चे ग्वेभारा: समाजवादको सपनादेखि बलिदानसम्म

एर्नेस्टो चे ग्वेभारा यो वर्ष ६० वर्षका* हुने थिए। उनी धेरै कम उमेरमै बिते, आफूलाई सम्झनलायक मीठा यादहरू छोड्दै। एक रोमान्टिक व्यक्तित्व, एक स्वतन्त्रता सेनानी, एक क्रान्तिकारी...!
मैले पहिलो पटक चेबारे १९५७ मा सुनेको थिएँ, जब म अर्जेन्टिनामा रहेको सोभियत दूतावासमा कार्यरत थिएँ। उनी अर्जेन्टिनाका युवाहरू माझ क्युबामा बाटिस्टा तानाशाहीविरुद्धको गुरिल्ला युद्धका नेताका रूपमा अत्यन्त लोकप्रिय थिए।
दुई वर्षपछि, मैले उनलाई स्वतन्त्र हवानामा भेटें, जहाँ म अक्टोबर १९५९ को सुरुवातमा तास संवाद एजेन्सीको संवाददाता भएर पुगेको थिएँ। केही महिनासम्म म क्युबामा एक मात्र सोभियत नागरिक थिएँ। मैले प्रवेश भिसाका लागि ६ महिना प्रतीक्षा गरेको थिएँ । मेरो उक्त भिसा म्यानुएल उरुतियाको प्रतिक्रान्तिकारी समुहलाई सरकारबाट लखेटेपछि मात्र जारी गरिएको थियो।
त्यतिबेला सोभियत जनताले क्युबाली क्रान्तिको वास्तविक स्वरूपको बारेमा अस्पष्ट जानकारी राख्थे र त्यसका नेताहरूका बारेमा त झन् करिब करिब केही पनि जान्दैनथे । हामीले पाउने अधिकांश जानकारीहरु अमेरिकी समाचार संस्थाहरूबाट प्राप्त हुन्थ्यो, यद्यपि उनीहरूका रिपोर्टहरूबाट स्पष्ट थियो कि क्युबाका घटनाहरू परम्परागत ल्याटिन अमेरिकी सैन्य ‘कू’ भन्दा धेरै भिन्न थिए।
कुराकानीको क्रममा चेले प्रत्येक १५ मिनेटमा आफ्नो सैनिक बर्दीको अगाडिको खल्तीबाट ‘इनहेलर’ निकालेर गहिरो सास तान्थे, किनकी उनको दम फेरी बल्झिन थालेको थियो।
मेरो काम भनेको क्युबाली क्रान्तिको वास्तविक स्वरूप र उद्देश्य बुझेर सोभियत जनतालाई सही जानकारी दिनु थियो।
यो बुझ्नका लागि मलाई क्युबाली नेताहरूसँग भेट्न आवश्यक थियो, र चे ग्वेभाराले पहिलो पटक मलाई भेट्ने मौका दिए। हाम्रो भेट अक्टोबर १२, १९५९ को राति अबेर राष्ट्रिय भूमि सुधार संस्थानमा भयो, जहाँ उनी औद्योगिकीकरणसम्बन्धी विभागको प्रमुख थिए। हाम्रो कुराकानी बिहानसम्म चल्यो। चे निकै थकित देखिन्थे। कुराकानीको क्रममा उनले प्रत्येक १५ मिनेटमा आफ्नो सैनिक बर्दीको अगाडिको खल्तीबाट ‘इनहेलर’ निकालेर गहिरो सास तान्थे, किनकी उनको दम फेरी बल्झिन थालेको थियो। उनी बाल्यकालदेखि नै दमबाट पीडित थिए।
चेले मलाई भने कि क्युबाको पूर्ण स्वतन्त्रता समाजवादी समाज निर्माण नगरी सम्भव छैन र समाजवादी राष्ट्रहरूसँग मित्रवत् सम्बन्ध स्थापित गर्नु नै एक मात्र उपाय हो।
हाम्रो वार्तालाप दुई समान विचारधाराका व्यक्तिहरूबीचको मैत्रीपूर्ण कुराकान थियो। चेले उत्साहपूर्वक आफूले पढेका सोभियत पुस्तकहरूको बारेमा चर्चा गरे: ‘अग्नि दीक्षा’, ‘द भोलोकलाम्स्क हाइवे’, ‘अ स्टोरी अबाउट ए रियल म्यान’, र ‘द अन्डरग्राउन्ड पार्टी कमिटी इन एक्सन’। उनी पहिलो क्युबाली नेता थिए, जसले मलाई क्युबाली क्रान्तिकारी प्रक्रियाको सम्भावनाहरूको वास्तविकता उजागर गरे। उनले मलाई भने कि क्युबाको पूर्ण स्वतन्त्रता समाजवादी समाज निर्माण नगरी सम्भव छैन र समाजवादी राष्ट्रहरूसँग मित्रवत् सम्बन्ध स्थापित गर्नु नै एक मात्र उपाय हो।
