बृहस्पति– पृथ्वीका रक्षक !

सामान्य ढङ्गले कुरा गर्दा हामी बृहस्पति (Jupiter) हाम्रो सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह हो भनेर बुझ्छौं । हुन पनि यो हाम्रो सौर्यमण्डलका ज्ञात ८ वटा ग्रहहरुमध्ये सबैभन्दा ठूलो ग्रह हो ।यो हाम्रो ग्रह पृथ्वीभन्दा निक्कै ठूलो छ । आयतन (volume) को आधारमा गणना गर्दा बृहस्पति ग्रहको भित्री भागमा करिब १३२१ वटा पृथ्वी अटाउन सक्छन्।
आकारको हिसाबले बृहस्पतिको व्यास (diameter) लगभग १४२९८४ किलोमिटर छ भने पृथ्वीको व्यास लगभग १२७४२ किलोमिटर छ । यस हिसाबले पनि बृहस्पति चौडाइमा पृथ्वीभन्दा करिब ११.२ गुणा ठूलो छ।
द्रव्यमानको हिसाबले (Mass) तुलना गर्दा बृहस्पति पृथ्वीको तुलनामा लगभग ३१८ गुणा भारी छ। बृहस्पतिको द्रव्यमान लगभग १.८९८ × १०२७ किलोग्राम छ भने पृथ्वीको द्रव्यमान लगभग ५.९७२ × १०२४ किलोग्राम छ ।
रोचक कुरा के छ भने बृहस्पति पृथ्वीभन्दा धेरै हल्का पदार्थ (प्रायः हाइड्रोजन र हीलियम) बाट बनेको छ । त्यसैले यसको घनत्व कम हुन्छ। बृहस्पतिको औसत घनत्व १.३३g/cm³ छ भने पृथ्वीको औसत घनत्व: ५.५१g/cm³
रहेको छ ।
पृथ्वीको रक्षक
सौर्य परिवारको लहरमा पृथ्वी तेस्रो नम्बरमा आउछ भने बृहस्पति पाचौं नम्बरमा । सबैभन्दा रोचक कुरा त के छ भने आफ्नो विशाल आकार र शक्तिशाली गुरुत्वाकर्षण क्षेत्रका कारण बृहस्पतिले पृथ्वीलाई खगोलीय वस्तुहरूबाट, विशेषगरी उल्का (asteroids) र पुच्छ्रेतारा (comets) बाट जोगाउने कार्यमा महत्वपूर्ण भूमिका खेल्दछ । त्यसैले बृहस्पतिलाई पृथ्वीको रक्षक पनि भन्ने गरिन्छ ।
आखिर बृहस्पतिले ती खगोलीय पिण्डहरुको प्रहारबाट पृथ्वीलाई जोगाउनका लागि ढालको रूपमा कसरी काम गर्छ त ?
गुरुत्वाकर्षण प्रभाव
बृहस्पति हाम्रो सौरमण्डलको सबैभन्दा ठूलो ग्रह हो र यसको शक्तिशाली गुरुत्वाकर्षण बल छ। यस गुरुत्वाकर्षणले उल्का र पुच्छ्रेतारा जस्ता आउँदै गरेका वस्तुहरूलाई मोड्न वा समात्न सक्छ, जसले तिनको मार्ग परिवर्तन गरी पृथ्वीसहित भित्री ग्रहहरूसँग टक्कर हुनबाट जोगाउँछ।
उल्का पटीको गतिको नियन्त्रण
बृहस्पतिको उपस्थितिले मंगल र बृहस्पति बीच अवस्थित उल्का पटीको गतिशीलतालाई प्रभाव पार्दछ। यसको गुरुत्वाकर्षणले उल्काहरूलाई पटीबाट बाहिर निकाल्न सक्छ वा नयाँ कक्षहरूमा पठाउन सक्छ। यसले पृथ्वीको कक्षा पार गर्न सक्ने सम्भावित उल्काहरूको संख्या सीमित गर्न मद्दत गर्दछ।
पुच्छ्रेताराको नियन्त्रण
बृहस्पतिले दीर्घ-आवधिक पुच्छ्रेताराहरूलाई आफैँ वरिपरि स्थिर कक्षमा समात्न सक्छ। सौरमण्डलमा प्रवेश गर्ने धेरै पुच्छ्रेताराहरू बृहस्पतिको गुरुत्वद्वारा प्रभावित भई सौरमण्डलको बाह्य भागतिर पठाइन्छन् वा नष्ट हुन्छन्।
कक्षीय स्थिरता
अन्य खगोलीय वस्तुहरूको कक्षामा प्रभाव पारेर, बृहस्पतिले भित्री सौरमण्डलको स्थिरता कायम राख्न मद्दत गर्दछ। यस स्थिरताले पृथ्वीतर्फ खतरनाक वस्तुहरू फ्यालिन सक्ने सम्भावना घटाउँछ।
छरिने प्रभाव (Scattering Effects)
