अकस्मात जमिनभित्रबाट गुडगुडे आवाज आयो र साथसाथै सुरु भयो– १९९० को विनाशकारी महाभुइँचालो
९० सालको त्यो महाभूकम्प

नेपालमा गएको यो ठूलो भूकम्प पृथ्वीभरका ठूल्ठूला कम्पहरूसँग दाँजिन सक्छ ।
भूकम्प केन्द्र नेपाल राजधानीबाट करिब ५२ कोस दक्षिणपूर्वमा फेला परेको छ । त्यो ठाउँ (जसलाई एपिसेन्टर भनिन्छ) सीतामढी र मधुबनीको बीच (उत्तर बिहार मुग्लान) मा पत्ता लागेको छ ।
सो ठाउँ पूर्व ३ नम्बरको सीधा दक्षिण (ओखलढुङ्गाबाट करिब ३५ कोस र उदयपुरगढीबाट २५ कोस मात्र टाढा) परेकोले पूर्व ३ र ४ नम्बरपट्टि ज्यादा जोड पर्न गएको हो ।
हिन्दुस्तानको भूकम्प जाँच्ने कल (सिस्मोग्राफ) बाट नेपाल राजधानीमा भूकम्पको जोड सेकेन्डको आठ फिट गएको अञ्जाम भएको छ । तर, भुइँचालोको जोड जमिनको किसिमबाट फरक हुने भएकाले काठमाडौं र पाटन सहरमा सेकेन्डको ८ फिट गए पनि भादगाउँ, लुभु, सानागाउँ, बुङ्मती, खोकनामा सेकेन्डको १० फिटको तोड अथवा भूकम्प केन्द्रको जग्गामा झैँ हुन भयो भने भूगर्भविद्या जान्नेहरूले भनेका छन् ।
भुइँचालो कति बजे सुरु भयो भन्ने कुरामा धेरैको राय बाझ्दछ । तर हिन्दुस्थानको (स्ट्यान्डर्ड) टाइममा १४ घन्टा १३ मिनेट २२ सेकेन्ड चढेकाले हिसाब गर्दा यहाँ दिनको २ बजेर २४ मिनेट २२ सेकेन्ड चढेकाले हिसाब गर्दा यहाँ दिनको २ बजेर १५ मिनेटको अञ्जाम गरेका छन् । तर २ बजेर २४ मिनेट २२ सेकेन्डलाई नै ठीक समय मान्नुपर्छ ।
यसभन्दा पनि भूकम्प कति बेरसम्म अड्यो भन्ने कुराको मुकर्रर गर्न कठिन छ । त्यसको हिसाब जग्गैपिच्छे फरक–फरक पर्न गएको छ । पूर्वतिर १०–१२ मिनेटसम्मको पनि अञ्जाम गरेका छन्, तर यहाँ (राजधानी) को त्यस बखत खुला मैदानमा बसिरहेका एक कारिन्दाले घडी हेर्दा ठीक दुई मिनेटसम्म अडेको हिसाब गरेछन् । अरू कुरा विचार गर्दा पनि २ देखि ३ मिनेटभित्रको अञ्जाम गरिन्छ ।
माघ २ गतेदेखि ७ गतेसम्ममा मात्र पनि २८ सानासाना कम्प गए भन्ने हिन्दुस्तानको खबर छ । यहाँ पनि ६ दिनभित्र करिब त्यति नै गए होलान् । तीमध्ये १–२ कम्प निकै कडा थिए ।
सो भूकम्पको जोड करिब ३० लाख वर्गमाइलको गिर्दासम्म पुग्यो तापनि त्यसमध्ये धेरैजसो खण्डमा मामुली कम्प मात्र भयो खास नोक्सान परेको ठाउँ १) नेपाल राज्यमा पश्चिम १ नम्बरदेखि पूर्व सिमानासम्म र २) मुग्लानमा बिहारको उत्तर र बीच खण्ड र आसामको केही खण्ड हुन गयो ।
