'एक टुक्रा रोटीमा झ्याम्मिँदै के बाँच्ने ?'

गङ्गालालको इन्द्रचोकको भाषण

तपाईं मेरा पिता हुनुहुन्छ तर हामी सबैजनाको जन्मभूमि माताप्रतिको हाम्रो कर्तव्यमा तपाईंको आज्ञाले म पछि हट्न सक्तिनँ- म तपाईंको आज्ञाले चुपचाप राष्ट्रको पाप बोक्न सक्तिनँ। अब मेरो माया मारिदिनोस् ।

९३ सालमा शिवरात्राका दिन बाङ्गमुढामा केही युवकहरू मिलेर एउटा स्कुल खोलेका थिए । देशको केही उन्नति होओस् भन्ने धारणा भएका नवयुवकहरू यहाँ पढाउन आउँथे । ९६ सालतिर गङ्गालाल पनि त्यस स्कुलमा पढाउने एक शिक्षक भए। यो स्कुलमा आएर विभिन्न युवकहरू आफ्ना विचार पोख्थे । राणाहरूले एक भयङ्कर क्रान्तिको लप्का यहाँबाट उठिरहेको देखे । बेलैमा यसलाई निभाउन नसके राणाहरूको एकतन्त्री शासनको आयु छोट्याउन यो एउटा कारण हुन जानेछ भन्ने कुरा पनि उनीहरूले सोचे। अतयव कहाँनेर कुन मौका पाएर यसलाई अन्त गर्ने हो भन्ने दाउमा उनीहरू लागेका थिए ।

यसैताक पटनाबाट श्रीरामवृक्ष बेनीपुरीको सम्पादनमा 'जनता' भन्ने साप्ताहिक पत्रिका निस्कन्थ्यो । बराबर नेपालमा भइरहेको अत्याचारसम्बन्धी लेखहरू निस्कने यो पत्रिका गुप्त तवरमा यस महावीर इन्स्टिच्युटमा पढ्न पाइन्थ्यो । केहीपछि नेपाल प्रज्ञा परिषद्का पर्चाहरू पनि यहाँ कसै न कसैले ल्याएर त्यहाँका युवकहरूको हातमा पर्थ्यो। यसरी कसैले नेपालका निम्ति काम गरिरहेको देख्दा यहाँका युवकहरूलाई केही ढाडस हुन्थ्यो ।

श्री गङ्गालाल आई. ए. प्रथम वर्षमा पढ्थे । उनले एउटा निबन्ध लेख्दा 'I is the man' लेखेका थिए। यो देखेर हालसालै कलेजमा प्रोफेसरमा भर्ना भएका श्री रामप्रसाद मानन्धरले भनेका थिए- “बढ्ता साहसी नबन ।" (Do not try to be overbold)। प्रो. क्षितीशले 'मेरो साहसी साथी' भनेर उनलाई सम्बोधन गर्थे । एकपटक कलेजमा श्री बालकृष्ण समले आफ्नो 'प्रल्हाद' नाटकका हिरण्यकशिपुको अत्याचारको विरुद्ध प्रल्हादले विद्रोह गरेको सुनेर श्री गङ्गालालले जोशमा दुवै हात माथि उठाई रातो मुख लाएर भने, “हामीलाई पनि कसैले अत्याचार गरे भने त्यसको विरोध गर्ने कि नगर्ने ?” यसमा हाम्रा नाटककारको भनाइ थियो- “पहिले आफ्नो शक्ति र सामर्थ्य के कति छ ? बुझ्नुपर्छ ।”

शिवरात्रीको बखत यात्रुहरूको सेवा शुश्रुषाको निम्ति भनेर सर्वश्री शुक्रराज, श्री राधालाल, श्री आनन्दराम, श्री केदारमान श्रेष्ठ आदि मिलेर एउटा स्वयंसेवक सङ्घ खडा गरे। अनि एउटा झोला लिएर श्री गङ्गालाल चन्दा उठाउन कलेजका प्रिन्सिपल श्री नरेन्द्रमणि आ.दी. कहाँ पनि गएका थिए। यसरी चन्दा माग्न आएको आफ्नो विद्यार्थीलाई देशको परिस्थितिको विषयमा प्रिन्सिपलले 'यसो गर्ने अहिले बेला भइसकेको छैन । देशको काम गर्न पहिले विद्या हासिल गर, पढ्न नछोड' भन्ने सन्देश दिए। यसैताका हो, उनले श्री शुक्रराजसित लागे र इन्द्रचोकमा भाषण दिएको। भर्खरै साँझ सिद्धिन लागेको थियो, श्री गङ्गालालको राणाविरोधी जोशिलो भाषणले राणाहरूलाई उनीहरूको विरोधमा खुलेआम बजारमा आएर बोल्ने पनि कोही छन् भन्ने थाहा भयो। श्री शुक्रराजको भाषण धार्मिक तथा सामाजिक सुधारको विषयमा थियो, गङ्गालालको राजनीतिक क्रान्तिको आव्हान । भाषणको क्रममा उनले भनेका थिए, “मालिकले च्यैच्यै भन्दै फ्याँकिदिएको एक टुक्रा रोटीमा कुकुरहरू झ्याम्मिएझैँ राणाहरूको एउटा सानो निगाह र जुठो
पाउनको निम्ति झ्याम्मिँदै के बाँच्ने ?"

