निकोलाई चाउचेस्कु: अति महत्वाकांक्षाको दुर्दान्त अन्त्य

चाउचेस्कू दम्पत्ति हत्यापूर्व (दायाँ) र हत्या गरिँदा (बायाँ) । तस्विर: https://i.ytimg.com

पूर्वी यूरोपेली देश रोमानियामा एक जना शासक थिए, निकोलाई चाउचेस्कु। अत्यन्त निर्धन परिवारमा जन्मेका चाउचेस्कुले गरिबीका कारण खासै पढ्न पाएका थिएनन्। उनले प्राथमिक शिक्षा अर्थात् ४ कक्षा मात्र पास गरेका थिए। चाउचेस्कुले ११ वर्षकै उमेरमा घर छोडेर हिडे र उनले राजधानी बुखारेस्टमा जुत्ता सिलाउने काम सिक्न थाले।

उनी बिस्तारै कम्युनिस्ट राजनीतिमा संलग्न हुन थाले। जब चाउचेस्कु जेल परे, उनका साथीहरूले उनको कम पढाइका कारण उनलाई सधै हेप्ने गर्थे। उनको त्यो दयनीय अवस्था देखेर रोमानियाका त्यस बखतका ठूला कम्युनिस्ट नेता घोरघे घोरघियुले उनलाई आफ्नो शरणमा लिए। जब दोस्रो विश्वयुद्धपछि जर्मनीका सैनिकलाई लखेट्दै सोभियत लाल सेना रोमानिया पुग्यो, त्यहाँ घोरघे घोरघियुको नेतृत्वमा कम्युनिस्ट शासन स्थापित भयो। १९६५ मा घोरघे घोरघियुको निधनपछि केही चलाखी र अलिकति काकताली परेर निकोलाई चाउचेस्कु रोमानियाका शासक बने।

चाउचेस्कुलाई आफूले खासै औपचारिक अध्ययन नगरे पनि उनमा डिग्रीको ठुलो भोक थियो। उनले राजनीतिशास्त्र र अर्थशास्त्रको मानार्थ पीएचडी ग्रहण गरेका थिए। उनका लेख तथा रचनाका २८ वटा मोटा-मोटा संकलित रचनाका ठेलीहरू प्रकाशित गराए। चाउचेस्कुको लेखन राष्ट्रवाद र मार्क्सवादको विरोधाभासपूर्ण मिश्रित विचार थियो। त्यस्तै, रोमानियाको सार्वभौमसत्ता सम्बन्धी विचारलाई "चाउचेस्कु डक्ट्रिन" को नाम दिइयो। रोमानियाका सडक, गल्ली, र चोकचोकमा चाउचेस्कुको तस्वीर टाँस्न अनिवार्य गरियो। हरेक विद्यालयका पाठ्यपुस्तकमा चाउचेस्कु दम्पतीको फोटो अनिवार्य रूपमा छाप्नुपर्थ्यो।

चाउचेस्कुलाई आफूले खासै औपचारिक अध्ययन नगरे पनि उनमा डिग्रीको ठुलो भोक थियो। उनले राजनीतिशास्त्र र अर्थशास्त्रको मानार्थ पीएचडी ग्रहण गरेका थिए।

चाउचेस्कु जम्मा ५ फिट ४ इन्च मात्र अग्ला थिए। तर उनलाई आफू अग्लो छु भनेर देखाउनु पर्थ्यो। जसका कारण उनको फोटो विशेष कोणबाट मात्र फोटोग्राफरले खिच्नुपर्थ्यो। त्यस्तै, चाउचेस्कु दिनमा पटक-पटक हात धुने एक प्रकारको मानसिक रोग बाट ग्रसित थिए। उनी दिनमा कम्तीमा २० चोटी रक्सीले हात धुन्थे। केही छोएपछि वा कसैसँग हात मिलाएपछि उनलाई हात धुनुपर्थ्यो।

