दमन हैन समाधानको बाटो: मुक्कुमलुङ सवालमा जनभावनालाई सम्बोधन गरियोस् !

आवरणमा जतिसुकै विकास परियोजनाको लिपापोती गरिए पनि धर्मको नाममा व्यापार गर्नको लागि अगाडि सारिएको योजना हो– मुक्कुमलुङ केवलकार । केवलकारले स्थानीय पर्यावरण र त्यहाँका स्थानीय वासिन्दाहरुको आस्था र विश्वासमाथि घात गर्ने भन्दै स्थानीय वासीहरु ‘मुक्कुमलुङ बचाउ आन्दोलन’मा उत्रिएका छन् । उनीहरु शान्तिपूर्ण विरोधलाई सुन्ने, जनभावनालाई सम्बोधन गर्नेतिर हैन, निर्मम दमनचक्र चलाएरै भए पनि व्यापारीको सपनालाई साकार पार्ने लिढेढिपीमा संघीय राज्य उत्रिएको छ । त्यसैको परिणति हो– केही दिनअघि उक्त क्षेत्रमा भएको गोलीकाण्ड र दमनको निर्मम घटना ।

उक्त घटनामा प्रहरीको गोली लागेर पाँचथर मिक्लाजुङ ५ सिक्तम्बा निवासी १८ वर्षीय सुगन लावती सख्त घाइते भए । गोलीले उनको देब्रे फोक्सो छेडिएको छ, छातीको ४ र ६ नम्बरको करङ तथा पछाडिको स्क्यापुलाको हड्डी पनि भाँचिएको छ । त्यसैगरी, तेह्रथुम मेयङलुङ नगरपालिकाका यामबहादुर सुक्वाबाको तीघ्राको हड्डी फोरेर गोली वारपार भएको छ भने सुरक्षाकर्मीको प्रहारमा परी ताप्लेजुङ फुङलिङ निवासी धनपाल पालुङ्वाको देब्रे काँधको हड्डी भाँचिएको छ ।

मुक्कुमलुङ प्रकृतिपुजक लिम्बुवान निवासी आदिवासीहरुको पवित्र स्थल हो । प्रकृतिको संरक्षण र पुजालाई आफ्नो साँस्कृतिक–व्यवहारिक जीवनदर्शनको रुपमा अपनाउँदै आएका लिम्बुवान निवासीहरु विकासका नाममा त्यहाँ गरिएको बनविनाश र आफ्ना पवित्र क्षेत्रमा हुन गइरहेको मानवीय अतिक्रमणको अवश्यम्भावी संभावनाले रुष्ट छन् । उसै पनि त्यस क्षेत्रको रैथाने नामलाई ओझेलमा पार्दै त्यसलाई नियोजित रुपमा पाथिभराको रुपमा हिन्दूकरण गरिएको घटनाले निक्कैअघिदेखि नै रैथाने जनतामा रोषको विजारोपण गरिसकेको हो । त्यसमाथि थप अहिले प्रकृति पुजक लिम्बुवानवासीहरुको भावनालाई कुल्चँदै प्रकृतिको भयानक विनाश गरी केवकार स्थापना गराइछाड्ने राज्यको बालहठले स्थितिलाई विस्फोट बनाउँदै लगेको छ ।

राज्यले यस सवाललाई जबरजस्ती लागू गराइछाड्ने गरी प्रतिष्ठाको विषय बनाउने हैन, रैथाने आदिवासी जनताको धार्मिक–साँस्कृतिक मान्यता र भावनालाई सम्मान गर्नु सबैभन्दा उत्तम विकल्प हो । केवलकार लैजाँदामात्रै मुक्कुमलुङ क्षेत्रको विकास हुने खालको भाष्य खडा गरेर नाफाखोर व्यापारीको स्वार्थलाई मात्र एकल प्राथमिकताको एजेण्डा बनाएर अगाडि बढ्नु निश्चय पनि समाजवादोन्मुख समाजको परिकल्पनामा अघि बढेको राज्य र सरकारको लागि सुहाउने कुरा हैन । यस सवालमा राज्यले आफ्नो हठ त्यागेर अविलम्ब जनभावनाको कदर गर्नु र त्यस क्षेत्रमा केवलकार बनाउने परियोजनालाई रोक्नु जरुरी छ । साथै नेपालका राजनीतिक दलहरुले साँच्चै नै जनताका भावनालाई उच्च प्राथमिकता दिन्छ भने यस सवालमा सत्ता साझेदार दलहरु तथा प्रतिपक्षमा रहेका दलहरुले पनि निर्णायक रुपमा आवाज मुखर गर्नु ढिला भइसकेकको छ ।

तस्विर: शिक्षण अस्पताल महाराजगञ्जमा प्रहरीको गोली लागेर देब्रे फोक्सो छेडिएका सुगन लावती । तस्विर स्रोत: बच्चु हिमांशु/बीएनए छलफल चौतारी