सो ठूलो कम्पपछि साना–साना कम्प पनि धेरै गइरहे, अझसम्म पनि जाँदैछन् । यहाँ भूकम्प जाँच्ने कल नभएकाले कति यस्ता कम्प भए पूरा हिसाब राख्न सकिएको छैन । माघ २ गतेदेखि ७ गतेसम्ममा मात्र पनि २८ सानासाना कम्प गए भन्ने हिन्दुस्तानको खबर छ । यहाँ पनि ६ दिनभित्र करिब त्यति नै गए होलान् । तीमध्ये १–२ कम्प निकै कडा थिए । सोभन्दा पछिको गिन्ती अञ्जामको भरमा छ । यो विषयको अरू वैज्ञानिक जाँच एघारौँ भागमा केही लेखिएको छ । त्यस भागमा केही भूगर्भविदहरूले दिएको आआफ्नो राय पनि लेखिएका छन् ।
त्यस बखत श्री ३ महाराजको सवारी पश्चिम नयाँ मुलुकमा भएको थियो । उहाँको सवारी चलाउने मुख्य जनरल मेरो बुबा (हाल पू.क.ज.) सुप्रदीप्त मान्यवर जनरल बबरशमशेर जङ्गबहादुर राणा जी.बी.ई, के.सी.एस.आई., के.सी., आई.ई., ने., प्र.ब., अनरेरी कर्णेल ब्रिटिस आर्मी होइबक्सन्थ्यो । सिकारको बन्दोबस्त गर्ने जनरल केशरशमशेर र हजुरिया जनरल बहादुरशमशेर होइबक्सिन्थ्यो । श्री ५ महाराजाधिराज त्रिभुवन वीरविक्रम शाहदेवको सवारी नागार्जुनमा थियो । पूर्व पहाडमा १ नम्बरदेखि लिएर इलामसम्म र पश्चिम ४ नम्बरसम्म जर्नेल कर्णेलहरू दौडाहा वा जाँच गर्न खटिएका थिए । कास्की, लमजुङमा नापी नभएको धेरै वर्ष भएकाले सो ठाउँ नापी गर्ने भैरुँ र सूर्यदल २ पल्टन खटिएका थिए । साविकबमोजिम भीमफेदी–अमलेखगन्जको बाटो मर्मत गर्न २ पल्टन गएका थिए । श्री ३ को सवारीमा पनि पूरा २ पल्टन गएको थियो । नयाँ मुलुक सवारी हुँदा यी पल्टनहरूलाई वगडीमा जनरल सिंहशमशेरको जिम्मामा छाडिबक्सेको थियो ।
तसर्थ धेरै अफिसर र पल्टनहरू राजधानीबाट बाहिर गएका थिए । (खास गरी तिनीहरू भूकम्पबाट कम नोक्सान भएको ठाउँमा पर्न गए ।) मुख्तियार श्री रुद्रशमशेर जबरा कायममुकायम प्राइममिनिस्टर होइबक्सेर यहाँ रहेका धेरैजसो जर्नेललाई थप अड्डा र कामको भार पर्न गएको थियो । झन् त्यसै बखत भूकम्पको मार पर्न आउँदा राजधानीमा रहेका धेरै सरकारी अफिसर कामदारहरूलाई ज्यादै भीड र झोँज पर्न गयो ।
भूकम्पको बयान
माघ २ गतेको केही दिन अगाडि पौष २८ गते केही पानी पर्यो । दिन र रात करिब शून्य दशमलव ४१ इन्च परेको थियो । त्यसले गर्दा बिहानीपख हुस्सु पनि केही बढ्न गयो । अघिल्लो दिन सङ्क्रान्ति भएकाले जताततै चाड मनाएको देखिन्थ्यो । माघ २ गते पनि त्यही चाडबाडको हावा अडिरहेको थियो । सोही दिन सोमबारे औंसी परेकाले धेरैजसो आइमाई नुहाईधोई पूजापाठ गरी व्रत बसिरहेका थिए, चाडबाड मनाइसकेका दुनियाँहरू खेतमा काम गरिरहेका थिए । बिहानपख हुस्सु लागेको