"यस्ता बच्चाहरूलाई पढाइ-हुर्काइ तपाईंको सपना कहिले पूरा हुने ?"
शहीद गंगालालसम्बन्धी दुई संस्मरण
बाल्यकालमा मेरो शिक्षा आर्जन जीवनको शुरूतिर ऐतिहासिक स्कूल 'महावीर इन्ष्टिच्युटमा भएको थियो। मलाई अंग्रेजी पढाउने गुरू शहीद गंगालाल श्रेष्ठ हुनुहुन्थ्यो । यसबेला म सानो उमेरको भएको हुनाले मलाई अहिले सबै कुराहरूको स्मरण छैन, तर निकै प्रभाव परेका कुराहरू र घटनाहरू त जीवनभरि सम्झना भइरहन्छ । तीमध्ये शहीद गंगालालका साथै अरू पनि महत्त्वपूर्ण व्यक्तिहरूसित सम्बन्ध भएको एक दुईवटा घटना ( मेरो आफ्नै अनुभवमा) यहाँ उल्लेख गर्दछु ।
वि.सं. १९९६ सालतिरको घटना हो । एक दिन महावीर इन्स्टिच्यूटमा हाम्रो कक्षामा (कक्षा ४ वा ५ होला) पढाइरहनु हुँदाहुँदैको कुरा हो । मनमा के लागेर हो, गुरू गंगालालले मलाई तानेर 'जाउँ हेडमाष्टरकहाँ' भनेर लानुभयो । हेडमास्टर शहीद चिनियाँ लाल सिंहको कोठामा पुग्दा त्यहाँ स्व. पूर्णबहादुर मानव (त्यसबेला त्यस स्कूलका शिक्षक) र स्व. कवि सिद्धिचरण श्रेष्ठ (नियमित शिक्षक नभए पनि उहांले पनि कहिलेकाहीँ पढाउनु हुन्थ्यो) पनि हुनुहुन्थ्यो । हेडमास्टरको अगाडि मलाई राखेर गंगालालले भन्नुभयो "यस्ता बच्चाहरूलाई पढाइ-हुर्काइ तपाईंको सपना कहिले पूरा हुने ?"
अनि पूर्णबहादुर मानवले थप्नुभयो, "हो त नि यस्तो सिंगान पुछ्न सुरूवालको इजार बाँध्न पनि नजान्ने केटोलाई पढाएर, तालिम दिएर तयार पारी क्रान्ति कहिले गर्ने ?'
गंगालालले भन्नुभयो, " यिनीहरूलाई पढाएर हुर्काएर यिनीहरूबाट क्रान्ति ल्याउने तपाईंको कल्पना मात्रै हुनेछ ।"
हेडमाष्टर शहीद चिनियाँलालले हाँस्दै भन्नुभयो, “त्यसो भए के त हामी सोझै मर्न जाने ?"
त्यसबेला मैले त्यो कुराकानीको अर्थ केही बुझिनँ । तर पछि थाहा भयो, राणाविरोधी संघर्षको तरीकाबारे दुई महान शहीदहरू गंगालाल श्रेष्ठ र चिनियालाल सिंहको बीचमा मतभेद रहेछ । गंगालाल राणा शासनविरूद्ध कुनै सीधा संघर्ष वा विद्रोह गर्न चाहनुहुन्थ्यो भने चिनियांलाल सिंह शिक्षाको माध्यमबाट जनतामा चेतना फैलाई परिवर्तन ल्याउने सपना देख्नुहुन्थ्यो ।
अर्को घटना हो, गंगालाल र गणेशमान सिंहसित सम्बन्धित घटना । एक दिन (१९९६ सालतिर) मेरो टोल (थँहिति टोल) मुन्तिरबाट गंगालाल श्रेष्ठ र गणेशमान सिंह गइरहनुभएको मैले झ्यालबाट देखें । उहाँहरू मेरो घरसँगै रहेको एउटा पसल (गणेशमानजीको दाजु नाता पर्ने एकजना व्यक्तिको पसल) मा पस्नुभयो । मेरो गुरुलाई सलाम गर्न (त्यसबेला नमस्ते होइन, सलामको चलन थियो) म तल ओर्लें । गंगालाललाई "मार्साब सलाम" भन्दै अभिवादन गरे । गंगालालले गणेशमानजीतिर देखाउँदै मलाई "ल उसलाई पनि सलाम गर" भन्नुभयो । त्यसबेलाको केटाकेटी बुद्धि, मैले आफ्नो गुरुबाहेक अर्कोलाई सलाम गर्न मानिनँ । मैले 'नाई' भनेपछि उहाँले भन्नुभयो, "हेर ऊ र म एउटै, ऊ तिम्रो माष्टर नभए पनि ऊ मजस्तै, सबै कुरामा हामी दुई जना एउटै ।'' तैपनि मैले मानिनँ ।
अनि गणेशमानजीले हाँस्दै भन्नुभयो, “ आजकल एउटा नयाँ ब्रीडको कुकुर निस्केको छ रे, एक जनाबाहेक दुई जना मालिक नचिन्ने । तिम्रो यो चेला त्यस्तै रहेछ । शायद उहाँले अल्सेसियन् भन्नुभएको होला ।
–नवयुवा मासिकमा प्रकाशित
नवल अल सादवी एक इजिप्सियन महिलावादी लेखक
एक व्यक्तिको संयमता जसले आणविक युद्ध रोकेको थियो !
कस्तो छ ‘वैज्ञानिक समाजवादी व्यवस्थाको कार्यक्रम’ ?
रसियाली क्रान्तिको आधारभूत महत्त्व
कम्युनिष्ट शक्तिको एकीकरण आजको अनिवार्य आवश्यकता
विद्रोह जायज छ !
कसिँदै गइरहेको ‘थुसिडाइड्सको धराप’ : उम्कने कसरी ?
प्रतिक्रिया