विकास कसका लागि ?

जब म २०१७ सालतिर प्रधानमन्त्री थिएँ, त्यसबेला राजा महेन्द्रसँग बराबर बातचित हुन्थ्यो र म भन्थें म एउटा निम्नमध्यम वर्गीय आर्थिक स्तरको मानिस हुँ, मेरो धारणा छ, १५ वर्षभित्रमा नेपालको प्रत्येक परिवारलाई मेरो जत्तिको आर्थिक अवस्थामा ल्याउन सकिन्छ ।
तर आज (२०३७ सालमा) बीस वर्षपछि आएर देशको आर्थिक अवस्था झन् नाजुक भएर गएको छ । योजना आयोगका तथ्याङ्क र अर्थशास्त्रीहरू बोलिरहेका छन्- पाँचौ पञ्चवर्षीय योजनाकालमा ५ प्रतिशत राष्ट्रिय उत्पादन बढाउने लक्ष्य राखिएकोमा केवल तीन प्रतिशत मात्र उत्पादन बढ्यो र त्यसै अवधिमा जनसंख्या वृद्धिको दर भने २.३ प्रतिशत रह्यो । यसरी जनसंख्या वृद्धिदरसमेत तुलना गर्दा विकासको दर तीन प्रतिशतले घटेको देखिन्छ । तर विकासको दर केवल २.५ प्रतिशतले मात्र बढेको भए पनि अर्थशास्त्री र तथ्याङ्कशास्त्रीहरूले भन्ने थिए कि, कमसेकम दुई प्रतिशत भने पनि विकासको दर बढेको छ ।
तर विकास भनेको के हो ? के यस्तो तथ्याङ्कले देखाउने विकास विकास हो ? अथवा विकास कसको लागि हो ? विकास गाउँमा भएको छ कि आँकडामा ? एक-दुईवटा उदाहरण दिएर मेरो कुरा प्रष्ट गरुँ । अस्ति म एउटा समारोहबाट फर्किदै थिएँ । त्यो समारोहभित्रको वातावरण र बाहिर अड्याइएका ठूलाठूला
महँगा मोटर गाडीहरू देख्ने जोसुकैले पनि भन्ने थियो, नेपालमा ठूलो विकास भएछ र यहाँका मानिसहरू धेरै धनी भएछन् ।
विकास भनेको के हो ? के यस्तो तथ्याङ्कले देखाउने विकास विकास हो ? अथवा विकास कसको लागि हो ? विकास गाउँमा भएको छ कि आँकडामा ?
त्यसै दिन म पहाडतिरबाट यहाँ (काठमाडौं) आएर डेरा गरी बस्ने केही विद्यार्थीहरूको कोठामा गएँ। उनीहरू चार पाँचजना एउटै कोठामा बसेका थिए, जसमा सुकुल बिछ्याइएको थियो र त्यसलाई मैलो तन्नाले ढाकेको र तकिया पनि त्यस्तै मैलो थियो । उनीहरू त्यस्तैमा सुत्दा रहेछन्। बगलमा एउटा फोहोर होटेल थियो, जहाँ उनीहरू खान्थे । होटेलको अवस्था हेर्दा थाहा हुन्थ्यो, सफा र स्वस्थकर भोजन दिइँदैन ।
त्यस दिनका ती दुई अनुभवले मलाई के लाग्यो भने, यहाँ दुइटा नेपाल रहेछ । एउटा महँगा मोटरगाडी चढ्ने नेपाल र अर्को गाउँको गरीब नेपाल ।
विकास भनेको केही ठूला घरहरू, होटेलहरू, ठूला सडक, मोटरगाडी, हवाइजहाज र अझ केही औद्योगिक उत्पादन वृद्धिका तथ्याङ्कहरू पनि होइनन् भन्ने मलाई लाग्छ ।