बृहस्पतिको गुरुत्वाकर्षणले पृथ्वीमा टक्कर हुने सम्भावना भएका उल्का र पुच्छ्रेताराहरूलाई छरिन सक्छ, जसले ती वस्तुहरूलाई पृथ्वीको मार्गबाट हटाउने कार्य गर्दछ।
त्यसो त प्रश्न उठ्न सक्छ: वृहस्पतिले त्यसरी खगोलीय पिण्डहरुबाट पृथ्वीलाई बचाउने हो भने किन पृथ्वीमा उल्का ठोक्किने गर्छ ? अनि किन उल्कापिण्ड, छुद्रग्रह, पुच्छ्रेतारहरु लगायतका खगोलीय पिण्डहरु ठोक्किएर पृथ्वीको जीवनलाई सङ्कटमा पार्न सक्ने चिन्ताले वैज्ञानिकहरुलाई सताउने गर्छ त ?
त्यसको सरल जवाफ के हो भने बृहस्पतिले सबै खतराहरू हटाउन सक्दैन । तर यसको उपस्थितिले पृथ्वीमा हुन सक्ने सम्भावित विनाशकारी टक्करहरूको आवृत्ति घटाएको सम्भावना छ, जसले पृथ्वीमा जीवन विकासका लागि स्थिर वातावरण निर्माणमा योगदान दिएको छ।
बृहस्पति मात्र एक्लो रक्षक भने हैन !
बृहस्पति बाहेक, सौरमण्डलका अन्य ग्रहहरुले पनि अन्य खगोलीय पिण्डहरुको सम्भावित टक्करबाट पृथ्वीलाई सहयोग पुर्याउँछन्, यद्यपि बृहस्पतिको विशाल द्रव्यमान र गुरुत्वाकर्षण प्रभावका तुलनामा तिनको भूमिका न्यून र कम प्रभावकारी हुने गर्छ ।
शनि: बृहस्पतिजस्तै शनि पनि एक ग्यासीय महाकाय ग्रह हो । बृहस्पतिको जस्तै यसको पनि शक्तिशाली गुरुत्वाकर्षण क्षेत्र छ। यसले उल्का पटी (Asteroid Belt) र काइपर पटी (Kuiper Belt) मा रहेका वस्तुहरूको कक्ष निर्धारण गर्न मद्दत गर्ने गर्छ । त्यसैको गुरुत्वाकर्षण बलका कारण ती क्षेत्रमा रहेका अधिकांश खगोलीय पिण्डहरुलाई भित्री सौरमण्डलतर्फ जानबाट रोक्न वा पृथ्वीतर्फ आउँदा तिनको मार्गलाई बदलदिन सक्छ ।
मंगल: मंगल ग्रह बृहस्पति र शनि भन्दा धेरै सानो छ । यसले पनि पृथ्वीतिर बढ्ने खगोलीय पिण्डहरुको दिशालाई अन्यत्र मोड्न सहयोग पुर्याउन सक्छ। खासगरी यसले केही उल्का र पुच्छ्रेताराहरूलाई तथा यसको कक्षको आसपास रहेका वस्तुहरूलाई प्रभाव पार्न सक्छ। यसले बृहस्पति र शनि जस्ता ग्याँसीय महाकाय ग्रहहरूले जस्तो प्रभावकारी सुरक्षा भूमिका निर्वाह गर्न भने सक्दैन ।
वरुण: शनिजस्तै वरुण (नेप्च्युन) ग्रहले पनि काइपर बेल्टमा रहेका ट्रान्स-नेप्च्युनियन वस्तुहरूको कक्षमा प्रभाव पार्न सक्छ। यसको प्रत्यक्ष भूमिका पृथ्वीको सुरक्षामा सीमित भए तापनि, बाह्य सौरमण्डलको गतिलाई नियन्त्रण गर्ने सवालमा यसको योगदान महत्वपूर्ण हुन्छ।
पृथ्वीको चन्द्रमा: चन्द्रमाको गुरुत्वाकर्षण क्षेत्रले पनि पृथ्वीतर्फ आउन सक्ने साना खगोलीय वस्तुहरूमा प्रभाव पार्न सक्छ। खासगरी, यसले पृथ्वीतर्फ आउने उल्कापिण्डहरूको मार्गमा प्रभाव पार्न सक्छ।

मानव समाजलाई निश्चित आकार दिने 'प्रविधि' को ऐतिहासिक विकासक्रम

सभ्यताको गति बदलिदिने आविष्कार पाङ्ग्रा !

सबै चीजको सिद्धान्त - संक्षिप्त अध्ययन

मानिसले कहिलेदेखि खेतीपाती थाले होलान् ?

एक ग्लोबको इतिहास

मानव इतिहासको पुनर्लेखन: ११०,००० वर्ष पुरानो खोजले नेन्डरथल र होमो सेपियन्सल…

ईश्वर एक भ्रम

प्रतिक्रिया