'राष्ट्रका लागि दुई घण्टा योगदान'
दार्चुलाका एक युवा कर्मभूमि आँखा स्वास्थ्य कार्यकर्ता अनिल साउदले सप्तरी, रूपनगरका जनताको निशुल्क स्वास्थ्य परीक्षण गरेर नयाँ वर्ष २०८१ को सुखद आरम्भ गरेका छन् ।
तिलगंगा आँखा प्रतिष्ठानद्वारा सञ्चालित 'तिलगंगा कञ्चनरूप सर्जिकल आँखा केन्द्र', रूपनगरका आँखा स्वास्थ्य कार्यकर्ता अनिलले 'राष्ट्रका लागि दुई घण्टा योगदान' भन्ने मूल भावका साथ रूपनगर चोकमा रक्तचाप, मधुमेह जाँच, दृष्टि परीक्षण, बिएमआइ, लगायत स्वास्थ्य अवस्थाबारे निशुल्क परामर्श दिने अभियान शुरू गरे ।
रूपनगर क्याम्पसका प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले नागरिकको सेवा आफैँबाट शुरू गरौँ भन्ने 'राष्ट्रका लागि दुई घण्टा योगदान' कार्यक्रमको उद्घाटन गरे । यो पवित्र सेवाका लागि प्राध्यापक गजुरेलले तीन हजार रूपिञा सहयोग हस्तान्तरण गर्दै भोलिका दिनमा पनि सकेको मद्दत गर्ने प्रतिवद्धता व्यक्त गरे ।
मधेस प्रदेशका गृह मन्त्री राजकुमार लेखी तथा कञ्चनरूप नगरपालिकाका पहिलो नगर प्रमुख बसन्त मिश्रले पनि स्वास्थ्य परीक्षण गराए ।
'हरेक शनिबार बिहान ६ बजे देखि ८ बजे सम्म, दुई घण्टा, रूपनगर चोकको प्रतिक्षालयमा बसेर रक्तचाप, सुगर जाँच, दृष्टि परीक्षण र स्वास्थ्य अवस्था बारे परामर्श सेवा दिने' बताउने अनिल साउदलाई यस्ता महत्वपूर्ण स्वास्थ्य परीक्षण सेवाबाट सर्वसाधारणलाई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी पाउन र सम्भावित जोखिमबाट बच्न मद्दत पुग्ने विश्वास छ ।
आफू बसेको ठाउँका आमा-बुबाको सेवा गर्न पाउँदा आनन्द लागेको बताउने यी कर्मठ युवा छुट्टीको दिन, हरेक शनिबार, बिहान दुई घण्टा स्वास्थ्य सेवा दिने र यसबाट आम जनतामा स्वास्थ्यबारे चेतना फैलिने विश्वास व्यक्त गर्छन् ।
रामेछापबाट तीन महिना अघि सप्तरीको रूपनगर आएका साउदका अध्ययनका अनुसार नसर्ने रोग र त्यसको जोखिमबारे मानिसमा चेतना पनि कम छ ।
रक्तचाप आदि जाँच्न खर्च नलागे पनि मधुमेह परीक्षणमा लाग्ने खर्च आफ्नै तलवबाट जुटाउने सूर कसेका यी युवाको हौष्टेमा हैँसे गर्ने मनकारीहरू अघि सरेका छन् । पाँच सय जनाको मधुमेह परीक्षण गर्न बीस हजार रूपिञा जति खर्च लाग्ने अनुमान अनिलको छ । सेवाको यो अभियानबारे आफ्नो फेसबुकमा लेखे पछि उनलाई सहयोग गर्नेहरूको ओइरो लाग्यो । 'अहिलेलाई चाहिने खर्च जुटिसक्यो' भन्दै अब पैसा नपठाउनुस् भनिसके उनले फेसबुकमा ! भन्छन् 'पछि चाहियो भने फेरि जुटौँला ।'
पाँचौं ललितपुर मेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते सम्पन्न
निष्क्रिय अवलोकनबाट साझा सिकाइतर्फ: कार्यशाला र संवादले चलचित्र प्रदर्शनीमार्फत …
राजेन्द्र सुवेदी स्मृति पुरस्कार प्रदान
राजेन्द्र सुवेदी स्मृति साहित्य र कला पुरस्कारको घोषणा
सरकारले काम गर्न नसके मुलुक गम्भीर मोडमा पुग्ने गृहमन्त्रीको चेतावनी
सार्वजनिक पुस्तकालय स्थापना
विज्ञानको दर्शनबारे छलफल
प्रतिक्रिया