यी दुइटा दृश्यबाट म नेपालको विकासको बारेमा सोच्नेहरूलाई भन्न चाहन्छु, नेपालमा केही सडक बने, बिजुलीको उत्पादन भयो र हवाई यातायातको समेत विकास भयो तर नेपालमा एभ्रो या जेट हवाइजहाज चढ्ने कति छन् ? बिजुलीको सुविधा कतिले उपभोग गर्न सक्छन् ? अझ सडककै उपभोग कतिले गर्न सक्छन् ? काठमाडौँबाट विराटनगर जाने बाटोमा प्रति दिन तीन/चारवटा बस यताबाट र तीन/चारवटा बस उताबाट आउँछन् । त्यसमा जम्मा तीन / चार सय मानिस आवतजावत गर्लान् । तर काठमाडौंबाट विराटनगर या त्यहाँबाट काठमाडौँ ल्याउने/लाने अरू सामान केही छ, जसको ढुवानीबाट त्यो सडकको उपयोग अरू ज्यादा गर्न सकियोस् ?
विकास भनेको के हो भन्ने प्रश्नका साथै विकास कसको लागि हो भन्ने प्रश्न समेत सोधेर मात्र हामीले त्यसको परिभाषा गर्न सकिन्छ ।
त्यसकारण विकास भनेको केही ठूला घरहरू, होटेलहरू, ठूला सडक, मोटरगाडी, हवाइजहाज र अझ केही औद्योगिक उत्पादन वृद्धिका तथ्याङ्कहरू पनि होइनन् भन्ने मलाई लाग्छ । विकास भनेको के हो भन्ने प्रश्नका साथै विकास कसको लागि हो भन्ने प्रश्न समेत सोधेर मात्र हामीले त्यसको परिभाषा गर्न सकिन्छ ।
के नेपाल भनेको यहाँका चार-पाँचवटा सहर हो ? कि नेपाल भनेको गाउँ हो ? हामीले विकासको कुरा गर्दा विकासले त्यो ग्रामीण परिवारलाई के गर्यो भन्ने प्रश्नको जवाफ दिन सक्नुपर्छ। यदि ठूलो सडक बन्छ भने सडक त मोटरगाडी जोसित छ, उसैले उपयोग गर्छ। जेट प्लेन गाउँलेले चढ्दैनन् । बिजुली प्रयोग गर्दैनन् । त्यसकारण मैले प्रधानमन्त्री छँदा योजना आयोगको मिटिङलाई भनेको थिएँ, “तपाईंहरू भित्तामा राजाको तस्वीर राख्नोस् र साथै नेपालको एउटा गरीब गाउँले किसान आफ्नो झुपडी अगाडि उभिरहेको अनुहार हेरेर योजना बनाउनोस् र सोध्नोस्- “यस योजनाले त्यो झुपडीमा बस्ने किसानलाई के लाभ दिन सक्छ ?” म आज पनि यही प्रश्न सोध्दैछु ।
हामीले विकासका कुरा गर्दा अमेरिकाको नमुना देखाएर उदाहरण दिने गरेका छौं, जो एकदम गलत हो। यो गल्तीबाट कम्युनिष्ट देशहरू समेत मुक्त छैनन् । रुसले पनि आफ्नो औद्योगिक विकासको तथ्याङ्क या रेखाचित्र देखायो भने अमेरिकासित तुलना गरेर मात्र देखाउँछ । रुसको लागि पनि विकासको नमुना अमेरिका नै हो अमेरिकाले यही शताब्दीको शुरुदेखि विकासको जुन नमुना देखाइदिएको छ, त्यही आज संसारको सामु छ र सबै त्यसैको अनुसरण गर्दैछन् ।
भारत र चीनको जनसंख्याले पनि अमेरिकी जनसंख्याकै अनुपातमा, संसारका स्रोत साधनहरू उपभोग गर्न थाल्ने हो भने, संसारको शत-प्रतिशतभन्दा पनि बढी स्रोत साधनहरू तीनवटा मुलुकले मात्र खाइसक्छन् । अरूले के गर्ने ? अरूलाई प्राकृतिक स्रोत साधन खोई ?
