युद्धले खारिएको हुथीलाई कमजोर आँक्ने हुँदैछ गल्ती

किन ब्युतपादक हुन्छ लाल सागरमा मार्ग खोल्न हुथीमाथिको आक्रमण ?

अहिले लाल सागरमा जारी हुथी भनेर चिनिने अनसर अल्लाह मिलेशिया दस्ता र अमेरिकी-बेलायती सैनिक गठबन्धन बिचको युद्धले विश्वलाई नै नयाँ सङ्कटतर्फ धकेल्ने हो कि भन्ने चिन्ता बढेको छ । गैर सैनिक मालवाहक जहाजलाई हुथीले आक्रमण गरेको भन्दै जवाफी कारबाहीमा उत्रिएका यी मुलुकहरूले इजरायल-हमास जारी युद्द्लाई थप विस्तारित गरेको आरोप एक थरीले लाइरहेका छन् । उता अमेरिका र बेलायतले भने हुथी माथिको आक्रमण आफूहरूको बाध्यता भन्दै त्यसको बचाऊ गरिरहेका छन् ।

तर, यहाँ अमेरिकाले अहिले गरेको आक्रमण ठिक वा बेठिक भन्ने प्रश्न माथि चर्चा गरिँदै छैन । न त त्यसले बिथोल्ने अन्तर्राष्ट्रिय राजनीति र त्यसको आर्थिक प्रभावबारे नै विमर्श गरिंदैछ । बरु, यसरी हुथी बिरुद्ध भन्दै यमनमा गरेको आक्रमण कसरी स्वयम् अमेरिकालाई नै भारी पर्दै आएको छ भन्ने दृष्टान्त यहाँ पेश गरिएको छ ।

इतिहासले के देखाउँछ भने यस्तो आक्रमण अमेरिकाले गरेको गल्ती साबित हुँदै आएको छ । विश्वले (विशेष गरी अमेरिका र बेलायतले) हुथी बिद्रोहीलाई ठिक ढंगले नबुझेको र कम आँक्ने गरेको देखिन्छ । यसो किन भनिएको हो भने यो मिलिसिया समुहले यमनको भूभागमा आफ्नो पकड प्राप्त गर्ने क्रममा उल्लेखनीय रुपमा भौगोलिक र प्राविधिक चुनौतीहरू सामना गरिसकेको छ । यिनीहरूले साउदी अर्ब र युएईमा समेत आक्रमण गरेर त्यसको बलमा यमनमा किल्ला खडा गरेका हुन् ।

त्यसो त अहिलेको प्रत्याक्रमणले केही समयसम्मको लागि हुथी मिलिसियालाई साइजमा राख्ने काम त गर्ला तर यसपछि उनीहरूले अरब मुलुकहरूमा आफ्नो राजनीतिक उपस्थितिलाई भने थप बलियो बनाउने छन् । किनकि यदि यमनमा अमेरिकी आक्रमण जारी रहने हो भने अरबले हुथी र हमासको पक्षमा ऐक्यबद्धता प्रस्तुत गर्ने अवस्था आउन सक्छ । जुन अहिलेसम्म ती मुलुकहरूले गरिरहेका छैनन् ।

ऐतिहासिक रुपमा यमनको उत्तरी भागमा रहेका पहाडी भेगमा सिया इस्लामका इमामको शासन रहँदै आएको छ । त्यहाँका राजाले दक्षिणी भागलाई पनि नियन्त्रणमा त राखेको छ तर स्थानीय जातिका मानिसहरूद्वारा नै त्यो भू-भागमा अलग्गै शासन चल्दै आएको छ । सन् १८३९ मा अदेन बन्दरगाहमा नियन्त्रण कायम गरेपछि बेलायतले त्यहाँका जनजातिहरूसँग गरेको सम्झौताका आधारमा दक्षिणी यमनमा आफ्नो शासन कायम रहेको मान्दै आएका थिए । तर, सन् १९६७ पछि भने बेलायती सेना त्यहाँबाट फिर्ता भयो ।

सन् १९६२ को सेप्टेम्बरमा उत्तर यमनी सेनाका केही अफिसरहरूले राजधानी सना कब्जामा लिएर त्यहाँ  गणतन्त्र घोषणा गरे । इजिप्टका तत्कालीन राष्ट्रपति गामाल अब्दुल नासरले पनि गणतन्त्रवादीलाई सहयोग गर्न आफ्नो सेनालाई त्यहाँ पठाए । त्यसपछि यमनमा इजिप्टको क्रान्तिकारी धार र साउदी अरबको पुरातनवादी धारबाट पृष्ठपोषित दुई पक्ष बीच पाँच वर्षसम्म गृहयुद्ध चल्यो ।    

