धर्मको वैज्ञानिक विश्लेषण

“सन्तराम चौधरी एक कृषक हुन् । एकदिन जनसंख्या गणक उनको घरमा जनगणना सर्वेक्षणका लागि आइपुगेछन् । जनसंख्या विवरण भर्दै गर्दा सुरुमा त त्यति समस्या परेन । तर जब धर्मको महल आइपुग्यो, तब सन्तराम र उक्त सर्वेक्षक समस्यामा परे । सन्तरामलाई आफ्नो धर्मको जानकारी त परै जाओस्, धर्म भनेको के हो – त्यो नै थाहा थिएन । जनसंख्या सर्वेक्षकले भने उसलाई धर्मको अर्थ बुझाउँन सकिरहेको थिएन ।अन्तमा सन्तरामको नाममा लागेको राम शब्द र उसको घरको भित्तामा टाँसिएको गणेशको तस्वीरलाई आधार मानी सर्वेक्षकले सन्तरामको धर्म हिन्दु भनी किटान गर्यो । यसो गर्दा सर्वेक्षकले नाममा लागेको राम र घरमा टाँसिएका गणेशलाई आधार लिँदा सन्तरामको घरको दलानमा स्थापित कुलायन देवतालाई अनजानमै तिरस्कार गर्यो ...... !”
धर्मको अवधारणा
धर्म एक संस्कृत भाषाको पद हो । पाणिनीय व्याकरणमा धृञ् धातुमा मन् प्रत्यय लागेर धर्म शब्द व्युत्पन्न हुन्छ जहाँ धृञ् धातु धारण गर्ने भन्ने अभिप्राय राख्छ । सामान्यतया वैदिक, जैन र बौद्ध वाङ्मयमा कुनै वस्तुले धारण गरेको गुण, कर्म र स्वभावका लागि धर्म शब्दको प्रचलन हुँदाहुँदै पनि व्यवहारमा भने धर्म शब्दको प्रचलन अंग्रेजी भाषाको रिलिजन (Religion) को पर्यायमा हुने गर्छ । यहाँ हामीले त्यही अर्थलाई ग्रहण गरेका छौँ ।
Religion शब्द अंग्रेजी भाषामा निश्चित अलौकिक विश्वास, उपासना वा धार्मिक अभ्यासहरूको समष्टिगत यौटा सामाजिक समुहका रूपमा लिइन्छ जसका उपसमुह हिन्दु, जैन, बौद्ध, यहुदी, इस्लाम आदिलाई ग्रहण गरिन्छ । प्रायः इतिहासकारहरूले धर्म र त्यस अन्तर्गतका उपसमुहहरूलाई एक सर्वव्यापी, सर्वकालिक संस्थाका रूपमा प्रयोग गर्छन् जसका सीमा र आकार प्रायः स्पष्ट भएको मानिन्छ । Harjot Oberoi का शब्दलाई लिने हो धर्म एक व्यवस्थित सामाजिक एकाइ हो जसले आफ्ना अनुयायीहरूबाट निःशर्त आज्ञाकारिता एवं निष्ठाको अपेक्षा गर्छ भने कुनै किसिमको स्वैच्छिक धार्मिक कल्पनाशीलतालाई यसले मान्यता दिँदैन [1] । प्रश्न उठ्छ, के यस किसिमको संस्था यसका संस्थापकले त्यही रूपमा संस्थापन गरेका थिए होलान् त ? के इसाई धर्मका संस्थापक मानिने येशु, इस्लाम धर्मका संस्थापक मानिने महम्मद इत्यादिले माथिको परिभाषा अनुरूपको धर्म, जसका सीमा र रूपरेखा किटान गरिएका हुन्छन्, संस्थापन गरेका थिए होलान् त ? यदि गरेका थिए भने प्रत्येक धार्मिक व्यवस्थाका किन विभिन्न उपसम्प्रदायहरू छन् ? यदि बुद्धले बौद्ध धर्म संस्थापन गरेका भए किन बौद्ध धर्मका दर्जन बढी शाखा उपशाखा भए ? वस्तुतः यस विषयको समाधानका लागि धर्मलाई अन्य विषयको समकक्षमा होइन धर्मकै अन्तर्गत विचार गर्नुपर्छ ।
संसारमा जति पनि धार्मिक उपसमुहहरू छन् ती सबैको निर्माणमा निम्न तीन पूर्वधारणाहरू निहित हुन्छन् –
