लेनिन: क्रान्तिको कठोर अनुशासन र मानवीय संवेदना

क्रान्तिको सरल अनुहार: लेनिनको जीवनशैली र आत्मनियन्त्रण – एक अमेरिकी पत्रकारको मूल्याङ्कनमा लेनिन

क्रान्तिले कठोर अनुशासन माग्छ — र लेनिन यसका प्रतिमूर्ति थिए। तर, कठोरता मात्र उनको सम्पूर्ण व्यक्तित्व होइन। क्रान्तिको आँधीमा उनले वर्गसंघर्षको जटिल मार्ग कोरे, सत्ता कब्जाको रणनीति बुने, र जनताको मुक्तिको सपना बोके। तर त्यही व्यक्ति अस्पतालमा खाटमा थलिएका श्रमिकलाई चिठी लेख्थे, युद्धमा घाइते भएका रेड आर्मीका सदस्यको मनोबल बढाउँथे। यो अनुच्छेदमा हामी लेनिनलाई केवल एउटा राजनीतिक रणनीतिकार हैन, एक संवेदनशील मन, एक युगनिर्माता व्यक्तित्वको रूपमा चिन्नेछौं — जसले अनुशासन र मानवता बीच सन्तुलन साध्ने कठिन प्रयत्न गरे।

यहाँ हामीले प्रसिद्ध अमेरिकी पत्रकार अल्बर्ट रीस विलियम्सको किताब ‘लेनिनका साथ दस महिना’का केही अंशहरू प्रस्तुत गरेका छौं । रीस विलियम्स ती पाँच जना अमेरिकी पत्रकारमध्ये एक थिए, जसले रुसी क्रान्तिको क्रममा त्यहाँ रहँदै ती युगान्तकारी घटनाहरूलाई लिपिबद्ध गरेका मात्र थिएनन्, इतिहास निर्माणको त्यो युगान्तकारी घटनामा स्वयंले पनि भूमिका निर्वाह गरेका थिए। 'दस दिन जब दुनिया हिल उठी' का लेखक जोन रीड पनि ती पाँच अमेरिकी पत्रकारमध्ये एक थिए।

दायित्वबोध

लेनिन – पहिलो नजरमा

आफ्नै क्रान्तिको विजयबाट प्रफुल्ल र हर्षोन्मत्त हुँदै गीत गाउँदै मजदुर र सैनिकहरूको समूह स्मोल्नीको ठूलो हलमा भेला हुँदै थिए । क्रूजर ‘अव्रोरा’को तोपको गर्जनले पुरानो व्यवस्थाको अन्त्य र नयाँ सामाजिक व्यवस्थाको आगमनको घोषणा गरिरहेको थियो । ठीक त्यही बेला लेनिन सौम्य भावमा मञ्चतर्फ बढे र अध्यक्षले सूचित गरे, ‘‘अब कमरेड लेनिनले कांग्रेसको सामु आफ्ना विचार प्रस्तुत गर्नुहुनेछ।’’

हामी हाम्रो मानसपटलमा बनाइएको लेनिनको व्यक्तित्वको त्यो चित्र उनीसँग मेल खान्छ कि खान्न भनेर हेर्न  उत्सुक थियौँ । तर हामी संवाददाताहरू बसेको ठाउँबाट सुरुमा उनी देखिँदै देखिएनन्। नाराहरू, तालीहरूको गडगडाहट, उल्लासपूर्ण ध्वनि, सिठी र खुट्टा ठटाउने आवाजका बीच उनी सभा-मञ्च हुँदै अघि बढे र जति बेलामा मञ्चमा पुग्दा, जुन स्थान हामीबाट ३० फिटभन्दा टाढा थिएन, जनताको उत्साह आफ्नो चरम सीमामा पुगेको थियो। अब उनी स्पष्ट देखिन थाले। उनलाई देखेपछि हाम्रो मन खल्लो भयो।

हामीले आफ्नो मस्तिष्कमा बनाएको  चित्रभन्दा उनी पूर्णतः भिन्न देखिए। हामीले सोचेका थियौँ कि उनी अग्ला र प्रभावशाली व्यक्तित्वका हुनेछन्, तर उनी होचा कदका र बलियो शरीरका देखिए। उनको दाह्री र कपाल रूखो र अस्तव्यस्त थियो। तीव्र हर्षध्वनि कम गर्न इशारा गर्दै उनले भने, ‘‘साथीहरू, अब हामीले समाजवादी राज्यको निर्माण कार्य आफ्नै हातमा लिनुपर्छ।’’ त्यसपछि उनी शान्त भावमा ठोस तथ्यहरूको उल्लेख गर्न थाले। उनको आवाजमा वक्तृत्वकला भन्दा कठोरता र सरलता बढी देखिन्थ्यो। उनी आफ्नो गोजी नजिकको भेस्टमा औँलाहरू घुसाएर, कुर्कुच्चाको बलमा अगाडि-पछाडि हल्लिँदै भाषण दिइरहेका थिए। हामीले एक घण्टा उनको भाषण सुनिरह्यौँ, यो पत्ता लगाउने आशामा कि कुन गुप्त सम्मोहन शक्ति हो जसले यी स्वतन्त्र, युवा र दबंग मानिसहरूको मन जितेको छ। तर त्यो प्रयास निष्फल भयो।