सन् १९६७ मा इजिप्टले ६ दिन लामो युद्धमा पराजय व्यहोर्दै गाजामाथी रहेको आफ्नो नियन्त्रण गुमायो । यसो हुनुको खास कारण आफ्ना काबिल सेनाहरू यमनमा जारी युद्धमा रहेकाले भएको थियो । त्यो घटनापछि नासिरले यमनबाट आफ्नो सेना फिर्ता लगे । त्यहीबेला बेलायती सेना पनि फिर्ता भएपछि जनवादी गणतन्त्र यमन अरब विश्वको पहिलो मार्क्सवादी मुलुक बन्यो ।

त्यसपछि सन् १९९० सम्म त्यहाँ कुनै बदलाव आएन । तत्कालीन सोभियतसंघको विगठनपछि यमनले आफ्नो संरक्षक गुमायो । उत्तरी र दक्षिणी यमन एक भएर गणतन्त्र यमन स्थापित भयो । तर, सन् १९९४ मा फेरी गृहयुद्ध सुरु भयो । फेरी साउदी अरबले यमन टुक्राएर सो क्षेत्रमा आफ्नो प्रतिद्वन्दी शक्ति बन्न नदिने उद्देश्यका साथ त्यहाँ आफ्नो उपस्थिति बढायो ।

सन् १९९४ को दोस्रो गृहयुद्ध अघि नै साउदी अरबले उत्तरी यमनमा आफ्नो पक्षको सलाफी नामक इस्लामिक समुह खडा गरेको थियो । त्यसको विरुद्धमा त्यहाँको जेयादी पक्षधर युवा बिद्यार्थीहरुले हुथी आन्दोलन थालेका थिए । उनीहरूले आफ्नो समुहको नाम आफ्ना नेता हुसेन अल हुथीको नामबाट राखेका थिए । सो बिद्यार्थीहरुको समुहले तुरुन्तै राजनीतिक शक्तिको स्वरूप ग्रहण गर्‍यो र संसद्मा समेत प्रतिनिधित्व गर्न सफल भयो ।

सन् २००४ मा त्यो हुथी समुहले त्यहाँको सारकार विरोधी प्रदर्शन सुरु गर्‍यो । यसरी उनीहरू आन्दोलित हुनुको खास कारण भने त्यहाँका राष्ट्रपति सलेहले अमेरिकालाई यमनको भूमिमा द्रोण आक्रमण गर्न अनुमति दिएको घटना थियो । अमेरिकाको त्यो आक्रमणको निशानामा अलकायदा रहेको थियो तर सो क्रममा सयौँ निहत्था नागरिकको हाताहाती भएकोले हुथीहरु विरोधमा उत्रिएका थिए ।

अमेरिकाको पिछलग्गु बनेका सलेहले त्यसपछि हुथी विरुद्ध निर्मम आक्रमण थाले । उनले उत्तिका नेता अल हुथीको हत्या गर्न सेनालाई आदेश दिए ।  हुथीका अखडामा आक्रमणलाई बढाए । यसरी सुरु भएको तेस्रो गृहयुद्ध सन् २०१० सम्म चल्यो । तर, हुथी सकिएनन् बरु आफुलाई उनीहरूले सैन्य रुपमा थप मजबुत बनाए ।

यसरी बिद्यार्थीहरुले चलाएको एक अभियान राजनीतिक दल हुँदै सैन्य शक्तियुक्त संगठन बन्यो । उनीहरू त्यहाँको सरकारलाई चुनौती दिनसक्ने अवस्थामा रहेकै बेला सन् २०११ मा भएको अर्ब क्रान्तिमा सलेह विरुद्धको आन्दोलनमा हुथी सहभागी बन्यो । सलेहले सन् २०१२ मा राजीनामा गरे । उनको ठाउँमा आएका उपराष्ट्रपति अब्द रब्बुज मन्सुर हादीले पनि हुथिलाई सरकारमा राम्रो स्थान दिएनन् । त्यो बेला सैन्य रुपमा समेत निकै सवाल अवस्थामा रहेको हुथीले उल्टै राजधानी कब्जा गर्‍यो र उनलाई पदच्युत गर्‍यो ।

