कान र मुटु नभएको गधाको कथा

पञ्चतन्त्रमा एउटा मूर्ख गधाको बारेमा रोचक कथा छ। एक पटक एउटा सिंह हातीसँग भएको लडाइँमा गम्भीर रूपमा घाइते भयो। सिकार गर्नु त टाढाको कुरा, सिंह राम्ररी हिँड्नसमेत नसक्ने अवस्थामा पुग्यो। सिंह भोकले आकुल-व्याकुल बन्न थाल्यो। सिंहको एउटा सेवक स्याल थियो। सिंहले स्याललाई भन्यो - "मैले यो अवस्थामा समेत सिकार गर्न सक्ने कुनै जनावर खोज्, नत्र हामी दुबै भोकले मर्छौं।"
स्याल त्यस्तो जनावरको खोजीमा जंगलमा घुम्न थाल्यो। जंगलको किनारमा, गाउँको छेउमा एउटा गधा फेला पर्यो। स्यालले गधालाई भन्यो - "मामा, तपाईं साँच्चै दुब्लो-पातलो देखिनुहुन्छ। के भयो यस्तो ?"
गधाले जवाफ दियो - "म एउटा धोबीको काम गर्थें। धोबीले दिनभरि भारी बोकाउँथ्यो, अनि राम्रोसँग खान पनि दिंदैन थियो। त्यही भएर यस्तो अवस्था भएको हो।"
स्यालले फकाउँदै भन्यो - "मामा, यहाँभन्दा जंगलभित्र अझ हरियो र राम्रो घाँस छ। अनि मेरो मालिक, जंगलको राजा सिंहले सबै जनावरहरूलाई मान्छेबाट बचाउने प्रण गरेका छन्। जंगलभित्रै जाउ।"
स्यालले गधालाई लिएर सिंहको गुफासम्म पुर्यायो। सिंहले गधालाई देख्ने बित्तिकै उफ्रेर हमला गर्यो। तर घाइते र भोकाएको सिंहले गधासम्म पुग्न सकेन। गधा नजिकै पछारियो। यस्तो घटना देखेर गधा आफ्नो शरीरको सारा बल लगाएर त्यो ठाउँबाट भाग्यो।
स्यालले सिंहलाई सम्झाउँदै भन्यो - "म फेरि त्यो गधालाई फकाएर ल्याउँछु। तर यो पटक तपाईंले अझ नजिकबाट आक्रमण गर्नुहोस्। टाढाबाट उफ्रिन तपाईंको बल पुग्दैन।"
पछ्याउँदै गएर स्यालले फेरि त्यो गधा भेट्यो। गधाले रिसाउँदै भन्यो - "कस्तो ठाउँमा तैले मलाई पुर्याइस्! झन्डै मरेँ। साँच्चै, म माथि उफ्रिने जनावर के थियो?"
स्यालले फकाउँदै भन्यो - "मामा, तपाईं झुक्किनुभयो। ती गधिनी थिइन्, जो तपाईंलाई अँगालो मार्न चाहन्थिन्। उनले गधा नदेखेको वर्षौं भएको थियो। त्यसैले तपाईंलाई देख्ने बित्तिकै आफूलाई सम्हाल्न नसकेर तपाईंमाथि उफ्रिइन्।"
स्यालले अझ थप्यो - "मामा, तपाईं आफैँ सोच्नुस् त, यदि त्यो सिंह अथवा बाघ भएको भए, तपाईं बाँच्न सक्नुहुन्थ्यो?"
स्यालले फेरि फकाएर गधालाई सिंहको गुफा नजिक पुर्यायो। यसपटक सिंहले सजिलै गधालाई मार्न सफल भयो। त्यसपछि सिंहले भोजन गर्नुअघि आफू खोलामा नुहाएर आएसम्म सिकार रुघ्न आदेश दियो।
कयौं दिनदेखि भोकाएको स्यालले आफ्नो मन थाम्न सकेन र गधाको कान र मुटु खायो।
नुहाएर आएको सिंहले गधाको कान र मुटु स्यालले चोरेर खाएको चाल पायो। अनि रिसाउँदै सिंहले भन्यो - "तैले यो के गरिस्? अब मैले तेरो जुठो कसरी खानु?"
स्यालले जवाफ दियो - "मालिक, तपाईं नरिसाउनुस्। यो गधा जन्मजात मुटु र कान बिना नै जन्मेको थियो। अन्यथा तपाईंले त्यत्रो आक्रमण गर्दा समेत, फेरि यो गधा फर्केर किन आउँथ्यो?"
स्यालको कुरा सिंहले पत्यायो र गधालाई खान थाल्यो।
०००
