पारिजातः कसरी र कुन कुन मोड हुँदै अघि बढिन् ?
राल्फाकालदेखि नै पारिजातसंग निकट रहनु भएका निनु चापागाईंसंग विस्तृत कुराकानी

राल्फा आन्दोलनदेखि पारिजातसँग निकट रहनु भएको र पछि पनि उहाँका कृतिहरूको अध्ययन गरिरहेको एउटा समीक्षकको हैसियतले पारिजातको समग्र साहित्य-यात्राप्रति तपाईंको निचोड के रहेको छ ?
पारिजातसँग मेरो भेट २०२२ को बीचतिर भएको हो । त्यतिखेर पारिजातले आफ्नो जीवनका अत्यन्त कष्टप्रद दिनहरू गुजारेर ‘शिरीषको फूल’ उपन्यास लेखिसक्नु भएको मात्र थियो । त्यतिखेर उहाँलाई गम्भीर रूपमा बुझेर, आकर्षित भएर म उहाँकहाँ पुगेको थिइनँ । आकस्मिक रूपमा एक मित्रले मलाई उहाँकहाँ लिएर जानु भएको थियो । तर अहिले आएर पारिजातको सम्पूर्ण जीवनलाई केलाएर ल्याउँदा मलाई लागेको कुरा हो- पारिजात अत्यन्त संवेदनशील र प्रखर आत्मवलयुक्त व्यक्ति हुनुहुन्थ्यो ।
उहाँ जे कुरामा लाग्नु हुन्थ्यो, त्यसमा भित्रैदेखि र पूर्ण रूपमा लाग्नु हुन्थ्यो । यस अतिरिक्त, पारिजात यस्तो व्यक्ति हुनु हुन्थ्यो, जसमा ‘केही गरेर देखाउने’ तीव्र महत्वाकांक्षा थियो र यस महत्वाकांक्षाले उहाँलाई ठूला ठूला विवादहरूमा पनि फसाएको छ । सानैदेखि उहाँमा रहेको यो महत्वाकांक्षा र पाठ्यक्रममा रहेको साहित्य प्रतिको अनुरागले नै उहाँलाई साहित्य क्षेत्रमा तान्यो भन्ने मलाई लाग्छ ।
पारिजात यस्तो व्यक्ति हुनु हुन्थ्यो, जसमा ‘केही गरेर देखाउने’ तीव्र महत्वाकांक्षा थियो र यस महत्वाकांक्षाले उहाँलाई ठूला ठूला विवादहरूमा पनि फसाएको छ ।
पारिजातमा संस्कृति, शिष्टता, सौन्दर्यप्रति बढी नै रुची भएको मैले पाएको छु । नयाँ कुराप्रति उहाँको तीव्र आकर्षण रहेको पनि मैले देखेको छु । उहाँलाई राल्फासम्म पुऱ्याउने काम मूल रूपमा उहाँको यही विशेषताले गरेका हो र ‘साहित्य सन्ध्या’ लगायत मार्फत नयाँ पुस्ताका मित्रहरूसँग बढी पुग्ने उहाँको लगाव पनि यसैको उपज हो ।
सानैदेखि पारिजात विरोधी प्रकृतिको व्यक्ति हुनुहुन्थ्यो । बाबुले आफूलाई डाक्टर बनोस्, साहित्यकार नबनोस् भनी राख्नु भएको चाहनाको विरुद्ध उहाँ जानु भएको लगायतका थुप्रै घटनाहरूले यसको पुष्टि गरेका छन् । साथै उहाँ कसैसँग हार नमान्ने व्यक्ति पनि हुनुहुन्थ्यो । यो स्वभावले कहिलेकाहीँ उहाँलाई हानी पुऱ्याउथ्यो र पनि उहाँ हार मान्नु हुन्न थियो ।
एउटा समालोचकको आँखाले तपाईले पारिजातलाई हेर्दा उहाँको साहित्यिक योगदानलाई कस्तो पाउनु भएको छ ?