हामीले आफ्नो मस्तिष्कमा बनाएको  चित्रभन्दा लेनिन पूर्णतः भिन्न देखिए। हामीले सोचेका थियौँ कि उनी अग्ला र प्रभावशाली व्यक्तित्वका हुनेछन्, तर उनी होचा कदका र बलियो शरीरका देखिए।

हामी निराश भयौँ। बोल्शेविकहरूले आफ्ना जोशिला र साहसी कार्यहरूबाट हाम्रो मन जितिसकेका थिए। हामीलाई आशा थियो कि उनीहरूको नेता पनि यस्तै ढंगले हाम्रो ध्यान खिच्नेछ। हामी चाहन्थ्यौँ कि यस दलको नेता ती सबै गुणहरूको प्रतीक, सम्पूर्ण आन्दोलनको प्रतीक, एक ‘‘महा बोल्शेविक’’ (विशाल व्यक्तित्व) को रूपमा उपस्थित होस्। तर यसको विपरीत, हामीले एक ‘‘मेन्शेविक’’ जस्तै – अत्यन्तै सामान्य देखिने एक सानो व्यक्तित्व – लाई आफ्ना सामु देख्यौँ।

अंग्रेज संवाददाता जुलियस वेस्टले बिस्तारै भने, ‘‘यदि उनी थोरै मात्र सजिएका देखिन्थे भने, तपाईंले उनलाई कुनै सानो ‘फ्रान्सेली नगर’का पुँजीवादी मेयर वा बैंकर ठान्नुहुन्थ्यो।’’ ती संवाददाताका साथीले पनि चुपचाप साउती गर्दै भने, ‘‘हो, निःसन्देह यति ठूलो कार्यको लागि तुलनात्मक रूपमा एक सानो व्यक्ति।’’

हामी जान्दथ्यौं कि बोल्शेविकहरूले कति ठूलो कार्यको जिम्मा लिएका थिए। के उनीहरूले त्यो महान कार्य सम्पन्न गर्न सक्नेछन्? सुरुमा हामीलाई उनीहरूको नेता कमजोर लाग्यो। यस्तो थियो पहिलो नजरको प्रभाव। यस्ता प्रकारका प्रारम्भिक प्रतिकूल प्रभावहरूका बाबजुद, छ महिनापछि मैले आफूलाई वोस्कोव, नैबुत, पेटेर्स, वोलोदास्र्की र यानिशेभको पंक्तिमा फेला पारेँ, जसको दृष्टिमा निकोलाई लेनिन युरोपका सर्वोत्कृष्ट व्यक्ति तथा दूरदर्शी राजनीतिज्ञ थिए।

लेनिनको व्यक्तिगत जीवनमा कठोर अनुशासन

लेनिनले सामाजिक जीवनमा जुन कठोर अनुशासनको भावना फैलाइरहेका थिए, ठीक त्यसै प्रकार उनले आफ्नै व्यक्तिगत जीवनमा पनि कठोर अनुशासनको पालना गर्थे। श्ची र बोर्श्च (चुकन्दर र आलुबाट तयार गरिने दुई प्रकारका झोल), कालो रोटीको टुक्रा, चिया र दाल — स्मोल्नीमा आउने सबैको यही भोजन हुन्थ्यो। लेनिन, उनकी पत्नी र बहिनीको पनि यही भोजन हुन्थ्यो। क्रान्तिकारीहरू हरेक दिन १२ देखि १५ घण्टासम्म काममा खट्थे। लेनिन भने दैनिक १८ देखि २० घण्टासम्म काम गर्थे। उनी आफ्नै हातले सयौँ पत्रहरू लेख्थे। काममा यति संलग्न हुन्थे कि अन्य कुनै कुराको, यहाँसम्म कि आफ्नो खानेपिउनेको समेत ख्याल राख्दैनथे। लेनिन जब कुराकानीमा डुबेका हुन्थे, तब उनकी पत्नी हातमा चियाको गिलास लिएर त्यहाँ पुग्थिन् र भन्दिन्, ‘‘कामरेड, चिया राखिएको छ, पिउन नबिर्सनुहोला।’’

लेनिनले कुनै तपस्वीको भावनाले प्रेरित भएर यी कष्टहरू सहन थालेका थिएनन्। उनी त केवल कम्युनिज़्मका प्रारम्भिक सिद्धान्तहरूलाई व्यवहारिक रूप दिइरहेका थिए। ती सिद्धान्तहरूमध्ये एक सिद्धान्त यस्तो थियो — कुनै पनि कम्युनिस्ट अधिकारीको तलब सामान्य मजदुरको तलबभन्दा बढी हुनु हुँदैन।

चियामा प्रायः चिनी हुन्नथ्यो, किनभने लेनिन पनि अरू सबैजस्तै राशनबाट जति चिनी प्राप्त हुन्थ्यो, त्यतिमै गुजारा गर्थे। सैनिकहरू र सन्देशवाहकहरू सरहनै ठूला, खाली र ब्यारेकजस्ता कोठाहरूमा फलामका खाटहरूमा सुत्थे। लेनिन र उनकी पत्नी पनि त्यस्तै खाटहरूमा सुत्थे। उनीहरू थाकेका शरीर लिएर कडा खाटमा निदाउँथे र कुनै आकस्मिक घटना वा संकटको समयमा तत्काल उठ्न सक्ने हिसाबले प्रायः कपडा पनि नफुकालिकन सुत्थे।

