शहीद घोषणाको प्रहसन

सरकारले गत पुष २४ गतेको मन्त्रीपरिषद्को बैठकको निर्णयअनुसार फागुन २५ गते २ हजार ६ सय ७४ जनालाई थप शहीद घोषणा गरेको छ । सामान्यतः विभिन्न आन्दोलन, सशस्त्र सङ्घर्ष र क्रान्तिमा सहादत प्राप्त गर्नेहरूलाई शहीद घोषणा गरिएको सम्बन्धमा टिकाटिप्पणी गरिरहन जरुरत छैन । तर नेपालमा शहीद घोषणा एउटा नयाँ प्रचलननै बनेको र दशवर्षे महान् जनयुद्धका कमाण्डरको नेतृत्वमा त्यसो भएको परिप्रेक्ष्यमा यसलाई विशेषरूपले हेर्न र त्यसको समीक्षा गरिनु आवश्यक छ ।

यहाँ हामी शहीद घोषणाको प्राविधिक पक्षहरूबारे कुनै चर्चा गर्दैनौं । यससम्बन्धी हाम्राे चासोको मुख्य विषय जनयुद्धका कमाण्डर प्रचण्ड, जो देशको कार्यकारी प्रमुखको भुमिकामा समेत हुनुहुन्छ, ले दशवर्षे जनयुद्धको दौरानमा सहादत प्राप्त गरेका वीर योद्धाहरूप्रति शहीद घोषणा गरेर देखाएको ‘उच्च’ सम्मान एवं आदर हो ।

नेकपा (माओवादी) ले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रचण्डको यो पहलकदमीलाई जनयुद्धका शहीदहरू प्रति उच्च सम्मानको रूपमा लिएको देखिन्छ । के यो पहल साँच्चिकै नेकपा (माओवादी) का नेता, कार्यकर्ताहरूले दावी गरेजस्तो दशवर्षे जनयुद्धको दौरानमा सहादत प्राप्त गरेका वीर शहीदहरूको उच्च सम्मान हो ?

सतहीरूपले हेर्दा त्यस्तो देखिन्छ । जबकि त्यससम्बन्धमा वस्तुवादी भएर सोच्दा कुरा त्यसको ठीक विपरीत पाउँछौँ । शहीदको परिभाषा सापेक्ष हुन्छ, निरपेक्ष होइन । शहीदको प्रमाणपत्र राज्यले आफ्ना नागरिकहरूलाई आमरूपमा उपलब्ध गराउने नागरिकताको प्रमाणपत्र जस्तो होइन । न त यो सत्ताको शक्तिलाई उपयोग गरेर उपलब्ध गराउने प्रमाणपत्र नै हो । यो त निश्चित सिद्धान्त, विचारधारा र कार्यक्रममाथि आधारित भएर त्यसद्वारा निर्धारित निश्चित उद्देश्य एवं लक्ष प्राप्त गर्ने क्रममा जीवन सहादत गर्नेहरू शहीद हुन्छन् । हरेक वर्ग, राष्ट्र, राज्य वा राजनीतिक समूहको एउटा निश्चित सिद्धान्त, विचारधारा र कार्यक्रममाथि आधारित निश्चित उद्देश्य एवं लक्ष्य हुन्छ र तिनै उद्देश्य एवं लक्ष्य प्राप्त गर्ने दौरानमा तिनका समर्थकहरू मध्ये कतिपयले सहादत प्राप्त गर्दछन् ।

सहादत प्राप्त गर्ने दुवै पक्षका व्यक्तिहरू अन्तर्विरोधरत पक्षका साझा शहीद कदापि हुन सक्दैनन् । एउटा पक्षको शहीदहरू अर्को पक्षको निमित्त आक्रामणकारी हुन्छन् ।