a. धार्मिक (Sacred) जीवन बाट गैर धार्मिक (Secular) जीवनको पृथकीकरण
b. धार्मिक जीवन अन्तर्गत निश्चित विश्वास एवम् अभ्यासहरूलाई प्रकाशित (Highlighted) गर्नु
c. प्रकाशित विश्वास एवम् अभ्यासहरूका आधारमा साम्प्रदायिक एकीकरण गराउनु
संसारमा जति पनि मानिसहरू आफूलाई कुनै धर्मसँग सम्बन्धित रहेको बताउँछन्, ती सबैले कुनै न कुनै रूपमा उपर्युक्त तीन प्रकल्पनाहरूलाई आत्मसाथ गरेकै हुन्छन् । तर यहाँ यो विचार गर्न जरुरी छ कि उक्त तीन प्रकल्पनाहरू मौलिक होइनन् कृत्रिम (Hybrid) हुन् । यौटा ऐतिहासिक प्रक्रियामा नै धार्मिक विभाजनको यो अवधारणा सुरु भएको हो । यस सिद्धान्तका आधारमा यो मान्न सकिन्छ कि येशुले इसाई धर्मको संस्थापन गरेका थिएनन् । न त बुद्धले बौद्ध धर्मकै संस्थापन गरेका थिए । उनीहरूले यौटा दर्शन, विश्वास इत्यादिको निकै नै काँचो विषय प्रतिपादन गरेका थिए जसले इतिहासको प्रवाहमा आजजस्तो धर्मको पक्का आकार लिएको हो । धर्मका आधुनिक अध्येताहरूका अनुसार धार्मिक पहिचानको अवधारणा अथवा भनौँ हिन्दु, बौद्ध, इसाई, यहुदी जस्ता उपसमुहहरूलाई समेटेको यौटा बृहद् समुह “धर्म” को आविष्कार १९ औँ शताब्दीमा भएको थियो । २० औँ शताब्दीको उत्तराद्र्धतिर क्यानडाका एक प्रसिद्ध इस्लाम धर्मविद् Wilfred Cantwell Smith ले The meaning and end of religion नामक पुस्तक प्रकाशित गरेर उपर्युक्त विचार सर्वप्रथम प्रचार गरे । त्यसपछि त उनको विचार नै प्राज्ञिक वृत्तले सर्वमान्य सिद्धान्तका रूपमा आत्मसाथ गरेको पाइन्छ ।
धर्मको एक बौद्धिक कल्पना
Jonatthan Z. Smith का अनुसार धर्म एक प्राज्ञिक कल्पना हो [2]। जब कसैको प्राज्ञिकताले जीवनका अन्य कुरालाई छाँयामा पारी निश्चित विश्वास, अभ्यास र दर्शनलाई सीमांकन, चयन र प्रकाशन गर्छ, तब धर्म रूपी यौटा कृत्रिम सामाजिक एकाइको जन्म हुन्छ । यसै परिप्रेक्ष्यमा SN Balagangadhara को यो उक्ति नितान्त सान्दर्भिक छ ''हिन्दु धर्म र बौद्ध धर्मको अस्तित्व पश्चिमाहरूको विश्वविद्यालयमा मात्रै छ'' [3]। यसलाई यसरी बुझ्नु पर्ने हुन्छ कि हामी दक्षिण एसियाली जनसमुदायले आफ्ना वेद, पुराण, त्रिपिटक, द्वादशाङ्ग, निकाय, तन्त्र इत्यादिको जति गम्भीर परम्परामा बसे पनि हामीले हाम्रा लागि उन्नाइसौँ शताब्दीसम्म उक्त परम्परा कुलसंस्कृति वा यौटा दैनिक जीवनको दायित्व अतिरिक्त कुनै (धार्मिक) व्यवस्थाका वाचक थिएनन् । कुनै बुद्धको उपासकले परित्राणको पाठ गर्दै गर्दा उसमा यो अभिमान थिएन कि “म बौद्ध धर्म मान्छु र मेरो छिमेकीले हिन्दु धर्म मान्छ जो मेरो धर्मभन्दा फरक हो ” इत्यादि । यही कारण हो कि नेपाल लगायत भारतमा बौद्ध, जैन एवम् वैदिक परम्पराका तीर्थहरूमा साम्यता, एक अर्काका धार्मिक पात्रहरूको परस्पर विनिमय तथा सांस्कृतिक सहिष्णुता रहेको छ ।