लेनिनले कुनै तपस्वीको भावनाले प्रेरित भएर यी कष्टहरू सहन थालेका थिएनन्। उनी त केवल कम्युनिज़्मका प्रारम्भिक सिद्धान्तहरूलाई व्यवहारिक रूप दिइरहेका थिए। ती सिद्धान्तहरूमध्ये एक सिद्धान्त यस्तो थियो — कुनै पनि कम्युनिस्ट अधिकारीको तलब सामान्य मजदुरको तलबभन्दा बढी हुनु हुँदैन। सुरुमा अधिकतम तलब ६०० रूबल तोकिएको थियो। पछि यसमा केही वृद्ध‍ि भयो।

लेनिनले जब ‘नेशनल’ होटलको दोस्रो तलामा आफ्ना लागि कोठा लिए, त्यो बेला म पनि त्यहीँ बसेको थिएँ। सोभियत शासनको पहिलो कदम थियो — लामो र अत्यधिक खर्चिलो भोजनसूचीलाई अन्त्य गर्नु। भोजनमा विभिन्न प्रकारका परिकारहरू हटाएर केवल दुई परिकारको सूची बनाइयो। जसले पनि झोल र मासु वा झोल र दालमध्ये एक छनोट गर्न सक्थ्यो। चाहे त्यो व्यक्ति जन-कमिसार होस् वा भान्सामा काम गर्ने श्रमिक — सबैलाई उही भोजन मिल्थ्यो। किनभने कम्युनिस्टहरूको सिद्धान्त भन्छ, ‘‘जबसम्म प्रत्येक व्यक्तिलाई रोटी नपुग्दैन, तबसम्म कसैले पनि केक पाउनु हुँदैन।’’

यस्ता दिनहरू पनि आउँथे, जब जनताका लागि रोटीको समेत अभाव हुन्थ्यो। त्यतिबेला पनि लेनिनलाई त्यत्तिकै रोटी मिल्थ्यो, जति अरुले पाउँथे ।  कहिलेकाहीँ त रोटी नै हुन्थेन। त्यस्ता दिनहरूमा लेनिनले पनि रोटी पाउँदैनथे।

लेनिनको हत्या गर्ने प्रयासपछि जब मृत्यु उनको टाउकोमाथि मडारिएको देखिन्थ्यो, तब डाक्टरहरूले उनका लागि केही यस्ता खानेकुराहरू निर्दिष्ट गरे, जुन नियमित भोजन-कार्डअनुसार उपलब्ध थिएनन् र जुन बजारमा कुनै मुनाफाखोरसँग मात्रै किन्न सकिन्थ्यो। आफ्ना साथीहरूको धेरै अनुरोधका बावजुद पनि उनले त्यस्ता कुनै खाद्य-पदार्थलाई छुनसमेत अस्वीकार गरे, जुन वैध राशन-कार्डको अङ्ग नहोस्।

पछि जब लेनिन स्वास्थ्यलाभ गर्दै थिए, तब उनकी पत्नी र बहिनीले उनको भोजनको मात्रा बढाउने एउटा उपाय निकाले। यो देखेपछि कि उनी आफ्नो रोटी टेबुलको घर्रामा राख्छन्, उनीहरू उनको अनुपस्थितिमा चुपचाप कोठामा पस्थे र बेला-बेला रोटीको अतिरिक्त टुक्रा त्यही दराजमा राखिदिन्थे। आफ्नो काममा लीन लेनिन त्यो रोटीको टुक्रा नियमित राशनभन्दा बढी भएको थाहा नपाई मेजको दराजबाट निकालेर खान्थे।

टाढाबाट कम्युनिज्मका सिद्धान्तहरू प्रति आस्था प्रकट गर्नु एउटा कुरा हो, तर लेनिनझैँ कम्युनिस्ट सिद्धान्तहरू कार्यान्वयन गर्दा आउने कष्ट र दारुण अवस्थाको सामना गर्नु बिल्कुल अर्कै कुरा हो।

लेनिनले युरोप र अमेरिकाका मजदुरहरूका नाममा लेखिएको पत्रमा लेखे, "रूसका जनताले कहिल्यै पनि यति दुःख, भोकको यति पीडा सहनु परेको थिएन जति अहिले मित्रराष्ट्रहरूको सैनिक हस्तक्षेपका कारण भोग्नुपरेको छ।" यी सबै कठिनाइहरू लेनिनले पनि जनतासँगै भोगिरहेका थिए।

लेनिन विरुद्ध एक महान राष्ट्रको जीवनसँग जुवा खेलेको र रोगग्रस्त रूसमा प्रयोगशालाको जस्तै ढंगले आफ्नो कम्युनिस्ट सूत्रहरू लापरवाहीपूर्वक लागू गरेको आरोप लगाइएको छ। तर, ती सूत्रहरूमा विश्वासको अभाव भएको आरोप चाहिँ उनको विरुद्ध लगाउन सकिँदैन। उनले केवल रूसमा होइन, आफूमाथि पनि ती सूत्रहरूको प्रयोग गरे। उनले अरूलाई जुन औषधि दिए, त्यो आफैंले पनि पिए। टाढाबाट कम्युनिज्मका सिद्धान्तहरू प्रति आस्था प्रकट गर्नु एउटा कुरा हो, तर लेनिनझैँ कम्युनिस्ट सिद्धान्तहरू कार्यान्वयन गर्दा आउने कष्ट र दारुण अवस्थाको सामना गर्नु बिल्कुल अर्कै कुरा हो।

