अमेरिका फस्ट: ट्रम्पको अन्तर्राष्ट्रिय सम्झौताबाट बहिर्गमन र सीमामा कडा कदमहरू

डोनाल्ड जे. ट्रम्पले २०२५ जनवरी २० मा आफ्नो दोस्रो कार्यकालका लागि संयुक्त राज्य अमेरिकाको ४७ औं राष्ट्रपति पदको सपथ ग्रहण गरे।
चार वर्षअघि पराजित भई ह्वाइट हाउस छोडेपछि उनी फेरि ह्वाइट हाउसमा फर्किएका हुन्। यो ट्रम्पको दोस्रो राष्ट्रपतिकाल हो, उनले यसअघि सन् २०१७ देखि २०२१ सम्म ह्वाइट हाउसमा सेवा गरेका थिए।
अत्यधिक चिसो तापक्रम र उच्च हावाहुरीका कारण समारोह वाशिङ्टन डी.सी. स्थित अमेरिकी क्यापिटलको रोटुन्डा भित्र सम्पन्न भयो। सर्वोच्च अदालतका प्रधान न्यायाधीश जोन रोबर्ट्सले राष्ट्रपति ट्रम्पलाई पदको सपथ दिलाए, भने एसोसिएट जस्टिस ब्रेट काभानाले उपराष्ट्रपति जे.डी. भ्यान्सलाई सपथ ग्रहण गराए।
आफ्नो उद्घाटन सम्बोधनमा राष्ट्रपति ट्रम्पले अमेरिका नयाँ "सुनौलो युग" तर्फ अघि बढ्ने प्रतिबद्धता जनाउँदै "र्याडिकल र भ्रष्ट प्रतिष्ठान"लाई देशको गिरावटको लागि दोष दिए। उनले आफ्नो प्राथमिक नीतिहरू प्रस्तुत गर्दै, संघीय विद्युतीय सवारी म्यान्डेट खारेज गर्ने, सिमानाको सुरक्षा बलियो बनाउने र विदेशी राष्ट्रहरूमा उच्च भन्सार लगाउने योजनाहरू उल्लेख गरे।
राष्ट्रपतिको रूपमा फर्किएका ट्रम्प आफ्नो पहिलो कार्यकालको तुलनामा अझ आत्मविश्वासी देखिए, किनकि उनले कार्यालयको पहिलो क्षणबाटै कार्यकारी आदेशहरूको श्रृंखला जारी गर्ने आफ्नो योजना घोषणा गरे।
“अमेरिकाको पूर्ण पुनर्स्थापना र साधारण विवेकको क्रान्ति सुरु गर्ने” उद्घोष गर्दै उनले नयाँ व्यवसाय-मैत्री ऊर्जा नीति र अनियमित आप्रवासनविरुद्धको कठोर कदमलाई आफ्नो पहिलो कार्यहरूको रूपमा प्रस्तुत गरे । उनले अमेरिकी सीमाहरू "विस्तार" गर्ने प्रतिज्ञा गर्दै अमेरिकाले निर्माण गरेको पानामा नहरलाई "फिर्ता लिने" चेतावनी दिए ।
यद्यपि ट्रम्पले पुनः अमेरिका एक खतराको मुखमा रहेको देशको चित्रण गरे, उनले आफ्नो २०१७ को उद्घाटन भाषण “अमेरिकी नरसंहार”को तुलनामा यसपटक सकारात्मक दृष्टिकोण देखाउन खोजे।
ट्रम्पले उद्घाटन भाषणमा पानामा नहर फिर्ता, क्यानडालाई अमेरिकाको ५१ औं राज्य बन्न आग्रह तथा ग्रीनल्याण्डको मामिलामा, उनले स्वतन्त्र डेनिश क्षेत्रलाई समाहित गर्न “सैन्य वा आर्थिक दबाब” प्रयोग गर्न अस्वीकार नगर्ने कुरा दोहोर्याए । उनले मेक्सिकोको खाडीको नाम परिवर्तन गरी “गल्फ अफ अमेरिका” राख्ने आह्वान गरे। साथै उनले आफ्नो आदिवासी नाम डेनालीले चिनिने अलास्काको पहाड नाम पुनः “माउन्ट म्याककिन्ली” राख्ने घोषणा गरे।
