के मार्क्सवादीहरुले सुधारका काम गर्नु हुन्छ ?

'सुधार' र 'सुधारवाद का बीच के फरक छ ?

मार्क्सवादीहरुले सुधारका लागि काम गर्नु हुने कि नहुने, सुधारका लागि संघर्ष गर्नु हुने कि नहुने, सुधारका लागि संघर्ष गर्ने। सवाल र सुधारवादमा के भिन्नता छ ?

यसबारेमा हाम्रो मुलुकमा काफी भ्रम र अस्पष्टता बाँकी रहेको देखिन्छ ।

 हामी मार्क्सवादीहरू मध्ये एक थरी यस्तो धारणा राख्दछौं कि क्रान्तिअघि मार्क्सवादीहरूले सुधारका लागि संघर्ष गर्नु हुन्न, त्यसो गर्नु भनेको बीच बाटोमै बाटो छोड्नु हो र त्यसो गर्नु सानो सानो सहुलियतका लागि मूल लक्ष्य नै छोडिदिनु हो ।
यता, अर्काथरी हामी मार्क्सवादीहरू चाहिं सुधारमै सीमित हुने काम-कुराहरू मात्र गरिरहेछौं । हाम्रो “क्रान्तिकारी" भनिएको कार्यक्रम नै यस्तो छ कि त्यसबाट अहिले विद्यमान बहुदलीय संसदीय पूँजीवादी राज्यसत्तामा सुधार मात्र हुनेछ आमूल परिवर्तन हुने छैन ।

यसरी हामीकहाँ दुई 'अति' हरू देखिएका छन् एउटा, सुधारलाई नै इन्कार गर्ने अति । अर्को, सुधारमै सीमित हुने अति । यी दुवै अतिहरू मार्क्सवादसम्मत देखिदैनन् । मार्क्सवाद यी दुवै अतिको बीच बाटोबाट हिंड्दछ ।

गरीखाने वर्गका जनताको जीवनमा र उनीहरूको अधिकारमा एक इन्च मात्र पनि प्रगति हुन्छ भने त्यस्तो कुनै मौका गुम्न दिनु हुन्न भन्ने हरेक मार्क्सवादीहरूको धारणा हुन्छ र हुनुपर्छ ।

मार्क्सवादले सुधारका लागि हुने संघर्षलाई इन्कार गर्दैन । क्रान्तिअघि पनि र क्रान्तिपछि पनि सुधारका लागि संघर्ष गर्नु भनेको त्यस्ता कदमहरू उठाउनु हो, जसबाट गरीखाने वर्गका जनताको जीवन स्थितिमा धेरथोर प्रगति हुन्छ, पुरानो शासक वर्गको शक्तिलाई नष्ट नगरिकन नै पनि । सुधार कार्यको यो सीमा हो । मार्क्सवादीहरू सुधारको लागि संघर्ष गर्ने सवालमा रहेको यो सीमाबारे शुरूमै प्रष्ट रहन्छन् । उनीहरूमा सुधारका लागि संघर्ष गरेर क्रान्ति हुन्छ भन्ने कुनै भ्रम नै रहँदैन । तथापि, उनीहरू सुधारका लागि हुने हरेक संघर्षमा अघिल्लो पंक्तिमा रहेर संघर्ष गर्छन् । गरीखाने वर्गका जनताको जीवनमा र उनीहरूको अधिकारमा एक इन्च मात्र पनि प्रगति हुन्छ भने त्यस्तो कुनै मौका गुम्न दिनु हुन्न भन्ने हरेक मार्क्सवादीहरूको धारणा हुन्छ र हुनुपर्छ ।

मार्क्सवादीहरू सुधारका लागि हुने संघर्षमा यस कारणले भाग लिन्छन् कि यसमा जे फाइदा र अनुभव हासिल हुन्छ, त्यसैलाई प्रयोग गरेर गरीखाने वर्गको वर्गसंघर्षलाई अरू व्यापक र उन्नत बनाउन सकियोस् । सुधारका लागि हुने संघर्षले एकातिर गरीखाने वर्गका जनताको जीवनमा धेरथोर राहत ल्याउँछ, उनीहरूको अधिकार बढाउँछ । अर्कातिर, यस्तै संघर्षले गरीखाने वर्गलाई वर्गसंघर्षको रिहर्सल गराउँछ । उनीहरू यस्तै संघर्षको दौरानमा एकगठ भएर लड्नुमा नै आफ्नो शक्ति भएको अनुभूति गर्छन् । वर्गसंघर्ष कसरी उठाउने ?- त्यसको पाठ सिक्छन् । तेस्रो, सुधारका लागि गरिने संघर्षको दौरानमा नै गरीखाने वर्गले आफ्नै प्रत्यक्ष अनुभवबाट यो सिक्ने मौका पाउँछन् कि पुरानै व्यवस्था ज्यूँकात्यूँ बाँकी रहेसम्म हासिल गरेको सुधार कति व्यर्थ हुन्छ !

