विपीको त्यो प्रसङ्ग र आलोचनालाई हलाहल ठान्ने वर्तमान राजनीतिक प्रवृत्ति !
कुरा २०१६ सालको सेरोफेरोको हो । नेपाली कांग्रेसका नेता विपी कोइराला प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । नेपालकै इतिहासमा भएको पहिलो संसदीय निर्वाचन मार्फत् निर्वाचित उनी पहिलो जननेता थिए । नेपाली राजनीतिमा विशिष्ट योगदान पुर्याएका तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री समेत भएको हैसियतमा उनको जयजयकार गर्नेहरुको जमात ठूलै थियो । विपी कोइरालाको देवत्वकरण गरेर उनलाई लौकिक मानिसभन्दा माथिको ‘महामानव’ मान्ने, ठान्ने र बनाउनेहरुको कुनै कमी थिएन ।
वीपी कोइरालाको जगजगी रहेको त्यो बेलामा उनको गुणगान गर्नेहरुका बीचमा केही मानिसहरु यस्ता पनि थिए, जो विपीको कट्टर आलोचना गर्थे । विपीको आलोचना गरेर अखबारहरुमा लेखरचना समाचारहरु छाप्थे । त्यस्तै मानिसहरुमध्येका एक थिए मणिराज उपाध्याय ।
एक दिनको कुरा हो, वीपी कोइरालाले मणिराज उपाध्यायलाई आफ्नो निवासमा निम्त्याए । उनलाई लिनका लागि सरकारी गाडी नै पठाए । वीपी निवासमा चाकरी गर्ने, गुणगान गर्ने, भनसुन गराइ माग्ने र दुनियाँ सामु आफूलाई विपीको साखुल्ले देखाउनकै लागि भए पनि उपस्थित हुनेहरुको संख्या ठूलै थियो । उनीहरु अधैर्यताका साथ आँगनमा विपीलाई कुरेर बसिरहेका थिए । त्यसबेला मणिराजलाई वीपीले निम्त्याएका थिए ।
सरकारी गाडीले मणिराजलाई लिएर आएपछि वीपी आफैं आएर उनलाई भित्र कोठामा लगे । भित्र कोठामा के गफ भयो, कसैलाई अत्तोपत्तो भएन । आफूलाई कट्टर आलोचना गर्ने मणिराज उपाध्यायसँग त्यसदिन वीपीले २–३ घण्टा नै कुराकानी गरे । कुराकानी सिद्धिएपछि वीपी आफैं उनलाई छोड्न बाहिर आए । अनि, सरकारी मोटरमा चढाएर ससम्मान उनलाई घर फिर्ता पठाए ।
त्यहाँ उपस्थित मानिसहरुलाई त्यो कुरा सैह्य भएन । उनीहरु वीपीसँग गुनासो गर्न थाले । कतिपयले त के पनि भन्न भ्याए भने ‘सान्दाजु, जुन मानिसले तपाईंको घनघोर विरोध गर्छ, त्यसलाई यतिविघ्न भाउ किन दिनुभएको ? के तपाईंलाई उनी हामीहरुभन्दा पनि प्यारो लाग्न थालेको हो ?’
यस्ता आलोचना र प्रश्नहरुबाट विपी कतिपनि विचलित भएनन् । उनले मधुरो तर शान्त स्वरमा उपस्थित मानिसहरुलाई भने, यहाँ आएका तपाईंहरुमध्ये धेरै जना कुनै न कुनै स्वार्थ बोकेरै मलाई भेट्न आएकाहरु हुनुहुन्छ । तर मणिराज यस्ता मानिस हुन्, जसले विना कुनै स्वार्थ मेरो आलोचना गर्ने गर्छन् । त्यसैले यतिखेर मेरालाई तपाईंहरुभन्दा पनि उनी महत्वपूर्ण व्यक्ति हुन् ।’
वीपीले आफ्नो कुरा प्रष्ट पार्दै थप अगाडि भने, उनले मेरो बारेमा जेजति विरोध गरेका छन्, आलोचना गरेका छन्, त्यो उनले मलाई नबुझेर गरेका हुन् । अहिलेको भेटमा मैले उनलाई आफ्नो पक्ष प्रष्ट पार्ने कोशिश गरेको छु । मलाई विश्वास छ, अब उनले पहिले जस्तो उग्र आलोचना गर्ने छैनन् । फेरि लोकतन्त्रमा उनी जस्ता आलोचना गर्नेहरु पनि चाहिन्छ । अन्यथा नेताहरु बिग्रन सक्छन् ।
