वायुसेवा सञ्चालकहरुको गिद्धे व्यवहार !
भनिन्छ, सिनो खाने गिद्धहरु हरपल कुनै जनावर जनावरको मृत्युको प्रार्थना गरेर बसेको हुन्छ। त्यो उसको नियति हो । तर, जब कुनै मानिसले अर्को मानिस विपत्तिमा परेको पालक प्रतीक्षा गरेर बस्छ र त्यसको नाजायज लाभ लिन्छ भने त्यसलाई के भन्ने? यदि कसैले अर्को माथि नराम्रो दृष्टि राख्यो भने त्यसलाई गिद्धेनजर लगाएको भन्ने गरिन्छ तर व्यवहार नै गिद्धको जस्तो देखियो भने त्यसलाई गिद्धे प्रवृत्ति भन्दा फरक नपर्ला।
अहिले अप्रत्याशित प्राकृतिक प्रकोपका कारण सडक यातायात अस्तव्यस्त भएको मौका छोपेर नेपालका वायुसेवा सञ्चालकहरुले त्यस्तै गिद्धे व्यवहार प्रदर्शन गरेका छन् । उनीहरुले विपदको मौका छोपेर हवाइ भाडामा अत्यधिक बृद्धि गरेर अमानवीय व्यवहार प्रदर्शन गरेका हुन्। आपत विपतको बेलामा अप्ठ्यारोमा परेकाहरूलाई सक्दो सहयोग गर्नु मानवीय स्वभाव हो । तर, अरुबेला निकै आदर्शका कुरा गर्ने प्लेन मालिकहरूले दशैंको मुखमा आफ्नो असली अनुहार देखाएका छन्।
यो समय वर्षकै सबैभन्दा बढी मानिस आवातजावात गर्ने समय हो। हिन्दू धर्मालम्बी नेपालीहरूको सर्वाधिक प्रमुख चाड को बेला वायुसेवा व्यवसायीहरूले सहयोग गरेर महान चाडमा आफ्नो उदारता देखाउन सक्थे। यो उनीहरूलाई प्रकृतिले दिएको यस्तो अवसर थियो जुनबेला अत्यावश्यक सेवाका रूपमा हवाई सेवालाई परिभाषित गर्दै राहत स्वरूप भाडादर घटाउने र उडानहरू बढाउने काम गरेर आम नेपालीबीच हवाई क्षेत्रका व्यवसायीहरुले आफ्नो अलग पहिचान बनाउन सक्थे। कदाचित सबैलाई हवाइ भाडा घटाउनै नसक्ने अवस्था हो भने पनि प्रकोप पीडित, विरामी, बृद्धबृद्धा, महिला, बालबालिकाहरुलाई थोरबहुत भाडामा राहत दिने उदारमन देखाउन सक्थ्यो । तर, त्यो उदारता देखाउनु र छाती ठूलो गर्नु त कता हो कता, उल्टै यो कमाउने अपूर्व मौका नै हो भने जस्तो गरी ७० प्रतिशतसम्म भाडा बढाएका छन् ।
यतिखेर प्रधानमन्त्री केपी ओलीले वायुसेवा प्रदायकहरुलाई सहुलियत मूल्यमा वा पहिलेकै दरमा भाडा लिएर ‘सहयोग गर्न’ अनुरोध गरेका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले पनि भाडादर नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले ‘राजमार्गहरू बन्द रहेको अवस्थामा आवतजावतको विकल्पको रूपमा रहेको हवाई यातायात विमान सेवा कम्पनीहरूले “आफूखुसी हवाई भाडा बढाउँदा सर्वसाधारण नागरिकमा यसले ठूलो असर पारेको” समेत जनाएको छ ।
वायुसेवा प्रदायकहरुले चाहिँ उच्च मागका कारण सस्तो भाडादरको टिकट बिक्री भइसकेको र महंगो दरका टिकटहरु मात्रै बाँकी रहेकोले भाडादर महंगो भएको भन्ने तर्क दिएका छन् ।उनीहरुको भनाइमा सरकारले तोकेकै सीमाभित्र भन्दा बढी भाडादर वायुसेवाहरुले लिएका छैनन् ।
व्यापारिक तर्क जे सुकै पनि दिन सकिन्छ, मुख्य कुरा मानवीयताको प्रश्न हो । अहिले महाविपतको यो बेलामा वायुसेवा प्रदायकहरुले ‘बनियाँ तर्क’ दिएर पन्छने हो कि आफ्नो क्षेत्रबाट सक्दो राहत दिएर मानवीयता एवं सामाजिक उत्तरदायित्व पनि प्रदर्शन गर्नेतिर मुठ्ठी खोल्ने हो ? मुख्य प्रश्न यो, हो । संकटको बेलामा कसीकसाइ गरेर यात्रुबाट सक्दो भाडा असुल्ने व्यवहारलाई बनियाँ तर्कले वैधानिक ठहराउने जतिसुकै प्रयत्न गरे पनि हाम्रो बुझाइमा त्यो गिद्धे तर्क हो, जो अरुको दु:खमा आफ्नो पेट भर्ने दाउमा सदैव लागिरहेको हुन्छ ।
भेनेजुएला र ग्रीनल्यान्ड: अभावको युगमा ‘स्म्यास–एन्ड–ग्र्याब’ कूटनीति
‘डिरेल्ड’ राजनीतिलाई राजाले मात्रै ठीक गर्न सक्ने हो ?
‘ग्रीनल्याण्ड चाहिन्छ’ भन्ने ट्रम्पको अडानमा झल्किएको शक्ति–राजनीतिक अहंकार
टर्यो खड्ग ओलीको एउटा खड्गो !
एमालेका सामु तेर्सिएको जब्बर प्रश्न: सच्चिने कि सक्किने ?
निषेध, आवेग र प्रतिशोधले मुलुकलाई ‘कोल्याप्स्ड स्टेट’ बनाउने खतरा बढ्दो !
वाम एकताको बहस: कति सैद्धान्तिक ?
प्रतिक्रिया