लेनिनको असाधारण आत्मनियन्त्रण

लेनिनले सबै अवसरहरूमा पूर्ण आत्मनियन्त्रण कायम राख्थे। ती घटनाहरू जसले अरू व्यक्तिहरूलाई अत्यन्त आवेशमा ल्याउँथ्यो, त्यस्ता परिस्थितिहरूमा पनि उनी शान्त रहन्थे र धैर्यको परिचय दिन्थे।

संविधान सभाको एक ऐतिहासिक अधिवेशनमा त्यसका दुई गुटहरू एकअर्काको घाँटी काट्न तयार थिए र त्यसले निकै कोलाहलपूर्ण वातावरण सिर्जना गरेको थियो। प्रतिनिधिहरू चिच्याइरहेका थिए र आफ्ना मेजहरू पिटिरहेका थिए, वक्ताहरू उच्च स्वरमा धम्की र चुनौती दिइरहेका थिए र दुई हजार प्रतिनिधिहरू जोश र आवेशमा अन्तर्राष्ट्रिय तथा क्रान्तिकारी अभियानसम्बन्धी गीत गाइरहेका थिए। वातावरण अत्यन्तै उत्तेजक बनिसकेको थियो। जति रात बित्दै गयो, उत्तेजना पनि त्यति नै बढ्दै गयो। दर्शकदीर्घामा हामीले रेलिङ कस्सिएर समातेका थियौँ, तनावले हाम्रा ओठहरू कसिएका थिए। हाम्रो धैर्य समाप्त हुने अवस्थामा थियो। अगाडिको पङ्क्तिमा बाकसमा बसेका लेनिन भने झकाएका जस्तो देखिन्थे।

लामा बहसहरूका तनावपूर्ण वातावरणमा, जब उनका विरोधीहरूले अत्यन्त कठोरतापूर्वक उनीमाथि आलोचना गर्थे, त्यतिबेला पनि लेनिन शान्तपूर्वक बसेका हुन्थे र त्यस अवस्थामा पनि हास-परिहास गरेर आफूलाई रमाइलो गराउँथे।

अन्तमा उनी आफ्नो स्थानबाट उठे र मञ्चको पछाडि गएर रातो गलैंचाले ढाकिएको सिँढीमा बसे। बेला-बेला उनी प्रतिनिधिहरूको समूहतर्फ दृष्टि लगाउँथे। त्यतिबेला यस्तो लाग्थ्यो मानौँ उनी भन्न खोजिरहेका छन्, "यहाँ यत्रा मानिसहरूले आफ्नो स्नायुका शक्ति यत्तिकै नष्ट गरिरहेका छन्। तर खैर, यहाँ एउटा व्यक्ति छ, जसले यसको सञ्चय गर्न गइरहेको छ।" आफ्ना हथेलीमा टाउको राखेर उनी सुत्न थाले। वक्ताहरूको भाषणकला र श्रोताहरूको चिच्याहट उनीमाथि गुञ्जिरह्यो, तर उनी शान्तिपूर्वक सुतिरहे। एक–दुई पटक उनले आँखा खोले, क्षणभर हेरे, अनि फेरि सुत्न थाले। अन्ततः उनी उठे, जिउ तन्काएर लिए र बिस्तारै अगाडिको पङ्क्तिमा गएर आफ्नो स्थानमा बसे। ...

लामा बहसहरूका तनावपूर्ण वातावरणमा, जब उनका विरोधीहरूले अत्यन्त कठोरतापूर्वक उनीमाथि आलोचना गर्थे, त्यतिबेला पनि लेनिन शान्तपूर्वक बसेका हुन्थे र त्यस अवस्थामा पनि हास-परिहास गरेर आफूलाई रमाइलो गराउँथे। सोभियतहरूको चौथो काङ्ग्रेसमा आफ्नो भाषण समाप्त गरेपछि आफ्ना पाँच विरोधीहरूको आलोचना सुन्न उनी मञ्चमै बसे। जब उनलाई लाग्थ्यो कि विरोधीले कुनै उचित कुरा भनेको छ, तब लेनिन खुलेर मुस्कुराउँथे र खुसीको ध्वनिमा सहभागी हुन्थे। जब उनी बुझ्थे कि विरोधीले हास्यास्पद वा अनर्गल कुरा गरेको छ, तब लेनिन व्यङ्ग्यात्मक शैलीमा मुस्कुराउँथे र खिल्ली उडाउन अभिप्रायले औंलाहरू सटाएर ताली बजाउँथे।