पारिजातले झण्डै झण्डै ३६ वर्षको अवधि साहित्य साधनामा लगाउनु भएको छ । यस अवधिमा उहाँले वीस वटा कृतिहरू दिनु भएको छ । कतिपय समालोचकहरूले पारिजातको मूल्यांकन गर्दा मोटा मोटी दुई खण्डमा विभाजित गरेर हेर्ने गरेका छन् । एक, विसंगतिवादी अस्तित्ववादी पारिजात र दुई, प्रगतिवादी पारिजातको रूपमा । म यो स्थूल समीक्षा वा विभाजनको विपक्षमा छु । कसै-कसैले संक्रमणकालीन पारिजातको रूपमा राल्फाको अवधिलाई पनि लिने गरेका छन् । यो पनि पर्याप्त छ जस्तो मलाई लाग्दैन ।
कतिपय समालोचकहरूले पारिजातको मूल्यांकन गर्दा मोटा मोटी दुई खण्डमा विभाजित गरेर हेर्ने गरेका छन् । एक, विसंगतिवादी अस्तित्ववादी पारिजात र दुई, प्रगतिवादी पारिजातको रूपमा । म यो स्थूल समीक्षा वा विभाजनको विपक्षमा छु ।
पारिजातको लेखनको शुरुवात कविताबाटै भएको थियो । पहिलो कविता संग्रह २०१४ सालको ‘आकांक्षा’ हो । यो समय भनेको पारिजातको वीस वर्षे युवती हुँदाको अवस्था थियो । यसमा भएका कविताहरूलाई म मोटामोटी रूपमा स्वच्छन्दतावादी (रोमान्सेली) र भावुक प्रकृतिका रचनाहरू मान्दछु ।
त्यसो भए तपाई पारिजातको लेखनका मोडहरूलाई कसरी विश्लेषण गर्नु हुन्छ त ?
पारिजातको साहित्य - यात्रालाई म मूलत: चार वटा अवधिहरूमा विभाजन गर्दछु र पछिल्लो अवधिमा उहाँमा केही वैचारिक विचलन आएको समेत अनुभव गर्दछु ।
मैले माथि उल्लेख गरेको कविता-संग्रह ‘आकांक्षा’ मा अभिव्यक्त भएको रोमान्टिक प्रवृत्तिको अवधि उहाँको साहित्य-यात्राको पहिलो अवधि हो । यो प्रवृत्ति ईश्वर बरालले संपादन गर्नु भएको ‘पारिजातका केही कविताहरू’ संग्रहका केही कविताहरूमा पनि पाइन्छ । यसरी पारिजात विरामी पर्नु भन्दा अघिका उहाँका कृतिहरू यही प्रकृतिका रहेका छन् । त्यसमा भावुकता छ, प्रेमयाचना छ, विरह वेदनाहरू छन् । कुनै युवकलाई संवोधन गरेर पोखिएका अभिव्यक्तिहरूकै सेरोफेरोमा यी कविताहरू छन् । ईश्वर बरालले यसलाई ‘नव्य रोमान्सेली’ प्रवृत्ति भन्नु भएको छ । तर म यो भन्ने पक्षमा छैन । मूलतः यो स्वच्छन्दतावादी प्रवृत्ति अन्तर्गत नै पर्दछ र यसका विषयबस्तुहरू चाहिं ज्यादा प्रेमसँग सम्बन्धित
थिए ।
पारिजातको लेखनको दोस्रो अवधि हो- २०१९, २०२० र २०२१ सालको अवधि । पारिजातले आफैँले यो समयलाई आफूले भोगेका सवैभन्दा कष्टप्रद दिनहरू भनी भन्नु भएको छ ।
पारिजातको लेखनको दोस्रो अवधि हो- २०१९, २०२० र २०२१ सालको अवधि । पारिजातले आफैँले यो समयलाई आफूले भोगेका सवैभन्दा कष्टप्रद दिनहरू भनी भन्नु भएको छ । उहाँ त्यतिखेर विरामी हुनुहुन्थ्यो । हुनत २०२२ पनि झण्डै झण्डै त्यस्तै अवधि हो तर २०२२ मा उहाँले ‘शिरीषको फूल’ उपन्यास लेख्नु भयो । ‘रोगी प्रेमिकाको पत्र’, ‘मृत्युको अँगालोमा’, ‘नसोध यो घाउ’, ‘मेरो पपलरको रूख’, ‘सँगै मरौँ’, ‘उपायहीन साँझ’ आदि उहाँका केही चर्चित कविताहरू, जसको चर्चा नेपालमा एउटा खेमा- विशेषले पटक पटक गर्ने गर्छ, पनि यसै अवधिमा
