क्वान्टम सिद्धान्त र द्वन्द्वात्मक भौतिकवाद

द्वन्द्वात्मक भौतिकवाद मार्क्सवादको दार्शनिक आधार हो। मार्क्सवाद विज्ञानमा आधारित दर्शन हो। त्यसैले विज्ञानमा विकसित हरेक सैद्धान्तिक विषयमा द्वन्द्वात्मक भौतिकवादको परीक्षण हुन्छ । गएको बीसौँ शताब्दीमा विकसित महत्त्वपूर्ण वैज्ञानिक सिद्धान्तहरूमा क्वान्टम सिद्धान्त सबभन्दा अगाडि आउँछ। किनकि महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले प्रतिपादन गरेको सापेक्षताको सिद्धान्तले पनि क्वान्टम सिद्धान्तलाई नै पुष्टि गर्छ। सन् १९०० मा जर्मन वैज्ञानिक म्याक्स प्लाङ्कले अगाडि ल्याएको क्वान्टम अवधारणाको प्रस्थापनालाई पछिका वैज्ञानिकहरूले त्यसलाई सिद्धान्तकै रूपमै विकसित गरे । यस सिद्धान्तका प्रवक्ता नभए पनि यसलाई विकसित गर्नमा वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको भूमिका महत्त्वपूर्ण रह्यो । उनले प्रतिपादन एवं आविष्कार गरेका ‘फोटो इलेक्ट्रिक इफेक्ट' र 'सापेक्षताको सिद्धान्त'बाट क्वान्टम सिद्धान्तलाई नै पुष्टि मिल्छ । के पछिल्लो समयमा विकसित यस वैज्ञानिक सिद्धान्तले द्वन्द्वात्मक भौतिकवादलाई पुष्टि गर्छ ? यस प्रश्नमा प्रवेश गर्नुपूर्व हामी साँच्ची नै यो सिद्धान्तबारे अलिकति घोत्लिऔं ।
१९औँ शताब्दीमा परमाणु सिद्धान्तको विकास र परमाणुभित्रका पनि अति सूक्ष्म कणहरू पत्ता लागिसकेपछि सूक्ष्म तहमा अर्थात् परमाणुभित्र हुने पदार्थ र ऊर्जाको स्वभाव एवं व्यवहारलाई न्युटनको यान्त्रिकी'ले सही ढङ्गले व्याख्या विश्लेषण गर्न सकेन।
प्रकृतिमा पदार्थ छ, शक्ति छ र गति छ । यिनीहरूको सम्बन्ध र क्रिया प्रतिक्रियाको बारेमा १७ औँ शताब्दीमा अङ्ग्रेज वैज्ञानिक आइज्याक न्युटनले आफ्नो ‘यान्त्रिकी' (mechanica) सिद्धान्तमा राम्ररी नै व्याख्या विश्लेषण गरे । उनको यसै सिद्धान्तको जगमा रही पदार्थ र ऊर्जाको स्वभाव एवं व्यवहारको व्याख्या विश्लेषणहरू भए। वैज्ञानिक न्युटनले त्यही सिद्धान्तकै जगमा खगोलीय वस्तुहरूको गति र स्थितिलाई व्याख्या गर्ने ‘गुरुत्वाकर्षणको सिद्धान्त' पनि प्रतिपादन गरे । पृथ्वीभित्रका र पृथ्वीबाहिर खगोलका वस्तुहरू समेतका गति र स्थितिबारे सिद्धान्तहरू आएपछि त्यसैका आधारमा संसारलाई हेर्न र व्याख्या विश्लेषण गर्न थालियो । भौतिक विज्ञानमा न्युटनका सिद्धान्तहरू झण्डै तीन सय वर्षसम्म अकाट्य नै रहे । न्युटनको भौतिकीकै जगमा विभिन्न भौतिक एवं सामाजिक