भियतनाम एकीकरणको ५० वर्ष !

१९७५ अप्रिल ३० मा, भियतनामको राष्ट्रिय मुक्ति मोर्चाले अमेरिकी आक्रमणकारी शक्तिलाई पराजित गर्‍यो जसले भियतनामको एकीकरणको बाटो खोल्यो र भियतनामी जनतालाई एक शताब्दीभन्दा लामो समयसम्मको साम्राज्यवादी शासनबाट मुक्त गर्‍यो।

१९५४ मा, हो चि मिन्हले नेतृत्व गरेको भियत मिन्हले फ्रेन्च उपनिवेशवादलाई छ दशक लामो दमनपछि निर्णायक रुपमा हराए । तर सोही वर्ष हस्ताक्षर गरिएका कूटनीतिक सम्झौताहरूले फ्रेन्चहरूलाई देशको दक्षिणी भूभागमा रहन अनुमति दियो।

त्यति बेलाका लागि भियतनामलाई अस्थायी रूपमा विभाजित गर्ने र नयाँ एकीकृत सरकार निर्माण गर्न चुनाव गराउने सहमति भयो। तर त्यो चुनाव कहिल्यै भएन।

वासिङ्टनलाई थाहा थियो कि स्वतन्त्र र निष्पक्ष चुनाव भएको खण्डमा कम्युनिस्टहरूले जित्नेछन्। राष्ट्रपति आइजनहावर स्वयंले स्वीकार गरेका थिए कि ८०% भियतनामी जनताले हो चि मिन्हलाई समर्थन गर्ने थिए।

१९५४ भन्दा पहिले, भियतनाममा अमेरिकाको संलग्नता मुख्यतः फ्रान्सको युद्धलाई आर्थिक सहयोग गर्नुमा सीमित थियो। तर यो नयाँ खतराको सामना गर्न आइजनहावरले साइगनमा निरंकुश कठपुतली सरकार स्थापना गर्न सीआईएलाई आदेश दिए । जसले अन्ततः दश हजार दिनसम्म चल्ने युद्धको सुरुवात गर्‍यो।

अमेरिकी आक्रमणले भियतनामलाई ध्वस्त तुल्यायो। यसको क्रुरताको एउटा उदाहरण मात्र पर्याप्त छ: ‘अपरेशन हेडस’ । जस अन्तर्गत, अमेरिकाले ७३ मिलियन लिटर रासायनिक एजेन्टहरू (एजेन्ट अरेन्ज) भियतनाममा छर्‍यो, जसले जानाजान कृषिलाई निशाना बनायो र २०% जङ्गललाई विषाक्त बनायो।

यस रासायनिक युद्धले लाखौँको ज्यान लियो, हजारौँ बालबालिकालाई गम्भीर जन्मदोषसहित जन्मन बाध्य बनायो, र लाखौँ हेक्टर खेतीयोग्य जमिन पुस्तौंसम्म प्रयोग गर्न नसकिने बनायो। यसको स्वास्थ्य, आर्थिक र वातावरणीय असर आजसम्म महशुस गरिएको छ।

अमेरिकी साम्राज्यवादमाथिको भियतनामी विजय मानव इतिहासकै सबैभन्दा अद्वितीय उपलब्धिहरूमध्ये एक मानिन्छ। तर त्यो कुनै संयोग थिएन।

दशकौँ लामो साम्राज्यवादी हिंसाले धेरैलाई भियतनाम श्रमिक पार्टी (पछि कम्युनिस्ट पार्टी अफ भियतनाम) मा सामेल हुन प्रेरित गर्‍यो ।। जसले शोषणको अन्त्य गर्ने र नयाँ सार्वभौम राष्ट्र निर्माण गर्ने वाचा गरेको थियो। असाध्यै संगठित क्रान्तिकारी पार्टीले उत्पीडित वर्गहरूलाई सामूहिक नेतृत्वमा एकजुट गर्‍यो।

विश्वव्यापी ऐक्यबद्धता आन्दोलन र सोभियत संघ, चीन तथा अन्य समाजवादी राज्यहरूको भौतिक समर्थनले सशक्त बनेका ती क्रान्तिकारी शक्तिहरूले प्रभावकारी गुरिल्ला रणनीति अपनाए । जसले तिनीहरूलाई युद्धको सर्तहरू नियन्त्रण गर्ने सामर्थ्य दियो।

युद्धपछिको शान्ति वार्ताको क्रममा, अमेरिकाले भियतनामलाई ३.५ अर्ब डलर क्षतिपूर्ति दिने सहमति जनायो। तर उसले एक पैसा पनि तिरेन।

