संसारकै सबैभन्दा ठूलो प्राणी ब्लू ह्वेल, त्यसलाई पनि खाइदिने किलर ह्वेल

यस पृथ्वीमा पाइने प्राणीहरुमध्ये शिकारी प्राणीको सूचीमा सबैभन्दा अग्रस्थानमा आउने प्राणीको नाम हो– किलर ह्वेल । अन्य समुद्री ह्वेलहरुको दाँजोमा यो ह्वेल संसारका अधिकांश समुद्री भागहरुमा पाइन्छ । चाहे सानो समुद्र होस् या ठूलो, जस्तोसुकै स्थानमा पनि यो बस्न सक्छ । तर विशेष गरेर धु्रवीय एवं एन्टार्कटिक समुद्री क्षेत्रमा बसोबास गर्ने किलर ह्वेल समुद्री खाद्यश्रृंखलामा सबैभन्दा बढी शिकार गर्ने प्राणीको पंक्तिमा पर्दछ । आकारमा ९ मिटरसम्मको हुने यस प्राणीले मानिसलाई चाहिँ शिकार गरेको अहिलेसम्म थाहा पाइएको छैन ।

नामले निकै खतरनाक जस्तो लागेपनि यो प्राणी निकै बुद्धिमान र खेलप्रिय हुन्छ । यो प्रजातिका केही प्राणी त विशाल अक्विरियममा समेत पालिएका पाइन्छन् भने कतिपय फिल्ममा पनि यसले भूमिका निर्वाह गरेको छ । अक्विरियममा पालिएका यस प्राणीले लाखौं मानिसहरुलाई आफ्नो बुद्धिमत्ता एवं विनोदप्रियताले छक्क पार्ने मात्रै हैन, प्रशंसक समेत बनाएको पाइन्छ ।

यस प्राणीले माछा, समुद्री कछुवा, डल्फिन, स्क्विड, पेन्गुइन, समुद्री सिंह, सिल र कतिपय अवस्थामा त ठूला ठूला ह्वेल माछालाई समेत खाने गरेको पाइएको छ । यस ह्वेलको समूहले यस पृथ्वीकै सबैभन्दा ठूलो प्राणी ब्लू ह्वेललाई समेत शिकार गर्ने गरेको तथ्य पनि फेला गरेको छ । समूहमा बस्ने यस प्राणीले शिकारलाई पक्रनुभन्दा पहिले ठूलो आवाज निकालेर तर्साउने समेत गर्छ । शिकार पक्रनेक्रममा कतिपय अवस्थामा किलर ह्वेल समुद्रको सतहमा जमेको बरफको भित्रबाट वा समुद्र किनारको पानीभित्रबाट अचानक माथितिर आउँछ । यसको यो  आवागमनबाट स्तब्ध बनेका एवं लट्ठिन पुगेका सिल तथा समुद्री सिंहलाई यसले तुरुन्तै आफ्नो डरलाग्दो दाँतले च्यापेर पक्रन्छ । यसले शिकारलाई टोकेर वा डल्लै निलेर मार्दछ । कतिपय अवस्थामा यसले आफूले पक्रेको शिकारलाई हावामा उफारेर समेत खाने गर्छ ।

किलर ह्वेल सामाजिक प्राणी हो । यो जीवनपर्यन्त समूहमा बस्छ । किलर ह्वेलको रंग कालो वा गहिरो कलेजी रंगको हुन्छ । तर यसको आँखाको माथि र तल्लो बंगरादेखि पेटसम्म सेतो पट्टी हुन्छ । किलर ह्वेलको समूहमा पोथीभन्दा भाले आकारमा अलिकति ठूलो हुन्छ । एउटा वयस्क पोथी किलर ह्वेल ८.५ मिटरसम्म हुन्छ भने वयस्क भोल किलर ह्वेलको आकार ९.८ मिटरसम्म हुन्छ । तर यसको समूहको नेतृत्व पोथी किलर ह्वेलले गर्ने गर्छ । 

किलर ह्वेलको समूहलाई एण्म भनिन्छ । यसको एउटा समूहमा २ देखि ५० वटासम्म पनि सदस्य हुन सक्छ । र, यो समूहले सयौं वर्ग किलोमिटर क्षेत्रलाई आफ्नो क्षेत्राधिकारभित्र राखेको हुन्छ । साथसाथै, यसले एक स्थानबाट अर्को स्थानमा जानेक्रममा हज्जारौं किलोमिटरको दूरी लगातार पौडेर पार गर्ने गर्छ ।

किलर ह्वेलले शिकार पनि सामूहिक रुपमा नै गर्ने गर्छ ।  विशालकाय यस प्राणीले शिकारलाई देखेर वा गन्धको आधारमा पक्रने गर्दैन । यसले शिकार ठम्याउनको लागि इकोलोकेशन (Ecolocation) प्रविधिको उपयोग गर्दछ । यसको समूहभित्र पनि उपसमूहहरु हुन्छन् जसले शिकार खोज्ने क्रममा भिन्नाभिन्नै प्रकारका विशेष आवाज निकाल्ने गर्छ । यसले पानीमा छोडेको विशेष प्रकारको आवाजको तरंग अन्य प्राणीहरुमा ठोक्किएर फर्कन्छ । त्यसरी फर्केको तरंगको आधारमा किलर ह्वेलले शिकार कहाँ छ र कत्रो छ भन्ने कुरा पत्ता लगाउँदछ ।

किलर ह्वेलले पानीभित्रबाट आफ्नो टाउको माथिपारेर पानीको सतहबाट माथितिर सक्दो उफ्रन्छ र तल झर्दा पनि टाउको नै अगाडि पारेर पानीभित्र घुस्छ । वैज्ञानिकहरु किलर ह्वेलको यो क्रियालाई Breaching भन्दछन् । झट्ट हेर्दा किलर ह्वेलले मनोरञ्जन क्रिडा गरिरहेको जस्तो देखिन्छ । तर वैज्ञानिकहरुको विचारमा यो किलर ह्वेल खेलिरहेको मात्र हैन । वास्तवमा, त्यसरी उफ्रेर पानीभित्र घुस्दा किलर ह्वेलले पानीमा सक्दो जोडले धक्का दिइरहेको हुन्छ । यसरी पानीलाई जोडले धक्का दिएर यस अद्भूत प्राणीले टाढा टाढा रहेको आफ्ना समूहका साथीहरुलाई संकेतहरु पठाइरहेको हुन्छ ।

अनुसन्धानकर्ताहरुले यस ह्वेलका बारेमा एउटा रोचक तथ्य फेला पारेका छन् । त्यो के हो भने, यस ह्वेलले आफ्नै समूहभित्र प्रजनन क्रिया विरलै गर्ने गर्छन् । यसको सट्टामा भिन्नाभिन्नै समूहबीच प्रजनन क्रिया हुने गर्छ । प्रजनन भएको १६ देखि १७ महिनामा पोथी किलर ह्वेलले बच्चा जन्माउछ । यसरी जन्माएको बच्चालाई पोथीले १४ देखि १८ महिनासम्म आफ्नो प्रत्यक्ष निगरानीमा राखेर हुर्काउँछ ।

डल्फिन समूहमा पर्ने यो समुद्री जीवलाई वैज्ञानिक रुपमा Orcinus orca समूहमा राखिएको छ ।

 

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।