सुधारको लागि संघर्ष श्रमिक वर्गको वर्गसंघर्षको विश्वविद्यालय हो । यसैमार्फत् उनीहरू वर्गसंघर्षको आधारभूत शिक्षा र तालिम प्राप्त गर्छन् र त्योभन्दा धेरै उन्नत वर्गसंघर्षको उठानका लागि तम्तयार हुन्छन् ।

त्यसैले, सुधारका लागि संघर्ष एउटा आगोको भट्टी हो, जसमार्फत् गुज्रेर साधारण फलाम इस्पात बन्छ । सुधारको लागि संघर्ष श्रमिक वर्गको वर्गसंघर्षको विश्वविद्यालय हो । यसैमार्फत् उनीहरू वर्गसंघर्षको आधारभूत शिक्षा र तालिम प्राप्त गर्छन् र त्योभन्दा धेरै उन्नत वर्गसंघर्षको उठानका लागि तम्तयार हुन्छन् । यो एउटा भरेङ पनि हो । यसैमार्फत् गरीखाने वर्गले 'चोटा' र 'बुइँगल'मा पुग्ने प्रयास गर्छन् । यही कारणले सुधारको लागि हुने हरेक संघर्षमा मार्क्सवादीहरू डटेर भाग लिन्छन् र यसको अगुवाई गर्छन् । यसबाट जे हासिल हुन्छ, त्यसलाई वर्गसंघर्ष अरू व्यापक, बलियो र तेज पार्नमा प्रयोग गर्छन् ।

त्यो बाटो, जसले उत्पीडित वर्गलाई सुधार हासिल गर्नमै सीमित बनाउँछ र क्रान्तिबाट विमुख बनाउँछ, त्यो सुधारवाद हो ।

 सुधार मार्क्सवादीहरूको निम्ति साधन हो, साध्य होइन ।

तर मार्क्सवादीहरू सुधारवादको भने डटेर विरोध गर्छन्, किनकि सुधारवादले गरीखाने वर्गको क्रियाकलाप र लक्ष्यलाई केही सुधार हासिल गर्नुमै सीमित बनाउँछ । सुधारवादले गरीखाने वर्गलाई हमेशा क्रान्तिबाट, अन्तिम लक्ष्यबाट विमुख गराउँछ रस-साना सहुलियत धुत्नुमै सीमित गराउँछ, अलमल्याउँछ ।

त्यो बाटो, जसले उत्पीडित वर्गलाई सुधार हासिल गर्नमै सीमित बनाउँछ र क्रान्तिबाट विमुख बनाउँछ, त्यो सुधारवाद हो ।

लेनिनको भनाइ छ- "जब अन्तिम लक्ष्यलाई...... हाम्रो आन्दोलनबाट झन् झन् पर धकेलिन्छ, त्यो नै सुधारवाद हो ।"

लेनिन यहाँनेर त्यही कुरा गर्दै हुनुहुन्थ्यो ।

पाए सय, नपाए शून्य यस्तो अधिभूतवादी दृष्टिकोण मार्क्सवादीहरू अप्नाउँदैनन् । सके १००, नसके ९०, ८०, ७०, १०५ पनि । मार्क्सवादीहरूको दृष्टिकोण यस्तो हुन्छ ।

मार्क्सवादीहरू सुधारको लागि हुने संघर्षको जुन पक्षपोषण गर्छन्, त्यसमा क्रान्तिलाई र अन्तिम लक्ष्यलाई कहिल्यै ताकमा राखिन्न । मार्क्सवादीहरू हमेशा क्रान्ति र अन्तिम लक्ष्य प्राप्त गर्ने पूर्व तयारीका रूपमा नै सुधारलाई प्रयोग गरिरहेका हुन्छन् । उनीहरू प्रचार आन्दोलन र शिक्षामार्फत् आम 'जनतालाई यसैको निमित्त तयार गरिरहेका हुन्छन् । तथापि, प्रयत्न जारी रहँदारहँदै पनि देशमा आम जनताको सांस्कृतिक स्तर क्रान्तिकारी परिस्थितिको निम्ति जरूरी पर्नेभन्दा अझै निकै तल छ र अनुकूल राष्ट्रिय अन्तर्राष्ट्रिय क्रान्तिकारी परिस्थिति अझै परिपक्व भइसकेको छैन, त्यसैले उनीहरू सुधारको लागि भए पनि संघर्ष गरिरहेका हुन्छन् । पाए सय, नपाए शून्य यस्तो अधिभूतवादी दृष्टिकोण मार्क्सवादीहरू अप्नाउँदैनन् । सके १००, नसके ९०, ८०, ७०, १०५ पनि । मार्क्सवादीहरूको दृष्टिकोण यस्तो हुन्छ ।

