एउटा सानो सम्झना प्रदीप नेपाल बारेको !

इलाम ससुराली घर भएका प्रदीप नेपाल म इलामे भएको नाताले अनौपचारिक कुराकानीमा मलाई ‘ससुराली’ भनेर सम्बोधन गर्थे । उनीसँगको मेरो भेट पत्रकारिताले २०४७–४८ तिर जुटाइदिएको थियो । त्यसबेला म संरचना साप्ताहिकको सम्पादन कर्ममा सहभागी थिएँ । नेकपा मालेका बलियो खम्बा, कुशल संगठक, लेखक, पत्रकार, साहित्यकारको छवि बनाएका नेपालसँग त्यसपछि धेरैपटक पत्रकारिताको सिलसिलामा हाम्रो भेट र कुराकानीहरु भएको थियो । भौतिक भेटघाट पूर्व मैले उनलाई प्रदीप नेपालका रुपमा हैन, प्रगतिशील साहित्यकार सञ्जय थापाको रुपमा उनको कृतिहरुमार्फत् भेटेका थिएँ ।  

नेकपा मालेकालीन समयमा मदन भण्डारीको विश्वासपात्र र भरपर्दा सहकर्मी कमरेड रहेका प्रदीप नेपाल २०४९ माघमा भएको एमालेको पाँचौ महाधिवेशनमा केन्द्रीय समितिको सूचीमा अटाएनन् । यो उनको लागि अपमानजनक घटना थियो । उनले तत्कालै पार्टी परित्यागको घोषणा गरे ।

महाधिवेशनको बारेमा जानकारी दिन एमाले पार्टीले बागबजारस्थित कार्यालयको छतमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो । त्यसबेला अहिलेको जस्तो वैभव र रजगज थिएन एमालेको । छतमा आयोजित पत्रकार सम्मेलनमा मनमोहन अधिकारी, मदन भण्डारी लगायतका नेताहरु उपस्थित थिए । अधिकांश जवाफ महासचिवमा निर्वाचित मदन भण्डारीले दिएका थिए । उपस्थित पत्रकारहरुलाई चिया, बिस्कुट खुवाइएको थियो ।

त्यसबेला मैले भण्डारीलाई एउटा प्रश्न सोधेका थिएँ– ‘एमालेका महाधिवेशन ताका थुप्रै कालिदासहरु देखापरेका थिए । महाधिवेशनको दरवारमा आइसकेपछि अब तिनीहरुले महाकवि बन्ने अवसर प्राप्त गर्छन् कि गर्दैनन् ?’

त्यसबेला भण्डारीले ‘ढुक्क हुनुहोस् कमरेड! एमालेभित्र सबैले समान अवसर प्राप्त गर्नेछन् !’ भनी जवाफ दिएका थिए ।

बेलुकीपख प्रदीप नेपालको फोन आयो– ‘लौ न एक पटक यसो चिया खान भोलि बिहान भेटौं न !’

त्यसबेला अहिलेको जस्तो हात हातमा मोबाइल थिएन । ल्याण्डलाइन मात्रै थियो ।

मैले उनलाई जवाफ फर्काएँ– ‘भइहाल्छ नि । तर म एक्लो आउन्न । मेरो साथमा शारदा सर पनि आउनुहुन्छ है !’

शारदा सर अर्थात् शारदारमण नेपाल । प्रदीप नेपालले नचिन्ने र नमान्ने कुरै भएन ।

त्यसबेला उनको बसाइ स्वयम्भुतल्तिर डल्लुमा थियो । शारदा सरको निवास पनि त्यतै । बिहानै शारदा सरलाई साथ लिएर म प्रदीप नेपालको निवासमा पुगें ।

चिया खाँदै हामी समकालीन राजनीतिको विवेचनामा रत्यौं । शारदा सर र प्रदीप नेपालबीचको छलफलमा म श्रोता बनेर सुनिरहें । समकालीन वामपन्थी राजनीतिका बारेमा उहाँहरुबीच निक्कै कुराकानी चल्यो, चिन्ता, निराशा र आशाका कुराहरु चले ।

हामी कुराकानीमा रमिरहेकै बेला मदन भण्डारी लगायत एमाले नेताहरुको एक हुल टुप्लुक्क त्यहाँ आइपुगे । हामीलाई देखेर भण्डारीले आश्चर्यचकित हुँदै भने, ‘अरे ! तपाईंहरु पनि यहाँ ?’