व्यक्तिगत सम्पत्ति, एउटा राष्ट्र, राज्यले अर्को राष्ट्र, राज्यमाथि शोषण र दमन तथा वर्गयुक्त समाजको अहिलेको परिस्थितिमा समाजमा विद्यमान वर्गहरू, राष्ट्रहरू, राज्यहरू वा राजनीतिक समूहहरूको एउटा निश्चित सिद्धान्त विचारधारा र कार्यक्रमहरू र तीद्वारा निर्धारित उद्देश्य एवं लक्षबीच अन्तरहरू मात्र नभएर तिनीहरूबीच शत्रुतापूर्ण अन्तर्विरोधहरू पनि विद्यमान हुन्छन् । त्यस्ता अन्तर्विरोधी पक्षहरू एउटाले अर्कालाई समाप्त पार्ने उद्देश्य एवं लक्ष्य लिएर अघि बढ्ने क्रममा दुवै पक्षका कतिपय योद्धाहरूले सहादत प्राप्त गर्दछन् । यसको अर्थ त्यस क्रममा सहादत प्राप्त गर्ने दुवै पक्षका व्यक्तिहरू अन्तर्विरोधरत पक्षका साझा शहीद कदापि हुन सक्दैनन् । एउटा पक्षको शहीदहरू अर्को पक्षको निमित्त आक्रामणकारी हुन्छन् । दुवै पक्षको निमित्त यो कुरा समान रूपबाट लागु हुन्छ ।

त्यसैले, शहीदलाई निश्चित सिद्धान्त, विचारधारा र कार्यक्रम र तीद्वारा निर्धारित उद्देश्य एवं लक्षसित जोडेर परिभाषित गरिनुपर्छ, न कि त्यसभन्दा बाहिर गएर । शहीदहरूको सम्बन्धमा यो आधारभूत प्रस्थापना हो ।

निश्चयै पनि शहीदको सामाजिक घेरा सानो वा ठूलो हुन्छ । वर्ग युद्धको दौरानमा सहादत प्राप्त गर्नेहरू सम्बन्धित वर्गको शहीद हुन्छन् । जुन वर्गको विरुद्ध लड्ने क्रममा तिनीहरूले सहादत प्राप्त गरे त्यस वर्गको शहीद कदापि हुन सक्दैनन् ।

त्यसैगरेर, सैन्य शासन वा निरंकुशतन्त्र भएको मुलुकमा त्यस्तो व्यवस्थाका विरुद्ध समाजका विभिन्न वर्गहरू र राजनीतिक विचारधारा अवलम्बन गर्नेहरूले संयुक्तरूपबाट सङ्घर्ष गर्दछन् र प्रजातान्त्रिक व्यवस्थाको स्थापना गर्दछन् । त्यस दौरानमा सहादत प्राप्त गर्ने वीरहरू कुनै एउटा निश्चित वर्ग वा राजनीतिक विचारधाराको मात्र शहीद हुँदैनन् ती प्रजातन्त्र स्थापनार्थ जीवन–मरणको सङ्घर्ष गर्ने सबैका शहीद हुन्छन् । यसरी यस्तो आन्दोलनमा शहीदहरूको सामाजिक घेरा तुलनात्मक रूपमा ठूलो हुन्छ ।

दशवर्षे जनयुद्ध न त सामान्य प्रजातन्त्रको स्थापना/पुनर्स्थापनाको लागि चलेको आन्दोलन थियो, न त मुठ्ठीभर दलालहरूलाई छोडेर सम्पूर्ण देशले राष्ट्रिय मुक्तिको लागि वा आक्रामणकारीहरूलाई पछि धकेल्न चलाएको युद्ध नै थियो ।