२०४६ सालमा आम जनता राजतन्त्रकै विरूद्ध आमूल परिवर्तनको पक्षमा सडकमा उत्रिसकेका थिए, तर नेतृत्व भने जन- आन्दोलनलाई सुधारमै मात्र सीमित गराउनका निम्ति लागि परिरहेको देखिन्थ्यो । बस, सुधारवाद भनेको यही हो ।

तर सुधारवादले भने १०० लाई हमेशा पर पर धकेल्छ र १, २, ३ वा ५. १० को प्राप्तिमै हामीलाई संतुष्ट हुन सिकाउँछ । १, २, ३ गर्दै जाऊ, १०० मा त स्वतः पुगिहालिन्छ नि !- सुधारवादले हामीलाई यस्तो शिक्षा दिन्छ तर उसको १०० कहिल्यै आउँदैन । जब देशमा क्रान्तिकारी परिस्थिति नै तम्तयार हुन्छ, त्यतिखेर पनि सुधारवादले आमूल परिवर्तनलाई सकेसम्म पर पन्छाउन खोज्छ, शान्ति- सुव्यवस्थाको नाममा । त्यतिखेर पनि सुलह-संझौताद्वारा सुधारमै सीमित हुन यो खोज्छ । २०४६ सालमा नेपालमा त्यस्तै दृश्य देखा परेको थियो । आम जनता त्यतिखेर राजतन्त्रकै विरूद्ध आमूल परिवर्तनको पक्षमा सडकमा उत्रिसकेका थिए, तर नेतृत्व भने जन- आन्दोलनलाई सुधारमै मात्र सीमित गराउनका निम्ति लागि परिरहेको देखिन्थ्यो । बस, सुधारवाद भनेको यही हो ।

`यसरी सुधारवाद र क्रान्तिवाद, सुधारवाद र आमूल परिवर्तन- दुई विपरीत कोणका कुराहरू हुन् । सुधारवादले क्रमिक परिवर्तनलाई मात्र जोड दिन्छ र क्रान्तिलाई हमेशा पर पन्छाउछ । क्रान्तिवादले आमूल परिवर्तनलवाई हमेशा आफ्नो लक्ष्यका रूपमा राखिरहन्छ र त्यो लक्ष्य हासिल गर्न सकिने परिस्थिति सिर्जना गर्न नसक्दासम्म सुधारका लागि पनि संघर्ष गर्छ र सुधारलाई क्रान्तिका निमित्त प्रयोग गर्छ । यस प्रकार, सुधारवादभित्र क्रान्ति सामेल हुँदैन, तर क्रान्तिवादभित्र क्रान्ति र सुधार दुवै सामेल हुन्छन् । मार्क्सवाद हमेशा क्रान्ति र क्रान्तिवादको पक्षमा हुन्छ, सुधारवादको पक्षमा हुँदैन ।

क्रान्तिको कुरा गर्नु, तर सुधारको लागि हुने संघर्षलाई इन्कार गर्नु भनेको नदीमा कहिल्यै नहेलिई पौडी खेलेर नदी पार गर्न पोख्त हुने कुरा गर्नु जस्तो हो। के यस्तो कहीं कतै संभव हुन्छ र ?

त्यस्ता क्रान्तिकारीहरू अराजकतावादी हुन्छन्, जो क्रान्तिको त कुरा गर्छन्, तर सुधारको लागि हुने संघर्षलाई इन्कार गर्छन् । क्रान्तिको कुरा गर्नु, तर सुधारको लागि हुने संघर्षलाई इन्कार गर्नु भनेको नदीमा कहिल्यै नहेलिई पौडी खेलेर नदी पार गर्न पोख्त हुने कुरा गर्नु जस्तो हो। के यस्तो कहीं कतै संभव हुन्छ र ?