दर्शनहरू पनि विकसित भए । तर १९औँ शताब्दीमा परमाणु सिद्धान्तको विकास र परमाणुभित्रका पनि अति सूक्ष्म कणहरू पत्ता लागिसकेपछि सूक्ष्म तहमा अर्थात् परमाणुभित्र हुने पदार्थ र ऊर्जाको स्वभाव एवं व्यवहारलाई न्युटनको यान्त्रिकी'ले सही ढङ्गले व्याख्या विश्लेषण गर्न सकेन। यसका लागि विज्ञानले बीसौँ शताब्दीलाई पर्खनुपर्यो। सन् १९०० मा जर्मन वैज्ञानिक म्याक्स प्लाङ्कद्वारा प्रस्तुत 'क्वान्टम' अवधारणा नै पछि अन्य वैज्ञानिकहरू अल्वर्ट आइन्स्टाइन, लुइस डे ब्रोग्ली, वेर्नर हाइजेन्वर्ग, निल्स बोहार, स्टेफेन हकिङ र रिचार्ड फिन्मानलगायत अन्य कैयौँ वैज्ञानिकहरूको कार्यबाट एउटा मूर्त वैज्ञानिक सिद्धान्त नै विकसित भयो, जसले परमाणु र त्यसभित्रका अति सूक्ष्म कणहरूको तहमा रहने पदार्थ र ऊर्जाको स्वभाव र व्यवहारलाई सही ढङ्गले व्याख्या विश्लेषण गर्छ । त्यही सिद्धान्त अहिले ‘क्वान्टम सिद्धान्त'को नाममा प्रसिद्ध छ । अहिले यस सिद्धान्तलाई ‘क्वान्टम भौतिकशास्त्र' र 'क्वान्टम यान्त्रिकी'को रूपमा पनि बुझ्ने गरिन्छ। क्वान्टम अवधारणा प्रस्तुत गरेबाट वैज्ञानिक म्याक्स प्लाङ्कले सन् १९१८ मा भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार प्राप्त गरेका थिए ।
प्लाङ्कले ऊर्जाको अलगअलग पोकालाई 'क्वान्टा' भनी नामकरण गरेकाले नै यस सिद्धान्तको नाम क्वान्टम सिद्धान्त हुन गयो । सन् १९०५ मा वैज्ञानिक अल्वर्ट आइन्स्टाइनले ऊर्जा मात्र होइन बरु विकिरण स्वयं आफैँ नै पनि उही ढङ्गमा क्वान्टामा रहने सिद्धान्त प्रस्तुत गरे ।
क्वान्टम अवधारणा
वैज्ञानिक म्याक्स प्लाङ्कको मस्तिष्कमा के प्रश्न उठ्यो भने कुनै बलिरहेको वस्तुबाट निस्कने विकिरण को रङ्ग वस्तुमा तापक्रम वृद्धि भए सँगसँगै क्रमशः रातो, सुन्तला र निलोमा किन बदलिन पुग्छ ? उनले आफ्नो मस्तिष्कमा उब्जेको प्रश्नको जबाफ पाउन वैज्ञानिक अनुसन्धान थाले।
सन् १९०० अघिसम्म ऊर्जालाई एक स्थिर विद्युत् अचुम्बकीय तरङ्गका रूपमा मात्र बुझ्ने गरिन्थ्यो। ऊर्जालाई यही रूपमा मात्र बुझ्दा वैज्ञानिक प्लाङ्कको मस्तिष्कमा उब्जिएको सवालको जबाफ आउँदैनथ्यो । त्यसैले उनले ऊर्जालाई पदार्थझैँ छुट्टाछुट्टै एकाइ वा पोकाहरूमा विभाजित भएका कणहरूको प्रवाहको रूपमा रहेको धारणा बनाए ताकि त्यसलाई परिमाणयोग्य (quantifiable) बनाउन सकियोस् । यसो गर्दा नै वैज्ञानिक प्लाङ्कलाई वस्तुको तापमान वृद्धि भए सँगसँगै ऊर्जाको विकिरणको