शहीदहरूको सामाजिक घेरा सबैभन्दा विशाल चाहिँ औपनिवेशिक तथा आक्रमणमा परेका मुलुकहरूका मुक्ति आन्दोलनहरूमा हुन्छ । त्यस्ता मुलुकहरूमा मुठ्ठीभर विदेशीका दलालहरूलाई छोडेर सबै वर्गहरू, राजनीतिक विचारद्वारा निर्देशित सङ्गठनहरू, वुद्धिजीविहरू र आम जनसमुदाय आफ्नो देशलाई मुक्त गर्न उपनिवेशवादी शक्ति/आक्रमणकारी शक्ति (हरू) का विरुद्ध एकजुट भएर लड्छन् । त्यस दौरानमा सहादत प्राप्त गर्ने वीरहरू,  मुठ्ठीभर दलालहरूलाई छोडेर, पूरै देशको शहीद हुन्छन् र हमेशा देश र जनताका मन–मुटुमा बास गर्दछन् ।

दशवर्षे जनयुद्ध न त सामान्य प्रजातन्त्रको स्थापना/पुनर्स्थापनाको लागि चलेको आन्दोलन थियो, न त मुठ्ठीभर दलालहरूलाई छोडेर सम्पूर्ण देशले राष्ट्रिय मुक्तिको लागि वा आक्रामणकारीहरूलाई पछि धकेल्न चलाएको युद्ध नै थियो । त्यो युद्ध मार्क्सवाद–लेनिनवाद–माओवाद/ विचारधाराद्वारा निर्देशित भएर अजेय मार्क्सवादी सैन्य सिद्धान्तका आधारमा सामन्तवादी र साम्राज्यवादी सत्तालाई ध्वस्त गरी नयाँ जनवादी सत्ता स्थापना गर्ने र त्यसको लगत्तै समाजवादतर्फ अघि बढ्ने योजना अन्तर्गत लडिएको थियो । र, त्यही उद्देश्य एवं लक्ष्य प्राप्तिको दौरानमा हजारौँहजार वीर योद्धाहरूले सहादत प्राप्त गरेका थिए । जस्तो कि जनयुद्धको उद्देश्य एवं लक्षको सम्बन्धमा पार्टीले आफ्नो स्थितिलाई प्रष्ट गर्दै भनेको थियोः

क. हाम्रो योजना क्रान्तिकारी हिंसासम्बन्धी मार्क्सवाद–लेनिनवाद–माओवादको शिक्षामा आधारित हुनेछ । हाम्रो देशको विशिष्टतानुसार गाउँबाट शहर घेर्ने रणनीतिमा आधारित दीर्घकालीन जनयुद्धको रूपमा अघिबढ्ने यस प्रक्रियाको पहलकदमीको योजना निर्माणका सन्दर्भमा पार्टी एकपटक पुनः माओद्वारा विकसित गरिएको सर्वहारा वर्गको सार्वभौम र अजेय मार्क्सवादी सैन्य सिद्धान्तका रूपमा जनयुद्धको सिद्धान्तप्रति अविचल रहने प्रतिज्ञा गर्दछ ।

ख. जनयुद्धको थालनीको हाम्रो यो योजना ‘राज्यसत्ताबाहेक अरू सबै भ्रम हो’ भन्ने मान्यतामा आधारित हुनेछ । जनताका निमित्त राजनीतिक सत्ता कब्जा गर्नु नै सशस्त्र सङ्घर्षको प्रमुख उद्देश्य हो भन्ने कुरामा दृढ रही यस प्रश्नमा देखापर्ने अर्थवाद, सुधारवाद, अराजकतावादलगायतका सबै प्रकारका विचलनवादी चिन्तन र प्रवृत्तिका विरुद्ध निरन्तर सङ्घर्ष गर्न पार्टीले आफ्नो प्रतिबद्धता जाहेर गर्दछ ।