मैले चेलाई "टेक्सास" ब्रान्डका केही प्याकेट अर्जेन्टिनियन चुरोटहरु उपहारस्वरुप दिए। जसलाई मैले बुएनोस आइरेसमा किनेको थिए । मैले सोचेको थिएँ कि उनलाई आफ्नै देशबाट केही पाउँदा खुशी लाग्छ, तर उनले ब्राण्ड देख्नेबित्तिकै व्यंग्यात्मक रुपमा मुस्कुराउदै अमेरिकी साम्राज्यवादका रणनीतिहरूबारे लामो व्याख्या गरे। जसले मेक्सिकोको राज्यलाई आफ्नो भूभागमा मिलाएको थियो, त्यसकै नाम अहिले चुरोट प्याकेटमा लेखिएको थियो। मैले मेरो असावधानीका लागि क्षमा मागेँ।
मैले सोचेको थिएँ कि चेलाई आफ्नै देशबाट केही पाउँदा खुशी लाग्छ, तर उनले ब्राण्ड देख्नेबित्तिकै व्यंग्यात्मक रुपमा मुस्कुराउदै अमेरिकी साम्राज्यवादका रणनीतिहरूबारे लामो व्याख्या गरे।
चेले अक्टोबर १६ मा फिडेल क्यास्ट्रोसँग मेरो भेटघाटको व्यवस्था गरे। फिडेलले क्युबामा क्रान्तिकारी प्रक्रियासम्बन्धी चेको विचारहरूलाई पुष्टि गरे। उनले शोषणबाट मुक्त न्यायपूर्ण समाज निर्माण गर्ने र आक्रमणकारीलाई पराजित गर्न जनतालाई हतियारले सुसज्जित कुरा गरे। उनले ‘समाजवादी समाज’ भन्ने शब्द प्रयोग गरेनन्, तर मलाई स्पष्ट रूपमा लागेको थियो कि उनी त्यही आशय व्यक्त गर्न चाहन्थे।
यो भन्न कुनै अत्युक्ति हुँदैन कि चे सोभियत-क्युबा आर्थिक सहकार्यका वास्तुकार थिए। हाम्रो पहिलो भेट भएको करिब एक महिनापछि, चे क्युबाको राष्ट्रिय बैंकका अध्यक्ष नियुक्त भए र फिडेल क्यास्ट्रोको अनुरोधमा सोभियत वैदेशिक व्यापार मन्त्रालयलाई क्युबामा एक प्रतिनिधि पठाएर क्युबाली चिनी खरिद तथा सोभियत व्यापार मिशन स्थापनासम्बन्धी वार्ता गर्न आग्रह गरे। लगत्तै सोभियत संघमा चिनी निर्यातसम्बन्धी पहिलो सम्झौतामा हस्ताक्षर गरियो।
अमेरिकाले क्युबालाई तेल आपूर्ति रोक्दा, सोभियत संघसँग सम्पूर्ण इन्धन आवश्यकतालाई पूरा गर्ने सम्झौता गरियो।
फिडेल क्यास्ट्रोसँग मिलेर उनले सोभियत औद्योगिक प्रदर्शनीको आयोजना गरे, जुन फेब्रुअरी १९६० मा हवानामा उद्घाटन भयो। उद्घाटन समारोहमा सहभागी अनास्तास मिकोयानसँग चेको वार्तालाप भयो, जसको परिणामस्वरूप पहिलो सोभियत-क्युबा आर्थिक सहकार्य सम्झौतामा हस्ताक्षर भयो। क्युबालाई सहज सर्तमा १०० मिलियन डलर बराबरको ऋण प्रदान गरियो। त्यही समयमा क्युबामा सोभियत व्यापार मिशन स्थापना गरियो, जुन पछि व्यापार प्रतिनिधित्वमा परिणत भयो।
अमेरिकाले क्युबालाई तेल आपूर्ति रोक्दा, सोभियत संघसँग सम्पूर्ण इन्धन आवश्यकतालाई पूरा गर्ने सम्झौता गरियो। चेका अनुसार, यस सम्झौताबाट क्युबाले २० मिलियन डलर बचत गर्यो।
त्यसै वर्षको जुलाईमा, अमेरिकाले क्युबाली चिनीमाथि प्रतिबन्ध लगाएपछि, सोभियत संघले अमेरिकाले खरिद गर्न अस्वीकार गरेको सम्पूर्ण चिनी खरिद गर्ने प्रतिबद्धता जनायो। यसले क्युबालाई आर्थिक विनाशबाट जोगायो।