विगतमा झैँ बाहिरी शक्तिहरू फेरी यमनको राजनीतिमा प्रवेश गरे । सन् २०१५ मा साउदी अरब र युएईले  अमेरिकी सहयोगमा हादीलाई पुनर्स्थापना गर्न भन्दै यमनमा भीषण हवाई आक्रमण गरे । प्रत्युत्तर स्वरूप सन् २०१६ मा हुथिले यमनी सामुन्द्रिक क्षेत्रमा रहेको अमेरिकी अड्डामा मिसाइल प्रहार गरे । सो भिडन्तमा अमेरिकी सेना हुथीका तीनवटा राडारमा क्षति पुर्‍याउन सफल भयो । जसले त्यहाँ एक प्रकारको शक्ति सन्तुलनको अवस्था निर्माण हुँदा हुथीहरु थप आक्रामक बन्न सकेनन् । अमेरिका पनि पछि हट्यो ।

त्यसपछिका केही वर्ष फरक ढंगले अघि बढे । साउदी अरबलाई काउन्टर गर्ने उद्देश्यले इरानले हुथीहरुलाई आधुनिक मिसाइल र ड्रोन लगायतका हतियार र उपकरण दिएर सहयोग गर्न थाल्यो। इरानको यस्तो साथ पाएपछि हुथीहरुले युएई र साउदी अरबमा आक्रमणलाई तीव्रता दिए । यसले के देखायो भने यमनको गृह युद्धमा प्रत्यक्ष रुपमा जोडिनु भनेको कुनैपनि मुलुकले आफुलाई हुथिको निशानामा पार्नु हो ।   

हुथिहरु साउदी अरबको लागि निकै घटक बने । उनीहरूले त्यहाँको सबैभन्दा ठूलो तेल प्रशोधन कम्पनी आरामकोमा आक्रमण गरे । पानि प्रशोधन केंद्रोको फोटो सार्वजनिक गरेर आफुहरु त्यहाँसम्म पुग्न सक्छौँ भन्ने सन्देश दिए । अहिले हुथीहरुले भू-उपग्रहको प्रविधिमा आफ्नो पहुँच पुर्‍याएका छन् । उनीहरूसँग थ्रिडी फोटो, भिडियो देखी आधुनिक मेकानिक्स र सक्षम  पाइलटहरू समेत छन् । जसले गर्दा हुथी विरुद्ध जो लाग्छन् उनीहरू अनावश्यक खर्चको मार्गमा हिँडेको प्रमाणित हुने अवस्था छ किनकि हुथी माथिको विजय त्यति सहज छैन ।

अहिले हमास बिरुद्ध इजरायलले जारी राखेको आक्रमणको जवाफ हुथीहरु लाल सागरमा अमेरिकी, इजरायली र बेलायती मालवाहक पानीजहाजमा आक्रमण गरेर दिइरहेका छन् । उनीहरूले लाल सागरमा आफ्ना ड्रोनको भरमा नै सबैलाई काबुमा ल्याएका छन् । तर, आफूसँग निकै आधुनिक हतियार र प्रविधि भएपनि अमेरिका र बेलायतले लालसागरमा हुथीलाई तह लगाउन सक्ने देखिँदैन  ।

इतिहास साक्षी छ कि सन् २०१६ मा साउदी अरबले निकै प्रयास गर्दा पनि हुथीलाई पछि हटाउन सकेन । अमेरिकाले केही समय उनीहरूलाई कमजोर पारे पनि त्यो भन्दा निकै शक्तिशाली बनेर फेरी हुथिहरु उठे । हुथिहरु युद्धमा नै जन्मिए र हुर्किए तसर्थ युद्ध र आक्रमणले उनीहरूलाई तर्साउन, अत्त्याउन सक्ने स्थिति छैन । बरु, हुथिलाई आक्रमण गर्नु भनेको उनीहरूलाई अरब क्षेत्रमा र त्यहाँका देशहरूमा अझ बढी लोकप्रिय बनाउनु मात्र हो । लाल सागरमा आफ्नो लागी सुरक्षित मार्ग तय गर्न हुथिहरुलाई आक्रमण गर्नुको सट्टा अन्य विकल्पको खोजी नै मात्र पश्चिमेली राष्ट्रहरूको लागि श्रेयकर हुने देखिन्छ ।

(यो सामग्री विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचारको सहयोगमा तयार गरिएको हो)

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।