यतिखेर आज नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र उनका पूर्व सहयोद्धा नेपाल समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईबिच घोचपेच जारी छ । यस क्रममा प्रचण्डले बाबुरामलाई कटाक्ष गर्दै उनी 'हाँसोको पात्र बनेको' र 'मान्छेले सबैभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन्' भनेर टिप्पणी पनि गरेछन् । यसो हेर्दा कामरेड प्रचण्डको भनाइ साँचो जस्तो पनि लाग्छ। उनले जति बाबुरामलाई कसले चिनेका होलान् र? प्रचण्डको बाबुरामसँगको संगत कम्तीमा ३ दशकभन्दा बढी होला।
जनयुद्धको बेला कामरेड प्रचण्डले डा. बाबुराम भट्टराईलाई भारतीय गुप्तचर भनेर युद्ध शिविरमा बन्दीसमेत बनाएका थिए। भारतको हस्तक्षेपका कारण बाबुराम त्यसबाट बच्न सफल भएका थिए भनेर भन्ने गरिन्छ।
यो कुरा कति सत्य हो, सम्बन्धित व्यक्तिहरू नै जानून। तर पछि बाबुरामहरुले गल्ती स्वीकारेर धुरुधुरु रोएको भिडियो बाहिर आयो र अनि प्रचण्ड–बाबुरामहरुबीच भरतमिलाप भयो । त्यो खड्गो काटेको केही समयपछि माओवादी हतियार बिसाएर शान्तिपूर्ण राजनीतिमा आयो । त्यसकै लगत्तै देशमा गणतन्त्र आयो, केही समयपछि प्रचण्ड प्रधानमन्त्री बने र डा. बाबुराम अर्थमन्त्री बने। अनि केही वर्षपछि बाबुराम प्रधानमन्त्रीसमेत बने।
त्यसपछि पार्टी फुट्यो र आफ्नो-आफ्नो अलग बाटो हिँडे। पछिल्लो आम निर्वाचनमा प्रचण्डले डा. बाबुरामसँग पार्टी एकता गर्ने सहमति गरे। त्यसबापत डा. बाबुरामले आफ्नो सबैभन्दा सुरक्षित निर्वाचन क्षेत्र गोरखा प्रचण्डलाई उपहार दिए। राष्ट्रिय स्वतन्त्र पार्टीको लहरका कारण चितवनबाट चुनाव लड्न त्रसित बनेका कामरेड प्रचण्डका लागि गोरखाको क्षेत्र वरदान नै बन्यो। उनले सजिलै चुनाव जिते। अनि कहिले नेपाली कांग्रेस र कहिले एमालेलाई खेलाएर बीचमा प्रधानमन्त्रीसमेत बने।
उता बाबुराम आफ्नो निर्वाचन क्षेत्रसमेत गुमाएर राष्ट्रिय राजनीतिमा सन्दर्भविहीन बनेका छन्।
एक पटक ठगिनु स्वाभाविक हो तर पटक पटक ठगिदा समेत नचेत्नु भनेको सम्बन्धित व्यक्तिकै कमजोरी मानिन्छ। एक पटक होइन, पटक-पटक प्रचण्डबाट ठगिएका डा. बाबुरामको नियति देख्दा, कान र मुटु नभएको गधाको कथाको झल्को आउँछ। जो पटक-पटक एउटा छट्टु स्यालको शब्दजालमा परेर लोभवश दारा-नंग्रा झरिसकेको सिंहको सिकार बन्छ।
आफ्ना भनाइहरुलाई प्रभावकारी ढङ्गले जनतामाझ राख्न बेलामौकामा संस्कृतका श्लोकहरु समेत उदृत गर्ने बाबुराम पक्कै पनि पञ्चतन्त्रका कथाहरुबाट अनिभिज्ञ छैनन् । इतिहासको लामो कालखण्डमा मानवजातिले सञ्चित गरेका व्यवहारिक ज्ञानबाट सिर्जित पञ्चतन्त्रका कथाहरुबाट बाबुरामले पाठ सिके कति जाति हुन्थ्यो होला ।

बन्धक विवेक र अन्धभक्तिको उत्सव

हृदयमा मायाको प्रतिबिम्ब, मुहारमा सूर्यको प्रकाश

सिन्डिकेटको पुनरागमन कि प्रविधिको प्रतिरोध?

भक्तिपन्थको राजनीतिक पुनर्जागरण: विवेकको लोप र झोलेगिरीको उत्कर्ष

गुमनाम प्राज्ञको महाप्रस्थान

भिजिट भिसाको व्यथा र सिंगापुरमा भ्रष्टाचारको कथा

पृथ्वीनारायण शाह, गोर्खाको कज्याइँ र नेपाल राष्ट्र बैंकको गभर्नर

प्रतिक्रिया