थियो तापनि अरू दिनको भन्दा काम कडै थियो । त्यस बखत घामको तेज करिब ६० डिग्री चढेको थियो (पानीको तापक्रम करिब ५७ डिग्री थियो) । तैपनि आँगन, कौसी र सडकमा समेत घाम तापिरहेका धेरै थिए । सहर गाउँका भट्टीमा मतवाली नेवार, भोटेहरूको भीड थियो । माघ महिना भएकाले गाउँलेहरू आफ्नो खेतको उब्जाउ बेच्न आएकाले सहरका बजारतिर पनि भीड थियो । सरकारी अड्डामा काम भइरहेको थियो, पल्टन कवाज खेलिरहेका थिए ।
ठीक २ बजेर २४ मिनेट २२ सेकेन्ड हुँदा अकस्मात जमिनभित्रबाट गुडगुडे आवाज आयो र साथसाथै भूकम्प सुरु भयो– १९९० माघ २ गतेको महाभुइँचालोको उत्पत्ति भयो । यो जमिनको अपूर्व आवाजले गर्दा भूकम्प हो भन्ने ख्याल झट्ट चढ्न सकेन, पानीको लहरीझैं जमिन चक्कर खाई बटारिन थाल्यो र सोही वेगमा धेरैजसो धर इमारतहरू लड्न गए । वेग यस्तो अनौठो थियो कि एक बिजुलीबत्तीको ग्लुपसमेत त्यसको सकेटबाट बाहिर उछिट्टिएको देखियो । त्यस घटनाबाट जमिन कस्तो जोडले काँपेछ केही अञ्जाम गर्न सकिन्छ । रुखहरू हुरीमा परेझैँ लच्के । सानासाना टुप्पाले जमिन छोला–छोला जस्तो भयो ।
धूलोले अन्धो पारे पनि अतासले गर्दा सबै मानिस दौडन थाले । साथसाथै सबले अतासमा ईश्वरको नाम लिई कराउन थाले र चारै तर्फबाट कोलाहल शब्द निस्कन थाल्यो ।
पोखरीको वा भाँडामा राखिएको पानी बाहिर फ्याँकियो । समुद्र बढेमा झैँ शान्त पोखरीहरूको पानी ठूल्ठूला छालझैँ उछिट्टन लागे । घरका गारा, किलासहरू हुरीमा ढोकाझैँ खुल्ने र बन्द हुने गर्न लागे । जमिन तल र माथि हुँदा धमाधम घरहरू लड्न थाले । अग्लाअग्ला बुजा गजुरहरू पनि खसे । तोपको बढाइँमा झैँ घर भत्केको भयङ्कर आवाज आउन थाल्यो । धूलोले गर्दा अन्धकार भयो । ८–१० हात अगाडि पनि देख्न नसकिने भयो । सहरको धूलोले गर्दा टुँडिखेलजस्ता खुला जग्गामा पनि धूलोको कुहिरीमण्डल हुन गयो, सबै मानिस खुला जग्गातिर भाग्न थाले । कोही अड्न नसकी केही चीजको भर लिई खडा रहे, कोही चार हातखुट्टा टेकी चौपायाझैँ भाग्न थाले, कोही छिँडीमा लुके, कोही चोकमा दौडिए औ कोही बारीतिर कुदे । कहीँ कहीँ आमाहरू आफू खुला ठाउँमा आइसकेपछि पनि आफ्ना छोराछोरीको मायाले घरभित्र पस्न जाँदा मृत्युको मुखमा परे ।