लेखिएका थिए । उहाँको लेखनको यो प्रवृत्ति २०२५ सम्म पनि तानिन्छ । ‘आदिम देश‘ कथा संग्रहका कथाहरू, ‘महत्ताहीन‘ उपन्यास पनि यसै प्रवृत्तिमा पर्दछन् ।
यो अवधिको उहाँको लेखन प्रवृत्ति बुझ्न उहाँकै शब्दहरूले हामीलाई थप मद्दत गर्नेछन् । त्यतिखेरको आफ्नो स्थितिका बारेमा उहाँले भन्नु भएको छ– ‘‘उपचार गर्दा गर्दा नैतिक र आर्थिक रूपले सबैतिरबाट निरुपाय भएकी म अथवा भनौं, उपचारको कुनै विकल्प नपाएकी मैले जीवनलाई त्यसरी नै लिईदिएँ । ..... चरम पीडित क्षण ....यातना खप्न नसकेर क्रमश: पलायन हुँदै
जान्छु- निरर्थकता अर्थहीनता र विसंगतितिर । मेरो निम्ति तयार थियो- एउटा जीवनहीन कालो गुफा, जहाँ मलाई कुण्ठाको गाँस छ र उड्नलाई अनास्थाका आवरणहरू । मलाई मान्छेहरूको माया लाग्न छोड्छ र आफ्नै पनि । म आफ्नो जीवनलाई अभिशाप ठान्नु थाल्छु !.... हात र गोडाका जोर्नीहरू खुम्चिएर एक ठाउँ भएका छन्, अब कसैले उठाइदिनु पर्छ सुताइदिनु पर्छ । म एक ठाउँ भएको छु, अब कसैले उठाइदिनु पर्छ सुताइदिनु पर्छ । म सम्पूर्ण रुपमा परजीवी भैसकेको
छु ।..... रात भने तन्द्रा अवस्थामा वित्छ, सुत्नुको भान नै हुँदैन मलाई ।...... सोच्छु यस्तै त हो नि जीवन !...... आशा, संघर्ष र विश्वास जस्ता मानवीय मूल्यहरू एक गर्दै मेरो अघि मर्न थाल्दछन् ।’’ (आत्मसंस्मरण संग्रह ‘यौटा चित्रमय शुरुवात’बाट )
मानवमूल्य र जीवनमूल्यसंगबाट म पलायन भएको हुँ भनी पारिजात आफैले भन्नु भई पछि नकार्नु भएका अस्तित्ववादी सोचहरू उहाँको ‘शिरीषको फूल’ उपन्यासमा हावी भयो ।
माथि उल्लेख गरिएका ‘शिरीषको फूल’ लगायतका रचनाहरूमा पारिजातले यिनै मानसिकताहरुलाई भित्रैदेखि अभिव्यक्ति दिनु भएको छ ।
मानवमूल्य र जीवनमूल्यसंगबाट म पलायन भएको हुँ भनी पारिजात आफैले भन्नु भई पछि नकार्नु भएका अस्तित्ववादी सोचहरू उहाँको ‘शिरीषको फूल’ उपन्यासमा हावी भयो । यही पलायनको मूल्यलाई नै उहाँले यस उपन्यासमा स्थापित गर्नु भएको छ । यसकारण नै हो- पछि गएर उहाँले भन्नु भयो- ‘शिरीषको फूल ‘लाई च्यातिदिए हुन्छ, यो निस्सार र घोर परपीडक उपन्यास हो ।
केही समालोचकहरुले त पारिजातको यही ‘शिरीषको फूल’ वाला मोडलाई नै पारिजातको सम्पूर्ण चीज अगाडि ल्याउने गरेका छन् नि ।
हो एक थरिहरू पारिजातको बारेमा उहाँको यही लेखन-प्रवृत्तिलाई नै मात्र सम्पूर्ण को रूपमा व्याख्या गरी जोततोडले प्रचार-प्रसार गर्दैछन् । म यसवारे भन्न चाहन्छु- यो पारिजातको अवमूल्यन गर्ने काम हो ।
