सिरहा घटना: धर्मको अनुहारमै कालो पोतिएको आपराधिक कुकृत्य !

महायज्ञको नाममा सिरहाको औरही– ५ का दीपक मलिक डोमको वासस्थान धूलीसात पारिएको र त्यस कार्यमा बाबा नामधारी बजरङ्गी तथा गाउँपालिकाकाका अध्यक्ष शिवजी यादवको समेत सक्रिय सहभागिता रहेको घटना हुनु अत्यन्तै घृणित र लज्जास्पद काम हो ।
एकाथरिका लागि यो धर्मको नाममा गरिएको अन्याय र कुकृत्यको घटना भएको छ भने अर्काथरिका लागि चाहिँ यो घटना महायज्ञकर्ताको धर्मको जग नै दलित–शुद्रमाथि अत्यन्तै विभेदकारी रहेको र त्यो त्यसैको प्रतिफल हो । हाम्रो दृष्टिकोणमा यो भनेको विशुद्ध आपराधिक घटना हो, जसलाई धर्मको आवरणमा ‘सही साबित गर्न’ खोजिएको छ भने धर्मकै आवरणमा गाउँपालिकाका अध्यक्ष शिवजी यादव समेतले दीपक मलिक डोमविरुद्ध सम्भवत: राजनीतिप्रेरित–प्रतिशोधकारी कार्य गर्न पुगेका छन् । धार्मिक, राजनीतिक र कानूनी– हरेक दृष्टिकोणले यो निन्दनीय र दण्डनीय कार्य हो । यस घटनाका बारेमा राजनीतिक दलहरु, धर्माधिकारीहरु खुलेर बोल्नु जरुरी छ । खासगरी, गाउँपालिका अध्यक्ष यादवविरुद्ध उनका पार्टीले कठोर कदम चाल्नु तथा यस कुकृत्यमा संलग्नहरुविरुद्ध राज्यले कानूनी कारवाही गरेर उदाहरण स्थापित गर्नु जरुरी छ । ताकि आजको आधुनिक युगमा यस्ता बर्बर, विभेदकारी अन्याय गर्ने दुष्कर्म गर्ने साहस कसैले गर्न नसकुन् ।
धर्मको नाममा सिरहामा घटित घटना स्वयं धर्ममाथि नै कालो पोतिएको घटना हो । यसको जरामा रहेको जातीय विभेद र छुवाछुत त्यसको मूल जनक हो । वैदिक कालमा पेशामा आधारित जातीय विभाजनले कालान्तरमा जन्माधारित स्वरूप ग्रहण गरेपछि विस्तारै त्यो छुवाछुतको विकृत परम्परामा विकसित भएको हो । श्रमविभाजनको माथिल्लो तहमा रहेकाहरुले तल्लो तहमा रहेकाहरुलाई आर्थिक–सामाजिक रुपमा कज्याउन, धन–स्रोत साधनमा नियन्त्रण गर्नका लागि जात व्यवस्थालाई कस्दै लगेका हुन् । जात व्यवस्थाले समाजलाई नियन्त्रित राख्न ‘धर्मशास्त्र’ को सहारा लियो।‘मनुस्मृति’ जस्ता तत्कालीन सामाजिक विधानहरुले शूद्रहरूलाई ब्राह्मणको सेवा मात्र गर्नुपर्ने, वेद सुन्न नपाउने जस्ता कठोर नियमहरू लागू गर्यो। छुवाछुतलाई सामाजिक अनुशासनको रूपमा प्रयोगग गर्दै उच्च जातका मानिसहरूले ‘छोइछिटो’ लाई धार्मिक तथा सामाजिक व्यवस्थाको भागका रूपमा व्याख्या गरे।पानीको मुहान, मन्दिर प्रवेश, तथा धार्मिक समारोहमा तल्लो जातका व्यक्तिहरूलाई रोक लगाइयो।त्यसका विरुद्ध उठ्न सक्ने आवाजहरुलाई मत्थर पार्न कर्म सिद्धान्त रचियो र अघिल्लो जन्मको पापका कारण मानिस तल्लो जातमा जन्मन्छ भन्ने विश्वासले छुवाछुतलाई वैधानिक बनायो।