ग.  हाम्रो योजना सामन्तवाद र साम्राज्यवादलाई ध्वस्त गरी नयाँ जनवादी क्रान्ति पूरा गर्ने, त्यसको लगत्तै समाजवादी क्रान्तिमा अघिबढ्ने तथा सर्वहारा वर्गको अधिनायकतन्त्रअन्तर्गत क्रान्ति जारीराख्ने सिद्धान्तका आधारमा साँस्कृतिक क्रान्तिहरू चलाउँदै मानवजातीकै स्वर्णिम भविष्य साम्यवादको स्थापनासम्म जाने उद्देश्यमा आधारित हुनेछ । एक पटक हतियार उठाएपछि त्यसलाई अन्त्यसम्म लैजाने दृढताबिना सशस्त्र सङ्घर्षको थालनी गर्नु सर्वहारा वर्ग एवं आमजनताप्रति अपराध हुने कुरामा हामी दृढ छौँ । यो सङ्घर्षलाई जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादीलाई दबाव दिई सामान्य सम्झौतामा टुङ्ग्याउने साधन बन्न कदापि दिइनेछैन । यसरी, हाम्रो सशस्त्र सङ्घर्ष सबै प्रकारका निम्न–पूँजीवादी, सङ्कीर्ण, राष्ट्रवादी, धार्मिक, साम्प्रदायिक एवं जातिवादी विभ्रमहरूबाट सम्पूर्णरूपले मुक्त रहनेछ ।

नेकपा (माओवादी केन्द्र) र त्यसको नेतृत्वले शहीदसम्बन्धी मार्क्सवादी–लेनिनवादी बुझाइलाई रद्दीको टोकरीमा हालेको छ । त्यसो गरेर त्यसले नेपालमा नयाँ जनवादी क्रान्तिको लागि दशवर्षे जनयुद्धका दौरानमा अदमित साहस प्रदर्शन गरेर जीवन बलिदान गर्ने वीर शहीदहरूलाई अपमान गर्ने जस्तो निन्दनीय कार्य गरेको छ ।

दशवर्षे जनयुद्धको दौरानमा एउटा निश्चित सिद्धान्त, विचारधारा, कार्यक्रम र तीद्वारा निर्धारित उद्देश्य एवं लक्षको प्राप्तिको निमित्त अघि बढ्ने क्रममा सहादत प्राप्त गरेका महान् शहीदहरूको सम्बन्धमा नेकपा (माओवादी केन्द्र) र त्यसको नेतृत्वले यो आधारभूत प्रस्थापनालाई अवलम्बन गरेको देखिँदैन । बरु त्यसले शहीदसम्बन्धी मार्क्सवादी–लेनिनवादी बुझाइलाई रद्दीको टोकरीमा हालेको छ । त्यसो गरेर त्यसले नेपालमा नयाँ जनवादी क्रान्तिको लागि दशवर्षे जनयुद्धका दौरानमा अदमित साहस प्रदर्शन गरेर जीवन बलिदान गर्ने वीर शहीदहरूलाई अपमान गर्ने जस्तो निन्दनीय कार्य गरेको छ । त्यो कसरी भने नेकपा (माओवादी केन्द्र) र हाल प्रधानमन्त्रीसमेत रहेका त्यसका अध्यक्ष प्रचण्ड देशको अस्थिर राजनीतिक वातावरणमा निर्मित गठबन्धनभित्र विद्यमान कमी कमजोरीहरूमा खेलेर जनयुद्धका शहीदहरूलाई वर्तमान सामन्तवादी, दलाल र नोकरशाही पूँजीवादी राज्यसत्ताको शहीदको रूपमा दर्ज गर्न प्रयत्नरत हुनुहुन्छ । योभन्दा ठूलो पाखण्ड अर्को हुन सक्दैन । दशवर्षे जनयुद्धकालका शहीदहरूले मार्क्सवाद–लेनिनवाद–माओवाद/विचारधाराको आलोचनामा अयेय मार्क्सवादी सैन्य सिद्धान्त, जनयुद्ध, लाई अवलम्बन गरेर सामन्तवादी र साम्राज्यवादी राज्य सत्तालाई ध्वस्त गरी नयाँ जनवादी राज्यसत्ता स्थापित गर्ने उद्देश्य एवं लक्षतर्फ अघि बढ्ने क्रममा सहादत प्राप्त गरेका थिए । जबकि अहिले पनि देशको राज्य सत्ताको आधारभूत चरित्रमा कुनै परिवर्तन आएको छैन, त्यो अहिले पनि सामन्तवादी र दलाल एवं नोकरशाही पूँजीवादी नै छ । जुन सत्तालाई ध्वस्त पारेर नयाँ जनवादी सत्ता स्थापना गर्ने र समाजवादतर्फ अघिबढ्ने दौरानमा ती वीरहरूले सहादत प्राप्त गरे आफू त्यसको संरक्षक भएको अवस्थामा तिनलाई त्यसै सत्ताका शहीद घोषणा गर्नु–गराउनु जनयुद्धको महान् शहीदहरूप्रतिको उच्च सम्मान होइन । यसो गरेर नेतृत्वले सामन्तवादी र दलाल एवं नोकरशाही राज्य सत्ताको स्थापना एवं मजवूतीकरणको निमित्त तिनीहरूले सहादत प्राप्त गरेका थिए भन्ने रूपमा विषयलाई प्रस्तुत गरेको छ । वास्तवमा जनयुद्धका दौरानमा सहादत प्राप्त गर्ने महान वीरहरूले नयाँ जनवादी राज्य सत्ताको स्थापनाको निमित्त सहादत प्राप्त गरेको हुनाले उहाँहरू त्यही सत्ताको मात्र शहीद हुन सक्नुहुन्छ, सामन्तवादी र दलाल एवं नोकरशाही पूँजीवादी सत्ताको होइन । जतिबेलासम्म देशमा नयाँ जनवादी वा समाजवादी सत्ता स्थापित हुँदैन, त्यतिबेलासम्म उहाँहरू पार्टीका मात्र शहीद हुनुहुन्छ । यो नै उहाँहरूप्रतिको उच्च सम्मान हुन्छ ।

