाई नयाँ सीपहरू प्राप्त गर्नका लागि अवसर दिन्छ।

वैश्वीकरण र बजार विस्तार: वैश्वीकरणका कारण श्रमिकहरूको कार्यक्षेत्र र अवसरहरू अन्तर्राष्ट्रिय रूपमा फैलिएका छन्। यसले श्रमिकलाई अझ बढी प्रतिस्पर्धात्मक र विविध बजारमा काम गर्ने अवसर दिन्छ।

घ. श्रमिक संगठनहरूको भूमिका

नवउदारीकरणको क्रममा श्रमिक संगठनहरू र संघहरूको भूमिका महत्त्वपूर्ण बनेको छ। यी संगठनहरूले श्रमिकका अधिकारहरूको संरक्षण र हकको सुनिश्चितता गर्न संघर्ष गरेका छन्। श्रमिक संगठनहरूको उद्देश्य भनेको श्रमिकहरूको लागि योग्य र उपयुक्त कार्य स्थितिहरू सुनिश्चित गर्नु, पारिश्रमिकमा सुधार ल्याउनु, र भोलिका लागि सुरक्षा सुनिश्चित गर्नु हो।

संगठनहरूको अन्तर्राष्ट्रिय एकता: नवउदारीकरण र वैश्वीकरणले श्रमिक संगठनहरूलाई अन्तर्राष्ट्रिय एकतामा ल्याउने अवसर प्रदान गरेको छ। विभिन्न देशका श्रमिकहरू बीच साझा संघर्ष र उद्देश्यका लागि एकजुट हुन सक्षम भएका छन्।

सार्वजनिक अभियानहरू: श्रमिक संगठनहरूले आफ्ना सदस्यहरूको अधिकारका लागि अभियान चलाएका छन् र सरकारसँग श्रमिक कानूनको पालन गराउन दबाब बनाएका छन्।

प्रविधिको प्रभाव: नयाँ प्रविधिको प्रयोगसँगै श्रमिक संगठनहरूले डिजिटल प्लेटफर्महरूमा संगठन निर्माण गरेका छन् र श्रमिक वर्गका लागि अधिक अधिकारहरू हासिल गर्ने प्रयास गरेका छन्।

नवउदारीकरणले श्रमिक वर्गको जीवनमा ठूलो प्रभाव पारेको छ। यसको नकारात्मक पक्षमा पारिश्रमिकमा गिरावट, कामको असुरक्षा, र सामाजिक अधिकारहरूको कटौती जस्ता चुनौतीहरू रहेका छन् भने सकारात्मक पक्षमा नयाँ रोजगारका अवसरहरू, दक्षताको वृद्धिदेखि नयाँ सीपका अवसरहरू छन्। यसले श्रमिक संगठन र अन्तर्राष्ट्रिय सहयोगको महत्त्वलाई पनि प्रकट गरेको छ। श्रमिक वर्गका लागि चुनौतीपूर्ण भए पनि, नवउदारीकरणले अवसरहरूको नयाँ ढोका खोल्न सक्ने सम्भावना पनि बनाएको छ। यसका नतिजास्वरूप, श्रमिक आन्दोलन र संगठनले अझ प्रभावकारी रूपमा भविष्यमा सुधारात्मक उपायहरू ल्याउने अपेक्षा राख्न सकिन्छ।

९. आधुनिक श्रम बजार र नेपाल

नेपालको श्रम बजार आजको विश्वव्यापी अर्थतन्त्रसँग जोडिएको छ। भूमण्डलीकरण, प्रविधि, शैक्षिक विस्तार र श्रमिक आप्रवासनले नेपाली श्रम बजारको रूपान्तरणमा गहिरो प्रभाव पारेका छन्। तथापि, यो रूपान्तरणले सबै श्रमिकलाई समावेश गरेको छैन। असमानता, बेरोजगारी, श्रमशोषण र संरचनात्मक कमजोरी अझै पनि विद्यमान छन्।

क. श्रम बजारको दुईमुखी स्वरूप

नेपालमा श्रम बजार दुईवटा धारामा विभाजित छ- औपचारिक र अनौपचारिक । औपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूलाई केही हदसम्म पारिश्रमिक, सुविधा र सामाजिक सुरक्षा सुनिश्चित गरिएको भए पनि
८०% भन्दा बढी श्रमिक रहेका अनौपचारिक क्षेत्रमा ती सबै सुविधा र सुरक्षाबाट वञ्चित छन्।