उच्च जातका व्यक्तिहरूलाई धार्मिक तथा सामाजिक रूपमा पवित्र देखाउन विशेष अनुष्ठानहरू प्रचलित भए। ब्राह्मणहरूलाई ‘देवता समान’ मान्ने तथा तल्लो जातका मानिसलाई अपवित्र ठान्ने प्रवृत्ति रह्यो।हिन्दू संस्कृतिमा केही पेशाहरू (छाला बनाउने, मृत्युसँग सम्बन्धित कार्य गर्ने) अपवित्र मानियो। यस्ता कार्य गर्ने समुदायहरू ‘अछूत’ कहलाए।
धर्मको नाममा जात व्यवस्था र छुवाछुतलाई संस्थागत गरियो। समाजका कथित उपल्लो जातले लादेको ब्राह्मणवादी परम्पराले जात व्यवस्थालाई धार्मिक मान्यता दियो।पुनर्जन्म र कर्मको सिद्धान्तले मानिसलाई आफ्नो जातीय अवस्थासँग सन्तोषी रहन प्रेरित गर्यो।धेरै ठाउँमा शूद्र र अन्य निम्न जातका मानिसहरूलाई मन्दिर प्रवेशमा रोक लगाइयो।
ज्ञानविज्ञानको विकास तथा चेतनाको फैलावटले जातीय छुवाछुत समाजका मुठ्ठीभर मानिसहरुले बहुसंख्यकमाथि आर्थिक–सामाजिक शोषणको साम्राज्य स्थापित गर्न लागू गरेको विभेदकारी प्रणाली हो भन्ने कुरा सिद्ध भइसकेको छ र त्यसलाई कानूनी रुपमा नै निषेध गरिसकेको छ । तर अझै पनि समाजमा त्यस्ता मानसिकता राख्नेहरुको कमी छैन, जसले जातीय छुवाछुतको पक्षपोषण गर्ने गर्छ । सिरहा घटना यस्तै पुरातनपन्थी चेतना बोक्ने तथा त्यो चेतनालाई पक्षपोषण गर्नेहरुले क्रियान्वयन गरेको आपराधिक कुकृत्य हो, जसको कडा प्रतिकार गरिनु जरुरी छ । यस्तो धार्मिक र सामाजिक विभेदलाई हटाउन कानुनी समाधानका अलवा राजनीतिक चेतनाको अनि आवश्कता पर्दछ। राजनीतिक दलहरुले जातिय विभेद विरुद्ध निरन्तर अभियानहरु चलाउनुपर्ने हुन्छ। यस्ता अभियानहरुले समाज र आफ्नै दल भित्र रहेको जातिय विभेद भगनावेशहरु समाप्त गर्न सहयोग पुर्याउछ। अन्यथा, पार्टीहरुमा शिवजी यादव जस्ता जातीय विभेदलाई काँध थापेर पदीय दुरुपयोग गर्दै आपराधिक कुकृत्य गर्नेहरु जन्मिइरहनेछन् ।
त्यसबाहेक, निधारमा चन्दन टीका धस्दैमा बाबा भनिने र ठानिनेहरुका बारेमा राज्यले कठाेर अनुगमन गर्नु जरुरी छ । धार्मिक कर्मकाण्ड भन्नेबित्तिकै त्यसप्रति राज्यले निरपेक्ष रहने, संरक्षण गर्ने वा आँखा चिम्लने तथा राजनीतिज्ञहरुले त्यस्ता कामकारवाहीहरुलाई काँध थाप्ने काम रोक्नु पनि उत्तिकै जरुरी छ । त्यस्ता यज्ञ महायज्ञको आयोजनाका लागि अनुमति दिनुपूर्व त्यसमा हर्ताकर्ता बनेर आउने बाबाहरु वास्तवमै शास्त्रीय हिसाबले योग्य छन् वा छैनन् तथा कतै धर्मको नाममा विभेद र लुटको धन्दालाई बढावा दिने काम त भइरहेकाे छैन भन्नेबारे पनि राज्यले चनाखाे हुनुपर्ने पाठ यस घटनाले सिकाएको छ ।

गुड बाई लेनिनदेखि ओलीको भ्रमसम्म

भारतमा माओवादी आन्दोलनको बदलिँदो अनुहार: संघर्ष कि समर्पण ?

भू-राजनीतिक छायामा नेपालको आवाज: अवसर कि जोखिम?

चर्किएको लिपुलेक विवाद र चीनको बदलिएको रवैया

समाजवादको खोजीमा उत्पादनको सवाल: प्रचण्डको दृष्टि र नेपालको संरचना

बोलिभियाको चुनाव: वामपन्थीको पतन

प्रचण्डले देखाएको ‘नयाँ क्रान्ति’को हसीन सपना

प्रतिक्रिया