रङ्ग क्रमशः रातो, सुन्तला र निलोमा बदलिनु तर्कसङ्गत हुने लाग्यो । छुट्टाछुट्टै पोकामा विभाजित ऊर्जाको वास्तविकता नै क्वान्टम सिद्धान्तको पहिलो अवधारणा हो । प्लाङ्कले यस सिद्धान्तलाई पछि विशेष गणित प्रस्तुत गरी प्रमाणित गरिदिए । उनले निश्चित छुट्टाछुट्टै तापमानका तहहरूमा ऊर्जाले फरकफरक वर्णपट (colour spectrum) का क्षेत्रहरू ओगट्ने तथ्य गणितबाट प्रस्तुत गरे । प्लाङ्कले ऊर्जाको अलगअलग पोकालाई 'क्वान्टा' भनी नामकरण गरेकाले नै यस सिद्धान्तको नाम क्वान्टम सिद्धान्त हुन गयो ।
सन् १९०५ मा वैज्ञानिक अल्वर्ट आइन्स्टाइनले ऊर्जा मात्र होइन बरु विकिरण स्वयं आफैँ नै पनि उही ढङ्गमा क्वान्टामा रहने सिद्धान्त प्रस्तुत गरे । उनले
विशेष सापेक्षताको सिद्धान्तमा पदार्थ ऊर्जामा र ऊर्जा पदार्थमा बदलिन सक्ने भएकाले पदार्थ र ऊर्जा एउटै भएको अवधारणालाई स्थापित गर्ने प्रयत्न गरे । यसैगरी सन् १९२४ मा फ्रान्सेली वैज्ञानिक लुइस डे ब्रोग्लीले ऊर्जा र पदार्थको बनोट एवं व्यवहार मौलिक रूपमा फरक नभएको तथ्य प्रस्तुत गरे । उनले पारमाणविक र उपपारमाणविक (atomic and subatomic) तहमा जाँदा पदार्थ कण वा तरङ्गबाट निर्मित भएको चरित्र देखिने पष्टि गरे । स्मरण रहोस उपपारमाणविक कण भन्नाले इलेक्ट्रोन, प्रोटोन, न्यूट्रोनलगायतका परमाणुभित्रका अतिसूक्ष्म कणहरू बुझिन्छ। पारमाणविक र उपपारमाणविक तहमा अवस्थाअनुसार पदार्थ कहिले कण त कहिले तरङ्गका रूपमा प्रदर्शित हुने वैज्ञानिक ब्रोग्लीको कार्यबाट पुष्टि मिल्छ ।
सन् १९२७ मा जर्मन वैज्ञानिक वेर्नर हाइजेनवर्गले एउटा उपपारमाणविक कणका स्थिति र गति (position and momentum) गरी दुई पूरक मानहरूको नापो एकसाथ सटिक रूपले निर्धारण गर्न असम्भव भएको प्रस्थापना अगाडि ल्याए । यो प्रस्थापना शास्त्रीय (पुरानो स्थापित) भौतिकशास्त्रसँग मेल खाँदैन। उनले एक विशेष गणित आविष्कार गरी एक समय र एक अवस्थामा एउटै मानको मात्र सटिक नाप लिन सकिने पुष्टि गरे । यसलाई 'अनिश्चितताको सिद्धान्त' (uncertainty principle) भनिन्छ।
वैज्ञानिकहरू आइन्स्टाइन, ब्रोग्ली र हाइजेनवर्गले उपपारमाणविक तहमा गएपछि पदार्थ र ऊर्जाले समान स्वभाव र व्यवहार देखाउने तथ्यलाई नै विभिन्न कोणबाट पुष्टि गरेका छन् । अर्थात् उनीहरूका अनुसार उपपारमाणविक तहमा पदार्थ कण वा तरङ्गको अवस्थामा हुने तर दुवैलाई एकसाथ नाप्न भने सकिँदैन ।
ऊर्जाको तरङ्ग र द्वन्द्ववाद