सन् १९७४ मा निकोलाई चाउचेस्कु रोमानियाको पूर्ण कार्यकारी अधिकारसहितको राष्ट्रपति बने। सो अवसरमा उनले राजाहरूले जस्तै राजदण्ड ग्रहण गरे। यो कामलाई व्यंग्य गर्दै प्रख्यात चित्रकार साल्भाडोर डालीले टेलिग्राम पठाए। चाउचेस्कुले त्यो व्यंग्यलाई बुझ्न सकेनन् र त्यसलाई कम्युनिस्ट पार्टीको मुखपत्रमा प्रकाशित गरे।

अन्तर्राष्ट्रिय क्षेत्रमा चाउचेस्कुको मुख्य काम हुन्थ्यो सोभियत संघ र त्यहाँका नेता लियोनिद ब्रेझनेभलाई दुःख दिनु। उनले सन् १९६८ मा चेकोस्लाभाकियामा भएको सोभियत हस्तक्षेपको खुला विरोध गरे, जसका कारण पश्चिमी देशहरूमा चाउचेस्कु लोकप्रिय बनेका थिए। अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले भनेका थिए— "चाउचेस्कु कम्युनिस्ट हुन सक्छ, तर ऊ हाम्रो कम्युनिस्ट हो।"

चाउचेस्कुले सन् ७० को दशकमा देशको औद्योगीकरण र विकास गर्न पश्चिमी देशहरूबाट अरबौं डलर ऋण लिए। तर, उनको औद्योगीकरणको सपना सोचेअनुसार चरितार्थ हुन सकेन। त्यो ऋणको ब्याज रोमानियाका लागि भारी पर्न थाल्यो। आफ्नो गल्ती सुधार्न चाउचेस्कुले सबै विदेशी ऋण तिर्ने प्रण गरे। यसका लागि रोमानियाका सबै कृषि तथा औद्योगिक उत्पादन विदेश निर्यात गर्न थालियो। यसले गर्दा देशभित्र खाद्यान्न र अत्यावश्यक सामानको अभाव हुन थाल्यो। त्यसका साथै, उनको मितव्ययिताको नीतिका कारण खाद्यान्न, बिजुली, पानीमा कटौती हुँदा सामान्य जनताको जीवन कष्टकर बन्दै गयो। चाउचेस्कुले आफ्नो हत्या हुनु भन्दा केही महिना अगाडि सबै विदेशी ऋण चुक्ता गरे।

रूसविरुद्धको राष्ट्रवादले कुनै काम गर्न छोडिसकेको थियो। चाउचेस्कुले समयले कोल्टे फेरिसकेको थाहै पाएनन्। पश्चिमी जगतका लागि उनको कुनै उपयोगिता बाँकी रहेको थिएन। तिनीहरूले आफूले गरेको लगानी फिर्ता माग्न थालिसकेका थिए।

सोभियत संघमा मिखाइल गोर्बाचोभ सत्तामा आएपछि चाउचेस्कु केही समयसम्म शान्त बसे। तर, जब उनले गोर्बाचोभ खासै शक्तिशाली नेता नभएको चाल पाए, तब उनको आलोचना गर्दै भाषण दिन थाले। रूसविरुद्धको राष्ट्रवादले कुनै काम गर्न छोडिसकेको थियो। चाउचेस्कुले समयले कोल्टे फेरिसकेको थाहै पाएनन्। पश्चिमी जगतका लागि उनको कुनै उपयोगिता बाँकी रहेको थिएन। तिनीहरूले आफूले गरेको लगानी फिर्ता माग्न थालिसकेका थिए।

