हिटलर र नाजीवादको उदय कसरी हुन्छ ?
दर्शकलाई स्तब्ध र उद्वेलित तुल्याइदिने चलचित्र द वेभ !

जर्मनीका जनसमूहको एउटा ठूलो हिस्सा कसरी हिटलर र नाजीहरुको प्रचारको प्रभावमा आएको थियो भन्नेबारे सन् १९६७ मा अमेरिकामा शिक्षक रान जोन्सले आफ्नो कक्षा कोठामा एउटा प्रयोग गरेका थिए । उनको त्यो प्रयोगमा आधारित भएर एउटा चर्चित किताब लेखिएको थियो– द थर्ड वेभ । त्यसबाहेक अमेरिकी टिभीका लागि १९७० को दशकमा एउटा फिल्म पनि बनेको थियो ।
सन् २००८ मा आएर जर्मन निर्देशक डेनिश गैंसेलले त्यही किताबको आधारमा फिल्म बनाएर द वेभ [Die Welle (The Wave)] । बढ्दो आर्थिक संकटका बीच नव–नाजी समूहरुको बढ्दो उदयले चिन्तित जर्मन समाजमा यो फिल्म धेरै नै लोकप्रिय भयो । अहिले पनि त्यहाँका कयौं शिक्षण संस्थानहरुको कक्षा कोठामा यो फिल्म देखाउने गरिन्छ ।
जर्मनीको एउटा कलेजमा एउटा शिक्षकलाई तानाशाहीका बारेमा एक हप्ताका लागि प्रोजेक्टको निरीक्षण गर्ने जिम्मेवारी दिइन्छ । उनी लोकप्रिय शिक्षक हुन्छन् । त्यही भएर उनको यो प्रोजेक्टमा सामेल हुनका लागि ठूलो संख्यामा छात्रछात्राहरुले आफनो नाम लेखाउँछन् । तानाशाहीको अर्थका बारेमा प्रारम्भिक चर्चाहरुबाट थाहा लाग्छ कि कुनै पनि विद्यार्थीहरु अब नाजीवाद जस्तो विचारधारा जर्मनीमा फेरि हावी हुन सक्छ भनेर मान्न तयार हुँदैनन् ।
शिक्षक रेनर वेंगर यो कुराले त्यति आश्वस्त हुँदैनन् । त्यसलाई जाँच्नका लागि उनी एउटा प्रयोग गर्न थाल्छन् । उनी यो हेर्न चाहन्छन् कि के मानिसहरुलाई यस किसिको निरंकुश विचारहरुको समर्थक बनाउन सकिन्छ । उनी विद्यार्थीहरुलाई एउटा आन्दोलनको रुपमा संगठित गर्न थाल्छन् । उनीहरुको आफ्नै बर्दी, सलामी र प्रतीक हुन्छ । लगातार उनीहरुलाई एकै किसिमका कुराहरु बताइन्छ । उनीहरुको कमजोरी, आदत र आशंकाहरुलाई उपयोग गरिन्छ । एउटा बलियो समूहको पहिचान कायम गर्नका लागि थरि थरिका कामहरु गराइन्छ ।
वेंगर विद्यार्थीहरुलाई कुनै समाजमा तानाशाहीको उदय कुन अवस्थामा हुन्छ भनेर सोध्छन् । कोही एउटा खास विचारधारा भन्छन् भने कोही चाहिँ नियन्त्रण, निगरानीले एउटा शक्तिशालाी नेतालाई जन्माउँछ भन्छन् । कोही चाहिँ मानिसहरुमा फैलिएको असन्तोष्लाई कारण देखाउँछन् । फेरि यस प्रयोगका लागि वेंगरले आफैंलाई त्यस समूहको नेता घोषित गर्छन् र निर्देशन दिन्छन् कि अब कसैले पनि उनलाई यसअघि जस्तो रेनर भनेर बोलाउने छैन । त्यसको बदलामा उनलाई सधैं मिस्टर वेंगर भनेर सम्बोधित गर्नेछ । कसैलाई केही भन्नु छ भने उनी उभिएर मात्रै बोल्ने छन् । कक्षाको अनौपचारिक वातावरणलाई अन्त्य गरेर उनीहरुलाई लामबद्ध गरिन्छ र ‘अनुशासन र एकतामा शक्ति छ’ भनेर सिकाइन्छ ।
त्यस समूहलाई ‘द वेभ’को नाम दिइन्छ । त्यसको एउटा लोगो र सलामी तय गरन्छ । त्यो धेरै हदसम्म हिटलरका मानसपुत्रहरुको सलामी जस्तै हुन्छ । समूहको एउटा खास किसिमको भेषभूषा तय गरिन्छ । जसले त्यसलाई लगाउँदैन र सलामी दिँदैन, उलाई बहिष्कार गर्न थालिन्छ । ‘द वेभ’ कक्षाकोठाबाट बाहिर निस्केर शहरका ठाउँठाउँमा आफ्नो चिन्ह लगाउन थाल्छन् । उनीहरुलाई देशलाई बदल्ने कुरा गर्न थाल्छन् । उनीहरुले के कुरा बदल्ने हो, उनीहरु नै प्रष्ट छैनन् । फिल्मको शुरुमा एक विद्यार्थी भन्छन् कि हाम्रो पिढीको सामुन्ने हामीले के गर्नुपर्छ भन्ने कुरा नै स्पष्ट छैन । हामीले कसको विरुद्ध विद्रोह गर्ने ? हामीलाई कोही यस्तो चाहिन्छ जसले हामीलाई एक शक्तिशाली लक्ष्यका लागि एकजूट गर्न सकोस् । यस्तो लाग्छ कि ‘द वेभ’ प्राजेक्टले उनीहरुलाई यो लक्ष्य दिएको छ ।