जुन सत्तालाई ध्वस्त पारेर नयाँ जनवादी सत्ता स्थापना गर्ने र समाजवादतर्फ अघिबढ्ने दौरानमा ती वीरहरूले सहादत प्राप्त गरे आफू त्यसको संरक्षक भएको अवस्थामा तिनलाई त्यसै सत्ताका शहीद घोषणा गर्नु–गराउनु जनयुद्धको महान् शहीदहरूप्रतिको उच्च सम्मान होइन ।

नेकपा (माओवादी केन्द्र) का नेताहरूको यससम्बन्धमा के तर्क रहेको छ भने अरू राजनीतिक दलहरू नेकपा (माओवादी) का गणतन्त्र, संविधान सभाको निर्वाचन, समानुपातिक निर्वाचन प्रणाली र धर्म निरपेक्षताको मागहरूमा आफूलाई एकाकार गरेको र ती मागहरू पूरा भएको हुनाले दशवर्षे जनयुद्धकालका शहीदहरू नेकपा (माओवादी) का मात्र शहीदहरू होइनन् । ती सम्पूर्ण देशका अर्थात् २०६२/६३ पछि देशमा स्थापित गणतान्त्रिक व्यवस्थाका शहीद हुन् । त्यसैले, तिनलाई वर्तमान राज्यसत्ताका शहीदहरू मान्नुपर्छ । त्यही तर्कको आधारमा नेकपा (माओवादी केन्द्र) का नेताहरू वर्तमान गठबन्धन सरकार अन्तर्गत जनयुद्धकालिन शहीदहरूलाई वर्तमान राज्यसत्ताको शहीदहरू घोषणा गराउन लागेका छन् ।