ऊर्जाको तरङ्ग भनेको विद्युत् चुम्बकीय तरङ्ग हो । यस तरङ्गको गति विद्युतीय क्षेत्र र चुम्बकीय क्षेत्रबीचको टकरावबाट पैदा हुन्छ । क्वान्टम सिद्धान्तअनुसार विद्युत् चुम्बकीय तरङ्ग अलगअलग पोकाहरूको निरन्तर प्रवाहबाट गतिवान् भएको हुन्छ । तरङ्गको निश्चित परिमाणको पोका नै 'क्वान्टा' हो । विद्युत् चुम्बकीय तरङ्ग विद्युतीय क्षेत्र र चुम्बकीय क्षेत्रको टकराव अर्थात् उनीहरूको द्वन्द्व र एकताबाट निर्मित हुन्छ । यसको अर्थ एउटा क्वान्टाभित्र विद्युतीय क्षेत्रको एकाइ र चुम्बकीय क्षेत्रको एकाइबीच द्वन्द्व र एकता कायम हुन्छ । त्यही द्वन्द्व र एकताबाट नै तरङ्गले गति प्राप्त गर्छ । दुई विपरीत वा फरक पक्षहरूबीच द्वन्द्व र एकताबाट गति पैदा भई अगाडि बढ्नु द्वन्द्ववादको मुख्य विषयवस्तु हो ।
वैज्ञानिक म्याक्स प्लाङ्कले तापमान वृद्धि भएअनुसार ऊर्जाको विकिरणको रङ्ग क्रमशः रातोबाट सुन्तला र सुन्तलाबाट निलोमा बदलिने यथार्थको कारण पत्ता लगाएका छन् । उनले पुष्टि गरेअनुसार त्यसो हुनुको मुख्य कारण तापमान वृद्धिको निश्चित मात्रा पुगेपछि नै ऊर्जाको विकिरणले वर्णपटमा निश्चित क्षेत्र ओगट्न पुग्छ । एउटा निश्चित क्षेत्र नाघेर अर्को निश्चित क्षेत्र ओगट्न पुग्दा विकिरणले फड्को मारेको हुन्छ । विकिरण को रङ्ग परिवर्तन नै फड्को हो । अर्को कुरा विकिरणले अघिल्लो रङ्गलाई निषेध गरेपछि नै नयाँ रङ्ग प्राप्त गरेको हुन्छ। ऊर्जा विकिरण थरिथरिका छन् । हामीले दृश्यमा देख्न सकिने प्रकाश एक खालको ऊर्जा भयो । हामीले सेतो रङ्गमा देख्ने प्रकाशलाई प्रिज्मबाट छिराउने हो भने सात रङ्गका प्रकाशका किरणहरू हामी देख्छौँ । ती सबै फरकफरक ऊर्जा तरङ्गहरू हुन् । हाम्रो आँखाले नदेख्ने परावैजनी, परालाल, एक्स किरण, गामा किरणलगायत थुप्रै विकिरणहरू छन् । रेडियो तरङ्ग पनि ऊर्जा तरङ्ग नै हो । यी सबै खाले ऊर्जा तरङ्गहरू पनि क्वान्टाहरूको निरन्तर नैं हुन् र ती क्वान्टाहरू विद्युतीय तथा चुम्बकीय क्षेत्रका फरक पक्षहरूको द्वन्द्व र एकताको प्रक्रियाबाट नै गतिशील रहेका हुन्छन् ।
पूर्वीय सभ्यतामा वेद, बौद्ध आदि र पश्चिमा सभ्यतामा यहुदी, इसाई आदिजस्ता धार्मिक दर्शनहरूले सृष्टिबारे ठोस विचार दिए । तर पुराना ती दर्शनहरू भौतिक यथार्थका आधारमा गरिने तथ्य र तर्कको साथमा नभई कपोलकल्पित र अन्धविश्वासमा आधारित थिए ।
बिगब्याङमा क्वान्टम सिद्धान्त