व्यक्तिगत कुराकानीमा लेनिन

मैले लेनिनलाई केवल एकपटक मात्रै थकित देखेँ। जन-कमिसार परिषदको मध्यरातसम्म चलेको बैठकपछि उनी ‘नेशनल’ होटेलमा आफ्नी पत्नी र बहिनीका साथ लिफ्टमा पाइला राख्दै थिए। थकित स्वरमा उनले अङ्ग्रेजीमा भने, ‘‘गुड इभनिङ।’’, अनि तुरुन्तै आफ्नो त्रुटि सुधार्दै भने, ‘‘इट इज गुड मर्निङ। म सारा दिन र रात पनि कुराकानीमै लागिरहेँ र थाकिसकेको छु। अब केवल एउटा तलामात्र माथि जान बाँकी छ, तर म लिफ्ट चढ्दैछु।’’

मैले केवल एकपटक मात्रै उनलाई छिटो-छिटो हिँड्दै वा हत्तारिँदै आएको देखें। त्यो फेब्रुअरी महिनाको कुरा हो, जब ताब्रीचेस्की प्रासाद फेरि एकपटक तिखो विवाद—जर्मनीसँग युद्ध वा शान्तिको प्रश्नको बहस—को केन्द्र बनेको थियो।

उनी तीव्र गतिमा लामो पाइला चाल्दै प्रवेश कक्ष पार गर्दै सभागारको मञ्च-ढोकातर्फ अघि बढिरहेका थिए। प्रोफेसर चार्ल्स कून्त्स र म त्यहाँ उभिएर उनी प्रतीक्षा गरिरहेका थियौँ। हामीले उनीसँग अभिवादन गर्दै भन्यौँ, ‘‘कामरेड लेनिन, एकछिन रोकिनुहोस्।’’

उनी तीव्र गतिमा अघि बढिरहेका क़दम रोके र लगभग एक सैनिकजस्तै सतर्क ढंगले उभिएर गम्भीरतापूर्वक टाउको झुकाउँदै भने, ‘‘साथीहरू, कृपया अहिले मलाई नरोक्नुहोस्! मसँग एक सेकेन्ड समय पनि छैन। मञ्चभित्र मानिसहरूले मेरो प्रतीक्षा गरिरहेका छन्। कृपया, अहिले मलाई माफ गर्नुहोस्, म रोकिन सक्दिनँ।’’

उनले फेरि टाउको झुकाए, हामी दुवैसँग हात मिलाए र फेरि तीव्र गतिमा अघि बढे।

हुन सक्छ अङ्ग्रेजी भाषाको प्रयोगका कारण यस्तो भएको हो—उनी पुस्तकहरूबाट प्राप्त सभ्य संवादका परिष्कृत शैलीहरूको पूर्ण प्रयोग गर्थे। तर यसभन्दा बढी सम्भावना यो छ कि यो उनको सामाजिक आचार व्यवहारको अभिन्न अङ्ग थियो, किनभने अन्य क्षेत्रहरूझैँ सामाजिक शिष्टाचारमा पनि लेनिन अत्यन्त कुशल थिए।

बोल्शेविक-विरोधी विल्कक्सले मानिसहरूसँग लेनिनको मधुर व्यवहारप्रति आफ्नो मत व्यक्त गर्दै लेखेका छन् कि एक अङ्ग्रेज व्यापारी एक नाजुक परिस्थितिमा आफ्नो परिवारको सुरक्षाका निम्ति लेनिनको व्यक्तिगत सहयोग माग्न उनीकहाँ पुगे। उसलाई यो देखेर अत्यन्त आश्चर्य लाग्यो कि ‘‘रक्तपिपासु क्रूर शासक’’ वास्तवमा कोमल स्वभावको, शालीन व्यक्ति थिए, उनको व्यवहार सहानुभूतिपूर्ण थियो र उनी आफ्नै सामर्थ्य अनुसार सहयोग गर्न सधैं इच्छुक देखिन्थे।

साँचो भन्ने हो भने कहिलेकाहीँ उनी अत्यधिक अतिरञ्जित ढंगमा शिष्टता र विनम्रता प्रदर्शन गर्थे। हुन सक्छ अङ्ग्रेजी भाषाको प्रयोगका कारण यस्तो भएको हो—उनी पुस्तकहरूबाट प्राप्त सभ्य संवादका परिष्कृत शैलीहरूको पूर्ण प्रयोग गर्थे। तर यसभन्दा बढी सम्भावना यो छ कि यो उनको सामाजिक आचार व्यवहारको अभिन्न अङ्ग थियो, किनभने अन्य क्षेत्रहरूझैँ सामाजिक शिष्टाचारमा पनि लेनिन अत्यन्त कुशल थिए। उनी गौण व्यक्तिहरूसँग कुराकानी गरेर आफ्नो समय नष्ट गर्दैन थिए। सजिलैसँग उनीसँग भेट हुन सक्दैनथ्यो। उनको भेट-कक्षमा यस्तो सूचना-पत्र टाँसिएको हुन्थ्योः ‘‘भेटघाट गर्न आउनेहरूलाई सूचित गरिन्छ कि उनी त्यस्तो व्यक्तिसँग कुराकानी गर्न गइरहेका छन्, जो अत्यधिक कामको चापका कारण अति व्यस्त रहन्छन्। अनुरोध छ कि भेटकर्ताहरूले आफ्नो कुरा संक्षेपमा र स्पष्ट ढंगले राखून्।’’

लेनिनसँग भेट्न गाह्रो थियो, तर एकपटक भेट हुनासाथ उनी भेटकर्ताको हरेक कुरा ध्यानपूर्वक सुन्थे।

