युद्धले खारिएको हुथीलाई कमजोर आँक्ने हुँदैछ गल्ती
किन ब्युतपादक हुन्छ लाल सागरमा मार्ग खोल्न हुथीमाथिको आक्रमण ?

अहिले लाल सागरमा जारी हुथी भनेर चिनिने अनसर अल्लाह मिलेशिया दस्ता र अमेरिकी-बेलायती सैनिक गठबन्धन बिचको युद्धले विश्वलाई नै नयाँ सङ्कटतर्फ धकेल्ने हो कि भन्ने चिन्ता बढेको छ । गैर सैनिक मालवाहक जहाजलाई हुथीले आक्रमण गरेको भन्दै जवाफी कारबाहीमा उत्रिएका यी मुलुकहरूले इजरायल-हमास जारी युद्द्लाई थप विस्तारित गरेको आरोप एक थरीले लाइरहेका छन् । उता अमेरिका र बेलायतले भने हुथी माथिको आक्रमण आफूहरूको बाध्यता भन्दै त्यसको बचाऊ गरिरहेका छन् ।
तर, यहाँ अमेरिकाले अहिले गरेको आक्रमण ठिक वा बेठिक भन्ने प्रश्न माथि चर्चा गरिँदै छैन । न त त्यसले बिथोल्ने अन्तर्राष्ट्रिय राजनीति र त्यसको आर्थिक प्रभावबारे नै विमर्श गरिंदैछ । बरु, यसरी हुथी बिरुद्ध भन्दै यमनमा गरेको आक्रमण कसरी स्वयम् अमेरिकालाई नै भारी पर्दै आएको छ भन्ने दृष्टान्त यहाँ पेश गरिएको छ ।
इतिहासले के देखाउँछ भने यस्तो आक्रमण अमेरिकाले गरेको गल्ती साबित हुँदै आएको छ । विश्वले (विशेष गरी अमेरिका र बेलायतले) हुथी बिद्रोहीलाई ठिक ढंगले नबुझेको र कम आँक्ने गरेको देखिन्छ । यसो किन भनिएको हो भने यो मिलिसिया समुहले यमनको भूभागमा आफ्नो पकड प्राप्त गर्ने क्रममा उल्लेखनीय रुपमा भौगोलिक र प्राविधिक चुनौतीहरू सामना गरिसकेको छ । यिनीहरूले साउदी अर्ब र युएईमा समेत आक्रमण गरेर त्यसको बलमा यमनमा किल्ला खडा गरेका हुन् ।
त्यसो त अहिलेको प्रत्याक्रमणले केही समयसम्मको लागि हुथी मिलिसियालाई साइजमा राख्ने काम त गर्ला तर यसपछि उनीहरूले अरब मुलुकहरूमा आफ्नो राजनीतिक उपस्थितिलाई भने थप बलियो बनाउने छन् । किनकि यदि यमनमा अमेरिकी आक्रमण जारी रहने हो भने अरबले हुथी र हमासको पक्षमा ऐक्यबद्धता प्रस्तुत गर्ने अवस्था आउन सक्छ । जुन अहिलेसम्म ती मुलुकहरूले गरिरहेका छैनन् ।
ऐतिहासिक रुपमा यमनको उत्तरी भागमा रहेका पहाडी भेगमा सिया इस्लामका इमामको शासन रहँदै आएको छ । त्यहाँका राजाले दक्षिणी भागलाई पनि नियन्त्रणमा त राखेको छ तर स्थानीय जातिका मानिसहरूद्वारा नै त्यो भू-भागमा अलग्गै शासन चल्दै आएको छ । सन् १८३९ मा अदेन बन्दरगाहमा नियन्त्रण कायम गरेपछि बेलायतले त्यहाँका जनजातिहरूसँग गरेको सम्झौताका आधारमा दक्षिणी यमनमा आफ्नो शासन कायम रहेको मान्दै आएका थिए । तर, सन् १९६७ पछि भने बेलायती सेना त्यहाँबाट फिर्ता भयो ।
सन् १९६२ को सेप्टेम्बरमा उत्तर यमनी सेनाका केही अफिसरहरूले राजधानी सना कब्जामा लिएर त्यहाँ गणतन्त्र घोषणा गरे । इजिप्टका तत्कालीन राष्ट्रपति गामाल अब्दुल नासरले पनि गणतन्त्रवादीलाई सहयोग गर्न आफ्नो सेनालाई त्यहाँ पठाए । त्यसपछि यमनमा इजिप्टको क्रान्तिकारी धार र साउदी अरबको पुरातनवादी धारबाट पृष्ठपोषित दुई पक्ष बीच पाँच वर्षसम्म गृहयुद्ध चल्यो ।