अब अमेरिकामा के छ भनेर कुरा गरौं भने सबैलाई थाहा छ, अमेरिकामा संसारको ६ प्रतिशत जनता बस्दछन् र अमेरिकाले आफ्नो औद्योगिक विकासको संरक्षणका लागि स्वदेशी तथा विदेशी स्रोतहरू जम्मा गरी संसारको ३० प्रतिशत प्राकृतिक साधनहरू उपभोग गर्छ । अर्थात्, ६ प्रतिशत जनताले संसारको पूरा स्रोतको ३० प्रतिशत खाइदिन्छ । यदि भारत र चीनको जनसंख्याले पनि अमेरिकी जनसंख्याकै अनुपातमा, संसारका स्रोत साधनहरू उपभोग गर्न थाल्ने हो भने, संसारको शत-प्रतिशतभन्दा पनि बढी स्रोत साधनहरू तीनवटा मुलुकले मात्र खाइसक्छन् । अरूले के गर्ने ? अरूलाई प्राकृतिक स्रोत साधन खोई ?
हामीहरू हेनरी फोर्ड (अमेरिकी राष्ट्रपति) ले दिएकै नमुनालाई आफ्नो लक्ष्यका रूपमा अगाडि राखेर विकासका कुरा गर्नु खतरनाक कुरा हो । ठीक छ, विकासको वृद्धिदर घट्यो भने त्यसमा काफी असन्तुष्ट हुने ठाउँ छ । तर त्योभन्दा पनि असन्तुष्ट हुनुपर्ने कुरा विकासको क्रमले ग्रामीण जनतालाई पछाडि छोडिदिएको छ । आज हाम्रो देशमा औद्योगीकरण प्रक्रिया केन्द्रमुखी छ, जसले ग्रामीण जनताको बेवास्ता गरेर सहरको मात्र विकास गर्छ । पढाइ लेखाइका लागि सहरै जानु पर्यो, ओखतिमूलोका लागि सहर, किनमेलका लागि सहर, मनोरञ्जनका लागि पनि सहर सारांशमा सम्पूर्ण कुराहरू सहरमा मात्र छन् ।
हामीले अहिलेसम्म यस्तै सहरको विकास गर्ने नमुनाहरूलाई लिएर योजनाहरू बनाएका छौं, जसमा विदेशी सहायताद्वारा निर्मित सडकहरूमा विदेशी मोटरगाडीहरू विदेशी कलपूर्जा र तेलले चल्छन् । केवल उपभोक्ता मात्र स्वदेशी छन्। ती पनि मुट्ठीभर ।
आज हाम्रो देशमा औद्योगीकरण प्रक्रिया केन्द्रमुखी छ, जसले ग्रामीण जनताको बेवास्ता गरेर सहरको मात्र विकास गर्छ । पढाइ लेखाइका लागि सहरै जानु पर्यो, ओखतिमूलोका लागि सहर, किनमेलका लागि सहर, मनोरञ्जनका लागि पनि सहर सारांशमा सम्पूर्ण कुराहरू सहरमा मात्र छन् ।
त्यसकारण हामीले सोध्नु परेको छ- हाम्रो ग्रामीण किसानलाई त्यसले के गर्यो ? हामीलाई त आज गाउँलेले चलाउन सक्ने प्रविधि चाहिएको छ। अर्थात् हाम्रा किसानलाई कस्तो हलो चाहियो ? कस्तो बैलगाडा चाहियो ? उसको कृषि उत्पादन कसरी बढाउन सकिन्छ र त्यसलाई कसरी बेच्न सकिन्छ ? नेपाल जस्तो कृषिप्रधान देशमा योभन्दा बढी सार्थक कुरा के हुन सक्छ ?
अब म तपाईंहरूलाई नेपालको वर्तमान आर्थिक अवस्था र राजनीतिक भविष्यबारे दुईतीन कुरा भन्न चाहन्छु ।
पञ्चायती कालको आर्थिक विकास