बरु, उसले नयाँ सरकारमाथि प्रतिबन्ध लगायो र अन्तर्राष्ट्रिय मुद्रा कोष, युनेस्को, र विश्व बैंकजस्ता बहुपक्षीय संस्थाहरूमाथि दबाब दिई भियतनामलाई सहयोग नदिन बाध्य पार्‍यो। त्यसमा थप अपमानजनक कुरा के भयो भने, अमेरिकाले नयाँ सरकारसँग त्यो "ऋण" फिर्ता माग्यो जुन सैगनस्थित  दक्षिण भियतनामको अमेरिकी कठपुतली सरकारले युद्धको समयमा लिएको थियो ।  जसको अर्थ, भियतनामले आफैँमाथि प्रयोग गरिएका हतियारहरूको मूल्य तिर्नुपर्ने माग गरियो।

"हाम्रो प्रतिरोध लामो र पीडादायक हुनेछ, तर जुनसुकै बलिदान होस्, संघर्ष जतिसुकै लम्बिए पनि, हामी अन्तिमसम्म लड्नेछौं, जबसम्म भियतनाम पूर्ण रूपमा स्वतन्त्र र एकीकृत हुँदैन," हो चि मिन्हले १९४६ मा भनेका थिए, जब भियतनाम फ्रेन्च शासनबाट स्वतन्त्रताको लागि संघर्ष गर्दै थियो। इतिहासले उनलाई सही साबित गर्‍यो।

दशकौँ लामो मुक्ति संघर्षपछि, कम्युनिस्ट शक्तिहरूले भियतनामलाई कुनै पनि अधिपत्यबाट स्वतन्त्र भएको  घोषित गरे।

आजकै दिन सन् १९७५ मा, कम्युनिस्ट भियतनामी जनसेनाले दक्षिण भियतनामको राजधानी सैगनलाई विरोधी कम्युनिस्ट शासनबाट मुक्त गर्‍यो र अमेरिकी साम्राज्यवादलाई पराजित गर्दै २० वर्ष लामो भियतनाम युद्धको अन्त्य गर्‍यो।

जब अप्रिल १९७५ मा कम्युनिस्टहरूको सैगनतमाथिको आक्रमण सुरु भयो, देशको ठूलो भाग पहिले नै मुक्त भइसकेको थियो। अप्रिल २६ मा सुरु गरिएको "हो चि मिन्ह अभियान" निर्णायक आक्रमणको अन्तिम चरण थियो, जसले सैगनको सेनालाई घुँडा टेकाउन बाध्य पार्‍यो।

मनोबल गुमाएका शत्रुहरूबाट निकै कम प्रतिरोधको सामना गर्दै मुक्ति मोर्चाका सैनिक र ट्याङ्कहरू सैगनमा प्रवेश गरे, जहाँ शहरवासीहरूले उनीहरूलाई उत्साहपूर्वक स्वागत गरे। हतारमा, अमेरिकी अन्तिम प्रतिनिधिहरू आफ्नो दूतावासको छतबाट हेलिकप्टर मार्फत भागे।

केवल २० मिनेटभित्र, कम्युनिस्टहरूले शहरका सबै प्रमुख सैनिक र नागरिक संरचनाहरूको नियन्त्रण लिए। सैगन शासनका सैनिकहरूलाई आत्मसमर्पण गर्न र आफ्ना हातहतियार सार्वजनिक चोकहरूमा राख्न बाध्य पारियो।

मुक्ति सेनाका ट्याङ्कहरूले राष्ट्रपतिको भवनलाई घेराबन्दी गरे, भवनभित्र प्रवेश गरे र सुनौलो तारासहितको नीलो-रातो झन्डा, दक्षिणको गुरिल्ला सेनाको प्रतिक चिन्ह, फहराए। पराजित शासनको प्रायः सम्पूर्ण नेतृत्व राष्ट्रपतिको भवनभित्रै पक्राउ पर्‍यो। 

दक्षिण भियतनामको अमेरिकी समर्थन प्राप्त कठपुतली प्रशासनलाई क्रान्तिकारी शक्तिहरूको हातमा सम्पूर्ण सत्ता सुम्पिंदै रेडियोमार्फत आफूहरूको बिना सर्त आत्मसमर्पण घोषणा गर्न बाध्य पारियो। दक्षिण भियतनामका सैनिकहरूलाई युद्ध रोक्न आदेश दिइयो।

अन्ततः कम्युनिस्टहरूले सम्पूर्ण भियतनामलाई कुनै पनि अधिपत्यबाट स्वतन्त्र भएको घोषणा गरे । जसले दशकौँको उत्पीडन र शोषणको अन्त्य गर्‍यो र सबै नागरिकहरूलाई पूर्ण प्रजातान्त्रिक अधिकार प्रदान गर्‍यो। फ्रान्सेली र अमेरिकी उपनिवेशवादीहरू विरुद्धको ३० वर्षे युद्ध अन्ततः समाप्त भयो।

३० अप्रिल अर्थात भियतनामको ५० औ एकीकरण दिवसले बहादुर भियतनामी जनताको संघर्षलाई सम्झना गराउछ। जसले हामीलाई साम्राज्यवाद अजेय छैन भन्ने कुरा बताउछ।

Source: redstreamnetProgIntl