पारिजात आफैँले भन्नुभएको छ ‘जीवनीक्रममा आइलाग्ने अर्थहीनता निराशा, कुण्ठा, भ्रम तथा मानसिक तनावहरूदेखि मुक्त भई, त्यस्तै परिस्थितिदेखि उब्जिएका विद्रोह र आकांक्षालाई सही धारामा लगाई जीवनको सही मूल्य र सही बाटो पहिल्याउने क्रममा म प्रगतिशील लेखनतर्फ अग्रसर भएकी हुँ‘ । (‘साल्गीको बालात्कृत आँसु’ को भूमिकामा उद्धृत)
एक थरिहरू पारिजातको बारेमा उहाँको ‘शिरीषको फूल’ वाला लेखन- प्रवृत्तिलाई नै मात्र सम्पूर्ण को रूपमा व्याख्या गरी जोततोडले प्रचार-प्रसार गर्दैछन् । म यसवारे भन्न चाहन्छु- यो पारिजातको अवमूल्यन गर्ने काम हो ।
पारिजातको जीवनको सही मूल्य र सही बाटो पहिल्याउने यही क्रम र यस क्रममा उहाँले जुन चीजहरू दिनु भयो, तिनीहरूलाई ढाकछोप गर्नको निम्ति नै एकतर्फी बढाई चढाई प्रचार गर्ने यो प्रयत्न भइरहेको छ भन्ने मलाई लाग्छ ।
पारिजात भन्न नपाई पारिजातको ‘ शिरीषको फूल’, उपन्यास वा ‘आदिम देश’का केही कथाहरू (जस्तै, ‘मैले नजन्माएको छोरो’, ‘ वीसौं शताब्दी एउटा गल्लीमा’ आदि)लाई मात्र बढाइचढाइ अगाडि ल्याउनुको पछाडि पारिजातले देखाउन खोज्नु भएको जीवन मूल्य र समाजिक मूल्यहरूलाई छोपछाप पार्ने यही उद्देश्यका साथै साहित्य-कलाको सामाजिक उपादेयतालाई महत्व नदिने सोच पनि रहेको छ । समाजको परिस्कार र परिवर्तनका लागि साहित्यको भूमिका हुन्छ भन्ने कुरालाई लुकाउन खोज्ने र सारांशमा भन्ने हो भने, यथास्थितिलाई जोगाइराख्न खोज्ने राजनीतिको एउटा अभिन्न अंग हो यो ।
अब तेस्रो चरणको कुरातिर लागौँ । यस चरणको व्याप्ति र विशेषता के
के हुन् ?
मलाई लाग्छ यो तेस्रो चरण पाँच-छ वर्षको अवधिको चरण हो । मोटामोटी रूपमा २०२२ देखि २०२९ सम्मको समय-खण्ड । यो राल्फाकालीन अवधि हो । यसलाई संक्रमणकालीन अवधि पनि भन्न सकिन्छ ।
यो अवधिमा पारिजात यथार्थप्रति केही मात्रामा उन्मुख हुनु भएको छ । तीव्र आक्रोश छ, तीव्र विद्रोह छ तर त्यो विद्रोह र आक्रोश व्यक्तिगत छ । विद्रोह र आक्रोशले कुन दिशा लिने भन्ने सचेतता छैन । इतिहास, सामाजिक मूल्य र परंपरामाथि अराजक किसिमको आक्रमण छ, प्रहार छ ।
राल्फाकालीन अवधिमा पारिजात यथार्थप्रति केही मात्रामा उन्मुख हुनु भएको छ । तीव्र आक्रोश छ, तीव्र विद्रोह छ तर त्यो विद्रोह र आक्रोश व्यक्तिगत छ । विद्रोह र आक्रोशले कुन दिशा लिने भन्ने सचेतता छैन ।
हो, यहाँ हाम्रो इतिहास झूठमा आधारित भएर लेखिएको छ, हाम्रो परंपरा भनेर सामन्ती परंपरालाई स्थापित गर्न खोजिएको छ, र स्थापित गर्न खोजिएका सामाजिक मूल्य र मान्यता भनेका पनि सामन्ती मूल्य र मान्यता नै हुन् । त्यसैले पारिजातमा यिनीहरूप्रति विरोध र विद्रोह जन्मनु सान्दर्भिक नै थियो । तर ती सामाजिक मूल्य-मान्यता र परंपराका राम्रा पक्षहरू र नराम्रा पक्षहरू केलाउनु पर्थ्यो । नकेलाइकन गरिएको विरोध हुनाले त्यो बेठीक थियो ।
