चुइङ्ग गम खाने बानी छ ? सावधान !
के हो माइक्रोप्लाष्टिक, यसले स्वास्थ्यमा के असर गर्न सक्छ ?

तपाईंलाई चुइङ्ग गम खाने बानी छ भने आजै छाडिहाल्नुहोस् । हालैको एक अध्ययनले चुइङ्ग गम चपाउँदा सयौंदेखि हजारौं माइक्रोप्लास्टिक कणहरू मुखमा प्रवेश गर्ने देखाएको छ।
अमेरिकन केमिकल सोसाइटीमा प्रकाशित एक अध्ययन रिपोर्टअनुसार क्यालिफोर्निया विश्वविद्यालय, लस एन्जलस (UCLA) का अनुसन्धानकर्ताहरूले १० विभिन्न गम ब्रान्डहरूको विश्लेषण गर्दा, प्रति ग्राम गममा औसतमा १०० माइक्रोप्लास्टिक कणहरू निस्कने पत्ता लगाए । अझ केही ब्रान्डहरूमा यो संख्या ६०० भन्दा बढी थियो।
उक्त अध्ययनका क्रममा अनुसन्धानकर्ताहरूले आश्चर्यजनक रूपमा प्राकृतिक र सिंथेटिक दुबै प्रकारका गमहरूले समान मात्रामा माइक्रोप्लास्टिक उत्सर्जन गरेको पत्ता लगाए।
त्यसअनुसार, कुनै व्यक्ति वार्षिक रूपमा १८० टुक्रा गम चपाउँछ भने, उसले स्वास्थ्यलाई हानी नोक्सानी पुर्याउने करिब ३०,००० माइक्रोप्लास्टिक कणहरू निल्ने गर्छ ।
माइक्रोप्लास्टिक र यसले मानव स्वास्थ्यलाई पुर्याउने नोक्सानीहरू
माइक्रोप्लास्टिक भन्नाले ५ मिलीमिटरभन्दा साना प्लास्टिक कणहरू जनाउँछ, जुन वातावरणमा विभिन्न स्रोतहरूबाट फैलिन्छ र खाना, पानी, हावा मार्फत मानव शरीरमा प्रवेश गर्छ। वैज्ञानिक अनुसन्धानहरूले यी सूक्ष्म प्लास्टिक कणहरू मानव स्वास्थ्यका लागि हानिकारक हुनसक्ने देखाएका छन्।
शरीरमा कसरी पस्छ माइक्रोप्लाष्टिक ?
माइक्रोप्लास्टिक मानव शरीरमा मुख्यतः खाना, पानी र हावाको माध्यमबाट पस्ने गर्छ । हामीले खाने समुद्री खाना (माछा, झिँगा, शंख), नुन, मह, चिनी, दूध, चिया, चक्की तथा प्रशोधित खानाहरु शरीरमा माइक्रोप्लाष्टिक पस्ने मुख्य माध्यम हो ।
त्यसै गरी पानीको माध्यमबाट पनि मानव शरीरमा माइक्रोप्लाष्टिक पस्ने गर्छ । विभिन्न अध्ययनहरुमा बोतलको पानी र धाराको पानीमा समेत माइक्रोप्लास्टिक पाइएका छन्।
अर्को माध्यम हावा हो । कार्पेट, फर्निचर, सुँघ्ने प्लास्टिक पदार्थ, कार टायर घर्षण आदिबाट उत्पन्न भएको माइक्रोप्लास्टिक वातावरणमा मिसिन्छ। हामीले स्वास फेर्दा त्यस्ता माइक्रोप्लाष्टिकहरु शरीरमा प्रवेश गर्ने गर्छ ।
स्वास्थ्यमा पर्ने प्रमुख असरहरू
पाचन प्रणालीमा असर
माइक्रोप्लास्टिक खानासँग शरीरमा प्रवेश गरेपछि आन्द्रामा जम्मा हुन्छ। त्यसले आन्द्राको सतहमा ब्याक्टेरिया, विषाक्त रसायनहरू (BPA, Phthalates) टाँसिन सक्छन् । त्यस अवस्थामा जसले पेटका कोषहरूमा सूजन (Inflammation) गराउन सक्छ।
त्यसबाहेक माइक्रोप्लाष्टिकले हाम्रो आन्द्राको पोषण ग्रहण गर्ने क्षमता घटाउन सक्छ । त्यसले शरीरलाई चाहिने पोषक तत्त्वहरू ग्रहण गर्न गाह्रो बनाउँछ।
हर्मोनमा असर
माइक्रोप्लास्टिकमा Bisphenol A (BPA) र Phthalates जस्ता रसायन हुन्छन्, जसले एन्डोक्राइन प्रणालीमा असर पार्न सक्छ। त्यसले थाइराइड, प्रजनन क्षमता (Fertility), र यौन हर्मोनको असन्तुलन गराउन सक्छ। त्यसैगरी, माइक्रोप्लाष्टिकको असरले गर्भवती महिलामा भ्रूणको विकास प्रभावित हुनसक्छ।
रक्त संचार प्रणालीमा असर