मानव उद्विकासको क्रममा जब मानिसको मस्तिष्कमा प्रश्न र तर्क गर्ने क्षमताको विकास हुन्छ, तबदेखि मानिस पृथ्वी, सूर्य, चन्द्र, नक्षत्र र समग्रमा विश्व ब्रह्माण्ड कहाँबाट आयो वा कसरी सिर्जना भयो भनेर घोत्लिन थालेको देखिन्छ । यही क्रममा हजारौँ वर्षपहिले नै मानव सभ्यतामा सृष्टिबारे थरिथरिका कथा तथा दर्शनहरू सिर्जना भए। सुरुसुरुमा कपोलकल्पित कथाहरू सिर्जना हुँदै पछि स्तरीय दर्शनहरू सिर्जना भएका देखिन्छन् । पूर्वीय सभ्यतामा वेद, बौद्ध आदि र पश्चिमा सभ्यतामा यहुदी, इसाई आदिजस्ता धार्मिक दर्शनहरूले सृष्टिबारे ठोस विचार दिए । तर पुराना ती दर्शनहरू भौतिक यथार्थका आधारमा गरिने तथ्य र तर्कको साथमा नभई कपोलकल्पित र अन्धविश्वासमा आधारित थिए । इसाको दोस्रो सहस्राब्दीमा विज्ञान र गणितको विकास भएपछि नै मानव सभ्यतामा भौतिक यथार्थमा आधारित भई तथ्य र तर्कको साथमा यो विश्वब्रह्माण्डको सृष्टिबारे विचारहरू आउन थाले। यही क्रममा विश्व ब्रह्माण्डको सृष्टिबारे विकसित पछिल्लो वैज्ञानिक विचार बिगब्याङ सिद्धान्त हो । यो सिद्धान्तको एउटा मुख्य आधार विचार क्वान्टम सिद्धान्त हो ।
सन् १९२४ मा अमेरिकी खगोलशास्त्री इडविन पाभेल हब्बलले आकाशगङ्गाको सीमाभन्दा पर पनि अन्य तारापुञ्जहरू रहेको तथ्य पत्ता लगाए तब पुरानो मान्यता भत्कियो ।
सन् १९२४ भन्दा अगाडिसम्म विश्व ब्रह्माण्डको आकार केवल आकाशगङ्गासम्म नै फैलिएको थियो । अर्थात् मानिसले आकाशगङ्गाको सीमासम्म मात्र विश्व ब्रह्माण्ड फैलिएको मानिआएको थियो । तर जब सन् १९२४ मा अमेरिकी खगोलशास्त्री इडविन पाभेल हब्बलले त्यस सीमाभन्दा पर पनि अन्य तारापुञ्जहरू रहेको तथ्य पत्ता लगाए तब पुरानो मान्यता भत्कियो । उनले एक सय इन्च व्यासको रेडियो टेलिस्कोपबाट खगोलको अवलोकन गर्दा त्यसअघिसम्म खगोलीय बादल मात्र भनी मानिआएका वस्तुहरू वास्तवमा आकाशगङ्गाभन्दा धेरै टाढाका अन्य तारापुञ्जहरू भएको थाहा भयो । अब त्यसअघिसम्म आकाशगङ्गा नै सम्पूर्ण विश्व ब्रह्माण्ड हो भनी मानिआएको कुरा सत्य भएन। आकाशगङ्गा त खगोलका धेरै तारापुञ्जहरूमध्येका एक तारापुञ्ज मात्र भएको तथ्य बाहिर आयो । त्यसपछिका समयमा वैज्ञानिकहरूले खगोलमा अन्य लाखौँ करोडौँ मात्र होइन, अर्कै सङ्ख्यामा नै तारापुञ्ज अस्तित्वमा रहेको तथ्य पत्ता लगाए नयाँ नयाँ तारापुञ्ज पत्ता लगाउने काम अहिले पनि जारी छ । सन् २०२० को डिसेम्बरमा सबभन्दा टाढाको तारापुञ्ज ऊर्जा मेजर तारामण्डलको क्षेत्रमा पत्ता लगाइएको थियो । त्यस तारापुञ्जको नाम 'जीएन जेड ११' राखिएको छ । (जब GN-z11 ले आफ्नो प्रकाश उत्सर्जन गर्यो, त्यो समय ब्रह्माण्ड धेरै सानो थियो। त्यो प्रकाशले पृथ्वीसम्म आइपुग्न १३.