पारिजातको यो अवधिको सबैभन्दा राम्रो अभिव्यक्ति दिने कृति ‘बैसको मान्छे’ (२०२९) उपन्यास नै हो । यसमा भन्नु पर्ने थप कुरा के छ भने- यसमा विद्रोह त छ तर अस्तित्ववादी चिन्तनको तुस पनि निख्रिइसकेको भने छैन । यसमा निम्न वर्गप्रति सहानुभूति पनि छ तर सामाजिक संरचनामा अमूल परिवर्तन ल्याउन संगठित जनशक्तिको आवश्यकता- बोध भने छैन । व्यक्तिगत विद्रोह, आक्रोश एवं व्यक्तिगत व्यक्तिहत्याको उग्रता पनि यसमा छ ।
पारिजात स्वयंले राल्फाकालीन अवधिलाई आफूलाई प्रगतिशील लेखनतर्फ उन्मुख गराउने वस्तुगत र आत्मगत स्थिति सृजना गरिएको एउटा महत्वपूर्ण मोड मान्नु भएको छ ।
यही अवधिका उहाँका केही कथाहरू पनि छन् । ‘सडक र प्रतिभा कथा संग्रह (२०३२) का कथाहरूले पारिजातको संक्रमण कालको यो झलकलाई अरू राम्ररी प्रस्तुत गर्दछन् । यसमा केही विसंगतिवादी मोडका कथाहरू पनि छन् र सिटिहलको बूढो ज्यामीसित’, ‘वर्क-शपभित्र’, ‘संघारनेर’ जस्ता उहाँको प्रगतिशील आन्दोलनभित्र प्रवेश गर्ने ताकाका शुरुका कथाहरू पनि छन् । यसैबाट नै पारिजातको प्रवेश प्रगतिशील आन्दोलनभित्र हुन्छ । उहाँ स्वयंले राल्फाकालीन अवधिलाई आफूलाई प्रगतिशील लेखनतर्फ उन्मुख गराउने वस्तुगत र आत्मगत स्थिति सृजना गरिएको एउटा महत्वपूर्ण मोड मान्नु भएको छ ।
यो मोडमा उहाँ आइपुग्नको निम्ति उहाँभित्रको व्यक्तिगत द्वन्दले पनि काम गरेको छ । उहाँ थला पर्ने गरी विरामी हुनु भयो, निस्सारता र निराशाको चरम सीमामा पुग्नु भयो पनि । तर उहाँले बुझ्न थाल्नु भयो - निराशा त जीवनको अन्त होइन रहेछ । यथार्थप्रति उहाँभन्दा बढी समर्पित साथीहरूसँगको सम्पर्क, उनीहरूमा भएको नयाँपन र उहाँले आफैभित्रबाट सिकेको द्वन्द्वको पाठ, यिनै कुराहरूले उहाँलाई प्रगतिशील लेखनतर्फ उन्मुख गराएको हो भन्ने मलाई लाग्छ ।
चौथो चरण अर्थात् प्रगतिशील लेखन क्षेत्रमा पारिजातको प्रवेशको प्रष्ट अभिव्यक्ति चाहिँ उहाँको कुन रचनाले दिन्छ ?
प्रकाशनको हिसाबले भन्नु पर्दा यसको अभिव्यक्ति ‘तोरीबारी बाटा र सपनाहरू’ (उपन्यास २०३२) ले दिन्छ । तर योभन्दा अगाडि ‘‘पर्खालभित्र र पर्खाल बाहिर‘ लेखिएको थियो भन्ने मलाई लाग्छ, यद्यपि त्यो प्रकाशित भएको थियो २०३५ सालमा ।
‘तोरीबारी बाटा र सपनाहरू’मा मानव सभ्यता र संस्कृतिको विकासको एक मात्र स्रोत श्रमजीवी जनता हो, र यो वर्ग नै संस्कृति र सभ्यताको अगुवा र मालिक हुनुपर्छ भन्ने नयाँ बोध छ, निम्न वर्गप्रति प्रेम र सहानुभूति छ ।
