प्रश्नै प्रश्नमा राजनीतिक स्थिरता

भर्खरै सम्पन्न क्रिकेट प्रतियोगिताको फाइनल खेलका विजयी खेलाडीलाई पुरस्कार र अवार्ड वितरण गर्दा सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र विपक्षी नेता माओवादीका प्रचण्डले एकै ठाउँमा उभिएर वितरण गरेको र प्रधानमन्त्री उपस्थित नै नभएको दृश्यबाट ‘पूरै नहुने सपना देख्ने’ प्रवृत्तिका केही मानिस निकै उत्साहित भएका थिए भने राजनीतिक स्थिरताको नारा दिएर   भरखर बनेको एमाले कांग्रेसको भागवण्डावादी सरकारबाट आर्थिक सहायताको करोडौं कुम्ल्याउन पल्केकाहरुले फेरि  देशमा अनिष्टको संकेत देखियो भनेर घरका भित्तामा टाँसिएका देवी देउतालाई धूपधुँवार गरेका थिए । नभन्दै त्यस लगत्तै परराष्ट्रमन्त्रीको भारत भ्रमण असफल भएको, ओली सरकारसँग शक्ति राष्ट्रहरु रुष्ट भएका टिप्पणीहरु संचारमाध्यममा व्यापक रुपमा छाउन थालेका छन् ।

शक्तिराष्ट्रहरु रुष्ट भए नभएको स्पष्ट सन्देश त राष्ट्रले पाइसकेको छैन तर प्रधानमन्त्री ओलीको चीन भ्रमणमा भएको बीआरआई फ्रेमवर्क सम्झौतापछि राजनीतिक स्थिरताको नारा दिएर बनेको कांग्रेस एमाले सरकारको मुख्य घटक कांग्रेस भने निकै रुष्ट भएको र शक्तिराष्ट्रहरु रिसाएको भन्ने प्रचारवाजी गरेर एमालेका ओलीमाथि व्यापक दवाव दिन थालेको भने प्रष्टै बुझिनेगरी समाचार प्रवाहित हुन थालेका छन् । कांग्रेसभित्र आफूलाई भारतपक्षीय देखाएर पार्टी नेतृत्व हत्याउन प्रयासरत संस्थापनविरोधी पक्ष सरकारको खुलेरै आलोचना गर्नमा उत्रेको छ । यहाँसम्म कि काङ्ग्रेसकै दवावमा प्रतिशोधका लागि पक्राउ गरी मुद्दा चलाइएका रास्वपाका नेता रबि लामिछानेलाई सरकारले प्रतिशोध साधेको भनेर काङ्ग्रेसकै नेताले आलोचना गर्न थालेका छन् । यस्ता आलोचना सार्वजनिक हुन थालेपछि काङ्ग्रेसभित्रको किचलोले आफूले बल्ल बल्ल हातपारेको प्रधानमन्त्रीपद गुम्ने हो कि भन्ने चिन्ता एमाले नेतृत्वमा बढेको छ । अहिले नै एमाले र काङग्रेसका नेता भन्न थालेका छन् भाडमा जाओस् राजनीतिक स्थिरता, तर पदजान भएन, नत्र माओवादीलाई कसरी सवक सिकाउने ? अहिले नै सरकारका घटकवीच मनमुटाव भए विपक्षी फेरि हावी होला भन्ने डर र लाजले मात्र दुवै एकै ठाउँ देखिइरहेका छन् । सवैभन्दा बढी छटपटी प्रधानमन्त्री र गृहमन्त्रीलाई भएको अनुभूति जोकसैले गर्नसक्छ । यसैले राजनीतिक स्थिरतामा भने फेरि पनि प्रश्नै प्रश्न खडा भएका छन् ।

  ओलीले नेपालको विकासका लागि होइन,  भारतलाई देखाइदिनकै लागि चीन भ्रमण गरेको कुरामा कुनै शंका छैन । ओलीलाई नत्थी लगाएर चीन पठाएँ भनेर मख्खपरेको कांग्रेस बीआरआइ  सम्झौता भएपछि चित खाएको पनि हो । तर जति नै रिसले मुर्मुरिए पनि  एमालेसँग अहिले नै गठबन्धन टुटाइहाल्ने पक्षमा कांग्रेस छैन । बरु प्रचण्डसँग उभिएर ओलीलाई दवाव दिने रणनीतिमा काङ्ग्रेस देखिन्छ । त्यसो त बीआरआइ सम्झौता  ओलीको चतुर्‍याइँ र साहसले होइन चीनले भारतलाई देखाइदिन चीनकै कारणले भएको भन्ने अनुमान पनि गरिएका छन् । तर जे भए पनि सो सम्झौता पछि ओली सरकारप्रति चीन, भारत र अमेरिका मात्र होइन स्वयम् सत्ता साझेदार कांग्रेसले पनि विश्वास गरेका छैनन्, सशंकित र रुष्ट छन् ।  यो अवस्था  एमालेका लागि मात्र होइन राष्ट्रका लागि पनि ठूलो हानिकारक हो ।

