ग्वार्को घटनाका खतरनाक संकेतहरु !

फोटो साभार: आर्थिक न्यूज डटकम

ईपीएसमार्फत् कोरिया जान आवेदन दिन पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएकाहरुमाथि प्रहरीले बल प्रयोग गर्दा दुई जना नेपाली युवाहरुले अनाहकमा ज्यान गुमाएका छन् ।

बेरोजगारीको चरम विस्फोटन तथा आकर्षक तलबको कारण नेपाली युवाहरुमाझ दक्षिण कोरियाको रोजगारी अत्यधिक आकर्षणको विषय बन्ने गरेको निक्कै वर्ष भइसक्यो । त्यही कारण कोरियाली भाषाको अध्ययन गर्ने र रोजगारीका लागि आवेदन दिनेहरुको संख्यामा अत्यधिक बृद्धि भएर हज्जारौं पुगिसकेका छन् । सोही सिलसिलामा यस पटक पनि ईपीएस कोरिया शाखालेउत्पादन मुलक क्षेत्रमा काम गर्नका लागि आवेदन आव्हान गरेको थियो । आवेदनको लागि निर्धारित मापदण्डहरुमध्येका एक बुँदमा सन् २०२३ भित्र ईपीएस–टोपिक परीक्षाका लागि आवेदन नदिएको हुनुपर्ने एक थियो । अहिले आन्दोलनको एउटा मुख्य कारण नै त्यही बुँदा बनेको हो । त्यही बुँदाका कारण २०२३ मै जहाज निर्माण क्षेत्रका लागि आव्हान गरिएको आवेदन भर्ने ३२ हजार ५०५ जनामध्ये अनुत्तीर्ण भएकाहरु ३१ हजार ३८० जनाले आवेदन दिन नपाउने भए । यसबीच त्यसका विरुद्ध पाटन उच्च अदालतमा मुद्दा हाल्ने १८ लाई अदालतले आवेदन फाराम भर्न रोक नलगाउनु भनेर आदेश दिए तर बाँकीका हकमा भने केही बोलेनन् । (अहिले पाटन उच्च अदालतले ती १८ जना बाहेक अरु इच्छुकलाई समेत आवेदन प्रक्रियामा सामेल गराउन अन्तरिम आदेश जारी गरेको छ) तिनै युवाहरुले विगत केही दिनदेखि बारम्बार आन्दोलन गर्दै आइरहेका थिए । सोही क्रममा आज पनि उनीहरु ईपीएस कार्यालय रहेको ग्वार्को–बालकुमारी क्षेत्रमा आन्दोलन गरिरहेका थिए ।

यसअघि पनि प्रहरीले यस्तै आन्दोलनलाई बल प्रयोग गरी तितरवितर पार्दै आएका थिए । आज पनि प्रहरीले सोही उपाय अपनायो । तर प्रहरीको बलप्रयोगले आन्दोलनकारीहरुलाई झनै उग्र बनायो । उनीहरुले प्रहरीको बलप्रयोगविरुद्ध प्रतिरोध गरिरहँदा त्यहाँ पुगेका भौतिक पूर्वाधार मन्त्रीको गाडीमा आन्दोलनकारीहरुले आगो लगाइदिए । प्रहरीले पनि आन्दोलनकारीहरुलाई तितरबितर पार्न अत्यधिक बल प्रयोग गर्दा उक्त घटना घटन पुगेको हो ।

घटनाको पाठ

यस घटनाले के देखाएको छ भने मुलुकमा व्याप्त चरम बेरोजगारीको स्थितिले वैदेशिक रोजगारीमा जसरी भए पनि जार्नै पर्ने मानसिकता युवाहरुको ठूलो समूहमा खतरनाक ढंगले विकसित हुँदै गइरहेको छ । उनीहरुमा विकसित भइरहेको यो मानसिकताले निकास पाउन नसक्दा उत्पन्न हुन सक्ने नैराश्यता र वितृष्णालाई उचित मार्ग प्रशस्त गर्न सकिएन भने त्यसले कुनै पनि विस्फोटक रुप लिन सक्ने कुराको ट्रेलर हो–आजको बालकुमारीको घटना । त्यसमाथि थप, राज्यले यस किसिमका घटनाहरुको पटाक्षेप गर्न वार्ता, संयम र सुझबुझको सट्टा दमनको बाटो रोज्नु झनै प्रत्युत्पादक हुने पनि आजको घटनाले देखाएको छ । यसले राज्यको सुरक्षा यन्त्रहरुमा घटनालाई बुद्धिमत्तापूर्ण ढंगले सम्हाल्नेबारे प्रशिक्षण दिनु पर्ने आवश्यकता देखिएको छ भने आजको घटनामा भएको अत्यधिक बल प्रयोगले सुरक्षा यन्त्रभित्रै पनि मौजूदा वातावरणमा तलव, सुविधा, व्यवहार र पुरानै ढाँचाको सांगठनिक संरचना लगायतका कारणले वितृष्णा र निराशा बढ्दै गइरहेको कुरा को संकेत त होइन भन्ने तर्फ पनि सचेततापूर्वक पुनरावलोकन गर्नुपर्ने देखिन्छ ।

मुख्य कुुरा, वैदेशिक रोजगारी आफैंमा समस्याको पूर्ण समाधान हुनै सक्दैन । यस्तो अवस्थामा राज्यले मुलुकभित्रै रोजगारका अवसरहरु सिर्जना गर्नेदिशातिर युद्धस्तरमा पहल गर्नु पनि जरुरी देखिएको छ । यसबाहेक, अहिले युवाहरुमा थुप्रिँदै गइरहेको वितृष्णा र निराशालाई राज्यले बेलैमा सम्बोधन गर्नेदिशातिर गम्भीर पहल गर्ने हो भने उनीहरुलाई मौजूदा व्यवस्था र प्रणाली विरुद्ध सल्बलाइरहेका शक्तिहरुले समेत उपयोग गर्न सक्ने सम्भावनाबारे पनि सचेत हुनु जरुरी छ ।

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।