प्रजातान्त्रिक सर्प र राजा

सर्पको लोभलाग्दो आश्वासनको पछि लागेर ऊ जसै मुखमा बस्न गई : कर्‍याप्प ! दयालु सर्पले त उसलाई एक्कै सासमा खर्लप्पै निल्यो ! निल्दानिल्दै पनि सर्पले अत्यन्तै नरम पाराले मुस्कुराउँदै भन्यो : ‘हेर ! म कति दयालु र प्रजातान्त्रिक साँप हुँ । म अरु साँप र नागभन्दा भलादमी छु । म आफ्ना शिकारलाई सुरक्षाको ग्यारेन्टी दिएर राजीखुशी तुल्याएर मात्रै शिकार गर्छु ।

एउटा दयालु सर्पले गौंथलीलाई च्याप्प समातेर आफ्नो काबुमा लियो । गौंथलीलाई एक्कै गाँस बनाउने भोक जाग्दाजाग्दै पनि सर्पलाई त्यसो गर्नु ठीक लागेन, यसरी निल्नु त नितान्त निर्दयतापूर्ण कार्य हो, यस्तो कार्य क्रुर ढङ्गले गर्नुहुँदैन ।

त्यसैले दयालु सर्पले पहिले गौंथलीको चारैतिर कुण्डली फैलायो विस्तारै–विस्तारै । त्यसपछि कुण्डलीको सुन्दरताको बखान गर्दै उसले गौंथलीको ध्यान विस्तारै अन्तै मोड्ने प्रयास गर्‍यो । र, उसले गौंथलीलाई आफूप्रति आश्वस्त पार्न कहाँसम्म पनि भन्न भ्यायो भने मैले त तिम्रै सुरक्षाका लागि यो सब गरिरहेको छु, राजीखुशीले तिमी स्वयं मेरो कुण्डलीको बीचबाट आरामसँग निस्केर मेरो मुखमा आई बस्यौ भने तिमी धेरै सुरक्षित हुन्छौ । तिमीले अब आफूलाई भाग्यको भरोसामा छोड्नु जाती हुन्छ ।

सोझी सानी गौंथली उसको नौनीजस्तो नरम र सख्खरजस्तो गुलियो कुरामा भुल्न पुगी । उसको लोभलाग्दो आश्वासनको पछि लागेर ऊ जसै मुखमा बस्न गई : कर्‍याप्प ! दयालु सर्पले त उसलाई एक्कै सासमा खर्लप्पै निल्यो ! निल्दानिल्दै पनि सर्पले अत्यन्तै नरम पाराले मुस्कुराउँदै भन्यो : ‘हेर ! म कति दयालु र प्रजातान्त्रिक साँप हुँ । म अरु साँप र नागभन्दा भलादमी छु । म आफ्ना शिकारलाई सुरक्षाको ग्यारेन्टी दिएर राजीखुशी तुल्याएर मात्रै शिकार गर्छु । साँच्चै भन्ने हो भने म अत्यन्त नरम दिल भएको दयालु सर्प हुँ । अरु साँप मजस्ता कहाँ छन् र ! ती त अति नै क्रुर र निर्दयी हुन्छन्, धेरै नै बिषालु पनि !

यस्तो दयालु र प्रजातान्त्रिक सर्प जाङ्ग तियानीद्वारा लिखित चिनियाँ कथाको जीवन्त पात्र हो, जो चिनियाँ राजतन्त्रको रूपमा चिनिन्छ । चीनको राजनीतिक इतिहासमा मानचू वा छिङ राजतन्त्र वा राजा पु यी जतिसुकै दयालु वा प्रजातान्त्रिक आवरणमा प्रकट भए पनि पटक–पटक सत्ताच्यूत् भए । छिङ राजतन्त्रलाई सन् १९११ मा डा. सुन यात सेनको नेतृत्वमा स्थापित गणतन्त्रसँगै सत्ताच्यूत गरियो । अनेक नाममा पुनःस्थापित राजतन्त्र पनि माओको नेतृत्वमा भएको जनयुद्धद्वारा सन् १९४९ मा बढारियो ।

यो त भयो, राजा पु यी नागरिकमा फेरिएको र छिङ राजतन्त्र पूरै अवशान भएको कथा । जाङ्ग तियानीद्वारा अधुरो छोडिएको यो कथालाई चिनियाँ जनताले पूर्ण गणतान्त्रिक बनाएको पनि ६ दशक भइसक्यो । त्यस्तै नेपाली जनताले पनि सर्परूपी शाही राजतन्त्र अन्त्य र गणतन्त्रको घोषणालाई संविधानसभाद्वारा लागू गर्दैछन् र राजालाई निलम्बनको अवस्था राखिछाडेका छन् । यो राजसंस्था सम्बन्धी कथाको अन्त्य अझै सुनिश्चित भएको छैन, जति सात दलीय नेताहरूले ठानेका छन् । ज्ञानेन्द्र शाहका हठी स्वभाव, पुरातन विचार र अलोकतान्त्रिक व्यवहार हेर्दा नेपालीहरूले उनको नियति चिनियाँ राजाको जस्तो लेख्ने हुन् कि इराक वा इरानका राजाको जस्तो लेख्ने हुन्, त्यो राजाको आचरणमै निर्भर रहने देखिन्छ । 

[महर्जनको शीघ्र प्रकाशन हुन लागेको फासीवाद सम्बन्धी किताबको अंश]

राजेन्द्र महर्जन

वामबुद्धिजीवी एवं विश्लेषक