जनावरलाई पनि मान्छेलाई जस्तै मुद्दा र सजाय !

सुन्दा र पढ्दा पनि अनौठो लाग्न सक्छ, तर मध्ययुगीन युरोप (५ औँ देखि १५ औँ शताब्दीको बीचमा) मा जनावरलाई पनि मानिसलाईइ सरह कानूनी कारवाहीको भाग बनाइन्थ्यो। मानिसजस्तै जनावरलाई अपराधी ठहर गरी मुद्दा हालिन्थ्यो र मानवमाथि जस्तै कानूनी प्रक्रिया पूरा गरेर सजायँ सुनाइन्थ्यो।
यो प्रथा खासगरी १२ औँ शताब्दी देखि १८ औँ शताब्दी सम्म प्रचलनमा थियो र यसलाई आजको दृष्टिकोणले हेरिँदा धेरै अचम्म लाग्न सक्छ। तर त्यो बेला समाजको धर्म, नैतिकता र कानूनको संरचनाले यस्तो व्यवस्थालाई सहजै स्वीकार तथा लागू गरेको थियो । त्यस अवधिमा जनावरमाथि मुद्दा लगाउने प्रचलन युरोपभरि फैलिएको पाइन्छ – विशेष गरी फ्रान्स, स्वीट्जरल्यान्ड, इटाली र जर्मनीमा।
धेरैजसो मुद्दाहरू ग्रामीण समुदायमा घटित हुन्थे जहाँ धार्मिक विश्वास र स्थानीय परम्पराले कानूनी अभ्यासलाई निर्देशित गर्थे।
जनावरलाई पनि मानिसलाई जस्तै मुद्दा चलाउने र दण्डसजाय गर्नेबारेको सबैभन्दा पुरानो अभिलेखित मुद्दा सन् १२६६ मा फ्रान्सको फोन्तेने-ओ-होज (Fontenay-aux-Roses) भन्ने स्थानमा भएको थियो। त्यो घटनामा एक सुँगुरमाथि सानो केटाको हत्या गरेको आरोप लगाइएको थियो।
त्यसअनुसार सुँगुरलाई दण्ड सजायका सम्पूर्ण अदालती प्रक्रियाहरु पूरा गरेर कारवाही अगाडि बढाइएको थियो । रमाइलो त के थियो भने सुँगुरको बचाउके लागि वकील नै समेत पनि तोकिएको थियो । उक्त मुद्दामा आखिरमा सुँगुरलाई दोषी ठहर गरेर मृत्युदण्डको सजाय दिइएको थियो ।
यसरी मानिसलाई जस्तै जनावरहरुलाई पनि मुद्दा चलाउने प्रचलनका पछाडी धार्मिक विश्वासले काम गरेको थियो । त्यसबेला समाजले प्राकृतिक र सामाजिक नियमलाई ईश्वरको व्यवस्था ठान्थ्यो। जनावरले अपराध गरेमा त्यसलाई पनि ईश्वरको विरोध वा सामाजिक व्यवस्था भङ्ग गरेको मानिन्थ्यो। यसकारण न्यायको पुनर्स्थापनाका लागि जनावरलाई पनि कारवाही गर्नु आवश्यक ठानिन्थ्यो।
त्यसबाहेक कानूनी रूपमा अपराध गरेपछि दण्ड नदिँदा सामूहिक पाप फैलने विश्वासका कारण जनावरलाई दण्डित नगरिने हो भने उसले गरेको पापको भारसमेत समाजले भोग्नुपर्ने ठानिन्थ्यो।
त्यसो त समाजमा "न्याय" कायम राख्न र सार्वजनिक रूपमा अनुशासन कायम गर्न जनावरलाई पनि सजायँ दिने परिपाटी बसाइएको थियो भन्ने मत पनि प्रचलित छ । यस मतका अनुसार, त्यसरी जनावरलाई समेत दण्डित गरिँदा त्यसले अपराधका विरुद्ध समुदायमा 'सजगता' फैलाउँथ्यो।
त्यसबेला सबैभन्दा बढी मुद्दा सुँगुरमाथि चलेको थियो । विशेषगरी सुँगुरहरू माथि सानो बच्चालाई आक्रमण गरेर मारेको आरोपमा धेरै मुद्दा दर्ता गरिन्थ्यो। किनकि सुँगुरलाई त्यति बेला गाउँघरमा खुला राख्ने चलन थियो र त्यस्ता खुला छाडिएका सुँगुरले बच्चामाथि आक्रमण गर्ने गरेको घटना बढी हुने गर्थे । १५ औँ शताब्दीमा एक सुँगुरलाई मानिसको कान टोक्नाले मृत्युदण्ड दिइएको थियो । त्यसैगरी, १४५७ मा एउटा माउ सुँगुर र त्यसका तीन बच्चालाई एक बालकको हत्या गरी मासु खाएको आरोपमा मुद्दा हालिएको थियो। त्यसको अदालती प्रक्रिया पूरा हुँदा आमालाई मृत्युदण्ड दिइएको थियो भने बच्चाहरूलाई निर्दोष ठहर गरी रिहा गरिएको थियो ।