वैज्ञानिकहरूले माइक्रोप्लास्टिक मानव रगतमा पनि फेला पारेका छन्।
जब यी प्लास्टिक कणहरू रक्तप्रवाहमा प्रवेश गर्छन्, तिनीहरूले रक्तनलीहरू अवरुद्ध (Clogging) गर्ने सम्भावना बढाउँछन्।परिणामत: त्यसले दीर्घकालीन रूपमा हृदयघात र उच्च रक्तचाप को खतरा हुनसक्छ।
श्वासप्रश्वास प्रणालीमा असर
हावाबाट शरीरमा प्रवेश गरेका माइक्रोप्लास्टिक कणहरू फोक्सोमा जम्मा हुन्छन्, जसले दीर्घकालीन रूपमा सास फेर्ने समस्या, दम गराउन सक्छ । त्यसैगरी, माइक्रोप्लाष्टिक जम्मा हुँदै जाँदा त्यसले फोक्सोको संक्रमण गराउन सक्छ।
स्नायु प्रणालीमा असर
पछिल्ला अनुसन्धानहरूले माइक्रोप्लास्टिक मस्तिष्कसम्म पुग्न सक्छ भन्ने देखाएका छन्।
यसको प्रभावले स्मरण शक्ति कमजोर हुने, मानसिक तनावको समस्या बढ्ने, अल्जाइमर, र पार्किन्सन रोग को जोखिम बढाउन सक्छ। प्लास्टिकमा रहेको विषाक्त रसायनले स्नायु कोषहरूमा क्षति पुर्याउन सक्छ।
क्यान्सरको सम्भावना
माइक्रोप्लास्टिकमा पाइने कार्सिनोजेनिक तत्वहरू लामो समयसम्म शरीरमा रहँदा क्यान्सर उत्पन्न गर्ने सम्भावना बढाउँछ।
विशेष गरी फोक्सो क्यान्सर, पेटको क्यान्सर र स्तन क्यान्सरको जोखिम उच्च हुन्छ।
गर्ने के ?
माइक्रोप्लाष्टिकको खराब असरलाई कम गर्न वा त्यसबाट बच्न हामीले केही उपायहरु अपनाउ सक्छौं । ती उपायहरुलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ:
– प्लास्टिक बोतलको पानी नपिउने, बरु फिल्टर गरिएको पानी प्रयोग गर्ने।
– प्लास्टिक प्याकिङ भएको खाना कम खाने, घरमै पकाएको खाना प्राथमिकता दिने।
– स्टिल वा गिलासको भाँडो प्रयोग गर्ने, प्लास्टिकको चम्चा, प्लेट प्रयोग नगर्ने।
– समुद्रका माछा, झिँगा धेरै नखाने, किनभने समुद्री जीवहरू माइक्रोप्लास्टिक धेरै अवशोषण गर्छन्।
–पर्यावरणमैत्री सामग्री (Eco-friendly products) प्रयोग गर्ने, प्लास्टिकजन्य वस्तुहरू कम गर्ने।
–चुइङ्ग गममा समेत माइक्रोप्लाष्टिक हुने देखिएकोले गम चपाउने बानीमा कमी ल्याउनुहोस् । त्यसरी पनि माइक्रोप्लास्टिकको सेवन कम गर्न सकिन्छ।
माइक्रोप्लास्टिक वातावरणमा व्यापक रूपमा फैलिएको मात्र होइन, मानव शरीरमा समेत प्रवेश गरी विभिन्न गम्भीर स्वास्थ्य समस्या उत्पन्न गराउन सक्छ। यद्यपि यसको दीर्घकालीन प्रभावहरू अझै अध्ययनको क्रममा छन्, प्रारम्भिक अनुसन्धानहरूले यसका थुप्रै स्वास्थ्य जोखिमहरु देखाइसकेका छन् । त्यसैले प्लास्टिकजन्य उत्पादनहरूको प्रयोग घटाउनु र सुरक्षित विकल्पहरू अपनाउनु मानव स्वास्थ्यका लागि अत्यावश्यक छ। साथै आफूले प्रयोग गरेका प्लाष्टिक तथा प्लाष्टिकजन्य उत्पादनहरुलाई उचित विसर्जन गर्ने, पुनप्रयोग गर्ने जस्ता व्यवहारबाट पनि यो समस्यालाई न्यूनीकरण गर्न सकिन्छ ।

सावधान ! तपाईंको जिब्रोको स्वादले क्यान्सरको जोखिम त बढाइरहेको छैन ?

फरक फरक नयाँ वर्ष !

अन्धविश्वास के हो?

किन महिलाहरू पुरुषहरूभन्दा बढी बाँच्छन्?

किन फर्कन्छ हाम्रो शरीरको मासु ?

यस कारण मैदा स्वास्थ्यको लागि हानिकारक छ !

खासै नाम नचलेको चिनियाँ कम्पनीले बनाएको औषधीले संसारकै सबैभन्दा बढी बिक्री …

प्रतिक्रिया