जहाँ गरीखाने सांस्कृतिक स्तर निकै न्यून हुन्छ, त्यहाँ उनीहरू प्रारम्भमा रू. ३० को ज्यालालाई रू.५० पार्ने खालका संघर्ष गर्न मात्र तयार हुन्छन् । उनीहरू समाजको आमूल परिवर्तनको निमित्त तयार नै हुन्नन् । यस्तोमा के गर्ने ? चूरो समस्या यो हो ।

उग्रवादीहरू र अराजकतावादीहरूको विचार गर्ने ढंग मनोगतवादी हुन्छ । उनीहरू आफ्नो चेतनास्तरलाई नै दुनियाँको चेतनास्तर भन्ठान्छन् । त्यसैले उनीहरू आफ्नो चेतना आम जनतामाथि जबर्जस्ती लाद्छन् । आम जनता रू. ३० को ज्याला रू. ५० पार्नका वर्गको लागि संघर्ष गर्न मात्र तयार छ, तर उग्रवादी र अराजकतावादीहरू आफ्नो चेतनास्तर अनुसार एक्कासी कुनै क्रान्तिकारी कार्यक्रम आम जनतामाथि लाद्न शुरू गर्छन् । नतिजा के हुन्छ भने, आम जनता त्यस्तो लादिएको संघर्षबाट पर भाग्छन्, क्रान्तिकारीहरू आम जनताबाट नराम्ररी अलग्गिन पुग्छन् । यस्तो अलगावको स्थिति प्रतिक्रियावादी दमनका निमित्त निकै अनुकूल हुन जान्छ ।

 त्यसैले, सुधारको लागि हुने संघर्षलाई अराजकतावादी उग्रवादीहरूले इन्कार गर्नुका पछाडि आफ्नो चेतनालाई नै आम जनताको चेतना ठान्ने मनोगतवादी सोच मुख्य कारणका रूपमा रहेको हुन्छ । मार्क्सवादीहरू मनोगतवादको हमेशा विरोध गर्छन् किनकि यसले हामीलाई वस्तुगत यथार्थबाट हमेशा बहकाउँछ ।

मुख्य लक्ष्य बुइँगलमा पुग्नु हो। तर छिंडीबाट बुइँगलमा एक्कासी त पुगिन्न । थुप्रै भरेङका सिंढीहरू पार गरेर मात्र माथ्लो तलामा पुगिन्छ ।

 हुनुपर्ने के हो भने, संघर्षको शुरूआत त्यहींबाट हुनु पर्छ, जहाँ बहुसंख्य आम जनताको चेतनास्तर छ । संघर्षको प्रारम्भ रू. ३० को ज्याला रू. ५० पार्ने खालको संघर्षबाटै गरिनु पर्छ । उन्नत संस्कृति भएका मार्क्सवादीहरूले त्यस्ता संघर्षमा संघर्षको अघिल्लो पंक्तिमा सामेल हुँदै गरीखाने वर्गलाई आफ्नो स्तरमा उठाउने प्रयत्न पनि संगसंगै जारी राख्नु पर्छ । संघर्ष आम गरीखाने वर्गको चेतनास्तर अनुसार, तर शिक्षा चाहि मार्क्सवादी क्रान्तिकारीहरूको चेतनास्तर अनुसार हुनुपर्छ । न्यून चेतनास्तरमा आफू खस्ने होइन, आफ्नो उच्च चेतनास्तरमा उनीहरूलाई उठाउने नै लगातार प्रयत्न हुनुपर्छ । तर जबसम्म बहुसंख्यक गरीखाने वर्ग उन्नत स्तरका क्रान्तिकारी संघर्षको लागि तयार हुन्नन्, उनीहरूलाई त्यो स्तरको संघर्षमा जबर्जस्ती कदापि धकेल्नु हुन्न ।

यो परिप्रेक्ष्यमा क्रान्तिकारी संघर्षका निम्ति आम गरीखाने वर्ग आफैं बेतयार रहँदासम्म मार्क्सवादीहरूले उठाउने संघर्ष भनेको सुधारको लागि संघर्ष नै हो । मुख्य लक्ष्य बुइँगलमा पुग्नु हो। तर छिंडीबाट बुइँगलमा एक्कासी त पुगिन्न । थुप्रै भरेङका सिंढीहरू पार गरेर मात्र माथ्लो तलामा पुगिन्छ । त्यस्ता तलाहरू पनि थुप्रै पार गरेपछि मात्र बुइँगलमा पुगिन्छ । सुधारका लागि संघर्ष बुइँगलमा पुग्ने उद्देश्य राखेर माथिल्लो सिंढीका आधारमा पछिल्लो सिंढी चढ्ने यथार्थवादी प्रयत्नहरू मात्र हुन् । मार्क्सवादीरूले यस्तो संघर्षमा सामेल हुनै पर्छ। यस्तै संघर्षहरूको माध्यमबाट उनीहरूले आम जनतालाई बुइँगलसम्म पुग्ने स्तरको संघर्षसम्म लैजान अगुवाई गर्न सक्छन् ।

सुधार र सुधारवादबारे लेनिन के भन्नुहुन्थ्यो ?