शहीद घोषणासम्बन्धी यस्तो तर्क गर्दा नेकपा (माओवादी केन्द्र) का नेताहरूले आफूहरू मार्क्सवादी–लेनिनवादी कित्ताबाट बुर्जुवा कित्तामा प्रवेश गरेको वास्तविकता उदाङ्गिएको कुरालाई अलिकता पनि हेक्का राख्न सकेनन् । अहिले देशमा स्थापित  गणतन्त्र विश्व साम्राज्यवादको एउटा अभिन्न हिस्सा हो । जहाँसम्म संविधान सभाको निर्वाचन, समानुपातिक निर्वाचन प्रणाली र धर्म निरपेक्षताको प्रश्न छ तिनीहरूका चरित्र अन्ततः राज्य सत्ताले निर्धारित गर्दछ । राज्य सत्ताबाट स्वतन्त्र रहेर तिनीहरूले कुनै काम गर्न सक्दैनन् अन्ततः तिनीहरूले राज्य सत्ताको नै सेवा गर्छन् । नेकपा (माओवादी) का नेताहरूले आफूले अघिसारेको गणतन्त्र, संविधान सभाको निर्वाचन, समानुपातिक निर्वाचन प्रणाली र धर्मनिरपेक्षताको पक्षमा अन्य राजनीतिक दलहरू आएका भन्ने जुन दावी गरेका छन् त्यो सोह्रै आना गलत छ । बरु ऐतिहासिक तथ्य के हो भने क्रान्तिकारी सारतत्वयुक्त ती मागहरूलाई नेकपा (माओवादी) का नेताहरूले आन्तरिकरूपले सामन्तवाद, दलाल एवं नोकरशाही पूँजीवादलाई र वाह्यरूपले साम्राज्यवादलाई स्वीकार्य हुने गरेर बदल्दै गए र अन्ततः आफूलाई सामन्तवादी र दलाल एवं नोकरशाही राज्य सत्ताको मतियारका रूपमा रूपान्तरित गरे । अहिले तिनीहरूका लागि यही सत्ता र यहीँ प्रणाली दशवर्षे जनयुद्धको उद्देश्य एवं लक्षको प्राप्ति भएको छ । यस परिप्रेक्षमा नेकपा (माओवादी केन्द्र) का नेताहरूबाट दशवर्षे जनयुद्धको दौरानमा सहादत प्राप्त गर्ने वीरहरूलाई वर्तमान सत्ता र प्रणालीका शहीदहरूको रूपमा प्रस्तुत गरिनु कुनै आश्चर्यको कुरा होइन ।

नेकपा (माओवादी) का नेताहरूले आफूले अघिसारेको गणतन्त्र, संविधान सभाको निर्वाचन, समानुपातिक निर्वाचन प्रणाली र धर्मनिरपेक्षताको पक्षमा अन्य राजनीतिक दलहरू आएका भन्ने जुन दावी गरेका छन् त्यो सोह्रै आना गलत छ ।

अर्को एउटा कारणले पनि नेकपा (माओवादी केन्द्र) का नेताहरू यसो गर्न विवश छन् । किन भने अहिले उनीहरूलाई शहीदहरूको सहादतमाथि चढेर आफूलाई नव–बुर्जुवा वर्गमा रूपान्तरित गरेका छन् भनेर चौतर्फी आलोचना भइरहेको छ । उनीहरूले न त यो आरोपको खण्डन नै गर्न सकेका छन्, न आफूलाई सर्वहारा वर्गीय खेमामा नै सार्न सकेका छन् । यससम्बन्धमा उनीहरूले गर्न सक्ने भनेको जनयुद्धकालीन शहीदहरूको सहादतबाट वर्तमान गणतन्त्र, समानुपातिक निर्वाचन प्रणाली, संघीयता र धर्म निरपेक्षता प्राप्त भयो भन्दै तिनीहरूलाई वर्तमान् प्रतिक्रियावादी राज्य सत्ताका शहीदहरू घोषणा गर्ने नै हो ।

२०८० चैत्र

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।