सन् १९६७ मा इजिप्टले ६ दिन लामो युद्धमा पराजय व्यहोर्दै गाजामाथी रहेको आफ्नो नियन्त्रण गुमायो । यसो हुनुको खास कारण आफ्ना काबिल सेनाहरू यमनमा जारी युद्धमा रहेकाले भएको थियो । त्यो घटनापछि नासिरले यमनबाट आफ्नो सेना फिर्ता लगे । त्यहीबेला बेलायती सेना पनि फिर्ता भएपछि जनवादी गणतन्त्र यमन अरब विश्वको पहिलो मार्क्सवादी मुलुक बन्यो ।
त्यसपछि सन् १९९० सम्म त्यहाँ कुनै बदलाव आएन । तत्कालीन सोभियतसंघको विगठनपछि यमनले आफ्नो संरक्षक गुमायो । उत्तरी र दक्षिणी यमन एक भएर गणतन्त्र यमन स्थापित भयो । तर, सन् १९९४ मा फेरी गृहयुद्ध सुरु भयो । फेरी साउदी अरबले यमन टुक्राएर सो क्षेत्रमा आफ्नो प्रतिद्वन्दी शक्ति बन्न नदिने उद्देश्यका साथ त्यहाँ आफ्नो उपस्थिति बढायो ।
सन् १९९४ को दोस्रो गृहयुद्ध अघि नै साउदी अरबले उत्तरी यमनमा आफ्नो पक्षको सलाफी नामक इस्लामिक समुह खडा गरेको थियो । त्यसको विरुद्धमा त्यहाँको जेयादी पक्षधर युवा बिद्यार्थीहरुले हुथी आन्दोलन थालेका थिए । उनीहरूले आफ्नो समुहको नाम आफ्ना नेता हुसेन अल हुथीको नामबाट राखेका थिए । सो बिद्यार्थीहरुको समुहले तुरुन्तै राजनीतिक शक्तिको स्वरूप ग्रहण गर्यो र संसद्मा समेत प्रतिनिधित्व गर्न सफल भयो ।
सन् २००४ मा त्यो हुथी समुहले त्यहाँको सारकार विरोधी प्रदर्शन सुरु गर्यो । यसरी उनीहरू आन्दोलित हुनुको खास कारण भने त्यहाँका राष्ट्रपति सलेहले अमेरिकालाई यमनको भूमिमा द्रोण आक्रमण गर्न अनुमति दिएको घटना थियो । अमेरिकाको त्यो आक्रमणको निशानामा अलकायदा रहेको थियो तर सो क्रममा सयौँ निहत्था नागरिकको हाताहाती भएकोले हुथीहरु विरोधमा उत्रिएका थिए ।
अमेरिकाको पिछलग्गु बनेका सलेहले त्यसपछि हुथी विरुद्ध निर्मम आक्रमण थाले । उनले उत्तिका नेता अल हुथीको हत्या गर्न सेनालाई आदेश दिए । हुथीका अखडामा आक्रमणलाई बढाए । यसरी सुरु भएको तेस्रो गृहयुद्ध सन् २०१० सम्म चल्यो । तर, हुथी सकिएनन् बरु आफुलाई उनीहरूले सैन्य रुपमा थप मजबुत बनाए ।
यसरी बिद्यार्थीहरुले चलाएको एक अभियान राजनीतिक दल हुँदै सैन्य शक्तियुक्त संगठन बन्यो । उनीहरू त्यहाँको सरकारलाई चुनौती दिनसक्ने अवस्थामा रहेकै बेला सन् २०११ मा भएको अर्ब क्रान्तिमा सलेह विरुद्धको आन्दोलनमा हुथी सहभागी बन्यो । सलेहले सन् २०१२ मा राजीनामा गरे । उनको ठाउँमा आएका उपराष्ट्रपति अब्द रब्बुज मन्सुर हादीले पनि हुथिलाई सरकारमा राम्रो स्थान दिएनन् । त्यो बेला सैन्य रुपमा समेत निकै सवाल अवस्थामा रहेको हुथीले उल्टै राजधानी कब्जा गर्यो र उनलाई पदच्युत गर्यो ।
विगतमा झैँ बाहिरी शक्तिहरू फेरी यमनको राजनीतिमा प्रवेश गरे । सन् २०१५ मा साउदी अरब र युएईले अमेरिकी सहयोगमा हादीलाई पुनर्स्थापना गर्न भन्दै यमनमा भीषण हवाई आक्रमण गरे । प्रत्युत्तर स्वरूप सन् २०१६ मा हुथिले यमनी सामुन्द्रिक क्षेत्रमा रहेको अमेरिकी अड्डामा मिसाइल प्रहार गरे । सो भिडन्तमा अमेरिकी सेना हुथीका तीनवटा राडारमा क्षति पुर्याउन सफल भयो । जसले त्यहाँ एक प्रकारको शक्ति सन्तुलनको अवस्था निर्माण हुँदा हुथीहरु थप आक्रामक बन्न सकेनन् । अमेरिका पनि पछि हट्यो ।