शारदा सर र मदन भण्डारीबीच निक्कै पुरानो र गहिरो चिनजान–मित्रता थियो । मेरो चाहिँ भण्डारीसँग गहिरो चिनजान र हेलमेल नभए पनि पत्रकारको हैसियतमा ठीक्कैको चिनजान थियो । त्यसअघि मैले उनीसँग केही अन्तर्वार्ताहरु गरिसकेको थिएँ । मैले लिएको एउटा अन्तर्वार्तामा ‘एमालेले सर्वहारा सिद्धान्तको परित्याग गरेबारे’को प्रश्नमा उनले दिएको जवाफ ‘इतिहासका हिँडाइका पाइतालाका डोबहरु सधैं उही ठाउँमा पर्नुपर्छ भन्ने जरुरी छैन’ मलाई निक्कै मन परेको थियो ।   मैले पनि ठट्टाको स्वरमा भनें, ‘हाम्रा ज्वाइँ खलककोमा चिया खान आएको नि !’

भण्डारी रमाइलो हाँसो हाँसे । मैले जिस्काएँ, ‘ल तपाईंहरुको पिबी बैठक नै बस्ने गरी आउनु भएजस्तो छ यहाँ । हामी जान्छौं !’

‘हैन, त्यसो हैन, उहाँसँग यसो ५ मिनेटको मात्रै कुराकानी छ ।’ यसो भनेर मदन भण्डारी शारदा सरसँग केही बेर गफिए ।

हाम्रो पनि खासै कुरा र काम थिएन । सबैसँग बिदा मागेर हामी फर्कियौं ।

त्यसको दिउँसो थाहा पायौं, नयाँ केन्द्रीय समितिमा प्रदीप नेपालको नाम पनि थपिएछ । शायद भण्डारी–नेपालहरुबीच भएको बिहानीको भेटघाटको सकारात्मक परिणाम थियो त्यो ।

भण्डारीले पत्रकार सम्मेलनमा भने झैं साँच्चै नै ‘समान अवसर’ प्रदान गरेका थिए ।

त्यसपछि पनि नेपालसँग पटक पटक भेटघाट भइरह्यो । पत्रकारिताको सिलसिलामा, औपचारिक–अनौपचारिक दुवै तहमा ।

२०५० को सेरोफेरोमा संरचना साप्ताहिकबाट म हटे । अक्षरको खेतीबाट सक्रियता घटेपछि नेपाल लगायत अन्य नेताहरुसँगको भेटघाट पात्लियो, अझ भनौं बन्द नै भयो ।

२०६५ तिर प्रदीप नेपालसँग गोरखापत्र संस्थानको मधुपर्कको कार्यालयमा भेटघाट भयो । त्यसबेला म संस्थानमा प्राविधिक सल्लाहकारको जिम्मेवारीमा थिएँ । उनलाई रोगले निक्कै गालिसकेको रहेछ !  मलाई चिन्न सकेनन् । मैले पुराना कुराहरु सम्झाएपछि बल्ल उनले मलाई चिने, भने– ‘नरिसाउनुहोस् है ! स्वास्थ्यले पिरेपछि धेरै कुरा गडबड भयो !’

त्यसपछि उनीसँग खासै भेटघाट सम्पर्क भएन, सम्पर्क गरिबस्नुपर्ने कामै पनि परेन ।

केही महिनाअघिको कुरा मात्रै हो, शारदा सरसँगको कुराकानीमा हामीले दायित्वबोधको लागि केही वामपन्थी व्यक्तित्वहरुसँग भेटघाट गर्नुपर्ने सूची बनाएका थियौं । त्यो सूचीमा प्रदीप नेपालको पनि नाम थियो । तर दु:खको कुरा, अब त्यो सम्भव भएन ।

हार्दिक श्रद्धान्जली– प्रिय कमरेड प्रदीप नेपाल !

चन्द्र खाकी

चन्द्र खाकी दायित्वबोध डटकमका प्रधान सम्पादक हुन् । २०४४ सालदेखि पत्रकारिता गरिरहेका खाकीसँग संरचना साप्ताहिकको कार्यकारी सम्पादक, मूल्याङ्कन मासिक–नवयुवा मासिकका डेस्क सम्पादक, ग्रेटवे मासिक (अङ्ग्रेजी) मा अतिथि सम्पादक, नयाँ कोशी मासिकमा सम्पादक तथा रातोपाटी डटकममा कार्यकारी सम्पादकको रुपमा काम गरेको अनुभव छ । विभिन्न पत्रपत्रिका तथा अनलाइनहरुमा उनका थुप्रै राजनीतिक विश्लेषण–टिप्पणीहरु प्रकाशित छन् । त्यस अलावा खाकी विज्ञान प्रविधिका विषयवस्तुहरुलाई सरल र बुझ्ने भाषामा लेख्न विशेष रुचि राख्ने गर्छन् ।