कुनैबेला पृथ्वीको जमीन एकै ढिक्का थियो !

सबैलाई थाहा भएको कुरा हो– पृथ्वी सात वटा महादेशहरुमा विभाजित छन् । पृथ्वीको जमीन सबैतिर गाँसिएका छैनन् । ठाउँ ठाउँमा पृथ्वीको जमीनलाई समुद्र वा पानीले छुट्याएको छ ।
तर परापूर्वकालमा पृथ्वीका जमीनहरु एक ढिक्का थियो । त्यसबेला अहिले सात भागमा विभाजित सबै महादेशहरू एउटै ठूला जमीनको टुक्रा (सुपरकन्टिनेन्ट) मा समाहित थिए । त्यसलाई पञ्जिया (Pangaea) भनिन्छ। करिब २५ करोड वर्षअघि पञ्जिया अस्तित्वमा थियो। करिब ३००-२५० मिलियन वर्षअघि पृथ्वीका सबै भूभाग एकीकृत भएर पञ्जिया बनेको थियो। यो एक विशाल जमीनको टुक्रा थियो, जुन पृथ्वीको अधिकांश सतहमा फैलिएको थियो।
करिब २०० मिलियन वर्षअघि, पृथ्वीको आन्तरिक भूगर्भीय गतिविधिका कारण पञ्जिया टुक्रिन थाल्यो।
यो प्रक्रिया टेक्टोनिक प्लेटहरूको गति (जुन म्यान्टलको चक्रपथीय बहावले प्रेरित छ) द्वारा सम्भव भयो।
पञ्जिया लौरासिया (उत्तरी भाग) र गोंडवाना (दक्षिणी भाग) मा विभाजित भयो।
यी भूभागहरू क्रमशः सर्दै सात महादेशहरूमा रूपान्तरण भए: एसिया, युरोप, अफ्रिका, उत्तर अमेरिका, दक्षिण अमेरिका, अष्ट्रेलिया, र अन्टार्कटिका।
पञ्जीया टुक्रने र विभिन्न महादेशहरुमा विभाजित हुने यो भूगर्भीय सिद्धान्तलाई महादेशीय बहाव (Continental Drift) भनिन्छ । यो सिद्धान्तलाई जर्मन वैज्ञानिक अल्फ्रेड वेगेनरले सन् १९१२ मा प्रस्ताव गरेका थिए।
पञ्जियाको समयमा भूकम्प !
तपाई हामीलाई जिज्ञासा हुन सक्छ– पृथ्वीको जमीन एक ढिक्का हुँदा भूकम्प जान्थ्यो कि जाँदैनथियो होला त ?
वास्तवमा पञ्जियाको समयमा पनि भूकम्प जान्थ्यो। पञ्जिया एक विशाल जमीनको टुक्रा भए पनि यो म्यान्टलको बहाव लगायतको पृथ्वीको आन्तरिक गतिशीलताबाट स्वतन्त्र थिएन। यसले भित्रभित्रै प्लेटहरूमा तनाव सिर्जना गर्थ्यो, जसका कारण भूकम्प जान्थ्यो।
त्यही प्रक्रियाको दौरानमा पञ्जियाको टुक्रिने क्रममा महादेशीय प्लेटहरूबीच चिरा (rift) पर्न थाले।यस प्रक्रियामा म्याग्मा माथि आउनु, नयाँ प्लेट सीमाहरूको निर्माण हुनु तथा प्लेटहरू सर्नुजस्ता गतिविधिले भूकम्प उत्पन्न गर्थ्यो।
त्यसबाहेक, पञ्जियाको समयकालमा ज्वालामुखी विस्फोटहरू पनि व्यापक थिए।ती विस्फोटहरूले पनि सानोतिनो भूकम्प उत्पन्न गर्ने गर्थ्यो ।
पञ्जियाको टुक्रिनु र यसको महत्त्व
कल्पना गरौं त कदाचित पञ्जिया नटुक्रिएको भए कति रमाइलो हुन्थ्यो होला । पृथ्वीको कुनै पनि भागमा जानका लागि हामीले समुद्री यात्रा नै गर्नु पर्दैनथ्यो । सडक यातायातका कुनै पनि साधनको माध्यमबाट वा हिँडेरै पनि हामी पृथ्वीको कुनै पनि भागमा जान सक्थ्यौं ।
तर पञ्जिया टुक्रनुको पनि आफ्नै विशिष्ट महत्त्व छ । पञ्जियाको विभाजनकै कारण जीवाश्म र प्रजातिको फैलावट सम्भव भयो । पञ्जिया टुक्रिएपछि पृथ्वीका विभिन्न भूभागहरू अलग हुँदै गए।यसले जीव-जंतु र वनस्पतिहरूको विकास र विविधतामा महत्त्वपूर्ण प्रभाव पार्यो।
भूगर्भीय संरचनामा आएको महत्त्वपूर्ण परिवर्तनहरु पनि त्यसको एउटा महत्त्व हो । आजको हिमालय, एन्डिज, र अन्य पहाडका श्रृंखलाहरू पञ्जिया टुक्रन् प्रक्रिया र टेक्टोनिक प्लेटहरूको टक्करले बनेका हुन्।
त्यसबाहेक, पञ्जियाको टुक्रिनुले महासागर र हावा प्रवाहले नयाँ दिशा लिन सक्यो । त्यही कारण नै पृथ्वीको जलवायुमा परिवर्तन पनि आयो ।

पृथ्वीको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्र: प्रशान्त महासागरको ‘रिङ अफ फायर’

रूसको महाभूकम्पः समुद्रको गर्भबाट उठेको चेतावनी

पृथ्वीमा ताजा पानीको भण्डार अभूतपूर्व रूपमा घट्दैछ

अव दाल भात पकाउन पनि आर्टिफिसियल इन्टेलिजेन्स (AI) !

सुप्राग्लेसियल लेक विस्फोट र विनाशको ताण्डव

पृथ्वीको गहिराइमा लुकेको महासागर: वैज्ञानिकहरूको अनौठो खोज

बेटेल्ज्युसको रहस्य: एक विस्फोटोन्मुख ताराको कथा

प्रतिक्रिया