चाउचेस्कुलाई आफ्नो औकातभन्दा ठूला कुरा र काम गर्न मन पर्थ्यो। उनले राजधानी बुखारेस्टमा संसारकै सबैभन्दा ठूलो घर जन दरबार (People's Palace) बनाउन थाले। अरबौं डलर खर्च गरेर सो दरबार बन्न थाल्यो। सो भवन निर्माण गर्न १५,००० मजदुर तीन शिफ्टमा काम गर्थे। तर, ती कामदारहरूका लागि दिसा-पिसाब गर्न एउटा पनि शौचालय थिएन। मजदुरहरूले जहाँ अँध्यारो कुनो देख्थे, त्यही दिसा-पिसाब गर्थे।

जन दरबारको निर्माणको निरीक्षण गर्न चाउचेस्कु हप्तामा तीनचोटि निर्माणस्थलमा पुग्थे। चाउचेस्कु आउने खबर पाएपछि मजदुरहरूले उनी जाने ठाउँको सफाइ गरिदिन्थे। एक दिन चाउचेस्कु तोकिएको क्षेत्रभन्दा अलिकति बाटो बिराएर बाहिर पुगे। उनको खुट्टा दिसा-पिसाबको रासमा गाडियो। मजदुरहरू हाँस्न थाले, तर गार्डले घुरेर हेरेपछि डरले चुप लागे। त्यसपछि गार्डहरूले उनको जुत्ता पुछपाछ गरे, अनि चाउचेस्कु केही नबोली आफ्नो कारतर्फ फर्के।

हजार कोठा भएको उक्त जन दरबार पूरा हुनु अघि नै रोमानियामा क्रान्ति भयो। आफ्नो जीवनको दोस्रो अन्तिम भाषणको क्रममा चाउचेस्कुले भने— "रोमानियामा परिवर्तन त्यसबेला मात्र आउँछ जब स्याउको रुखमा नासपाती फल्न थाल्छ।" भोलिपल्टदेखि विद्यार्थीहरूले रोमानियाको राजधानी बुखारेस्टका सबै रुखहरूमा नासपाती झुन्ड्याइदिए। देशभर व्यापक विद्रोह सुरु भयो। चाउचेस्कुले सो विद्रोह हिंसात्मक रूपमा दबाउन खोजे, तर सफल भएनन् र भाग्ने क्रममा पक्राउ परे। अन्ततः सन् १९८९ मा चाउचेस्कु दम्पतीलाई गोली हानी हत्या गरियो।

आफ्नो जीवनको दोस्रो अन्तिम भाषणको क्रममा चाउचेस्कुले भने— "रोमानियामा परिवर्तन त्यसबेला मात्र आउँछ जब स्याउको रुखमा नासपाती फल्न थाल्छ।" भोलिपल्टदेखि विद्यार्थीहरूले रोमानियाको राजधानी बुखारेस्टका सबै रुखहरूमा नासपाती झुन्ड्याइदिए।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनपछि संसारकै दोस्रो ठूलो भवन मानिने उक्त जन दरबार उनको मृत्युको कैयौं वर्षपछि मात्र तयार भयो। अहिले त्यो दरबारमा रोमानियाको संसद बस्छ। निर्माण भएको २५ वर्षपछि पनि सो दरबारका ७० प्रतिशत कोठा अझै खाली छन्।

माथिका प्रसङ्गहरुले चिच्याइचिच्याइ भन्छ– चाउचेस्कु एक दुर्दान्त शासक मात्रै हैन, उनी त शासकीय अहंकारले भरिएका, जनतालाई फिटिक्कै नगन्ने, ‘औकातभन्दा ठूला कुरा र काम गर्ने’ खतरनाक प्रवृत्तिको प्रतीक पनि हो । यस्ता प्रवृत्ति भएका शासकहरु संसारको जुनसुकै कुनामा पनि देखापर्न वा पैदा हुन सक्छ । तर त्यस्ता प्रवृत्ति भएका शासकहरुले जानिराखे हुन्छ– अति भएपछि जनता जाग्ने छन् र उनीहरुको अन्तिम नियति पनि चाउचेस्कूकै जस्तो वा त्योभन्दा पनि खराब हुने पक्का छ !