अमेरिका-केन्द्रित विदेश नीति अपनाउनु युरोपका लागि घातक भएको छ
ट्रम्पले “हार्ने खेल” चाहँदैनन्, ट्रम्प र पुटिन युद्ध अन्त्य गर्न सहमति गर्ने सम्भावना छ !

युरोपले यसका लागि ठूलो मूल्य चुकाउनु परेको छ, किनभने यो अवधिमा युरोपसँग कुनै स्पष्ट विदेश नीति थिएन, जुन म बुझ्न सकूँ। न कुनै आवाज, न एकता, न स्पष्टता, न युरोपेली हित– केवल अमेरिकाप्रति निष्ठा। संयुक्त राज्य अमेरिकाले निर्णय गर्यो एकध्रुवीय विश्वको अर्थ नाटोको क्रमश: विस्तार हुनेछ, ब्रसेल्सदेखि भ्लादिभोस्टोकसम्म । नाटोको पूर्वतर्फको विस्तारको कुनै अन्त्य हुने थिएन। यो अमेरिका-केन्द्रित एकध्रुवीय विश्व हुने थियो।
संयुक्त राज्य अमेरिकाको दृष्टिमा, कुनै पनि स्थान जहाँ अमेरिकी सैन्य आधार छैन, त्यो मूलतः शत्रु हो। ‘निष्पक्षता’ भन्ने शब्द अमेरिकी राजनीतिक शब्दकोशमा अशुद्ध शब्द हो, सम्भवतः सबैभन्दा खराब शब्द। यदि कोही शत्रु हो भने कम्तीमा हामीलाई थाहा हुन्छ कि ऊ शत्रु हो। तर यदि कोही तटस्थ छ भने, ऊ संदिग्ध हुन्छ, किनभने ऊ वास्तवमै हाम्रो विरुद्ध छ, तर हामीलाई खुला रूपमा बताइरहेको छैन। ऊ तटस्थ देखिने बहाना गरिरहेको छ।
यो साँच्चै जटिल, तीव्र रूपमा परिवर्तनशील र अत्यन्त खतरनाक समय हो। त्यसैले हामीलाई स्पष्ट सोचको खाँचो छ। म विशेष रूपमा हाम्रो वार्तालापमा रुचि राख्छु, त्यसैले म सकेसम्म संक्षिप्त र स्पष्ट रहने प्रयास गर्नेछु।
मैले पूर्वी युरोप, पूर्व सोभियत संघ, रुस आदिको घटनाक्रमलाई पछिल्लो ३६ वर्षदेखि नजिकबाट नियालिरहेको छु। म सन् १९८९ मा म पोल्यान्ड सरकारको सल्लाहकार थिएँ, १९९०-९१ मा राष्ट्रपति गोर्बाचोभका लागि, १९९१-९३ मा राष्ट्रपति येल्तसिनका लागि, १९९३-९४ मा युक्रेनका राष्ट्रपति लियोनिद कूचमाका लागि। मैले इस्टोनियाको मुद्रा परिर्वतनमा सहयोग गरेँ। मैले पूर्व युगोस्लाभियाका केही राष्ट्रहरू, विशेषगरी स्लोभेनियालाई पनि सघाएको थिएँ। मैले यी घटनाहरू ३६ वर्षदेखि निकट रूपमा अवलोकन गरेको छु।
मैदान क्रान्तिपछि, मलाई नयाँ युक्रेनी सरकारले कीभमा बोलायो र मैदान क्षेत्रको निरीक्षण गरायो, जहाँ मैले धेरै कुराहरू प्रत्यक्ष रूपमा बुझेँ। म पछिल्लो ३० वर्षदेखि रुसी नेताहरूसँग सम्पर्कमा छु। मैले अमेरिकी राजनीतिक नेतृत्वलाई नजिकबाट चिनेको छु। हाम्रा पूर्व अमेरिकी वित्त मन्त्री मेरा ५१ वर्षअघि ‘म्याक्रो इकोनोमिक्स’ का शिक्षक थिए। हामी अर्धशताब्दीसम्म निकट मित्र थियौँ।
मैले देखेका र अनुभव गरेका कुराहरू कुनै दोस्रो पक्षका विचार वा विचारधारात्मक भनाइ होइनन्। यो समय अवधिमा युरोपले सामना गरेका घटनाहरूलाई म विभिन्न सन्दर्भहरूमा समेट्न चाहन्छु, जसमा केवल युक्रेन संकट मात्र होइन, १९९९ को सर्बिया युद्ध, मध्यपूर्वका युद्धहरू (इराक, सिरिया) तथा अफ्रिकाका युद्धहरू (सुडान, सोमालिया, लिबिया) पनि सामेल छन्।
यिनीहरूलाई धेरै हदसम्म संयुक्त राज्य अमेरिकाले नेतृत्व र नियन्त्रण गरेको थियो। विगत ३० वर्षभन्दा बढी समयदेखि यही नीति चल्दै आएको छ। विशेष गरी १९९१ मा सोभियत संघको पतनपछि, अमेरिकाले संसारमा आफू सर्वेसर्वा भएको ठानेर अरू कसैको सुरक्षा चासो, अन्तर्राष्ट्रिय कानुनी दायित्व वा संयुक्त राष्ट्रसंघको संरचनालाई बेवास्ता गर्न थाल्यो।