सपथ ग्रहण लगत्तै राष्ट्रपति ट्रम्पले मुख्य गरेर निम्न मुद्दाहरुको कार्यान्वयनका लागि कार्यकारी आदेशहरू हस्ताक्षर गरे:
लैंगिक नीति परिवर्तन:
ट्रम्पले संघीय तहमा ट्रान्सजेन्डर व्यक्तिहरूको सुरक्षालाई उल्टाउने आदेश दिए, जसमा जैविक लिङ्ग (महिला र पुरुष) को आधारमा मात्र पहिचान गर्ने नीति लागु गरियो। यस आदेशले संघीय कोषबाट ट्रान्सजिशन सेवाहरूमा रोक लगाउनेछ।
उनले भनेका थिए, “आजदेखि, यो संयुक्त राज्य सरकारको आधिकारिक नीति हुनेछ कि केवल दुई लिङ्ग छन्: पुरुष र महिला।”
विविधता, समानता र समावेश (DEI) कार्यक्रमको अन्त्य:
संघीय सरकार भित्रका DEI पहलहरू हटाउने निर्णय गर्दै, ट्रम्पले "मेरिट-आधारित" नीति फर्काउने बताएका छन्। नागरिक अधिकार समूहहरूले यसलाई समानताका प्रयासहरूमा ठूलो धक्का भएको बताएका छन्।
सीमा सुरक्षाको प्रवर्द्धन:
मेक्सिकोसँगको दक्षिणी सिमानामा आपतकाल घोषणा गर्नुलाई आफ्नो पहिलो प्राथमिकताको रुपमा अगाडि सार्दै ट्रम्पले ‘सबै अवैध प्रवेश तुरुन्तै रोक्ने र लाखौँ आपराधिक आप्रवासीहरूलाई उनीहरू आएका स्थानहरूमा फर्काउने प्रक्रिया सुरु गर्ने’ बताए । त्यसका लागि राष्ट्रपति ट्रम्पले दक्षिणी सीमामा अमेरिकी सेनाको तैनाथीको आदेश दिँदै सीमाको पर्खाल निर्माण कार्यलाई अगाडि बढाउने निर्णय गरे।
उनले २०१९ को आफ्नो ‘रिमेन इन मेक्सिको’ नीति पुनः लागू गर्ने वाचा गरे, जसले शरणार्थीहरूलाई आफ्नो आप्रवासन भेटघाट र अदालतको मिति पर्खंदा सिमानाको अर्को छेउमा बस्न बाध्य पार्ने थियो।
अन्तर्राष्ट्रिय सम्झौताबाट बहिर्गमन:
आफ्नो "अमेरिका फस्ट" नीतिलाई अघि बढाउँदै ट्रम्पले पेरिस जलवायु सम्झौता र विश्व स्वास्थ्य संगठन (WHO) बाट अमेरिका बाहिरिने आदेश दिए ।
यी निर्णयहरूले अमेरिकाभित्र तथा बाहिर व्यापक बहस सिर्जना गरेका छन्। समर्थकहरूले ट्रम्पको दृढ इच्छाशक्ति र वाचा पूरा गर्ने क्षमताको प्रशंसा गरेका छन्, भने आलोचकहरूले नागरिक अधिकार र अन्तर्राष्ट्रिय सम्बन्धमा नकारात्मक असर पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

दक्षिणपूर्वी एसियामा आर्थिक सम्बन्ध सुदृढ गर्न सी जिनपिङको कूटनीतिक यात्रा

क्युबाको चिकित्सकीय अन्तर्राष्ट्रियता

ट्रम्प युक्रेन युद्धबाट बाहिरिँदै : यस्तो छ ट्रम्पको 'प्लान बी' !

स्थापना भएको ५६ वर्षपछि पनि लडिरहेको छ फिलिपिन्सको न्यू पीपल्स आर्मी

नरसंहारको अन्तिम अध्याय

गाजामा युद्धविरामको अन्त्य

ट्रम्प २.० – चीनको दृष्टिकोण

प्रतिक्रिया