४ अर्ब वर्ष लाग्यो। यसैले, हामीले अहिले तारापुञ्जलाई जस्तो देख्छौं, त्यो १३.४ अर्ब वर्ष पुरानो अवस्था हो। त्यो तारापुञ्ज अहिले ब्रम्हाण्डको तीब्र फैलावटसँगै पृथ्वीबाट ३२ अर्ब प्रकाशवर्ष टाढा पुगेको छ ।) यो नै अहिलेसम्म पत्ता लागेको सबभन्दा टाढा र पुरानो तारापुञ्ज भएको बताइएको छ । स्मरणीय छ प्रकाशले प्रतिसेकेन्ड ३ लाख किलोमिटरको दरमा दूरी पार गर्छ र खगोलमा १ प्रकाशवर्षको दूरी भनेको १ वर्षसम्ममा प्रकाशले पार गर्ने दूरी हो। यसको अर्थ GN-z11 तारापुञ्ज को प्रकाश पृथ्वीसम्म आइपुग्न ३२ अर्ब वर्ष समय लाग्छ ।
वैज्ञानिकहरूले अहिलेसम्म बिगब्याङको समयमा विश्व ब्रह्माण्डको अवस्था कस्तो थियो भनेर ठ्याक्कै भन्न सकेका छैनन् । यस सम्बन्धमा खास कुरा पत्ता लगाउन अहिले पनि सयौँ खगोल भौतिक वैज्ञानिकहरू लगातार अनुसन्धानमा जुटिरहेका छन् ।
वैज्ञानिक हब्बलले आकाशगङ्गाभन्दा पर अन्य तारापुञ्जहरू पत्ता लगाएको लगत्तै ती तारापुञ्जहरू हामीबाट अर्थात् पृथ्वीबाट परपर भागिरहेको तथ्य पनि पत्ता लगाए । यसबाट वैज्ञानिकहरूलाई के थाहा भयो भने यो विश्व ब्रह्माण्डको आकार झन्झन् ठूलो हुँदै गइरहेको छ । यसै तथ्यको आधारमा 'विस्तारित ब्रह्माण्ड को सिद्धान्त स्थापित हुन आयो । यही सिद्धान्तको जगमा सन् १९२७ मा बेल्जियमका खगोलविद् जर्ज लामाटरले विश्व ब्रह्माण्ड सृष्टिको सवालमा 'बिगब्याङ्ग सिद्धान्त' प्रस्तुत गरे । यस सिद्धान्त अनुसार यो सम्पूर्ण विश्व ब्रह्माण्ड सुदूर अतीतमा अति घनत्व र तातो ऊर्जाको डल्लोको रूपमा एकै ठाउँमा खाँदिएर रहेको थियो। असीमित घनत्व एवं तातोको कारण त्यो डल्लोमा महाविस्फोटन भयो र ऊर्जा चारैतिर अति तीव्र गतिमा विस्तारित हुन पुग्यो । यसैलाई बिगब्याङ भनिएको छ । वैज्ञानिकहरूले यो घटना कहिले भयो भनी विशेष गणित प्रयोग गरी गणना गर्दा यसको समय आजभन्दा १३ अर्ब ७० करोड वर्षपहिले भएको हिसाब निकालेका छन् । तर वैज्ञानिकहरूले अहिलेसम्म बिगब्याङको समयमा विश्व ब्रह्माण्डको अवस्था कस्तो थियो भनेर ठ्याक्कै भन्न सकेका छैनन् । यस सम्बन्धमा खास कुरा पत्ता लगाउन अहिले पनि सयौँ खगोल भौतिक वैज्ञानिकहरू लगातार अनुसन्धानमा जुटिरहेका छन् ।