त्यसपछिका केही वर्ष फरक ढंगले अघि बढे । साउदी अरबलाई काउन्टर गर्ने उद्देश्यले इरानले हुथीहरुलाई आधुनिक मिसाइल र ड्रोन लगायतका हतियार र उपकरण दिएर सहयोग गर्न थाल्यो। इरानको यस्तो साथ पाएपछि हुथीहरुले युएई र साउदी अरबमा आक्रमणलाई तीव्रता दिए । यसले के देखायो भने यमनको गृह युद्धमा प्रत्यक्ष रुपमा जोडिनु भनेको कुनैपनि मुलुकले आफुलाई हुथिको निशानामा पार्नु हो ।
हुथिहरु साउदी अरबको लागि निकै घटक बने । उनीहरूले त्यहाँको सबैभन्दा ठूलो तेल प्रशोधन कम्पनी आरामकोमा आक्रमण गरे । पानि प्रशोधन केंद्रोको फोटो सार्वजनिक गरेर आफुहरु त्यहाँसम्म पुग्न सक्छौँ भन्ने सन्देश दिए । अहिले हुथीहरुले भू-उपग्रहको प्रविधिमा आफ्नो पहुँच पुर्याएका छन् । उनीहरूसँग थ्रिडी फोटो, भिडियो देखी आधुनिक मेकानिक्स र सक्षम पाइलटहरू समेत छन् । जसले गर्दा हुथी विरुद्ध जो लाग्छन् उनीहरू अनावश्यक खर्चको मार्गमा हिँडेको प्रमाणित हुने अवस्था छ किनकि हुथी माथिको विजय त्यति सहज छैन ।
अहिले हमास बिरुद्ध इजरायलले जारी राखेको आक्रमणको जवाफ हुथीहरु लाल सागरमा अमेरिकी, इजरायली र बेलायती मालवाहक पानीजहाजमा आक्रमण गरेर दिइरहेका छन् । उनीहरूले लाल सागरमा आफ्ना ड्रोनको भरमा नै सबैलाई काबुमा ल्याएका छन् । तर, आफूसँग निकै आधुनिक हतियार र प्रविधि भएपनि अमेरिका र बेलायतले लालसागरमा हुथीलाई तह लगाउन सक्ने देखिँदैन ।
इतिहास साक्षी छ कि सन् २०१६ मा साउदी अरबले निकै प्रयास गर्दा पनि हुथीलाई पछि हटाउन सकेन । अमेरिकाले केही समय उनीहरूलाई कमजोर पारे पनि त्यो भन्दा निकै शक्तिशाली बनेर फेरी हुथिहरु उठे । हुथिहरु युद्धमा नै जन्मिए र हुर्किए तसर्थ युद्ध र आक्रमणले उनीहरूलाई तर्साउन, अत्त्याउन सक्ने स्थिति छैन । बरु, हुथिलाई आक्रमण गर्नु भनेको उनीहरूलाई अरब क्षेत्रमा र त्यहाँका देशहरूमा अझ बढी लोकप्रिय बनाउनु मात्र हो । लाल सागरमा आफ्नो लागी सुरक्षित मार्ग तय गर्न हुथिहरुलाई आक्रमण गर्नुको सट्टा अन्य विकल्पको खोजी नै मात्र पश्चिमेली राष्ट्रहरूको लागि श्रेयकर हुने देखिन्छ ।
(यो सामग्री विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचारको सहयोगमा तयार गरिएको हो)

उदार एवं लोकतान्त्रिक संस्थाहरू भत्किँदै गएको अवस्थामा नागरिक समाज पूर्ण रूपमा…

बाँसमा फूलेको विद्रोहको फूल

के भारतमा रातो तारा अस्ताउँदै छ?

औपनिवेशिक साँस्कृतिक कब्जाविरुद्ध हुङ्कार गर्ने एक बौद्धिक बागी !

गलबन्दी

बढ्दैछ एङ्गेल्सको सान्दर्भिकता

प्रतिरोधी संघर्षका नायक बबी स्यान्ड्स: एक दृढ सत्याग्रही, जसले मृत्युवरण गरे तर …

प्रतिक्रिया