धूलोले अन्धो पारे पनि अतासले गर्दा सबै मानिस दौडन थाले । साथसाथै सबले अतासमा ईश्वरको नाम लिई कराउन थाले र चारै तर्फबाट कोलाहल शब्द निस्कन थाल्यो । सो शब्द घर भत्केको आवाजसँग मिल्दा कस्तो भयङ्कर सुनियो होला, विचार गर्नुहोस् । खास गरी स्त्रीहरूमा धेरै जस्ताले धर्म हुन्छ भन्ने विचारले भाग्ने कोसिस नगरी पानी भर्ने वा औंलाले जमिन छुने जस्ता रकम–रकमका काम गरे । तर, भाग्ने मानिसहरूले पनि सुख पाएनन् । सहरका साना–साना सडक र गल्ली धराप बन्न गए । हजारौँ घरले थिचिई अकाल मृत्युको गाँसमा परे, हजारौँ घाइते भए, टुँडिखेलमा कवाज खेलिरहेका सिपाहीहरू उभिन नसकी धेरैजसो जमिनमा घोप्टो परे, पूर्वको १ खण्ड जमिन फाटिन गई पानीसमेत निक्लियो । सोही बखत धरहरा र घन्टाघर दुवै करौंतीले काटेका रुखझैँ चिरा–चिरा पर्न गई २–३ टुक्रा भएर ढले । धरहराका टुक्राहरू त्यसको पर्खालको चक्काभित्रै परे । अरू घर इमारतहरू पनि त्यस्तै किसिमले ढलेका देखिए । ‘भूकम्पमा घरहरू तेर्सै ढलेर भत्कन्छन्’ भन्ने विचार धेरै दृष्टान्तले सिद्ध भएनन् ।
खेत र सडक चिरा–चिरा भई फाटिगए । चिरा परेका ठाउँहरूबाट पानी निस्कन थाल्यो । सबै खोलानालामा काढी आयो । बागमती, विष्णुमतीलगायत अरू सबै खेला छिनभरमै कालो र मैलो पानीले ढाकिए ।
खेत र सडक चिरा–चिरा भई फाटिगए । चिरा परेका ठाउँहरूबाट पानी निस्कन थाल्यो । सबै खोलानालामा काढी आयो । बागमती, विष्णुमतीलगायत अरू सबै खेला छिनभरमै कालो र मैलो पानीले ढाकिए । कुनै ठाउँमा ८–१० हात माथिसम्म पानी फोहोराझैँ जमिनबाट फुटेर आयो । धेरैजसो खेत पानीले जलथल भए । कुनै कुनै ठाउँमा जमिन फाटिँदा तातो पानी र बालुवासमेत बाहिर आएको देखियो भन्ने सुनियो । बालाजु र शङ्खमूल नजिकमा सडकहरू ठाउँ–ठाउँमा १–२ हातसम्म भासिए । चिरा नपरेका सडक बहुत कम थिए, यी चिरा परेका ठाउँको गहिराइ ८–१० हातसम्म पनि थियो, लम्बाइको त कुरै छाडौँ ।
भूकम्प बन्द हुनासाथ सबै आफ्ना नाताहरूको खोजतलास गर्न थाले बेपत्ता भएकाहरूले नाम पुकार्दै सडकमा दौडन थाले । घरमा नभएकाहरू आफ्नो घरतिर दौडन थाले । दुस्मनले हमला गर्दाझैँ सहरभित्रका दुनियाँहरू आफ्ना मुख्य–मुख्य माल लिई बाहिर आउन थाले एकै छिनमा सबै ठाउँ यी आत्तिएका स्त्री–पुरुषले भरिए । माघेसङ्क्रान्ति मनाउन कोही कोही काइत वा कोही कोही मित्रको घरमा गएकाले आफ्ना जहान–बच्चा, नातागोता र इष्टमित्र पत्ता लगाउन विशेष कठिन पर्यो र त्यसले गर्दा उताका मानिस यता, यताका मानिस उता दौडन थाले । आफ्ना नाता पुरिएकाहरूले सकी नसकी घरको रास खोस्रन थाले । मद्दत नपुगेकाहरूले गुहार माग्न लागे, तर त्यसबखत सबै आ–आफ्नै नातेदारको खोजतलासमा लागेकाले मद्दत पाउन कठिन भयो । घरको रासबाट बाँचेकाहरूको स्वर पनि सुनिन्थ्यो, परन्तु झिक्न पूरा सामथ्र्य भएन । यस्ताका नातेदारको दिल कस्तो भयो, कल्पना पनि गर्न सकिँदैन । यस्ता मानिस पल्टन भएको ठाउँमा (काठमाडौंका लागि टुँडिखेल) आई कराउन थाले । भूकम्प बन्द भएको केही बेरपछि नै सो ठाउँमा चिफसाब, लाठसाब र अरू जर्नेल अफिसर जम्मा भए ।