उनी आफ्नो सम्पूर्ण ध्यान भेटकर्तामाथि यति केन्द्रित गर्थे कि भेटकर्तालाई समेत असहजता महसुस हुन थाल्थ्यो। नम्र र प्रायः भावनात्मक अभिवादनपछि उनी भेटकर्तासँग यति नजिक आइपुग्थे कि उनको अनुहार भेटकर्ताबाट एक फुटभन्दा पनि कम दूरीमा रहन्थ्यो। संवादको क्रममा उनी अझ झन् नजिक सर्थे र भेटकर्ताको आँखामा यति गहिरो दृष्टिले हेरिरहन्थे, मानौँ उसकै मस्तिष्कको अन्तरतम तहको विश्लेषण गरिरहेका छन्, उसको आत्मा भित्र झाँकिरहेका छन् । केवल मलिनोव्स्कीजस्तो निर्लज्ज झूटो व्यक्ति मात्रै यस्तो तीव्र दृष्टिको गहिरो प्रभावको प्रतिरोध गर्न सक्थ्यो। (मलिनोव्स्की एउटा यस्तो धूर्त जासूस थियो, जो पार्टीको केन्द्रीय कमिटीसम्म नै पुग्न सफल भएको थियो।–अनु.)

हामी एकजना समाजवादीसँग प्रायः भेट गर्थ्यौँ, जसले सन् १९०५ मा मस्कोमा भएको क्रान्तिमा भाग लिएको थियो र जो मोर्चामा समेत साहसपूर्वक लडेका थिए। पछि सुख-सुविधाको जीवन बिताउने र व्यक्तिगत सफलता तथा उन्नतिको भावना बोकेकोले उनले आफ्नो प्रारम्भिक ज्वलन्त निष्ठाबाट विचलन भोगेका थिए। उनी त्यसबेला अङ्ग्रेजी भाषामा प्रकाशन हुने थुप्रै पत्रिकाहरू निकाल्ने संस्थाको प्रतिनिधि र प्लेखानोभको पत्र ‘येदीन्स्त्वो’ का संवाददाता थिए। सधैं ‘सुटेटबुटेट’ भएर बस्ने गर्थे।

लेनिन मेरो नजिक आएर भने, 'हो, कामरेड, तर यस क्रान्तिका लागि अब तपाईं के गर्दै हुनुहुन्छ?' उनको अनुहार मसँग ६ इन्च भन्दा बढी दूरीमा थिएन र उनका आँखा एकटक मेरो आँखामा हेर्दै थिए। मैले मस्कोमा मोर्चाबन्दीका दिनका आफ्ना कार्यहरूको चर्चा गरेँ र एक क़दम पछि सरेँ। तर लेनिन एक क़दम अगाडि बढे र मेरो आँखामा आँखा गाडेर उनले फेरि भने, 'हो, कामरेड, तर यस क्रान्तिका लागि अब तपाईं के गर्दै हुनुहुन्छ?'

लेनिन पूँजीवादी लेखकहरूसँग भेट गर्नु आफ्ना लागि समयको नाश ठान्दथे। तर यो व्यक्तिले आफ्ना पुराना क्रान्तिकारी कर्महरूको उल्लेख गर्दै लेनिनसँग भेटको समय पाएको थियो। जब उनी लेनिनसँग भेट्न जाँदै थिए, उनी अत्यन्त उत्साहपूर्ण मुद्रामा देखिन्थे। तर केही घण्टापछि मैले उनलाई अत्यन्तै छटपटिएको अवस्थामा देखें। उनले भनेः

''जब म म उनीहरूको कोठामा पुगे, तब मैले १९०५ को क्रान्तिमा आफ्ना कार्यको उल्लेख गरेँ। लेनिन मेरो नजिक आएर भने, 'हो, कामरेड, तर यस क्रान्तिका लागि अब तपाईं के गर्दै हुनुहुन्छ?' उनको अनुहार मसँग ६ इन्च भन्दा बढी दूरीमा थिएन र उनका आँखा एकटक मेरो आँखामा हेर्दै थिए। मैले मस्कोमा मोर्चाबन्दीका दिनका आफ्ना कार्यहरूको चर्चा गरेँ र एक क़दम पछि सरेँ। तर लेनिन एक क़दम अगाडि बढे र मेरो आँखामा आँखा गाडेर उनले फेरि भने, 'हो, कामरेड, तर यस क्रान्तिका लागि अब तपाईं के गर्दै हुनुहुन्छ?' यस्तो प्रतीत हुन्थ्यो मानौं उनी मेरो आत्माको एक्स-रे गर्दै थिए - मानौं उनले गत १० वर्षका मेरा सबै कामकारवाहीहरू सफा-साफ देखिरहेका थिए। म उनको यस नजरको सामना गर्न सकिनँ। एउटा दोषी बच्चाको जस्तो मेरो नजर झुक्यो। मैले कुरा गर्न प्रयास गरेँ, तर असफल भएँ। म उनका अगाडि टिकिरहन सकिनँ र बाहिर निस्कें।''

केही दिन पछि ती व्यक्तिले आफूलाई क्रान्तिमा आफूलाई समर्पित गर्यो र सोभियतहरूको कार्यकर्ता बन्यो।