१९६० को अन्त्यसम्म, चेले (क्युबाबाट पहिलो नेताका रूपमा) सोभियत संघ, चेकोस्लोभाकिया, जर्मन जनगणतन्त्र (G.D.R.), हंगेरी, चीन, र कोरियाली जनगणतन्त्रको भ्रमण गरे र ती देशहरूसँग आर्थिक सम्झौताहरू सम्पन्न गरे।
उनले अनेकौं अवसरमा सोभियत संघको भ्रमण गरे। उनले निकिता ख्रुश्चेभ र अनास्तास मिकोयानसँग प्रत्यक्ष वार्ता गरे, र सधैं सोभियत पक्षबाट सहानुभूति र समझदारी प्राप्त गरे।
अगस्ट र सेप्टेम्बर १९६२ मा, क्युबाली संकटको एक महिना अगाडि, फिडेल क्यास्ट्रोको निर्देशनमा उनले क्युबामा सोभियत मध्यम-दूरीका क्षेप्यास्त्रहरू तैनाथ गर्ने विषयमा निकिता ख्रुश्चेभसँग वार्ता गरे।
यद्यपि सोभियत-क्युबा सम्बन्धहरू केही समयका लागि चिसियो, र क्युबाली सरकारको सहमति बिना क्षेप्यास्त्रहरू फिर्ता लिएको विषयमा निकिता ख्रुश्चेभप्रति असन्तुष्टि व्यक्त गरियो, तर चे र क्युबाली नेतृत्वले समग्र रूपमा क्युबाली क्रान्ति जोगाउन मस्कोको भूमिकालाई उल्लेखनीयरुपमा श्रेय दिए।
चेको पहलमा क्रान्तिको पहिलो वर्षमै देशभरि आइतबार स्वेच्छिक श्रम अभियान सुरु गरिएको थियो। लगभग प्रत्येक आइतबार चे कुनै कारखाना, निर्माणस्थल, वा सहकारी फार्ममा काम गर्थे।
चे समाजवादी देशहरूसँगको सहकार्यका लागि प्रत्यक्ष रूपमा जिम्मेवार थिए। उनले रुसी भाषा सिक्नसमेत सुरु गरेका थिए।
क्रान्तिप्रति उनको समर्पण, इमानदारी, र सरल व्यवहार अत्यन्त प्रेरणादायक थियो। उनले सादा जीवन बिताए र विशेषाधिकार तथा विलासितालाई अस्वीकार गरे। उनको पहलमा क्रान्तिको पहिलो वर्षमै देशभरि आइतबार स्वेच्छिक श्रम अभियान सुरु गरिएको थियो। लगभग प्रत्येक आइतबार चे कुनै कारखाना, निर्माणस्थल, वा सहकारी फार्ममा काम गर्थे।
उनी आफैं कार चलाउँथे, विमान उडाउन सक्थे, र उखु काट्ने मेसिन पनि सञ्चालन गर्न सक्थे। राष्ट्रिय बैंकका अध्यक्ष बनेपछि उनलाई गणितमा चासो जाग्यो र उनले यस क्षेत्रमा उल्लेखनीय प्रगति गरे।
एक पटक, १९५९ को अन्त्यतिर, हामी चेको कारमा राउल क्यास्ट्रो बस्ने स्थानतर्फ जाँदै थियौं। चे आफैं कार चलाइरहेका थिए, र जब हामी हवाना शहरको केन्द्र हुँदै गइरहेका थियौं, उनको कार अर्को कारसँग ठोक्कियो। तुरुन्तै, उनका प्रशंसकहरूको भिड जम्मा भयो। सबैले चेलाई मद्दत गर्न चाहन्थे। जसको कारमा ठक्कर लागेको थियो, उनी यो घटनाबाट अत्यन्त खुसी भए। उसले आफ्नो कारको कुच्चिएको ठाउलाई चेसँगको भेटघाटको स्मृतिका रूपमा जस्ताको तस्तै राख्ने वाचा गरे ।
चे पाइलटको सिटमा बसे। भरखर भरखरै भएको दुर्घटना सम्झेर म केही असहज महसुस गरें। चेले मेरो असजिलोपन महशुस गर्दै भने, "क्युबामा थोरै मात्र विमानहरू छन्, त्यसैले आकाशमा अर्को विमानसँग ठोक्किने सम्भावना निकै कम छ।"