तर वेभ समूहका सदस्यहरुमा बढ्दो उन्मार आफूसँग असहमत हुनेहरुप्रतिको घृणा र हिंस्रक व्यवहारलाई लिएर वेंंगरका कक्षाका केही छात्रछात्राहरुले असहज महसूस गरिरहेका हुन्छन् । वेंगरकी पत्नी पनि उसको स्वभावमा आइरहेका बदलावहरुले चिन्तित छिन् । उनी भन्छिन् कि तिम्रा विद्यार्थीहरु तिम्रो हरेक कुरालाई आँखा चिम्लेर पालना गरिरहेका छन् र यस कुराले तिमी आफैं पनि बदलिन थालेका छौ । तिमीलाई यी सबै कुराहरु राम्रो लागिरहेको छ । वेंगर उनीसँग रिसाउछन् र उनलाई अपमानित गरिदिन्छन् । यता वेंंगरको विरोध गर्ने एक छात्रा कारो र उसको केटा साथी मार्कोका बीच झगडा हुन्छ । कारो मार्कोलाई वेभले उसलाई पूर्ण रुपमा व्रेनवाश गरिदिएको बताउँछन् । मार्कोले उसलाई हातपात गर्छन् । आफ्नो व्यवहारले दुःखी भएर मार्को वेंगरकोमा जान्छ र उसलाई वेभ प्रोजेक्ट रोक्नका लागि भन्छन् । वेंगर पनि यसमा सहमत देखिन्छन् र भोलिपल्ट स्कुलको सभाकक्षमा वेभ सदस्यहरुको एउटा भेला डाक्छन् ।
भेलामा वेंगरले ढोकाहरु बन्द गराउँछन् र एउटा जोशिलो भाषण दिन्छन् । मार्कोले त्यसको विरोध गर्दा वेंगरले उसलाई देशद्रोहीको संज्ञा दिन्छन् र मार्कोलाई सजाय दिनको लागि उसलाई मञ्चमा ल्याउनका लागि विद्यार्थीहरुलाई आदेश दिन्छन् । यथार्थमा वेंगरले ‘द वेभ’को असर कति छ भन्ने जाँच्नको लागि अभिनय गरिरहेका हुन्छन् । फेरि वेंगर आफूले वेभलाई भंग गर्न लागेको घोषणा गर्छन् । एउटा छात्र डेनिश भन्छन् कि उसले यस आन्दोलनको राम्रो कुरालाई कायम राखिराख्नु पर्छ । वेंगर ‘द वेभ’को सोचाइलाई फाशिष्ट घोषित गरिदिन्छन् र “फासीवादको नकारात्मक तत्त्वहरुलाई टाढा राखेर राम्रो कुरालाई कायम राखिराख्नको लागि कुनै तरिका छैन, त्यसैले हामीले यसलाई खत्तन गर्नैपर्छ” भनेर भन्छन् ।
टिम नाम गरेका एक विद्यार्थी हुन्छन् । परिवार र सामाजिक उपेक्षाको शिकार उनी वेभमा आएर आफ्नो सार्थकताको महसूस गर्न थालेका थिए । उनी वेंगरको वेभलाई भंग गर्ने घोषणाले आफू ठगिएको महसूस गर्छन् । उनी ‘द वेभ’ खत्तमा भएको कुरा मान्न अस्वीकार गर्छन् । उनी पेस्तोल निकाल्छन् । त्यसको विरोध गर्दा उनी एउटा विद्यार्थीलाई गोली हानेर घायल बनाउँछन् र अन्त्यमा आफ्नो मुखमा गोली हानेर आत्महत्या गर्छन् ।
यहाँ आएर फिल्म पनि समाप्त हुन्छ ।
यसरी सोच्दै नसोचेको क्लाइमेक्सका साथ अन्त्य हुने फिल्मले दर्शकहरुलाई भित्रैदेखि हल्लाइदिन्छ र धेरै सवालहरुमा सोच्नका लागि छाडिदिन्छ ।
Lucknow Cinephiles बाट ।Title photo: https://a.ltrbxd.com

फासीवादी उत्पीडनलाई दर्शाउने चलचित्र ‘पुतलीको जिब्रो’

दर्शकहरुले हेर्नुपर्ने एउटा सार्थक चलचित्र ‘लाल सलाम’

पाब्लो पिकासोको जीवनसँग जोडिएको एउटा रोचक मिथक

इजरायली अत्याचारका विरुद्ध कलाकारहरुको प्रतिरोध नाटक

‘कति समयसम्म संसारले यो अकारण क्रूरताको दृश्य सहनेछ?’

यौन उत्पीडनविरुद्धको सफल र प्रेरक संघर्ष गाथा: नर्थ कन्ट्री !

कर्पोरेट पूँजीको चपेटामा परेका गरिब किसानको संघर्षगाथा– 'द ग्रेप्स अफ र्याथ'

प्रतिक्रिया