फोक्सो: सास फेर्ने मात्र होइन, रगत पनि बनाउने अद्भुत अङ्ग

हामीले फोक्सोको कुरा गर्दा प्रायः श्वासप्रश्वासको प्रणालीलाई सम्झिन्छौं-अक्सिजन भित्र तान्ने र कार्बन डाइअक्साइड बाहिर फाल्ने प्रक्रियाको प्रमुख अङ्गका रूपमा। यत्ति मात्र हैन, यो अङ्गले हाम्रो जीवनलाई निरन्तरता दिन महत्वपूर्ण भूमिका खेलिरहेको छ भन्ने कुरा त हामी सबैलाई थाहा छ। तर पछिल्ला वैज्ञानिक अनुसन्धानहरूले यस बुझाइलाई नयाँ दिशा दिँदै फोक्सोले रगत बनाउने महत्त्वपूर्ण कार्य पनि गरिरहेको तथ्य पत्ता लगाएका छन्। यो पत्ता लाग्नु भनेको केवल वैज्ञानिक समुदायका लागि चासोको विषय होइन, सामान्य मानिसको स्वास्थ्य सचेतना र उपचारको विकल्पमा पनि नयाँ ढोका खोलिएको कुराको जानकारी पनि हो ।
अमेरिकाको प्रतिष्ठित अनुसन्धान संस्था University of California, San Francisco (UCSF) का वैज्ञानिकहरूले सन् २०१७ मा मुसाहरूमा गरेको एक प्रयोगमा यस्तो तथ्य देखिएको हो। उक्त अध्ययन Nature जस्तो विश्वस्तरको वैज्ञानिक जर्नलमा प्रकाशित छ, जसले यसको प्रामाणिकतालाई बलियो बनाउँछ। प्रयोगमा वैज्ञानिकहरूले जीवित मुसाको शरीरमा two-photon imaging प्रविधि प्रयोग गरेर फोक्सोमा रगतका स-साना कणहरू प्लेटलेट प्रत्यक्ष रूपमा उत्पादन भइरहेका देखे। प्लेटलेटले हाम्रो शरीरमा चोट लाग्दा रगत जमाउने काम गर्छ, अनि घाउ चाँडै पुरिन मद्दत पुर्याउँछ।
अध्ययन अनुसार, फोक्सोले प्रतिघण्टा झन्डै १० लाखभन्दा बढी प्लेटलेट उत्पादन गर्छ, जुन परम्परागत रूपमा 'बोन मेरो' मात्रैले गर्ने भनिएको कार्यभन्दा धेरै ठूलो योगदान हो। यति मात्र होइन, वैज्ञानिकहरूले फोक्सोभित्रै रक्त उत्पादनमा प्रयोग हुने रक्त बनाउने स्टेम सेल (hematopoietic stem cells) को भण्डार पनि फेला पारेका छन्। यस्ता स्टेम सेलहरूले आवश्यकता अनुसार शरीरका विभिन्न भागमा पुगेर रातो, सेतो र अन्य रक्तकोष उत्पादन गर्न सक्छन्।
यो पत्ता लागेपछि के कुरा प्रष्ट भएको छ भने फोक्सो केवल सास फेर्ने अङ्ग मात्र नभई रगत बनाउने एक 'जीवित कारखाना' पनि हो। यो हाम्रो शरीर विज्ञानसम्बन्धी हामीले मान्दै र बुझ्दै आएको फोक्सोबारेको मान्यतामा नयाँ जानकारी पनि हो । यो जानकारीले औषधि उपचार क्षेत्रमाथि पनि ठूलो प्रभाव पर्न सक्छ । यस कुराले विशेषतः थ्रोम्बोसाइटोपिनिया (platelet को कमी हुने रोग), अस्थिमज्जा क्षय (bone marrow failure) वा रक्त उत्पादन सम्बन्धी क्यान्सरहरूमा उपचारको नयाँ ढोका खुल्न सक्छ।
स्वास्थ्य उपचारको सन्दर्भमा हेर्ने हो भने, अब वैज्ञानिकहरूले फोक्सोमा रहेको रक्त स्टेम सेलहरूको प्रयोग गरेर स्टेम सेल थेरापी मा नयाँ प्रयोगहरू गर्न सक्ने सम्भावना देखेका छन्। भविष्यमा फोक्सोमै आधारित रक्तकोष निर्माण प्रविधि विकास भएमा, हड्डीको मज्जा प्रत्यारोपणजस्ता जटिल प्रक्रियाहरू सरल, कम खर्चिलो र सहज बन्न सक्छन्। विशेष गरी नेपालजस्ता विकाशोन्मुख राष्ट्रहरूमा जहाँ रक्तदान र प्लेटलेट आपूर्ति सधैं चुनौतीपूर्ण हुन्छ, त्यस्तो प्रविधिले स्वास्थ्य उपचारमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्छ।
यस पृष्ठभूमिमा, आम नागरिकले आफ्नो फोक्सोको हेरचाह गर्नु कति महत्त्वपूर्ण हुन्छ भन्ने पनि बुझ्न आवश्यक छ। अहिलेको जमानामा धूम्रपान, प्रदूषण, औद्योगिक धूलो आदिका कारण हाम्रो फोक्सोमा दीर्घकालीन असर पर्न सक्छ। यदि फोक्सो क्षतिग्रस्त भयो भने त्यसले केवल सास फेर्न गाह्रो बनाउँदैन, अब हामी जान्न थालेका छौं कि रगत बनाउने प्रक्रिया नै अवरुद्ध हुन सक्छ। त्यसैले धुम्रपान त्याग गर्नु, शुद्ध हावा भएको वातावरणमा बस्न प्रयास गर्नु, प्रदूषण नियन्त्रणमा सहकार्य गर्नु-यी सबै उपायहरू साँघुरो अर्थमा होइन, शरीरको समग्र स्वास्थ्यको रक्षक हुन्।
अन्त्यमा, वैज्ञानिक डा. मार्क आर. लुनीको भनाइ सान्दर्भिक लाग्छ-"हामीले फोक्सोलाई श्वास फेर्ने अङ्ग मात्र ठानिरहेका थियौं, तर अहिले प्रमाणित भइरहेको छ कि फोक्सो पनि रक्त निर्माणमा केन्द्रिय भूमिका खेल्दोरहेछ।" यतिसम्म अध्ययनले देखाएको छ भने, अब समय आएको छ कि हामी आम जीवनशैलीमा पनि फोक्सोको हेरचाहलाई 'रगत र जीवन' को सुरक्षा भन्ने हिसाबले हेर्न थालौं।

शङ्खेकीरा र मानव मस्तिष्कको तुलना

कागजले काटेको ठाउँमा किन धेरै दुख्ने गर्छ ?

सरसफाइ मन पराउने ध्रुवीय भालु

‘रासायनिक बम’ हान्ने बोम्बार्ड बीटल !

मानव सभ्यताको इतिहासमा सबैभन्दा अशुभ धातु सुन

विश्वकै सबैभन्दा बढी सुन उत्पादन गर्ने क्षेत्र

रक्सी खाएपछि हाम्रो शरीरमा के हुन्छ ?

प्रतिक्रिया