अक्सफामले देखायो आर्थिक असमानताको कहालीलाग्दो चित्र

तीन वर्षमा पाँच जनाको सम्पत्ति दोब्बर हुँदा पाँच अर्ब मानिस बने थप गरिब !

संसार कै सर्वाधिक धनी मुट्ठीभर व्यक्तिहरूको  सम्पत्तिमा ठूलो मात्राले वृद्धि हुँदा पृथ्वीका अर्बौँ मानिसहरू झन् भन्दा झन् गरिबी तर्फ धकेलिएको एक रिपोर्टले देखाएको छ । बढ्दो आर्थिक असमानता र गरिबीबारे अध्ययन गर्ने अन्तर्राष्ट्रिय संस्था अक्सफामले हालै सार्वजनिक गरेको रिपोर्टमा यस्तो देखिएको हो ।

सोमबार सार्वजनिक भएको रिपोर्टका अनुसार संसारका पाँच जना सर्वाधिक धनीहरूको सम्पत्ति सन् २०२० यताका तीन वर्षमा नै दोब्बरभन्दा बढीले बढेको छ । ठिक त्यही समयमा संसारभर ५ अर्ब भन्दा बढी मानिसहरू भने तीन वर्ष अघिको तुलनामा झन् गरिब बनेका छन् । यसरी अत्यधिक आर्थिक असमानता बढेको कारण गरिबिको वृद्धिदर अत्यासलाग्दो बनेको देखिएको हो ।

अक्सफामले गरेको अध्ययन अनुसार सन् २०२० को मार्च महिनामा संसारका सबैभन्दा धनी पाँच व्यक्तिहरू टेस्लाका सीइओ एलन मस्क, फेसन  कम्पनी एलभीएमएच का प्रमुख बर्नार्ड अर्नोल्ड र परिबार, अमेजनका संस्थापक जेफ बेजोस, ओराकलका संस्थापक ल्यारी एलिसन र चर्चित लगानीकर्ता वारेन बफेटको कुल सम्पत्ति योग ४०५ अर्ब डलर रहेकोमा त्यो बढेर सन् २०२३को नोभेम्बरमा ८६९ अर्ब डलर पुगेको छ । यो भनेको प्रतिघण्टा १४ मिलियन डलर (१ करोड ४० लाख डलर) को दरले भएको वृद्धि हो ।

यदि यस्तै प्रवृत्ति कायम रहेमा अबको एक दशक अर्थात् सन् २०३४ सम्ममा संसार कै पहिलो ट्रिलियन डलर (१ हजार अर्ब) का मालिक देख्न पाइने छ । तर, संसारबाट गरिबिको अन्त्य गर्न भने जतिसुकै प्रयास गरेपनि कम्तिमा २२९ वर्ष लाग्ने रिपोर्टमा उल्लेख छ ।

संसारमा रहेका १० ठूला कर्पोरेसन मध्ये ७ वटामा त्यस्ता डलर अर्बपतिहरु  प्रमुख कार्यकारी अधिकृत (सीइओ) वा प्रमुख लगानीकर्ताका रुपमा रहेका छन् । ती कर्पोरेसनको कुल सम्पत्ति १०.२ ट्रिलियन डलर (१० हजार २ सय अर्ब डलर) रहेको छ । यो भनेको अफ्रिका र दक्षिण अमेरिकाका सबै मुलुकहरूको कुल जीडीपी भन्दा पनि बढी हो ।

रिपोर्टले उल्लेख गरे अनुसार यसरी धनाढ्यहरूको सम्पत्तिमा गएको तीन वर्षमा तिब्रतर वृद्धि भएको भएपनि गरिबिको अवस्था भने कोभिड पूर्वको भन्दा दयनीय छ । संसारभरका डलर अर्वपतिहरुको सम्पत्ति यसबिच ३.३ ट्रिलियन डलरले वृद्धि भएको छ । यो वृद्धि भनेको यसबिच देखिएको मुद्रास्फीति भन्दा पनि तीव्र गतिको हो ।

उता विश्वभरका श्रमिकहरूको अवस्था भने झन् दयनीय बनेको रिपोर्टमा जनाइएको छ । ‘उनीहरू पहिले भन्दा कडा र लामो समयसम्म काम गरिरहेका छन् जुन निकै कठिन र असुरक्षित पनि छ’, रिपोर्टमा लेखिएको छ । लगभग ८० करोड कामदारहरूले गएको दुई वर्षमा १.५ ट्रिलियन डलर (१५ सय अर्ब डलर ) गुमाएका छन् । अक्सफामका अनुसार जुन उनीहरूको औषत २५ दिनको ज्याला हो ।

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।