वर्तमान अवलोकनबाट के कुरा देखिन आउँछ भने ग्यासका बादलबाट पहिलो पटक ताराहरू बिगब्याङको १५ देखि २० करोड वर्षपछि नै बन्न थालेका हुन् ।
बिगब्याङ सिद्धान्त अनुसार महाविस्फोटन लगत्तै को पहिलो क्षणमा विश्व ब्रह्माण्ड अत्यन्त घनत्वशील र तातो थियो । तर लगत्तै यो चिसिन थाल्यो र त्यस सँगसँगै ऊर्जाबाट परमाणुभित्र रहने सूक्ष्म कणहरू क्वार्क र इलेक्ट्रोनहरू बने । त्यसको लगत्तै एक सेकेण्डको दशौँ लाख खण्डको एक खण्ड बराबरको समयभित्र क्वार्कहरू मिली प्रोटोन र न्युट्रोन कणहरू बने । यही क्रममा अर्को केही मिनेटभित्र प्रोटोन र न्युट्रोन कणहरू मिली परमाणुको नाभीहरू (nuclei) बने । महाविस्फोटनको बलले निरन्तर विस्तारित हुने क्रममा जब विश्व ब्रह्माण्ड थप विस्तारित र चिसिदै गयो अब नयाँ नयाँ घटनाहरू विस्तारै घटित हुँदै जान थाले । यही क्रममा महाविस्फोटनको ३ लाख ८० हजार वर्षपछि इलेक्ट्रोनहरू नाभी वरिपरि कक्षहरू बनाई बाँधिन थाले । यसबाट पहिलो पटक परमाणुहरू बन्न थाले । ती परमाणुहरू हाइड्रोजन र हिलियम तत्त्वका थिए। वर्तमान अवलोकनबाट के कुरा देखिन आउँछ भने ग्यासका बादलबाट पहिलो पटक ताराहरू बिगब्याङको १५ देखि २० करोड वर्षपछि नै बन्न थालेका हुन् । ताराहरू बन्न थालेपछि तिनीहरूभित्रको ताप र चापका कारण नाभीकीय प्रतिक्रियाबाट पछि क्रमशः गह्रौं परमाणुहरू जस्तै कार्बन, अक्सिजन र फलाम बन्न थाले । ताराहरू बन्ने मात्र होइन तिनीहरू विस्फोटन (supernova) हुने घटना पनि हुँदै गए । ती घटनाहरुबाट कार्बन, अक्सिजन र फलामजस्ता गह्रौं तत्त्वहरू ब्रह्माण्डमा यत्रतत्र छरिन पुगे ।
बिगब्याङपछि विश्व ब्रह्माण्डको विस्तार निरन्तर भइरह्यो । त्यही क्रममा नै खगोलका तमाम वस्तुहरू तारा, ग्रह, उपग्रह, धूमकेतु, छुद्र ग्रह आदि सबै बने । बिगब्याङ भएको अहिले १३ अर्ब ७० करोड वर्ष भइसक्यो तर विश्व ब्रह्माण्ड विस्तारित हुने क्रम रोकिएको छैन ।
बिगब्याङमा ऊर्जाको महाडल्लो विस्फोट भएको हो । त्यही ऊर्जाबाट नै आजका सम्पूर्ण पदार्थको जन्म भएको हो। ऊर्जा तरङ्ग हो । क्वान्टम सिद्धान्तले त्यो तरङ्ग क्वान्टाहरूको प्रवाह भएको पुष्टि गर्छ ।