प्रकाशनको हिसाबले नै कुरा गर्ने हो भने पनि ‘तोरीबारी बाटा र सपनाहरू’लाई प्रगतिवादी चेतले अभिप्रेरित रचना भनेर मैले किन मानेको हुँ भने त्यसमा मानव सभ्यता र संस्कृतिको विकासको एक मात्र स्रोत श्रमजीवी जनता हो, र यो वर्ग नै संस्कृति र सभ्यताको अगुवा र मालिक हुनुपर्छ भन्ने नयाँ बोध छ, निम्न वर्गप्रति प्रेम र सहानुभूति छ । त्यसमा यथार्थलाई प्राथमिक रूपमा राखेर जीवनका समस्याहरूलाई खोतल्ने प्रयास गरिएको छ । जातिभेद र यसको कारक तत्व धर्मको पनि त्यसमा विरोध छ । नारी समस्याको समाधान वर्गीय समस्याको समाधान नभई हुन सक्दैन भन्ने चेत त्यसमा छ । साथै त्यसमा सबै समस्याको समाधानार्थ समाजमा आमूल परिवर्तनको आवश्यकता-बोध पनि छ । सामाजिक यथार्थलाई जति बढी गहन रूपमा राखेर पुष्टि गर्नु पर्थ्यो, त्यति नभए पनि यो रचना एउटा राम्रो रचना हो । 'शैली' 'शैली' 'शैली' भनेर माग गर्ने एक थरिहरूले ‘शिरीषको फूल’ मै मात्र राम्रो शैली रहेको दावी गर्ने गर्छन् । तर यथार्थ के हो भने ‘शिरीषको फूल’को शैलीभन्दा ‘तोरीबारी बाटा र सपनाहरू‘ को शैली कम स्तरको छैन । यात्रा क्रममा पात्रहरू आउने जाने उपन्यासको ढाँचा र भाषिक मिठास एवं गम्भीर कुराहरूलाई पनि रोचक शब्द संयोजनबाट व्यक्त गर्ने शैली यसका प्रमुख विशेषता हुन् ।
त्यसैले ‘शिरीषको फूल’ लाई मात्र शैलीको दृष्टिकोणले उत्कृष्ट भन्नेहरूले पारिजातलाई समग्रमा पढ्दै नपढी पूर्वाग्रहको आधारमा धारणा बनाएका छन् र प्रचार-प्रसार गरेका छन् भन्ने मलाई लाग्दछ । ‘पर्खालभित्र र पर्खाल बाहिर’ पारिजातको आफ्नै ढर्रा र नेपाली साहित्यकै ढर्राको हिसाबले पनि एउटा नवीनतम उपन्यास हो । यथार्थसँग जोडिंदा जोडिदै पनि पात्रमुखी भई नेपालमा देखा परेको बाम-आन्दोलनका दुई धाराहरूलाई प्रतिविम्वित गर्ने यस उपन्यासले उग्रवाद र क्रान्तिकारी चरित्रको द्वन्द्वलाई राम्ररी प्रस्तुत गरेको छ- केही कमी-कमजोरी रहँदा रहँदै पनि ।
‘शिरीषको फूल’ लाई मात्र शैलीको दृष्टिकोणले उत्कृष्ट भन्नेहरूले पारिजातलाई समग्रमा पढ्दै नपढी पूर्वाग्रहको आधारमा धारणा बनाएका छन् र प्रचार-प्रसार गरेका छन् भन्ने मलाई लाग्दछ ।
अब यसपछिको चौथो चरण वा प्रवृत्तिको विकास क्रम कसरी अघि बढेको तपाईले पाउनु भएको छ त ?
उहाँका रचनाहरू ‘उसले रोजेको बाटो’, अन्तरमुखी’, अनिंदो पहाडसँगै’, ‘साल्गीको बलात्कृत आँसु’, ‘परिभाषित आँखाहरू’, ‘बोनी’ र ‘बधशाला जाँदा आउँदा’ र स्मरणहरू एवम् ‘आधी आकाश’ आदिले पारिजातको यो चौथो चरणको प्रतिनिधित्व गर्दछन्, जसमध्ये म ‘परिभाषित आँखाहरू’ र ‘बोनी’ उपन्यासलाई भने यही स्तरमा राख्न सक्दिनँ ।
यस चरणको मूल स्वरूप कस्तो रहेको छ र यसको प्रतिनिधि रचना तपाई कुन कृतिलाई मान्नु हुन्छ ?