पहिलो काम त्यहाँ जम्मा भएका सिपाही फौजलाई उत्साह र आधार दिने काम भयो । त्यसपछि तिनीहरूलाई ठाउँ–ठाउँमा पठाउने काम गरियो । श्री ५ का छोरी मैया २ र श्री ३ की नातिनी मैया मरेको खबर त्यहीँ आयो । अफिसरहरूको तैनाथमा राखी सिपाहीहरूको गठ–गठ गरी सहर र दरबारमा पुरिएका मानिस झिक्न खटनपटन भयो । तिनीहरू गई सहरमा पुरिएका धेरैलाई बचाए । आफ्ना घरजहान सम्झी मनमा कस्तो ताप परेको हुँदो हो, तापनि पल्टनियाँ जवानहरू आफ्नो कर्तव्यको सोझो रहे । खटाइएका ठाउँमा कोही गाह्रो नमानी गए । यस्तो देख्दा खुसी पनि लाग्यो, दया पनि जाग्यो । त्यस बखत तीन सहरमा करिब ८ हजार ५ सय सिपाही थिए, धेरै मानिस घाइते भएकाले अस्पतालमा ज्यादै भीड भयो । घाइतेहरूका साथै अरू सहरका बासिन्दाले अस्पतालको कम्पाउन ढाक्न थाले । तिनीहरूमध्ये केही आमाहरू आफ्ना मरेका छोराछोरीलाई हातमा लिई बाँचेका छन् कि भन्ने आसले डाक्टरलाई देखाउन आएको दृश्य पनि देखिन्थ्यो । त्यस बेला अस्पतालको तैनाथवाला भएकाले घाइतेलाई औषधि पुर्याउने काम मलाई पनि पर्न आयो । त्यसबखत सहरभित्र कोही कोही सज्जनले दुःखी घाइतेको स्याहारसम्भार गरे पनि धेरैजसो बासिन्दा अतासले होसविहीन भई बसिरहे ।
सहरका केही घर र दरबारसमेत भत्केका घरका काठपात आगोमा पर्दा आगलागी भयो तर थोरै घरमा मात्र पर्न आएको र हावाको जोड पनि कम भएकाले सम्हाल्न सकियो ।
श्री ५ महाराजधिराजको सवारी त्यस बखत नागार्जुनमा थियो । केही बेरका लागि त्यहाँबाट नारायणहिटी दरबारमा सवारी भई विष्णुमतीको पुल भत्केकाले छाउनीको बाटो गरी नागार्जुन फिर्यो । चलनबमोजिम छाउनी पास गरिबक्सदा १ तोपको सलामी दिइयो । नागार्जुनको दरबारहरू पनि भत्किएकाले पालमै राज भयो ।
सहरका केही घर र दरबारसमेत भत्केका घरका काठपात आगोमा पर्दा आगलागी भयो तर थोरै घरमा मात्र पर्न आएको र हावाको जोड पनि कम भएकाले सम्हाल्न सकियो । खोकनाको तेल पेल्ने ठाउँमा पनि आगलागी भयो, परन्तु फिँजिन पाएन । फर्पिङको मुख्य बिजुलीघरमा भूकम्प हुँदा आफसेआफ कल बन्द हुने प्रबन्ध भएकाले सबै ठाउँको करेन्ट बन्द हुन गयो । सो व्यवस्था नभएको भए चुँडिएका तारहरूबाट आगलागी उत्पन्न हुने बहुत सम्भावना थियो । आगलागी हुन एक भाग्यको कुरो सम्झनुपर्छ । त्यस बखतको अवस्था तपसिलमा प्रेमराजको एक बयानबाट राम्रोसँग अञ्जाम गर्न सकिन्छ ।