२०१७ सालमा संसदीय व्यवस्था भङ्ग गरेर पञ्चायती व्यवस्था लागू गरियो र आर्थिक विकासका लागि त्यसो गरिएको हो भन्ने नारा दिइयो । आर्थिक विकास भनेको प्राकृतिक जड स्रोतहरूको परिचालन गर्ने प्रक्रिया हो, जसद्वारा उपभोग्य वस्तुहरूको उत्पादन गरिन्छ । राजनीतिक विकास भनेको मानिसलाई परिचालन गर्ने प्रक्रिया हो । मानिसलाई विकासको निमित्त उत्प्रेरित गर्ने राजनीतिक संस्थाहरू हुन्छन्, जसमार्फत् उनीहरू विकास कार्यमा संलग्न हुन्छन् । २०१७ सालयता, गत बीस वर्षमा मानिसलाई पनि जड प्राकृतिक स्रोतहरूलाई जस्तै गरी विकासका लागि परिचालित गर्न सकिन्छ भन्ने भ्रमात्मक धारणा लिएर विकास गर्न खोजियो । फलस्वरूप आज देश यो दुर्दशामा पुग्यो । वास्तवमा जड शक्ति स्रोतहरूलाई भन्दा जनशक्तिलाई परिचालन गर्नु झन् गाह्रो छ । जनताको निहित स्वार्थ भएको राजनीतिक संस्थाहरू नभइकन जनता विकास कार्यका लागि उत्प्रेरित हुँदैनन् ।
२०१७ सालयता, गत बीस वर्षमा मानिसलाई पनि जड प्राकृतिक स्रोतहरूलाई जस्तै गरी विकासका लागि परिचालित गर्न सकिन्छ भन्ने भ्रमात्मक धारणा लिएर विकास गर्न खोजियो । फलस्वरूप आज देश यो दुर्दशामा पुग्यो ।
मानवीय शक्तिको परिचालन
अमेरिकामा साधन, स्रोत र पूँजीलाई राष्ट्रको विकास कार्यमा कसरी कति प्रयोग गर्ने भन्ने मात्र प्रश्न छ । अर्थात् त्यहाँको समस्या बजेटको विनियोजनसित सम्बन्धित छ । स्वास्थ्य, शिक्षा, यातायात, प्रतिरक्षा, उद्योग, कृषि या अन्य क्षेत्रहरूमा कति रकम कसरी छुट्टयाउने भन्ने प्रश्न हो । तर हाम्रो देशमा यी सब क्षेत्रमा विकास गर्नका लागि साधन, स्रोत र पूँजी कहाँबाट जुटाउने भन्ने समस्या छ। र अरू स्रोत केही नभएको ठाउँमा केवल मानवीय शक्ति मात्र परिचालन गरेर विकास गर्ने कुरा आउँछ। त्यही मानवीय शक्तिलाई पनि जड शक्ति समाज ठानेर विकासका लागि परिचालन गर्न खोजियो भने त्यसको परिणाम आज नेपालको जुन दुर्दशा छ, त्यही हुन्छ ।
आर्थिक विकास र राजनीतिक विकासको सम्बन्ध
आर्थिक विकास र राजनीतिक विकासको के कस्तो सम्बन्ध छ भन्ने कुरा अर्को प्रमुख पक्ष हो । कुनै पनि ठाउँमा विशेष गरी नेपाल जस्तो ठाउँमा आर्थिक विकासको लागि परिचालित हुन सक्ने शक्ति मानवीय शक्ति नै हो भनेर मैले भनिहाले ।
विकास जसलाई चाहिएको छ, उसैले विकासका प्राथमिकताहरू निर्धारण गर्छ, कसैको सक्रिय नेतृत्त्वले होइन । यसरी राष्ट्रिय महत्त्वका प्रश्नहरूको चुनावद्वारा निर्णय गर्ने अधिकार जनताको हो ।