धर्मसम्बन्धी भेदपनाको अभावका कारणले नै Norma Kehrberg आफ्नो पुस्तक The Cross in the Land of Khukuri मा लेख्छिन् “हिन्दु धर्म र बौद्ध धर्म जीवनपद्धतिका रूपमा अभ्यास गरिन्छन् जसलाई सजिलैसँग प्राज्ञिक अवधारणाको श्रेणीमा छान्न सकिन्न [4] ।”
कसरी उदय भयो धार्मिक विभाजन
इतिहासकारहरूका अनुसार धर्म (Religion) सर्वप्रथम युरोपमा सन् १५०० तिर इसाई मण्डलीको अधिकारक्षेत्र एवम् नागरिक अधिकारक्षेत्र बिच कित्ताकाट सीमांकनको क्रममा उदय भएको थियो । त्यसअघि बिशप र पोपहरूले राज्यको सर्वसत्तामाथि अख्तियारी राख्थे । कालान्तरमा राजाहरूले नागरिक क्षेत्रमाथि अख्तियारी राख्न चाहे र चर्चलाई केवल धार्मिक क्षेत्रसम्म मात्रै सीमित गर्न चाहे । यसका लागि कुन कुन क्षेत्र नागरिक क्षेत्र र कुन कुन क्षेत्र धार्मिक क्षेत्र भनी पहिचान हुन आवश्यक थियो । त्यसबेलाको अवस्था अनुसार, बाइबल धर्मशास्त्रको व्याख्या, पापमोचन पत्रको निष्कासन, लगायतका क्षेत्रलाई धार्मिक विषय मानियो भने सैन्य परिचालन, कर, विकास आदिको विषय नागरिक क्षेत्र वा भनौँ गैर धार्मिक क्षेत्र अन्तर्गत आयो [5] । राजाहरूले आफ्नो अधिकारक्षेत्र विस्तार गर्न सन् १५५५ तिर Peace of Augsburg जस्तो सम्झौता तैयार पारे जसले Cuius regio, eius religio अर्थात् शासकको धर्म नै नागरिकको धर्म जस्ता व्यवस्था तैयार गर्यो [6] । यहीबाट धर्मको सीमाङ्कन वा सामाजिक व्यवस्था सम्बन्धी अवधारणा विकास भयो । यो व्यवस्था विशेष गरी आफू अतिरिक्त देवता नपुज्नू वा केवल विश्वासका आधारमा मुक्ति जस्ता प्रोटेस्टेन्ट मान्यताका लागि राम्ररी काम गर्यो । तर जब तिनै इसाई भारत लगायतका अन्य क्षेत्रमा पुगे, त्यहाँका रैथाने संस्कृतिलाई लिएर उनीहरूले आफ्नो विश्वासदेखि “अन्य” भन्ने अभिप्रायले भिन्न भिन्न ''ism'' प्रत्यय लगाएर धर्महरूको कल्पना गर्न थाले । यही क्रममा बौद्ध, जैन, हिन्दु, शिख लगायतका धर्महरूको कल्पना भयो । पछि औद्योगिक क्रान्ति, धर्मनिरपेक्षता क्रान्ति, विश्वव्यापी बसाइसराइ इत्यादि कारणले मानिसहरूका गैर धार्मिक जीवनहरूमा साम्यता देखिन थालेपछि धार्मिक पहिचानको शृङ्खला सहज हुँदै गएको देखिन्छ ।
एक व्यवस्थित संस्थाका रूपमा धर्म सम्बन्धी अवधारणाको विकास
Wilfred Cantwell Smith ले सर्वप्रथम धर्म (Religion) सम्बन्धी व्यवस्थित संस्था एक पश्चिमेली, आधुनिक एवम् इसाई दृष्टिकोण भएको तथ्य त हामीले माथि हेर्यौँ । तर Smith ले नै यस मान्यताको अपवाद इस्लामलाई स्विकारेका छन् [7] । विश्वभर कुनै पनि जातीय संस्कृतिको सांस्कृतिक कोषमा धार्मिक विषयलाई मात्रै बुझाउँने गरी Religion शब्दको पर्याय नहुनुले पनि धर्म (Religion) एक