सुँगुरबाहेक, कुकुर, घोडा, गधा, गाईबस्तु, मुसा छेपारो जस्ता साना जनावरहरूमाथि समेत मुद्दा चलाइएको पाइन्छ । १५२२ मा ओतँ, फ्रान्स (Autun, France) मा बाली नष्ट गरेको अभियोगमा मुसाहरू विरुद्ध मुद्दा चलाइएको थियो। त्यस मुद्दामा अदालतले आधिकारिक रूपमा मुसालाई अदालतमा उपस्थित हुन सार्वजनिक आदेश नै जारी गरेको थियो । त्यस मुद्दामा मुसालाई दोषी ठहर्याइएको थियो । दोषी मूसाहरुलाई समातेर मृत्युदण्ड दिन सम्भव नभएपछि धार्मिक बहिष्करको विधि (excommunication) अपनाएर 'चर्च' बाट निष्कासन गरिएको थियो ।
त्यसैगरी, १७ औँ शताब्दीमा एउटा घोडालाई आफ्ना मालिकलाई घाइते बनाएको अभियोगमा मुद्दा चलाई मृत्युदण्डको सजाय दिइएको थियो ।
मुद्दाको प्रक्रिया
जनावरहरुविरुद्धको मुद्दामा मानिसविरुद्धको मुद्दाका सबै प्रक्रियाहरु अनुशरुण गरिइन्थ्यो । त्यसअनुसार जनावरले गरेको अपराधको आरोप सार्वजनिक गरिन्थ्यो। धेरैजसो हत्या, आक्रमण, बालबालिकालाई क्षति पुर्याउने, बाली नष्ट गर्नेजस्ता अपराधहरूमा मुद्दा चलाइन्थ्यो।
आरोप लागेका जनावरलाई पनि सशरीर अदालतमा उपस्थित गराइन्थ्यो। सुँगुर, कुकुर, गधा, घोडा जस्ता ठूला जनावरहरूलाई साँच्चिकै अदालत ल्याइन्थ्यो। पक्रेर उपस्थित गराउन नसकिने वा गाह्रो हुने साना जनावरहरू (जस्तै मुसा, कीरा फट्याङ्ग्राहरु) को हकमा भने तिनका विरुद्ध सार्वजनिक आदेश जारी गरिन्थ्यो।
मानिसहरुलाई जस्तै जनावरको पक्षबाट पनि प्रतिरक्षा वकिल (Defense Attorney) खटाइन्थ्यो । त्यसरी खटाइएका वकीलले जनावर निर्दोष रहेको तर्क पेश गरेर आरोपित जनावरहरुलाई बचाउने प्रयत्न गर्थ्यो। मुद्दाको क्रममा साक्षीहरूको बयान लिइन्थ्यो। समुदायका मानिसहरूले आफ्नो कुरा राख्थे। यसरी अदालती प्रक्रिया पूरा गरेर दोषी प्रमाणित भएमा जनावरलाई मृत्युदण्ड, निर्वासन, बन्धन वा धार्मिक बहिष्कार (excommunication) जस्ता सजाय सुनाइन्थ्यो।
यसरी जनावरमाथि मुद्दा चलाउने र दण्ड दिने परम्परा मध्ययुगीन युरोपको धार्मिक र कानूनी चेतनाको दृष्टान्त हो।आजको दृष्टिले हेर्दा यो अचम्म लागे पनि, त्यो समयमा समुदायको अस्तित्व रक्षा गर्ने एउटा सांस्कृतिक संयन्त्रका रूपमा यसलाई बुझ्नुपर्छ।

जब ह्वेलहरू चार खुट्टामा हिँड्थे

प्रेम वियोगमा परेपछि ‘इथानोल’ खाने झिङ्गा

सरगमाथाभन्दा माथिको उचाइमा उड्ने मौरी !

सुन बनाउने ब्याक्टेरिया क्युप्रिविड्स मेटालिड्युरन्स !

व्यक्तिपिच्छे फरक हुन्छ मानिसको औंठाछाप !

पृथ्वीको सबैभन्दा सुक्खा स्थानमा पनि फूल फुल्यो !

विशालकाय ब्लु ह्वेलको साँघुरो घाटी !

प्रतिक्रिया