“होसहतास हराएको दुई मिनेटपछि आँखा हेर्दा चारैतिर प्रलयको दृश्य, प्रलयको कोकोहोलो स्वरले चिच्याउने र कराउन लागेको देखियो, सुनियो । मानिसको त के कुरो, मानिसको शरणमा परेका चुराचुरुङ्गी पनि च्याँच्याँ र चुँचुँ गरेर आकाशमा कराएको थिए । मुसोजस्तो छरितो जन्तुले पनि भाग्ने मौका पाएन, जहाँको त्यहीँ थिचिएर मर्नुपर्यो ।
छोराको शरीर सबै किचिइरहेछ, मुख पक्क–पक्क बाएको इँटका अन्तरबाट अलि–अलि देखिन्छ, आ..मा.. भनेको मलीन आवाज अलि–अलि सुनिन्छ, इँटा काठ पन्छाएर छोरो झिक्ने मद्दत पुग्दैन । यस्तो अवस्थामा त्यस अभागिनी आमाको तस्बिर खिच्नुहोस् ! जहानमा ११ जना थिए, सबै किचिएर मरे, एउटा पाँच वर्षको बालक बाँच्यो । यो टुहुरोको सम्झना गर्नुहोस् । विवाह गरेको वर्षदिन पनि भएको छैन १५ वर्षकी बाहुनी विधवा भई, यसले छाती पिटी–पिटी रोएको करुणाक्रन्दनको विचार गर्नुहोस् ! जहानमा कसैको टाउको फुटेको छ, कसैको हात भाँचिएको छ, कुनै बेपत्ता छन्, कसैलाई खोस्रेर झिक्दैछन्, कसैलाई पोल्न लगिसके । घ्याम्पो फुट्यो, अन्नको गेडो छैन । घरमा मुर्दा लडिरहेछ कात्रो किन्न जाने पसल छैन, दाउरा किन्ने पैसा छैन । भत्किएका घरका काठपातले मुर्दा पोलिए । बाबु मर्यो, छोरोले किरिया गर्नलाई कपाल खौरन छुरा पाएन । पुरेत बाजेसँग किरिया गराउने पुस्तक छैन, घरले किचिएको छ अथवा कहाँ छ पत्तो छैन । किरियापुत्रीले नयाँ धोती नपाएर पुरानो पटुका फेरेर किरिया बस्नुपर्यो । सारा सहर भत्कियो, पसल भत्के, केही किन्न पाइँदैन । रात पर्यो, माघेझरी पर्ने डर छ, ओत छैन ।”
दाउरा नपाउँदा धेरैले भत्केका घरको काठले लास जलाए । सबै घाटमा ठेलमठेल भयो । मुर्दाको सद्गत गर्न नसक्नेहरूले घाटामा मुर्दाहरू त्यसै फ्याँक्न थाले, गाईवस्तुको त कुरै छाडौं ।
श्री ३ कहाँ खबर लिई घोडचढी गए । बाटो बिग्रेकाले भादगाउँ वरिपरि गाउँको खबर पाउन पनि कठिन भयो । केही गोलमाल वा चोरीको बचाउलाई कौसी (सरकारी ढुकुटी) झ्यालखाना, तोपखाना र ठूल्ठूला दरबारमा पालो थप गरियो ।