आधुनिक अवधारणा भएको तथ्य हुन्छ । तर इस्लाममा “दीन” शब्दको प्रयोग Religion सँग धेरै साम्य राखेको देखिन्छ भने आफ्ना धार्मिक मान्यतालाई इस्लाम भनी नामकरण समेत गरेका कारण इस्लाम धर्मलाई अपवादका रूपमा मानिएको हो । यसको कारण तत्कालीन यहुदी विश्वास र इसाई विश्वासको बर्खिलापमा महम्मदले आफ्नो धार्मिक विश्वासलाई आकार दिएकाले नै इस्लामले आफ्ना धार्मिक व्यवस्थाको सीमा किटान गर्न सकेको हो । तर यति हुँदाहुँदै पनि इस्लामले दीन शब्दको प्रयोग गर्दा आधुनिक Religion शब्दसँग पूर्णतया साम्यता राख्न सकेको भने देखिन्न किनकी अंग्रेजी भाषाको Religion शब्द पूर्णतया धार्मिक विश्वास र अभ्यासहरूमा केन्द्रित छ भने दीन शब्दले सांसारिक (Secular) जीवनको असलपनालाई समेत उल्लेख्य ढंगले स्पर्श गर्छ ।
भारतमा मुसलमानहरूले नै सर्वप्रथम यहाँका रैथानेहरूलाई हिन्दु नामकरण गर्दा हिन्दु शब्दले धार्मिक अभिप्राय राख्थ्यो कि भौगोलिक अभिप्राय भन्ने विषयमा कम विवाद छैन । तर हामीले माथिदेखि भन्दै आएको “धर्म” सम्बन्धी धारणा १९ औँ शताब्दीको सृजना हो भन्ने मान्यतालाई यहाँ प्रयोग गर्ने हो भने तत्कालीन हिन्दु शब्दले विशुद्ध रूपमा सांस्कृतिक अभिप्राय लिएको तथ्य पुष्टि हुन्छ । तर आफूभन्दा भिन्न समुदायको अभ्यासलाई लिएर कुनै पनि समुदाय सशंकित हुनु नौलो भने होइन । तसर्थ जसरी मुसलमानहरूले यहुदी र इसाई विश्वासको बर्खिलापमा आफ्नो धार्मिक मान्यताहरूलाई एकीकरण गरी बुझ्न थालिसकेका थिए, तदनुरूप भारतका रैथाने निवासीहरूले पनि आफ्ना रैथाने अभ्यास (राजनीतिक, धार्मिक, प्रशासनिक ) हरूलाई मुसलमानहरूको बर्खिलापमा बुझ्न थालिसकेको बोध हुन्छ । यस कुराको स्विकृति स्वयं Smith कै पुस्तकमा प्राप्त हुन्छ [8] ।
अंग्रेजहरूले भारतमा प्रवेश गरेपछि धार्मिक जनगणना, प्रशासनिक अभिलेख, विभिन्न प्राज्ञिक लेख रचना गर्दा एवम् धर्मान्तरणको प्रक्रियामा धर्मको वर्गीकरणलाई बल दिएको पाइन्छ । यही आधारमा भारतमा सर्वप्रथम प्रोटेस्टेन्ट Religion सम्बन्धी धारणाले विस्तार पाएको हो ।
अंग्रेजहरूले नै भारतमा रहिआएको हिन्दु शब्दलाई नै शब्द प्रयोग गरेर विश्वव्यापी शब्दको उपसमुहका रूपमा हिन्दु धर्मको उत्पत्ति उन्नाइसौँ शताब्दीमा भएको हो । ब्रह्मसमाजका संस्थापक राजा राममोहन राय पहिलो भारतीय मानिन्छन् जसले आफूलाई हिन्दु धर्मको अनुयायी भनी चिनाएका थिए ।
पछि भारतबाटै नेपालमा धार्मिक वर्गीकरणको यो पद्धति र चिन्तनले नेपालमा प्रवेश पाएको हो । सन् १९५२ ÷ १९५४ मा सम्पादित जनगणनाले सर्वप्रथम नेपाली जनताको धार्मिक जनगणना गरेको थियो । अर्को शब्दमा भन्नुपर्दा नेपाली समाजमा निहित विभिन्न धार्मिक विश्वास, अभ्यासहरूलाई लिएर धार्मिक वर्गीकरणको शृंखला सुरु भएको थियो ।
निष्कर्ष