यस चरणको प्रतिनिधि रचना पारिजातका समग्र कृतिहरूमध्ये नै पनि उत्कृष्ट रचनाको रूपमा म ‘अनिंदो पहाडसँगै’लाई मान्दछु । पारिजातका कृतिहरूमा कमजोरीहरू छैनन् भनेर म मान्दिन, तथापि उहाँका कृतिहरूमध्ये उत्कृष्ट रचना यही नै हो ।
‘अनिंदो पहाडसँगै’ उपन्यास के कारणले पनि उत्कृष्ट छ भने, यो व्यक्तिवादी
आक्रोश र विद्रोहभन्दा माथि उठेको छ । सामाजिक वर्गहरू र तिनीहरू बीचका द्वन्द्वहरूलाई बढी राम्ररी प्रस्तुत गरिएको र श्रमजीवी वर्गको विजयमाथि आशावादिता र पूर्ण विश्वास राखिएको यस रचनामा नेपालका पहाड, तराई र उपत्यकाको जन जीवनका मर्म र पीडाहरूलाई सामाजिक सन्दर्भहरूसँग गाँसेर हेर्ने प्रयत्न गरिएको छ ।
मलाई लाग्छ- पारिजातको लेखन-यात्रामा मात्र हैन नेपालको प्रगतिवादी आन्दोलनकै पनि उत्कृष्ट पात्रहरूको सृजना यस उपन्यासमा भएको छ । पात्रहरूमध्ये पनि नायिका सुवानी नेपाली प्रगतिशील आन्दोलनकै उत्कृष्ट पात्र हो भन्ने मलाई लाग्छ ।
यो उपन्यास एउटा ऐतिहासिक अभिलेख पनि भएकोले यो अरु महत्वपूर्ण छ । २०३५ / ३६ को आन्दोलनलाई यसले समग्रमा ओगटेको छ । नेपालको त्यतिखेरको विद्यार्थी आन्दोलन र यसले लिएको राजनैतिक स्वरूप, ठाउँ ठाउँका जन- संघर्षहरू, जनमत-संग्रह, पंचायतको विजयको घोषणा र त्यसपछिका दमनहरू आदिको चित्रसहित यसमा तात्कालीन राजनीतिक कार्यदिशा सिंगै आएको छ । पारिजातका उपन्यासहरू मध्येमा यस उपन्यासले नै सवैभन्दा बढी सामाजिक परिवेशलाई संगेटेको छ । मलाई लाग्छ- पारिजातको लेखन-यात्रामा मात्र हैन नेपालको प्रगतिवादी आन्दोलनकै पनि उत्कृष्ट पात्रहरूको सृजना यस उपन्यासमा भएको छ । पात्रहरूमध्ये पनि नायिका सुवानी नेपाली प्रगतिशील आन्दोलनकै उत्कृष्ट पात्र हो भन्ने मलाई लाग्छ ।
यसपछिको उहाँको उत्कृष्ट रचना ‘साल्गीको बलात्कृत आँसु’ कथा-संग्रह हो । २०३१ देखि २०४२ / ४३ सम्मका कथाहरूलाई संगेटेर संग्रहित यस कृतिमा रहेका १५ वटा कथाहरूमा उहाँले नेपाली जनजीवनका विविध सन्दर्भहरूलाई संगेटेर मर्मस्पर्शी रूपमा अभिव्यक्ति दिनु भएको छ । वर्तमान सामाजिक व्यवस्था ठीक छैन, यसबाट मुक्त नभै सुन्दर भविष्यको सृजना गर्न सकिन्न भन्ने कुराको छाप छोड्ने यी कथाहरू पारिजातका यस अघि र पछि दुवै समयावधिका कथाहरू भन्दा उत्कृष्ट छन् । यिनलाई पारिजातका प्रतिनिधि कथा भन्न सकिन्छ ।
उपन्यास ‘परिभाषित आँखाहरू’र ‘बोनी’बारे तपाई केही थप टिप्पणी गर्न चाहँदै हुनुहुन्थ्यो ।
मैले संभवत: ‘वेदना’मा कतै लेखी पनि सकेको हुँ कि २०४३ पछाडि केही समययता पारिजातमा केही विचलन आउँदैछ भनेर । केका आधारमा यसोभनिएको हो भनी मित्रहरूले चर्चा पनि चलाउनु भयो । यसबारे मलाई लागेको मूलभूत कुरो के हो भने उहाँको कमाउ पुत्र-पुस्तकहरूप्रति एवं संपत्ति-सम्बन्धप्रतिको मोह, अनि आफ्ना पुराना कृतिहरूको पुनर्मूल्याङ्कन गरिनु पर्छ भन्ने प्रवल र तीव्र इच्छा एवं आन्दोलनबाट अलिकति पर भागिसकेपछि रचनाहरूमा खालि ‘कस्तो छ ?’ मा बेशी सीमित राख्ने, तर ‘कस्तो हुनुपर्छ ?' भन्ने कुरामा त्यति ध्यान नदिने प्रवृत्ति आदिलाई देखेर यसो भन्नु परेको हो । समाजमा व्याप्त हुँदै गएको अमानवीयकरणलाई उल्लेख गर्नुभन्दा अमानवीयकरणतिर नै प्रगतिशील पात्रहरूलाई लैजाने प्रवृत्ति, जो खासगरी ‘परिभाषित आँखाहरू’मा देखिन्छ, त्यसकारणले पनि उहाँमा केही विचलन आएको छ र त्यो केही खस्केको छ भन्ने मलाई लागेको हो ।
