सार्वजनिक खपतका बोली !

नेपाली काङ्ग्रेसभित्रका अध्ययनशील र बौद्धिकमध्येका एक मानिने महामन्त्री विश्वप्रकाश शर्माले ‘भारत–पाक युद्धमा नेपालले आफ्नो भूमिका बढाउनुपर्छ’ भनी दिएको अभिव्यक्ति निक्कै ‘ट्रोल’ भइरहेको छ । खासगरी, भारत–पाकबीच युद्ध चर्किँदै गइरहेको अहिलेको अवस्थामा सार्कको अध्यक्षको हैसियतले नेपालले आफ्नो भूमिका बढाउँदै लैजानु पर्ने उनको कथन थियो ।
अघिल्लो हप्ता भारत नियन्त्रित काश्मिरमा भएको आतंकवादी हमला अनि २६ जना पर्यटकहरुको हत्या प्रकरणलाई लिएर यतिखेर भारत–पाकिस्तानबीच आक्रमण प्रत्याक्रमणको लहर चलिरहेको छ ।
लामो समयदेखि सार्क थला परेको अवस्थामा छ । भारतको इच्छा र चाहनाविपरीत सार्क चल्न नसक्ने आजको भूराजनीतिक यथार्थता हो । यो अवस्थामा सार्कलाई क्रियाशील गराएर क्षेत्रीय समस्याको हल खोज्ने कोशिश गरिनु पर्ने र त्यसका लागि नेपाल तात्नुपर्ने भन्ने खालको महामन्त्री शर्माको भनाइको आशय ‘सदिच्छापूर्ण’ त अवश्य छ तर त्यसको व्यवहारिक कार्यान्वयनको भने कुनै गुन्जाइस छैन । यस अर्थमा उनको बोली सार्वजनिक खपतको लागि मिठासपूर्ण सुनिए पनि भारतले नचाहँदासम्म सार्क कोमाबाट ब्युँझिन सक्ने र कुनै हरकत गर्न सक्ने अवस्था छैन भन्ने कुरा आजको तीतो यथार्थता हो।
यतिखेर विश्व भूराजनीति उथलपुथलपूर्ण अवस्थाबीच गुज्रिरहेको छ । विश्व रङ्गमञ्चमा नेपालको आवाज सुनिने अवस्था निक्कै पातलो बन्दै गइरहेको छ । दक्षिण एशियाली क्षेत्रभित्र नै पनि नेपालको आर्थिक–कुटनीतिक अवस्था निक्कै निर्बल बन्दै गइरहेको छ । दशकौं युद्धको विभीषिकाबीच गुज्रिएको अफगानिस्तानले नै पनि नेपाललाई आर्थिक रुपमा पछाडि पार्ने अवस्था बन्दै गइरहेको छ । यस्तो अवस्थामा निर्धो र कमजोर मुलुक नेपालले सार्कको अध्यक्षको हैसियतमा कुनै प्रभावकारी र हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सक्ला भन्ने कुरा पञ्चतन्त्रको सोम शर्माको सातुको कथा कार्यान्वयनको मीठो परिकल्पना मात्रै साबित हुनेछ ।
यो कुरा अवश्य पनि हो कि भारत र पाकिस्तान दुवै नेपालका छिमेकी मुलुकहरु हुन् । यस अवस्थामा नेपालले दुवै देशलाई युद्ध हैन, वार्ताको माध्यमबाट समस्याको हल गर्न आव्हान भने गर्न सक्छ, गर्नु पनि पर्छ ।
यो औपचारिक मर्यादाको नै कुरा हो ।

प्रचण्डले देखाएको ‘नयाँ क्रान्ति’को हसीन सपना

'नो भोट' कि घरमै बस्ने?

भण्डारीको राजनीतिमा फर्कने कुराले सिर्जना गरेको बबण्डर !

गाजामा नरसंहार जारी रहँदा मौन विश्व: के अन्तर्राष्ट्रिय न्याय प्रणाली निष्क्रिय भ…

‘५२ भाइ’ प्रकरण : संवैधानिक सन्तुलनको अन्त्य?

किन नबजाउने संसदीय व्यवस्था अन्त्यको घण्टी ?

डुबान समाधानको नाममा देखिएको उल्टो बुद्धि !

प्रतिक्रिया