"अराजकतावादीहरु भन्दा विपरीत मार्क्सवादीहरु सुधारका लागि हुने संघर्षलाई स्वीकार गर्छन् र भनाइको मतलब, उनीहरु त्यस्ता कदमहरुलाई स्वीकार गर्छन्, जसले पुरानो शासक वर्गको अधिकारलाई खत्तम नपारीकन नै श्रमिक जनसमुदायको स्थितिमा सुधार ल्याउँछ । तर, साथसाथै मार्क्सवादीहरु सुधारवादीहरु विरुद्ध पनि सबैभन्दा दृढतापूर्वक संघर्ष गर्छन्, जो प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा श्रमिक वर्गको लक्ष्य वा क्रियालापहरुलाई सुधारहरु हासिल गर्नुमै सीमित पार्छन् । सुधारवाद भनेको पूँजीपतिहरुको ती श्रमिकहरुमाथि ठगी हो, जो श्रमिकहरु एकाध सुधारका बाबजूद, त्यतिखेरसम्म ज्यालादारी दासका रुपमा रहनेछन्, जबसम्म पूँजीको प्रभुत्व बाँकी रहनेछ ।"

– "मार्क्सवादको सिद्धान्तलाई आत्मसात गरेका श्रमिकहरू...  कुनै पनि पूँजीवादी सुधारहरूबाट मूर्ख हुने छैनन्। जहाँ पूँजीवाद अस्तित्वमा रहिरहन्छ, त्यहाँ सुधारहरू चिरस्थायी र दूरगामी हुन सक्दैनन् भन्ने कुरा बुझेका श्रमिकहरू राम्रो स्थितिको लागि संघर्ष गर्छन् र ज्यालादारी दासताका विरूद्धको संघर्षलाई घनिभूत पार्न त्यसलाई प्रयोग गर्छन् ।"

– "सुधारवादीहरु श्रमिकहरुलाई विभाजित गर्न र ठग्न खोज्छन्, स-साना सहुलियतद्वारा श्रमिकहरुलाई वर्ग संघर्षबाट विचलित पार्न खोज्छन् । तर श्रमिकहरु, सुधारवादको फट्याइँ देखिसकेपछि, आफ्नो वर्ग संघर्षलाई विकसित र व्यापक पार्न सुधारहरुलाई प्रयोग गर्छन् ।"

– "जब प्रजातन्त्रकै सम्बन्धमा पनि अन्तिम लक्ष्यलाई हाम्रो आन्दोलनबाट झन् झन् पर धकेलिन्छ, त्यो सुधारवाद हुन्छ।"

"मार्क्सवादीहरु सुधारलाई व्यावहारिक रुपमा प्रयोग गर्ने र यसको निमित्त लड्ने कुरामा पछाडि रहने होइन, बरु निश्चित रुपमा अघिल्लो पंक्तिमा रहन्छन् ।"

– "मार्क्सवादीहरू सुधार हासिल गर्ने र तिनलाई प्रयोग गर्ने कुनै सिंगो अवसर समेत गुम्न नदिन अथक रूपमा काम गर्छन् । उनीहरू सुधारलाई निन्दा होइन, समर्थन गर्छन् र आफ्नो प्रचार आन्दोलनमा, आम आर्थिक संघर्षहरूमा सुधारवादभन्दा बाहिर प्रत्येक कदम अघि सार्न मरिहत्ते गर्छन् ।"

–मूल्याङ्कन असोज २०५३ बाट

प्रज्ञानरत्न

दर्शनका सवालमा कलम चलाउँदै आउनुभएका प्रज्ञानरत्नका 'मूल्याङ्कन मासिक एवं नवयुवा मासिक'मा प्रकाशित लेखरचनाहरु हामीले दर्शन स्तम्भअन्तर्गत नियमित रुपमा पुन:प्रकाशन गर्दै जानेछौं । यसका लागि हामीले लेखकबाट सम्मति लिएको समेत जानकारी गराउँदछौं ।