धर्म सम्बन्धी उपर्युक्त विचार पछि यसले सृजना गरेका कतिपये समस्याको चर्चा नगरी सुक्ख छैन । विशेषगरी यौटा आधुनिक, कृत्रिम अवधारणाका रूपमा बुझिसकेपछि कैयौँ विद्वान्हरूले धर्मको परिभाषा गर्नै छोडिसकेको पाइन्छ भने कतिले त धर्म भन्ने विषय छदै छैन तथा नभएको विषयमा के पढ्नु वा के लेख्नु जस्तो उग्र विचार लिएको पनि पाइन्छ [9] । यहाँ मेरो विचार यो छ कि धर्म वास्तवमा छ, जुन मनुष्य जीवनको गैर धार्मिक जीवनबाट कटाएर पहिचान गर्न सकिन्छ । यो सत्य हो कि यौटा ऐतिहासिक परिवेशमा धर्मलाई हेर्ने साम्प्रदायिक दृष्टिकोणको विकास भएको हो । तर समाजविद्हरूले यो कुरालाई निषेध गर्न सक्दैनन् कि सभ्यताको उषाकालदेखि नै हामीले चिने पनि नचिने पनि धर्म हाम्रो जीवनमा यौटा साझा सम्पदाका रूपमा विद्यमान थियो । जनावरको प्रजाति विभाग पद्धतिको उदय पछिल्ला केही शताब्दीमा भए पनि त्यस अघि त्यो जनावरको प्रजाति नै थिएन निश्चय नै हास्यास्पद हुनेछ ।
References
[1] Oberoi, Harjot (1994) The construction of religious boundaries- culture, identity and diversity in the sikh tradition. The University of Chicago Press. United States. Pg. 17
[2] Smith, Jonathan Z. (1985) Imagining religion from babylon to jonestown. University of Chicago Press, United States. Pg.xi
[3] Balagangadharan, S.N. (1994) The heathen in his blindness….? Asia, the west and the dynamic of religion. Leiden, NewYork and Koln. Pg. 138-9
[4] Kehrberg, Norma (2000). The cross in the land of khukuri. Ekta Books, Kathmandu. Pg. 66
[5] Morreall, John and Sonn, Tamara .(2014). 50 great myths about religions. John Wiley and Sons Ltd. United Kingdom, Pg.11-12
[6] Caanaugh, William T. (2009). The myth of religious violence. Oxford University Press, NewYork, United Sates. Pg. 74, 78, 132 and 148
[7] Smith, Wilfred Cantwell .(1963). The meaning and end of religion. The Macmillan Company, New York, United States. Pg. 80-83
[8] Ibid Pg. 64
[9] Smith, Christian (2017) Religion, what it is, how it works and why it matters. Princeton University Press, New Jersey, United States. Pg. 20-21

पार्टीमा गुटबन्दी, बहुविचार केन्द्रको अस्तित्व र पार्टी फूटको चूरो कारण के हो ?

अन्तर्राष्ट्रिय व्यवस्थालाई कमजोर पार्ने अमेरिकी प्रयासको विरोध गर्नैपर्छ

पर्यावरण : उपभोग गर्ने र देखाउने फरक

सत्ताको शिखरबाटै गणतन्त्रमाथि खतरा !

गाजा: मानवताको मौन मृत्यु र विश्व व्यवस्थाको डरलाग्दो संकट

विवाहको अर्थ-राजनीति

कस्मेटिक विकास : समृध्दि यात्रा कि आर्थिक संकटको बाटो

प्रतिक्रिया