कस्तो पेशा छान्ने ?
किशोर कार्ल मार्क्सको विचार

तपाईहरुले कार्ल मार्क्सको नाम त पक्कै पनि पढ्नु सुन्नु भएको होला । कार्ल मार्क्स दोस्रो सहस्राब्दीका सबैभन्दा प्रसिद्ध र महान चिन्तक हुनुहुन्थ्यो, भन्ने कुरा केही वर्षअघि बी.बी.सी. को सर्भेक्षणबाट पत्ता लागेको कुरा पनि तपाईंहरुले थाहा पाइसक्नु भयो होला । म उही महान चिन्तक, दार्शनिक, समाज-वैज्ञानिक तथा क्रान्तिकारी नेता कार्ल मार्क्सको एउटा प्रेरणादायी कुरा यहाँ लेख्दैछु ।
'मार्क्सवाद' का जन्मदाता मार्क्सको जन्म ५ मे, १८१८ मा राइन प्रान्तको त्रियेर नगरमा भएको थियो । सानैदेखि आफ्नो बेसीभन्दा बेसी समय पढाइमै खर्च गर्नुहुने मार्क्सको शारीरिक व्यायाममा पनि ठूलो रुचि थियो ।
१८३० देखि ३५ सम्म उहाँले त्रियेरकै उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्नुभएको थियो । त्यहीँ अध्ययन गर्ने क्रममा उहाँले आफ्नो स्कूलको अन्तिम परीक्षाका लागि एउटा निकै प्रसिद्ध निबन्ध लेख्नुभएको थियो । अरु विद्यार्थीहरुका लागि यस्तो निबन्ध लेख्नुभनेको परीक्षा पास गर्ने औपचारिकता पूरा गर्नु मात्र थियो । तर उहाँले जाँचमा पास गर्ने हिसावले मात्र होइन, आफ्नो बिचार, आस्था र लक्ष्य पोख्ने उद्देश्यले यस्तो निबन्ध लेख्नुभएको थियो ।
आफ्नो क्षमतालाई जाँच्ने र भावी पेशाको वारेमा विचार पोख्ने मनशायले उहाँले अत्यन्त ठूलो जिम्मेवारी र गंभीरतासहित निबन्ध लेख्नुभयो- 'पेशा छान्ने विषयमा एउटा युवाको विचार ।' यस निबन्धमा उहाँले किशोर अवस्थामै आफ्नो प्रतिभा, सोचाइ र आस्था प्रकट गर्नुभएको थियो । निबन्धमा उहाँले लेख्नुभएको थियो व्यवसाय ( पेशा) छान्ने अवसर मिल्यो भने म त्यस्तो पेशा छान्छु, जसबाट मानवजातिको व्यापक हित गर्न सकियोस् । त्यसो गर्न सकिएमा पेशाको बोझको अनुभव पनि गर्नुपर्ने छैन र त्यसबाट जुन सुख प्राप्त हुनेछ, त्यो निजी किसिमको सुख मात्र हुने छैन । मानवजातिको हितमा गरिने कामले गर्दा त्यस्तो सुख करोडौं करोड जनताको सुख हुनेछ !
मानवजातिको हितका लागि, करोडौंकरोड जनताको स्वार्थको लागि काम गर्ने पेशा छान्नु पर्ने विचार बोक्दै हिड्नु भएका किशोर मार्क्सले पछि गएर जीवनभर नै थोत्रो पुरानो समाज भत्काएर सुख, शान्ति र समानतापूर्ण नयाँ समाजको निर्माणलाई नै आफ्नो लक्ष्य र काम बनाउनु भयो । २३ बर्षको युवावस्थामै दर्शनशास्त्रमा पीएचडी गर्नुहुने मार्क्सले ३० वर्षको उमेरमै आफ्ना साथी फ्रेडरिक एंगेल्ससँग मिलेर कम्युनिष्ट 'घोषणापत्र' लेख्नुभएको थियो, जसले यो एक्काइसौं शताब्दीमा समेत तहल्का मच्चाइरहेको छ ।
विश्वविख्यात दार्शनिक मार्क्सले किशोर अवस्थामै व्यक्त गर्नुभएको विचार र उहाँको जीवनभरको व्यवहारबाट स्पष्ट देखिन्छ । युवाहरुले आफ्नो भावी पेशा छान्दा मानवजातिको स्वार्थलाई ध्यान दिनुपर्दछ, बहुसंख्यक जनताको हित हुने व्यवसाय छान्नु पर्दछ, तुच्छ व्यक्तिगत स्वार्थ पूरा हुने पेशा छान्नु हुँदैन ।
नव युवा २०५६ फागुनमा प्रकाशित

लोकतन्त्रमा जनतालाई उपलब्धि के ?

किताबका कुरा

नित्सेको ईश्वरको मृत्यु – बाटो हराएका मानिसहरूको स्तब्ध साउती

महिला मुक्तिको लागि नेपालको सन्दर्भमा साँस्कृतिक आन्दोलनलाई प्राथमिकता दिइनु प…

निरङ्कुश सत्तालाई चुनौती दिने अपराजित कलम

‘ट्रम्पले हामीलाई के–कसरी पढाउने भन्ने निर्देशन नदिऊन्, हार्वर्डमा पढेर ८ जना …

मुखुण्डो पछाडिको कालो मन: समाजमा प्रतिष्ठित देखिने व्यक्तिहरूमा यौन हिंसाको व…

प्रतिक्रिया