भारत हाम्रो छिमेकी  हो, हाम्रो अर्थतन्त्र झन्नै भारतमा निर्भर छ । लाखौं नेपाली भारतमा वसोवास गर्छन् । तिनको आस्था र भरोसा नेपालप्रति मात्र होइन, भारतप्रति पनि छ । भारत ठूलो, हामीभन्दा धेरै विकसित  र शक्तिराष्ट्र पनि हो । आर्थिक र सामाजिक क्षेत्रमा हामी गाँसिएका छौं । तर यसो हुँदा हुँदै पनि भारत हामीप्रति कति निर्मम, हेपाहा र नकारात्मक व्यवहार गर्छ भन्ने कुरा उसले पटकपटक गरेका नाकाबन्दीहरुबाट हामीले थाहापाइसकेका छौं । त्यसैले नेपाल भारतसम्बन्ध संवेदनशील विषय पनि हो । यसमा तलमाथि परेको खण्डमा  हजारौं लाखौको जिउज्यानको सवाल पनि तानिन सक्छ । त्यसैले भारतलाई जिस्क्याउनु राष्ट्रप्रतिको गैरजिम्मेवारीपन पनि हो । तर यस्तो सम्बन्ध चिसो भएको अवस्थामा पनि सार्कलगायतका सांकेतिक कुराबाट भारतलाई चिढाउनु उपयुक्त देखिदैन ।

कुनै अर्को राष्ट्रले आफ्नो निहित स्वार्थको लागि हाम्रो आन्तरिक मामिलामा चासो राख्दछ भने र त्यस्तो चासो हाम्रो हित विपरीत छ भने त्यसको सबभन्दा प्रभावकारी प्रतिकार भनेको राष्ट्र एकताबद्ध हुनु हो । हामी एक ढिक्का भएर त्यस्ता हस्तक्षेपको प्रतिकार गर्‍यौं भने त्यो प्रयास सफल हुन्छ । यसको टडकारो उदाहरण वर्तमान संविधान जारी गर्ने बेलामा हामीमाथि परेको दवाव र हाम्रो एकताले त्यो दवाव झेलेको कुरा भर्खरैको हो । तर ओली नेतृत्वको पार्टी र सरकार स्वभावैले अहंवादी भएकाले  तिनको व्यवहार फुटपरस्त, अरुलाई होच्याउने, अनावश्यक प्रतिशोधको नियत राख्ने खालको रहदै आएको छ ।

हुन त यो प्रवृत्ति एमालेमा मात्र होइन सवैजसो पार्टीका नेतामा देखिन्छ । फलस्वरुप कृया र प्रतिकृयाले गर्दा देश पछिपर्दे गैरहेछ । खराव नियतले गरेको कारण तिनले राम्रो काम गर्दा पनि त्यसको परिणाम र प्रतिक्रिया भने नराम्रो पर्न जान्छ । उदाहरणका लागि  बीआरआइ सम्झौता कै कुरा गरौं—ओली नेतृत्वको सरकारले यो काम राम्रो गरेको भए पनि जुन अवस्थामा र जुन प्रकारले यो सम्झौता भयो, जसरी देखाउने हिसावले मात्र काम भयो त्यसबाट न राष्ट्रले केही पाइहाल्ने संभावना छ, न चीन खुसी छ न भारत न अमेरिका  । कांग्रेसी प्रचारमाध्यमले गरेका यस्ता टिप्पणी सही हुन् । अपजसमात्र वढी कमाएको छ । यस्तै खोचेथाप्ने गरी गरिएको अर्को काम हो रास्वपाका रवि विरुद्धको मुद्दा । देशमा मौलाएको भ्रष्टाचारी प्रवृत्ति र आर्थिक अराजकता रोक्न सहकारीको रकम अपचलन रोक्न आवश्यक काम हो । रवि संलग्न संस्थाले सहकारीको रकम चलाएको र नतिरेको पनि देखियो नै । यस्तो अपचलन विरुद्धको कारवाही जरुरी नै थियो, तर सरकारले रकम अपचलन रोक्नमा भन्दा प्रतिशोधको राजनीतमा वढी ध्यान दिनाले गर्नुपर्ने चाहिने राम्रो काम गर्दा पनि फुटपरस्त र अपजस पाउने काम गरेको प्रष्टै अनुभव देशवासीले गरिरहेका छन् ।काम गर्ने शैली नै सकारात्मकभन्दा नकारात्मक देखिने गरेको छ । अहिले देशमा देशवासीहरु एकताको खाँचो देख्छन् तर सरकारी नेताहरुको काम एकता भाँड्ने, परस्पर विभाजन गर्ने खालको हुदै गएको छ । हामी कमजोर र गरीब हुनुको कारण पनि हामी विभाजित भएर नै हो । यो सिलसिलाको सवैभन्दा पछिल्लो प्रारम्भ प्रचण्ड र ओलीकै  आरोप प्रत्यारोपबाट एक भएको पार्टी विभाजित भएपछि भएको हो ।यसैले यसको निवारण पनि पक्ष प्रतिपक्ष दुवैथरीबाट हुन जरुरी देखिन्छ ।