त्यसलाई कुनै एकजनाको सक्रिय नेतृत्त्वमा परिचालन गर्न सकिन्छ भन्ने पञ्चायती व्यवस्थाका दार्शनिकहरूको सोचाइ छ । उनीहरूको दलील के छ भने, आखिर विकास प्रक्रियाको सञ्चालन गर्न एक न एक नेतृत्त्व चाहिन्छ र त्यो राजाको सक्रिय नेतृत्त्व बाहेक केही हुन सक्दैन । हाम्रो प्रश्न छः यदि यही मात्र एउटा उपाय हो भने, राजा भएको ठाउँमा त राजाको नेतृत्त्वमा विकास गर्ने, तर राजा नभएको ठाउँमा विकासका लागि जनशक्ति परिचालन गर्ने नेतृत्त्व कसले गर्छ ?
सारांशमा हाम्रो भनाइ के हो भने विकास जसलाई चाहिएको छ, उसैले विकासका प्राथमिकताहरू निर्धारण गर्छ, कसैको सक्रिय नेतृत्त्वले होइन । यसरी राष्ट्रिय महत्त्वका प्रश्नहरूको चुनावद्वारा निर्णय गर्ने अधिकार जनताको हो । त्यसकारण जनतालाई विकास कार्यका लागि उत्प्रेरित हुने राजनीतिक संस्थाहरूमध्ये एक, मौलिक अधिकारहरूको प्रत्याभूति हो । मौलिक अधिकार भन्नाले बोल्ने, विचार गर्ने, आफ्नो विचार फैलाउने, सङ्गठन गर्ने र समानताको आधारमा न्याय पाउने अधिकारहरू पर्छन् । समानताको आधारमा न्याय दिनका लागि अदालतले सरकारमाथि पनि न्याय गर्ने क्षमता राख्नुपर्छ । चाकरीद्वारा निर्मित अदालतले त्यस्तो क्षमता राख्दैन ।
दोस्रो, राष्ट्रको सञ्चालन या प्रशासन जनताद्वारा छानिएका प्रतिनिधिहरूले गर्ने व्यवस्था हो । छान्ने या छानिने भन्ने बित्तिकै दुई (या त्योभन्दा बढी) विचार धाराहरूमा एउटालाई छान्ने भन्ने कुरा आउँछ । त्यसकारण चुनाव भनेको आफ्नो विचार जनसमक्ष राखेर त्यसै विचार या सिद्धान्तका लागि मत प्राप्त जनप्रतिनिधिद्वारा शासन व्यवस्था चलाउने हो भने चुनावमा कुनै किसिमको छेकवार राख्नु बेठीक हुन्छ ।
म पञ्चायतको घोर विरोधी भएकोले त्यस वापत अरूले जस्तै मैले पनि गत बीस वर्षमा अनेक दुःख कष्ट झेल्नु पयो । जे भए पनि म कुनै कुरालाई व्यक्तिगत आधारमा लिन्नँ । तर मलाई के लाग्छ भने जन अधिकारको अपहरणले राजनीतिमा दमनको रूप लिन्छ । र त्यसले आर्थिक क्षेत्रमा शोषणको रूप लिन्छ । राजनीतिमा दमन र आर्थिक क्षेत्रमा शोषण- म यी दुवै कुराको विरुद्ध हुँ ।
साभार: विकास, वर्ष ७ अङ्क ११, साउन २०५५ मा नेपाल पुकारको सौजन्यमा प्रकाशित

फिडेल क्यास्ट्रो: क्रान्तिको विजारोपणदेखि साम्राज्यवादविरुद्धको विजयसम्म

भेनेजुएलाका राष्ट्रपतिको टाउकोमा इनाम: अमेरिकाको ठाडो गुण्डागर्दी !

महाश्वेता देवी: कलमबाट विद्रोह ओकल्ने एक अथक योद्धाको कथा

नेपाली वामपन्थमा दलाल पुँजीवादको बहस

सोभियत सत्ताको अवसानको पृष्ठभूमिमा रोजा लक्जेमवर्गका विचारको सान्दर्भिकता र मह…

कुंग इ – चि

क्रान्तिकारी आन्दोलनमाथिको भयानक दमन र क्षति: के भविष्य सकिएको हो ?

प्रतिक्रिया