लेनिनको निष्कपटता र स्पष्टवादिता

लेनिनको शक्तिको एक रहस्य उनको उत्कट इमानदारी थियो। उनी आफ्ना मित्रहरूप्रति सत्यनिष्ठ थिए। क्रान्तिको प्रत्येक नयाँ पक्षपातीको वृद्धि हुँदा उनलाई खुशी लाग्थ्यो, तर कामको स्थिति अथवा भावी सम्भावनाहरूको चकाचौंध देखाएर उनले कहिल्यै पनि एक व्यक्तिलाई समेत आफ्नो पक्षमा सामेल गराउँदैनथे। यसको विपरीत, जस्तो वास्तविक स्थिति हुन्थ्यो, उनी त्यसलाई अझ खराब रूपमा प्रस्तुत गर्ने तर्फ प्रवृत्त रहन्थे। लेनिनका धेरै भाषणहरूको प्रमुख विषयवस्तु यस प्रकारको हुन्थ्यो: ‘‘जुन बोल्शेविक लक्ष्य प्राप्तिका लागि प्रयत्नशील छन्, त्यो नजिक छैन — केही बोल्शेविकले जसरी सोच्दछन्, त्यसभन्दा टाढा छ। हामीले खाल्डाखुल्डीले भरिएको बाटो हुँदै रूसलाई अगाडि बढाएका छौं, तर हामी जस पथको अनुसरण गरिरहेका छौं, त्यसमा हामीले अझ धेरै शत्रुहरू र अकालको सामना गर्नुपर्नेछ। भूतकाल जति कठिन थियो, भविष्यमा हामीले त्यसको अपेक्षाभन्दा र तपाईंहरूको अनुमानभन्दा पनि अधिक दुष्कर परिस्थितिको सामना गर्नुपर्नेछ।’’

हामीले खाल्डाखुल्डीले भरिएको बाटो मार्ग हुँदै रूसलाई अगाडि बढाएका छौं, तर हामी जस पथको अनुसरण गरिरहेका छौं, त्यसमा हामीले अझ धेरै शत्रुहरू र अकालको सामना गर्नुपर्नेछ। भूतकाल जति कठिन थियो, भविष्यमा हामीले त्यसको अपेक्षाभन्दा र तपाईंहरूको अनुमानभन्दा पनि अधिक दुष्कर परिस्थितिको सामना गर्नुपर्नेछ।’’

यो कुनै प्रलोभनकारी आश्वासन होइन। यो संघर्ष-क्षेत्रमा हामफाल्ने प्रेरणा दिने परम्परागत आह्वान पनि होइन। यद्यपि जसरी इटालीका जनता गेरीबाल्डीको वरिपरि भेला भएका थिए, जसले भनेका थिए कि यस पथमा आउनेहरूको स्वागत पीडा, कारावास-दण्ड र मृत्युले गर्नेछ, त्यसैगरी रुसी जनता लेनिनको साथमा भए। ती मानिसहरूलाई केही निराशा भयो, जो यो आशा गरिरहेका थिए कि उनका नेता आफ्ना ध्येयको ठूलो प्रशंसा गर्दै सम्भावित व्यक्तिहरूलाई यस कार्यमा सामेल हुन प्रेरित गर्नेछन्। तर लेनिनले यो कुरा उनीहरूको मनको प्रेरणामा नै छाडिदिए।

लेनिन आफ्ना कट्टर शत्रुहरूप्रति पनि निष्कपट थिए। उनको स्पष्टवादिता बारेमा टिप्पणी गर्दै एक अङ्ग्रेजले भनेका छन् कि उनको दृष्टिकोण यस प्रकारको थियो: ‘‘व्यक्तिगत रूपमा तपाईंविरुद्ध मेरो मनमा केही छैन। तर राजनीतिक दृष्टिले तपाईं मेरो शत्रु हुनुहुन्छ र तपाईंको विनाशका लागि मैले हरेक सम्भव उपायको प्रयोग गर्नुपर्छ। तपाईंको सरकार पनि मेरो विरुद्ध त्यस्तै गर्दैछ। अब हामीले हेर्नु छ कि कुन हदसम्म हामी सँगसँगै जान सक्छौं।’’

लेनिन आफैँलाई पनि धोका दिन सक्दैनथे: उनको मानसिक दृष्टिकोण वैज्ञानिक थियो र तथ्यहरूमा अटुट विश्वास थियो।

उनका सबै सार्वजनिक भाषणहरूमा यस निष्कलंकताका छापहरू छन्। झुक्याउने, शब्दजाल फैलाउने र गलत-सही जुनसुकै तरिकाबाट सफलता प्राप्त गर्ने व्यवहार-कुशल राजनीतिज्ञहरूको जो रूप छ, लेनिन त्यसबाट सर्वथा भिन्न थिए। जुनसुकै व्यक्तिले यो महसुस गर्थ्यो कि यदि उनी चाहन्थे पनि, अरूलाई धोका दिन सक्दैनथे। त्यो पनि यसै कारण कि उनी आफैँलाई पनि धोका दिन सक्दैनथे: उनको मानसिक दृष्टिकोण वैज्ञानिक थियो र तथ्यहरूमा अटुट विश्वास थियो।