म १९९१ मा राष्ट्रपति गोर्बाचोभका लागि अन्तर्राष्ट्रिय आर्थिक सहयोग जुटाउन प्रयासरत थिएँ। मैले हालसालै अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्को बैठकसम्बन्धी एउटा सरकारी मेमो पढें, जसमा मेरो प्रस्तावलाई हाँसो उडाइएको विवरण थियो। सोभियत संघलाई वित्तीय रूपमा सघाउनु पर्ने मेरो प्रस्तावमा अमेरिकी नीति निर्माताहरूको धारणा स्पष्ट थियो— "हामी न्यूनतम मात्र सहयोग गर्नेछौँ, केवल संकट टार्नका लागि। सहयोग गर्नु हाम्रो कर्तव्य होइन। बरु, हाम्रो हित त सोभियत संघलाई असफल बनाउनुमा छ।"
१९९१ पछि अमेरिकी नीति झनै आक्रामक बन्दै गयो। चिनि, वुल्फोवित्ज र अन्य धेरै व्यक्तिहरूले यो विश्वास गरे कि अब संसार पूर्ण रूपमा अमेरिकी नियन्त्रणमा रहनेछ। अमेरिकाले पूर्व सोभियत संघका बाँकी प्रभावहरू हटाउनेछ, इराक, सिरिया जस्ता देशहरूलाई कमजोर पार्नेछ। पछिल्ला ३३ वर्षदेखि हामी यही अमेरिकी विदेश नीति देखिरहेका छौँ।
युरोपले यसको लागि ठूलो मूल्य चुकाएको छ, किनभने उसले अमेरिकी निष्ठा बाहेक आफ्नै कुनै विदेश नीति बनाउन सकेन। कहिलेकाहीँ असहमति देखिए पनि, अन्तिम पटक २००३ मा इराक युद्धका बेला मात्र युरोपले स्पष्ट रूपमा अमेरिका विरोधी अडान लिएको थियो, जब फ्रान्स र जर्मनीले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् बाहिर गएर अमेरिका युद्ध लड्न नसक्ने बताएका थिए।
तर त्यसयता, युरोपले आफ्नो स्वर गुमायो, विशेषगरी २००८ पछि। १९९१ बाट २००८ सम्मको अवधिमा अमेरिकाले ‘नाटोको पूर्वतर्फ विस्तारको कुनै अन्त्य नहुने’ नीति अपनायो। ‘जोखिम मोल्ने’ बालकजस्तै, अमेरिकाले सैन्य बेस नभएका कुनै पनि ठाउँलाई शत्रुका रूपमा हेर्न थाल्यो।
अन्त्यमा, ट्रम्पबारे केही कुरा। ट्रम्प हार्ने हातमा खेल्न चाहँदैन। त्यसैले यो युद्ध (युक्रेन युद्ध) अन्त्य हुने सम्भावना धेरै छ। किनभने ट्रम्प र राष्ट्रपति पुटिनबीच सहमति हुनेछ। यदि युरोप अझै युद्धोन्मुख नीतिमा अडिग रहन्छ भने त्यो अप्रासंगिक हुनेछ। युद्ध अन्त्य हुँदैछ। त्यसैले तपाईंका सहकर्मीहरूलाई भन्नुहोस्— "अब युद्ध सकियो।"
यो सम्झौताबाट पहिलो लाभान्वित युक्रेन हुनेछ, दोस्रो युरोप। तपाईंका सेयर बजारहरू पछिल्ला दिनहरूमा ‘वार्ता’ को खबरले माथि गएका छन्, यद्यपि केही ठाउँमा यो झस्काउने खबर हो। तर वास्तवमा, यो नै तपाईंका लागि उत्तम खबर हो।
युक्रेन युद्ध अन्त्य गर्न पुटिन-ट्रम्प सहमति गर्छन्, तपाईंहरूको नोक्सानी कटौती गर्नुहोस् भन्ने शीर्षकमा जेफ्री स्याक्सले युरोपेली संघ (EU) मा दिएको भाषणको अनुवाद । उनले मुख्यत: अमेरिकाको एकध्रुवीय (unipolar) विश्व दृष्टिकोण, नेटोको विस्तार, युक्रेन युद्ध, र अमेरिकी विदेश नीतिको प्रभावबारे टिप्पणी गरेका छन्।

पार्टीमा गुटबन्दी, बहुविचार केन्द्रको अस्तित्व र पार्टी फूटको चूरो कारण के हो ?

अन्तर्राष्ट्रिय व्यवस्थालाई कमजोर पार्ने अमेरिकी प्रयासको विरोध गर्नैपर्छ

पर्यावरण : उपभोग गर्ने र देखाउने फरक

सत्ताको शिखरबाटै गणतन्त्रमाथि खतरा !

गाजा: मानवताको मौन मृत्यु र विश्व व्यवस्थाको डरलाग्दो संकट

विवाहको अर्थ-राजनीति

कस्मेटिक विकास : समृध्दि यात्रा कि आर्थिक संकटको बाटो

प्रतिक्रिया