ख. वैदेशिक रोजगारमा निर्भरता

नेपालको श्रम बजारको विशेषता भनेकै वैदेशिक रोजगारी हो। करोडौं नेपाली युवा खाडी मुलुक, मलेसिया, कोरिया, जापान र अन्यत्र रोजगारीमा छन्। तिनीहरूले पठाउने विप्रेषण (remittance) अर्थतन्त्रको मेरुदण्ड बनेको छ।
तर त्यसको मूल्य अत्यन्त महँगो छ-मानव तस्करी, श्रम शोषण, अपमानजनक जीवनस्तर र कहिलेकाहीँ त मृत्यु समेत।

ग. आन्तरिक श्रम बजारको संकट

नेपालभित्रको श्रम बजार कमजोर र विसङ्गतिपूर्ण छ। श्रमको सम्मान छैन, पारिश्रमिक न्यून छ, र श्रमिक अधिकारको कार्यान्वयन कमजोर छ। उद्योग, कृषि, निर्माण, पर्यटन जस्ता क्षेत्रमा श्रमिकको कमी होइन, श्रमको अवमूल्यन प्रमुख समस्या हो। युवा वर्ग विदेश पलायन हुँदा आन्तरिक श्रमशक्ति संकटग्रस्त हुँदै गएको छ।

घ. प्राविधिक दक्षता र शिक्षा-श्रम अन्तरविरोध

नेपालको शैक्षिक प्रणाली र श्रम बजारबीच समन्वय छैन। शिक्षित युवाहरू बेरोजगार छन्, र व्यवसायिक तालिम नपाएका कारण अधिकांश युवा कामको प्रतिस्पर्धामा कमजोर छन्। दक्ष जनशक्तिको माग बढ्दो छ, तर उत्पादन न्यून छ-नतिजा स्वरूप आयातमुखी श्रम बजार सिर्जना भएको छ।

ङ. श्रम ऐन र नीति कार्यान्वयनको अभाव

नेपालमा श्रमिक हितका लागि विभिन्न श्रम ऐनहरू (जस्तै श्रम ऐन २०७४) बनेका छन्, तर व्यवहारमा कार्यान्वयन अत्यन्त कमजोर छ। श्रमिकबीच ट्रेड युनियनहरू छन्, तर ती प्राय: राजनीतिक रूपमा प्रयोग हुने गर्छन्। श्रमिक र रोजगारदाताबीचको समन्वय स्थायी छैन।

नेपालको आधुनिक श्रम बजार विरोधाभासहरूको बजार हो-जहाँ युवाको उर्जा निर्यात हुन्छ, तर देशभित्र श्रमको सम्मान र समुचित उपयोग हुँदैन। श्रम बजारको संरचनात्मक सुधार, नीतिगत प्रतिबद्धता, व्यावसायिक शिक्षा र श्रमिक अधिकारको पूर्ण कार्यान्वयनले मात्र नेपाली श्रम बजारलाई न्यायोचित, समावेशी र दिगो बनाउन सकिन्छ।

सन्दर्भ-सूची
श्रेष्ठ, डा. सुरेन्द्र। श्रमशास्त्र र व्यवस्थापन. काठमाडौं: विद्या पब्लिकेशन, २०७१।

अधिकारी, राजेन्द्र। नेपालको श्रमिक आन्दोलनको इतिहास. काठमाडौं: प्रगतिशील प्रकाशन, २०७५।

ह्यारी ब्रेभरम्यान - लेबर एण्ड मोनोपली क्यापिटल: द डिग्रेडेसन अफ वर्क इन द ट्वेन्टिएथ सेन्चुरी

Harry Braverman - Labor and Monopoly Capital: The Degradation of Work in the Twentieth Century. New York: Monthly Review Press, 1974.

कार्ल मार्क्स - दास क्यापिटल (पूँजी)
Karl Marx - Capital: Critique of Political Economy, Volume I. Trans. Ben Fowkes, London: Penguin Classics, 1990.

अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) - विश्व रोजगारी र सामाजिक दृष्टिकोण: प्रवृत्ति २०२३

International Labour Organization (ILO) - World Employment and Social Outlook: Trends 2023. Geneva: ILO Publications, 2023.

मिल्टन फ्रिडम्यान - पूँजीवाद र स्वतन्त्रता
Milton Friedman - Capitalism and Freedom. Chicago: University of Chicago Press, 1962.

कार्ल पोलान्यी - द ग्रेट ट्रान्सफर्मेसन: द पोलिटिकल एण्ड इकनॉमिक ओरिजिन्स अफ आवर टाइम

Karl Polanyi - The Great Transformation: The Political and Economic Origins of Our Time. Boston: Beacon Press, 2001.

राष्ट्रिय एंव अन्तर्राष्ट्रिय वेव जर्नलहरु