उनी विभिन्न स्रोतहरूबाट सूचनाहरू प्राप्त गर्थे र यसरी उनीसँग धेरै तथ्यहरू जम्मा हुन्थे। उनी ती तथ्यहरूलाई तौलन्थे, छानबिन र मूल्याङ्कन गर्थे। त्यसपछि दाँवपेचमा निपुण नेता झैँ, कुशल समाजशास्त्री र गणितज्ञझैँ, ती तथ्यहरूको उपयोग गर्थे। उनी समस्यातर्फ यस प्रकार अगाडि बढ्थे:

‘‘यस समयमा हाम्रो पक्षमा यस्ता तथ्यहरू छन्: एक, दुई, तीन, चार...’’ उनी संक्षेपमा तिनको गणना गर्थे। ‘‘र हाम्रा विरुद्ध जुन तथ्यहरू छन्, ती यस्ता छन्।’’ त्यसै गरी उनी ती तथ्यहरूको पनि गणना गर्थे, ‘‘एक, दुई, तीन, चार... के यी बाहेक पनि हाम्रा विरुद्ध केही तथ्य छन्?’’ उनी यस्तो प्रश्न गर्थे। हामीले दिमाग लगाएर कुनै अन्य तथ्य खोज्ने प्रयास गर्थ्यौं, तर सामान्यतया असफल हुन्थ्यौं। पक्ष-विपक्षको विस्तारपूर्वक विचार गरेर उनी आफ्नो गणना-आकलनसहित त्यस्तै अगाडि बढ्थे जस्तै गणितको प्रश्न हल गर्न अगाडि बढिन्छ।

तथ्यहरूको महत्त्व वर्णन गर्ने मामिलामा उनी विल्सनको सर्वथा विपरीत थिए। विल्सन शब्दका जादूगर झैँ सबै विषयमा आकर्षक र मुहावरायुक्त उक्तिहरूमा आफ्ना विचार प्रकट गर्थे, मानिसहरूलाई चकाचौंध बनाइ आफ्नै नियन्त्रणमा ल्याउँथे र घृणित वास्तविक स्थितिहरू तथा कुरूप आर्थिक तथ्यहरूबाट अनभिज्ञ राख्थे। लेनिन एक शल्यचिकित्सकको तेज छुरी झैँ सीधा भाषामा वस्तुस्थितिको विश्लेषण प्रस्तुत गर्थे। उनी साम्राज्यवादिहरूका आडम्बरपूर्ण भाषाका पछाडि लुकेका सरल आर्थिक स्वार्थहरूको पर्दाफाश गर्थे। रुसी जनताको नाममा उनका घोषणाहरू स्पष्ट र नग्न रूपमा प्रस्तुत गर्थे र ती रमाइला र मधुर वादाहरूको पछाडि रहेका शोषकहरूको कुत्सित र लोभी हातहरूको भण्डाफोर गर्थे।

लेनिन एक शल्यचिकित्सकको तेज छुरी झैँ सीधा भाषामा वस्तुस्थितिको विश्लेषण प्रस्तुत गर्थे। उनी साम्राज्यवादिहरूका आडम्बरपूर्ण भाषाका पछाडि लुकेका सरल आर्थिक स्वार्थहरूको पर्दाफाश गर्थे।

उनी जसरी दक्षिणपन्थी लफ्फाजहरूप्रति निर्मम थिए, त्यसैगरी वामपन्थी लफ्फाजहरूप्रति पनि कठोर थिए, जो यथार्थबाट मुख मोडेर क्रान्तिकारी नाराहरूको सहारा लिन्छन्। उनी ‘‘क्रान्तिकारी-जनवादी वाग्मिता (शब्दजाल बाँध्ने)को मिठो जलमा चुक र पित्तरस मिसाइदिनु’’ आफ्नो कर्तव्य मान्दथे र भावुकतावादीहरू तथा रूढिवादीहरूको मर्मबेधी उपहास गर्थे।

जब जर्मन फौजहरू लाल राजधानी (मस्को)तर्फ बढ्दै थिए, स्मोल्नीमा रूसका कुना-कुनाबाट प्राप्त आश्चर्य, आतंक र घृणाका भावना व्यक्त गर्ने तारहरूको अम्बार लाग्यो। ती तारहरूका अन्त्यमा यस प्रकारका नारा लेखिएका हुन्थे, ‘‘अजेय रुसी सर्वहारा वर्ग जिन्दावाद!’’, ‘‘साम्राज्यवादी लुटेरा मुर्दावाद!’’, ‘‘हामी आफ्नो रगतको अन्तिम थोपा बगाएर क्रान्तिकारी रूसको राजधानीको रक्षा गर्नेछौं!’’

लेनिन ती तारहरू पढ्थे र त्यसपछि उनले सबै सोभियतहरूलाई एउटै आशयको तार पठाए, जसमा भनिएको थियो कि पेत्रोग्रादमा क्रान्तिकारी नारा पठाउनुको सट्टा फौज पठाउनुहोस्, स्वेच्छाले सेनामा भर्ती हुनेहरूको वास्तविक संख्या, हतियारहरू, गोलीगठ्ठा र खाद्यान्नको यथार्थ स्थिति सम्बन्धी जानकारी दिनुहोस्।

अल्बर्ट रीस विलियम्सको  ‘अक्टोबर क्रान्ति र लेनिन’ बाट साभार