...एक दिन मैले उनलाई ए.डी. कार्पेन्टरको रोटीका सवाल' मन्ने हिन्दीमा अनुदित पुस्तक दिएँ। यस पुस्तकको कतिपय अध्यायलाई उनले अनुवाद गरे। यो पुस्तक उनलाई असाध्यै मन परेको थियो । उनले इन्द्रचोकमा दिएको भाषणमा यही पुस्तकको धेरै विचार पोखेका थिए। एक किसिमले यो भाषणलाई त्यसको प्रभाव पनि भन्न सकिन्छ । त्यस बेला हामीले विशेष गरेर पढ्ने एउटा अर्को पुस्तक थियो- कुनै हिन्दी पत्रिकाको बलिदान अङ्क। सायद त्यो पत्रिकाको नाम 'हिन्दूपंच' हो ।

अब म ९७ साल वैशाख-ज्येष्ठदेखि कार्तिक महिनासम्मको उनको जीवनका केही घटनाहरूको चर्चा गर्छु। झोंछेको साहू श्री हरिकृष्ण श्रेष्ठ ससुरालीतर्फबाट उनको साइनु पर्थ्यो। उनी उनकै दौंतरी थिए । दुइटाको मेल पहिलेदेखि थियो । श्री हरिकृष्णद्वारा श्री गणेशमान पनि उनीहरूमध्येकै भए। श्री धर्मभक्त नेपाल प्रजापरिषद्का संस्थापकमध्ये एकजना थिए । त्यस संस्थामा यी युवकहरूलाई पनि भित्र्याउने ताकमा थिए उनी। उनको घरमा विहानविहान पहलमानी सिक्ने बहानामा देशका धेरै युवकहरू आइरहन्थे । त्यस बेलाका हजुरिया जनरलका छोरा नरशमशेर पनि त्यस शारीरिक व्यायाममा सामेल हुन्थे। त्यहीं ९७ साल ज्ये ष्ठ-असार महिनातिर श्री गङ्गालाल, श्री गणेशमान र श्री हरिकृष्णहरूलाई पनि सदस्य बनाइयो। अबदेखि राजनीतिमा काम गर्दिनँ, सिधा सोझा भएर पढेर कुनै रोजगार गर्छु भनेपछि केही साता अगाडि मात्र जागिरे भएर पहाडी क्षेत्रमा गइरहेका आफ्ना पितालाई अब मैले सहन सकिनँ भनेर उनले यस्तो चिठी लेखेका थिए :

बा,

तपाईंको आज्ञा पालन गरेर शान्तिसित बसूँला भन्ने लागेको थियो, सक्तै सकिनँ, म सक्तिनँ । आज रातभर निद्रा परेन । बिर्से पनि हुने पाठ म घोकिरहेछु, सम्झनुपर्ने पाठ चाहिँ मैले बिर्सन आँटेछु। आफ्नो पेटको अग्निलाई आफ्नै रगतले निभाइरहेका भोका अगणित भाइहरूका पहेंला सुखसित डराएर आँखा चिम्लन आँटेछु। तिनका पेटको गहिरो स्वरले मागेको सुन्न नसकी कान थुनेर भाग्न पो आँटेछु । अन्तस्करणबाट आगो रुमल्लिएर आयो। के के असह्य भयो । अब म सहन असमर्थ छु । जताततै कोलाहलको ज्वाला देख्छु, आफैँ सल्कन लागेको छु। मलाई त्यो निभाएर मर्न दिनोस् ।

तपाईं मेरा पिता हुनुहुन्छ तर हामी सबैजनाको जन्मभूमि माताप्रतिको हाम्रो कर्तव्यमा तपाईंको आज्ञाले म पछि हट्न सक्तिनँ- म तपाईंको आज्ञाले चुपचाप राष्ट्रको पाप बोक्न सक्तिनँ। अब मेरो माया मारिदिनोस् । मेरा अरु भाइहरू छँदैछन्, एउटा छोरालाई नेपाल आमाको निम्ति बलिदान दिनुहोला भन्ने देशभक्त पुत्र गङ्गालालको निवेदन छ । अत्याचार र अन्यायको विरुद्ध लड्दै म देशलाई छातीको ढाल थापेर बचाउँछु।

(सिद्धिचरण श्रेष्ठको पुस्तक 'जेल संस्मरण'बाट)

मूल्याङ्कन, २०६७ भदौमा प्रकाशित