वीरगञ्जसम्मको एक्लो टेलिफोनको लाइन पनि टुट्न गएको र चारैतिर नोक्सान पर्न गएकाले बाहिरको खबर अन्धकारमै रह्यो, न त यताबाट खबर पठाउन सकियो । श्री ३ कहाँ खबर लिई घोडचढी गए । बाटो बिग्रेकाले भादगाउँ वरिपरि गाउँको खबर पाउन पनि कठिन भयो । केही गोलमाल वा चोरीको बचाउलाई कौसी (सरकारी ढुकुटी) झ्यालखाना, तोपखाना र ठूल्ठूला दरबारमा पालो थप गरियो । राति रमन घुम्ने काममा विशेष कडा गरी थप अफिसर सिपाही खटाइयो । खोरका थुनुवाहरू भाग्न कोसिस गरे पनि सिपाहीको मद्दत चाँडै आएकाले भाग्न सकेनन् ।
हिउँदको छोटो दिन, रात चाँडै पर्यो । तर, बिजुली बत्ती आएन । आफ्ना नातेदारको खबर लिन पनि फुर्सद भएन । साना–साना कम्प रातभर गइरहे, तिनको गिन्ती रहेन । ठूलादेखि सानासम्म सबैको खेत, बारी या खुला मैदानमा बास भयो । हजारौँ ओत नपाई खुला मैदानमा बसे, त्यस रात खाना पनि थोरैले मात्र पाए । जाडो ज्यादा कडा थियो । ठन्डी २८ डिग्रीसम्म झर्यो, पानी जम्न थाल्यो । त्यो रात ज्वरोको निद्र्राझैँ बित्यो ।
भोलिपल्ट पुरिएका मानिस र मुर्दा झिक्ने काममा मद्दत दिन सिपाहीहरू ठाउँ–ठाउँमा खटिए । धेरै जिउँदा मानिस निस्के । सहरको स्वरूपै बदलिएको थियो । एकै ठाउँमा पनि ४०÷५० जनासम्म पुरिएकाले जत्रो मद्दत पनि कम्ती देखिन्थ्यो । सिपाही र कोही अफिसरबाट तारिफलायकको काम भयो । चार भञ्ज्याङभित्रका गाउँहरूको र नजिक–नजिकका पहाडबाट खबर आउन थाल्यो । अफिसरहरू पनि गाउँ–गाउँमा बुझ्न गए । सबै ठाउँबाट उही खराब खबर आउन थाल्यो । दृष्टान्तका लागि एक भूकम्प सेवा पं प्रेमराजको बयान तपसिलमा छ ।
“म घुमेका गाउँहरूमध्ये सानागाउँ र लुुभु सहरको दृश्य अन्तको भन्दा हृदयविदारक छ । पहिले १५००–२००० छाना भएको ठाउँमा अहिले ४–५ वटा पनि देखिँदैनन् । अघिको झिँगटीका छानाले भरिभराउन भएको बस्ती अहिले पटपटी फुटेर नाङ्गो देखिइरहेछ ।”
भूकम्प गएको दिनैदेखि हररोज साना–साना भूकम्प जान थाले । माघ ४ गते राति निकै ठूलो कम्प भयो । आत्तिएका दुनियाँमा झन् अतास बढ्यो । हरेक कम्पमा मानिसको कोलाहल सुनिन्थ्यो ।
वीरगञ्जसम्मको टेलिफोन लाइन पनि ३ गते नै खुल्यो । परन्तु रक्सौलभन्दा परको खबर केही पाइएन । “वीरगञ्ज स्वाहा भएको छ, सक्सौलदेखि माथिसम्म रेलको लाइन टुटेको छ । नेपाल सरकार लाइट रेलवेमा पनि नोक्सान पर्न गएको छ । तारको लट्ठा टुटेकाले हिन्दुस्थानपट्टिनको केही खबर छैन । तर, मुग्लानपट्टि पनि धेरै नोक्सान पर्न गएको अञ्जाम गरिन्छ” भन्ने खबर आयो । अन्धकारको अन्धकारै भयो । पहाडतर्फ पनि विस्तारै खबर आउन थाल्यो ।