समाजमा माथिल्लो वर्गमा रहेको भ्रष्टताले किशोर-किशोरीहरूमा पार्ने गलत प्रभावका विरूद्ध र त्यस प्रभावबाट नायिका बोनीलाई बाहिर उतार्न उहाँ शुरुमा यस उपन्यासमा अभिमुख हुनु भएको छ तर पछि गएपछि नायिकालाई उहाँले अगाडि ल्याउन पनि सक्नु भएन र आफैं अन्यौलमा फस्न पुग्नुभयो ।
‘बोनी’मा त पारिजात आफैं फस्नु भयो भन्ने मलाई लाग्छ । समाजमा माथिल्लो वर्गमा रहेको भ्रष्टताले किशोर-किशोरीहरूमा पार्ने गलत प्रभावका विरूद्ध र त्यस प्रभावबाट नायिका बोनीलाई बाहिर उतार्न उहाँ शुरुमा यस उपन्यासमा अभिमुख हुनु भएको छ तर पछि गएपछि नायिकालाई उहाँले अगाडि ल्याउन पनि सक्नु भएन र आफैं अन्यौलमा फस्न पुग्नुभयो । यसमा अरू असंगतिहरू पनि छन् ।
‘परिभाषित आँखाहरू’की पात्र बिज्जीलाई जुन रूप प्रस्तुत गरियो र त्यसको अन्तको जुन रूप रह्यो, त्यो ठीक ढंगले भएको मलाई लाग्दैन । यो कुरा पारिजात स्वयंले पनि स्वीकार्नु भयो कि भन्ने चाहिं मलाई लाग्छ ।
यस उपन्यासबारे ‘जनमत’ पत्रिकामा दिएको अन्तवार्तामा उहाँले ‘प्रस्तुती राम्रो भएन भन्ने त समालोचकहरूको आ-आफ्नो दृष्टिकोण हो तर पात्र, घटना, समसामयिक समझलाई हेर्दा मैले धेरै अशोभनीय चीज लेखें जस्तो लाग्दैन ।’ भन्नुभएको छ ।
अर्थात्, मैले राम्रै गरें भन्ने समझमा उहाँ हुनु हुन्थेन । यसको अर्थ मलाई के लाग्छ भने- यसबाट उहाँले पनि आफ्नो आत्म-मूल्यांकन गर्नु भएको बुझिन्छ ।
जम्माजम्मीमा भन्नु पर्दा नेपाली साहित्यमा पारिजातको योगदानबारे तपाईको धारणा के छ ?
समग्रमा हेर्ने हो भने पारिजात नेपाली साहित्यको अनुपम प्रतिभा हुनुहुन्थ्यो र प्रगतिशील साहित्यिक आन्दोलनको २०३० पछिको उहाँ एउटा अग्रणी र मूर्धन्य हस्ताक्षर हुनुहुन्थ्यो । उहाँकै सेरोफेरोभित्र अरू साहित्यकारहरूले हुर्कने मौका पाए, खासगरी २०३६ पछाडि ।
पारिजातको बारेमा मैले भन्नु पर्ने जरुरी एउटा कुरा छ, त्यो हो- जतिखेर उहाँले कम्युनिष्ट पार्टीको सदस्यता ग्रहण गर्नु भयो र महिला मुक्ति आन्दोलनको उहाँ अग्र पंत्तिमा आउनु भयो, त्यसै गरी जनजीवनसँग भिज्ने कामहरू बढी भए, त्यतिखेर नै पारिजातमा उर्जा ज्यादा आएको मलाई लाग्छ ।
पारिजातमा केही कमी कमजोरीहरू छन् तर तिनीहरू उहाँको देनको तुलनामा नगण्य छन् ।
मूल्याङ्कन, २०५० जेठमा प्रकाशित

शिक्षक आन्दोलन, गणतन्त्र र पञ्चायती शैलीको दमन !

देशको आवश्यकता शिक्षाको ढाँचा परिवर्तन हो

लेनिन: क्रान्तिको कठोर अनुशासन र मानवीय संवेदना

के मार्क्सवादीहरुले सुधारका काम गर्नु हुन्छ ?

नागरिकतन्त्रको विचारद्वारा परिवर्तन मार्गनिर्देशित हुनुपर्छ

गणतन्त्रको बोटमा ऐजेरु!

वर्तमान स्थितिबोध, प्रकृतिको यात्रा र पूर्वाग्रहचिन्तन

प्रतिक्रिया