बिगब्याङमा ऊर्जाको महाडल्लो विस्फोट भएको हो । त्यही ऊर्जाबाट नै आजका सम्पूर्ण पदार्थको जन्म भएको हो। ऊर्जा तरङ्ग हो । क्वान्टम सिद्धान्तले त्यो तरङ्ग क्वान्टाहरूको प्रवाह भएको पुष्टि गर्छ । क्वान्टाहरूको प्रवाह हुँदा महाविस्फोटन पछिको समयमा जसरी तापक्रम घट्दै गयो, त्यहीअनुसार विस्तारित ब्रह्माण्डमा क्रमशः सुरुमा क्वार्क, इलेक्ट्रोन र पछि प्रोटोन र न्युट्रोन हुँदै परमाणुको नाभी एवं परमाणु नै निर्माण हुन पुग्छ। यसरी यहाँ तापक्रम घट्दै जानु पदार्थ बन्ने दौडको मात्रात्मक विकास हो भने विभिन्न सूक्ष्म कणहरू निर्माण हुँदै जानु, परमाणु बन्नु, क्रमशः हलुका र गह्रौँ परमाणु बन्दै जानु गुणात्मक विकासका छलाङहरू हुन् । एउटा फड्कोबाट अर्को फड्कोसम्म पुग्दा पछिल्लोले अघिल्लोलाई निषेध गरेको हुन्छ ।
यसरी समग्रमा क्वान्टम सिद्धान्त, क्वान्टम भौतिकशास्त्र एवं क्वान्टम यान्त्रिकीले द्वन्द्ववादलाई पुष्टि गर्छ । रह्यो प्रश्न क्वान्टम सिद्धान्तले भौतिकवादलाई पुष्टि गर्छ कि गर्दैन भन्ने कुरो । कोहीकोहीले पदार्थ ऊर्जाको तहमा गएपछि स्वयं हराउन पुग्यो र यसरी पदार्थको सार्वभौमिकता गुम्न पुगेपछि पदार्थको सार्वभौमिकतामा आधारित भौतिकवाद कसरी सही हुन्छ र ? भन्ने प्रश्न गर्छन् । यस्तो प्रश्नबाट क्वान्टम सिद्धान्तले भौतिकवादलाई पो चुनौती दिएको हो कि भन्ने भान हुन सक्छ । तर त्यस्तो होइन । त्यस्तो प्रश्न पदार्थसम्बन्धी परम्परागत धारणामा आधारित भई उठ्ने गर्छ ।
परम्परागत रूपमा बुझ्दा पिण्ड भएको वस्तु जसले ठाउँ ओगट्छ, त्यो पदार्थ हो । यसअनुसार हेर्दा पिण्ड नै नभएको ऊर्जा पदार्थको दर्जामा आएन । यो बुझाइमा सीमित हुने हो भने महाविस्फोटन हुनुपूर्वको ऊर्जाको महाडल्लो रूपी वस्तु पनि पदार्थ भएन । तर अनन्त कालदेखि विद्यमान ऊर्जा निर्मित होइन । बरु त्यसैबाट सबै पदार्थ निर्मित हो । त्यसैले ऊर्जा सम्पूर्ण पदार्थ रूपी वस्तुहरूको जननी हो । त्यो चेतनासँग निर्भर छैन । चेतनाबाट स्वतन्त्र अस्तित्वमा रहने सबै कुरा पदार्थ हो । त्यसैले ऊर्जा पनि पदार्थ हो । असली रूपमा ऊर्जा नै पदार्थ हो । किनकि यो निर्मित होइन, यो चेतनाबाट अलग छ। क्वान्टम सिद्धान्तले यसैलाई पुष्टि गर्छ। त्यसैले सम्पूर्ण रूपमा क्वान्टम सिद्धान्तले द्वन्द्वात्मक भौतिकवादलाई थप पुष्टि गर्छ ।
२०७७ माघको मधुपर्कमा प्रकाशित ।

मानव समाजलाई निश्चित आकार दिने 'प्रविधि' को ऐतिहासिक विकासक्रम

सभ्यताको गति बदलिदिने आविष्कार पाङ्ग्रा !

सबै चीजको सिद्धान्त - संक्षिप्त अध्ययन

मानिसले कहिलेदेखि खेतीपाती थाले होलान् ?

बृहस्पति– पृथ्वीका रक्षक !

एक ग्लोबको इतिहास

मानव इतिहासको पुनर्लेखन: ११०,००० वर्ष पुरानो खोजले नेन्डरथल र होमो सेपियन्सल…

प्रतिक्रिया