भूकम्प गएको दिनैदेखि हररोज साना–साना भूकम्प जान थाले । माघ ४ गते राति निकै ठूलो कम्प भयो । आत्तिएका दुनियाँमा झन् अतास बढ्यो । हरेक कम्पमा मानिसको कोलाहल सुनिन्थ्यो । ३–४ दिनसम्म यस्तो कोलाहल बराबर चलिरह्यो । पछिपछि यस्तो कराउने कम हुँदै गयो । दुनियाँलाई भूकम्पमा बानी पर्न थाल्यो । बास, खाना आदि हरेक कुराको हाहाकार परेको बखतमा यस्ता साना–साना कम्पबाट झन् बढ्ता डर पर्न गयो । वरिपरिका गाउँ जताततैबाट नोक्सानको खबर आउँछ, बाहिर देशपट्टिको भने केही खबर छैन, अब के आइलाग्ने हो भन्ने ख्यालले यसै आत्तिएका पुरुषहरूको मनमा झन् अतास बढ्न गयो ।
यो नयाँ अवस्थाका लागि तपसिलमा लेखिएबमोजिमको विभागमा काम भयो ।
जङ्गी–लाठ (हाल मुख्तियार) पद्मशमशेर जबराबाट हेडक्वार्टर (मुख्य अड्डा) को जिम्मा लिइबक्स्यो । उहाँको त्यस बखतको परिश्रम र कर्तव्यउपरको भक्ति बिल्कुलै प्रशंसालायक थियो ।
१) अन्न चामलको बन्दोबस्त गर्ने काम– पहिलो मोडमा त्यसतर्फ पनि पद्मशमशेरबाटै नजर भयो । तर ८–१० दिनपछि सो काम द.क.ज. (हाल जङ्गीकाठ) मोहनशमशेर जबराबाट नजर भयो । उहाँलाई मद्दत दिने कर्णेल भैरवशमशेर र कर्णेल शमशेरविक्रम थिए ।
२) घाइते र बिरामीलाई औषधि गराउने काम– यो काम ममाथि पर्न आयो ।
३) पानी–काज– जनरल प्रचण्डशमशेरबाट नजर भयो ।
४) बिजुली र टेलिफोन– जनरल कृष्णशमशेर । उहाँमुनि कर्णेल चेतशमशेर मिस्टर किल्वर्न थिए ।
५) लोकरक्षा– सो पनि जनरल पद्मशमशेरबाट नजर भयो । सो काममा उहाँलाई मद्दत दिने अरू अफिसरहरू पनि थिए ।
६) पुलिस– त्यसको तैनाथवाला जनरल सूर्यशमशेर होइबक्सन्थ्यो ।
७) पल्टन फौज– तिनीहरूबाट लोकरक्षादेखि दिएर हरेक किसिमको काम हुन्थ्यो । जनरल पद्मको अधीनमा थियो ।
८) सहर सफाई– यो काम अस्पताल र म्युनिसिपल अड्डाबाट भयो ।
यी माथि लेखिएका विभागहरूबाहेक सेन्सस लिने, ठाउँ–ठाउँको रिपोर्ट जम्मा गर्ने, जङ्गलमा डाँडाभाटा बाटेको हेरचाह गर्ने आदि शाखाहरू पनि क्रमैसँग उत्पन्न भए ।
(ब्रम्हशम्शेर जङ्गबहादूर राणाद्वारा लिखित पुस्तक ‘नेपालको महाभूकम्प १९९०’ बाट साभार गरिएको अंश)

जनताले इतिहासको डंगुरमा फ्याँकिदिएका तानाशाह मुसोलिनी

जैविक बुद्धिजीवी

सुनको मूल्य किन कीर्तिमानी उचाइमा पुगेको छ?

विष्णुकुमारी वाइवा कसरी पारिजात बनिन् ?

घातक रोगहरुबाट रक्षा गर्ने रोजमरी

नक्सलबाडीदेखि बस्तरसम्म: भारतीय माओवादी आन्दोलनको ‘उत्थान र पतन’को अन्तरकथा

सावधान ! सुत्नेबेला फोन चलाउँदा अनिद्राको जोखिम बढ्छ !

प्रतिक्रिया