०००
यो प्रसङ्ग कुनै बेला प्राध्यापक माणिकलाल श्रेष्ठले हामी केही पत्रकार साथीहरुलाई सुनाउनु भएको थियो ।
मैले त्यो प्रसङ्गलाई यतिखेर उल्लेख गर्नुको कारण नेताहरुमा हुनुपर्ने एउटा गुण– आलोचनालाई सुन्ने, सहने, पचाउने र आफ्ना पक्षहरु सालिनतापूर्वक राख्नु जरुरी छ भन्ने जानकारी गराउनका लागि पनि हो । नेपाली राजनीतिमा वीपी कोइराला करिब करिब वामपन्थी, गैरवामपन्थी सबैले मानेका नेता नै हुन् । अझ वामवृत्तमा त उनी कतिपयका लागि दक्षिणपन्थी नेता नै पनि हुन् । तर उदेकलाग्दो कुरा के छ भने, आजभन्दा पचासौं वर्ष पहिले वीपीले प्रदर्शन गरेको सदाशयता र उदाहरणलाई अहिले एक्काइसौं शताब्दीमा मुलुकको नेतृत्व गर्न तम्तयार भएका नेताहरुले समेत पछ्याउन र मानक बनाउन सकेका छैनन् । अहिलेका करिब करिब सबै नेताहरुका लागि आलोचना भनेको त्यस्तो हलाहल विष जस्तै भएको छ, जसलाई सुन्यो र पचायो भने मानौं उनीहरुको राजनीतिक करियरकै इहलीला समाप्त हुन्छ । आलोचनाहरुको वर्गीकरण गर्ने र आफूलाई गरिएको आलोचनाका अन्तर्यलाई केलाएर आत्मसमीक्षा गर्नुभन्दा पनि उनीहरुलाई हतारो आलोचना गर्नेलाई दुश्मनको कित्तामा राख्ने र निषेध गर्नेतिर हुन्छ । पार्टीभित्र उठ्ने आलोचनाहरुलाई उठ्न नपाउँदै घाँटी निमोठिदिने र त्यस्ता आलोचना गर्नेहरुको राजनीतिक करियरलाई साम, दाम, दण्डभेद हरेक उपाय लगाएर समाप्त पारिदिने काम हुन्छ । फलतः पार्टीहरुभित्र स्वस्थ आलोचना टिप्पणीहरु जन्मन पाउँदैन, नेताहरुको हरेक जायज नाजायज कामहरुलाई आँखा चिम्लेर समर्थन गर्ने, जयजयकार गर्ने भक्तहरुको जमात पैदा हुन थाल्छ । आलोचना–टिप्पणी गर्नेहरुलाई समाप्त पारेपछि पार्टी–संगठनभित्र उनको प्रभुसत्ता र प्राधिकारलाई चुनौती दिने कोही हुँदैन, फलतः पार्टीभित्र ऊ निर्विकल्प नेता बन्न पुग्छ । उमेरको नेटोले डाँडो काटिसक्दा पनि र आर्यघाटको ब्रम्हनालमा तेर्सिएर देह त्याग नगर्दासम्म पनि उसलाई सत्ताको डाडुपन्यु आफैंले चलाउने लोभलालसाले जन्मदिन्छ । उसलाई आफ्ना हरेक कामकारवाहीहरु २४ क्यारेटको सुन जस्तै शुद्ध र पवित्र लाग्न थाल्छ । उसका कामकारवाही र निर्णयहरुको सम्यक विवेचना गर्ने–गराउने परिपार्टीको हत्या भइसकेपछि अन्ततः त्यसले निम्त्याउने भनेको पार्टीको विघटन नै हो ।
दुःखको कुरा, यो कुरालाई अहिले नेपालको राजनीतिमा हालीमुहाली चलाएर बसेका सबै पार्टीहरुभित्र बुझाउने, सम्झाइदिने परिपाटीकै सबैभन्दा ठूलो खडेरी छ ।
इरानको उथलपुथललाई बुझाउने ६ बुँदा
आठ वर्षे अध्ययन बिदा
इरानको गहिरिँदो संकट: अर्थतन्त्र, सत्ता र आन्दोलन
मिथकबाट एल्गोरिदमसम्म: भ्रम कसरी बन्छ र किन टिक्छ ?
विज्ञान र आध्यात्मवाद
ग्रीनल्याण्ड अधिग्रहणमा संयुक्त राज्य अमेरिकाको चासो : एक रणनीतिक, राजनीतिक र …
कार्यान्वयन पर्खाइमा संविधानको धारा ३, २ र ४
प्रतिक्रिया