केही समयपछि, चेले मलाई ओरियन्टे प्रान्तमा निमन्त्रण गरे, जहाँ सिएरा माएस्त्राको पहाडमा भएको सुरुवाती युद्धको वार्षिकोत्सव मनाइँदै थियो। विमानस्थलमा चार सिट भएको सेस्ना विमान हामीलाई पर्खिरहेको थियो। जब हामी विमानमा चढ्यौं, चे पाइलटको सिटमा बसे। भरखर भरखरै भएको दुर्घटना सम्झेर म केही असहज महसुस गरें। चेले मेरो असजिलोपन महशुस गर्दै भने, "क्युबामा थोरै मात्र विमानहरू छन्, त्यसैले आकाशमा अर्को विमानसँग ठोक्किने सम्भावना निकै कम छ।" उनी एक उत्कृष्ट पाइलट थिए।
एक पटक, चे र म राष्ट्रिय बैंकको उनको कार्यालयमा कुरा गरिरहेका थियौं। उनी झ्यालतर्फ लागे र मलाई भने कि प्रतिगुप्तचर रिपोर्टअनुसार आतंककारीहरूले साँघुरो सडकको अर्को छेउमा रहेको घरबाट उनलाई गोली हान्ने योजना बनाइरहेका छन्। जब मैले उनलाई सोधेँ कि उनले यस्तो जोखिम किन मोलिरहेका छन्, उनले मुस्कुराउँदै भने, "आतंककारीहरूलाई म कार्यालयमा छु भन्ने निश्चित हुनुपर्छ, ताकि उनीहरूलाई समात्न गर्न सकियोस्।"
एक पटक, चे दूतावासका एक कर्मचारीजनासँग चेस खेल हार्न पुगे। ठट्टा गर्दै उनले मलाई भने, "यो मान्छेलाई मास्को फिर्ता पठाऊ, किनभने यिनले अतिथि देशका नेताप्रति कूटनीतिक शिष्टता र सम्मान देखाउन सकेनन्।"
चे एक उत्कृष्ट चेस खेलाडी थिए। उनी प्रायः सोभियत दूतावासमा चेस खेल्न आउँथे, र प्रायः हरेक पटक जित्थे। चेसको महाशक्तिका प्रतिनिधिहरूमाथि जित हासिल गर्नु उनलाई निकै गर्वको विषय लाग्थ्यो।
एक पटक, उनी दूतावासका एक कर्मचारीजना सँग हार्न पुगे। ठट्टा गर्दै उनले मलाई भने, "यो मान्छेलाई मास्को फिर्ता पठाऊ, किनभने यिनले अतिथि देशका नेताप्रति कूटनीतिक शिष्टता र सम्मान देखाउन सकेनन्।" जब हाम्रा ग्रान्डमास्टरहरू हवाना आएर चेस खेल्थे, चे सधैं उपस्थित हुन्थे।
हाम्रो अन्तिम भेट मार्चको अन्त्यतिर वा अप्रिलको सुरुतिर १९६५ मा दूतावासमा भएको थियो, उनले क्युबा छोड्नुभन्दा केही समय अघि। मलाई थाहा थियो कि क्युबाली नेतृत्वका सबै सदस्यहरू उखुको बाली काट्नका लागि चाँडै कामागुए प्रान्त जाँदै थिए। तर चेले भने कि उनी त्यहाँ जाँदै छैनन्, किनभने उनले ओरिएन्ते प्रान्तको सरकारलाई त्यहाँ आउने र त्यहाँको हार्भेस्टर मेसिनमा काम गर्ने वाचा गरेका थिए। उनले हाँस्दै भने, "म एक्लैले सरकारका बाँकी सबै सदस्यहरूभन्दा धेरै उखु काट्न सक्छु, र मिडिया तथा टेलिभिजनकर्मीहरूबाट बच्न पनि सक्छु।" तर मलाई थाहा थिएन कि चे आफ्नो सम्पूर्ण क्रान्तिकारी जोश मुक्ति सङ्घर्षमा समर्पित गर्नका लागि क्युबा सदाका लागि छोड्दै थिए ।
* यो लेख १९८८ को New Times म्यागजिनमा छापिएको थियो। यो लेख छापिँदाका बखत सन् १९२८ को जुन १४ मा जन्मिएका चे ६० वर्षका हुने थिए ।

बर्तोल्त ब्रेख्त: बीसौं शताब्दीका महान कवि-नाटककार

पुनर्जागरण र त्यसका प्रभाव

वी. एस. अच्युतानंदन: एक अथक योद्धा

नेपाली जनआन्दोलन एक समीक्षा

ट्रोत्स्कीको 'स्थायी क्रान्ति' बारे एक विमर्श

मार्क्सको आर्थिक अस्त्र 'पूँजी' - एक विश्लेषणात्मक अध्ययन

इरान र इजरायलबीच किन चर्किँदैछ युद्ध ? इतिहासले के भन्छ ?

प्रतिक्रिया